सात वर्ष पुगेछ, म हुम्लाको सदरमुकाम सिमकोट बसेको। हामीले सामान्य ज्ञानमा पढेको सिमीकोटलाई त्यहाँका स्थानीयले सिमकोट भन्नुहुँदो रहेछ। ठूलो चौरीको बीचमा कतै पोखरी कतै जंगल जस्तो देखिने ठूलो सिमसार क्षेत्र छ त्यहाँ। तिहरिया पाखा र डाँडाहरूमा चौरी चलिरहेका हुन्छन् । एउटा कैलाश मानसरोवर जाने सबैभन्दा सुगम बाटो, हिल्सा नाका प्रस्थान बिन्दु, जडीबुटीको भण्डार, वरिपरि हिउँले ढाकिएका डाँडाहरू, वास्तवमै अति सुन्दर सदरमुकाममा पर्छ सिमिकोट।
जीवनको अर्को पाटो, सिमकोटमा हरेक कुरा हवाई जहाजमा बोकेर लानुपर्दो रहेछ। २० रुपैयाँको मिनरल वाटरलाई किन २०० रुपैयाँ भनेको त रु.१८० प्लेन भाडा रहेछ। एक बोरा सिमेन्टलाई ९,००० पर्दो रहेछ । सिमेन्टको दाम चाहिँ त्यतिखेर पनि रु.७०० नै थियो। तर हवाइज चढेको हुनाले ९ हजार तिर्नुपर्ने रहेछ।
तल कर्णाली बग्छ । माथि डाँडाको सदरमुकाममा जाडो फ्याल्न प्रत्येक घरले दाउरा बालेर छोडेको कालो धुवाले हुम्ला सदरमुकाम झ्यापपै ढाकेको हुन्थ्यो । माथि डाँडामा चढेर सिमकोट बजार हेर्ने हो भने साँच्चै नै प्रदूषित लाग्न सक्छ। सामान्य स्थानीय बिजुलीहरू त छ तर त्यसको कुनै भर छैन। वरिपरिका प्राय सबै डाँडाहरू काठमाडौँका साहुले किनेको भनेर बताउँथे। ठूला होटलहरू पनि प्राय बाहिरकै मानिसले बनाएको बुझिएको छ ।
प्लेनले मान्छे बोक्न त्यति रुचाउँदैन। जडिबुटीमै रमाएको छ। मलाई नेपालगञ्जबाट हुम्ला पुग्न प्लेनमा चौथो दिन लाग्यो। तीन दिनसम्म प्लेनले सुर्खेततिर अथवा कतामाथि आकाश पुर्याएर फर्काएर ल्याउँथ्यो। भाग्यले कुनै दिन उड्ने जहाज ! त्यसमा पनि उताबाट फर्कन त पहिला जडीबुटी पठाईसकेपछि मात्रै मान्छेको पालो आउँदो रहेछ।
त्यति राम्रो ठाउँको यस्तो बिजोक ? यो केवल सडक सम्पर्क नभएर मात्र हो। अब हुम्लालाई सडक सञ्जालले जोडेको सुनेर खुसी लाग्यो। अब चाँडै नेपालगञ्ज हिल्सा रात्रि बस चलेको सुन्न पाउँ। शुभकामना छ ।
२७ जुन २०२५
राधेराधे, भक्तपुर ।
No comments:
Post a Comment