"फलानालाई एड्स लाग्यो।"
"फलानो त ड्रग्समा लागेर बर्बाद भयो।"
हामीले समाजमा सुन्ने गरेका कुरा हुन् यी । अबको पाँच वर्षपछि प्रत्येक घरमा त्योभन्दा डरलाग्दो रोगले ग्रस्त बनाउँदैछ। त्यो रोगको नाम हो- डिजिटल एडिक्सन । यो रोग लागेपछि छुटकारा पाउन हालसम्म कुनै औषधि नभएकोले यसबाट बच्नु नै एक मात्र उपाय हो।
यो डरलाग्दो रोग के हो ? यसबाट कसरी बच्ने ? यसका लागि प्रत्येक अभिभावक, दम्पति, शिक्षक, विद्यार्थी, बालबालिकाले एकपटक "झिल्को" नामक नेपाली फिल्म हेर्नैपर्छ। आफ्नो परिवार तहस नहस भएको, आफ्ना बालबच्चा एडिक्ट भएको, हेर्न र सहन कसलाई मन हुन्छ? यो फिल्मले बेलैमा त्यसबाट बचाउन मद्दत गर्छ।
त्यति मात्र होइन, यो सिनेमाले facebook र tiktok मा चम्किने लोभमा social influencer हरुले घर र बालबच्चा कसरी बर्बाद बनाउँछन्? युट्युबारहरुले भाइरल न्युज बनाउन कसरी सयौँ परिवार उजाड्छन्? सामाजिक अभियन्ता बन्ने आडम्बरले गर्दा कसरी समाज दूषित र परिवार विखण्डन पार्छन्? अहिले पुरानो पुस्ता सूचना प्रविधिको सङ्क्रमणकालमा छ । इन्टरनेटको रङ्गीन भर्चुअल दुनियामा यो पुस्ता रमाइदिँदा बालबालिकाहरूमा यो रोग सहजै संक्रमण हुन पुगेको छ। यस रोगको प्रभाव वयस्कमा भन्दा बालबालिकाहरूमा असाध्यै तीव्र गति लिएर नराम्रोसँग पर्न पुग्छ। यसैलाई बोलचालको भाषामा डिजिटल एडिक्सन भनिएको हो। अनि यो रोगको उपचार औषधिले नहुने भएको हुनाले मानसिक सामाजिक व्यवहार नै डक्टर र अस्पताल हुने हो। म घरमा रोग बढ्दैछु भन्ने अभिभावकले नै बुझेको छैन भने बच्चाको उपचार कसरी गर्छन्? यो रोग हो भन्ने कुरा थाहा पाउन र स्वीकार गर्न पनि यो सिनेमा हेर्नैपर्छ।
यो रोगलाई मेडिकल ल्याङ्ग्वेजमा विभिन्न नामहरूबाट चिनिन्छ, जस्तै: internet addiction disorder (IAD) वा Internet Addictive Behavior (IAB) वा Dysfunctional Internet Behavior (DIB) वा Compulsive Internet Use (CIU) वा Pathological Internet Use (PtIU) वा Maladaptive Internet Use (MIU) ।
यस प्रकारको रोगलाई gaming disorder नाम दिएर WHO ले ICD-11 को खतरनाक रोगको सूचीमा समावेश गरेको छ।
यो "झिल्को" फिल्मको कथा सहज रुपमा बगेको छ, बुझ्नलाई कुनैWHO ले झन्झट गरिरहनु पर्दैन । दर्शकले सोच्दै नसोचेको अनौठो घटना चमत्कार बनेर कथामा प्रवेश गर्दैन। परिवारका चार पुस्ता सँगै बसेर हेर्दा पनि किन्चित सर्माउनु पर्दैन। टिनएजरहरूले त बाबुआमासँग नै गएर यो फिल्म हेर्ने सल्लाह दिन्छु म। बजारका चलेका कलाकारहरूको स्टारडम खोज्ने रडाकोमा पनि पर्नु पर्दैन । फिल्म हेर्न गएका दर्शकले अप्रासङ्गिक गीत र नाचको झन्झट पनि सहनु पर्दैन ।
नेपाली समाजको कहाली लाग्दो सतीप्रथा को हु-बहु चित्रण गरेको "झोला" फिल्म र लाखौं युवतीहरूलाई मृत्यु र नारकीय जीवन बाँच्न बाध्य पार्ने दाइजो प्रथालाई "भोर" फिल्मबाट पर्दामा उतारेपछि निर्देशक यादव कुमार भट्टराईले आफ्नो तेस्रो सिर्जनाको रुपमा झिल्कोलाई ल्याएका हुन्। अहिलेका समकालीन निर्देशकहरूमा उनमा जस्तो सामाजिक विषयप्रतिको गहिरो रुचि र उत्तरदायित्व बोध कमै पाइन्छ।
बाल कलाकार आयुषी ढकालको अकल्पनीय अभिनय, विशाल पोखरेल र वर्षा शिवाकोटीले बोकेका युट्युबर र टिकटकरको सजीव भूमिका, आदरणीय गुरु सुनिल पोखरेलको संघर्षरत बाबुको चरित्र अभिनयले बेजोड बनाएको यो फिल्म हेरुन्जेल प्रत्येक दर्शकले कहीँ न कहीँ आफू वा परिवारकै कथा पाउँछ र आफूलाई एउटा पात्र बनाएर फिल्मकै वरिपरि घुमाइरहन्छ।
समाजलाई अस्तव्यस्त बनाएको यो रोग विरुद्ध सामाजिक सचेतनाको लागि यो झिल्को नामक सिनेमालाई सरकारले नै प्राथमिकताका साथ प्रत्येक विद्यालयमा अभिभावकहरुसँग विद्यार्थी राखेर हेर्ने वातावरण बनाउन आवश्यक छ। प्रोत्साहनका लागि सरकारले कर छुट गरिदिने, शैक्षिक सामग्रीको रूपमा वितरण गर्ने, लगानी फिर्ता गरिदिने र निर्माता निर्देशक कलाकारहरूलाई पुरस्कृत गरिदिने गर्नुपर्छ।
कुनै तरुनीको चोली उधारेको गीत छैन यसमा, कसैले किरा पर्नेगरी सराप्न सिकाएको छैन यसमा । न बिहे नै नगरी कौमार्य तोड्न उक्साएको छ । न फाइट छ न चमत्कार छ। सिधा जिन्दगी उतारेको छ, समाजको एउटा डरलाग्दो पाटोलाई उजागर गरेको छ - यो फिल्मले।
विद्यालयहरूसँग पनि अनुरोध गर्नै पर्छ। फिल्म बुझ्ने उमेरका सबै विद्यार्थीलाई आलोपालो गरी हलमा लगेर यो फिल्म हेराइदिनुहोस्। असल विद्यार्थी बनाउने तपाईंको जिम्मेवारीलाई यसले धेरै सजिलो तुल्याइदिनेछ।
स्वास्थ्य मन्त्रालय सञ्चार मन्त्रालय र अर्थमन्त्रालयको पनि ध्यान जाओस्। यो सिनेमा त प्रत्येक नागरिकले हेर्नैपर्छ ।
No comments:
Post a Comment