Thursday, September 25, 2025

साहसिक सम्बोधन !

जेन्जी (१२-२८ वर्ष) ले आन्दोलन गर्यो । माग थियो भ्रष्टाचार रहित सुशासनयुक्त पारदर्शी पूर्ण लोकतान्त्रिक व्यवस्था ।

जेन्जीभन्दा अलि ठूलो पुस्ताले त्यो आन्दोलनको स्वामित्व लियो। माग बन्यो - संसद विघटन, कार्यकारीको प्रत्यक्ष निर्वाचन, प्रदेश खारेज, दलहरू माथि प्रतिबन्ध। 

खै कसरी हो यो पुस्ताभन्दा पनि दुई पुस्ता माथिको स्वच्छ छवि भएका अभिभावकहरूले राज्यको बागडोर सम्हाल्नु पर्ने भयो। अनि त्यो अग्रज पुस्ताको प्रधानमन्त्रीबाट आज राज्यको नाममा सम्बोधन आयो। सबैलाई अन्योल थियो, सम्बोधन कस्तो आउँछ? भनेर ।

भदौ २४ गते करिब ९६ हजार बन्दुकका गोली र करिब ८ हजार बन्दुक लुटिएका रहेछन् । अनि करिब ६ हजार अपराधी कैदीहरु भागेका रहेछन् जेलबाट। त्यति ठूलो मात्रामा बन्दुक, गोली केही गरी जेलबाट भागेका ती अपराधीको हातमा पर्यो भने निर्वाचन के होला भन्ने अर्को भयावह अवस्था बनेको थियो।

नेपालीहरूको प्रवृत्ति हेर्दा जतिसुकै दल र नेतालाई गाली गरे पनि अन्तिममा आफ्नो पुस्तैनी पार्टी नै रोज्ने बानी छ। २०८० को आम निर्वाचनमा नेपालको मतदाता नामावलीमा कुल १७,९८८,५७० मतदाताहरू दर्ता भएकोमा ११,१२३,००० (करिब ६१.८५% ) ले मत खसाएका थिए । यी भोटरहरू मध्ये आधा जतिले दल त्याग गरेको भए पनि झन्डै ५५ लाख मानिसहरु आजको मितिमा पनि कुनै न कुनै दलसँग आस्था राख्छन् र प्रतिबद्ध छन् ।  यदि दलहरूलाई निषेध गरेर फागुन २१ को निर्वाचन गरिने भएको भए अरु ५५ लाख मानिसहरूको असन्तुष्टि र प्रहार पनि यही निर्वाचनले भोग्नुपर्ने हुन्थ्यो । अधिकांश मुलुकहरूमा यो अवस्थाबाट गृहयुद्ध सुरु भएको पनि देखिन्छ । 

गृहयुद्ध भनेको माओवादीको द्वन्द जस्तो होइन। त्यो त एक (माओवादी) राजनीतिक दलले चलाएको आन्दोलन थियो। त्यसको नेतृत्व हुन्थ्यो र राजनीतिक छलफल गर्न ठाउँ हुन्थ्यो।  अन्तिममा माओवादीसँग वार्ताबाट निकास पनि निस्कियो। तर गृहयुद्ध चाहिँ हुने हो भने त्यसमा असंख्य नाइकेका असंख्य गुट हुन्छन्, कसैको नेतृत्व कसैले स्वीकार्दैन, एउटै देशमा दशौँ सत्ताहरू हुन्छन्। अलगअलग मुलुकले अलगअलग सत्तालाई मोहरा बनाउँछ। अनाहकमा जनताहरू मारिन्छन् र त्यो गृहयुद्धको अन्त्य पनि कहिले हुँदैन। उदाहरण हेर्न अहिलेलाई सिरिया नियाले पुग्छ। नेपालको हाल उत्पन्न अन्योलको अवस्थालाई सुझबुझपूर्ण निकास नदिने हो भने गृहयुद्धको सम्भावनालाई पनि नकार्न सकिँदैन।

छिप्पिएका जेन्जीले निर्दोष कलिला जेन्जीहरूलाई दल निषेध गर्न, संविधान बलजफ्ती तोडमोड गर्न र वातावरण नै अन्योलमा लैजान दबाब दिइरहेको बेलामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा दिनुभएको सन्देशले सम्पूर्ण अन्योल र भ्रमहरु चिरिदिएको छ। र मुलुकलाई अन्तहिन गृहयुद्धमा जानबाट रोकेको छ। 

प्रधानमन्त्रीले वर्तमान संविधानको सम्मान गर्दै निर्वाचनको माध्यमबाट आफ्नो मत अभिव्यक्त गर्न र निर्वाचित जनप्रतिनिधिहरूबाट समयको माग बमोजिम संविधान संशोधन गरी त्यसलाई अग्रगामी निकास दिन आह्वान गर्नुभएको छ। त्यति मात्र होइन आफूले यो संविधानको मातहतमा बसेर काम गर्नुपर्ने म्यान्डेट रहेको स्पष्ट सन्देश दिनुभएको छ। यसले मुलुकलाई पुन संवैधानिक ट्रयाकमा ल्याउन र अराजकताबाट बचाउन मद्दत गरेको छ ।

यति ठूलो उथलपुथल र आन्दोलनमा हरेक स्वार्थ समूहहरूका आआफ्नै आकांक्षाहरू त हुन्छन् नै । प्रधानमन्त्रीको सन्देशबाट ती सबैका आकांक्षाहरू पूरा नहुन सक्छन्। अब प्रधानमन्त्री विरुद्ध विरोधका आवाजहरु पनि सुनिन सक्छन्। र यस्ता असन्तुष्टिहरूले मुलुकलाई अस्थिरता तर्फ लान सक्नेतर्फ सचेत हुँदै सम्पूर्ण नेपालीहरूले आफ्नो ध्यान आगामी फागुन २१ को निर्वाचनमा पूर्ण रुपले केन्द्रित गर्नैपर्ने हुन्छ। 

यो निर्वाचनमा जनआकांक्षा बमोजिमका नयाँ पार्टीहरू आउन सक्छन्, फरक दर्शन र सोचहरू भएका नेताहरू आउन सक्छन्, पुराना पार्टीहरूले नयाँ नेताहरू लिएर आउन सक्छन्, पुरानै नेताहरू पनि आफूलाई परीक्षण गर्न ताम्सिन सक्छन् । लोकतन्त्रको यो एक सुन्दर सुविधा हो। कसलाई छान्ने, कसलाई नछान्ने भनी निर्णय गर्ने भनेको सर्वशक्तिमान नेपाली जनताले हो।

२००७ सालमा नेपालमा प्रजातन्त्र आउँदा भारतले बेलायतलाई चीनले जापान लगायतलाई खेदाई भर्खर स्वतन्त्र भएका थिए । त्यहाँ त्यसैबेला लेखिएको संविधानले अहिलेसम्म काम गरिरहेको छ। हामीले  भने त्यसयता सातवटा संविधान फेरिसक्यौं। संविधान नयाँ लेख्दैमा देश राम्रो हुने भए त हामी चीन र भारतभन्दा धेरै राम्रो भइसक्नुपर्थ्यो । यो संविधान नहुँदैमा देश ध्वस्त हुने भएपनि बेलायत र इजरायलमा अहिलेसम्म संविधान छैन। दुवैको प्रतिव्यक्ति आय हाम्रोभन्दा झन्डै २५ सय प्रतिशत माथि छ ।

त्यसैले देश संविधानले होइन - एउटा सभ्य सामाजिक आचरण, नैतिक मूल्य, परम्पराप्रतिको सम्मान, सहभागिता र समावेशिता एवं सांस्कृतिक अन्तर्घुलन र राजनैतिक सुझबुझले बलियो हुने हो । अनि सरकारको नवप्रवर्तन, उच्चस्तरीय शिक्षा, उद्यमशीलता र सुशासन प्रति जनउत्तरदायी कदमहरूले समृद्ध बनाउने हो।

तर हाम्रो वास्तविकता कस्तो छ? 

यो आन्दोलनमा सुशासनको नारा दिँदै गोली थप्न तयार भएका मानिसहरूले एकैछिनपछि सपिङ मलहरुबाट गुडिया बोकेर हिँडेको पनि देखियो । अरबौं पर्ने सार्वजनिक र निजी सम्पत्तिलाई क्षणमै खरानी बनाएको पनि देखियो। अहिले हामी ती सार्वजनिक सम्पत्ति बनाउन चन्दा सङ्कलन गर्दैछौं, त्यही डडाउन हिँड्ने पनि हामी भित्रबाट नै थियौँ ।

त्यो जमात कहीँ अन्तबाट आएको हुँदै होइन। हाम्रै समाजभित्रको आवेग हो, हाम्रै चरित्र हो, मौका नपाउन्जेल देखा नपरेको दमित गुण हो। 

नैतिकता सुशासन र भ्रष्टाचारका सम्बन्धमा लामा लामा आदर्शयुक्त भाषण गरेता पनि म भित्र एउटा "चोर" लुकेकै हुन्छ। फागुन २१ को निर्वाचनमा हामीले चुनिने मानिस यही त्यही समाज भित्रबाट नै हो, त्यो चोर बनेर ननिस्केला भन्न सकिँदैन। हो त्यही हाम्रो भोटबाट चुनिने मानिसले अब गुडिया होइन, अलिक ठूलो चोरी गर्न सुरु गर्छ । अनि त्यो डकैतीको अलिकति हिस्सा पाइन्छ कि भन्दै तीनै चोरहरूको चाकडी गर्ने हामी नै हो। यो ब्रह्मलुटबाट अजित भएर अबको १० वर्ष पछाडि अर्को पुस्तालाई सहादत दिन बाध्य बनाउने पनि हुनसक्छ-  हामी नै हो। 

प्रधानमन्त्रीको सम्बोधनले स्पष्ट संकेत गरेको छ - तपाईँ कस्तो देश बनाउन चाहनुहुन्छ, त्यस्तै नेता छान्ने मौका आउँदैछ। यसपालि चाहिँ कमसेकम पछुताउनुपर्ने गरी गल्ती नगरौँ। खाने मेसो जान्दै नजानेका वा जिन्दगीमा बेइमानी गर्न नसक्ने धातुबाट बनेका नेतृत्व छानौ। अब चाहिँ देशलाई बिग्रन दिनु हुँदैन।

धन्यवाद ।


2082/6/9

राधेराधे, भक्तपुर ।

No comments:

Post a Comment