प्रिय कृषि सहकारी मित्रहरू!
अत्यन्त छोटो अवधिमा मुलुकमा अकल्पनीय परिवर्तन भएको छ। हरेक परिवर्तनका प्रभावहरू स्थिर हुन समय लाग्छ । यो अस्थिर समयमा अहिले पर्खौँ र हेरौं भन्ने धेरैको कुराहरु हुन सक्छ। हो, मानिस हरू केही समय पुरानै लुगा लगाएर बस्न सक्लान् । उपचारलाई पछि सार्लान् । भ्रमण र घुमाइडुलाई थाती राख्न सक्लान् । चाडबाड मितव्ययी ढंगले मनाउलान् । दान, दक्षिणा र पूजापाठमा खर्च बचाउलान् । तर हाम्रा केही यस्ता आवश्यकता छन् , जसलाई हामी भोलि गरौँला भनेर टार्न सक्दैनौँ। त्यो हो - खाना । खाना सम्पूर्ण परिवारलाई चाहिन्छ, सम्पूर्ण गाउँलाई चाहिन्छ, सम्पूर्ण नेपाललाई नै चाहिन्छ।
हामी धेरै वर्षदेखि खाद्यान्न विदेशबाट आयात गर्न बाध्य छौं। यो वर्ष तराईको खडेरीले गर्दा ठूलो मात्रामा धान आयात गर्नुपर्ने अनुमान छ। तेल भनेर हामी आयातित के को झोल खाइरहेका छौं ? थाहा छैन । मकैको ठूलो मात्रा ब्राजिल र अन्य देशहरूबाट आउँछ। दालमा त आत्मनिर्भर हुन हामीलाई कति गाह्रो? बेसार, मर्मसला सबै विदेशबाट ल्याएर खान्छौँ। के यहाँ उत्पादन नभएर विदेशबाट ल्याएको हो त?
हैन । यसका केही आधारभूत कारणहरू छन् :
१. नेपालमा कृषि आपूर्ति (मलखादको, उन्नत बीउबिजन, कीटनाशक र प्राविधिक सहयोग) को अनिश्चित उपलब्धता र अत्यधिक लागत मूल्यका कारण कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अत्यन्त कमजोर रहेको छ । उन्नत प्रविधि र सरकारद्वारा संरक्षित अन्य देशहरूको कृषि उत्पादनसँग हाम्रो उत्पादन गुणस्तर र मूल्य दुवैमा पछि पर्छ। स्वदेशी भन्दैमा कुनै पनि मानिसले महँगो किन्न पटक्कै चाहँदैन । महँगो भएकोले हाम्रो उत्पादनले बजार पाउँदैन। बिक्री नहुनु र उचित मूल्यमा बिक्री नहुनु दुवै कारणले गर्दा किसानहरू कृषिबाट विमुख हुँदै जान बाध्य हुनुपरेको छ।
२. दोस्रो आम कारणमा हाम्रा खेतीहरू सासानो टुक्रामा विभक्त छन्। त्यति सानो टुक्रामा गरिएको उत्पादन व्यावसायिक हुन सक्दैन। कृषिलाई एकीकरण गरेर चक्लाबन्दी गर्ने वा करार खेती गर्ने वा सामूहिक खेती गर्ने कानूनी, नीतिगत र प्रणालीगत समस्याहरु छन् । यसले गर्दा टुक्रा उत्पादन बटुल्दै हिँड्ने गरी बजार सिर्जना हुनै सक्दैन। हाम्रो उत्पादनलाई मागसँग जोड्न सकिएको छैन । कुन ठाउँमा के उत्पादन हुन्छ र कुन ठाउँमा के कुराको अत्याधिक माग छ भन्ने जानकारी दिन भरपर्दो सूचना प्रणाली समेत स्थापित हुन सकेको छैन।
३. टुक्रे स्वामित्वका जमिनमा प्राविधिक सुविधा उपलब्ध गराउन, प्रविधि प्रयोग गर्न, यान्त्रिकरण गर्न, उन्नत बिउविजन, कीटनाशक आदिको व्यवस्था मिलाउन र आधुनिक खेती प्रणाली विकास गर्न असाध्यै गाह्रो हुन्छ। त्यसैले एउटा निश्चित भूगोलमा एउटा खास उत्पादनमा फोकस हुने स्थानीय व्यवस्था मिलाउन आवश्यक छ। थाइल्याण्डको ग्रामीण कृषिलाई "एक गाउँ एक उत्पादन" व्यवस्थाले कायापलट गरेको हाम्रो आँखा अगाडि छ।
४. हाम्रा किसानहरूलाई फार्म रेकर्ड किपिङ र व्यावसायिक योजनाको महत्व बुझाउन र अभ्यासमा ल्याउन सकिएको छैन। यसले कम्पिटेटिभ एडभान्टेज भएका उत्पादनहरूलाई एक गाउँ एक उत्पादनको मोडलबाट विकास गर्न सजिलो बनाउँथ्यो। कार्यदक्षता बढ्थ्यो। जसले गर्दा गुणस्तर मूल्य सबैमा हामी अब्बल हुन सक्थ्यौ र बजार पनि सिर्जना हुन्थ्यो।
५. कृषिलाई केन्द्रित गरेर गरिने सरकारी प्रयासहरू अपर्याप्त हुन्छ। वास्तविक किसानहरू मात्र रातदिन त्यही कृषि उत्पादनको चिन्ताले रुमलिरहेका हुन्छन्। तसर्थ कृषि सहकारी संस्थाहरू नै अघि नबढी कृषिको विकास सम्भव छैन। यस्ता कृषि सहकारी संस्थाहरूमा वास्तविक किसानहरूको नेतृत्व स्थापित गरी स्थानीय सरकारको सहयोगमा प्रविधि, प्राविधिकज्ञ र उत्पादनका अन्य साधनहरूको विस्तार गर्न र चक्लाबन्दी खेती सम्बन्धी नीतिगत व्यवस्थाहरू मिलाउन सबैभन्दा उत्तम उपाय हुनेछ ।
६. आदरणीय कृषि सहकारी मित्रहरू! अहिले मुलुकले नयाँ दिशा समात्न खोजेको छ। पारदर्शिता, भ्रष्टाचार रहित शासन र सहभागिता स्थापित गराउन नयाँ पुस्ताले गरेको बलिदान वास्तवमा संसारमै अभूतपूर्व भएको छ। यसले यदि कोही अनुत्तरदायी शासक बन्न खोज्छ भने नयाँ पुस्ताको खबरदारीलाई सामाजिक पहरेदारको रुपमा उभ्याएको छ। तपाईँले वर्षौंदेखि गर्न नसकेका कामहरूमा अब सजिलो हुनसक्छ । अनुदानले संस्था चलाउनु हुँदैन । तर किसानले सहयोग नपाई कृषि भने टिक्दैन । एकातिर सहयोग चाहिएको छ र अर्कोतिर साधनस्रोतको अभाव भएको मुलुकमा हामीले कृषि गर्नु परेको छ ।
यसैले अब हामी यस्तो रणनीति बनाउँ स्थानीय पालिकासँग यसरी समन्वय गरौ किसानहरुका खास उत्पादनमा केन्द्रित हुने यस्ता उत्पादक समूहहरू बनाउँ, सामूहिक वा चक्लाबन्दी खेतीको अभ्यास सुरु गरौं, स्थानीय प्रशोधन उद्योगहरू निर्माण गरौं, कृषि उत्पादनको मूल्य अभिवृद्धिको लाभ किसानहरुलाई पुर्याउँ । र खाद्य सम्प्रभुता हासिल गरौं।
नयाँ सरकारको प्राथमिकतामा यो विषय परिदियोस् - मेरो प्रार्थना छ।
२०८२/५/२८
राधेराधे, भक्तपुर ।
No comments:
Post a Comment