Saturday, November 25, 2017

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो 
थुप्रोमा उधिनी मीठो र नमीठो छुट्टयार्इ छान्दैन त्यो ।
खाता जाँचि सबै दुरूस्त नबुझी बिर्सेर हान्दैन त्यो 
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो ।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ॥
लाखौँ औषाधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो ।
व्याधातुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ॥

आँसुका दहमा नुहाउँछ, चिसो पानी रूचाउन्न त्यो ।
सुख्खा जर्जर अस्थिपञ्जरविना शय्या बनाउन्न त्यो 
मैलो भस्म सिवाय अङ्ग भरमा केहि लगाउन्न त्यो ।
हाहाकारसरी मीठो अरू कुनै संगीत गाउन्न त्यो 
जो जो मिल्छ सुलुक्क लिन्छ, मुखमा हाली चपाउन्न त्यो ।
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ॥
जत्ती निल्छ उति उकेल्दछ पनी, केही पचाउन्न त्यो ।
यै चालासित कल्प-कल्प कहिल्यै खार्इ अघाउन्न त्यो ॥

भजन लेखन


२०४८ ताका मेरो पिताजी लामो रोगले थलिनु भएको थियो । म उहाँलाई छाडेर टाढा जान सक्दिन थिएँ । उहाँको सामिप्यमा रहँदा भक्तिरस श्रवण र गायन प्रति आकर्षण बढ्यो । मलाई सुर, ताल र छन्दको त ज्ञान थिएन र छैन पनि, तैपनि भजन लेख्ने र त्यसमा लय भर्न थालेँ । करिब ३ दशक पछि पनि नेपाल र भारतका नेपाली भाषी बसोबास–क्षेत्रहरुमा ती मध्ये धेरै भजनहरु गाएको सुन्छु । कसैले त अल्बम पनि निकालेको पाएँ । धेरै पटक बसाँईँ सर्दा धेरै डायरीहरु पनि हराएछन् । त्यसै श्रृङ्खलाको यो एउटा भजन सिक्किमका श्री मणी कुमार काफ्लेले “जाउँ राधा” अल्बममा गाउनु भएको रहेछ । संगित चैं बिल्कुल भिन्न रहेछ । शब्द केही ठाउँमा बदलेको पाएँ । मैले उहाँसँगै त्यो अल्बम किनेर ल्याएँ । मणीजी प्रति आभार व्यक्त गर्दछु । मेरा अरु भजन पनि गाउनु होला । जो कसैले गाए पनि कुनै अनुमति लिनु पर्दैन । मेरो अनुमति बिना मेरो रचना हालेर उहाँले अल्बम निकाल्नु भयो । उहाँको अनुमति बिनानै उहाँको स्वरको त्यो भजन तपाईँहरुको लागि ।
छम्छम् नाच्छिन् राधा घुँघरुको ताल
तिरिरिरि मुरली बजाउ मदनगोपाल
मदनगोपाल दिन दयाल .................
बृन्दा वनमा गाई चराउने लिई सँगमा ग्वाल
नाच्छिन राधा गाउने गोपी मुरली नन्दका लाल
मदन गोपाल दिन दयाल.........................
बन्सी बजाउँदै गोपी नचाउँदै आउ श्याम आज
मटका फुटाउँदै दही लुकाउँदै ल्याउ मखन खाजा
मदन गोपाल दिन दयाल.........................
कृष्ण कन्हैया राश रचैया मुरली बजैया काला
देउ चरण प्रभु पाउँ शरण हे नटखट नन्दका लाला
मदन गोपाल दिन दयाल.........................

१६ बैसाख २०४८
पृथ्वीनगर, झापा

जहाँ ढुङ्गाहरुको साम्राज्य छ ।

निर्दयी र कठोर हृदय भएको चिनाउँन हामी 'कस्तो निष्ठुरी !',  'ढुङ्गा कै मुटु रहेछ !' आदि भन्छौं । 
साँच्चै उसको मुटु ढुङ्गा कै हो त ? साँच्चैको ढुङ्गाको मुटु चैं हुन्छ कि हुँदैन ? हुन्छ भने कस्तो हुन्छ होला ? यदि त्यो ढुङ्गाको मुटुलाई मायाँको पछ्यौरीले बाँधिराख्यो भने के होला ? ढुङ्गे आमाले आफ्ना सन्तानलाई कसरी मायाँ गर्छिन होला ? ती ढुङ्गे आमा बुढी हुँदा कस्तो देखिएला ? नदी पोखरीमा मानिस हामफालेर विलय भए झैं ढुङ्गाको सागरमा विलय हुन सकिन्छ कि सकिदैन ? पाखण्डि र तस्करहरुले पृथ्वीलाई नै बलत्कार गरिरहेको बेलामा ढुङ्गाहरु बैठक बसेर कुनै अप्रिय निर्णय गरे भने ! अहो साँच्चै ढुङ्गैढुङ्गाको संसार हुँदो हो र म पनि एक ढुङ्गे सदस्य भएको भए ! तपाईँलाई यस्तै कुरा खेल्छ, यदि तालतलैयामा पुग्नु भयो भने ।
इजरायलकी ७२ वर्षीया तानिया प्रेमीगंरले ढुंगालाई
खोपेर मानवमुटु बनाएकी छिन् । जीवीत झै देखिने मुटु
संसारका कुनै पनि कुनामा बस्ने मानिसहरुका
लागि उत्तिकै महत्व छ भन्ने सन्देश दिन खोजेकी छिन् ।
रुपन्देहीका मूर्तिकार बुद्ध थारुले
निर्माण गरेको मुर्तिमाआमा र 
बच्चाको माया झल्किएको छ ।
आमा र बच्चाको मायालाई उदाहरणका
 रुपमा दिंदै उनले मायाको महत्व र भाव
 झल्काउने कोशेली मूर्तिमार्फत छाडेका छन् । 
सुनसरी जिल्ला स्थित इटहरी उप–महानगर पालिकाको वडा नं. २ र ३ मा पर्ने तालतलैया ईटहरी चोकबाट करिब ४ कि.मी. उत्तर पर्छ । तपाईँलाई त्यहाँ जान स्थानीय सवारी साधनको सुविधा उपलब्ध हुन्छ । नेपालका कुनै पनि सिमसार क्षेत्रलाई यति अर्थपूर्ण र मनमोहक बनाईएको यो पहिलो होला ! यहाँ पुगेपछि ढुङ्गाको मुटु धड्कन्छ, शिलाहरु बैठक बस्छन्, आमा पत्थर बनी उभिदिन्छिन्, जड् निरवस्त्र युवतिले पाषाण यौनपिपासुलाई गिज्याई रहन्छिन् र पृथ्वीले तपाईँ र उसको अस्तित्व जोडिएको कुरा चिच्याई चिच्याई बताउँछ ।
तालतलैया सिमसार क्षेत्र थियो । यसको संरक्षण गर्न थालियो । वन रोपियो । तलाउलाई व्यवस्थित गरियो । वगैचा लगाईयो । पैदल मार्ग बनाईयो । सुविधाजनक वनभोज स्थल बनाईयो । वालउद्यान एवं पशु उद्धार केन्द्र निर्माण गरियो । त्यति त नेपालका अन्य सिमसार संरक्षण क्षेत्रमा पनि छ । ताल तलैयामा केही फरक छ – त्यो के भने त्यहाँ ढुङ्गा बोल्छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आयोजनामा २०७२ माघ ९ गतेदेखि १८ दिनसम्म पर्यटकीय क्षेत्र तालतलैयामा एकता मूर्तिकला कार्यशाला सम्पन्न भयो । यस कार्यशालामा विभिन्न देशका पाँच र नेपालका तेत्तिस जना शिद्धहस्त मूर्तिकारहरु सहभागी थिए । १८ दिन लगाएर उनीहरुले भिमकाय ढुङ्गाहरुलाई जिवन्त प्रतिकमा रुपान्तरण गरे । यसरी सिर्जना भएका ३५ मूर्तिहरुलाई तालतलैयामा राखिएको छ । त्यहाँ पुगेपछि तपाईँ कल्पनाको त्यो ढुङ्गेसंसारमा पुग्नु हुन्छ जहाँ ढुङ्गा बोल्छ ।
मलेशियाका मूर्तिकार म्याक्सिनले बनाएको
मूर्तिमा महिलाको आकृति देख्न सकिन्छ ।





चितवनका कलाकार दिपक रसाइलीले
 निर्माण गरेको मूर्तिमा  देशको भू–दृश्य
देख्न सकिन्छ । मुलुकको भौगोलिक सुन्दरता 
कल्पना गरेर आम नेपालीलाई जिम्मेवारी 
पनि मूर्तिमार्फत उनले सुम्पिएका छन् । 
कलाकार राजु पिठाकोटेले तीनवटा
मूर्ति तयार गरी तीन पुस्तालाई सहज 
रुपमा चित्रण गरेका छन् । मानवचक्र 
पनि उनको मुर्तिमा पाउन सकिन्छ । 










इलामका विजयकुमार श्रेष्ठले निर्माण
गरेको मूर्ति अमूर्त छ । तर, त्यहाँ अन्तर
 विचारको कारण उब्जने समस्या र 
समाधानका लागि एकताको 
आवश्यकतालाई पनि जोड दिइएको छ ।
मोरंग पथरीका मञ्जुल बराइलीले मृत्यु शैयामा पृथ्वी
भन्ने शीर्षकमा कृति तयार गरेका छन् ।
मूर्तिमा युद्ध, वन विनाश, प्रदुषणको चित्रण गरी त्यसको
कारक तत्व मानिस नै भएको र मानिसले नै जोगाउन पनि
सक्छ भन्ने सन्देश दिइएको छ । 


Add caption


गुल्मीका हरिराम अधिकारीले तयार गरेको
मूर्तिमा आँसु र हाँसोको सहज मिश्रण गरिएको छ । 


कलाकार भगवान हुन् । यदि यिनै ढुङ्गा कुनै अपराधीको हातमा पुगेको भए कतिको ज्यान जान सक्थ्यो, कलाकारको संगत पाएकोले राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य बनेको छ, तपाईँको मनले अलौकिक र नितान्त फरक अनुभुति गर्ने नयाँ संसार पाएको छ ।
मकवानपुरका लक्ष्मण भूजेलको मूर्तिमा पत्रे बीजलाई
प्रस्तुत गरी त्यहाँ मानव चित्रण गर्न खोजिएको छ ।














अन्य सिर्जनामा के छन् ?
भारतका मूर्तिकार अनुपकुमार गुप्ताले निर्माण गरेको मूर्तिमा ग्रीन पीसको भाव देख्न सकिन्छ । भारतीय भएर पनि उनले नेपालको अहिलेको परिस्थितिलाई चित्रण गर्न सफल देखिएका छन् । इटहरीका प्राज्ञ धनबहादुर याक्खाले तयार गरेको मूर्तिमा प्रकृति र नारीको बारेमा चित्रण गरिएको छ । काठमाण्डौका कलाकार सुदर्शन विक्रम राणाले निर्माण गरेको मूर्तिमा एकता र मित्रताको महत्व झल्किएको छ । 

चितवनका अर्का मूर्तिकार दिनेश्वर महतोले तयार गरेको मूर्तिमा  प्रकृति र संस्कृतिलाई एकैपटक देख्न सकिन्छ । बाग्लुंगका मूर्तिकार ओम खत्रीले जैविक विविधता र एकता अनि तालहरु समेटिएको दुईवटा ढुङ्गाबाट फरक भाव झल्कने मूर्ति तयार गरेका छन् । उनले निर्माण गरेको मूर्ति हेर्दा हिलोमा फुलेको कमलको महत्व सँगै जीवन र मृत्युलाई पनि कलाबाटै तुलना गर्ने प्रयास गरिएको छ । 

झापाका हिम्मत नेम्वाङले पनि एकता र प्रेममूलक मूर्ति तयार गरेका छन् । इलामका विष्णुप्रसाद श्रेष्ठले एउटै मूर्तिमा पोखरी भित्रबाट उम्रदै गरे पालुवा र वृद्धि अनि विकासको बारेमा जियोमेट्रीकल र अर्गानिक कुरालाई समेटेर प्रकृतिको महत्व झल्काउने मूर्ति तयार गरेका छन् । भोजपुरका नारदमणी हार्ताम्छालीे नेपालका अग्रज मुर्तिकार हुन् । उनले निर्माण गरेको मूर्तिमा आदरभाव झल्कन्छ । नमस्कार आकारमा उनले निर्माण गरेको  मूर्तिमा भौगोलिक सुन्दरता, समुदाय, पुस्तान्तर र बाद, प्रतिवाद अनि सम्वादको भावना झल्किएको छ । 

चितवनका प्राज्ञ लालकाजी लामाले भौगोलिक एकतालाई जोड दिँदै हिमाल, पहाड र तराईलाई सूत्रबद्ध गर्ने प्रयास गरेका छन् । काठमाण्डौकी सुनिता राणाले जीवको संरक्षणलाई जोड दिने कलाकृति बनाएकी छिन् । सिंगो ढुंगालाई जीवनसँग कलामार्फत तुलना गरिएको छ । 

कलाकार  राजन काफ्लेको मूर्तिमा मायाप्रेम र सरप्राइजको भाव देख्न सकिन्छ । मूर्तिमा घाम छाया, खस्रो मसिनो, सकारात्मक नकारात्मक भावलाई उतार्ने प्रयास गरिएको छ । गंगाधार सारुले आफ्नो मूर्तिकलामा प्रकृतिको सुन्दर शैलीमा चित्रण गरेका छन् । चितवनका भीमबहादुर श्रेष्ठ जीवन र जगतका बारेमा पनि मूर्तिमार्फत चित्रण गर्न सफल भएका छन् ।

9 Mangsir, 2074
Kathmandu


Tuesday, October 17, 2017

फाटेको मन


मनै धमिलिए पछि दिलको आखा छेक्ने रैछ
जति जति नजिक भो खोटमात्रै देख्ने रैछ ।
भत्किएको विश्वासलाई किन अब सङ्गालु म !
रङ्गमञ्च सजाएर चोटमाथी टेक्ने रैछ ।
यात्रा ठानी जिन्दगि यो डोर्‍याएँ र थाकिसके
पिरतिको सिरेटोले नराम्ररी सेक्ने रैछ ।
लिलामी छ बजारमा मोलमोलाई चलेको छ
मुटु, मन, हृदय त हातहातै बिक्ने रैछ !

जति चोट खेपे पनि जति खोट मेटे पनि
चुनी चुनी खुसीहरु आफन्तीले झिक्ने रैछ ।
कुन कलेज पढ्यो भने कुन पाठ घोक्यो भने-
भनिदेउ कसैले त-  माया थेग्न सिक्ने रैछ !

३० असोज, २०७४
काठमाडौ ।

जाने बात नगर


यो काखको कुरा गर यो साथको कुरा गर
अबेर भो त के भयो लौ जाने बात नगर ।

मुहार शान्त छ कति त्यो भाव बुझ्न बाँकी छ
ती चल्मलाउने औंलाले कहानी लेख्न बाकी छ
छिपाएका यी मनका कुराहरु कति हुनन्
नसुनि छुट्न गाह्रो भो लौ जाने बात नगर ।।

नजानेर वा जानेर सर्वस्व तिमी ठानेर
घुम्ति र भञ्ज्याङ्ममा कसम खान बाँकी छ ।
जनम् जनम् यो साथको करार पत्र छापेर
मुटुको सही बाँकी छ लौ जाने बात नगर ।।

यो काखको कुरा गर यो साथको कुरा गर
अबेर भो त के भयो लौ जाने बात नगर ।।

१ कार्तिक, २०७४
काठमाण्डु ।

Monday, June 26, 2017

युवाको धन्यवाद खाउ सरकार !

२०७४ असार ११ गते ३ वटा कृषि फारम अवलोकन गरियो । पहिलो २ फारम साना किसान बैंकको पहलमा इजरायलमा  कृषि तालिम लिएर फर्किएका २ युवाको र अर्को फारम चै १०औं वर्ष इजरायलमा श्रम बगाएर फर्किएका कृषि उद्यमी खोजराजजीको । कृषिमा युवाहरुको स्वस्फुर्त प्रयासहरु हेर्दा युवाहरु एकातर्फ र सरकार चै अर्कै तर्फ दौडिरहेको हो कि जस्तो पनि लाग्यो । मैले यसो भन्नुमा केही तथ्यहरु छन । पहिला म ती उत्साही कर्मशील युवाका पौरखलाई सम्मान गर्दै उनीहरुको परियोजनालाई संक्षिप्त प्रस्तुत गर्छु ।

१. श्रीकृष्ण सिलवाल, वर्ष २४, सलाङ्ग, धादिङ ।
साना किसान विकास बैंकको कार्यक्रम अन्तरगत ईजरायलको आराभा स्थित कृषि तालिम केन्द्रमा तालिम लिई फर्किएका श्री सिल्वालले सितापाइलामा २० रोपनी जग्गा ५ वर्षको लागि प्रतिरोपनी प्रतिवर्ष रु. २० हजारको दरमा लिजमा लिए । बाँस र प्लास्टिक प्रयोग गरी २० वटा टनेल तयार गरे । गोल्भेडा र अन्य तरकारी  लगाई सक्दा रु. १५ लाख लगानी पुग्यो । तीन महिनामा नै करिब रु. ४ लाखको आम्दानी लिई सकेकाछन् । यो बर्ष रु. १६ लाख बढी कमाउने र सम्पूर्ण लगानी उठाउने उनको योजना छ । उनले आफुमात्र हैन, ५ जनालाई रोजगारी पनि दिएका छन । उनको परिश्रम, योजना र उनको दृढ निश्चय हेर्दा कुनै पनि नेपाली युवाले विदेस जान आवश्यक रहेनछ भन्ने नै देखिन्छ ।
श्रीकृष्ण सिल्वाल 
बिहान ४ः३० बजे उनी फारममा पुगिसक्छन् । ९ः०० बजे सम्ममा सबै व्यवस्थापन र अति आवश्यक कार्य सकेर १०ः०० बजे शंकरदेव कलेज पुग्छन् । कमर्सबाट मास्टर्स गर्दैछन् । उनका ५ जना सहयोगी कामदार छन् । उनको अनुपस्थितिमा कामदारहरुले नै सबै काम गर्छन् । दिउँसो ३ः०० बजे श्रीकृष्ण फारममा आई पुग्छन् र कहिले काहीँत ९ः०० बजे रात सम्म त्यहीँ नै काम गरिरहेका हुन्छन् । उनका उत्पादन बिक्री गर्न कहीँ जानु परेको छैन व्यापारीहरु फारम मै आएर सबै लैजान्छन् । उधारो हुँदैन । अविवाहित श्रीकृष्णले घरबार परिवार छोडेर १०० किमि टाढा जीवनको नयाँ अध्याय शुरु गरेका छन्, दुःख गरेकाछन्, प्रफुल्ल रहेकाछन् ।
कृषि व्यापार जस्तो होईन, यो त शुद्ध विज्ञान हो । विज्ञानमा गहन अध्ययन र अनुसन्धान आवश्यक हुन्छ । उनले कृषि पढेका छैनन् । साना किसान विकास बैंकले ईजरायलमा दिलाएको छोटो तालिमको भरमा कृषि गर्न ताम्सिएका छन् र आफ्नो सारा सम्पत्ति नै दाउमा लगाएर लगानी समेत गरेका छन् ।

२. लेखमान तामाङ्ग, २९ वर्ष, मैदी, धादिङ
आफ्नी श्रीमती र वच्चाहरु सहित सानो गोठ जस्तो छाप्रो बनाएर काठमाडौंको उत्तरी पाखा जितपुरफेदीमा ५ रोपनी जग्गा भाडामा लिई तरकारी खेति गर्दै आएका लेखमानले व्यावसायिक तरकारी खेति शुरु गरेको १ बर्ष नाघ्यो । साना किसान विकास बैंकको सहयोगमा ईजरायलमा कृषि तालिम लिई फर्किए पछि उनले यो पेशा अपनाएका छन् । रु. ४ लाख लगानी गरी तरकारी व्यवसाय गरेका तामाङले गत वर्ष टनेल बनाउँदाको लगानी उठाईसकेका छन् । वार्षिक रु. ५ लाखको कमाई हुने आशा राखेका लेखमानको सिङ्गो परिवार रातदिन यही खेतिमा लागेको छ र कहिले काहीँ कामदार पनि लगाउनु पर्ने कुरा उनी बताउँछन् ।
लेखमान तामांग 
यहाँ टमाटर नै लाउनु पर्छ भनेर कसरी थाहापाउनु भयो भन्दा लेखमानले अरुले पनि त्यही गरेकोले हुन्छ होला भनेर आफुले पनि गरेको बताए । अथवा, फसल छनौटको वैज्ञानिक विधि माटो परीक्षण आदि केही भएको रहेनछ । माछापोखरीमा बीउ पाईने पसल रहेछ । उसले राम्रो बीउ हो भने पछि ल्याउने गरेको बताए लेखमानले । अनि कुनै बालीमा कुनै समस्या आयो भने त्यही पसलेले औषधी पनि दिने रहेछ । कृषि प्राविधिकहरुको बारेमा धेरै ज्ञान नभएको स्वकारे ।
“इजरायलमा तालिम लिन नपाएको भए म सायद अरबमा भेडा चराउँदै हुने थिएँ होला” भन्ने लेखमान अरु जग्गा लिजमा लिएर २० रोपनी पुर्याउने सोचमा छन् । तर, २० रोपनीलाई आवश्यक पर्ने लगानी गर्ने उनको सामर्थ्य छैन र बैंकबाट त्यो मात्रामा कर्जा पाउन उनको धितो छैन, भन्छन्– “गर्नु त कति हो कति आँट छ नि ! भगवानले पो गरीब बनाएर ल्यायो त । कुनै दिन त होला नि !” अहिले जति भएको छ त्यसैमा पनि उनी दंग छन् ।

३. खोजराज कटुवाल, हाल काठमाडौं ।
खोजराज कटुवाल आवद्ध मह एग्रीकल्चर 
हामीले धेरै वर्ष अघि देखि “मह एग्रिकल्चर प्रा.लि.” को नाम सुनेका थियौं । नेपालका मुर्धन्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम जोडिएको उक्त आधुनिक कृषि फारम करिब २० रोपनी जग्गामा फैलिएको रहेछ । खोजराजजीसँग भेट हुन नसकेकोले त्यसको लगानी र प्रतिफल वा अन्य विस्तृत जानकारी पाउन सकिएन । तर उहाँले धेरै वर्ष ईजरायलको कृषिमा बगाएको परिश्रम र सिकेको प्राविधिक सीपलाई प्रयोग गरेको प्रष्ट देखिन्छ । पछिल्ला समयमा उहाँले कृषि सामाग्रीको व्यापारमा बढी समय दिनु परेकोले पनि हुन सक्छ, फारम व्यवस्थापनमा त्यति ध्यान पुगेको देखिएन । तर उहाँले जुन साहासका साथ लगानी गर्नु भयो, त्यो श्रद्धा योग्य छ ।


हामीले अवलोकनका क्रममा केही साझा समस्याहरु देख्यौं, थाहा छैन या हामीले देखेको समस्या मात्र हो कि सबैलाई यस्तै लाग्छ ।
१. श्रीकृष्णले सारा सम्पत्ति खन्याएर कृषि पेशा सुरु गरे,
तर समय निकालेर आफू भने कमर्समा मास्टर गर्दै छन । उनले अपनाएको पेशा कृषि, तर पढाइ कमर्स । कृषि किन पढेनन उनले ? आफ्नो कृषि पेशा सम्हाल्दै कृषि पढ्न पाउने भएको भए के उनले कमर्स पढ्ने थिए होला ? के सरकारलाई पनि कृषि पेशा विज्ञान नभएर अनपढले समेत सजिलै गर्न सक्ने कर्म हो भन्ने लाग्छ ? यदि कृषि विज्ञान हो भन्ने लाग्छ भने कृषि पढाईने शिक्षालय किन १ प्रतिसत भन्दा कम संख्यामा ? श्रीकृष्ण जस्ता युवाले खेति गर्दै कृषि कहिले पढ्न पाउने ?
२. लेखमानले सामान्य तालिम त लिएर आए । तर, यहाँ त्यसले निरन्तरता पाएन । पसलेले दिएको बीउ र प्राविधिक सल्लाह बाहेक उनले कृषि प्राविधिकको सहयोग सोचेका पनि छैनन् । सरकारले झण्डै रु. १० अर्ब कृषि क्षेत्रमा कर्मचारी र प्रशासनिक खर्च गर्छ । ती प्राविधिकले लेखमान जस्तालाई सहयोग कहिले पु-याउने?
३.  भर्खरै काठमाडौंको एक गाई फारममा आगो लागेर सयौं गाई जलेर मरेको हृृदय विदारक घटना आलै छ । बाँस र सामान्य प्लाष्टिकको टनलेमा बीसौंलाखको लगानी गरेका छन् युवाले । प्राकृतिक प्रकोप र भवितव्य केही परेमा बीमाको व्यवस्था छैन । केही घटिहालेमा उनीहरुका ३ पुस्ताले यो पेशा अपनाउने छैनन् ।
४. खोजराजजीको थाहा हुन सकेन । अन्य दुईलाई सरकारबाट अहिलेसम्म कुनै किसिमको अनुदान प्राप्त भएको रहेनछ । रु. ३० अर्ब भन्दा बढीको बजेट सरकारले कृषिमा विनियोजन गरेको छ भन्ने कुरासँग उनीहरुलाई कुनै जानकारी र मतलब पनि रहेनछ । निव्र्याजी कृषि ऋण, निःशुल्क सिंचाई, सरकारको तर्फबाट कृषि बीमा र बजार सम्मको ढुवानी, तुरुन्त कृषि प्राविधिक सेवा र विभिन्न अनुदान पाएको भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न अघिबढेका यी बिचरा निरिह युवाहरुको उत्साह कायम राख्न कसले चासो देखाउला !
५. कृषिलाई प्रविधि युक्त बनाउन आफैं उदाहरणीय किसान भई अगुवाई गर्ने खोजराज कटुवाललाई म एक जुझारु व्यक्तित्व ठान्दछु । कृषिको रुपन्तरणमा उहाँको योगदान छ । तर, उहाँको फारम हेर्दा उति ध्यान दिएको जस्तो लागेन । बरु भरपर्दो कृषि सामाग्रीहरुको व्यापारमा उहाँ लागेको बताईयो । २० रोपनीमा आधुनिक टनेल निर्माण गरी ड्रिप ईरिगेशन र उन्नत प्रविधि सहितको कृषि कर्म गर्ने खोजराजजीलाई कुन तत्वले व्यापार तर्फ तान्यो वा उहाँलाई किन कृषिमा लगाव घट्न गयो ? के कृषि पेशा लामो समयसम्म टिक्न नसक्ने नै हो ? किन कृषिमा युवाहरु लामो समय अडिन सकेनन् ? अध्ययन हुन आवश्यक छ कि छैन ?
नेपाल कुखुराको मासुमा आत्मा निर्भरताको आवस्थमा आईपुगेको मानिन्छ । १५ अर्व रुपैयाँको वार्षिक रुपमा मासुजन्य पदार्थ आयात हुने मुलुकमा साना किसान विकास बैंकले विगत ५ वर्ष  देखि मासुजन्य पदार्थको उत्पादन वृद्धिमा गरेको प्रयासले ठुलो सफलता दिलाएको छ । फलफुल त अहिले ९५ प्रतिसत नै आयात हुन्छ भने खाने तेलमात्र पनि २०औं अर्बको आयात हुन्छ । प्रत्येक सिजनमा आलु फलाउन सक्ने भुगोल भएको यो मुलुकमा आलु नै मात्र पनि अर्बौको आयात गरिन्छ । सरकारको कुनै लगानी नै नभई ईजरायलको सानो अवसर खोलेको भरमा हजारौं युवाहरु कृषिमा समर्पित भएर लागेका छन् । साना किसानका छोराछोरीका लागि सहज कृषि उच्चशिक्षा, कृषि अनुदान वितरण र पुँजीको व्यवस्था गरी सरकारले साना किसान विकास बैंकलाई परिचालन गर्ने हो भने निश्ति अवधिमा निश्चित कृषि उत्पादनमा आत्मानिर्भर बनाउन सकिने सम्भावना देखिन्छ ।
हिजोको सम्झन्छु, गफ गरुञ्जेल लेखमान तामाङ्गले सरकारलाई बारम्बार धन्यवाद दिई रहे । सरकारलाई यसरी किन धन्यवाद दिएको भनी मैले सोधेँ । सरकारबाट हालसम्म कुनै किसिमको सहयोग नपाएका उनको निश्चल जवाफले भावुक बनायो ।
“सरकारले त हो नि साना किसान सहकारी बनायो, साना किसान बैंक बनायो । अनि साना किसान बैंकले इजरायल पठायो । नसोचेको पैसा पनि कमाएँ । जिन्दगी भरलाई पुग्ने कृषिको ज्ञान र सीप पनि कमाएर ल्याएँ । सरकारले नगरेको भए कहाँ हुन्थ्यो ?” साँच्चै सरकारले यस्तो केही गरेको भए ?

१२ असार, २०७४ 
काठमाण्डू। 

Monday, June 19, 2017

अब गोर्खाली आतंककारी पनि भए !

‘गोर्खा’ शब्दलाई भुगोलसँगमात्र जोडेर हेर्नु हुँदैन । यो त शताब्दियौं देखि उत्तर हिमवर्त क्षेत्रमा विकास भएको पहाडी संस्कृति हो र यसले विविधतापूर्ण भाषिक/जातीय/परम्परागत समूहहरुलाई साझा पहिचान दिएको छ । विविधता भित्र सम्पर्क भाषाको रुपमा नेपाली भाषाको विकास भयो र गोर्खाहरु नेपाली भाषी भए, यद्धपी उनीहरुका सयौं मातृभाषाहरु छँदैछन् । विभिन्न धर्म मान्छन् तर आफ्नै साझा पर्वहरु विका
स गरेकाछन् । ढिँडो, गुन्द्रक, सारांगी, फेरि, टोपीमात्र होईन गोर्खालीहरुको साझा पहिचान अरु पनि छ जस्तैः सोझा, बहादुर, ईमान्दार, वफादार, अनुशासित र कर्तव्यपरायण । सुरबीर गोर्खाको सम्बन्धमा सिङ्गापुरका निर्माता लि क्वान युले मुक्त कण्ठले प्रशंसा गरेकाछन् । हिटलरले आफुसँग गोर्खा नभएकोले हार्नु परेको बताएका थिए । भारतीय सेनाका फिल्ड मार्शल साम मानेक्ष्यले भनेको प्रशिद्ध भनाई छ, “यदि कसैले मलाई मर्न डर लाग्दैन भन्छ भने कि उसले ढाँटिरहेको छ, कि भने ऊ गोर्खा हो ।”

जेठो गोर्खाली – पहिचान संकटमा


डेभीड अक्टरलोनी 
जसरी दक्षिण एशियाली खण्डमा पञ्जाबी, गुजराती, आसामी, मराठी, बंगाली आदिको बसोबास आदिकाल देखि भई आएको छ त्यसै गरी बर्मादेखि देहरादुनसम्म हिमाली खण्डमा गोर्खा जातिको शदियौंदेखिको बसोबास रहिआएको छ । साँच्चै भनौं भने मानव वस्ति नै न्यून भएका यी दुर्गम पहाडी क्षेत्रमा गोर्खाहरुले आफ्नो पौरख र बहादुरीले आवदी गरे । यो ईतिहास २०० वर्ष भन्दा पनि अघि देखिको हो । आज हामी जसलाई ईण्डिया भन्छौं त्यहाँ ईष्ट ईण्डिया कम्पनी (ब्रिटिश सरकार) ले कब्जा जमाउनु अघि हजारौं राज्य थिए ।
ईण्डिया भन्ने देश त सन् १९४७ मा जन्मियो, तर गोर्खाहरुको अदम्य सहास र विरताबाट कायल भएका सर डेभिड अक्टरलोनीले गोर्खा पल्टन बनाउन सन् १८१६ देखि नै सुरु गरेका थिए । यस अर्थमा यस भुखण्डमा गोर्खाको विरतापूर्ण ईतिहास कमसेकम सिङ्गो राष्ट्र ईण्डिया भन्दा कम्तिमा पनि १३१ वर्ष पुरानो त पक्का छ । ईण्डिया भन्दा जेठो गोर्खा आज ईण्डिया मै पहिचान विहिन भई एक बंगाली स्टेटको अधिनायकत्वको आगोमा जलिरहेको छ ।

वफादारीको बदला अपमान 

ममता बैनर्जी 
सन् १८१४ मा गोर्खालीराज्य नेपालको सिमाना पूर्वमा टिष्टा देखि पश्चिममा कांगडा र दक्षिणमा लखनउ छेउसम्म २ लाख ५२ हजार वर्ग किलोमिटरमा फैलिएको थियो । ब्रिटिशसँगको पराजय पश्चात सन् १८१६ मा सुगौली सन्धी भयो । यो सन्धीले नेपालको सिमाना १ लाख ४७ हजार वर्ग किलोमिटरमा सिमित गरिदियो । यो सन्धीले गोर्खाली भुभाग ४२ प्रतिसत ब्रिटिशको हातमा र ५८ प्रतिसत नेपालको रुपमा रहन पुग्यो । राति आ
फ्नै प्यारो गोर्खा भुमिमा सुतेका गोर्खालीहरु बिहान उठ्दा कुनै अपराध बिना नै ब्रिटिश ईण्डियन भई सकेका थिए । काका नेपालमा थियो भतिजोको घर ईण्डियन खण्डमा परिसकेको थियो । माईती मावली बाँडिका थिए । मुलुक नै अलग भईसकेको थियो । गोर्खालीहरु नै दुईभागमा बाँडिए– नेपाली गोर्खाली र भारतीय गोर्खाली । त्यसरी विल्लिबाठ भई भारत तर्फ परेका गोर्खाले फेरि पनि आफ्नो वफादारिता कायम राखे, ईण्डियालाई नै आफ्नो मातृभुमि बनाए । त्यो वफादारितामा ब्रिटिशलाई कुनै शंका थिएन । ईष्ट ईण्डिया कम्पनीको समयमा नै गोर्खा रेजिमेण्टको संख्या १० पुगेको थियो । स्वतन्त्रताका समयमा अर्को एक थपिएर ११ वटा रेजिमेण्ट बनाईए जसमध्ये ७ (जी.आर.१,३,४,५,८,९ र केही पछि जी.आर. ११) वटा भारतीय सेनाका हिस्सा भए । अधिकांश भारतीय गोर्खालीहरु तिनै सेना वा सेनाका सन्तान हुन् । यदि अहिले भारतीय गोर्खाको कुनै परिवारबाट सेनामा छैनन् भने पनि उसका बाबु बाजेले थापेका बहादुरी र वफादारीका मेडलहरु गर्वका साथ भित्तामा टाँगेको देख्न पाउनु हुनेछ ।
बाबा रामदेवको समर्थन 
अंग्रेज विरुद्ध स्वराजको लडाईँमा ज्यान गुमाउने हजारौं गोर्खाहरुको सूची भारत सरकारसँग अहिले पनि सुरक्षित छ । आतंकावाद विरुद्धका हरेक मोर्चा, सीमा शुरक्षाका विभिन्न जिम्मेवारी, युद्ध आदिमा भारतको सान भएर उभिएको गोर्खा रेजिमेण्टले २०१५ मा २०० वर्ष पुरा गर्यो  । १९४७–४८ को उरी युद्ध, लद्दाखको १९६२ को लडाईँ, जम्मु–कश्मिरको १९६५ र १९७१ को लडाईं, कारगिलको युद्ध कुन भारतीय युद्धमा गोर्खालीले मुलुकको शीर ठाडो पारेर आफुलाई शहिद बनाएनन् ? भारतीय सेनाको सर्वोच्च सम्मान परमबीर चक्र ३/३ पटक पाउने रेकर्ड गोर्खा सेनाले प्राप्त गरेको छ । ३३ वटा महाबीर चक्र र ८४ वटा बीर चक्र पाउने भारतीय गोर्खाहरुले देशभक्तिको अर्को के उदाहरण दिनु पर्ने ? मुलुकको लागि आफ्नो ज्यानलाई कुनै महत्व नदिई शहिद हुन तयार हुने गोर्खा जातिको कुन समर्पणमा ममता बेनरजीलाई शंका भयो र आतंककारी भनियो ? यो बीर र वफादार जातिलाई आतंककारीको बिल्ला लगाउने ममता बेनर्जी राष्ट्रद्रोही हुन् कि होईनन् ? घर भित्र बेघर भएका गोर्खाहरुलाई तोड्न र टुक्राउन ममताले गरेका असंख्य असफल प्रयासबाट हतास भएपछि अन्तिम अस्त्रको रुपमा उनले भारतीय गोर्खालाई ‘आतंककारी’ जस्तो संवेदनशील मुद्दामा फसाउने प्रयास गरिन् । मुलुकको लागि आफ्नो ज्यानलाई कुनै महत्व नदिई शहिद हुन तयार हुने गोर्खा जातिलाई आतंककारी भनेर ममताले गरेको घोर पापको प्रायश्चित अब बंगालबाट स्वतन्त्र गोर्खाल्याण्ड भन्दा अर्को हुनै सक्दैन । 
सन् १९४७ मा भारत स्वतन्त्र हुँदा पञ्जाब, बंगाल, कश्मिर आदि दुई देशमा बाँडिए । पाकिस्तान र भारतमा परेको पञ्जब र कश्मिरले दुबै देशमा प्रदेशको हैसियत प्राप्त गरेकाछन् । बंगालीहरुको भारतीय खण्डमा पश्चिम बंगाल छ भने अर्को खण्ड त स्वतन्त्र बंगलादेश नै भई हाल्यो । मुलुकको सिमाना सुरक्षा गरिदिने भारतीय हिस्सामा परेको खण्डका गोर्खाले भने आफ्नो पहिचान स्थापित गर्न २०० वर्ष देखि संघर्ष जारी राख्नु परेको छ । बंगाली, आसामी, पञ्जाबी, कश्मिरी आदिको पहिचान र जातीय सुरक्षामा ज्यान समर्पण गर्ने गोर्खाहरुले आफ्नो पहिचानको लागि शान्तिपूर्ण माग राख्दा बंगाली मुख्यमन्त्रीले आतंककारी पदबाट विभुषित गरेकिछन् ।

षडयन्त्रको मारमा गोर्खा

भारतमा जसले आफुलाई गोर्खा भन्छ उनीहरुका भाषा फरक छन्, भेषभुषा फरक छ, धर्म फरक छन्, स्वरुप फरक (आर्य र मंगोल दुबै) छ, कतिपय संस्कार र संस्कृति पनि फरक छन् । यिनीहरु कसरी एउटै ‘गोर्खा’ समुदाय भयो त भन्ने प्रश्न उठ्न सक्छ । भुगोल त छँदैछ, साझा एकताको अर्को महत्वपूर्ण सुत्र भाषा रहेछ । सबै गोर्खाको साझा सम्पर्क भाषा नेपाली हो । भारतीय गोर्खाहरु पनि नेपालमा जस्तै विभिन्न जातजातिमा विभक्त छन्, तर उनीहरु आफुलाई गोर्खा जाति मान्छन् र त्यस पछिका उपजातिहरु विभिन्न थर/जातहरुलाई लिन्छन् । भारतीय गोर्खाको जस्तो यो जातीय एकता विश्वमा नै ज्यादै कम देख्न पाईन्छ । यो एकता तोड्न विभिन्न कालखण्डमा विभिन्न षडयन्त्रहरु नभएका होईनन् । उदाहरण स्वरुप सन् १९५१ को जनगणनालाई लिन सकिन्छ । तत्कालिन जिल्ला जनगणना अधिकृत ए. मित्राले दार्जिलिङ्गमा नेपाली भाषीको संख्या १९.९६% भएको तथ्यांक सार्वजनिक गरे । उनले बाहुन, क्षेत्री, कामी, दमाई र सार्कीलाई मात्र नेपाली भाषीको वर्गमा राखेर दार्जिलिङ्गमा नेपाली भाषी अल्पसंख्यक रहेको हुनाले कुनै खास महत्व दिनु नपर्ने सोच बनाउन आधार खडा गरिदिए । पहिलो सम्पर्क भाषा नेपाली नै हुने लिम्बु, राई, मगर, तामाङ्ग, शेर्पा, नेवार, लेप्चा आदिलाई छुट्टाछट्टै श्रेणीमा राखेर झिनो जनसंख्यामा प्रस्तुत गरियो । जसले गर्दा तथ्याङ्कबाट गोर्खाप्रदेशको मागको कुनै औचित्य देखिएन । जबकि सिङ्गो दार्जिलिङ्ग जिल्लामा गोर्खाहरुको कुल संख्या ६६% रहेको थियो । खर्साङ्ग निवासी गुरुङ्ग थर भएकी एक वृद्ध रिटायर्ड शिक्षिकाबाट यस पंक्तिकारले सुनेको कुरा “उक्त जनगणनाका समयमा गोर्खा समुदायमा जातीय विद्वेश फैलाईएको र नेपाली भाषालाई नभएर आफ्नो मातृभाषालाई जनगणनामा दर्ता गराउने अभियान चलाईएको थियो ।” पछि गोर्खाले यो चाल थाहा पाए, एक ढिक्का भए, तर ढिला भई सकेको थियो ।
भनिन्छ सिलिगुडी घाँटीको संवेदनशिलता देखाएर अन्त्यमा भारत सरकार हरेक पटक गोर्खालीको मागको विपक्षमा उत्रन्छ । कहिले काहीँ त यसमा नेपाल फ्याक्टर पनि जोड्ने गरिन्छ । भारतीय खुफिया निकायहरुलाई संकेत गर्दै यस किसिमका हल्लाहरु चलाईने गरिएकोछ, सत्यता उनैले जानुन् । आफ्नो देशको शुरक्षा जिम्मा लिएका गोर्खालाई दुई टुक्रा जमिन माग्दा भने सँधै शंकामात्र गर्ने भारत सरकारको व्यवहारले दुरगामीरुपमा जनस्तरमा विष घोल्दै जाने निश्चित छ ।
ममतालाई गोर्खाको एकता तोड्न सजिलो पक्कै थिएन । नेपालमा जातीय संवेदनशीलता भड्किएर आन्तरिक एकता कमजोर भएको देखेको बंगाल सरकारले दार्जिलिङ्ग क्षेत्रमा पनि जातीय विभाजनलाई एक औजारको रुपमा प्रयोग ग¥यो । लिम्बु, राई, तमाङ्ग, मगर, गुरुङ्ग आदि जस्ता जातीय विकास बोर्डहरु गठन गरी करोडौं बजेटको सप्कोमा लटपटाउने चाल चल्यो । दर्जनौं पार्टी खोल्न अप्रत्यक्ष भुमिका खेलेर गोर्खाहरुलाई राजनीतिक रुपमा कमजोर बनाउने खेल खेल्यो । यी पार्टीहरुबीचमा पानीबाराबरको स्थिति निर्माण गर्नमा अप्रत्यक्ष तत्वहरुको बलियो भुमिका रहेको चर्चाबारम्बार आउने गर्छ ।
गोर्खाहरु कहिले आत्मदम्भ र कहिले विभिन्न षडयन्त्रका कारण आफैं कमजोर हुने गरेको तितो यथार्थ पनि छुपाउन आवश्यक छैन । तर जब फेरी गोर्खा जाति माथि बंगाल सरकारले अर्को अत्याचार थोपर्छ, उनीहरु एक जुट भएका धेरै ईतिहासहरु छन् । सोझा गोर्खाहरुको बहादुरी, ईमान्दारिता, वफादारिता, अनुशासन र कर्तव्यपरायणताको सबै भन्दा बढी उपयोग गर्ने भारत र ब्रिटिश नै हुन । ब्रिटेन एउटा पुरानो प्रजातान्त्रिक मुलुकमा त नागरिक हैसियत पाउन गोर्खालीले लामो कानूनी लडाईँ लड्नु पर्यो भने भारतमा त्यो हदको जिम्मेवारी बोध हुन कहाँ सजिलो होला र ? फुटाउ र राज गरको ब्रिटिश मन्त्रणाबाट दिक्षित देशमा भारतीय गोर्खालीहरुको चेत नखुले अझै थुप्रै टुक्रामा विभाजन हुन बाँकी नै छ र अझै धेरै दुःख पाउन पनि बाँकी नै छ ।

गोर्खालाई पूर्ण बेवास्ता

डम्बर सिंह गुरुङ्ग 
२००० को नोभेम्बरमा मात्र ईण्डियाले २६औं, २७औं र २८औं प्रदेशको रुपमा छत्तिसगढ, उत्तराखण्ड र झारखण्डलाई मान्यता दिईयो भने २९औं राज्यको रुपमा तेलङ्गनालाई २०१४ को जुनमा गठन गरियो । यी मध्ये कति राज्यको माग  उठ्न थालेको ५ वर्ष पनि भएको थिएन । तर सन् १९०७ मा नै हिल्समेन एसोसिएसन अफ दार्जिलिङ्गले नेपाली भाषी बाहुल्य क्षेत्रमा अलग्गै गोर्खा प्रशासन चाहिने भनी मिन्टो मोर्ले सुधार समक्ष मागपत्र पेश गरेको गोर्खाप्रदेशको आवाजलाई ११० वर्ष सम्म पनि बलपूर्वक दबाएर राखिएको छ । 
सुवास घिसिंग 
उक्त एसोसिएसनले सन् १९१७ मा पुनः ईण्डियाका तत्कालिन भाईसरायलाई बिन्तीपत्र चढाई गोरखा राज्य दिन माग गरे । १९२९ को सिमोन कमिशनमा पनि यो माग जोडदार पेश भयो । बंगालबाट छुट्याई गोर्खा प्रदेश चिफ कमिशन अन्तरगत राख्न सन् १९४१ मा रुपनारायण सिंहको नेतृत्वमा गएको टोलीले लर्ड पेथिक लव्रेन्स समक्ष मागपत्र पेश गर्यो  । सन् १९४७ मा कम्युनिष्ट पार्टी अफ ईण्डियाले भारतको संविधान सभामा “गोर्खास्थान” का लागि जोडदार माग राख्यो ।
बिमल गुरुङ्ग 
भारतको स्वतन्त्रता पश्चात अखिल भारतीय गोर्खा लिग पहिलो गोर्खाली पार्टीको रुपमा स्थापित भयो । लिगका नेताको हैसियतबाट डम्बर सिंह गुरुङ्गले सन् १९५२ मा तत्कालिन प्रधानमन्त्री जवाहर लाल नेहेरुलाई भेटी गोर्खाको समस्या र बंगालबाट छुट्टिनु पर्नाको कारण स्पष्ट पारे । सन् १९८० मा दार्जिलिङ्ग प्रान्त परिषदका सभापति ईन्द्र बहादुर राईले प्रधानमन्त्री ईन्दिरा गान्धीलाई भेटी गोर्खाराज्यको माग सशक्त रुपमा उठाए । यस्ता सयौं शान्तिपूर्ण संघर्ष र मागहरुलाई भारतीय सरकारले बेवास्ता गर्दै आए पछि गोर्खालीहरुको धैर्यताको बाँध टुट्यो । सन् १९८६ मा साहित्यकार एवं राजनीतिज्ञ सुवाष घिसिङ्गको नेतृत्वमा गोर्खा नेसनल लिवरेसन फ्रन्ट नामक पार्टी गठन भई “गोर्खाल्याण्ड” का लागि सशक्त एवं शान्तिपूण आन्दोलन सुरु ग-यो । गोर्खाको यो आन्दोलनबाट आत्तिएको बंगाल सरकारले सेना प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनायो । यस आन्दोलनमा सन् १९८८ सम्ममा १२०० भन्दा बढी मानिसको ज्यान गयो । सायद रक्तपात बन्द गरी निहत्था गोर्खालीको ज्यान बचाउनु त्यस समयको आवश्यकता थियो होला, दार्जिलिङ्ग गोर्खा हिल काउन्सिल पाउने सर्तमा फ्रन्टद्वारा आन्दोलन बिसर्जन गरियो । तर जनस्तरमा आन्दोलनको राप सेलाउने कुरै थिएन । 
सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चाको गठन पश्चात फरक स्वरुपमा गोर्खाल्याण्डको आन्दोलन अघि बढी रहेको छ । बिमल गुरुङ्गको सुझबुझपूर्ण नेतृत्वले सबै राजनीतिक चिराहरुलाई एक ठाउँमा ल्याई शक्ति निर्माण गर्ने कुरामा गोर्खालीहरु आशावादी देखिन्छन् ।

सफलताको नजिक गोर्खा

कुनै पनि आन्दोलनमा आन्दोलकारी बाहिरबाट समेत ठूलो समर्थन आर्जन गर्न सक्नु पर्छ । हिंसात्मक गतिविधि चलाउने सरकार होस् वा पार्टी, तिनीहरुले आम समर्थन पाउँदैनन् । तर गोर्खाले पछिल्ला दिनमा देखाएको सुझबुझले ज्यादै राम्रो काम गरेको देखिन्छ । गोर्खाल्याण्डको मुद्दाले कुटनीतिक, प्राज्ञिक, न्यायिक र राजनीतिक सबै क्षेत्रमा गतिलो प्रवेश पाउन थालेको छ ।  २०१५ को चुनाव ताका सिलिगुडीमा दिएको भाषणमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खालाई आजै राज्य दिईहाल्ने गरी गरेको भाषणका भिडियोहरु करोडौं भ्यु भई सेकेकाछन् । बाबा रामदेव त गोर्खाहरुलाई अधिकार दिलाउन खुलेर लागेको देखिन्छ । यही अप्रिल १४ मा राष्ट्रिय अधिकार मञ्चले क्षेत्रीय न्यायका लागि गोर्खाहरुको साथमा रहेको प्रतिवद्धता जाहेर गर्दै एक राष्ट्रिय सम्मेलन आयोजन गरेको छ । जसमा देहात मोर्चा, शिवसेना, अखिल भारत हिन्दु महासभा, अल ईण्डिया लयर्स एसोसिएसन, दिल्ली बार एसोसिएसन लगायतका सयौं संघसंस्थाले समर्थन जनाई सकेकाछन् । भारत र विश्वस्तरबाट गोर्खाहरुको पक्षमा आवाज उठ्न सुरु भएको छ । 
भर्खरै ममता बेनर्जीले सुतेको सिंहलाई मरेको ठानेर जिस्काउने काम गरिन् । गोर्खाहरुको पहाडी खण्डलाई नै लक्षित गरी बंगाल भर बंगाली भाषालाई अनिवार्य शिक्षाको रुपमा लादेर गरिएको निर्णयलाई गोर्खालीहरुले साँस्कृतिक हमलाको रुपमा लिए । शान्तिपूर्ण आन्दोलनमा भएको दमनले ३ भन्दा बढीको ज्यान गईसकेको छ भने सयौं घाईते भईसकेका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंघले वार्ताबाट हल खोज्न गरेको आव्हानलाई ममताले वास्ता गरेको देखिदैन । शान्तिपूर्ण आन्दोलनमा हिंसाभड्काएर फेरी गोर्खालीहरुलाई बदनाम गराउने षडयन्त्र हुन सक्छ । आन्दोलनका अगुवाहरुले सडक आन्दोलन र शान्तिपूर्ण, कुटनीतिक प्रयाशलाई तीब्र, प्राज्ञिक बहस एवं समर्थनलाई भाईरल र राजनीतिक सम्बादलाई प्रभावकारी बनाई लक्ष प्राप्त गर्न यो नै अनुकुल अवसर रहेको देखिन्छ । 

१९ जुन, २०१७
काठमाडौं ।

Friday, May 12, 2017

मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चलका साना किसान सदस्य परिवारको इजरायलमा १० महिने कृषि सम्बन्धी तालिमको सूचना

नेपालका लागि इजरायली राजदुतावासको सहयोगमा साना किसान विकास बैंकले विगत वर्षहरु देखि सञ्चालन गर्दै आएको साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत सन् २०१७–२०१८ को लागि प्रशिक्षार्थी छनौट कार्य आरम्भ गरेको र सोका लागि देहायअनुसार गर्नु÷गराउनु सूचना प्रकाशित गरेको जानकारी गराईन्छ ।
(क) कार्यक्रम सम्बन्धी जानकारी 
  1. यस कार्यक्रम अन्तरगत तोकिएको योग्यता पुगेका साना किसान परिवारका सदस्यहरुले ईजरायलमा १० देखि ११ महिना अवधिका लागि कृषि प्रशिक्षार्थीेका रुपमा भाग लिन सक्नेछन्  । यस वर्ष सेदोत नेगेभ कृषि तालिम केन्द्रमा कुल १०० नेपाली साना किसान कृषि प्रशिक्षार्थीले भागलिन पाउने छन् । यस बैंकको इलाका कार्यालय नेपालगंज र अतरिया अन्तरगतका योग्यता पुगेका साना किसान कृषि सहकारी संस्थाहरुमा आवद्ध परिवारबाट मात्र उक्त विद्यार्थीहरुको छनौट हुनेछ । 
  2. प्रशिक्षार्थीले ईजरायलमा तालिम केन्द्रको नियमानुसार हप्ताको १ दिन कक्षागत सैद्धान्तिक तालिममा भाग लिनु पर्नेे, १ दिन बिदा हुने र बाँकी ५ दिन ईजरायलको ग्रामीण कृषि फारममा कार्य गर्न सक्नेछन् ।
  3.  कृषि फारममा कार्य गरेवापत प्रशिक्षार्थीेले ईजरायली नियम अनुसार पारिश्रमिक पाउनेछन् । 
  4. सहभागी प्रशिक्षार्थीले हवाई टिकट, अध्ययन शुल्क, आवास, शैक्षिक सामाग्री, पोशाक, खाना तथा अन्य आवश्यक सम्पूर्ण खर्चहरु स्वयं व्यहोर्नु पर्नेछ ।
  5. बैंकले आवश्यक भएमा प्रशिक्षार्थी छनौट प्रकृया, अभिमुखिकरण गोष्ठि, यात्रासँग सम्बन्धित कागजात तयारी (पत्र आदि) जस्ता कार्यमा सहजीकरण गर्नेछ ।
  6. गोला/अन्तरवार्ता हुने अवसर पारी सम्बन्धित तालिम केन्द्रका प्रतिनिधिहरुले आवेदकहरुको भेला गराई तालिम केन्द्रका सर्त, सुविधा, आचारसंहिता, पाठ्यक्रम तथा अन्य सम्पूर्ण विषयहरुमा जानकारी गराउनेछन् । आवेदकहरुले तालिम केन्द्रका सर्त, सुविधा, आचारसंहिता, पाठ्यक्रम तथा अन्य सम्पूर्ण विषयहरुमा आफूले जान्नु पर्ने कुराहरु एवं आफ्ना सम्पूर्ण जिज्ञासाहरु तिनै इजरायली तालिम केन्द्रका प्रतिनिधिहरु समक्ष राख्नु पर्नेछ । तालिममा सहभागी हुनु पूर्व वा तालिममा सहभागी भए पछि पनि यी विषयहरुमा बैंकलाई जिम्मेवार बनाउन पाईने छैन । 
  7. प्रशिक्षार्थीले तोकिएको १० देखि ११ महिनाको अवधि पुरा गरेपश्चात अनिवार्य रुपमा नेपाल फर्किनु पर्नेछ ।
  8. नेपाल फर्किएका प्रशिक्षार्थीलाई कृषि सम्बन्धी सिकेको सिपको व्यावसायिकरणका लागि सम्बन्धित संस्थाहरुले नियमानुसारको वित्तीय सेवा प्रदान गर्न सक्नेछन् । 
  9. यस कार्यक्रममा सहभागी कुनै पनि प्रशिक्षार्थीका कुनै पनि समयमा कुनै पनि किसिमका खर्चहरु बैंकले व्यहोर्ने छैन । बैंकले छनौट भएका प्रशिक्षार्थीहरुलाई केवल सहजीकरण मात्र गर्नेछ ।


(ख) प्रशिक्षार्थीको योग्यता
  1. बैंकले दिएको सुझाव तथा साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम निर्देशिका, २०७१ अधिनमा रही यस कार्यक्रमका लागि प्रशिक्षार्थी आवेदक छनौट गरी सिफारिस गर्ने जिम्मेवारी सम्बन्धित संस्थाहरुको हुनेछ । 
  2. संस्थाले देहाय अनुसारका सम्पूर्ण योग्यता पुगेको व्यक्ति मात्र प्रशिक्षार्थी आवेदकको रुपमा  सिफारिस गर्न सक्नेछन्ः–

(क) सम्बन्धित संस्थाको शेयर सदस्य हुनुपर्ने वा शेयर सदस्यको एकाघर परिवारको सदस्य (पति/पत्नी/छोरा /छोरी/बुहारी/नाति /नातिनी वा संस्थाले एकाघर परिवारको हो भनी निर्णय गरेको व्यक्ति) हुनुपर्नेछ ।
तर, शेयर सदस्य भएको १ बर्ष पुरा नभएको सदस्य वा निजको एकाघर परिवारको सदस्य यस कार्यक्रमको लागि अयोग्य हुनेछन् ।
(ख) सम्बन्धित संस्थाको कार्यक्षेत्रमा घटिमा विगत २ वर्षदेखि बसोबास गरेको र कृषि पेशा अबलम्बन गरेको परिवारको सदस्य हुनुपर्नेछ ।
(ग) उमेरको हकमा २०७३ चैत्र मसान्तमा २२ वर्ष पुरा भई ३० वर्ष ननाघेको हुनु पर्नेछ । (२०४४ देखि २०५१ भित्रमा जन्म मिति हुनेहरु योग्य हुने) ।
(घ) प्रविणता प्रमाणपत्र तह वा कक्षा १२ वा सो सरह उतिर्ण एवं अंग्रेजी भाषामा सामान्य रुपमा लेख्न, पढ्न र बोल्न सक्ने हुनु पर्नेछ । साथै छनौट भएमा इजरायल जानु पूर्व नै कृषि सम्बन्धी कलेज÷विश्वविद्यालयको कृषि विषयको नियमित सहभागिता रहेको हुनु पर्नेछ ।
(ङ) पारिवारिक कृषि पेशामा संलग्न भई कृषि कार्य गर्दै गरेको हुनुपर्नेछ ।
(च) प्रशिक्षण अवधि पुरा भए पछि अनिवार्य रुपमा स्वदेश फर्कने कुराको लिखित ग्यारेण्टी गरेको हुनुपर्नेछ ।
(छ) साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम निर्देशिका, २०७१ र यससँग सम्बन्धित सहयोगी निकायका सर्तहरु पूर्ण रुपले पालना गर्न मञ्जुर गरेको हुनु पर्नेछ ।
(ग) साना किसान सहकारी संस्थाको सञ्चालक समितिले ध्यान दिनु पर्ने कुराहरु
  1. यस निर्देशिका तोकिएका सम्पूर्ण योग्यता पुगेको व्यक्तिलाई मात्र सिफारिस गर्नुपर्छ । 
  2. प्रशिक्षार्थी र निजको परिवार÷अभिभावकबाट प्रशिक्षण अवधि पुरा भएपछि नेपाल फर्कने कुराको पूर्ण ग्यारेन्टी लिएको हुनुपर्छ । (यस सन्दर्भमा ग्यारेण्टी वापत स्वीकार योग्य शुरक्षण प्रस्तुत गर्न सक्ने व्यक्तिलाई मात्र हाल यो परीक्षण चरणमा सामेल गराउन संस्थाहरुलाई बैंकको सुझाव रहेको छ ।)
  3. प्रशिक्षार्थीले संस्थाका नियम र सर्त मान्ने कुरामा जवाफदेही भई निजले सो नियम तथा सर्तहरु पालना नगरेमा संस्थाको निर्णय बमोजिमको जरिवाना वा सजाय भोग्न तयार छु भनी एकाघर परिवारबाट अनुसूची–३ (क) वा ३ (ख) बमोजिमको मञ्जुरीनामा गरिदिन सक्ने विश्वासिलो अभिभावक खडा भएमामात्र प्रशिक्षार्थी आवेदकको रुपमा सिफारिस गर्नुपर्छ ।
  4. प्रशिक्षण कार्यक्रम अवधि समाप्त भए पछि स्वदेश फर्कने प्रतिवद्धता सहितको अनुसूची–३(ग) बमोजिमको कबुलियतनामा निज प्रशिक्षार्थीले र अनुसूची–३ (क) वा ३ (ख) बमोजिमको मञ्जुरीनामा निजको अभिभावकले गरिदिने व्यवस्था सम्वन्धित संस्थाले मिलाउनु पर्नेछ ।
  5. छनौटका लागि अभिमुखीकरण र अन्तरवार्ता कार्यक्रम अंगे्रजी भाषामा हुनेछ । 
  6. कृषि क्षेत्रमा कहिल्यै कामै नगरेको व्यक्तिलाई सम्बन्धित संस्थाले छनौट÷सिफारिस गर्नु हुँदैन । त्यसता व्यक्ति भएमा फिल्डमा गएर काम गर्न कठिन भई यो कार्यक्रममा नै समस्या पर्न जाने र यसबाट संस्थाले भावी दिनमा यस्ता कार्यक्रमहरुमा सहभागी हुने अवसरबाट बञ्चित हुन सक्ने कुरा तर्फ संस्थाले ध्यान दिएर मात्र छनौट/सिफारिस गर्नु पर्नेछ ।

(घ) छनौट प्रकृया
  1. बैंकले ईजरायलका तालिम केन्द्र÷कलेजहरुबाट प्राप्त कोटाको लगभग ३ गुणाले हुने संख्यामा गोला प्रथामा भागलिने आवेदक संख्या निर्धारण गर्नेछ । 
  2. कार्यक्रमका लागि छनौट भएका देहायका जिल्लाका योग्यता पुगेका साना किसान सहकारी संस्था लि.हरुको अघिल्लो खाताबन्दी अवधिमा कायम रहेको कुल सदस्य संख्याको आधारमा दामासाहीले देहाय अनुसार आवेदक कोटा उपलब्ध गराईएको छ । 
    Area Office Attariya68
    Baitadhi2
    Kuwakot 2
    Dadeldhura6
    Sirsha   Sirsha 6
    Kailali40
    Baliya4
    Bauniya 6
    Bhajani2
    Chaumala2
    Darakh3
    Geta 6
    Joshipur2
    Malakheti6
    Masuriya2
    Pratappur1
    Shreepur 6
    Kanchanpur20
    Daijee2
    Jhalari2
    Kalika3
    Krishnapur2
    Parasan2
    Pipaladi 1
    Raikawar Bichawa2
    Suda2
    Tribhuwanbasti4
    Area Office Nepalganj149
    Banke20
    Banakatawa2
    Chisapani3
    Kamdi2
    Kohalpur2
    Mahadevpuri4
    Naubasta3
    Rajhena2
    Titihiriya2
    Bardiya61
    Badalpur1
    Baganaha1
    Baniyabhar2
    Belawa1
    Bhimapur2
    Daulatpur1
    Deudhakala6
    Dhadhawar1
    Dhodhari3
    Gola1
    Jamuni2
    Kalika2
    Khairichandanpur2
    Magaragadhi2
    Mainapokhar3
    Manau1
    Manpurtapara2
    Mohammadpur1
    Motipur2
    Naya Gaun1
    Neulapur3
    Padanaha3
    Pashupatinagar1
    Patabhar1
    Rajapur 2
    Sanoshree4
    Sorahawa2
    Suryapatuwa 1
    Taratal6
    Thakurdwara1
    Dang23
    Dhanauri2
    Dharna1
    Dhikpur 1
    Duruwa 1
    Gobardiya2
    Goltakuri 1
    Laxmipur2
    Manpur1
    Narayanpur1
    Phulbari1
    Rampur2
    Satbariya1
    Saudiyar2
    Shreegaun1
    Tarigaun 2
    Urahari2
    Kalikot1
    Kalika1
    Pyuthan7
    Bangesal2
    Bijayanagar 1
    Bijuwar2
    Dharmawati1
    Dhuwang1
    Rolpa3
    Dubring1
    Jhenam1
    Saibang1
    Rukum2
    Bijyashwori1
    Kholagaun1
    Salyan8
    Bhalchaur  2
    Damachaur  1
    Dhakadam  1
    Kapurkot3
    Korwang Jhimpe1
    Surkhet24
    Babiyachaur1
    Gumi2
    Hariharpur1
    Kalyan1
    Kunathari2
    Latikoili4
    Lekhfarsa2
    Maintada2
    Malarani2
    Sahare2
    Salkot1
    Satakhani2
    Uttarganga2
  3. सम्बन्धित संस्थाहरुले अनुसूची–१ अनुसारको सूचना प्रकाशन गरी योग्यता पुगेका ईच्छुक युवायुवतीहरुबाट आवेदन माग गर्नु पर्नेछ । 
  4. योग्यता पुगेका ईच्छुक युवायुवतीहरुले सम्बन्धित संस्थाले तोकेको मिति भित्रमा सम्बन्धित संस्थामा अनुसूची–२ अनुसारको आवेदन पेश गर्नु पर्नेछ । आवेदनका साथ अभिभावक वा जमानत दिने व्यक्तिको अनुसूची–३ (क) वा ३ (ख) अनुसारको मञ्जुरीनामा समेत पेश गरेको हुनु पर्नेछ ।
  5. गोलाप्रथाका लागि सिफारिस गर्न आवेदकहरु छनौट गर्ने प्राथमिकताः   (क)  कृषि पेशामा प्रत्यक्ष संलग्न भएको,  (ख)  कृषि पेशा बाहेक अन्य विकल्प कम भएको, (ग)  समूहमा रही संस्थाको नियम अनुसारको अनुसाशन पालना गर्ने परिवारको सदस्य भएको, (घ) तुलनात्मक रुपमा गरीब, (ङ)  प्रशिक्षण पुरा गरी नेपाल फर्किए पछि कृषि पेशामा आवद्ध हुनसक्ने सम्भावना भएको ।
  6. सम्बन्धित संस्थाको सञ्चालक समितिले प्राप्त आवेदन, आवेदकको प्रतिवद्धता, अभिभावकको मञ्जुरीनामा, आवेदकको बानीव्यवहार आदि उपर समेत बिचार गरी पारदर्शी र निष्पक्ष विधिबाट तोकिएको संख्यामा आवेदकहरु गोलाप्रथामा भाग लिन छनौट गर्नु पर्नेछ । 
  7. सम्बन्धित संस्थाको सञ्चालक समितिले अनुसूची–४ अनुसारको निर्णय संलग्न राखी गोलाप्रथामा भाग लिन छनौट भएका आवेदकहरुको नामावली बैंक समक्ष सिफारिस गरी पठाउनु पर्नेछ । 
  8. गोलाप्रथाका लागि सम्बन्धित संस्थाबाट सिफारिस भएका आवेदकहरुले सिफारिस भएको ३ दिन भित्र बैंकले तोकेको अनलाईन आवेदन भर्नु पर्नेछ । 
  9. बैंकले गोलाप्रथाका लागि सिफारिस भई आएका आवेदकहरुको कागजातहरु जाँच गरी रित पुगेका र योग्यता पुगेका आवेदकहरु प्रारम्भिक सूची तयार गर्नेछ । यस सिलसिलामा आवश्यक परेमा बैंक वा संस्थाले आवेदककहरुलाई बोलाई अन्तरवार्ता लिन वा निजहरुको घर परिवारमा समेत सम्पर्क गरी आवश्यक सूचना लिन सक्नेछन् । 
  10. प्रारम्भिक सूचीमा परेका आवेदकहरुले ईजरायली तालिम केन्द्रका प्रतिनिधिहरुले गर्ने गोलाप्रथा र परीक्षा (अन्तरवार्ता र अन्य) मा सामेल हुनु पर्नेछ । (परीक्षा हुने मिति, स्थान र समयको बारेमा बैंकबाट जानकारी गराईनेछ ।) 
  11. प्रशिक्षार्थीहरुको अन्तिम छनौट गर्ने अधिकार वा अन्तिम छनौट भैसकेका आवेदकहरुलाई प्रशिक्षार्थीको रुपमा पठाउने वा नपठाउने भन्ने अन्तिम निर्णय लिने अधिकार ईजरायली प्रतिनिधिहरुमा नै शुरक्षित रहनेछ । 
  12. कुनै पनि आवेदक अन्तिम छनौट सूचीमा पर्ने वा नपर्ने कुरालाई लिएर सम्बन्धित संस्था वा आवेदक वा सोसँग सम्बन्धित कुनै पक्षले बैंक विरुद्ध कुनै किसिमको वादविवाद वा उजुरवाजुर गर्न पाउनेछैन । 
  13. विशेष कारण परी यो कार्यक्रम कुनै पनि समयमा स्थगन वा रद्द गर्नु पर्ने भएमा सोे अधिकार बैंक र ईजरायली राजदुतावासमा शुरक्षित रहने छ । कार्यक्रम रद्द भएको विषयलाई लिएर कुनै किसिमको वादविवाद वा उजुरवाजुर गर्न पाईनेछैन ।
(ङ) पूर्व विद्यार्थीले सिफारिस गर्ने सम्बन्धमा
  1. सन् २०१६–१७ मा यसै कार्यक्रम अन्तरगत इजरायलको कृषि तालिममा भाग लिईरहेका (हाल इजरायलमा रहेका) प्रशिक्षार्थीहरुले (टिमलिडर बाहेकले) आफ्नो साना किसान सहकारी संस्थाका सदस्य परिवारका माथिको योग्यता पुग्ने कुनै १ जनालाई यस तालिमको गोलाप्रथामा भाग लिन सिफारिस गर्न सक्नेछन् ।
  2. यसरी सिफारिस गरिएको आवेदकले अन्य आवेदक सरह सम्बन्धित संस्थामा आवेदन दिनु पर्नेछ । उक्त आवेदनका साथ सिफारिसकर्ता प्रशिक्षार्थीको जिम्मेवारी लिएका अभिभावकले सिफारिसको पूर्ण व्यहोरा खोली संस्थालाई लेखेको निवेदन संलग्न गर्नु पर्नेछ ।
  3. यस प्रकारको निवदेन सहित आएको आवेदनलाई समेत सञ्चालक समितिले योग्य ठानेमा निर्णय गरी बैंकमा पठाउनु पर्नेछ ।
  4. अध्ययनरत प्रशिक्षार्थीहरुको सिफारिसमा आएका आवेदकले सम्बन्धित संस्थाले लिने परीक्षामा सामेल हुनु पर्ने छैन । तर बाँकी सम्पूर्ण प्रकृयाहरु (गोला, अन्तरवार्ता, मेडिकल, कागजात आदि) मा भने अन्य आवेदक सरहका सम्पूर्ण व्यवस्थाहरु समान रुपमा लागु हुनेछ ।
  5. सिफारिस कर्ताले आफु आवद्ध साना किसान सहकारी संस्था बाहेक अन्य संस्थासँग सम्बन्धित व्यक्तिलाई सिफारिस गर्न पाईने छैन ।
(च) साना किसान विकास बैंकको इलाका कार्यालयलाई निर्देशन
  1. सम्बन्धित इलाका कार्यालयले यो सूचना जति सक्दो चाँडो माथि उल्लिखित संस्थाहरुलाई दिनु पर्नेछ ।
  2. स्थाले प्रकृया पुरा गरी सिफरिस गरेका आवेदकहरुको देहाय अनुसारको लिष्ट अंगे्रजी भाषामा तयार गरी (स्पेलिङ्ग शुद्ध हुनु पर्ने) मिति २०७४ जेठ १५ गते भित्रमा बैंकको केन्द्रीय कार्यालयमा ईमेल गरी सक्नु पर्नेछ । 
    SN
    Name of Applicants
    Sex
    Name of guardian
    Group no.
    Education
    Date of Birth
    email ID
















  3. मिति २०७४ जेठ २१ गते नेपालगंजमा आवेदकहरुको छनौट कार्यक्रम आयोजना हुनेछ । 
(च) बैंकले कुनै शुल्क नलिने
  1. यस कार्यक्रमको सिलसिलामा बैंकले गरेको सहजीकरण वापत कुनै किसिमको शुल्क लिने छैन । कहिँ कसैले रकम सम्बन्धी कुरा गरेमा फोन नं. ०१–४१११९२८ मा जानकारी गराइ सहयोग गर्नुहोला ।
  2. विस्तृत जानकारीको लागि आफु आबद्ध रहेको साना किसान कृषि सहकारी संस्था वा यस बैंकका इलाका कार्यालय नेपालगंज (फोन नं. ०८१–५२६१३६), वा इलाका कार्यालय अतरिया (फोन नं. ०९१–५५१३१८ ) मा सम्पर्क गर्न सकिनेछ ।