राति ११ बजे कुनै प्रहरी अधिकृतको फोन आउँछ भने जोसुकैलाई विभिन्न शङ्का आशंका जन्मन्छ नै । ८२ साल भदौ १८ गते राति ११ बजे मलाई प्रहरी वरिष्ठ नायब निरीक्षक श्री बिनोदविक्रम सेनको whatsappबाट फोन आयो। केही वर्षअघि विनोदजी नेपालस्थित इजराइली राजदूतका सेक्युरिटी अफिसर हुनुहुन्थ्यो । हाम्रो राम्रो चिनजान थियो। मैले निन्द्रामै फोन उठाएँ।
उताबाट एक अङ्ग्रेजी बोल्ने व्यक्ति बोले," शलोम ! म इजरायली हो। विनोद अहिले मसँगै छन् । तपाईँहरूले साना किसान विद्यार्थीहरूलाई इजरायलमा कृषि learn and earn program मा पठाउनुभएको राम्रो काम हामीलाई जानकारी छ। त्यो विषयमा तपाईंसँग केही कुरा गर्न सक्छु?"
वास्तवमा यो एउटा राम्रो कार्यक्रम थियो र केही वर्षदेखि बन्द भएको थियो। इजराइली राजदूतावाससँग एकाध पटक यो विषयमा कुरा पनि भएको छ। मलाई जिज्ञासा लाग्नु स्वाभाविकै थियो।
मैले कार्यक्रमकै बारेमा थप बुझ्न चाहेँ, उसले "यही विषयमा कुरा गर्न पर्ने भएकोले एउटा बैठक आयोजना गरेको छ। तिमीले समय दिन सक्छौ?" भनी सोध्यो ।
"मैले हुन्छ नि! बरु कहिले बस्ने हो? अफिसमा आउनुस्" भने ।
खासमा मलाई मेसेन्जर वा whatsapp जस्ता साधनहरूमा फोन गर्न त्यति मन लाग्दैन । सेलफोनकै कुरालाई बढी महत्व दिन्छु । त्यसैले मैले भने, "तिमी मेरो सेलफोनमा कुरा गर न! यही नम्बरमा मेरो सेल फोन छ त ।" मलाई लागेको थियो ऊ नेपालमै छ ।
उसले तत्कालै भन्यो, "म इजरायलमा छु। त्यसैले whatsapp मा गरेको । किन केही आपत्ति छ र?"
"अनि मिटिङ कसरी गर्ने त?"
"जुम मिटिङ गर्ने, भर्चुअल्ली।"
मित्र विनोदलाई मैले केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी गर्दागर्दै भेटेको थिएँ। उनको इजरायली एम्बेसीबाट सरुवा भएको धेरै भइसकेको थियो। अहिले पनि कसरी इजरायलीसँग कनेक्सन हुन्छ! मलाई अलि चिसो पस्यो । मैले कुरा मिलाएर उसलाई भने,"एकपटक विनोदलाई दिनुस् न।"
उसले एकछिन है त भनेर गयो। र सानो सन्नाटा पछि 'उनी इमिग्रेसनमा बिजी रहेछन्, एकछिनपछि दिन्छु ल !' भन्यो।
फेरि बैठक कै विषयमा कुरा अगाडि बढ्यो । यसभन्दा अघि हुने बैठकमा एम्बेसी आफैंले बैठक आयोजना गरेको हुन्थ्यो। अहिले नचिनेको इजरायलीले बैठक आयोजना गर्दैछ। हामी फेरि इजरायल एम्बेसीको अनुपस्थितिमा यस्ता विषयहरूमा चर्चा गर्दैनौँ। त्यसैले मैले उसलाई सोधेँ, "बैठकमा अरु को को हुन्छ?
उसले भन्यो, "दुईटै देशका परराष्ट्रका कर्मचारीहरू हुन्छन्, अनि अनुभवीको रुपमा तिमीलाई सहभागी गराएको ।"
"इजरायली राजदूतावासको कोही हुँदैन?" मैले जिज्ञासा राखेँ।
उसले उस्तै भद्र र शालीन तरिकाले भन्यो, "त्यो विषयमा मलाई थाहा भएन, टिमलाई थाहा होला। सोधेर भनौँला नि!" उसले मेरा केही इजरायली मित्रहरूको नाम पनि बतायो।
भोलि अफिस सकेर ५ बजे जुम मिटिङ बस्ने कुरा भयो। मैले, "हुन्छ, जुमको लिङ्क र पासवर्ड पठाउ" भनें ।
उसले भन्यो, "सरी तिमीलाई थाहा छँदैछ, इजरायली सेक्युरिटी अलि फरक छ। पहिला तिम्रो सेलफोनमा म एउटा कोड एसएमएस गर्छु । त्यो कोड कपी गरेर यही whatsapp मा मलाई पठाइदेउ । त्यसो गरेपछि मात्र तिम्रो एक्सेस भेरिफाई हुन्छ।"
इजरायलको सेक्युरिटी सिस्टम अलिक कडा नै हुन्छ। मलाई त्यो राम्ररी थाहा छ।
तर म के कुरामा सोचमग्न भएँ भने एक महिना अघि राजदूतावास जाँदा पनि विनोदजी सेक्युरिटीमा थिएनन् । शान्ति सेनामा प्रहरीलाई पठाउने ठाउँ पनि इजरायल होइन। विनोद चाहिँ कसरी इजरायल पुगे त ? फेरि यो मान्छेसँग उनको कसरी कनेक्सन भयो? विनोदलाई फोन देउ भन्दा किन दिँदैन? कतै यो फ्रड त होइन? तर, हाम्रो लर्न एन्ड अर्न कार्यक्रम बारेमा यति धेरै जानकारी राख्छ भने यो कसरी फ्रड हुन्छ? फेरि उसले त बैठक बस्ने भन्दै छ। आss! होइन होला। मेरा मनमा यस्तै कुराहरू खेलिरहे ।
त्यसैबेला मलाई एसएमएस आयो, र whatsapp मा फोन पनि आयो, "तिम्रोमा एसएमएस अझै आएको छैन?"
"भर्खरै आयो । मैले हेरेकै छैन।"
"ल ! तुरुन्त त्यो कपी गरेर whatsapp मा पठाउ त !"
सायद मैले टाइम लगाए होला । उसले अलिक हतारो गरेर भन्यो, "ल कपी गर्नु परेन। त्यो कोड नम्बर चाहिँ बताउ । "
"मैले एसएमएसमा के लेखेको छ पढ्दै पढिन। नम्बर मात्र हेरें । 6 अङ्कको नम्बर रहेछ। मैले एसएमएस हेर्दै whatsapp मा फोन गर्दै गर्नु थियो। तर बिरामी भएर होला सायद, मलाई त्यो 6 अङ्क हेर्ने बित्तिकै याद भएन। सुरुको तीन वटा अङ्क भनिदिएँ । बाँकी तीनवटा हेर्नलाई एसएमएस खोल्दै थिएँ, ऊ अलिक झर्किएर बाँकी तीनवटा नम्बर भनिहाल्न मलाई अत्यायो । मैले पनि आतिएर उसलाई नम्बर भनेकी झैँ भयो ।
त्यसबेला म झसङ्ग भए! म को मान्छेलाई नम्बर दिँदैछु? एसएमएसमा के लेखेको थियो? नपढी किन विश्वास गर्दैछु? कतै यो फ्रड त होइन?
एसएमएस राम्ररी पढेँ, यस्तो लेखेको रहेछ-
Your WhatsApp account is being registered on a new device
Do not share this code with anyone
Your WhatsApp code: 7xx-xxx
मलाई ब्रह्माण्ड नै घुमे जस्तो भयो। यत्रो बेर भलाद्मी कुरा गरेर त्यो मान्छे त मेरो whatsapp ह्याक गरेर फ्रड गर्न खोजिरहेको रहेछ। म त ह्याकरद्वारा डिजिटल एरेस्टमा परिसकेको रहेछु। मैले फोन काटिदिएँ। के गर्ने, कसो गर्ने केही सोच्न सकिन ।
मैले विनोदजीलाई सेलफोनमा कल गरेँ। उहाँको फोन उठेन । रातको सायद साढे १२ बजिसकेको थियो। त्यसैबेला ह्याकरले फेरि फोन गरेर बाँकी तीनवटा नम्बर तुरुन्त भन्न आग्रह गर्यो।
धन्न मैले पुरै अङ्क बताएकै रहेनछ भन्ने कन्फर्म भयो । अझसम्म मेरो फोन सुरक्षित रहेछ । अब मलाई फरक जोश आयो। मैले त्यसलाई थर्काएँ, "मलाई तँ ह्याकर होस् भन्ने थाहा छ । अघिको code नम्बर पनि मैले गल्ती भनेको हो। तँलाई कुरा गरेर अल्झाएर तेरो लोकेसन ट्रेस गर्न खोजेको हो। अब तँ भएकै ठाउँमा एकछिनमा पुलिस आइपुग्छ। तयार भएर बस ।"
त्यसले मलाई अङ्ग्रेजीमा यति धेरै गाली गर्यो, मैले सुनिरहें। खै मैले काटेँ कि उसले काट्यो फोन, थाहा भएन।
त्यसैबेला विनोदजीको फोन आयो। मैले सबै घटना सुनाएँ। उहाँको दुई दिन अगाडि नै whatsapp ह्याक भएको रहेछ। त्यसबाट विभिन्न मानिससँग पैसा माग्ने र कागजात माग्ने गर्दो रहेछ। त्यो सूचना उहाँले फेसबुकमा राख्नुभएको रहेछ। साइबर ब्युरोमा उजुरी पनि गर्नुभएको रहेछ।
केही दिन अगाडि मात्र मेरो अति नजिकको नातेदारको ठूलो रकम यसरी नै ओटिपी मागेर चोरी गरेको थियो । म आफै साइबर ब्युरो र बैंकहरूसम्म अपराधी पत्ता लगाउन लागि परेको थिएँ। "ओटपी बताएर कस्तो लापरवाही गरेको" भनेर उहाँहरुसँग रिसाएको पनि थिएँ। त्यस्तो अर्ती उपदेश दिने "म" ! अहिले आफैँ ह्याकरको डिजिटल एरेस्टमा परि सकेको थिएँ !
मैले सुतिरहेको छोरालाई उठाएँ र सबै कुरा बताएँ । उसले मेरो whatsapp, facebook, instagram, viber, google account सबै कहीँ कतै अन्य डिभाइसबाट login त भएको छैन? भनेर चेक गर्यो । अनि सबैमा 2 स्टेप-भेरिफिकेसन सेट गरिदियो । अब म सुरक्षित छु, भन्ने लागेको छ ।
सावधान हुनुहोस्। तपाईँको मोबाइलमा आएको कुनै पनि कोड कसैलाई सेयर नगर्नुस्। आफू कन्फर्म हुन सकिएन भने पख्नुस्, ढिला गर्नुस्, कोही अर्को जान्नेलाई सोध्नुस्। दुनियामा त्यस्तो हतारै गरिहाल्नुपर्ने गरी कुनै code तपाईंको मोबाइलमा आउँदैन। आए पनि कसैले नदिँदैमा पहाड खस्दैन ।
राधेराधे, भक्तपुर
२०८२/५/१९