मेरो स्कुल चार किलोमिटर टाढा थियो। तराईको गर्मी, कापी किताब हातमा बोकेर हिँड्यो भने त पसिनाले एकै दिनमा सखाप हुन्थ्यो। दिदीहरूले उनको धागो किनेर ल्याएर कुरुसले झोला बुनिदिनुहुन्थ्यो। बच्चादेखि नै त्यही झोला बोक्यौँ हामीले । रुमाल त थाहै थिएन। त्यही झोलामा पसिना पुस्थ्यौं । कहिलेकाहीँ पाईन्ट फाटेपछि हाफ पाइन्ट बनाइन्थ्यो। हाफ पोइन्ट पनि फाटेपछि त्यसैको झोला सिलाइदिनुहुन्थ्यो।
बिदाको दिन झोलामा हालेर गुन्द्रुक सिन्की र फलफुल बेच्न हटियामा जान्थ्यौं। फर्कदा नुन र मसलाहरु लिएर फर्कन्थ्यौ ।
१४ किमी टाढाको कलेज साइकलमा धाउँथ्यौ। एउटा रेनकोट (होम र खड्गले छाता बोक्थे), नोटबुक र किताब झोलामा हालेर हिड्नु पर्थ्यो । फर्कदा कहिलेकाहीँ त्यो झोलामा नुन र केही सौदा पनि किनेर ल्याउनु पर्थ्यो ।
पछि मैले शिक्षक हुने मौका पाएँ। स्कुल टाढा थियो। मुस्किलले थोत्रे साइक किनेँ। अनि आफ्नो नोटबुक, खाजा केही किताबहरू आदि बोक्न झोला नै चाहिन्थ्यो।
अहिले पनि बिहानै मर्निङ वकमा निस्कँदा गोजीमा सानो झोला हालेको हुन्छ। साग सब्जी किनेर ल्याउनलाई। कतै हिँड्नुपर्दा एउटा झोलासँगै हुन्छ।
म आठ कक्षा पढ्दा दार्जिलिङ तिरबाट गाउँमा एकजना दाई आउनुभएको थियो। उहाँले अनौठो खाले झोला बोक्नुभएको थियो। मैले त्यतिखेर थाहा पाएँ। त्यो अनौठो झोलालाई ब्याग भन्दा रहेछन्।
सायद त्यसै ताका हुनुपर्छ हामीले कुनै हिन्दी फिल्म हेरेका थियौँ। त्यसमा अमिताभ बच्चनले चारपाटे अनौठो झोला बोकेका थिए । त्यसलाई सुटकेस भन्दो रहेछ। त्यतिखेर मलाई लाग्थ्यो म पनि जागिर खाएर ब्याग र सुटकेस किन्छु। पछि किनियो पनि ।
दिदीहरूको विवाह भएपछि घरमा झोला बुन्ने मान्छे भएन। मेरी ठुली छोरीलाई स्कुल हाल्ने समयमा मैले राम्रो झोला सिलाउन लगाएको थिएँ, धाउँदा धाउँदा सूचिकारले एक महिनामा बल्ल दियो। तर मेरी श्रीमतीले ब्याग नै किन्दिनु पर्ने रहर गरिन्। पहिलोपटक ब्यागले हाम्रो घरमा प्रवेश पायो। ब्याग त कति सजिलो ! बजार गयो, किनो, ल्यायो - पर्खनै नपर्ने। वरिपरि फस्नर, केही सामान नहराउने ! सामान्य पानी पर्दा पनि भित्रको सामान नभिजाउने । त्यसपछि मेरा छोराछोरीले ब्यागमै स्कुल कलेज पढे। अहिले उनीहरू मेरो झोलालाई घृणा गर्छन् । त्यो झोला नबोल्नु, ब्याग बोक्नु पर्छ, इज्जत जान्छ भनेझैं गर्छन् । श्रीमतीजी पनि थैली बोक्दिनन्, पर्स बोक्छिन् । मेरो बिहे भएपछि पर्स पनि घरभित्र छिरेको छ। पछि मलाई पनि सजिलो भयो ३० रुपैयाँमा एउटा पर्स किने।
अहिले शहरका कुनै स्कुलमा झोला छैन, ब्याग छ । गाउँका पनि सामुदायिक विद्यालयमा अझै झोला देख्न पाइन्छ। तर बोर्डिङमा सबै ब्याग छ। गाउँमा पनि झोला बोकेर स्कुल पठाउँदा "खिसीट्युरी गर्छन्, त्यसैले ब्याग किनेको" भनिन् आइत मायाले ।
पहाड कुना कन्दारामा अझै पनि हाम्रा आमाबुवा, हजुरबुवा, हजुरआमाहरू झोलामा नै छन्। मेरो जीवन आज पनि झोला कै वरिपरि छ ।
मेरो बुवा कतै जानु भन्दा अगाडि झोला टकटक्याएर सफा पार्नुहुन्थ्यो। बुवाले झोला टकटक्याएपछि हामी उहाँ हिड्न लाग्नुभएको थाहा पाउथ्यौ। कृष्ण धरावासीले झोलामा सती प्रथा पोको पारिदिए ।
केहीपछि मेरो एक आफन्ती भाइ वैदेशिक रोजगारीमा अरब गएर फर्कियो। उसले आफ्नो जिटी गुम्टा डोरीले मज्जाले बाँधेर ल्याएको रहेछ। पछि मैले कतै कसैले लेखेको भेट्टाएँ । वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने र नेपाल नै फर्किएर आउने हाम्रा नेपाली युवाहरू त "डोरी लाहुरे" रे ।
मेरो समाजको डिएनएमा बसेको झोलालाई आज हेय र अपमानको दृष्टिले हेरिन्छ। अहिलेको नयाँ पुस्ताले झोला शब्द सुन्यो भने हाम्रो जिन्दगी बुझ्दैन, उसले गाली बुझ्छ । रोजगारीको लागि खाडी जानेलाई डोरी लाहुरे भनेर सम्बोधन गर्छ । यस्तो अपमान सिकाउने अधिकार तिमीलाई कसले दियो?
संसारभरिका शक्तिहरू लागेर हाम्रो भाषा, धर्म, संस्कृति, जातीय सद्भाव, सामाजिक प्रेम र सहिष्णुता मास्न कम्मर कसिरहेको समयमा झोला पनि त्यसको प्रहारको केन्द्रमा पुगेको छ। मानिसहरू अमेरिका बसेर नेपालको झोलालाई गाली गर्न थालेका छन्। दाह्री पालेर विष छर्ने स्कुल व्यवसायी कविज्यूहरू झोलामा हुर्किनु पर्दाको बाल्यकाल सम्झेर घृणाले छटपटिएको देखिन्छ।
कसैलाई राजनीति गर्नुहोला, कसैलाई विरोध गरेर राजनीतिमा स्थापित हुनुहोला, कसैलाई विष भरेर हिरो भएर निस्कनुहोला, कसैलाई भ्यू बटुल्नुहोला, कसैलाई फलोअर बढाउनुहोला, कसैलाई साँच्चै नै वितृष्णाले निराशा बनाएको होला, कोही साँच्चै नै विद्वान भएर आउनुभएको पनि होला। जे भएपनि झोला तपाईहरुको अपमान र प्रहारको केन्द्र बन्नु हुँदैन। झोला एउटा आदर्श औजार हो, झोला हाम्रो जीवन पद्दति हो । झोलाको विरोध गर्नेहरू वा झोलालाई पेवा बनाउनेहरु कसैलाई पनि समयचक्रले माफ गर्ने छैन।
तपाईँ ब्यागे बन्नुहोस् । तपाईं सुटकेसे बन्नुहोस्। तपाईँ पर्से बन्नुस् । हामीलाई आपत्ति छैन। तपाईँ हामी सबैका पुर्खा झोले नै हुन् । हाम्रो झोलालाई तपाईंको षड्यन्त्रको औजार नबनाउनुस्। हाम्रा पुर्खाको बाध्यतालाई घृणा नगर्नुस्। झोलाको सामाजिक बहिष्करण र अपमानको यो श्रृङ्खला आजै टुङ्ग्याइदिनुस्।
३ जुन, २०२५
राधेराधे, भक्तपुर ।
No comments:
Post a Comment