Wednesday, April 13, 2022

हामीले चाखिसकेका कुनै पनि नेता नहुँदैमा देश डुब्दैन ।

मैले आफ्नो अल्प बुद्धिले भ्याएसम्म थोरै थोरै मार्क्स, लेनिन, माओ त्से तुङ्ग, क्यास्ट्रो आदि जस्ता साम्यवादीका विचार;  लि क्वान यु, हिट्लर, रुजबेल्ट्का बिकासे कर्म; विशेश्वर प्र. कोइराला, जे.पी. नारायण, बेंगुरियन, नेहेरु, मण्डेलाका समाजवादी अभियान बुझ्न मनन गर्न पाएको छु । यी र यस्ता राजनीतिज्ञहरूको सोच र कर्मले नै हो, राजनीती किन जरुरी छ भन्ने छाप छोडेको ।

अलिअली आदम स्मिथ, मिल, मिल्टन, रबिन, रिकार्डो, अमर्त्यसेन, किन्स र मार्शल आदि पनि प्रसङ्ग्बस पढ्न पाइयो । तसर्थ मलाई  राजनीती र अर्थशास्त्र प्रति अपार सम्मान र आशा छ । मुलुकको समृद्धी र प्रगतिकालागी राजनीतिभन्दा प्रभावशाली अर्को कुनै चिज छैन । राजनीतिक पदमा पुग्नु भनेको विकास गर्ने त्यो अभुतपूर्व अवसर प्राप्त गर्नु हो । 

अहिले चुनाव लागेको छ । परिवर्तनका बाहक चुन्ने जिम्मा तपाईं हाम्रो टाउकोमा आएको छ । तर, चर्चामा आएका अनुहार र तिनका बिगतका कृयाकलाप सम्झदा मलाई ताज्जुब लाग्छ - मानिसहरू किन राजनीती गर्छन्? के यिनीहरु माथी उल्लेख गरिएका राजनीतिज्ञ नपढी यता लागेका हुन् ? 

यो प्रश्नको जवाफ मलाई हैन "हे प्रस्तावित उम्मेदवारहरू हो - एक्लै बसेर ईमानसाथ आमाको कसम खाएर आफैँलाई सोध्नुहोस् - म किन उम्मेदवार बन्दैछु? म किन राजनीती गर्दैछु ? के राजनीतिको लागि म योग्य छु त?" कामै गर्ने हो भने ५ वर्ष काफी छ । विकास गर्न परिकल्पना (भिजन), टिम चयन क्षमता, कठोर लगनशीलता, स्वच्छ अनुशासन र स्वार्थरहित दृढ इच्छाशक्ति आवश्यक पर्छ । के तपाइँसँग त्यो कुरा छ? तपाईं आमाको कसम खाएर पनि झुठ बोल्नु हुन्छ भने तपाईं राजनीतिज्ञ होइन, एक कुटिल बलत्कारी हो, जो आमा प्रती पनि ईमान्दार हुन सकेन ।

कुनै पनि नेताको बिगत १०-२० वर्षका बेहोरा नियाल्यो भने उसको नियत थाहा हुन्छ । चोर गोरूलाई थाङ्ग्राको बारले छारो मात्र हाल्न सक्छ, थुन्न सक्दैन । त्यसैले भोट हाल्ने निर्णयमा पुग्नअघि उनीहरूका कुरा नसुनौँ, हिजोको बेहोरा सम्झौँ । पल्केका चोरहरूबाट जुनसुकैबेला लुटिने डर हुन्छ । र, भिजन नभएका स्वाँठ छन् भने झन् तपाईं र तपाईँका सन्ततिको अरु ५ वर्ष सत्यानाश हुन्छ । याद गर्नुस्, आगामी ५ वर्ष उनीहरूले गर्ने एकएक पैसाको खर्च तपाईं हामीले तिरेको प्रत्यक्ष र अप्रत्यक्ष करबाट असुलेको हुन्छ । त्पाइँले पैसा तिरेर राख्ने त्यो गोठालो कस्तो हुनुपर्छ भन्ने कुरा तपाइँले नै राम्ररी विचार पुर्‍याउनु पर्छ । 

हामीले चाखिसकेका कुनै पनि नेता नहुँदैमा देश डुब्छ जस्तो लाग्दैन । भएका कुनैले चमत्कारै गर्लान जस्तो पनि लाग्दैन । बरु स्थानीय नेतृत्व छान्दा एकपटक त्यस्ता युवायुवतीहरूलाई अघि बढाउँ जसले अहिले सम्म भ्रष्टचार गर्ने मेसो पाएका छैनन् । 

पार्टी कुनै जात वा धर्म हैन, जो बदल्न कठिन हुन्छ । तपाईं हामीले देउता ठानेका कति 'महान' नेताहरू कतिवटा पार्टीमा पोइला गइसके? हामीले चैँ के समातेर बसिरहनु पर्ने? 

तैपनि मैले त  पार्टी त्याग्नुस् भनेकै हैन । केवल स्थानीय तहको निर्वाचनलाई पार्टीगत राजनीती नबनाउँ । यो तपाईँको घर अघिको बाटो, वच्चा पढ्ने स्कुल, वर्षा काट्ने पुल, खेती पाल्ने कुलो, पीउने पानी, बीउबिजन, रोजगारी, कर, अस्पताल र भनौँ सिङ्गो जीवनसँग सम्बन्धित छ । त्यसैले राम्रो उम्मेदवार छान्नु भयो भने तपाइँलाई कुनै पाप र श्राप लाग्दैन । बरु नराम्रो नेता छान्नु भयो भने तपाइँको जीवन तपाइँको समाज नर्क बन्छ ।

स्थानीय निर्वाचन जीवनसँग सम्बन्धित भएकोले दर्शन छाँट्ने गफाडी हैन, काँध थाप्ने जोशिलो युवा चाहिन्छ । यस्ता युवाहरू अन्तर्पर्टी सहकार्यमा पनि फराकिलो मन बनाएर समन्वय गर्ने क्षमता राख्छन् । २४ घण्टा खट्न सक्छन् । अदम्य र अकल्पनीय साहास राख्छ्न् । त्यसैले अहिले पार्टी रोज्नु पर्दैन, व्यक्ति रोजौँ । भारतमा ग्राम पञ्चायतको चुनाव निर्दलीय हुन्छ, पार्टीगत हुँदैन । 

राजा हुँदा पृथ्वीनारायण २० वर्षका र महेन्द्र ३५ वर्षका थिए । बीपी ३७ वर्षमा गृहमन्त्री भए । भिमसेन थापा र जंगबहादुर ३१ वर्षमा प्रधान्मन्त्री बने । ३९ वर्षमा मदन भण्डारी माले पार्टीको मुखिया बने । जोसुकैले जेसुकै भने पनि आम नेपालीहरूले सँधै सम्झने नाम यिनै हुन् । युवामा विश्वास गर्न सकिन्छ, युवामा  क्षमता हुन्छ भन्ने देखियो त ! हामी चैँ किन  बुढापाका भन्दा बाहिर निस्कन नसकेको होला ? आफू नेतृत्व चयनमा गल्ती गर्ने, अनि राजनीतिलाई गाली गर्ने ? 

स्थानीय तहमा युवालाई मौका दियो भने सानो भुगोलमा उसको कार्यक्षमताको परीक्षण  हुने भएकोले उसले राम्रो गर्न नसक्दा पनि थोरै क्षतिमा नै ठूलो दुर्घटनाबाट मुलुक बच्यो । कार्यसम्पादन राम्रो देखायो भने उसले माथिल्ला तहहरूका लागि आवश्यक परिपक्वता आर्जन गर्ने मौका पायो । बढुवा हुने प्रशस्त तहहरू र पर्याप्त उमेरले उसलाई अझ बढी मेहनत गर्न उत्प्रेरित गर्ने भयो । यसो भएमा  ग्रासरूटको घनिभुत अनुभवको धरातलबाट राष्ट्रिय राजनीतिमा पुगेका परिपक्व नेताहरूको ठूलो रोस्टरबाट मुलुकले राम्रै नेतृत्व पाउने ग्यारेण्टी बढ्छ । 

यो एक पटकमात्र भए पनि  युवामा विश्वास गरौँ । स्मरण रहोस् - नेपालमा युवा भनेको १६ देखि ४० वर्षको उमेर समूह हो ।

Tuesday, April 12, 2022

बसेका शिवजीको सबैभन्दा ठूलो मूर्ति

यसै पनि पोखरा प्राकृतिक सुन्दरताको दृष्टिले धर्तीको स्वर्गभन्दा अत्युक्ति नहोला । नेपालीमात्र होईन विश्वका पर्यटकहरुको उच्च रोजाईमा पर्ने गन्तब्य हो पोखरा । त्यसैले पोखरालाई पर्यटकीय नगरीको रुपमामात्र चिन्ने गरिन्छ । तर पुम्दीको शक्तिपिठमा नवनिर्मित शिव मूर्तिले पोखरालाई धार्मिक पर्यटन स्थलको रुपमा समेत चिनाउने भएको छ ।

Pumdi

पोखराको आन्तरिक विमान स्थलबाट करिब १२ किलोमिटर दक्षिण–पश्चिमको पुम्दी शक्तिपिठ रहेको डाँडोको थाप्लोमा करिब २२ रोपनी क्षेत्रफलमा भगवान शिवको पद्मासनमा रहेको ५१ फिट अग्लो शिवको मुर्ति स्थापना गरिएको छ । उक्त मुर्तिलाई सुमेरु पर्वतमा आसिन गराईएको छ । सुमेरु पर्वत विशाल ध्यान भवनको छतमा छ । ध्यान भवन देखि तल विसौँ सटरहरु निर्माण गरिएका छन् । उक्त सटर भागबाट १०८ खुड्किला भएको घुमाउरो सिँढी उक्लिएपछि ध्यान भवन अघिको बगैँचामा पुगिन्छ । यस प्रकार सतहबाट मुर्तिको कुल उचाई १०८ फिट हुन पुग्छ । मुर्तिको अनुहार दक्षिण–पश्चिम तर्फ फर्काईएको छ भने पृष्ठभाग (उत्तर–पूर्व तर्फ एशियाको सबैभन्दा ठूलो मानिने डमरु स्थापना गरिएको छ । त्यसभागबाट हेर्दा ठ्याक्कै माछापुुच्छ्रे हिमालसँग नाक ठोकिएला जस्तै हुन्छ भने पैतला फुस्किएर फेवातामा पो खसिन्छ कि जस्तो पनि देखिन्छ । अलि तल्लो हरियो डाँडोमा सेतो शान्ति स्ुतप र






Pokhara





पूर्वपट्टि आन्तरिक र अन्तर्राष्ट्रिय विमान स्थल प्रष्ट देखिन्छ । या भनौँ सिङ्गो पोखरा घुम्न फुर्सत नहुनेले पुम्दीमा गएर पोखराको स्वाद लिन सक्नेछन् ।
ध्यानभवनको वरीपरि १०८ वटा शिवलिङ्ग स्थापना गरिएको छ । अघिल्लो भागमा विशाल साँढेको बसेको पित्तले प्रतिमा, प्राचिन शक्तिपिठको मन्दिर, गणेशको प्रतिमा, गंगा तलाउ र प्रवेशद्वारमा नै विशाल कलशको प्रतिक स्थापना गरिएको छ ।
तल सिँढीमा टिकट काउण्टर रहेको छ, तर मन्दिर प्रवेशका लागि शुल्क लाग्ने नलाग्ने बारेमा बुझ्न सकिएन ।
२०७९ बैसाख ४ गते उद्घाटन समारोह राखिएको उक्त स्थलको निर्माण कार्य सकिएको छैन । मोटर पार्कबाट करिब ४०० मिटर पैदल उकालो चढ्नु पर्ने बनाईएको छ । त्यहाँ मोनोरेल स्थापना गर्ने योजना रहेको छ । पुम्दीकोट विकास समितिले यहाँ शहिद स्मृति पार्क समेत निर्माण गर्ने योजना रहेको बताईएको छ ।
स्थानीय समाजसेवी चन्द्रकान्त बरालको सकृयतामा निर्मित यस धार्मिक पर्यटकीय स्थलमा पोखराको डेभिस फल (पताले छाँगो) बाट अफरोड मोटर भाडमा लिन सकिन्छ । करिब ४ किमी कच्चि र उकालो सडकबाट यात्रा गर्नु पर्ने भएकोले साना कारहरुलाई केही समस्या पर्न सक्छ । तर चाँडै नै पक्कि सडक बनाउने गरी तयारी रहेको समेत बुझिएको छ । मोटरसाईकल भने सजिलै पुर्याएको देखियो ।
समुन्द्र सतहभन्दा झण्डै १५०० मिटर उचाईमा रहेको यस क्षेत्रमा पोखराभन्दा २ डिग्री जति तापक्रम कम रहने बताईएको छ । घुमेर फर्किहाल्नेका लागि चियानास्ताका पसलदेखि आवासीय सुविधा सहितको होटल र लजहरु प्रचुरमात्रमा रहेकोले यात्रुलाई कुनै असुविधा हुने देखिदैन । काठमाडौँका अन्य शहरहरुको तुलनामा सिङ्गो पोखरा नै महङ्गो शहरको रुपमा रहेको हुँदा यात्रुले आर्थिक तयारी पनि बिर्सनु हुँदैन ।

Wednesday, March 2, 2022

नेपालले रुशलाई धुलो चटाईदिने

अफिसियल कामकाे सिलसिलामा हामी सातआठ जना एक पटक बंगलादेशको कुनै होटलमा बास बसेका थियौँ । खानपिन हुँदै थियो । हाम्रो टिममा जाँडरक्शी खाने त कोही थिएन, तरपनि गफ गर्दा गर्रदै धेरै हल्ला भएछ । पल्लो कोठाको एक अमेरिकीलाई सुत्न डिस्टर्ब भएछ । आएर खुब गाली गर्यो र पुलिसलाई खबर गर्ने धम्की दियो । 


हामी केही बाेलेनाैँ, सरी भन्याैँ । मलाइ भने हाम्रो मानव अधिकार हनन् भएको लागिरह्यो । अर्कालाई डिस्टर्ब गर्नु अपराध हो भन्ने थाहै थिएन । हामी चुपचाप सुत्यौँ । मेरो पहिलो बिदेश भ्रमण थियो । कति नाचगान रमाईलो गर्ने रहर थियो । सबै सपना चकनाचुर भयो । रातभर त्यो अमेरिकनलाई सराप्दै हामी सुत्यौँ ।

बीर गोर्खाली भएर पनि लुत्रुक्क परेर हिँडेकोमा धेरै ग्लानी भयो । हामी त्यो एक्लो 

बिदेशीलाई त्यहीँ  ठीक लगाएर रमाईलो जारी राख्न पनि सक्थ्यौँ । भोलीपल्ट नास्ता गर्दैगर्दा हिजोको लाचारीको समीक्षा गरियो । शिवराम सरले छिमेकीको कर्तब्य, सम्झौता र कुटनीतिको बारेमा बताउनु भयो । केही बेर थप हल्ला गरेको भए पुलिस कार्बाहीमा परिने रहेछ । छिमेकी भनेको सम्झौता र समझदारी पनि रहेछ । अर्काको मर्म र भावनाको कदर गर्नु पर्ने रहेछ ।

अमेरिका र युरोपले बाँकी विश्वलाई दाश र दोस्रो दर्जाको मान्छे ठान्छन् । यिनीहरु चिन, इण्डिया, रुश जस्ता एशियायी देशको बढ्दो शक्तिदेखी आत्तिनु स्वभाविक हो । अफगानस्तान, इराक, भियतनाम वा संसारमा जति पनि अशान्ति हुन्छ, त्यसको पछि यिनीहरु कै हात हुन्छ । हाम्रो देशको परम्परागत आर्थिक संरचना, जातीय सद्भाव, साम्प्रदायिक सहिष्णुता, राष्ट्रिय एकता र समृद्ध संस्कृति सिद्धयाउन विभिन्न नामका आई एन जी ओ, अन्तर्राष्ट्रिय सहयोग नियोग, विश्व बैंक र एशियाली विकास बैंक जस्ता संस्था, युएनका नामबाट छिरेका अनमिन लगायतका संस्था, युरोपियन युनियन आदि कसरी लागेका छन् र विगत ३० वर्षमा हाम्रो देश कुन अवस्थामा पुग्यो ? छर्लंग छ । संसारमा कुनै ठूलाे महत्व नराख्ने हाम्राे जस्ताे कंगाल मुलुक ध्वस्त बनाउन त उनीहरू यसरी जाल फिँजाउँछन् भने उदयमान शक्ति राष्ट्रलाइ सिध्याउन के मात्र गर्दैनन् हाेला । 

गरेकाे अत्याचार लुकाउन उनीहरुसँग सार्वभौमसत्ता, मानव अधिकार, आतंककारी गतिविधि आदि के के हो के के आकर्षक औजार छन् । त्यसले भएन भने हतियार त छँदैछ ।

एक्लो शक्तिशाली राष्ट्र बन्न सन् १९४९ मा अमेरिकाले केही दम्भी पश्चिमा पुँजीवादी राष्ट्रहरु समेटेर उत्तर एटलांटिक सैनिक गठबन्धन (नाटो) बनायो । यिनीहरुको दादागिरी खुब बढेपछि सन् १९५५ मा सोभियत रुशको अगुवाईमा पूर्वेली र समाजवादी राष्ट्रहरु मिलेर वार्सा प्याक्ट सैनिक गठबन्धन खडा गरियो । वार्सा गठनपछि विश्व प्रष्टरुपमा दुई ध्रुबमा बाँडियो । यसपिछकाे समयलाई शितयुद्धकाल भनिन्छ । विश्व शक्ति सन्तुलन भएकोले सन् १९९१ सम्म विश्वमा नै तुलनात्मक रुपमा शान्ति छायो । यसबाट पश्चिमाहरुको साम्राज्यवादी र मालिकाना स्वार्थमा धक्का पुग्यो । सारा पुँजीवादी शक्ति मिलेर सन् १९९१ मा सोभियत संघ विघटनको षडयन्त्रमा धकेलियो, वार्सा संगठन ध्वस्त पारियो र विश्वमा अमेरिका एकमात्र शक्तिशाली दादा बन्न पुग्यो । सन् २०२२ सम्ममा आईपुग्दा अमेरिकाको उक्साहट र दादागिरीमा भएका नरसंहार र अशान्तिका काण्डहरुको दर्दानाक सूची सबैलाई थाहै छ ।

छिन्नभिन्न भएको रुशमा सन् २००० मा पुटिनको उदय पश्चात पुनः आर्थिक सबलीकरण, शक्ति सञ्चय र सशक्तीकरणका कामहरु भए । अमेरिकालाई साइजमा ल्याउन आणविक हतियार बाहेक अरु कुनै उपाय नै  थिएन । रुशले आणविक हतियारमा खुब विकास गर्यो र संसारको सबैभन्दा ठूलो आणविक शक्ति बन्यो । बिस्तारै अमेरिकालाई आफ्नो दादागिरी नचल्ने भयले छोप्न थाल्यो । इण्डिया, चाईना र रुश नयाँ शक्तिको रुपमा उदाउन थालेको देखेर यी तीनै देशमा अमेरिकाले विभिन्न कार्ड फ्याँक्न थाल्यो । इण्डिया स्वभावतः केही लोभियो । चाईना र रुश मुकाबिला गर्न तम्सिए । चाईनालाई घेर्न अमेरिकाको अगुवाईमा हुवावे काण्डदेखि हंगकंग बिद्रोह, ताईवान उक्साहट, कोरोना आरोप, व्यापार युद्ध आदि चालियो भने चुपचाप बसेको रुशलाई घेर्न पूर्व सोभियत राष्ट्रहरुलाई धमाधम नाटो र युरोपेली युनियनमा सामेल गराएर रुशलाई घेर्न थालियो । सोभियत रुशले बनाईदिएको पूर्वाधार लिएर, पश्चिमाको उक्साहटमा सोभियत रुशबाट छुटिएको युक्रेनले अमेरिका र नाटोको गुलामी गर्न थालेपछि रुशलाई सुरक्षा खतरा बढ्नु स्वभाविक थियो । रुशले त्यसो नगर्न युक्रेन र नाटोलाई बारबार अनुरोध गर्यो । युक्रेन ध्वस्त हुँदा पश्चिमालाई कुनै नोक्शान नै थिएन, तर रुशलाई त्यहाँ नराम्ररी फसाउँन सकिने उनीहरुको ठहर भयो । 

पश्चिमाहरुलाई रुशको सामरिक शक्तिको आँकलन गर्न नजिकको कुनै राष्ट्रलाई रुश विरुद्ध उकासेर युद्ध गर्न लगाउनु पर्ने भयो । यसबाट अमेरिकालाई २ वटा फाईदा हुने थियो । एक रुशसँग डराउनु पर्ने हो होईन ? यसको शक्ति र हातहतियार कति प्रभावकारी छन्, सेना कतिको दक्ष छ? प्रविधि कति विकसित छ ? आदि थाहा पाउन सकिन्थ्यो । दोस्रो, रुशलाई युद्धमा होमिदिन पाएमा उसलाई बदनाम गराउन, नाकाबन्दी लगाउन, उसका सैन्य शक्ति र हतियार सिध्याएर कमजोर बनाउन सकिने थियो । युरोपसँग भौगोलिक निकटता र तुलनात्मकरुपमा रुशको केही शक्तिशाली छिमेकी भएको हुनाले अमेरिकाकोलागि यो षडयन्त्र पुरा गर्न युक्रेनभन्दा राम्रो अर्को देश हुनै सक्दैन थियो । 

तर, युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले छिमेकी रुशको भावना र सुरक्षा संवेदनामा खेल्न चाहेनन् । यसैले अमेरिकाले युक्रेनको राष्ट्रपतिमा एउटा स्वाँठ गिनी पिगको खोजी तीब्र बनायो । 

सन् २०१९ मा युक्रेनमा हिट भएको टिभि सिरियल 'सर्भेन्ट अफ द पिपुल' का हाँस्य कलाकार भोलोदिमिर जिलेन्स्कीलाई अमेरिकाले योग्य पात्र हुने अनुमान गर्यो र कमेडियन पेशा छोडेर एकै पटक युक्रेनको राष्ट्रपतिको उम्मेदवार बनाईयो । फेसबुक, ट्वीटर, ईन्साटाग्राम, व्हाट्स एप, भाईबर आदिजस्ता हजारौँ सामाजिक सञ्जालको अकल्पनीय उपयोग गरि प्रचार प्रसार गरियो । विवादस्पद चुनाव गरेर एकलौटी रुपमा जिलेन्स्कीले राष्ट्रपति पद जिते । जित लगत्तै शर्त अनुरुप उनले अमेरिकाको लागि काम गर्न शुरु गरे । रशियालाई घेर्न नाटो र युरोपियन युनियनसँग साँठगाँठ बढाए, रुशको अनुरोध मानेनन् । यो अवस्थामा रुश लाचार भएर बस्न सक्ने कुरै भएन । 

आज यिनै जिलेन्स्कीको जिद्दीका कारण युक्रेनमा तबाही मच्चिएको छ । रशियन र युक्रेनी एकै जात र भाषा बोल्ने मानिसहरु हुन् । रुशले अक्रमणमा पश्चिमा 'नवनाजिवादी' र जिलेन्स्की शक्तिलाइ मात्र टार्गेट गरेको थियो । त्यत्रो विध्वंश हुँदा पनि सर्वसाधारणलाई बचाएको थियो । तर जनता नमारेकोमा हाँस्य कालाकार जिलेन्स्कीलाई चित्त बुझेन । अहिले उनी सर्वसाधारणलाई युद्धमा होमिन आह्वान गरिरहेका छन्, बम बनाउन सिकाईरहेका छन्, घातक हतियार घरघरमा बाँड्दै हिँडिरहेका छन् । अब ती मानिसहरु रशियन सेनासँग भिड्ने छन्, मारिने छन् र पश्चिमाहरुले रुशलाई आम संहार गरेको भनेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउने बाटो पाउने छन् । जिलेन्स्कीलाई राष्ट्रवादी, सहासी र जिम्मेवार नेता भनेर पश्चिमाहरु झ बढी ध्वंश मच्चाउन उक्साई रहेका छन् । 

यसैबिचमा युक्रेनलाइ युरोपेली युनियनको सदस्यता दिईयो र चाँडै नाटोको सदस्यता दिईने छ । संयुक्त राष्ट्र संघ नामक एलिट क्लबबाट रुशलाई आतंककारी घोषणा गरिने छ । पश्चिमा ठेक्कामा रहेका विश्वका सर्वोच्च मानिने संस्था, ब्यापारिक गतिविधि र संगठनबाट रुशलाई अलग्याईने छ । जित्ने छ अमेरिकाले, हतियार बेचेर कमाउने छ अमेरिकाले, दुख पाउनेछन् पूर्वी सोभियत देशका जनताहरुले र आखिरमा हार्ने छ युक्रेनले । जिलेन्स्कीले समातेको बाटोको परिणाम हो यो । एउटा खराब शासक भयो भने देश र जनताले कसरी बर्बादी भोग्नु पर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ युक्रेन ।

तरपनि रशियाले युक्रेनमाथि गरेको आक्रमण गलत हो । 

सामान्य अवस्थामा बिरालोले मानिसलाई चिर्थोदैन । कोठा थुनेर बिरालो चुट्नेहरुले बिरालोले नंग्राउँदा सहन र बिरालाेले छेरेर फोहोर गरेकाे कोठा सफा गर्न पनि तयार हुनु पर्छ । अहिले रुशको अवस्था त्यही हो । यसको सम्पूर्ण दोषअअमेरिका र पश्चिमा राष्ट्रलाई जान्छ । 

विश्वमा यस्ता धेरै विवादहरु छन् । छिमेकमा नै तिब्बत काण्ड छ, कश्मिर रोग छ, सिक्किम कहाँ गयो ? आफ्नै कालापानी र लिपुलेकको सन्दर्भमा यो सरकारले केही बोल्न सकेको छैन । देश दुखेकाे छैन । तर हाल नबाेल्दा पनि हुने युक्रेनकाे विषयले नेपाली शासकलाइ खुब घाेच्याे ।

एम सी सी काण्डमा अपार अमेरिकी भक्ती प्रदर्शन गरेको नेपालले रुशको विरुद्धमा उभिएर गुलामीको अनौठो मिसाल पेश गरेको छ । असंलग्न पराराष्ट्र नीतिको धज्जी उडाउँदै र छिमेकी चाईना र इण्डियामात्र होईन दक्षिण एशियाका कुनै राष्ट्र नबोलेको अवस्थामा नेपाल सरकारले अमेरिकी भाषामा रुशलाई हतार हतार चेतावनी दिएको छ । मानौँ रुशले युक्रेन माथिको आक्रमण रोकेन भने नेपालले रुशलाई धुलो चटाईदिनेछ ।

यो वक्तव्यलाइ गुलामीको पराकाष्ठ मान्ने कि जिलेन्स्की जस्तै कठपुतलीहरुको बाध्यताको बर्बराहट सम्झने ?

Saturday, February 12, 2022

पढ्नै पर्ने किताब Smash & Grab: Annexation of Sikkim - लेखक सुनन्दा के दत्त (सो पुस्तक पढेपछी मेरो निश्कर्ष)

 

१. सिक्किमलाई छ्योग्याल राजवंशले 1642 मा एकीकरण गरी स्वतन्त्र राष्ट्रको रूपमा आजको सिमाना कायम गराउँदा अहिलेको नेपालमा ८० भन्दा बढी र अहिलेको इण्डियामा 600 जति स्वतन्त्र देश थिए । सिक्किम त उमेरले नेपालको बाबू र इण्डियाको हजुरबाबु सरह थियो।
२. त्यसैले चीनमा तिब्बतको बिलय (सन् 1951) भन्दा ईण्डियामा सिक्किमको बिलय ज्यादै घृणासष्पद किन छ भने ऊ कहिल्यै इन्डियाको हिस्सा थिएन, इतिहासमा तिब्बत र चीन भने बेलाबेलामा जोडिदै छुट्टिदै गरेका थिए। तर पनि हाम्रा दुबै छिमेकीको ईतिहास साना मुलुक हडप्ने कलंकबाट पोतिएको छ । कति भरोसा गर्ने, कति सतर्क रहने त्यो खुबीसँग देशको भविष्य जोडिएको छ ।
३. सन् 1947 मा ईण्डिया बृटिश गुलामीबाट मुक्त भयो । त्यसपछि त सिक्किममा एम्बुलेन्स दिने, स्कुल बनाई दिने र छात्रवृत्ती दिने काम थालिहाल्यो इन्डियाले। अनि त्यहाँका नेताहरू बिस्तारै निवेदन बोकेर भारतीय अधिकारीसँग (राजदुतावास?) धाउन थाले ।
४. सैनिक सहायता, चिनबाट असुरक्षा, भुपरिवेष्ठिता, सडक सन्जालको अभाव, कमजोर अर्थतन्त्र देखाएर सन् 1950 मा ईण्डियाले सिक्किमको सुरक्षा जिम्मा लियो ।
५. सन् 1945 मा गठित सिक्किम प्रजा परिषद धराप बनाएर सन् 1962 मा काजी लेन्डुप दोर्जे (काजीसाब)ले सिक्किम नेसनल काङ्रेस नामक राजनीतिक पार्टी खोले र प्रजातान्त्रिक नारा अघि बढाए । तर, राजा नाम्ग्याल र उनको देशलाई संरक्षित देशको रुपमा बचाएर राख्न आफू सन 1964 मा नमरुन्जेलसम्म नेहेरुले मद्दत गरे । नेहेरु मर्ने बित्तिकै काजिको पार्टी मार्फत सिक्किममा राजतन्त्र बिरोधी गणतान्त्रिक आन्दोलन शुरु भयो (गराइयो?) ।
५. सन् 1963 देखि सिक्किमका सन्चार माध्यममा देखिने/नदेखिने गरी विदेशी लगानी बढ्न थालिसकेको थियो । विवाद, भ्रम र काण्ड चर्काएर सिक्किम सरकार कमजोर बनाउने र प्रत्यक्ष वा परोक्षरूपमा ईण्डियाको वफादारी छर्ने काममा पत्रपत्रिका लागे । त्यस समयका समाचार पढ्दा सिक्किम त भ्रष्टाचारको अखडा, संसारको सबभन्दा गरिब मुलुक, राजतन्त्र गरिबीको मुल कारण, प्रजातन्त्र आवश्यक भएको आदि कुराले रङिएका हुन्थे । चिनले उत्तरबाट सिमाना अतिक्रमण गरेकोले सिक्किमको अस्तित्व खतरामा परेको लेख्थे । राष्ट्र प्रमुखलाई संसारको सबै भन्दा कुरूप शासकको रूपमा चिनाइन्थ्यो ।
६. नेहेरू मरेपछी ईन्दिरा गान्धी प्रधानमन्त्री भइन् । अनि ईण्डियासँग सिक्किमको 'रोटीबेटी सम्बन्ध' झन् बलियो हुँदै गयो ।
७. सन् 1970 मा काजिसाबले आफ्नो पार्टीलाई इण्डियाको काङ्रेस पार्टीमा गाभे । यसबाट आम निर्वाचनमा उनले संसदको स्पष्ट बहुमत जिते ।
८. अमेरिकन नेक्सस भएकी बेल्जियम उच्च घरानाकी रानी र रक्सिमा डुब्ने राजा बिरुद्ध छात्रवृत्ती र एम्बुलेन्समा रमाएका अनि ईण्डियासँग रोटीबेटी गाँसिएका नेताले चलाएको आन्दोलनले सन् 1973 अप्रैलमा राजा मिल्कायो र सिक्किम गणतन्त्रात्मक मुलुक बन्यो ।
९. गणतन्त्रवादी-रोटीबेटीका जाज्वल्यमान नेताहरूले चुनाव जिते । सामुन्ने देखिने गरि मुलपदमा मूलबासी लेण्डुप दोर्जेलाई राखेर सरकार बनाए, संसद बन्यो र त्यही संसद्ले जनमतको नाममा सर्वसम्मत निर्णय गरि सिक्किमलाई इण्डियामा गाभ्ने निर्णय गर्यो ।
१०. भर्खरै बृटीश गुलामी सकेर फर्किएको 30 वर्ष नपुग्दै ईण्डियाले सन् 1975 अप्रैल 9 का दिन सिक्किमलाई गुलाम बनायो । यसरी दक्षीण एशियाको सबैभन्दा पुरानो स्वतन्त्र देश सिक्किम सन्सारको नक्साबाट बिलायो ।
११. सिक्किमलाई भारतमा बिलय गर्ने निर्णय गर्ने लेण्डुप दोर्जेलाई स्वागत गर्न दिल्ली एयरपोर्टमा ईन्दिरा गान्धी आफैँ फुलामाला लिएर बसेकी थिएन् । रातो कार्पेट विछाईएको थियो र सलामी दिईएको थियो ।
१२. सिक्किम सुम्पिएको पुरस्कारस्वरूप इन्डियाले लेण्डुपलाई सन् 1975 देखि 1979 सम्म मुख्यमन्त्री बनाईदियो ।
१३. त्यसपछी सिक्किम बस्न नसकेका नि:सन्तान लेण्डुप कालिम्पोङ्ग्मा बस्न थाले । सन् 2002 मा पद्मश्रीबाट सम्मानित लेण्डुप सन् 2007 मा 102 वर्षको उमेरमा पश्चिम बङालको एक साधारण अस्पतालमा मर्दा 4 जना मानिसमात्र साथमा थिए ।
१४. विशाल ईण्डियासँग फिस्टे सिक्किमले धेरै भेरैँचो गर्दा र सरोबरी गर्न खोज्दाको परिणाम बुझ्न पनि यो किताब पढनै पर्छ ।
१५. नेपालको १०% जनता इण्डिया गएभने ३० लाख जना हुन्छ । इण्डियाको १०% नेपाल पसे भने १४ करोड जना छिर्छन ।
१६. अहिले पनि इण्डियनले रेमिट्यान्स बढी कमाउने छैटौँ मुलुक नेपाल हो । हामी खाडी जान्छौँ, त्यही मौका छोपी उनिहरू अलिकती सिमाना काटेर नेपाल पस्छन, १० खर्ब लिएर जान्छन् , नागरिकता त उपहार पाउने भैहाले ।
१७. जसरी अहिले यहाँका केही मानिसका आवाजहरु ठ्याक्कै इण्डियन संचारमाध्यमले चौबिस घण्टा देखाउने कुरासँग मिल्छ, जसरी केही नेपाली सन्चार माध्यमले राष्ट्रीय मुद्दालाई विषयान्तर गरि उनीहरूलाई नै सहयोग पुग्ने गरी गोयबल्याउने गर्छन् , यी परिदृश्य 1960 दशकको सिक्किमको अवस्थासँग ठ्याक्क मिल्छ, सिक्किमका पत्रीकाले पनि १९७५ सम्म त्यही गरे ।
१८. तपाईँको फेसबुकवाल धेरैले हेर्छन् । जब देशको कुरा आउँछ, हलुका कुरा नगर्दिनुस, प्लिज । कुनै राजनीतिक पार्टी वा अमुक नेतासँग उठेको रिशलाई बदला लिने ठाउँ होइन राष्ट्रियता । न त यो सस्तो लोकपृयता र सार्वजनिक खपतकोलागि ठेट्ने बेहोरा देखाउने रङ्गमन्च नै हो ।
१९. देश किन चाहिन्छ? सिक्किमले त अब बिर्सियो होला! सन् 1942 देखि 1947 सम्ममा हिटलरले 60 लाख यहुदीको नरसंहार (holocaust) गरेपछि मात्र देश खोज्न थालेका ईजरायललाई देश हुनुको महत्व राम्ररी थाहाछ ।
२०. हिजो इन्डियनलाई सिक्किमको नागरिकता दिने देशका जनता आज इन्डियन नागरिकताको लागि निवेदन हाल्छन् ।
२१. सहमत भए शेयर गरेर व्यापक बनाउँ ।
No photo description available.

भगवान राम र बरमझियाकाे पेडा ।


ईतिहास अनुसार पैगम्बर महम्मद आजभन्दा १४४९ वर्ष पहिला (सन् ५७१) हालको साउदी अरबको मक्कामा जन्मनु भएको हो । जिसस क्राइष्ट २०२५ वर्ष पहिला (ई.पू.4-6 वर्ष) हालको ईजरायलको बेथ्लेहममा जन्मनु भयो । भगवान गौतम बुद्ध २६२३ वर्ष अघि (ई.पू. ६२३) हालको नेपालको लुम्बिनिमा जन्मनु भएको हो । ईतिहसमा यी हिजो अस्तिका कुरा हुन् । २ सहश्राब्दी अघि जन्मनु भएका भगवानहरूको ईतिहास र दसी प्रमाण अहिलेसम्म पाइन्छन् ।
संयोगले मध्यपूर्वमा जन्मनु भएका जिसस र महम्मदको जन्मस्थान बारे कहिल्यै विवाद भएन । तर लगभग त्यही एराको लुम्बिनिमा भने विवाद भयो । भगवान बुद्ध जन्मेको ३२३ वर्षपछि सम्राट अशोक लुम्बिनी आए र स्प्ष्टरूपमा भगवान जन्मेको स्थान भनेर स्तम्भ लेखिदिए जुन अहिलेसम्म ज्युँकात्युँ छ । ऐतिहासिक भौतिक प्रमाण हुँदहुँदै पनि यहाँ चै किन विवाद हुनु पर्ने ? यहाँबाट हल्लाको दादागिरी बुझ्न सजिलो हुन्छ ।
भगवान रामको जन्म कहिले भएको भन्नेमा नै अलग अलग अड्कलबाजी भएका छन् । वैदिक गणना अनुसार 50 औँ हजार वर्ष अघि भएको अनुमान गरिन्छ भने वर्णित उपकरण, हतियार, परिवेश आदिका वैज्ञानिक भनिने आधारबाट पनि आजभन्दा ७१३४ वर्ष पहिला (इ.पू. ५११४) भगवान रामको जन्म भएको बताईन्छ ।
प्राचिनकालमा पूर्वी-दक्षीण एशियाको ठूलो भूभाग हिन्दु बाहुल्य थियो । जुनसुकै भुगोलका हिन्दुहरूले पनि मर्यादा पुरुष श्री रामलाई आराध्यदेव नमान्ने कुरै भएन । त्यसैले जहाँ जहाँ हिन्दु पुगे त्यहाँ त्यहाँ रामायणसँग जोडिएका कथा, पात्र, स्थान, शीला, कुण्ड, पर्वत आदि स्थापित गर्दै गए । इन्डोनेसिया अहिले मुस्लिम राज्य हो । तर त्यसबेलाको हिन्दु धर्मको प्रभाव त्यहाँ पनि देख्न सकिन्छ । सिङ्गो रामायण र सो सम्बन्धी अधिकांश भूभाग त्यहाँ भेटन्छ । थाइलैण्ड, श्रीलंका, भारत र नेपालका त गाउँ नै पिच्छे रामायणको झल्को आउँछ ।
त्यो समयमा न त अहिले जस्ता सञ्चार साधन, न यातायात, न लिपी । मानिस सचेत हुने दुइवटा विधि थियो श्रुति (सुनेर) र स्मृति (सम्झेर) । फलत: रामायण सिकाउँदा, सुनाउँदा, सम्झदा, उपमा दिँदा अपभ्रंश हुँदै जानु स्वभाविक हो । त्यसैले जहाँ जहाँ हिन्दु, त्यहाँ त्यहाँ रामयणजन्य स्मृती स्थल, मन्दिर आदि बन्दै गए । हजारौँ वर्षको अभ्यासले ती स्थानहरु साँच्चैका पौराणिक स्थलहरू मानिन थालिए । जहाँ धेरै मानिस, ठूलो आवाज, धेरै हल्लिखल्ली भयो त्यस ठाउँले अर्जिनालिटी कमायो । लुतेलाङ्रा उपस्थिती भएका ठाउँहरूले भर्जिनालिटी समेत गुमाए ।
अहिले अयोध्याको राममन्दिर बन्दै गरेको ठाउँमा सन् १९९२ सम्म मुसलमानहरूको बाबरी मस्जिद थियो । मस्जिदलाई भत्काएर मन्दिर बनाईँदै छ । हिन्दुको मन्दिर भएको प्रमाण जुटाउन त्यहाँ उत्खनन् गर्दा बरु बौद्ध धर्म नजिकका वस्तुहरू पाईए । प्रमाणले त त्यस ठाउँलाई मुस्लिम वा बौद्ध धर्मसँग जोड्छ । प्राचीन अयोध्यापुरी जनाउने कुनै भौतिक प्रमाण त्यहाँ जुट्न सकेको छैन ।
त्यसैले पौराणिक विषयकाे प्रमाणिकता अध्ययन र अनुसन्धानले हुँदैन, यो त मान्यता र हल्लाले हुने कुरा हो । तपाईं जहाँ जे मान्नु हुन्छ गिताले तपाईँलाई स्वतन्त्रता दिएको छ ।
हिजो अस्ति जस्ताे लाग्छ, हुएन साङले (सन् ६२७-६४३) यात्रा वर्णन गरेकाे, त्यसमा उल्लिखित कति स्थानहरूको नाम अहिल्यै मिल्दैन । तर उनले वर्णन गरेको भुगोलको आधारमा यही ठाउँ हो भनी सजिलै पत्ता लगाउन सकिन्छ । रामायण र महाभारतका स्थानहरू पनि वर्णन गरिएका भुगोललाई आधार मानेर खुट्याउने प्रचलन सुरु हुन सक्छ ।
अहिलेसम्म कुनै पनि देशले अर्को वाल्मीकि आश्राम र जनकपुर बताउन/देखाउन सकेको छैन । तर केही वर्ष पछि गोण्डाको छेउछाउमा अर्जिनल प्रशिद्ध वाल्मीकि आश्राम र मुजफ्फरपुरमा खास जनकपुर खडा हुन सक्छ । बरमझियामा असली बुढाको पेडा पत्ता लाउन नसक्ने हाम्रा छोरा नाति "दर्शन गर्न जनकपुर र चितवन हैन गोण्डा र मुजफ्फरपुर जानु पर्छ" भनेर आपसमा लडाइँ गर्नेछन् । याे विवादभन्दा पर बसेर काेही काेही भने नास्तिक हुनेछन् ।
हल्ला सँधै एउटैले एकोहोरो मच्चाई रहने कि आलोपालो गर्ने भन्ने चै अलग्गै कुरा हो । किन भने हिजाे आज हल्लालाइ नै ब्राण्डिङ् भनिन्छ ।
You, Rajesh Bhattarai, Biju Koirala Khanal and 156 others
29 Comments
12 Shares
Like
Comment
Share

शहर नै उज्यालो भयो ।


२०७२ वैशाख १२ गते आएको ७.८ रेक्टरको विनासकारी भूकम्पले सुन्धारा स्थित भिमसेन स्तम्भ (धरहरा) पूर्णरूपले नष्ट भयो । खाग गुमाएको गैंडा झैँ काठमाडौ बुच्चो बन्यो । सुन्धारा छेउ पुग्दा मन नै अमिलो हुन्थ्यो ।
आज त्यो बाटो हिँड्दा गर्विलो महशुस भयो । स्तम्भ फेरि ठडिएछ । प्रधानमन्त्री ओलीले पुस १२, २०७५ मा धरहरा पुनर्निर्माणको शिलान्यास गरेको २ वर्ष ४ महिना पुग्ने दिन बैसाख ११, २०७८ मा धरहरा निर्माण सम्पन्न भै पुन: उद्घाटन हुँदैछ ।
अलि पर पुग्दा वीर अस्पतालको नयाँ भवन तयार भएको, मिलिटरी अस्पताल र दरबार हाई स्कुल जस्ताको तस्तै अझ सुन्दर भएर उभिएको, रानी पोखरी त झन मनमोहक बनेको, रानी पोखरीमा घण्टाघरको छायाँ ... आहा ! सबै तिर यस्तै प्रगती हेर्न पाए हुन्थ्यो !
हामीलाई लामो समयदेखि ध्वंश, कुरूपता र यथास्थिती वा अझ कतिलाई त प्रतिगमनमा बानी परेको छ । यो सकारात्मक परिवर्तन देख्दा डाहाले भुतुक्क भै बर्बराउने जमातको पनि कमी त नहोला ! सबै ध्वंशवादी हुनु पर्छ भन्ने छैन नि । मलाई विकास मन पर्छ ।