Saturday, October 14, 2023

के ठिक के गैर कानूनी !

 थाइल्यान्डको एक ग्रामीण किसानको सवारी साधन । उनले एउटा 115 cc को स्कुटरलाई अर्को एउटा पाङ्रा थपेर सामान ढुवानी गर्ने, पारिवारिक यात्रा गर्ने जस्ता आधारभुत कार्य गर्ने गरेको पाइयो । सोध्दा थाहा भयो यहाँका आम किसानको सवारी साधन यही रहेछ । ग्यारेजमा सजिलै मोडिफाइ गरिदिँदो रहेछ । 

"यसरी स्वरूप नै बदल्दा पुलिसले पक्रदैन ?" मैले सोधेँ ।

किसानले जंगिदै जवाफ दिए, "के मैले चोरेको हो? मेरो थोरै  सम्पतीले धेरै काम लिएँ भने कसको किन टाउको दुख्नु पर्ने?"

मैले नेपालमा मोटर साइकिल मोडिफाई गर्ने ठिटालाई ट्रफिकले दिएको सास्ती सम्झेँ ।

२३ सेप्टेम्बर, २०२३

थाइल्यान्ड ।

महानाखोन- थाइल्यान्डको सबैभन्दा अग्लो कण्डोमेनियम

 जति माथी चढे पनि आकास अझै उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । सबैभन्दा उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अर्को अनन्त छ । उचाईमा टिकिरहन सकिदैन, भुईँमा फर्कनै पर्छ । त्यसैले होला 'धरातल बिर्सनु हुँदैन' भन्छन् ।

एउटै घरका विभिन्न फ्ल्याट र कोठा विभिन्न परिवारलाई आवासीय प्रयोजनको लागि भाडामा दिईन्छ भने अपार्ट्मेन्ट भनिन्छ । तर त्यस्ता कोठा र फ्ल्याट विभिन्न अलग अलग परिवारहरूको अलग अलग स्वामित्व हुने गरि बेचिन्छ भने त्यसलाई कण्डोमेनियम भनिन्छ । थाइल्याण्ड, बैंककको सिलोम/साथोन स्थित केन्द्रीय व्यापार जिल्लामा रहेको "महानाखोन" एक  गगनचुम्बी कण्डोमेनियम हो । 

20 जुन 2011 मा निर्माण आरम्भ भै 29 अगस्त 2016 मा उद्घाटन भएको यो महानाखोन काटिएको क्यूबोइड-सर्फेस भएको र हेलिक्स गिलासको पर्खाल रहेको वर्गाकार अपरम्परागत शैलीमा बनेको यश किसिमको भने विश्वकै पहिलो स्काईक्रेपर हो ।

314.2 मिटर (1,031 फीट) उचाई र 77 फ्लोरहरू भएको यो भवनमा होटल, खुद्रा पसल, रेस्टुरेण्ट, स्काई वाक रहेका छन् । विभिन्न ठुला कम्पनीका कर्पोरेट अफिस त छँदैछन्, अमेरिकी डलर $ US1,100,000 देखि $ US17,000,000 बीचको मूल्यमा २०० भन्दा बढी आवासहरू (फ्ल्याट) बिश्वका धनी मानिसहरूले खरिद गरि सकेको यो टावर बैंककको हालसम्मको सबैभन्दा महँगो कन्डोमिनियममा पर्छ । दुवैको यस्तै अग्लो घर "बुर्ज खालिफा" मा भारतीय फिल्मका कालाकार शाहरूख खानको समेत फ्लैट रहेको छ । तर, महानखोनमा दक्षिण एशियाका धनीहरू धाक जमाउन आएनआएको थाहा भएन ।

भुइँको क्षेत्रफल 150,000 वर्ग मिटर रहेको यस भवनको शुरुका ४ तल्लामा विभिन्न विलासी वस्तुका सोरूम छन् । प्रतिव्यक्ती 880 भाट तिरेपछी भने ७४ देखि ७७ सम्मका तल्लाहरू चढ्न र शीसा माथीबाट आकासमा यात्रा गर्न पाइन्छ । 1180 भाट तिरेमा 74 तल्लामा बसेर कफि र नास्ता खान पनि पाईन्छ । 

जति माथी चढे पनि आकास उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अनन्त छ । त्यहाँ टिकिदैन, धरातल बिर्सनु हुँदैन ।

यात्रा भने रोमाञ्चक रह्यो ।

९ असोज, २०८०

रोयल होटल, रतनाकोशिन, बैंकक ।

दाह्री भाइको चिया पसल

सुर्खेत जाने जो कोही पनि कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको ऐतिहासिक काँक्रे बिहार नपुगी आउँछ भने उसले जीवनमा ठुलै मौका गुमायो । काँक्रे बिहार गएर पनि त्यसको मुखैमा रहेको दाह्री भाइको चिया पसलमा एक कप मटका चिया नपिई फर्कियो भने त झन् ठूलो अवसर उम्कायो ।  त्यही पसल चलाउने दाह्री भाइ "सुरज क्षेत्री" जापान जान भाषा सिक्दासिक्दै झसङ भएछन् । 

'हैट! त्यत्रो खर्च गरेर विदेश जाने हैन । घरमा नै बसेर केही गर्ने ।' अनि रू. १० हजारबाट शुरु गरे उनले नयाँ व्यवसाय - 'दाह्री भाईको चिया पसल' । नेपालगञ्जबाट माटोको कप मगाए, स्वादिलो चिया बनाएर बेच्न थाले । अहिले मासिक लाखौँ कमाउँछन् ।

आफ्नै दामले साथिहरूको भनाई टिपेर स्लोगन लेखे - " यो चोटि तँ तिर, अर्को चोटि म तिर्छु ।"

सायद अब अर्को नारा थप्लान्, "चिया नखाएर कोही अजम्बरी हुँदैन" वा "हिजोको जस्तै मीठो ल" ।

माटोको कप पुन: प्रयोग हुँदैन, त्यसलाई के गर्ने ? आइडिया !! चिया खानेले कपमा आफ्नो वा आफ्नो पृयको नाम लेख्ने । अनि दाह्री भाइले त्यो कप सजाएर राखीदिने । वाह: !! ४ "स" वा सम्झना साँच्ने सुन्दर सोच !! 

लोगो त्यस्तै सुन्दर छ - चियाको कपसँग दाह्रीको छायाँ ।

स्कुल र क्याम्पस पढ्ने विद्यार्थीहरू चिया पिउन लाम लाग्छन् , चियाका पारखी र युवा तथा प्रौढहरू दाह्रीका चिया पिउन धाउँछन् ।

कोही उत्साही उद्यमी हुनुहुन्छ भने आउनुस् - दाह्री भाईसँग फ्रेन्चाइजी लिएर साखा खोलुँ । काठमाडौँ त एक राम्रो बजार हुन सक्छ ।

साना किसान कृषि सहकारी संस्था लि लाटिकोइलीका सदस्य परिवारका सुरजलाई सफलताको असीम शुभकामना ।

- लाटीकोइली, सुर्खेत

२०८०/०६/१८

सुर्खेतको काँक्रे बिहार - साम्प्रदायिक सद्भावको प्राचिन धरोहर

भर्खरै सामाजिक सद्भाव बिथोल्न खोजिएको नेपालगञ्जबाट करीब ८५ किलोमिटर उत्तर पर्ने सुर्खेतको वीरेन्द्रनगर चोकबाट करिब ३ किलोमिटर दक्षिण दिशा गएपछी लाटिकोइली पुगिन्छ । त्यहीँ पर्छ, 'काँक्रे बिहार' । 

करिब १८० हेक्टरमा फैलिएको सालको जङ्गलको बिचमा यत्रतत्र छरिएका पुराना ईंटा, काठ एवम् ढुङ्गाका कलात्मक बुट्टाहरू तथा आकर्षक मूर्तिहरूलाई पहिलो पटक गुरु योगी नरहरीनाथले वि. सं. २००७ सालमा 'काँक्रे बिहार' हो भनी पहिचान गरेका थिए ।

वि.सं. २०३० सालमा राजा वीरेन्द्रको पहिलो पटक

सुर्खेत भ्रमण भयो । उनले त्यस समय काँक्रे बिहारको महत्व थाहा पाए र उक्त क्षेत्रलाई तारबेरा गरी शुरक्षित गर्न लगाए ।

सोही क्षेत्रलाई वि. सं. २०५९ सालमा पुरातत्व विभागले संरक्षणमा लिई उत्खनन शुरू गर्‍यो । झण्डै १९ वर्षको निरन्तर उत्खनन्, अन्वेषण र पुनर्योजन पश्चात काँक्रे बिहार पुन: पुरानो आकृतीमा खडा भयो।

ज्यासन हव्कसको सन् २०१५ मा प्रकाशित Kingship, Buddhism and the forging of a region नामक शोध-पत्र अनुसार तिब्बतको 'स्पोन कान' गुम्बामा रहेको एक मूल ग्रन्थलाई काँक्रे बिहारको मुलप्रतिबाट सारिएको उल्लेख छ। यसबाट यो बिहारको आयु र महत्व अनुमान गर्न सजिलो भएको छ ।

पुरातत्व विभागको अन्वेषण, प्राप्त आलेख, कला र कालको विश्लेषण एवम् निर्माण शैलीका आधारमा यो बिहारलाई ११ औं र १२औं शताब्दीको बिचमा तत्कालिन खस राजा अशोक चल्ला वा क्राल चल्ला मध्ये एकले निर्माण गर्न लगाएको मान्ने गरिन्छ । यिनै चल्लाहरुलाई पछि 'मल्ल 'भन्न थालियो ।

एकातिर वि.सं. १९५० मा आएको महाभुकम्पले उक्त बिहार धुलिसात् भयो भन्ने भनाई छ भने १४ औँ शताब्दीमा भारतबाट आएका मुसलमानले मन्दिर भत्काएको तर्क समेत गरिन्छ । कसैले त शंकराचार्यका चेलाहरूले भत्काएको सम्म भनेका छन् । स्थानीय थारूहरूको मान्यतामा भने महाभारतको कथासँग यो भग्नावशेष जोडिएको छ । कौरवले पाण्डवलाई लाहाको घरमा डढाउन  खोज्दा पाण्डवहरू यही बिहारबाट सकुशल भागेको मान्यता राख्छन् । 

ईतिहास अनुसार खस राजाहरू हिउँदमा डुल्लु र वर्षामा सिंजामा आफ्नो राजधानी सार्ने गर्दथे । मल्लहरू यो खस राज्यले उत्तरमा तिब्बत र दक्षिणमा मगधहरूसँग राम्रो सम्बन्ध राखेको थियो । त्यसैले तिब्बती र भारतीयसँग समन्वय राख्दै काँक्रे बिहारमा मुलत: भगवान बुद्धको आराधाना केन्द्र भएता पनि हिन्दुहरूका देवीदेवता शिव, पार्वती, सरस्वती, गणेश, तारा आदिका मूर्ति पनि उत्तिनै महत्वकासाथ राखिएको पाईन्छ ।

दक्षिण भारतको तत्कालिन मन्दिरको स्वरूपलाई मिसाएर शिखर शैलीमा यो बिहार निर्माण भएको छ । ६ मिटर अग्लो यस मन्दिरमा गजुर, गर्भगृह र गुम्बजहरू समेत छन् ।


कसैले यो क्षेत्रको भौगोलिक बनौट काँक्रोको आकारमा

भएकोले काँक्रे बिहार भनियो भन्छन् त कसैले पत्थर कंकडबाट बिहार बनेकोले 'कंकडे बिहार' भन्दा भन्दै अपभ्रंश भएर काँक्रे बिहार भएको तर्क गर्छन् । जे होस्, मन्दिरको शैलीमा भगवान बुद्ध र हिन्दु‌का देवी देवता समेत राखेर बनाइएको यो बिहार त्यस समयको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको अनुपम नमुना मान्न सकिन्छ।

सुर्खेत आउनु भएको छ भने काँक्रे बिहार जानुस्, फर्कदा मुखैमा दाह्री भाईको चिया पसल छिर्नुस्, एक कप मटका चिया खानुस् । दिपेन्द्र कार्की भाईको बाट गँड्यौले मल लिन नबिर्सनुहोस् । र, धार्मिक सहिष्णुता हाम्रो पुर्खौली स्वभाव भएको बुझ्नुस् । यो बिहारमा एकछिन घोत्लिए पछि "धार्मिक/ साम्प्रदायिक युद्धले विनाशमात्र निम्त्याउँछ, प्रेम र सद्भावले मात्र साँचो अर्थमा धर्म मिल्छ" भन्ने शाश्वत तत्व ज्ञान प्राप्त हुनेछ ।

होटेल शुभ

वीरेन्द्रनगर, सुर्खेत

२०८०/०६/१९