Thursday, September 18, 2025

अनि तिमीलाई मैले राम्रो भनिदिनुपर्ने?

विश्वभरि शान्ति फैलाउने गौतम बुद्धको ध्यान बचाउन नसक्ने,
असन्तुष्टि पोख्न सरकारसँग गएका निहत्ता बालबालिकाको ज्यान बचाउन नसक्ने,
विदेशीले दिएका सुन्दर हरिया "साझा" बचाउन नसक्ने,
सेना त छ नि! आफ्नै परमाधिपति "राजा" बचाउन नसक्ने,
ए काठमाडौँ !
अनि तिमीलाई मैले राम्रो भनिदिनुपर्ने?

मकै बेच्ने, ठेलामा टिक्ने, कबाडी बोक्ने ती निसहायहरूको रोजगार खोस्न सक्ने,
अरबौंको ट्याक्स तिरेर हजारौँलाई रोजगारी दिने उद्योग व्यापार झोस्न सक्ने,
स्वर्ग झैँ मानिने कान्तिपुरी नगरीको सुन्दर यौवन चुस्न सक्ने,
सद्दे कोही नरहने गरी सबैलाई काण्डैकाण्डमा मुस्न सक्ने,
ओइ काठमाडौं !
के रे के रे?  मैले फेरि तिमीलाई राम्रो भनिदिनुपर्ने?

मूर्ति चोर्ने, देवल फोर्ने, ध्वस्त पार्ने पुर्खाले आर्जेका सम्पदा अपार,
बचाउन नसक्ने सेना मुख्यालयभन्दा ५०० मिटर परको सिंहदरबार,
शान्ति सुरक्षा गर्छु भन्ने प्रहरीले आफ्नो कमान नै बचाउन नसक्ने,
जनताको हित गर्न कसम (?) खाएका नेताले आफ्नो इमान नै बचाउन नसक्ने,
छि:  काठमाडौँ !
अनि मैले तिमीलाई राम्रो भनिदिनुपर्ने?

विश्वभरि शान्ति फैलाउने गौतम बुद्धको ध्यान बचाउन नसक्ने,
असन्तुष्टि पोख्न सरकारसँग गएका निहत्ता बालबालिकाको ज्यान बचाउन नसक्ने,
ए काठमाडौँ !
अनि तिमीलाई मैले राम्रो पो भनिदिनुपर्ने?


२०८२/५/२४
राधेराधे, भक्तपुर

No comments:

Post a Comment