Monday, October 6, 2025

जुकरबर्ग र एलन मस्कको लागि लडिएको युद्ध हो (?)

१०४ वर्षदेखि राणाहरूले राजालाई अर्धबन्दी र जनतालाई रैती बनाई निरंकुश जहानीय शासन चलाएपछि प्रताडित जनताहरूले विद्रोह गर्न थाले । राणाहरूको दमन बढ्यो । विक्रम सम्वत् २००७ सालमा ठूलो जनआन्दोलन भयो। राजा र राजनीतिक दलहरू मिलेर गरेको उक्त आन्दोलनको स्पष्ट मुद्दा थियो- 'राजा र प्रजा दुवैको लुटिएको शक्ति फिर्ता लिने र प्रजा प्रजातन्त्र स्थापना गर्ने' । 

अन्तत: जनताले जिते । विसं २००७ साल फागुन ७ गते तत्कालीन राणा शासकहरू, राजा र राजनीतिक दलबीच सहमति भई प्रजातन्त्र घोषणा गरियो । जनआन्दोलनको पूर्व घोषित मागअनुसार नै राजा सहितको बहुदलीय प्रजातन्त्र स्थापित भयो। 

बहुदलीय व्यवस्थामा दलहरूबीच खिचातानी र लुच्छाचुडी स्वाभाविक रूपले हुने नै भयो। दल र नेताहरुले एकअर्कालाई निषेध गर्ने, षड्यन्त्र गर्ने र भए नभएका कुराहरू गरी खुइल्याउने गर्न थाले । विकास भद्रगोल भयो। यो अस्थिरतामा राजालाई अलि बढी शक्ति अभ्यास गर्न अवसर मिल्यो । ९ वर्ष पुग्ने बित्तिकै विसं २०१६ मा राजा महेन्द्रले प्रजातन्त्र खोसिदिए र दलविहीन पञ्चायती व्यवस्था लागू गरे । राजा संविधानभन्दा माथि हुने गरी सम्पन्न 'कु' को स्पष्ट मुद्दा थियो : "हाम्रो अवस्था र अन्तर्राष्ट्रिय चलखेलका कारण बहुदलीय व्यवस्था अफापसिद्ध भयो। राजाको सक्रिय शासन सहितको निर्दलीय व्यवस्था मुलुकको लागि सबैभन्दा उत्तम हुन्छ।" यही मुद्दा अवलम्बन गरेर विक्रम सम्वत् २०१६ देखि ४६ सालसम्म ३० वर्ष राजाको प्रत्यक्ष शासनमा निर्दलीय पञ्चायती व्यवस्था लागू भयो । प्रजातन्त्र गायब भयो।

बहुदलीय व्यवस्था स्थापनाको लागि दलहरू निरन्तर आन्दोलनमै थिए। उनीहरूको नारा थियो : "संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र ।" अन्तत विसं २०४६ साल चैत २६ गते राजा वीरेन्द्रले आफूलाई संवैधानिक राजामा झार्ने गरी बहुदलीय व्यवस्थाको घोषणा गरे। तत्कालीन पञ्चायती संविधानका केही धाराहरूलाई निलम्बन गरेर एक वर्षको समयमा अन्तरिम संविधान निर्माण गरियो। संवैधानिक राजतन्त्रसहितको बहुदलीय व्यवस्था स्थापना भयो। 

वि.स. २०५२/५३ देखिने माओवादीले संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्थाको विरुद्धमा साम्यवादी व्यवस्थाका लागि सशस्त्र विद्रोहको घोषणा गर्यो। माओवादी आन्दोलनको प्रभाव बढ्दै गइरहेको थियो। यसै समयमा विसं २०६१ साल माघ १९ गते राजा ज्ञानेन्द्रले पुन: आफ्ना बाउ (राजा महेन्द्र) को शैलीमा कु गरी सत्ता नियन्त्रणमा लिए र आफूलाई सक्रिय राजाको रुपमा स्थापित गरे । उनले नेपालमा दलहरूलाई प्रतिबन्ध लगाए । 

विस्थापित दलहरूले विसं २०६२ मंसिर ७ (नोभेम्बर २२, २००५) मा भारतको नयाँ दिल्लीमा तत्कालीन सात राजनीतिक दलहरू (नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, जनमोर्चा नेपाल, नेपाल सद्भावना पार्टी, नेकपा माले, र संयुक्त वाम मोर्चा) र नेकपा (माओवादी) बीच १२ बुँदे सहमति गरी आन्दोलनको मुद्दा निर्क्यौल गरे । 

यी १२ बुँदे सहमतिका बुँदाहरू थिए : लोकतन्त्रको रक्षा र पुनर्स्थापना, शान्तिपूर्ण आन्दोलन, संविधानसभाको माग, माओवादीको हतियार व्यवस्थापन, लोकतान्त्रिक मूल्य र मान्यता, आत्मालोचना र सुधार, राजतन्त्रको भूमिका पुनर्विचार, संसद् र सरकार पुनर्स्थापना, शान्ति प्रक्रियाको प्रतिबद्धता, मानवअधिकारको सम्मान, राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग, र सहमतिको कार्यान्वयन । 

२०६२/६३ का आन्दोलनका १२ मुद्दामध्ये यी दुईवटा मुद्दाहरूमा दलहरूले कुनै काम गर्न सकेनन् ।

१. २०४७ देखि ६१ सम्म दलहरुले गरेका गल्ती र अक्षम्य अपराधहरूको आत्मालोचना र सुधार ।

२. शान्ति प्रक्रियाको प्रतिबद्धता र ' जनयुद्ध ' र 'दमन' का नाममा भएका आततायी गतिविधिहरूको छानबिन एवं कडा कारबाही ।

जनआन्दोलनमा मुद्दै नभएका तीनवटा विषयहरू जबरजस्ती कार्यान्वयनमा ल्याइयो:-

१. संघीयता,

२. धर्म निरपेक्षता र

३. गणतन्त्रको स्थापना (राजतन्त्रको अन्त्य) ।

यी ब्याक डोरबाट छिराइएका तीनवटा यस्ता मुद्दा हुन्, जो जनमत संग्रह बेगर कसैको सहमति र लहडले टुङ्गो लगाउनु हुँदैनथ्यो । आन्दोलनका केही मुद्दालाई नछुनु र हुँदै नभएका मुद्दालाई स्थापित गर्नु जस्ता जनतामाथि गरिएको धोका र जबरजस्तीका कारण मुलुकले अर्को ठूलो अशान्ति पकाउन थालिसकेको थियो। 

माओवादी सशस्त्र विद्रोह ले लामो समयसम्म क्षतविक्षत बनाएको कारण युवाहरू मुलुकमा बस्न रुचाउन छोडिसकेका थिए। ६२ को परिवर्तनपछि मुलुकमा शान्ति र समृद्धिको थोरै आशा पलाउने गरी बनेको वातावरण पनि दलहरूबाट  निरन्तर हुने भ्रष्टाचार, सत्ता भागबण्डा र साझेदारीले खुइल्याइदिएको थियो । 

संविधान निर्माण गर्न नसकेर दुई पल्ट संविधानसभाको निर्वाचन गराउनुपर्यो, १० वर्ष बर्बाद भयो। जम्बो सङ्ख्यामा जनप्रतिनिधिहरू, प्रदेशको भद्दा र खर्चिलो बिना कामको संरचना, डोजरे वडाध्यक्ष र मेयरहरू, स्कोर्पियोको लोकल संस्कृति, भ्रष्टाचारको संस्थागत संवर्धन, एकपछि अर्को आर्थिक घोटालाका काण्डहरू आदिले मानिसहरूमा एक किसिमको आक्रोश भरिँदै गएको थियो। 

गतिमान समयसँगै प्रविधिको विकासले हाम्रो समाजलाई पनि अछुत राखेको थिएन । नेपालीको अचम्म लाग्दो फुर्सदिलो समाज घन्टौँसम्म टिकटक, युट्युब, फेसबुक, इन्स्टाग्राम, snapchat आदि जस्ता सामाजिक सञ्जालमा रमाउन बानी पर्दै थियो। देशका विसङ्गतिहरूको अतिरञ्जना गरी छताछुल्ल बनाउन सामाजिक सञ्जालको बेलगाम पहुँच सहयोगी बन्न थाल्यो । 

विसं २०७२ सालको महाभूकम्पले मुलुकको अर्थव्यवस्थालाई थिलथिलो बनायो। त्यसबाट तंग्रिन नपाउँदै भारतले नाकाबन्दी लगायो। मुलुकको अर्थ व्यवस्थालाई तहसनहस बनाई आम मानिसहरूमा निराशा छाउन यी घटनाहरू कारक बन्दै गए ।

विक्रम सम्वत् २०६१ सालदेखि क्रमबद्ध रूपमा राजाको कु, ६२/६३ को जन आन्दोलन, ६६/६७ को संविधानसभाको असफलता, २०७२ सालको भूकम्प, २०७२ सालको संविधान जारी र भारतीय नाकाबन्दी, २०७६ को कोभिड-१९, कोभिड १९ ले ल्याएको भर्चुअल दुनिया र डिजिटल जीवनशैली, त्यसपछिका निरन्तर सत्ता मोलमोलाई र खेलवाड, रवि लामिछानेको fantasy राजनीतिको उत्थान पतनले समाजमा व्यापक मनोवैज्ञानिक निरासा छाउँदै गयो । 

असंगठित विभिन्न समूहका जेन जीहरूको माग अस्पष्ट भएपनि सामाजिक सञ्जाल खुल्ला गराउने साझा एजेण्डा जस्तो देखिन्थ्यो । योसँगै कसैकसैले भ्रष्टाचारको अन्त्य र प्रत्यक्ष निर्वाचित कार्यकारी चुनिने व्यवस्था समेतका कुरा उठाउन थालेका थिए । असंगठित समूह, नेतृत्वविहीन भीड, व्यवस्थापन र योजनाको अभाव तर फरकफरक मानिसका फरकफरक फ्रस्ट्रेसन र आक्रोशहरू । न मुद्दा, न नेता, न त कुनै स्पष्ट रोडम्याप ।

अभिभावकहरू थाहै नपाई आफ्ना निराशाहरू छोराछोरीमाथि पोख्ने, वा सेयर गर्ने वा लाद्न मनोवैज्ञानिक दबाब दिने गर्दथे । नयाँ पुस्ताले यिनै परिवेशमा हुर्कनु पर्यो । देश र विदेशमा रहेका केही गैरजिम्मेवार डलरे युट्युबरहरूले अझ मलजल गरी अतिरञ्जनापूर्ण ढङ्गबाट मुलुक बर्बादीको बाटोमा आगो लगाउने जस्ता प्रशस्त हर्कतहरू गरे । 

मुलुकभित्र कहिले उखु किसान, कहिले मिटर ब्याजी, कहिले सहकारी पीडित, कहिले राजावादी आन्दोलन र त्यस्ता चिजहरूको प्रतिरोध र प्रतिरक्षामा सत्ताधारी दल हरूको दमनशैली जस्ता गतिविधिले मुलुकको अशान्ति र आक्रोशलाई सतहसम्म ल्याएको थियो। त्यसै समयमा श्रीलंका, बङ्गलादेश, इन्डोनेसिया, फिलिपिन्स जस्ता देशहरूमा पनि जेन्जीका विद्रोहहरू विभिन्न स्वरूपहरूमा देखा पर्न थाले। "देश बर्बाद पार्ने राजनीतिक दलहरू र बुढा नेताहरू हुन्" भन्ने भाष्य निर्माण हुँदै गयो। नेताहरूले पनि बेलगाम शैलीमा अहंकार प्रदर्शन हुने वक्तव्यबाजी गर्न थाले। यो सबै घटनाहरूको जड कांग्रेस अझ खासमा एमाले हो भन्ने हिसाबले social influencer हरू ज्यान छोडेर लागे । 

राजनीतिक दलहरूले यस्ता सामाजिक चरम असन्तुष्टिलाई आँकलन गर्न सकेनन् वा कम मूल्याङ्कन गरे । तर यो असन्तुष्टि कसरी पोख्ने भन्ने उचित ठाउँ मिलिरहेको थिएन। 

सामाजिक सञ्जालहरूको अर्को पक्ष विकृत थियो। प्रचण्डले टिकटक त बन्दै गरिदिएका थिए। दैनिक करोडौँ रुपैयाँको ठगी सामाजिक सञ्जालबाट हुने गर्दथ्यो। मानिसहरूको चरित्र हत्या गर्ने र मर्न बाध्य बनाउनेसम्मका घटनाहरू सामाजिक सञ्जालमा हुने गर्थे। यी घटनाहरूको छानबिनमा सघाउन ती विदेशी सामाजिक सञ्जालका कम्पनीहरू तयार हुँदैनथे। यसले अनुसन्धानलाई गम्भीर प्रभाव पार्थ्यो र अपराधीहरू सधैं उम्कन्थे। त्यसैले सरकारले एक वर्षभन्दा बढी अवधिदेखि सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन प्रयत्न गरिरहेको थियो। पटकपटक म्याद दिँदाखेरि पनि अधिकांश विदेशी सामाजिक सञ्जालहरू दर्ता हुन आएनन् । एलन मस्कले त "तिम्रो जस्तो भ्रष्टाचार हुने मुलुकमा हामी दर्ता गराउँदैनौ" नै भनिदिएछन् । 

सरकारले 'अहिलेको पुस्ताले देशको स्वाभिमान भन्दा सामाजिक सञ्जाल र एलनमक्सलाई ठूलो मान्छन् ' भनेर अनुमान नै गर्न सकेन, सामाजिक सञ्जालहरूलाई नेपाली कानुनी प्रक्रिया पूरा गरेपछि मात्र सञ्चालन गर्न पाउने गरी प्रतिबन्ध लाइदियो । सामाजिक सञ्जालमा जन्मिएको र हुर्किएको जेनेरेसन जेड (जेन् जी) पुस्ता असाध्यै रिसायो । आन्दोलनको विज्ञान नै बुझ्न र भोग्न नपाएको यो पुस्ता आवेगमा आयो । माथि भनिएका विभिन्न कारणले फ्रस्ट्रेसनमा गएका ठूलो जनसमुदायलाई यो मौका चाहिएको थियो। बच्चाहरूलाई अगाडि लगाएर त्यो विद्रोहलाई भड्काउन प्रशस्त प्रयत्नहरु भए गरिए । 

यो विद्रोहले एकै दिनमा नेपालका सम्पूर्ण राजनीतिक दलहरूको सातो टकटकाइदियो। सरकार अपदस्त भयो। आगजानी व्यापक भयो र खरबौंको क्षति भयो । करिब १० घण्टा मुलुकका सबै सिस्टमहरू कोल्याप्स भए । प्रहरी र सशस्त्र प्रहरी बल निरय बने । सेना यो सबै कुराहरू हेरेर पर्खेर बसिरह्यो । 

विद्रोह भन्दा अघिसम्म जेन्जीका कुनै संगठित समूहहरू थिएनन् । अहिले भने तिनै जेन्जीका नाममा विभिन्न किसिमका समूहहरू निस्किएका छन्। प्रत्येक समूह सत्तालाई आफ्नो अनुकूल घुमाउने प्रयासमा लागिरहेको छ। बिना ठोस मुद्दाको जेनजीविद्रोहले मुलुकमा अपुरणीय नोक्सानी त गर्यो नै तर परिवर्तनको कुनै खाका बिना सत्ता अर्को बुढा पुस्तालाई हस्तान्तरण गरिदियो । फ्रस्टेड अवसरवादी समूहले सार्वजनिक र निजी सम्पत्ति ध्वस्त बनाए । 

जेन्जी भन्नाले सन् १९९७ देखि २०१२ सम्म जन्मिएका (हाल १३ देखि २८ वर्ष उमेर समूहका) युवा युवतीलाई बुझिन्छ । यिनीहरू गैरराजनीतिक र उमेर समूहगत नेतृत्वको पक्षमा  थिए भने त त्यो कुरा नयाँ गठन भएको सरकारमा प्रतिबिम्बित हुनुपर्थ्यो। अहिलेका सरकारका मन्त्रीहरू र उनीहरूको उमेर तथा पृष्ठभूमि हेर्दा त्यस्तो त लाग्दैन । हेरौँ :

१. प्रधानमन्त्री सुशीला कार्की ७३ वर्षकी हुनुहुन्छ र नेपाली कांग्रेसबाट उहाँको राजनीतिक जीवन सुरु भएको थियो। 

२. सेवा निवृत्त भएपछि अर्थमन्त्री रामेश्वर प्रसाद खनाल (६९ वर्ष) विभिन्न पार्टीहरूमा प्रवेश गरेको घोषणा गर्नुभएको थियो। 

३. ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ (५४ वर्ष) लाई त गत निर्वाचनमा माओवादीले ब्रान्ड एम्बेसडरकै रुपमा जस्तो प्रचार गरेको थियो। 

४. उद्योग, वाणिज्य तथा आपूर्ति; कानून, न्याय र संसदीय मामिला; भूमि व्यवस्थापन, सहकारी र गरिबी निवारण मन्त्री अनिल कुमार सिन्हा (६७ वर्ष) को प्रत्यक्ष कुनै पार्टीमा संलग्नता देखिएन ।

५. गृह मन्त्री ओम प्रकाश अर्याल (५० वर्ष) बालेन शाहको अघोषित प्रतिनिधि हुनुहुन्छ। 

६. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन (७१ वर्ष) स्वतन्त्र र आदरणीय व्यक्ति हुनुहुन्छ। 

७. कृषि तथा पशुपालन मन्त्री मदन प्रसाद परियार (करिब ६० वर्ष) एनजिओ कर्मी हुनुहुन्छ ।

८. सूचना तथा सञ्चार मन्त्री जगदीश खरेल (४३ वर्ष) नेपाली कांग्रेसको क्रियाशील सदस्य रहनुभएको थियो।

अहिले एउटा समूह यो विद्रोहलाई जनआन्दोलन नाम दिनुपर्छ भनेर लागेको छ।

कुनै पनि विद्रोह जनआन्दोलन हुनको लागि व्यापक जनसहभागिता, सार्वजनिक स्वीकृति र समर्थन, प्रणालीगत राजनीतिक/सामाजिक परिवर्तनको लक्ष्य, नेतृत्व र संगठनात्मक संरचना, देशव्यापी फैलावट, अहिंसात्मक वा नैतिक वैधता, राज्य संरचनामा ठोस प्रभाव आदि जस्ता न्यूनतम तत्वहरू समावेश भएको हुनुपर्छ । जेन्जी विद्रोहमा यी कुनै तत्त्वहरू थिएन । तर पनि यसलाई किन जनआन्दोलन बनाउन खोजिन्छ? किनभने अहिलेसम्म कुनै पनि जनआन्दोलनका अपराधीहरूले सजाय पाएका छैनन्। जन आन्दोलन नामदिनासाथ अपराधबाट मुक्ति पाउने ट्रेन्ड चलेको छ। भदौ २३ गतेको आन्दोलन जेन्जीको थियो। राज्यबाट माथि निर्मम अमानवीय आम हत्या गरिएकै हो । तर २४ गतेको सार्वजनिक र निजी सम्पत्तिमाथिको लुटपाट, आग्जानी र विध्वंश कुनै पनि जेन्जीको हुँदै होइन । चरम अराजकता फैलाई सत्तामाथि कब्जा एवं स्वार्थसिद्ध गर्ने मौका खोजिरहेको एउटा समूहले जेन्जीको संघर्षलाई हाइज्याक गरेकै हो। 

तर २४ भाद्रको विध्वंस र आगजानीको घटनालाई असली जेन्जीका इमान्दार भाइबहिनीहरूले स्वामित्व लिन इन्कार गरिदिए । उनीहरूलाई कारबाही गर्नुपर्ने मागसम्म राखे। तर विषयवस्तुलाई नै मोडेर नक्कली जेन्जी समूहहरूले यो विद्रोहलाई जनआन्दोलनको नाम दिनुपर्ने आवाज गुञ्जाउन थालेका छन्। 

जसरी सामाजिक सञ्जाल बन्द नगर्न सरकारलाई दबाब दिने प्राथमिक उद्देश्य लिएर यो विद्रोह भड्किएको बताइयो, अब यसलाई जनआन्दोलन नाम दिइयो भने र आग्जनी, लुटपाट, विद्वंशमा संलग्नलाई आममाफी दिईयो भने पछिको जेन अल्फा र बेटा पुस्ताले असली जेन्जीलाई समेत बदनाम गर्ने गरी यो विद्रोहको नामाकरण गर्नेछ। अनि भनिनेछ - "विक्रम सम्वत २०८२ साल भदौ २३ - २४ मा नेपाली जेनजीले जुकरबर्ग र एलन मक्सको लागि देश खरानी बनाए ।'

अनावश्यक असंवैधानिक लिंडेढिपी र ताइनतुईका तर्क गरेर हुँदैन । एउटा संविधान लेख्न १० वर्ष लाग्छ। कसैका संविधानले ३०० वर्षदेखि काम गरेको छ, हामी ७० वर्षमा सातवटा संविधान चेन्ज गर्छौं । संविधानले हुन्थ्यो भने त के के भइसक्थ्यो । यसलाई त आवश्यकता अनुसार संशोधन गर्न सक्नुपर्छ, हरदम भत्काएर बन्ने उही ३६ अक्षरबाट नै हो । 

अब बरु बुद्धिमत्तापूर्वक ढङ्गले गोलमेच छलफल चलाउनुपर्छ। जेन्जी, दलहरू, विद्रोही समूहहरू सबै सहितको बैठकहरू बसाई आम सहमति बनाउने किसिमको छलफल चलाउनु पर्छ । एक दिनको लागि संसद बिउँताएर भएपनि संविधानमा बोझ र प्रत्युद्पादक बनेका व्यवस्था संशोधन गर्न पर्छ । जस्तै:

१. प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री (तानाशाह बन्न सक्ने सम्भावना विरुद्ध शक्ति सन्तुलनको उपायहरु अपनाएर)

२. प्रदेश संरचनाको खारिजी र स्थानीय तहको निर्दलीकरण 

३. प्रधानमन्त्रीद्वारा मनोनित प्रोफेसनलहरूको गैर राजनैतिक मन्त्रीमण्डल 

४. राजनैतिक निर्वाचित पदहरू (सांसद आदि) लाई मुलुकको ऐन कानुन संविधान नीति नियम आदि तर्जुमा गर्न लगाउने र मुलुकलाई सुशासनमा हिँड्न बाध्य बनाउने प्रभावकारी शक्ति बनाउने प्रणाली, अर्थात् सांसदहरू कुनै पनि कार्यकारी पदमा जान नपाउने व्यवस्था।

५. नेपाली सनातन धर्मसापेक्ष राज्य र राजतन्त्रको सम्बन्धमा जनमत संग्रह गरी यो कलह सधैँलाई अन्त्य गर्ने व्यवस्था ।

६. सेनाको औचित्यता पुष्टि वा जिम्मेवारीको स्पष्टता (सेना केको लागि ? पुल बाटोको ठेक्का लिन, पेट्रोल पम्प लगायतका व्यापार चलाउन, लिपुलेक खोसिँदा र सिंहदरबार जल्दा आँखा चिम्लनलाई मात्र त होइन होला!)

७. भ्रष्टाचारको समुल अन्त्यको लागि अत्यन्त भ्रष्टाचार हुने कार्यालयहरूलाई पूर्ण डिजिटल गर्ने र सेवाग्राहीसँग कर्मचारीको पिटिक्कै भेट हुन नदिने । जर्जियाले जस्तो कुनै कुनै सेक्टरका सम्पूर्ण कर्मचारीहरूलाई पदमुक्त गरी नयाँ सक्षम पुस्तालाई भित्र्याउने । 

८. श्रमिक र कर्मचारी छुट्याउने । कर्मचारीका युनियनहरू खारेज गर्ने ।

९. सम्पूर्ण जनसरोकारका सेवाहरूलाई अनलाइन गर्ने र मिलेसम्म नेपाली कम्पनीहरुलाई आन्तरिक सुरक्षा र गोपनीयताको अत्यन्त कठोर सम्झौता गरी सेवा आउटसोर्सिङ गर्ने । आदि आदि ।

धन्यवाद ।


२० भदौ, २०८२

राधेराधे, भक्तपुर ।

Monday, September 29, 2025

साम्पाङ्ग - अब खैरात छैन !

विक्रम सम्वत १९७१ देखि ७५ सम्म भएको पहिलो विश्वयुद्धमा लाखौँ सङ्ख्यामा नेपाली गोर्खा सैनिकहरू ब्रिटिश भारतीय सेनामा भर्ती भएर फ्रान्स, बेल्जियम, इटाली, मेसोपोटामिया (हालको इराक), अफ्रिकाका आदि विभिन्न फ्रन्टहरूमा भाग लिए। 
विक्रम सम्वत १९९६ देखि २००१ सम्म भएको दोस्रो विश्वयुद्धमा करिब दुई लाख नेपाली ब्रिटिस गोर्खा सैनिकहरूले  लडे । फ्रान्स, इटाली , बेल्जियम ,ग्रीस, जर्मनी, इराक, इरान, सिरिया, लेबनान, इजिप्ट , Libya, Tunisia, ईथियोपिया, बर्मा, मलेशिया , सिङ्गापुर आदि मुलुकहरूका विरुद्ध ब्रिटिस सेना भएर नेपालीहरूले अग्रमोर्चामा उभिएर लडाई लडे । उनीहरू मरिसकेपछि मात्रै अरुको पालो आउँथ्यो। हाम्रा दुई लाखभन्दा बढी पूर्वजहरूले यो युद्धमा ज्यान गुमाएको बताइन्छ।
हाल हुँदै गरेको रूस-युक्रेन युद्धमा कति नेपाली फ्रन्ट लाइनमा रसियन र युक्रेनी सेना बनेर लडाई लडिरहेका छन्? भन्न गाह्रो छ ।
पहिलाको जमानामा श्रमिकहरू युद्धमा मर्न र मार्नलाई चाहिन्थ्यो। नेपाल त्यस्ता श्रमिक सप्लाई गर्ने एउटा प्रमुख राष्ट्र थियो। हामीलाई मर्न डर लाग्दैन थियो। हामीलाई मार्न डर लाग्दैन थियो।
लडाईँका क्रममा कतिपय ठाउँहरूमा नेपालीहरू छुट्दै गए, कतिपय ठाउँमा बसोबास पनि गराइयो। बेलायत, सिङ्गापुर, बर्मा, थाईलेण्ड, भारतका उत्तरपूर्वी राज्यहरू (मणिपुर, म्युजराम, मेघालय, नागाल्यान्ड, त्रिपुरा, आसाम, अरुणाचल) मा बसाई सर्ने क्रम अहिलेसम्म पनि रोकिएको छैन। यी विभिन्न ठाउँहरूमा नेपालीको बाक्लो बस्ती छ। 
ब्रिटिसले आसाम, अरुणाचल, दार्जिलिङमा चिया खेती गर्न र मेघालयतिर कोइलाखानीमा काम  गर्न इमान्दार गोर्खालीहरूलाई नै श्रमिकको रूपमा रुचाए । नेपालमा गल्लावाला पठाएर लाखौंको सङ्ख्यामा नेपाली श्रमिकहरूलाई भारतका ती विभिन्न ठाउँहरूमा ओसारियो। ती मध्येका कतिपय खेतीपाती गर्ने सुरले विभिन्न ठाउँहरूमा छरिए। भुटान, सिक्किममा नेपाली श्रमिकहरूले भरियो। 
उत्तरपश्चिम भारतको उत्तराञ्चल लगायतका अधिकाधिक भाग त नेपाल नै थियो। नेपालीहरू जम्मु कश्मिरसम्म पनि आफ्नो श्रम बिक्री गर्न पुगेर उतै बस्न थाले। लद्दाखमा त नेपाली भाषाले नै काम चल्छ भनिन्छ । ती भौगोलिक रूपले अति विकट क्षेत्रहरूमा कठिन काम गर्न नेपाली श्रमिकहरू नै पुगेका छन् ।
कतारले सन् २०२२ को विश्वकप आयोजनाको प्रस्ताव राख्यो । फिफाले कतारमा थुप्रै पूर्वाधारहरू निर्माण गर्नुपर्ने र तत्कालीन कतारको ४ लाख जनसङ्ख्याले अत्याधुनिक रङ्गशालादेखि पूर्वाधार विकास गर्न नपुग्ने बताएको थियो। कतारको तत्कालीन खेलकुद मन्त्री शेख मोहम्मद बिन हमद अल थानीले फिफालाई दिएको जवाफ अत्यन्त गम्भीर छ। उनले भनेका थिए, "म ५ लाख नेपाली ल्याइदिन्छु।" याद गर्नुस् उनले म ५ लाख विदेशी श्रमिक ल्याइदिन्छु भनेनन् । अर्थात् लेबर भन्नु र नेपाली भन्नु उनको लागि एउटै हो। अहिले खाडीमा मात्रै नेपाली श्रमिकहरूको संख्या ५० लाख नाघेको बताइन्छ।
हामी नेपालीहरू संसारभरि छरिएका छौं । त्यहाँ साह्रै थोरैले वैज्ञानिक, शिक्षक, चिकित्सक, बैंकर, इन्जिनियर वा यस्तै उपल्लो दर्जाको काम पाएको होलाउँ, प्राय: सबै लेबर नै हुने हो। युरोप अमेरिका अस्ट्रेलिया क्यानाडा वा अन्य धेरै धनी देशहरूमा नेपालीहरूले सुरुवात गर्ने काम नै सरसफाई र भाँडा मोल्ने हुन्छ भन्छन्। अर्थात् अब कतारले मात्रै होइन, विश्वले नै नेपालीलाई भरपर्दो श्रमिक (लेबर)को रुपमा अंगीकार गरिसकेको छ।
एउटा गरिब भारतीय नेपाल आयो भने कुडा कवाडी बटुल्छ, साइकलमा तरकारी हालेर घरघर बेच्न जान्छ, समोसा र पानीपुरी बेच्छ, नेपालीलाई लेबर राखेर ऊ मिस्त्री बन्छ, कपाल काट्छ, बुट पोलिस गर्छ तर लेबर बस्दैन । हामी गरिब नेपालीहरू भारत जान्छौं र हाम्रो प्रमुख काम भाँडा मोल्ने, भान्छे, सुसारे, ढोके, हुक्के, पाले, सडक मजदुर, कमसल फ्याक्ट्रीका मजदुर हुन्छ । भारतमा नेपाली पुरुष "बहादुर" हुन्छ र महिला "कान्छी" हुन्छे। प्राय: गरेर खासै बुद्धि चलाउन आवश्यक नपर्ने र श्रम धेरै आवश्यक पर्ने कामहरू नेपालीको जिम्मामा हुन्छ। किनकि हामीलाई त्यहाँ श्रमिक (लेबर) को रुपमा चिनिन्छ। 
एकपटक म पिथौरागढमा बास बस्न पुगेको थिएँ। मलाई भरिया आवश्यक पर्ने भयो । होटलवालाले आफ्नो सहयोगीलाई अह्रायो "जा सरहरूलाई डोट्याल लिएर आइज ।" डोटीबाट जाने मान्छे प्राय लेबर हुँदो रहेछ त्यहाँ। त्यसैले इन्डियन नै भएपनि लेबरलाई डोट्याल भनिँदो रहेछ। अर्थात् सबै लेबरहरू डोट्याल र सबै डोट्यालहरू नेपाली । यो कुरा मैले पहिला पनि लेखिसकेको छु।
नेपालीहरूका लागि एउटा सुन्दर गन्तव्य इजराइल पनि हो। त्यहाँ बुढापाकाहरूको दिशापिसाब र स्याहारसुसार गर्न सबैभन्दा बढी नेपाली मन पराइन्छ। कृषिका लेबरहरूमा पनि ठूलो संख्यामा नेपालीहरू काम गर्छन्। 
अनि हामी विदेशमा गएर लेबर हुँदा गर्वले छाती ठूलो बनाउने । नेपाल आउँदा अत्तर छर्किएर मगमगाउँदै सुटकेस बोकेर आउने । नेपालभित्र चाहिँ श्रमको काम गर्नै नसक्ने । 
आफ्नो पेट र परिवारको लागि अर्काको देशको सेना भएर पहिलो, दोस्रो विश्वयुद्ध होस् वा रसिया युक्रेन युद्ध होस् वा अन्य कुनै युद्ध होस् मर्न मारिनलाई हामी बहादुरी मान्छौं। 
हामीलाई राजनैतिक दलहरूले रेलिङ र बार्दलीहरू भत्काउन सिकाएका थिए। हाम्रा जेनजेड बच्चाहरूले त्यो शिक्षा बडो गम्भीरताका साथ लिए र पुर्खाहरूको पदचाप पछ्याउँदै अझ विध्वंस प्रति बढी इमान्दार भएर सिंहदरबार नै जलाइदिए ! यस्तै सिकाउँदै जाने हो भने अब अल्फाबेटा पुस्ता कस्तो आउला? हामीलाई लडाउन, भत्काउन, मार्न, जलाउन, तोड्न, फोर्न कसैले सिकाउनु पर्दैन आफै जान्दछौँ, जन्मजात गुण हो हाम्रो त्यो । 
तर हामीलाई बनाउन केही पनि आउँदैन। हाम्रा सबै ठूला परियोजनाहरू बनाउन विदेशीले आदेश दिन्छन्, विदेशीले डिजाइन गर्छन्, विदेशीले प्लान गर्छन् र विदेशीले नै ठेक्का लिएर बनाउँछन् । किनभने हामीलाई बनाउन आउँदैन । किनभने कुनै पनि पार्टीले हामीलाई बनाउन सिकाएनन् , श्रमको सकारात्मक पक्ष सिकाएनन्, राजनीति केवल राजनीतिको लागि हो भन्ने हामीले बुझ्यौँ। हामीलाई देशभित्र श्रमिकभन्दा लाज लाग्ने र त्यही तल्लो स्तरको श्रमिक बन्न संसारका जुनसुकै कठिनाइ भोग्न तयार हुने - हामीलाई कसले बनायो?
त्यही समाजबिचबाट हठात एउटा मान्छे आयो । मिठो मसिनो त पटक्कै बोल्नै जान्दैन, श्रमिककै भाषा बोल्छ, श्रमिककै जस्तो लाउँछ, श्रमिककै जस्तो आफ्नो बारेमा कुनै परवाह छैन । श्रमिककै जस्तो गिडगिडाउँछ, श्रमिककै जस्तो हाकाहाकी काम माग्छ, उस्तै गनगनाउँछ, दुरुस्तै ठुस्किन्छ । ऊ हिँड्ने बेलामा "शुभयात्रा" भनिदिएन भने पनि रिसाउँछ । शनिबार भन्दैन श्रमबार भन्छ । रातभरि फेसबुकमा स्टाटस लेख्छ, बिहान त्यही मोबाइल हराउँछ, अनि हराएको कुरा सार्वजनिक गर्न लजाउँदैन ।  मानिसहरू खिसी ट्युरी गर्छन्, उसलाई मतलब छैन। किनभने ऊ भित्रैबाट श्रमिक हो । तर ऊ त्यस्तो श्रमिक बनेर आएको छ, जो नेपालीको परम्परागत तोड्ने फोर्ने भत्काउने भन्दा फरक सोचको छ । बनाउने र पुनर्निर्माण गर्ने श्रमिक, सिर्जनात्मक श्रमिक  ! विदेशका लागि श्रमिक  बन्न रुचाउनेहरूलाई स्वदेशमै श्रमिक बन्न आह्वान गर्ने श्रमिक ! 
त्यसैले उसले श्रम संस्कृति भन्ने पार्टी खोलेछ । पार्टी चलाउन सक्छ सक्दैन थाहा छैन, तर सम्पूर्ण नेपालीहरूलाई स्पष्ट रूपले के बताउन सफल भएको छ भने, "हिजोकाले भत्काए हामी बनाउँ। हाम्रा बच्चाहरूलाई त झन् जलाउनै सिकाएछन् । हामी सिर्जना गर्न सिकाउँ । श्रम शाश्वत हो, लजाउनु पर्दैन।  विदेश र विदेशीका लागि धेरै गर्यौ अब देशका लागि श्रमिक बनौँ।
हर्क साम्पाङ तिमीलाई म भोट हालौंला नहालौंला, तर श्रमप्रति तिमीले ल्याएको जागरणको लागि म सधैँ सम्मान गर्छु । 
त्यसैले साम्पाङ ! अब नसच्चिए अरुको खैरात छैन।
२०८२/६/१३
राधेराधे, भक्तपुर ।

मन्त्री हरायो !

उनी गाउँमा पसेर धमाधम किताब बेच्दै थिए। "ओइ अङ (मगर भाषामा जेठा भनेको)! मन्त्री हुनुपर्यो हौ, काठमाडौँ आउ" भनेर बोलाए । दौरा सुरुवाल त कता कताबाट खोजेर ल्याइदिएछन् , औंला निस्किएको जुत्तासँगै सपथ ग्रहण गर्न पुगे। 
त्यहीँ मन्त्रालयको एउटा कुनामा ओछ्यान लगाएर सुत्दै थिए। आज फुलपातीदेखि मन्त्रालय पनि दशैंको छुट्टी भो। अब के गरौँ के गरौँ ?
अझै थुप्रै किताब बेच्न बाँकी नै थियो। बुढीसँग भेट नभएको पनि वर्षौं भएको थियो । पोखरातिरै गएर किताब पनि बेच्नुपर्यो, आफू मन्त्री भएको कुरा बुढीलाई पनि सुनाउन जानुपर्यो भनेर टाउकोमा १६ थान किताब हालेर मन्त्रालयबाट बिहानै लुखुर लुखुर निस्किए। बाटामा १० थान जति किताब पनि बेचे । किताब बेचेको पैसा छुट्टै गोजीमा राखे।
एयरपोर्ट जानलाई एकछिन बस पर्खे, बसै आएन। गोजीमा आफ्नो लागि छुट्याएको रकम छामे । हवाई जहाजको एउटा टिकट किनेर पनि ट्याक्सीको भाडा त पुग्ने रहेछ। एउटा ट्याक्सी बोलाएर सिधै काठमाडौँको एयरपोर्ट पुगे। 
पोखरा एयरपोर्टमा प्लेनबाट उत्रिए । बचेका ६ वटा किताब टाउकोमा हाले । एयरपोर्ट बाहिर निस्किएर किताब बेच्न मात्र के आँटेका थिए, छेउछाउका मानिसहरू त "मन्त्री मन्त्री" भन्दै जम्मा हुन पो थालिहाले । हत्तनपत्त गोजीमा छामेको अझै ४७० रुपैयाँ बाँकी रहेछ। एउटा ट्याक्सी लिएर सिधै घर हानिए । 
यता मन्त्रालयमा धेरैबेर मन्त्री घुरेको नसुनेपछि ढोका खोलेर बडीगार्ड भित्र पस्यो । मन्त्रीको झोला र १६ वटा किताब पनि गायब रहेछ । आत्तिएर हैरान हुँदै सबैतिर खोज्यो। कहीँ मन्त्री फेला परेनन् । गार्डले बटालियनमा खबर गर्यो। बटालियनले हेडक्वाटरमा खबर गर्यो। हेडक्वाटरले नेपालभरि नै खबर गर्यो। कहीँ कुनै पत्ता लागेन । मन्त्री हराएको कुरा सुरक्षा निकायहरूका देशैभरिका अड्डामा आतङ्कसरि फैलियो । सुरक्षा परिषद्को आपत्कालीन बैठक बस्यो। बडीगार्डलाई स्पष्टीकरणको लागि बोलाइयो।
उता पोखरा एयरपोर्टबाट घर पुगेपछि मन्त्रीले ट्याक्सी ड्राइभरलाई 'कति पैसा दिउँ' भनेर सोधे । ट्याक्सीवालाले रु. ५०० माग्यो । गोजीमा बचेको रु. ४७० ड्राइभरलाई दिए । ३० रुपैयाँ पुगेन । काठमाडौँमा गार्डलाई फोन गरे। 
सुरक्षा परिषदमा बयान दिइरहेको गार्डको मोबाइल फोन बज्यो। पदाधिकारीहरूले मन्त्रीको फोन देखेर Hand free गर्न लगाए । 
उताबाट मन्त्रीको आवाज आयो, "भाइ म त पोखरा घरमा आइ पुगेँ कि! मैतीदेवी चोकमा चिया खाएर ५० रुपैयाँ दिएको थिएँ । चियाको २० रुपैयाँ कटाएर ३० रुपैयाँ फिर्ता लिन बिर्सेछु । तपाईँले लिएर राख्नु ल। फेरि दशैं छुट्टीमा त्यो पसले घर गयो भने बर्बाद हुन्छ । १० रुपैयाँ चाहिँ त्यसलाई टिप्स दिनु, १० रुपैयाँ तपाईँले राख्नु, अनि बचेको ३० रुपैयाँ चाहिँ यो ट्याक्सीवाला भाइलाई दिनु ल ।"  
मन्त्रीले ट्याक्सी ड्राइभरलाई भने "त्यो  ३० रुपैयाँ मागेर लानु है भाइ ! मैले भनिदिएको छु।"
काठमाडौँको गार्ड र पोखराको ड्राइभर दुबै ट्वाँ परे । सुरक्षा परिषद्ले पोखराका सबै युनिटहरूलाई निर्देशन दियो, मन्त्रीजी कुनै पनि बेला किताब बेच्न निस्किन सकिबक्सिन्छ । चोक, गौडा, गल्ली सबैमा राम्रो सुरक्षा व्यवस्था मिलाउनु।"
                             §§§
(एक पवित्र, स्वच्छ र मेरो लागि एक आदर्श व्यक्तिको साधारण घटनालाई dramatized गरेको मात्र हो । सरलतालाई चित्रण गर्दा कसैलाई चोट पुगेमा क्षामा चाहन्छु ।)
फूलपाती
२०८२/६/१३
राधेराधे, भक्तपुर
x

Thursday, September 25, 2025

साहसिक सम्बोधन !

जेन्जी (१२-२८ वर्ष) ले आन्दोलन गर्यो । माग थियो भ्रष्टाचार रहित सुशासनयुक्त पारदर्शी पूर्ण लोकतान्त्रिक व्यवस्था ।

जेन्जीभन्दा अलि ठूलो पुस्ताले त्यो आन्दोलनको स्वामित्व लियो। माग बन्यो - संसद विघटन, कार्यकारीको प्रत्यक्ष निर्वाचन, प्रदेश खारेज, दलहरू माथि प्रतिबन्ध। 

खै कसरी हो यो पुस्ताभन्दा पनि दुई पुस्ता माथिको स्वच्छ छवि भएका अभिभावकहरूले राज्यको बागडोर सम्हाल्नु पर्ने भयो। अनि त्यो अग्रज पुस्ताको प्रधानमन्त्रीबाट आज राज्यको नाममा सम्बोधन आयो। सबैलाई अन्योल थियो, सम्बोधन कस्तो आउँछ? भनेर ।

भदौ २४ गते करिब ९६ हजार बन्दुकका गोली र करिब ८ हजार बन्दुक लुटिएका रहेछन् । अनि करिब ६ हजार अपराधी कैदीहरु भागेका रहेछन् जेलबाट। त्यति ठूलो मात्रामा बन्दुक, गोली केही गरी जेलबाट भागेका ती अपराधीको हातमा पर्यो भने निर्वाचन के होला भन्ने अर्को भयावह अवस्था बनेको थियो।

नेपालीहरूको प्रवृत्ति हेर्दा जतिसुकै दल र नेतालाई गाली गरे पनि अन्तिममा आफ्नो पुस्तैनी पार्टी नै रोज्ने बानी छ। २०८० को आम निर्वाचनमा नेपालको मतदाता नामावलीमा कुल १७,९८८,५७० मतदाताहरू दर्ता भएकोमा ११,१२३,००० (करिब ६१.८५% ) ले मत खसाएका थिए । यी भोटरहरू मध्ये आधा जतिले दल त्याग गरेको भए पनि झन्डै ५५ लाख मानिसहरु आजको मितिमा पनि कुनै न कुनै दलसँग आस्था राख्छन् र प्रतिबद्ध छन् ।  यदि दलहरूलाई निषेध गरेर फागुन २१ को निर्वाचन गरिने भएको भए अरु ५५ लाख मानिसहरूको असन्तुष्टि र प्रहार पनि यही निर्वाचनले भोग्नुपर्ने हुन्थ्यो । अधिकांश मुलुकहरूमा यो अवस्थाबाट गृहयुद्ध सुरु भएको पनि देखिन्छ । 

गृहयुद्ध भनेको माओवादीको द्वन्द जस्तो होइन। त्यो त एक (माओवादी) राजनीतिक दलले चलाएको आन्दोलन थियो। त्यसको नेतृत्व हुन्थ्यो र राजनीतिक छलफल गर्न ठाउँ हुन्थ्यो।  अन्तिममा माओवादीसँग वार्ताबाट निकास पनि निस्कियो। तर गृहयुद्ध चाहिँ हुने हो भने त्यसमा असंख्य नाइकेका असंख्य गुट हुन्छन्, कसैको नेतृत्व कसैले स्वीकार्दैन, एउटै देशमा दशौँ सत्ताहरू हुन्छन्। अलगअलग मुलुकले अलगअलग सत्तालाई मोहरा बनाउँछ। अनाहकमा जनताहरू मारिन्छन् र त्यो गृहयुद्धको अन्त्य पनि कहिले हुँदैन। उदाहरण हेर्न अहिलेलाई सिरिया नियाले पुग्छ। नेपालको हाल उत्पन्न अन्योलको अवस्थालाई सुझबुझपूर्ण निकास नदिने हो भने गृहयुद्धको सम्भावनालाई पनि नकार्न सकिँदैन।

छिप्पिएका जेन्जीले निर्दोष कलिला जेन्जीहरूलाई दल निषेध गर्न, संविधान बलजफ्ती तोडमोड गर्न र वातावरण नै अन्योलमा लैजान दबाब दिइरहेको बेलामा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको नाममा दिनुभएको सन्देशले सम्पूर्ण अन्योल र भ्रमहरु चिरिदिएको छ। र मुलुकलाई अन्तहिन गृहयुद्धमा जानबाट रोकेको छ। 

प्रधानमन्त्रीले वर्तमान संविधानको सम्मान गर्दै निर्वाचनको माध्यमबाट आफ्नो मत अभिव्यक्त गर्न र निर्वाचित जनप्रतिनिधिहरूबाट समयको माग बमोजिम संविधान संशोधन गरी त्यसलाई अग्रगामी निकास दिन आह्वान गर्नुभएको छ। त्यति मात्र होइन आफूले यो संविधानको मातहतमा बसेर काम गर्नुपर्ने म्यान्डेट रहेको स्पष्ट सन्देश दिनुभएको छ। यसले मुलुकलाई पुन संवैधानिक ट्रयाकमा ल्याउन र अराजकताबाट बचाउन मद्दत गरेको छ ।

यति ठूलो उथलपुथल र आन्दोलनमा हरेक स्वार्थ समूहहरूका आआफ्नै आकांक्षाहरू त हुन्छन् नै । प्रधानमन्त्रीको सन्देशबाट ती सबैका आकांक्षाहरू पूरा नहुन सक्छन्। अब प्रधानमन्त्री विरुद्ध विरोधका आवाजहरु पनि सुनिन सक्छन्। र यस्ता असन्तुष्टिहरूले मुलुकलाई अस्थिरता तर्फ लान सक्नेतर्फ सचेत हुँदै सम्पूर्ण नेपालीहरूले आफ्नो ध्यान आगामी फागुन २१ को निर्वाचनमा पूर्ण रुपले केन्द्रित गर्नैपर्ने हुन्छ। 

यो निर्वाचनमा जनआकांक्षा बमोजिमका नयाँ पार्टीहरू आउन सक्छन्, फरक दर्शन र सोचहरू भएका नेताहरू आउन सक्छन्, पुराना पार्टीहरूले नयाँ नेताहरू लिएर आउन सक्छन्, पुरानै नेताहरू पनि आफूलाई परीक्षण गर्न ताम्सिन सक्छन् । लोकतन्त्रको यो एक सुन्दर सुविधा हो। कसलाई छान्ने, कसलाई नछान्ने भनी निर्णय गर्ने भनेको सर्वशक्तिमान नेपाली जनताले हो।

२००७ सालमा नेपालमा प्रजातन्त्र आउँदा भारतले बेलायतलाई चीनले जापान लगायतलाई खेदाई भर्खर स्वतन्त्र भएका थिए । त्यहाँ त्यसैबेला लेखिएको संविधानले अहिलेसम्म काम गरिरहेको छ। हामीले  भने त्यसयता सातवटा संविधान फेरिसक्यौं। संविधान नयाँ लेख्दैमा देश राम्रो हुने भए त हामी चीन र भारतभन्दा धेरै राम्रो भइसक्नुपर्थ्यो । यो संविधान नहुँदैमा देश ध्वस्त हुने भएपनि बेलायत र इजरायलमा अहिलेसम्म संविधान छैन। दुवैको प्रतिव्यक्ति आय हाम्रोभन्दा झन्डै २५ सय प्रतिशत माथि छ ।

त्यसैले देश संविधानले होइन - एउटा सभ्य सामाजिक आचरण, नैतिक मूल्य, परम्पराप्रतिको सम्मान, सहभागिता र समावेशिता एवं सांस्कृतिक अन्तर्घुलन र राजनैतिक सुझबुझले बलियो हुने हो । अनि सरकारको नवप्रवर्तन, उच्चस्तरीय शिक्षा, उद्यमशीलता र सुशासन प्रति जनउत्तरदायी कदमहरूले समृद्ध बनाउने हो।

तर हाम्रो वास्तविकता कस्तो छ? 

यो आन्दोलनमा सुशासनको नारा दिँदै गोली थप्न तयार भएका मानिसहरूले एकैछिनपछि सपिङ मलहरुबाट गुडिया बोकेर हिँडेको पनि देखियो । अरबौं पर्ने सार्वजनिक र निजी सम्पत्तिलाई क्षणमै खरानी बनाएको पनि देखियो। अहिले हामी ती सार्वजनिक सम्पत्ति बनाउन चन्दा सङ्कलन गर्दैछौं, त्यही डडाउन हिँड्ने पनि हामी भित्रबाट नै थियौँ ।

त्यो जमात कहीँ अन्तबाट आएको हुँदै होइन। हाम्रै समाजभित्रको आवेग हो, हाम्रै चरित्र हो, मौका नपाउन्जेल देखा नपरेको दमित गुण हो। 

नैतिकता सुशासन र भ्रष्टाचारका सम्बन्धमा लामा लामा आदर्शयुक्त भाषण गरेता पनि म भित्र एउटा "चोर" लुकेकै हुन्छ। फागुन २१ को निर्वाचनमा हामीले चुनिने मानिस यही त्यही समाज भित्रबाट नै हो, त्यो चोर बनेर ननिस्केला भन्न सकिँदैन। हो त्यही हाम्रो भोटबाट चुनिने मानिसले अब गुडिया होइन, अलिक ठूलो चोरी गर्न सुरु गर्छ । अनि त्यो डकैतीको अलिकति हिस्सा पाइन्छ कि भन्दै तीनै चोरहरूको चाकडी गर्ने हामी नै हो। यो ब्रह्मलुटबाट अजित भएर अबको १० वर्ष पछाडि अर्को पुस्तालाई सहादत दिन बाध्य बनाउने पनि हुनसक्छ-  हामी नै हो। 

प्रधानमन्त्रीको सम्बोधनले स्पष्ट संकेत गरेको छ - तपाईँ कस्तो देश बनाउन चाहनुहुन्छ, त्यस्तै नेता छान्ने मौका आउँदैछ। यसपालि चाहिँ कमसेकम पछुताउनुपर्ने गरी गल्ती नगरौँ। खाने मेसो जान्दै नजानेका वा जिन्दगीमा बेइमानी गर्न नसक्ने धातुबाट बनेका नेतृत्व छानौ। अब चाहिँ देशलाई बिग्रन दिनु हुँदैन।

धन्यवाद ।


2082/6/9

राधेराधे, भक्तपुर ।

Thursday, September 18, 2025

बाटो पुगेको हुम्ला !

 सात वर्ष पुगेछ, म हुम्लाको सदरमुकाम सिमकोट बसेको। हामीले सामान्य ज्ञानमा पढेको सिमीकोटलाई त्यहाँका स्थानीयले सिमकोट भन्नुहुँदो रहेछ। ठूलो चौरीको बीचमा कतै पोखरी कतै जंगल जस्तो देखिने ठूलो सिमसार क्षेत्र छ त्यहाँ। तिहरिया पाखा र डाँडाहरूमा चौरी चलिरहेका हुन्छन् । एउटा कैलाश मानसरोवर जाने सबैभन्दा सुगम बाटो, हिल्सा नाका प्रस्थान बिन्दु, जडीबुटीको भण्डार, वरिपरि हिउँले ढाकिएका डाँडाहरू, वास्तवमै अति सुन्दर सदरमुकाममा पर्छ सिमिकोट। 


जीवनको अर्को पाटो, सिमकोटमा हरेक कुरा हवाई जहाजमा बोकेर लानुपर्दो रहेछ। २० रुपैयाँको मिनरल वाटरलाई किन २०० रुपैयाँ भनेको त रु.१८० प्लेन भाडा रहेछ। एक बोरा सिमेन्टलाई ९,००० पर्दो रहेछ । सिमेन्टको दाम चाहिँ त्यतिखेर पनि रु.७०० नै थियो। तर हवाइज चढेको हुनाले ९ हजार तिर्नुपर्ने रहेछ। 

तल कर्णाली बग्छ । माथि डाँडाको सदरमुकाममा जाडो फ्याल्न प्रत्येक घरले दाउरा बालेर छोडेको कालो धुवाले हुम्ला सदरमुकाम झ्यापपै ढाकेको हुन्थ्यो । माथि डाँडामा चढेर सिमकोट बजार हेर्ने हो भने साँच्चै नै प्रदूषित लाग्न सक्छ। सामान्य स्थानीय बिजुलीहरू त छ तर त्यसको कुनै भर छैन। वरिपरिका प्राय सबै डाँडाहरू काठमाडौँका साहुले किनेको भनेर बताउँथे। ठूला होटलहरू पनि प्राय बाहिरकै मानिसले बनाएको बुझिएको छ । 

प्लेनले मान्छे बोक्न त्यति रुचाउँदैन। जडिबुटीमै रमाएको छ। मलाई नेपालगञ्जबाट हुम्ला पुग्न प्लेनमा चौथो दिन लाग्यो। तीन दिनसम्म प्लेनले सुर्खेततिर अथवा कतामाथि आकाश पुर्‍याएर फर्काएर ल्याउँथ्यो। भाग्यले कुनै दिन उड्ने जहाज ! त्यसमा पनि उताबाट फर्कन त पहिला जडीबुटी पठाईसकेपछि मात्रै मान्छेको पालो आउँदो रहेछ। 

त्यति राम्रो ठाउँको यस्तो बिजोक ? यो केवल सडक सम्पर्क नभएर मात्र हो। अब हुम्लालाई सडक सञ्जालले जोडेको सुनेर खुसी लाग्यो। अब चाँडै नेपालगञ्ज हिल्सा रात्रि बस चलेको सुन्न पाउँ। शुभकामना छ ।

२७ जुन २०२५

राधेराधे, भक्तपुर ।

चुरे बचाउँ ।

 यो पू.प. लोकमार्ग (जसलाई उहिले महेन्द्र राजमार्ग भनिन्थ्यो) को कन्काई माईको पुलबाट लिइएको चुरे पहाड (शिवालिक पर्वत) को दृश्य हो । मेचीदेखि महाकालीसम्म फैलिएको चुरे करिब ८०० किमी लामो छ । यो सबैभन्दा कान्छो पहाड भएकोले फोस्के छ । आकाशबाट परेको पानी सतहमा बगेर जाँदैन र यसको फोस्के भागमा सोसिएर बस्छ र तराईको जमिनमुनिको पानीको सतहमा क्रमश: जम्मा हुँदैजान्छ । यसरी तराईमा जमिनमुनिबाट पानी आउने भएको हो । 

यसमा प्रसस्त जंगल, ढुङ्गा, गिटी र बालुवा भएकोले मधेश प्रदेशमा सबैभन्दा बढी चुरे दोहन हुने गरेको बताइन्छ । जसले गर्दा अहिले मधेश प्रदेशमा पिउने पानीको समेत हाहाकार छ । 

कोशी प्रदेशमा भने चुरे दोहन हुनबाट बचाइएको जस्तो देखियो । करिब १६५ किमी लामो चुरेमा हरियाली छ, नदीनालामा पानी छन् र जमीनमुनिबाट अझै त पानी आउँदैछ ।

चुरे बचाऔं, जीवन बचाऔं।


झापा।

३० साउन, २०८२

विदेशी ऋण तिरौँ

 संसारका विकसित मुलुकहरूमा ब्याजदर ०.५ देखि ३%को हाराहारीमा छ। ती विकसित देशहरूले हाम्रो जस्तो विकासन्मुख अथवा विकासशील राष्ट्रहरूलाई सस्तो ब्याजदरमा पैसा दिन्छन्। उनीहरूको सस्तो ब्याजदर करिब २% जस्तो पर्न आउँछ। हामीले ऋण तिर्दा डलरमा तिर्नुपर्छ। सन् १९७५ मा एक अमेरिकी डलर किन्न नेपाली आठ रुपैयाँ पर्थ्यो। आज १४० रुपैयाँले मात्र १ डलर आउँछ। अर्थात् औसतमा प्रतिवर्ष ५.९%का दरले हाम्रो मुद्रा सानो हुँदै जान्छ। वा विदेशले ० दशमलवमा दिएको ऋण पनि ५.९% पुग्न जान्छ। त्यसैले वैदेशिक ऋणहरु २% को भनिए पनि ८ देखि माथि कै लागतमा पुग्छन् । त्यसैले उनीहरूलाई आफ्नै देशमा ३ प्रतिशतमा लगानी गर्नुभन्दा हाम्रो जस्तो देशमा ल्याएर शून्य प्रतिशतमा लगानी गर्नु कता हो कता फाइदा हुन्छ ।

यो ८% ब्याजदर दिने हो भने अहिले नेपालीले सरकारलाई प्रशस्त पैसा दिन सक्छन्। आन्तरिक ऋण उठाएर सम्पूर्ण विदेशी ऋण तिर्ने यो सुवर्ण अवसर हो। नेपालीलाई तिरिएको ब्याजले यही नै मनिमल्टिप्लायरको काम गर्छ। तर विदेशीलाई बुझाएको पैसा कहिले फर्कँदैन। नेपालीहरूले लगानी गर्ने ठाउँ नपाइरहेको अवस्थामा सरकारले वैदेशिक ऋणलाई आन्तरिक ऋणमा रूपान्तरण गरोस्। 

ऐतिहासिक विनिमय दरको आधारमा अमेरिकी डलरको बराबरमा नेपाली रुपैयाँको क्षयीकरण तल हेर्नुस्।

१९७५ सालतिर: ~८ रुपैयाँ = १ डलर

१९८५: ~१२ रुपैयाँ = १ डलर

१९९०: ~१६ रुपैयाँ = १ डलर

२०००: ~६८ रुपैयाँ = १ डलर

२०१०: ~७३ रुपैयाँ = १ डलर

२०२०: ~११८ रुपैयाँ = १ डलर

२०२५: ~१४० रुपैयाँ = १ डलर

(स्रोत: नेपाल राष्ट्र बैंक, विश्व बैंक, FRED)

५० वर्षको अवधिमा रुपैयाँ डलरको तुलनामा कति अवमूल्यन भयो भनेर औसत दर निकाल्न CAGR (Compound Annual Growth Rate) सूत्र प्रयोग गरिन्छ:

शुत्र = {(अन्तिम वर्षको दर÷ सुरुवाती वर्षको दर)^(१÷वर्ष सङ्ख्या)}-१

= {(१४०÷८)^(१÷५०)}-१

= ५.९%

यहाँ,

• सुरुवाती वर्षको दर (१९७५ मा ~८ रुपैयाँ/डलर)

• अन्तिम वर्षको दर (२०२५ मा ~१४० रुपैयाँ/डलर)

• वर्ष संख्या (५० वर्ष)

विगत करिब ५० वर्षमा, नेपाली रुपैयाँ अमेरिकी डलरविरुद्ध वार्षिक औसत झण्डै ५.९% ले अवमूल्यन भएको छ।

त्यसैले, हामीलाई सहयोग गरेजस्तो गरेर विदेशीले असाध्यै राम्रो मुनाफा लगेका छन्। अब आफ्नै देशका नागरिकले लगानी गरुन्। विदेशीको ऋण तिरौँ सरकार।

स्ट्रबेरी फलाउने नानामी वाकायामा

नानामी बाकायामा जापानी किशोरी हुन्। उनी २०७२ सालको वैशाखमा तिब्बततिरबाट सगरमाथा चढ्ने आरोहीको रुपमा आएकी थिइन्। भूकम्पले सबै योजना भताभुङ्ग भयो। त्यसपछि नेपाल भ्रमणमा निस्किइन् । ककनी घुम्ने क्रममा उनले केही किसानले स्ट्रबेरी खेती गरेको देखिन्। यहाँका किसानहरूको स्ट्रबेरी जापानको जस्तो राम्रो पनि थिएन र उत्पादकत्व एकदमै कम थियो। यति मेहनती नेपाली किसानहरूले थोरै आम्दानी लिएको देखेपछि उनलाई स्ट्रबेरीमा काम गर्न मन लाग्यो। नानामी जापान फर्केर गइन् र स्ट्रबेरीमा जानकार व्यक्तिहरूसँग सम्पर्क गरिन्। केही महिनापछि स्ट्रबेरीका नयाँ जातहरु र केही इन्स्ट्रक्टर लिएर प्रविधिसहित नेपाल आइन्। 

अहिले ककनीमा २००० किसानहरुसँग १० वर्षदेखि विषादी मुक्त स्ट्रबेरी खेतीमा काम गरिरहेकी छन् । उनी हरेक चार महिनामा नेपाल आउँछिन् र दुई हप्ता बस्छिन्। प्रत्येक दुई वर्षमा टिसु कल्चर गरी नयाँ जातका बिरुवा उपलब्ध गराउँछिन्। किसानहरूका सबै स्ट्रबेरी किनिदिन्छिन् र विभिन्न ठूला मार्टहरुमा "हिमे बेरी" ब्रान्डबाट बिक्री गर्छिन्। खाडी मुलुकमा पठाउने कोसिस पनि जारी नै राखेकी छन्।

उनले जापानी प्रविधिको इएम जस्तै एउटा जैविक झोल प्रोबायोटिक पनि बनाउन सिकाएकी छन्। त्यो "स्वाइल इनर्जी" नाममा बजारमा पाइन्छ।

यो नयाँ पुस्ताको विकास गर्ने सोच् नै फरक छ । उनी भन्छिन् - "अनुदानबाट हुने विकास दिगो हुँदैन । सबैले दुई चार पैसा कमाउन पाए भने सिर्जनात्मक काम हुन्छ र कामलाई पनि निरन्तरता दिन्छन् । मेरो मोडलमा सबैले दुई पैसा कमाउन काम गर्नुपर्छ। मैले पनि ।"

आज उनीसँग बैठक भयो। साना किसानहरूसँग पनि मिलेर काम गर्न चाहन्छिन्। मैले स्ट्रबेरीमा काम गर्न इच्छुक अगुवा किसानहरूसँग कुरा गरेर भनौला भनेको छु। 

तपाईँहरू कोही स्ट्रबेरीमा काम गर्न चाहनुहुन्छ भने युट्युबबाट अथवा इन्टरनेटबाट सामान्य अध्ययन गर्नुहोला। यदि यसलाई व्यवसाय बनाउन सकिन्छ भन्ने लाग्यो भने मसँग सम्पर्क गर्नुहोला । उनी डिसेम्बरमा आउँछिन्। त्यसपछि कसरी सहयोग लिन सकिन्छ भन्ने बारेमा नानामीसँग तपाईँ आफैँ बसेर छलफल गर्ने व्यवस्था हामी मिलाइदिनेछौं ।

(यद्यपि माथिको कुरा मैले प्रत्यक्ष रुपमा ककनी गएर रुजु गर्न पाएको छैन । पत्रकार मित्र सागर गौतम र  उनीसँगको वार्तालापबाट थाहा भएको हो ।)

२०८२/५/६

काठमाडौँ।

अपराधी ड्रेस

करिब तीन वर्षअघिको कुरा हो। मैले सञ्चयकोषको ऋण तिरेर धनी पुर्जा फुकुवा ल्याएको दुई वर्ष लागेको थियो। व्यवहार मिलाउन फेरि ऋण आवश्यक पर्यो । एउटा वाणिज्य बैंकमा पुर्जा धितो राखेर श्रीमतीजीले ऋण लिने सम्पूर्ण व्यवस्था मिलाइयो । धितो रोक्का राख्न जिल्ला मालपोत कार्यालय भक्तपुर गयौं। दिनभर के के मा अल्झाएर घुमाइयो । अनि अफिस छुट्टी हुने बेलामा आएर लेखनदास भन्छन् "सरको सन्चयकोषबाट रोक्का राखेको रहेछ । फुकुवा पुर्जा नल्याई हुँदैन भन्छ।"

मेरो धनी पुर्जामा नै कर्मचारी सञ्चय कोषले नै फुकुवाको छाप लगाइदिएको थियो। हामी उपभोक्तालाई त्यो छाप भए पुगिहाल्यो । प्रशासनिक कुरा के थाहा र? कसैले केही भनेको पनि थिएन । कर्मचारी सञ्चय कोषको कर्मचारी आफै आएर मालपोतमा फुकुवाको सबै काम गरिदिनुभएको थियो त्यो बेला । 

मैले पुर्जामा फुकुवाको छाप देखाएँ। नागरिक एपमा कर्मचारी सञ्चय कोषमा ऋण नभएको विवरण देखाएँ, पटक्कै सुनवाई भएन । सञ्चय कोषबाट फुकुवा पत्र नल्याई कुनै हालतमा मेरो जग्गा बैंकको नामबाट रोक्का नहुने बताइयो। मैले दुई वर्ष अगाडि लिएको फुकुवाको कुनै अर्थ छैन, त्यहाँ रेकर्ड छैन ।

मैले त्यो दिन मात्र बिदा लिएको थिएँ। पर्सिपल्टदेखि मेरो एक हप्ता महत्वपूर्ण फिल्ड भ्रमण थियो। यो बीचमा मैले ऋणको सबै व्यवहार मिलाइसक्नुपर्ने थियो। 'कर्मचारीको विवशता कर्मचारीले नै बुझ्छ ' भनेर मैले मालपोतका कर्मचारीलाई यो कुरा सुनाएँ, अनुरोध गरेँ। उनीहरू झन् दृढ हुँदै गए । 

मेरो लेखनदास छटपटीरहेका थिए । उनलाई यस्ता धेरै काम गर्नु थियो । मेरै एउटा काममा अल्झिएर बस्ने फुर्सद सायद थिएन । भित्र पसे, कर्मचारीसँग के सल्लाह भयो, बाहिर आएर मलाई कानमा बिस्तारै भने, "सर मैले पाँचै हजारमा मिलाएँ। यो लफडा नराखौं । सरको नागरिकता नम्बरमा पनि नौ र एक उस्तै देखिँदो रहेछ। त्यो लफडा झिके भने झन् गाह्रो पर्छ । बरु यति पैसा दिएर मिलाइहालुँ ।" 

मेरो अफिसको ड्रेस पनि निलो कोट-पाइन्ट र सेतो सर्ट नै हो। अचेल हरेक दिन अफिस जाने बेलामा यो ड्रेस लगाउँदा आफैंलाई अपराधी झैँ लाग्छ।


राधेराधे, भक्तपुर

१८ भाद्र, २०८२

अब के गर्ने?

१. आगलागि र क्षतिमा परेका कुनै पनि सार्वजनिक संस्थाहरूलाई सफा गर्ने निहुँमा वा हेर्ने निहुँमा कोही पनि अनाधिकारिक व्यक्ति पस्नु हुँदैन । त्यहाँ अझै कतिपय दस्तावेज कागजात महत्वपूर्ण अभिलेखहरू बाचेका हुनसक्छन् । सम्बन्धित व्यक्तिहरु वा सुरक्षा निकायले मात्र संरक्षण गर्न सक्छ । त्यो अभिलेखहरू भोलिको लागि अत्यन्त महत्वपूर्ण हुन सक्छ  । नत्र जनताले धेरै दुःख पाउनुपर्ने हुन्छ। 

२. संसार नै अचम्म पर्ने गरीको इतिहास बनेको छ । सधैँ अशान्ति र विग्रहमा मुलुकलाई राख्नु हुँदैन। सबै जनता जिम्मेवार हुन सकिएन भने यस्तो मुभमेन्टबाट धेरै मुलुकहरू गृहयुद्धमा धकेलिएका छन्। तर हामी जिम्मेवार छौँ, जिम्मेवार हुनुपर्छ। तसर्थ, लोकतान्त्रिक व्यवस्थामा आवाजहरू खुल्ला हुन्छन् । आफूलाई लागेको कुरा आमा बाउ र छोराछोरीलाई सुनाउन मिल्ने भाषामा पोख्न पाउनुपर्छ । तर social media मा व्यक्तिगत आक्षेप, गालीगलौज, फोहोरी शब्दको प्रयोग र फेरि समाजलाई बाँड्ने किसिमका षड्यन्त्र वा कुण्ठा वा आवेग पोख्नबाट बच्नुपर्छ ।

३. हिजो, आज वा भोलि जहिले पनि शासकहरू हामीबीचबाटै छानिने हुन्, अर्को लोकको मान्छे आउँदैन । हामी जस्तो छौँ, शासक त्यस्तै बन्ने हो। हामी असल बनौँ, शासक असल बन्छ । 

४. २४ गतेको क्रुर आगजानीमा अपवाद बाहेक कतै पनि Generation Z (जेन्जी) को हात देखिँदैन। बरु उनीहरू त संरक्षणमा लागेको समेत देखियो। तर त्यो अपराधीहरूलाई "सबैको हातमा मोबाइल छ, फोटो खिचिरहेका छन् " भन्ने समेत हेक्का देखिएन। त्यसैले लुटपाट र आगजनीमा संलग्नलाई कुनै हालतमा छुट दिनु हुँदैन । अहिले सुरक्षा निकायले ती फोटो क्लिप र फुटेजहरू मागिरहेको छ। र तपाईँ जस्ता जिम्मेवार नेपालीहरूले उपलब्ध गराइ रहेका छन्। 

५. यो आवाज-स्वतन्त्रताको युग हो। अब राजनैतिक बहस त चल्छ नै, चल्नु पनि पर्छ । यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने बहस चल्छ। यसको समर्थन र विरोधमा समाज बाँडिन्छ । यो अस्थिर समयको फाइदा उठाउनलाई विभिन्न तत्वहरुले खेल्छन् । फेरि पनि समाजलाई व्यवस्थित बनाउन कुनै न कुनै किसिमको कुनै न कुनै जिम्मेवार राजनीतिक दल र आदर्श राजनेताहरु नै चाहिन्छ। ती नेताहरू अहिले आन्दोलनले जन्माएका पनि हुन सक्छन् । हिजोका असल पनि हुनसक्छन् । यदि फेरि निषेधको राजनीति पढाउन थालियो भने समाज पुरानै स्वरूपमा फर्किने डर हुन्छ। हामी ठूलो छाती लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। 

६. यो खरानीबाट उठेर समाजमा देखिने गरी परिवर्तन ल्याउनको लागि तत्काल ठूलो धनराशि चाहिन्छ, जो हामीसँग छैन । संसारले सहयोग गर्दा पनि भूकम्पपछिको पुनर्निर्माण अझै पूरा भइसकेको थिएन। भूकम्पभन्दा ठूलो क्षति र नोक्सानीहरू भएको छ। अहिले तत्कालै देखिने अनुभव हुनेगरी भौतिक विकास र परिवर्तनहरू पाउन गाह्रो छ। अनि चाँडै परिवर्तन खोज्ने हाम्रो मनस्थितिले चाँडै वितृष्णा महसुस गर्न थाल्नेछ। करिब १३ खर्बको नोक्सान भएको अनुमानहरू आउन थालेका छन्। करिब ३ खर्बको विकास बजेट हुने मुलुकले अहिलेको नोक्सान पुरा गर्न झन्डै पाँच वर्ष खर्चनुपर्नेछ। अनि पाँच वर्षसम्ममा संसार धेरै अगाडि बढिसकेको हुन्छ। हामी बल्ल पाँच वर्ष पुरानो अवस्थामा पुगेका हुन्छौं। यदि यो खाडल पुरेर विकासको गतिलाई अहिलेको रुपमा मात्रै लैजाने हो भने पनि सालमा ६ खर्बको विकास खर्च जुटाउनु पर्ने हुन्छ। यसले हामीलाई अहिलेको अवस्थामा मात्रै चल्न सक्ने बनाउँछ। 

७. यदि सोचे जस्तो विकास अगाडि बढाउने हो भने सालमा हामीले १२ खर्बका दरले विकास बजेट जुटाउनुपर्छ । त्यो भनेको झन्डै ४०० प्रतिशतले राजस्व कर) बढाउनु हो। जुन अहिले सम्भव देखिँदैन। त्यसैले जनताहरूलाई धेरै ठूलो, असम्भव हुने महत्वकांक्षा र सपना देखाउनु हुँदैन । नत्र भोलि योभन्दा ठूलो फ्रस्ट्रेसन बढ्छ।

८. राजनीति आफ्नो ठाउँमा चल्दै गर्छ। हामी देश बनाउन छोड्नु हुँदैन । देश बनाउने कार्य आफ्नै समाजबाट सुरु हुन्छ। र त्यो समाजको महत्वपूर्ण अंश भनेको तपाईं हाम्रो आफ्नै परिवार र घर हो। हाम्रो आफ्नै घर र परिवारलाई अनुशासित, उद्यमशील र जिम्मेवार बनाउनु नै मुलुक बनाउनु हो।


प्रण गरौं "हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला।"


२०८२/५/२७

भक्तपुर

#zenz

कृषिलाई पनि यो परिवर्तनमा जोड्नुपर्छ।

 प्रिय कृषि सहकारी मित्रहरू! 

अत्यन्त छोटो अवधिमा मुलुकमा अकल्पनीय परिवर्तन भएको छ। हरेक परिवर्तनका प्रभावहरू स्थिर हुन समय लाग्छ । यो अस्थिर समयमा अहिले पर्खौँ र हेरौं भन्ने धेरैको कुराहरु हुन सक्छ। हो, मानिस हरू केही समय पुरानै लुगा लगाएर बस्न सक्लान् । उपचारलाई पछि सार्लान् । भ्रमण र घुमाइडुलाई थाती राख्न सक्लान् । चाडबाड मितव्ययी ढंगले मनाउलान् । दान, दक्षिणा र पूजापाठमा खर्च बचाउलान् । तर हाम्रा केही यस्ता आवश्यकता छन् , जसलाई हामी भोलि गरौँला भनेर टार्न सक्दैनौँ। त्यो हो - खाना । खाना सम्पूर्ण परिवारलाई चाहिन्छ, सम्पूर्ण गाउँलाई चाहिन्छ, सम्पूर्ण नेपाललाई नै चाहिन्छ। 

हामी धेरै वर्षदेखि खाद्यान्न विदेशबाट आयात गर्न बाध्य छौं। यो वर्ष तराईको खडेरीले गर्दा ठूलो मात्रामा धान आयात गर्नुपर्ने अनुमान छ। तेल भनेर हामी आयातित के को झोल खाइरहेका छौं ? थाहा छैन । मकैको ठूलो मात्रा ब्राजिल र अन्य देशहरूबाट आउँछ। दालमा त आत्मनिर्भर हुन हामीलाई कति गाह्रो? बेसार, मर्मसला सबै विदेशबाट ल्याएर खान्छौँ। के यहाँ उत्पादन नभएर विदेशबाट ल्याएको हो त? 

हैन । यसका केही आधारभूत कारणहरू छन् : 

१. नेपालमा कृषि आपूर्ति (मलखादको, उन्नत बीउबिजन, कीटनाशक र प्राविधिक सहयोग) को अनिश्चित उपलब्धता र अत्यधिक लागत मूल्यका कारण कृषि उत्पादनको प्रतिस्पर्धात्मक क्षमता अत्यन्त कमजोर रहेको छ । उन्नत प्रविधि र सरकारद्वारा संरक्षित अन्य देशहरूको कृषि उत्पादनसँग हाम्रो उत्पादन गुणस्तर र मूल्य दुवैमा पछि पर्छ। स्वदेशी भन्दैमा कुनै पनि मानिसले महँगो किन्न पटक्कै चाहँदैन । महँगो भएकोले हाम्रो उत्पादनले बजार पाउँदैन। बिक्री नहुनु र उचित मूल्यमा बिक्री नहुनु दुवै कारणले गर्दा किसानहरू कृषिबाट विमुख हुँदै जान बाध्य हुनुपरेको छ।

२. दोस्रो आम कारणमा हाम्रा खेतीहरू सासानो टुक्रामा विभक्त छन्। त्यति सानो टुक्रामा गरिएको उत्पादन व्यावसायिक हुन सक्दैन। कृषिलाई एकीकरण गरेर चक्लाबन्दी गर्ने वा करार खेती गर्ने वा सामूहिक खेती गर्ने कानूनी, नीतिगत र प्रणालीगत समस्याहरु छन् । यसले गर्दा टुक्रा उत्पादन बटुल्दै हिँड्ने गरी बजार सिर्जना हुनै सक्दैन। हाम्रो उत्पादनलाई मागसँग जोड्न सकिएको छैन । कुन ठाउँमा के उत्पादन हुन्छ र कुन ठाउँमा के कुराको अत्याधिक माग छ भन्ने जानकारी दिन भरपर्दो सूचना प्रणाली समेत स्थापित हुन सकेको छैन। 

३. टुक्रे स्वामित्वका जमिनमा प्राविधिक सुविधा उपलब्ध गराउन, प्रविधि प्रयोग गर्न, यान्त्रिकरण गर्न, उन्नत बिउविजन, कीटनाशक आदिको व्यवस्था मिलाउन र आधुनिक खेती प्रणाली विकास गर्न असाध्यै गाह्रो हुन्छ।  त्यसैले एउटा निश्चित भूगोलमा एउटा खास उत्पादनमा फोकस हुने स्थानीय व्यवस्था मिलाउन आवश्यक छ। थाइल्याण्डको ग्रामीण कृषिलाई "एक गाउँ एक उत्पादन" व्यवस्थाले कायापलट गरेको हाम्रो आँखा अगाडि छ। 

४. हाम्रा किसानहरूलाई फार्म रेकर्ड किपिङ र व्यावसायिक योजनाको महत्व बुझाउन र अभ्यासमा ल्याउन सकिएको छैन। यसले कम्पिटेटिभ एडभान्टेज भएका उत्पादनहरूलाई एक गाउँ एक उत्पादनको मोडलबाट विकास गर्न सजिलो बनाउँथ्यो। कार्यदक्षता बढ्थ्यो। जसले गर्दा गुणस्तर मूल्य सबैमा हामी अब्बल हुन सक्थ्यौ र बजार पनि सिर्जना हुन्थ्यो।

५. कृषिलाई केन्द्रित गरेर गरिने सरकारी प्रयासहरू अपर्याप्त हुन्छ। वास्तविक किसानहरू मात्र रातदिन त्यही कृषि उत्पादनको चिन्ताले रुमलिरहेका हुन्छन्। तसर्थ कृषि सहकारी संस्थाहरू नै अघि नबढी कृषिको विकास सम्भव छैन। यस्ता कृषि सहकारी संस्थाहरूमा वास्तविक किसानहरूको नेतृत्व स्थापित गरी स्थानीय सरकारको सहयोगमा प्रविधि, प्राविधिकज्ञ र उत्पादनका अन्य साधनहरूको विस्तार गर्न र चक्लाबन्दी खेती सम्बन्धी नीतिगत व्यवस्थाहरू मिलाउन सबैभन्दा उत्तम उपाय हुनेछ ।

६. आदरणीय कृषि सहकारी मित्रहरू! अहिले मुलुकले नयाँ दिशा समात्न खोजेको छ। पारदर्शिता, भ्रष्टाचार रहित शासन र सहभागिता स्थापित गराउन नयाँ पुस्ताले गरेको बलिदान वास्तवमा संसारमै अभूतपूर्व भएको छ। यसले यदि कोही अनुत्तरदायी शासक बन्न खोज्छ भने नयाँ पुस्ताको खबरदारीलाई सामाजिक पहरेदारको रुपमा उभ्याएको छ। तपाईँले वर्षौंदेखि गर्न नसकेका कामहरूमा अब सजिलो हुनसक्छ । अनुदानले संस्था चलाउनु हुँदैन । तर किसानले सहयोग नपाई कृषि भने टिक्दैन । एकातिर सहयोग चाहिएको छ र अर्कोतिर साधनस्रोतको अभाव भएको मुलुकमा हामीले कृषि गर्नु परेको छ । 

यसैले अब हामी यस्तो रणनीति बनाउँ स्थानीय पालिकासँग यसरी समन्वय गरौ किसानहरुका खास उत्पादनमा केन्द्रित हुने यस्ता उत्पादक समूहहरू बनाउँ, सामूहिक वा चक्लाबन्दी खेतीको अभ्यास सुरु गरौं, स्थानीय प्रशोधन उद्योगहरू निर्माण गरौं, कृषि उत्पादनको मूल्य अभिवृद्धिको लाभ किसानहरुलाई पुर्‍याउँ । र खाद्य सम्प्रभुता हासिल गरौं। 

नयाँ सरकारको प्राथमिकतामा यो विषय परिदियोस् - मेरो प्रार्थना छ। 


२०८२/५/२८

राधेराधे, भक्तपुर ।

सरकारको खर्च कटौतीलाई सुझाव

 नयाँ सरकारले कठोर मितव्ययिता नीति (austerity measure) अपनाउने निर्णय गरेको छ । मन्त्रीहरूले तलब भत्ता सुविधा नलिने, २० प्रतिशत दरबन्दी कटौती गर्ने, बैठक भत्ता खारेज गर्ने, टुक्रे परियोजना खारेज गर्ने आदि स्वागत योग्य छन् । यी तलका एक दुईवटा थप्न मिल्छ भने तुरुन्तै थपियोस्: - 


१. पालिका जलाइनुमा मेयर साहबहरूका नयाँ स्कर्पियो मोह पनि हो । अब कुनै पनि तहका सरकार र निकायमा नयाँ मोटर नकिनियोस् । मन्त्री वा अधिकारीहरूलाई सार्वजनिक सवारी साधनमा हिँड्ने दैनिक भाडा दियो भने सार्वजनिक यातायातलाई सुधार गर्न अर्को दबाब पनि सिर्जना हुन्छ। शिक्षकलाई चाहिँ छोराछोरी सरकारी स्कुलमा पढाउ भन्ने, अनि आफू चाहिँ सार्वजनिक यातायातमा हिँड्न नसक्ने? सार्वजनिक यातायातमा हिँड्न नसक्ने हो भने पनि प्राइभेट कम्पनीहरूको सवारी साधन भाडामा लिँदा दीर्घकालमा मोटर खरिद गर्नुभन्दा सस्तो पर्छ । यदि सरकारी सवारी साधनको प्रथा नै अन्त्य गरियो भने निजी क्षेत्रले अर्को एउटा व्यवसायको अवसर पाउँछ । मरणासन्न अर्थतन्त्रलाई यसले पनि अलिकति टेवा पुर्‍याउँछ । आशिका तामाङ बहिनीले पनि शनिबार सरकारी गाडी रुँगेर हिँड्ने ड्युटीबाट छुट्टी पाउँछिन्। 


२. कुनै पनि सरकारी भवनहरू अब १० वर्ष नबनाउँ । कार्यालयहरू डिजिटाइज गरेर कागजविहीन बनाऔं । अत्यन्त जोखिमपूर्ण कागजपत्रहरू राख्नलाई प्रत्येक सदरमुकामको बीचमा एउटा multi compartmental strong room बनाऔं र ६ बजे भित्रमा यस्ता कागजात त्यहाँ पुर्‍याउने व्यवस्था मिलाउँ। तर पूर्ण डिजिटाइज गर्न सकेको अवस्थामा कागजको त्यति धेरै आवश्यकता पर्दैन । कार्यालयहरू टेन्टमै चलाउँ, ताकि मरिहत्ते गरेर कुर्सीको लोभमा पर्नेलाई त्यता जान अल्छी लागोस् । देश बनाउने हुटहुटी भएकालाई त टेन्ट होस् कि चौर होस् कि भव्य महल होस् - केही फरक पर्दैन । अहिले भवन बनाउने पैसाले त जनताले महसुस गर्न सक्ने गरी हामी धेरै विकास र परिवर्तनका काम गर्न सक्छौँ। डिजिटाइजेसन गर्न त त्यसको ५% पैसा पनि लाग्दैन। 


३. जनपद प्रहरीलाई शान्तिको जिम्मा दिउँ, सुरक्षाको हैन । सुरक्षाको जिम्मा त सशस्त्र प्रहरी र सेनाले लिने हो। गोलीगठ्ठा नकिनेर त्यो पैसा बचाइयो भने जनपद प्रहरीलाई शान्तिको जिम्मा दिन आवश्यक पर्ने तालिम खर्च प्राप्त हुन्छ।  साथै हतियार खरिदमा हुने अपारदर्शी विवाद र शङ्काहरू समेतबाट बच्न सकिन्छ। हाम्रो प्रहरीलाई शान्तिको तालिम पटक्कै छैन भन्ने कुरा राजावादी आन्दोलन र जेन्जी movement मा प्रहरीको विभत्स प्रस्तुतिका घटनाहरुबाट पुष्टि भएको छ। प्रहरीलाई यस्तै हालतमा छोड्ने हो भने जुनसुकै सरकार पनि बदनाम भइरहन्छ।


४. जनताले अत्यन्त भ्रष्टाचार हुने कार्यालयहरू भनी बदनाम भएका यातायात व्यवस्था कार्यालय, मालपोत, भन्सार, CTEVT आदिलाई पहिलो चरणमा पूर्ण अटोमेसनमा लैजाउँ, जहाँ कर्मचारी र उपभोक्ताको भेटै नहोस्। एकजना व्यापारीले मलाई के भन्नु भएको छ भने कर्मचारीले परैबाट देख्यो भने पनि गोजीको पैसा घट्छ रे । यसबाट इमान्दार कर्मचारीहरूले समेत शिर निहुराएर हिँड्नुपर्ने अहिलेको अवस्था हट्छ । 


५. प्रत्येक किसान दर्ता गरौं र बैंक खाता खोल्न अनिवार्य गरौँ। मलखाद खुल्ला बजारमा पूरा मूल्यमा किन्न पाउने व्यवस्था मिलाउँ । दर्ता भएको किसानले बजारबाट पूरा मूल्यमा आवश्यकता अनुसारको मलखाद किन्न सकोस्। र भनेको समयमा बाली लगाउन पाओस्। मलखाद किन्नासाथ सरकारले दिने अनुदान उसको बैंक खातामा जाने  डिजिटल व्यवस्था मिलाउँ।


कठोर कुराको सुरुवात गर्न नयाँ युग नै पर्खनुपर्छ। अहिले उचित समय छ। नयाँ सरकार! हिम्मत गर्नुस्। यी कामहरूमा जनताले साथ दिन्छन् जस्तो लाग्छ।


खर्च घटाउन तपाईँलाई लागेका अरु केही कुरा भए कृपया तल लेखिदिन अनुरोध गर्छु।

२०८२/५/३१

राधेराधे, भक्तपुर ।


Suggestions for Cutting Government Expenditure

=====================

The new government has decided to adopt strict austerity measures. Decisions such as ministers not taking salaries and allowances, a 20% reduction in quotas, scrapping meeting allowances, and terminating fragmented projects are welcome. A few more measures could immediately be added, such as:


1. End the mayors’ craze for new Scorpios in municipalities. No level of government or agency should purchase new vehicles. If ministers and officials are instead given daily allowances for using public transport, it would create added pressure to improve public transportation. Teachers are told to send their children to government schools, but why can’t leaders ride public buses themselves? Even if public transport is not feasible, renting vehicles from private companies is cheaper in the long run than purchasing new ones. If the practice of government vehicles is abolished altogether, the private sector will gain a new business opportunity. This will also provide some support to our dying economy. Sister Ashika Tamang would even be relieved from her Saturday duty of polishing government cars.


2. Do not build any new government buildings for the next 10 years. Instead, digitize offices and make them paperless. For highly sensitive documents, establish a multi-compartment strong room in each district headquarters and ensure that such documents are deposited there before 6 PM every day. In a fully digitized system, however, the need for paper will be minimal. Let offices run from tents if necessary—so that those lusting after chairs and perks will feel too lazy to go there. For those genuinely eager to build the nation, whether it is a tent, an open field, or a grand palace makes no difference. With the money saved from constructing buildings, we could carry out far more development and transformative works that people can actually feel. Digitization itself would cost less than 5% of that amount.


3. Assign the People’s Police (Janapad Police) the responsibility of peace, not security. Security should be the mandate of the Armed Police Force and the Army. By saving money from not purchasing bullets and ammunition, funds could instead be allocated for the training necessary to prepare the Janapad Police for peacekeeping. This would also eliminate the opaque controversies and suspicions that surround weapons procurement. The complete lack of peacekeeping training in our police force was already proven by their horrific performance during the royalist protests and the Gen-Z movement. If the police are left in this condition, any government will continue to be disgraced.


4. Fully automate the offices notorious for corruption—such as the Transport Management Office, Land Revenue Office, Customs, and CTEVT—in the first phase, so that employees and service-seekers never even meet. A businessman once told me that even if an employee sees him from afar, he already feels his pocket getting lighter. This reform would also free honest employees from having to walk with their heads bowed in shame under the current situation.


5. Register every farmer and make it compulsory for them to open a bank account. Ensure that fertilizers are available in the open market at full market price. Registered farmers should be able to buy as much fertilizer as they need at the market rate and thus plant crops on time. The government subsidy should be transferred directly to their bank account as soon as the fertilizer is purchased, through a digital system.


To begin strict measures, we don’t need to wait for a new era. The right time is now.

New government! Be courageous. I believe the people will support you in these efforts.


If you have any additional ideas for reducing expenditure, please write them below.


Sept. 16, 2025

Radhe Radhe, BhKtapur.

#zenz  #nepal  #jhalendra

भाटभटेनीका सहिदहरूप्रति

 जहिल्यै पनि सहिदहरूप्रति मेरो निशर्त आदरभाव रहन्छ। सम्पूर्ण सहिदहरूप्रति फेरि पनि अन्तर हृदयदेखि नमन र श्रद्धाञ्जली ।

तर, खाली आग्रह के मात्रै हो भने- जेन जेडले आह्वान गरेको आन्दोलनको भोलिपल्ट (अर्थात् २४ गते) केही मानिसहरू भाटभटेनीको चौथो तलामा पसेर कस्तो आन्दोलन गर्दै थिए? उनीहरुको आन्दोलन प्रष्ट नभई तिनीहरूलाई भने सहिद मान्न सकिँदैन।

(तर जुनसुकै कारणले पनि मानिस मारिनुलाई समर्थन गरेको भने होइन।)

२०८२/५/३१

राधेराधे, भक्तपुर ।

प्रत्येक मानिसमा राजा हुने इच्छा छ।

 अचानक पानी पर्यो। 

"तपाईं अग्लो मान्छेले छाता ओढाउनुहोस्" उनले भनिन् ।

"राजालाई अरुले छाता ओडाउनुपर्छ।" मैले भने ।

"राजा मन पर्दैन भनेको होइन? खुब राजा हुन खोज्ने!"

"अरु राजा भएको पो मन नपरेको त !" थाहै नपाई मुखबाट फुस्किएछ।


२०८२/६/१

राधेराधे, भक्तपुर ।

अनि तिमीलाई मैले राम्रो भनिदिनुपर्ने?

विश्वभरि शान्ति फैलाउने गौतम बुद्धको ध्यान बचाउन नसक्ने,
असन्तुष्टि पोख्न सरकारसँग गएका निहत्ता बालबालिकाको ज्यान बचाउन नसक्ने,
विदेशीले दिएका सुन्दर हरिया "साझा" बचाउन नसक्ने,
सेना त छ नि! आफ्नै परमाधिपति "राजा" बचाउन नसक्ने,
ए काठमाडौँ !
अनि तिमीलाई मैले राम्रो भनिदिनुपर्ने?

मकै बेच्ने, ठेलामा टिक्ने, कबाडी बोक्ने ती निसहायहरूको रोजगार खोस्न सक्ने,
अरबौंको ट्याक्स तिरेर हजारौँलाई रोजगारी दिने उद्योग व्यापार झोस्न सक्ने,
स्वर्ग झैँ मानिने कान्तिपुरी नगरीको सुन्दर यौवन चुस्न सक्ने,
सद्दे कोही नरहने गरी सबैलाई काण्डैकाण्डमा मुस्न सक्ने,
ओइ काठमाडौं !
के रे के रे?  मैले फेरि तिमीलाई राम्रो भनिदिनुपर्ने?

मूर्ति चोर्ने, देवल फोर्ने, ध्वस्त पार्ने पुर्खाले आर्जेका सम्पदा अपार,
बचाउन नसक्ने सेना मुख्यालयभन्दा ५०० मिटर परको सिंहदरबार,
शान्ति सुरक्षा गर्छु भन्ने प्रहरीले आफ्नो कमान नै बचाउन नसक्ने,
जनताको हित गर्न कसम (?) खाएका नेताले आफ्नो इमान नै बचाउन नसक्ने,
छि:  काठमाडौँ !
अनि मैले तिमीलाई राम्रो भनिदिनुपर्ने?

विश्वभरि शान्ति फैलाउने गौतम बुद्धको ध्यान बचाउन नसक्ने,
असन्तुष्टि पोख्न सरकारसँग गएका निहत्ता बालबालिकाको ज्यान बचाउन नसक्ने,
ए काठमाडौँ !
अनि तिमीलाई मैले राम्रो पो भनिदिनुपर्ने?


२०८२/५/२४
राधेराधे, भक्तपुर

Friday, September 5, 2025

माइपोखरी, इलाम

आज इलामको माईपोखरी घुम्न जाउँ। नेपालको पूर्वी हिमाली क्षेत्रमा अवस्थित एक स्वर्गीय गन्तव्य! यो ठाउँ प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताले भरिपूर्ण छ। पूर्वी नेपालको प्रसिद्ध सन्दकपुर गाउँपालिकामा पर्ने यो ठाउँमा पुग्न इलामबाट ताप्लेजुङतर्फ जाँदा बिब्ल्याटे बजारबाट करिब ९ किलोमिटर दाहिनेतर्फ उकालो लाग्नुपर्छ।

यो हो माईपोखरी – २,१०० मिटर उचाइमा रहेको यो तालको पानी शान्त, हरियो रंगको छ, जुन हलचल गर्दैन। वरपरका सल्लो र अन्य रुखहरूको सुन्दर छायाँ तालमा देखिन्छ, जसले यहाँबाट हिँड्नै मन नलाग्ने बनाउँछ। रु २० को प्रवेश शुल्क लाग्ने यो क्षेत्रमा पोखरीका अलावा बोटनिकल गार्डेन लगायत सौन्दर्यका विभिन्न क्षेत्रहरू छन्। 

तालका नौवटा कुनाहरू नौ फरक देवताहरूलाई समर्पित छन्, र यो हिन्दु र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो। तालको केही वर डुंगा चढ्ने सुविधा पनि छ, जुन निकै रमाइलो अनुभव हुनेछ।

माईपोखरी वनस्पति उद्यानमा पूर्वी नेपालका दुर्लभ अर्किड, विभिन्न रङ्गका गुराँस र म्याग्नोलिया देख्न सकिन्छ। यो ठाउँ दुर्लभ रेडपाण्डा ट्रायल रुटको सुरुवात बिन्दु पनि हो, जहाँ भाग्यले साथ दिए रेडपाण्डा देख्न सकिन्छ! प्रकृति प्रेमीहरूका लागि यो ठाउँ स्वर्ग हो।

माईपोखरीको हरियाली र हिमालको दृश्यले मन लोभ्याउँछ। यहाँबाट कञ्चनजङ्घा र अन्य हिमशिखरहरूको मनोरम दृश्य देखिन्छ। ठाउँ सानो भए पनि गाडीको लागि पार्किङ सुविधा छ। यहाँ बस्न चाहनेका लागि वरपर रमणीय होटलहरू छन्, जहाँ रात बिताउन सकिन्छ। यो ठाउँमा शान्ति र सुन्दरताको अनुपम संगम छ – फोटो खिच्न, मेडिटेसन गर्न वा प्रकृतिसँग एकाकार हुन यहाँ उत्तम छ।

माईपोखरीको यो भव्यता हामीलाई वि.सं. १९६७ मा जन्मिएका महात्मा नारायण दिलले नासोको रूपमा सुम्पनुभएको हो। उहाँले २००७ सालदेखि यहाँ तपस्या र संरक्षण कार्य गर्नुभयो। यहाँ उहाँको पूर्णकदको सालिक र कुटी पनि छ, जसले यो ठाउँको ऐतिहासिक महत्त्व झल्काउँछ। यो ठाउँको शान्ति र पवित्रता उहाँकै योगदानको देन हो।

इलाम चियाको लागि पनि प्रसिद्ध छ, र माईपोखरी नजिकै माई टी इस्टेट छ, जहाँ १८० स्थानीय किसानहरूले उच्च गुणस्तरको अर्गानिक चिया उत्पादन गर्छन्। यहाँको चिया विश्वभर निर्यात हुन्छ। साथै, यहाँको सामुदायिक होमस्टेमा बसेर स्थानीय संस्कृति, ढिँडो र गुन्द्रुकको स्वाद, र आतिथ्यको अनुभव लिन सकिन्छ।

यहाँका स्थानीय बासिन्दाहरू निकै आतिथ्यशील छन्। मलाई यहाँ डुंगा चढ्ने र माछा मार्ने अनुभव निकै रमाइलो लाग्यो। तपाईंहरूले पनि यो ठाउँमा आएर यी गतिविधिहरूको मजा लिनुपर्छ। साथै, माई भगवती मन्दिर पनि अवश्य भ्रमण गर्नुहोस्, जसले यो ठाउँको धार्मिक महत्त्वलाई झल्काउँछ।

ल, साथीहरू, माईपोखरीको यो छोटो यात्रा यहीँ सकिन्छ। यो ठाउँले मेरो मन जित्यो – यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य, र स्थानीय संस्कृतिले मलाई फेरि आउन प्रेरित गरेको छ। तपाईंहरू पनि यो स्वर्गीय ठाउँमा अवश्य आउनुहोस्। यो भ्लग कस्तो लाग्यो? कमेन्टमा भन्न नबिर्सनुहोला! लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्, अनि अर्को भ्लगमा भेटौंला। नमस्ते!

इलाम

15 May, 2025

टोलुङ्ग

पहाडी भूभागमा दहीबाट मोही निकाल्न र त्यसपछि घिउ झार्न प्रयोग गरिने परम्परागत उपकरणको रुपमा ठेकी मदानिको प्रयोग त प्राय: सबैलाई थाहा हुन्छ । तर त्यही कामामा प्रयोग हुने "टोलुङ्ग" भने नयाँ लाग्न सक्छ । कतैकतै "तोरलुङ" भनिने यसलाई भुटान तिर "तोलुङ", पूर्व २ नम्बर तिर "घ्वाक" वा "घ्वाँग" वा "घ्वाङ", तामाङ्ग शेर्पाले कुनै ठाउँमा "दोङ्ग" वा अन्य थरीथरीका नामले पनि चिनिन्छ । सिक्किम दार्जिलिङ कालेबुङ्गतिर टुलुङ्ग भनिन्छ भने मुस्ताङ्ग, मनाङ, डोल्पा, मुगुका शेर्पाले भोटे चिया बनाउन यस्तै भाँडो प्रयोग गर्छन् जसलाई उनीहरू "जोदुङ्ग" भन्छन्। यो प्रविधि भोटबाट हिमाली पहाडी भेगमा विस्तार भएको देखिन्छ ।

करिब ३ फिट उचाइको बनाइने टोलुङ एउटा अग्लो, माथिदेखि तलसम्म लगभग बराबर गोलाइ भएको, खोक्रो ढुङ्ग्रो (सिलिन्डर) जस्तो हुन्छ। यो सामान्यतया सल्लो, खोटो, देवदार वा अन्य बलियो र टिकाउ स्थानीय काठ वा भालु बाँसको ढुंग्रोबाट बनाइन्छ। यसको भित्री भाग चिल्लो पारिएको हुन्छ। बाहिरी भाग बलियो होस् भनेर ठाउँठाउँमा फलाम वा पित्तलको काम्रोले बेरिएको हुन्छ।

एउटा लामो डण्डाको तल्लो भागमा काठकै गोलाकार चक्का जडान गरिएको हुन्छ। यो चक्का ढुङ्ग्रोको भित्री व्यासभन्दा थोरै सानो हुन्छ ताकि ढुङ्ग्रोभित्र सहजै तल-माथि गर्न सकोस् जसले दहीलाई माथि-तल गर्दा हावा मिसिन र राम्ररी मथिन मद्दत गर्छ । डण्डाको माथिल्लो भाग हातले समात्न मिल्ने गरी बनाइएको हुन्छ।

टोलुङमा दहीबाट मोही र घिउ निकाल्ने प्रक्रिया  यसरी गरिन्छ:

१. दही भर्ने: पहिले जमेको बाक्लो दहीलाई टोलुङको खोक्रो ढुङ्ग्रोभित्र भरिन्छ।

२. डन्ठा घुसाउने: त्यसपछि गोलाकार चक्का जोडिएको डन्ठालाई दहीले भरिएको ढुङ्ग्रोभित्र घुसाइन्छ। चक्का ढुङ्ग्रोको पिँधसम्म पुग्छ।

३. दही मथ्ने (ठेल्ने): डन्ठाको माथिल्लो भाग समातेर त्यसलाई लगातार तल-माथि ठेल्ने गरिन्छ। यसरी डन्ठाको टुप्पोमा रहेको गोलाकार चक्काले दहीलाई ढुङ्ग्रोभित्र तीव्र गतिमा माथि-तल, तल-माथि धक्का दिन्छ।

४. घिउ अलग हुने: डन्ठाको चक्काले दहीलाई यसरी ठेल्दै जाँदा दहीमा भएको चिल्लो पदार्थ (घिउ) विस्तारै एकै ठाउँमा जम्मा भएर बाक्लो ढिक्काको रूपमा माथि तैरिन थाल्छ। दहीको पानी जस्तो पातलो भाग (मोही) भने तलै रहन्छ।

५. घिउ निकाल्ने: जम्मा भएको घिउलाई हात वा चम्चाले सावधानीपूर्वक निकालेर छुट्टै भाँडोमा राखिन्छ। यसरी निकालिएको घिउलाई पछि तताएर शुद्ध घिउ बनाइन्छ।

६. मोही निकाल्ने: घिउ निकालिसकेपछि टोलुङमा बाँकी रहेको तरल पदार्थ नै मोही हो, जुन पिउन वा अन्य खानेकुरा बनाउन प्रयोग गरिन्छ।

दहीबाट घिउ निकाल्ने महि बनाउने आमरुपमा प्रयोग गरिने परम्परागत अर्को तरिका ठेकीमा मदानी डुबाएर नेतिले घुमाई दही मथ्ने विधि हो । आजकल मानिसहरूले टोलुङ र ठेकी मदानी बिर्सिसके झैँ लाग्छ। बिजुलीबाट चलाउन मिल्ने मिक्सर र महि पार्ने मेसिन प्रयोग हुन थालेपछि नयाँ पुस्ताले हाम्रा परम्परागत उपकरणहरू देख्न नपाउने अवस्था सिर्जना भएको छ । यसरी बनाइएको मोही र नाउनीमा मिक्सचर ग्राइन्डरको माइक्रोप्लास्टिक, लिड र मेटल भाँडोहरूमा हुने रियाक्सन र टक्सिसीटीको डर हुँदैन । स्वस्थ्य र विशुद्ध प्राकृतिक प्रक्रियाबाट तयार हुने गर्दछ। यसमा कुनै इन्धन, बिजुली र औद्योगिक उत्पादन प्रयोग नहुने भएकोले वातावरण मैत्री छ । यी विविध कारणले गर्दा कुनै समय फेरि हामी त्यही परम्परागत विधिमा फर्कनु श्रेयसकर हुनेछ ।

अहिलेलाई भने विभिन्न ठाउँमा यस्ता विलुप्त हुँदै गएका हाम्रा परम्परागत पहिचानहरूलाई जोगाउन अभियन्ताहरुले म्युजियम र सङ्कलन केन्द्रहरू बनाउन थालेकाछन् । यो एक सकारात्मक कदम हुनेछ ।

विब्ल्याटे, इलाम

16 May, 2025

महाराजहरू - हारे से हुए जीत ।

 प्रणाम ।

यस्तो लेख्दै गर्दा असाध्य दुःख लागेको छ । भगवानसँग माफी माग्छु ।

जागानी र धर्म विस्तार दिनानुदिन घटदो क्रममा छ । आफ्ना छोरा छोरी बाहेक नयाँ जागनी कतै देखिदैन । जुनसुकै मेला र पारायणमा पुगे पनि उही अनुहार मात्र घुमिरहेका हुन्छन् । कतै त सुन्दरसाथ भन्दा गुरु धेर हुन्छन् । गुरु पनि हैन "महाराज" भन्नु पर्ने रे । 

गुरुजी जुगलदासजी र गुरुजी मंगल दासजीहरुले आफ्नो एक्लो बलबुतामा ५० लाखभन्दा बढीलाई जागनी गराउनु भयो । अहिले प्रणामीका छोराछोरीलाई कण्ठी बाँधेर जागनि गर्ने हैसियतभन्दा माथिका गुरु महाराज(?) भेट्न गार्हो छ ।  

फेरि 'आइरन ' र ' सेन्टवाला' महाराजहरूमा सादगीपना त शून्य ! स्टेजमा बस्दा पनि मोबाइल नखेलाउने गुरुमहाराजको कल्पनै नगरे हुन्छ । चौरासी भोजन नभए ज्युनार गरिसिन्न । महङ्गा घडी र एप्पल फोन पहिचान बनेको छ । यस्तो चैन भएकैले होला आफैले आफैलाई "महाराज" भनाउन मनपराउने को भिड छ । यी कथित महाराजहरू आफैले आशीर्वाद नपाएर बिजोग छ, दुनियालाई आशीर्वाद बाड्दै हिँड्छन् ।

२० वर्ष अघिको र अहिलेको समाजको चेतना, सोचाइ, बुझाइ, अध्ययन र विश्वासमा आकाश पातालको फरक छ । सूचना प्रविधिमा सबैको समान पहुँच छ । यही प्रविधिले गर्दा गुरुले पढाएको भन्दा बढी र गुरुले अनुसन्धान गरेकोभन्दा बढी जानेका बुझेकाहरुको  अहिले कमी छैन । अनि ५ जनालाई पनि मन्त्रमुग्ध पार्न नसक्ने गुरुको प्रवचन कसले सुन्छ ? आफ्नो क्षमता बढाउनु पर्दैन?

तारतम सागरमा सन्दर्भ लिइएका मुलग्रंथहरू (जस्तै : वेद, उपनिषद, स्मृति, भागवत, पुराणहरू, कुरान, बाइबल, गुरुग्रन्थ साहेब आदि) अध्योपान्त नपढीकान त्यसको मर्मज्ञ बनेर प्रवचन गर्ने, अनि तिनै ग्रन्थको अर्को प्रसंगबाट तर्क गर्यो भने भाउन्न हुने कथित विद्वानहरूले आफूलाई सुधार्न जरुरी छ । बरु कता हो कता ठूलो ज्ञान जरुरी छैन, आचरण र स्वभाव आदरणीय भएको मान्छेलाई दुनियाले मानीहाल्छ नी! हे भगवान! एउटा स्वच्छ गृहस्थिले यी स्वनामधन्य महाराजहरूको ५ दिन सङ्गत गर्ने हो भने आत्महत्या गर्छ ।

'ऊ ठूलो हो, उसको कुरा पत्याउनु पर्छ ' भन्दा पत्याइहाल्ने जमातहरू थिए, उनीहरू ६० वर्ष नाघिसके । अहिलेको पुस्ता हामीले बोलिनसक्दै गूगल र च्याट जिपिटिमा हाम्रा कुराको सत्यता रुजु गर्छ । संसारका प्रखर वक्ता र विद्वानहरुलाई सहजै सुनिरहेको हुन्छ । अनि यी रात दिन एउटाले अर्को नंग्याउने क्रममा नाङ्गै भइसकेका गुरुमहाराज र धनको बलमा सबै धर्मको ठेक्का लिएर हिँड्ने समितिले नया पुस्तामा धर्म बचाउँछ भनेर हामीले आशा गरिदिनु पर्ने?

नयाँ पुस्तालाई कसरी जगाउने? कसरी आकर्षित गर्ने? सिर्जनात्मक अभियान के हुन सक्छ? "महाराजिकरण" र "समितिकरण" दुवै खतरा र अतिवादबाट धर्म कसरी बचाउने? यस्तो सोच कसैमा देखिएन ।

एउटै धर्मका गुरुमहाराजाहरूमा पनि अर्कालाई अस्वीकार गर्ने, निचा देखाउने, आफूलाई दादा देखाउने जस्ता नग्नता छताछुल्ल भए । हामी हेरेको हेरेई !

अहिलेको सचेत पुस्ताले कुनै मठ, महन्त, साधु, महाराज, समिति र मन्दिरका लागि धर्म लिदैन । परम ज्ञान, भक्ति र जीवनदर्शनबाट प्रेरित भई धर्म मान्छ । त्यसको लागि कसले के काम गर्यौ? त्यो चर्चा छैन । 'को पावरफुल?' भन्ने पो कम्पिटिसन छ यहाँ त!

कसैले कसैलाई कुनै धर्मबाट निष्काशन गरेर वा निषेध गरेर वा गाली अपमान गरेर उसका अनुयायी बढाउन सक्दैन ।  धर्म मनमा हुन्छ, कसैले हुल्दा र निकाल्दा आस्था मर्ने वा पलाउने हुँदैन । त्यसैले धर्ममा कारबाही र धम्कीको कुनै अर्थ हुँदैन । थाहा छ, यो लेखेकोले मलाई पनि धम्की आउँछ । कति मठ मन्दिरमा निषेध गरिएला । त्यसले खासै फरक पार्दैन । आस्था बचाउन कुनै भौतिक  संरचना चाहिँदैन ।

गुटबन्दी त सत्ताको लागि पो हुन्छ त । तर, आफूलाई महाराजा नै भनिसके पछि आफ्नो सत्ता बचाउन लड्नु स्वभाविक हो ।  सच्चा गुरुहरू भने सत्ताभन्दा माथि हुन्छन् । उनीहरू यो लडाईमा तटस्थ बस्छन् । 

बाणी प्रणेता महामती प्राणनाथजी कहिले पनि प्रणामी धर्मको आद्यपिठ श्री५ नवतानपुरी धाममा पिठाधिशको रुपमा रहनु भएन । के गादी नपाएको कारण उहाँ सानो गुरु हुनुभो र? दोश्रो गादिपती श्री बीहारिजीलाई प्रणामीको भिलेनको रूपमा हेरिँदैन र? आस्थामा कुर्सी र पदको महत्व हुँदैन। सबैलाई स्वीकार्नुहोस्, तपाईंलाई सबैले स्वीकार्ने छन् ।

अहिले धर्ममा यत्रो ठूलो क्षति पुर्याएर आआफ्ना  हनुमानहरू भिडाउने महारजाहरूसंग विवेक छ भने फेरि पनि आग्रह छ, " हारे से होए जीत" ।

प्रणाम ।

१ जून, २०२५ 

ब्यागे, सुटकेशे, डोरी लाहुरे र झोले

मेरो स्कुल चार किलोमिटर टाढा थियो। तराईको गर्मी, कापी किताब हातमा बोकेर हिँड्यो भने त पसिनाले एकै दिनमा सखाप हुन्थ्यो। दिदीहरूले उनको धागो किनेर ल्याएर कुरुसले झोला बुनिदिनुहुन्थ्यो। बच्चादेखि नै त्यही झोला बोक्यौँ हामीले । रुमाल त थाहै थिएन। त्यही झोलामा पसिना पुस्थ्यौं । कहिलेकाहीँ पाईन्ट फाटेपछि हाफ पाइन्ट बनाइन्थ्यो। हाफ पोइन्ट पनि फाटेपछि त्यसैको झोला सिलाइदिनुहुन्थ्यो।

बिदाको दिन झोलामा हालेर गुन्द्रुक सिन्की र फलफुल बेच्न हटियामा जान्थ्यौं। फर्कदा नुन र मसलाहरु लिएर फर्कन्थ्यौ । 

१४ किमी टाढाको कलेज साइकलमा धाउँथ्यौ। एउटा रेनकोट (होम र खड्गले छाता बोक्थे), नोटबुक र किताब झोलामा हालेर हिड्नु पर्थ्यो । फर्कदा कहिलेकाहीँ त्यो झोलामा नुन र केही सौदा पनि किनेर ल्याउनु पर्थ्यो । 

पछि मैले शिक्षक हुने मौका पाएँ। स्कुल टाढा थियो। मुस्किलले थोत्रे साइक किनेँ। अनि आफ्नो नोटबुक, खाजा केही किताबहरू आदि बोक्न झोला नै चाहिन्थ्यो। 

अहिले पनि बिहानै मर्निङ वकमा निस्कँदा गोजीमा सानो झोला हालेको हुन्छ। साग सब्जी किनेर ल्याउनलाई। कतै हिँड्नुपर्दा एउटा झोलासँगै हुन्छ। 

 म आठ कक्षा पढ्दा दार्जिलिङ तिरबाट गाउँमा एकजना दाई आउनुभएको थियो। उहाँले अनौठो खाले झोला बोक्नुभएको थियो। मैले त्यतिखेर थाहा पाएँ। त्यो अनौठो झोलालाई ब्याग भन्दा रहेछन्। 

सायद त्यसै ताका हुनुपर्छ हामीले कुनै हिन्दी फिल्म हेरेका थियौँ। त्यसमा अमिताभ बच्चनले चारपाटे अनौठो झोला बोकेका थिए । त्यसलाई सुटकेस भन्दो रहेछ। त्यतिखेर मलाई लाग्थ्यो म पनि जागिर खाएर ब्याग र सुटकेस किन्छु। पछि किनियो पनि ।

दिदीहरूको विवाह भएपछि घरमा झोला बुन्ने मान्छे भएन। मेरी ठुली छोरीलाई स्कुल हाल्ने समयमा मैले राम्रो झोला सिलाउन लगाएको थिएँ, धाउँदा धाउँदा सूचिकारले एक महिनामा बल्ल दियो। तर मेरी श्रीमतीले ब्याग नै किन्दिनु पर्ने रहर गरिन्। पहिलोपटक ब्यागले हाम्रो घरमा प्रवेश पायो। ब्याग त कति सजिलो ! बजार गयो, किनो, ल्यायो - पर्खनै नपर्ने। वरिपरि फस्नर, केही सामान नहराउने ! सामान्य पानी पर्दा पनि भित्रको सामान नभिजाउने । त्यसपछि मेरा छोराछोरीले ब्यागमै स्कुल कलेज पढे। अहिले उनीहरू मेरो झोलालाई घृणा गर्छन् । त्यो झोला नबोल्नु, ब्याग बोक्नु पर्छ, इज्जत जान्छ भनेझैं गर्छन् । श्रीमतीजी पनि थैली बोक्दिनन्, पर्स बोक्छिन् । मेरो बिहे भएपछि पर्स पनि घरभित्र छिरेको छ। पछि मलाई पनि सजिलो भयो ३० रुपैयाँमा एउटा पर्स किने।

अहिले शहरका कुनै स्कुलमा झोला छैन, ब्याग छ । गाउँका पनि सामुदायिक विद्यालयमा अझै झोला देख्न पाइन्छ। तर बोर्डिङमा सबै ब्याग छ। गाउँमा पनि झोला बोकेर स्कुल पठाउँदा "खिसीट्युरी गर्छन्, त्यसैले ब्याग किनेको" भनिन् आइत मायाले ।

पहाड कुना कन्दारामा अझै पनि हाम्रा आमाबुवा, हजुरबुवा, हजुरआमाहरू झोलामा नै छन्। मेरो जीवन आज पनि झोला कै वरिपरि छ । 

मेरो बुवा कतै जानु भन्दा अगाडि झोला टकटक्याएर सफा पार्नुहुन्थ्यो। बुवाले झोला टकटक्याएपछि हामी उहाँ हिड्न लाग्नुभएको थाहा पाउथ्यौ। कृष्ण धरावासीले झोलामा सती प्रथा पोको पारिदिए । 

केहीपछि मेरो एक आफन्ती भाइ वैदेशिक रोजगारीमा अरब गएर फर्कियो। उसले आफ्नो जिटी गुम्टा डोरीले मज्जाले बाँधेर ल्याएको रहेछ। पछि मैले कतै कसैले लेखेको भेट्टाएँ । वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने र नेपाल नै फर्किएर आउने हाम्रा नेपाली युवाहरू त "डोरी लाहुरे" रे । 

मेरो समाजको डिएनएमा बसेको झोलालाई आज हेय र अपमानको दृष्टिले हेरिन्छ। अहिलेको नयाँ पुस्ताले झोला शब्द सुन्यो भने हाम्रो जिन्दगी बुझ्दैन, उसले गाली बुझ्छ । रोजगारीको लागि खाडी जानेलाई डोरी लाहुरे भनेर सम्बोधन गर्छ । यस्तो अपमान सिकाउने अधिकार तिमीलाई कसले दियो?

संसारभरिका शक्तिहरू लागेर हाम्रो भाषा, धर्म, संस्कृति, जातीय सद्भाव, सामाजिक प्रेम र सहिष्णुता मास्न कम्मर कसिरहेको समयमा झोला पनि त्यसको प्रहारको केन्द्रमा पुगेको छ। मानिसहरू अमेरिका बसेर नेपालको झोलालाई गाली गर्न थालेका छन्। दाह्री पालेर विष छर्ने स्कुल व्यवसायी कविज्यूहरू झोलामा हुर्किनु पर्दाको बाल्यकाल सम्झेर घृणाले छटपटिएको देखिन्छ।

कसैलाई राजनीति गर्नुहोला, कसैलाई विरोध गरेर राजनीतिमा स्थापित हुनुहोला, कसैलाई विष भरेर हिरो भएर निस्कनुहोला, कसैलाई भ्यू बटुल्नुहोला, कसैलाई फलोअर बढाउनुहोला,  कसैलाई साँच्चै नै वितृष्णाले निराशा बनाएको होला, कोही साँच्चै नै विद्वान भएर आउनुभएको पनि होला। जे भएपनि झोला तपाईहरुको अपमान र प्रहारको केन्द्र बन्नु हुँदैन। झोला एउटा आदर्श औजार हो, झोला हाम्रो जीवन पद्दति हो । झोलाको विरोध गर्नेहरू वा झोलालाई पेवा बनाउनेहरु कसैलाई पनि समयचक्रले माफ गर्ने छैन। 

तपाईँ ब्यागे बन्नुहोस् । तपाईं सुटकेसे बन्नुहोस्। तपाईँ पर्से बन्नुस् । हामीलाई आपत्ति छैन। तपाईँ हामी सबैका पुर्खा झोले नै हुन् । हाम्रो झोलालाई तपाईंको षड्यन्त्रको औजार नबनाउनुस्। हाम्रा पुर्खाको बाध्यतालाई घृणा नगर्नुस्। झोलाको सामाजिक बहिष्करण र अपमानको यो श्रृङ्खला आजै टुङ्ग्याइदिनुस्।

३ जुन, २०२५

राधेराधे, भक्तपुर ।

विदेशीको ऋण तिरौं सरकार।

 संसारका विकसित मुलुकहरूमा ब्याजदर ०.५ देखि ३%को हाराहारीमा छ। ती विकसित देशहरूले हाम्रो जस्तो विकासन्मुख अथवा विकासशील राष्ट्रहरूलाई सस्तो ब्याजदरमा पैसा दिन्छन्। उनीहरूको सस्तो ब्याजदर करिब २% जस्तो पर्न आउँछ। हामीले ऋण तिर्दा डलरमा तिर्नुपर्छ। सन् १९७५ मा एक अमेरिकी डलर किन्न नेपाली आठ रुपैयाँ पर्थ्यो। आज १४० रुपैयाँले मात्र १ डलर आउँछ। अर्थात् औसतमा प्रतिवर्ष ५.९%का दरले हाम्रो मुद्रा सानो हुँदै जान्छ। वा विदेशले ० दशमलवमा दिएको ऋण पनि ५.९% पुग्न जान्छ। त्यसैले वैदेशिक ऋणहरु २% को भनिए पनि ८ देखि माथि कै लागतमा पुग्छन् । त्यसैले उनीहरूलाई आफ्नै देशमा ३ प्रतिशतमा लगानी गर्नुभन्दा हाम्रो जस्तो देशमा ल्याएर शून्य प्रतिशतमा लगानी गर्नु कता हो कता फाइदा हुन्छ ।

यो ८% ब्याजदर दिने हो भने अहिले नेपालीले सरकारलाई प्रशस्त पैसा दिन सक्छन्। आन्तरिक ऋण उठाएर सम्पूर्ण विदेशी ऋण तिर्ने यो सुवर्ण अवसर हो। नेपालीलाई तिरिएको ब्याजले यही नै मनिमल्टिप्लायरको काम गर्छ। तर विदेशीलाई बुझाएको पैसा कहिले फर्कँदैन। नेपालीहरूले लगानी गर्ने ठाउँ नपाइरहेको अवस्थामा सरकारले वैदेशिक ऋणलाई आन्तरिक ऋणमा रूपान्तरण गरोस्। 

ऐतिहासिक विनिमय दरको आधारमा अमेरिकी डलरको बराबरमा नेपाली रुपैयाँको क्षयीकरण तल हेर्नुस्।

१९७५ सालतिर: ~८ रुपैयाँ = १ डलर

१९८५: ~१२ रुपैयाँ = १ डलर

१९९०: ~१६ रुपैयाँ = १ डलर

२०००: ~६८ रुपैयाँ = १ डलर

२०१०: ~७३ रुपैयाँ = १ डलर

२०२०: ~११८ रुपैयाँ = १ डलर

२०२५: ~१४० रुपैयाँ = १ डलर

(स्रोत: नेपाल राष्ट्र बैंक, विश्व बैंक, FRED)

५० वर्षको अवधिमा रुपैयाँ डलरको तुलनामा कति अवमूल्यन भयो भनेर औसत दर निकाल्न CAGR (Compound Annual Growth Rate) सूत्र प्रयोग गरिन्छ:

शुत्र = {(अन्तिम वर्षको दर÷ सुरुवाती वर्षको दर)^(१÷वर्ष सङ्ख्या)}-१

= {(१४०÷८)^(१÷५०)}-१

= ५.९%

यहाँ,

• सुरुवाती वर्षको दर (१९७५ मा ~८ रुपैयाँ/डलर)

• अन्तिम वर्षको दर (२०२५ मा ~१४० रुपैयाँ/डलर)

• वर्ष संख्या (५० वर्ष)

विगत करिब ५० वर्षमा, नेपाली रुपैयाँ अमेरिकी डलरविरुद्ध वार्षिक औसत झण्डै ५.९% ले अवमूल्यन भएको छ।

त्यसैले, हामीलाई सहयोग गरेजस्तो गरेर विदेशीले असाध्यै राम्रो मुनाफा लगेका छन्। अब आफ्नै देशका नागरिकले लगानी गरुन्। विदेशीको ऋण तिरौँ सरकार ।

अपराधी ड्रेस

करिब तीन वर्षअघिको कुरा हो। मैले सञ्चयकोषको ऋण तिरेर धनी पुर्जा फुकुवा ल्याएको दुई वर्ष लागेको थियो। व्यवहार मिलाउन फेरि ऋण आवश्यक पर्यो । एउटा वाणिज्य बैंकमा पुर्जा धितो राखेर श्रीमतीजीले ऋण लिने सम्पूर्ण व्यवस्था मिलाइयो । धितो रोक्का राख्न जिल्ला मालपोत कार्यालय भक्तपुर गयौं। दिनभर के के मा अल्झाएर घुमाइयो । अनि अफिस छुट्टी हुने बेलामा आएर लेखनदास भन्छन् "सरको सन्चयकोषबाट रोक्का राखेको रहेछ । फुकुवा पुर्जा नल्याई हुँदैन भन्छ।"

मेरो धनी पुर्जामा नै कर्मचारी सञ्चय कोषले नै फुकुवाको छाप लगाइदिएको थियो। हामी उपभोक्तालाई त्यो छाप भए पुगिहाल्यो । प्रशासनिक कुरा के थाहा र? कसैले केही भनेको पनि थिएन । कर्मचारी सञ्चय कोषको कर्मचारी आफै आएर मालपोतमा फुकुवाको सबै काम गरिदिनुभएको थियो त्यो बेला । 

मैले पुर्जामा फुकुवाको छाप देखाएँ। नागरिक एपमा कर्मचारी सञ्चय कोषमा ऋण नभएको विवरण देखाएँ, पटक्कै सुनवाई भएन । सञ्चय कोषबाट फुकुवा पत्र नल्याई कुनै हालतमा मेरो जग्गा बैंकको नामबाट रोक्का नहुने बताइयो। मैले दुई वर्ष अगाडि लिएको फुकुवाको कुनै अर्थ छैन, त्यहाँ रेकर्ड छैन ।

मैले त्यो दिन मात्र बिदा लिएको थिएँ। पर्सिपल्टदेखि मेरो एक हप्ता महत्वपूर्ण फिल्ड भ्रमण थियो। यो बीचमा मैले ऋणको सबै व्यवहार मिलाइसक्नुपर्ने थियो। 'कर्मचारीको विवशता कर्मचारीले नै बुझ्छ ' भनेर मैले मालपोतका कर्मचारीलाई यो कुरा सुनाएँ, अनुरोध गरेँ। उनीहरू झन् दृढ हुँदै गए । 

मेरो लेखनदास छटपटीरहेका थिए । उनलाई यस्ता धेरै काम गर्नु थियो । मेरै एउटा काममा अल्झिएर बस्ने फुर्सद सायद थिएन । भित्र पसे, कर्मचारीसँग के सल्लाह भयो, बाहिर आएर मलाई कानमा बिस्तारै भने, "सर मैले पाँचै हजारमा मिलाएँ। यो लफडा नराखौं । सरको नागरिकता नम्बरमा पनि नौ र एक उस्तै देखिँदो रहेछ। त्यो लफडा झिके भने झन् गाह्रो पर्छ । बरु यति पैसा दिएर मिलाइहालुँ ।" 

मेरो अफिसको ड्रेस पनि निलो कोट-पाइन्ट र सेतो सर्ट नै हो। अचेल हरेक दिन अफिस जाने बेलामा यो ड्रेस लगाउँदा आफैंलाई अपराधी झैँ लाग्छ।


राधेराधे, भक्तपुर

१८ भाद्र, २०८२

इजरायल जाने बैठकको सूचना

राति ११ बजे कुनै प्रहरी अधिकृतको फोन आउँछ भने जोसुकैलाई विभिन्न शङ्का आशंका जन्मन्छ नै । ८२ साल भदौ १८ गते राति ११ बजे मलाई प्रहरी वरिष्ठ नायब निरीक्षक श्री बिनोदविक्रम सेनको whatsappबाट फोन आयो। केही वर्षअघि विनोदजी नेपालस्थित इजराइली राजदूतका सेक्युरिटी अफिसर हुनुहुन्थ्यो । हाम्रो राम्रो चिनजान थियो। मैले निन्द्रामै फोन उठाएँ। 

उताबाट एक अङ्ग्रेजी बोल्ने व्यक्ति बोले," शलोम ! म इजरायली हो। विनोद अहिले मसँगै छन् । तपाईँहरूले साना किसान विद्यार्थीहरूलाई इजरायलमा कृषि learn and earn program मा पठाउनुभएको राम्रो काम हामीलाई जानकारी छ। त्यो विषयमा तपाईंसँग केही कुरा गर्न सक्छु?"

वास्तवमा यो एउटा राम्रो कार्यक्रम थियो र केही वर्षदेखि बन्द भएको थियो। इजराइली राजदूतावाससँग एकाध पटक यो विषयमा कुरा पनि भएको छ। मलाई जिज्ञासा लाग्नु स्वाभाविकै थियो। 

मैले कार्यक्रमकै बारेमा थप बुझ्न चाहेँ, उसले "यही विषयमा कुरा गर्न पर्ने भएकोले एउटा बैठक आयोजना गरेको छ। तिमीले समय दिन सक्छौ?" भनी सोध्यो ।

"मैले हुन्छ नि! बरु कहिले बस्ने हो? अफिसमा आउनुस्" भने ।

खासमा मलाई मेसेन्जर वा whatsapp जस्ता साधनहरूमा फोन गर्न त्यति मन लाग्दैन । सेलफोनकै कुरालाई बढी महत्व दिन्छु । त्यसैले मैले भने, "तिमी मेरो सेलफोनमा कुरा गर न! यही नम्बरमा मेरो सेल फोन छ त ।" मलाई लागेको थियो ऊ नेपालमै छ । 

उसले तत्कालै भन्यो, "म इजरायलमा छु। त्यसैले whatsapp मा गरेको । किन केही आपत्ति छ र?"

"अनि मिटिङ कसरी गर्ने त?"

"जुम मिटिङ गर्ने, भर्चुअल्ली।"

मित्र विनोदलाई मैले केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी गर्दागर्दै भेटेको थिएँ। उनको इजरायली एम्बेसीबाट सरुवा भएको धेरै भइसकेको थियो। अहिले पनि कसरी इजरायलीसँग कनेक्सन हुन्छ! मलाई अलि चिसो पस्यो । मैले कुरा मिलाएर उसलाई भने,"एकपटक विनोदलाई दिनुस् न।"

उसले एकछिन है त भनेर गयो। र सानो सन्नाटा पछि 'उनी इमिग्रेसनमा बिजी रहेछन्, एकछिनपछि दिन्छु ल !' भन्यो।

फेरि बैठक कै विषयमा कुरा अगाडि बढ्यो । यसभन्दा अघि हुने बैठकमा एम्बेसी आफैंले बैठक आयोजना गरेको हुन्थ्यो। अहिले नचिनेको इजरायलीले बैठक आयोजना गर्दैछ। हामी फेरि इजरायल एम्बेसीको अनुपस्थितिमा यस्ता विषयहरूमा चर्चा गर्दैनौँ। त्यसैले मैले उसलाई सोधेँ, "बैठकमा अरु को को हुन्छ?

उसले भन्यो, "दुईटै देशका परराष्ट्रका कर्मचारीहरू हुन्छन्, अनि अनुभवीको रुपमा तिमीलाई सहभागी गराएको ।" 

"इजरायली राजदूतावासको कोही हुँदैन?" मैले जिज्ञासा राखेँ।

उसले उस्तै भद्र र शालीन तरिकाले भन्यो, "त्यो विषयमा मलाई थाहा भएन, टिमलाई थाहा होला। सोधेर भनौँला नि!" उसले मेरा केही इजरायली मित्रहरूको नाम पनि बतायो। 

भोलि अफिस सकेर ५ बजे जुम मिटिङ बस्ने कुरा भयो। मैले, "हुन्छ, जुमको लिङ्क र पासवर्ड पठाउ" भनें ।  

उसले भन्यो, "सरी तिमीलाई थाहा छँदैछ, इजरायली सेक्युरिटी अलि फरक छ। पहिला तिम्रो सेलफोनमा म एउटा कोड एसएमएस गर्छु । त्यो कोड कपी गरेर यही whatsapp मा मलाई पठाइदेउ । त्यसो गरेपछि मात्र तिम्रो एक्सेस भेरिफाई हुन्छ।" 

इजरायलको सेक्युरिटी सिस्टम अलिक कडा नै हुन्छ। मलाई त्यो राम्ररी थाहा छ। 

तर म के कुरामा सोचमग्न भएँ भने एक महिना अघि राजदूतावास जाँदा पनि विनोदजी सेक्युरिटीमा थिएनन् । शान्ति सेनामा प्रहरीलाई पठाउने ठाउँ पनि इजरायल होइन। विनोद चाहिँ कसरी इजरायल पुगे त ? फेरि यो मान्छेसँग उनको कसरी कनेक्सन भयो? विनोदलाई फोन देउ भन्दा किन दिँदैन? कतै यो फ्रड त होइन? तर, हाम्रो लर्न एन्ड अर्न कार्यक्रम बारेमा यति धेरै जानकारी राख्छ भने यो कसरी फ्रड हुन्छ? फेरि उसले त बैठक बस्ने भन्दै छ। आss! होइन होला। मेरा मनमा यस्तै कुराहरू खेलिरहे ।  

त्यसैबेला मलाई एसएमएस आयो, र whatsapp मा फोन पनि आयो, "तिम्रोमा एसएमएस अझै आएको छैन?"

"भर्खरै आयो । मैले हेरेकै छैन।"

"ल ! तुरुन्त त्यो कपी गरेर whatsapp मा पठाउ त  !"

सायद मैले टाइम लगाए होला । उसले अलिक हतारो गरेर भन्यो, "ल कपी गर्नु परेन। त्यो कोड नम्बर चाहिँ बताउ । "

"मैले एसएमएसमा के लेखेको छ पढ्दै पढिन। नम्बर मात्र हेरें । 6 अङ्कको नम्बर रहेछ। मैले एसएमएस हेर्दै whatsapp मा फोन गर्दै गर्नु थियो। तर बिरामी भएर होला सायद, मलाई त्यो 6 अङ्क हेर्ने बित्तिकै याद भएन। सुरुको तीन वटा अङ्क भनिदिएँ  । बाँकी तीनवटा हेर्नलाई एसएमएस खोल्दै थिएँ, ऊ अलिक झर्किएर बाँकी तीनवटा नम्बर भनिहाल्न मलाई अत्यायो । मैले पनि आतिएर उसलाई नम्बर भनेकी झैँ भयो ।

त्यसबेला म झसङ्ग भए! म को मान्छेलाई नम्बर दिँदैछु? एसएमएसमा के लेखेको थियो? नपढी किन विश्वास गर्दैछु? कतै यो फ्रड त होइन? 

एसएमएस राम्ररी पढेँ, यस्तो लेखेको रहेछ-

Your WhatsApp account is being registered on a new device

Do not share this code with anyone

Your WhatsApp code: 7xx-xxx

मलाई ब्रह्माण्ड नै घुमे जस्तो भयो। यत्रो बेर भलाद्मी कुरा गरेर त्यो मान्छे त मेरो whatsapp ह्याक गरेर फ्रड गर्न खोजिरहेको रहेछ। म त ह्याकरद्वारा डिजिटल एरेस्टमा परिसकेको रहेछु। मैले फोन काटिदिएँ। के गर्ने, कसो गर्ने केही सोच्न सकिन ।

मैले विनोदजीलाई सेलफोनमा कल गरेँ। उहाँको फोन उठेन । रातको सायद साढे १२ बजिसकेको थियो। त्यसैबेला ह्याकरले फेरि फोन गरेर बाँकी तीनवटा नम्बर तुरुन्त भन्न आग्रह गर्यो।

धन्न मैले पुरै अङ्क बताएकै रहेनछ भन्ने कन्फर्म भयो । अझसम्म मेरो फोन सुरक्षित रहेछ । अब मलाई फरक जोश आयो। मैले त्यसलाई थर्काएँ, "मलाई तँ ह्याकर होस् भन्ने थाहा छ । अघिको code नम्बर पनि मैले गल्ती भनेको हो। तँलाई कुरा गरेर अल्झाएर तेरो लोकेसन ट्रेस गर्न खोजेको हो। अब तँ भएकै ठाउँमा एकछिनमा पुलिस आइपुग्छ। तयार भएर बस ।" 

त्यसले मलाई अङ्ग्रेजीमा यति धेरै गाली गर्यो, मैले सुनिरहें। खै मैले काटेँ कि उसले काट्यो फोन, थाहा भएन।

त्यसैबेला विनोदजीको फोन आयो। मैले सबै घटना सुनाएँ। उहाँको दुई दिन अगाडि नै whatsapp ह्याक भएको रहेछ। त्यसबाट विभिन्न मानिससँग पैसा माग्ने र कागजात माग्ने गर्दो रहेछ। त्यो सूचना उहाँले फेसबुकमा राख्नुभएको रहेछ। साइबर ब्युरोमा उजुरी पनि गर्नुभएको रहेछ। 

केही दिन अगाडि मात्र मेरो अति नजिकको नातेदारको ठूलो रकम यसरी नै ओटिपी मागेर चोरी गरेको थियो । म आफै साइबर ब्युरो र बैंकहरूसम्म अपराधी पत्ता लगाउन लागि परेको थिएँ। "ओटपी बताएर कस्तो लापरवाही गरेको" भनेर उहाँहरुसँग रिसाएको पनि थिएँ। त्यस्तो अर्ती उपदेश दिने "म" ! अहिले आफैँ ह्याकरको डिजिटल एरेस्टमा परि सकेको थिएँ !

मैले सुतिरहेको छोरालाई उठाएँ र सबै कुरा बताएँ । उसले मेरो whatsapp, facebook, instagram, viber, google account  सबै कहीँ कतै अन्य डिभाइसबाट login त भएको छैन? भनेर चेक गर्यो । अनि सबैमा 2 स्टेप-भेरिफिकेसन सेट गरिदियो । अब म सुरक्षित छु, भन्ने लागेको छ ।

सावधान हुनुहोस्। तपाईँको मोबाइलमा आएको कुनै पनि कोड कसैलाई सेयर नगर्नुस्। आफू कन्फर्म हुन सकिएन भने पख्नुस्, ढिला गर्नुस्, कोही अर्को जान्नेलाई सोध्नुस्। दुनियामा त्यस्तो हतारै गरिहाल्नुपर्ने गरी कुनै code तपाईंको मोबाइलमा आउँदैन। आए पनि कसैले नदिँदैमा पहाड खस्दैन ।


राधेराधे, भक्तपुर

२०८२/५/१९

Saturday, May 24, 2025

टोलुङ्ग

पहाडी भूभागमा दहीबाट मोही निकाल्न र त्यसपछि घिउ झार्न प्रयोग गरिने परम्परागत उपकरणको रुपमा ठेकी मदानिको प्रयोग त प्राय: सबैलाई थाहा हुन्छ । तर त्यही कामामा प्रयोग हुने "टोलुङ्ग" भने नयाँ लाग्न सक्छ । कतैकतै "तोरलुङ" भनिने यसलाई भुटान तिर "तोलुङ", पूर्व २ नम्बर तिर "घ्वाक" वा "घ्वाँग" वा "घ्वाङ", तामाङ्ग शेर्पाले कुनै ठाउँमा "दोङ्ग" वा अन्य थरीथरीका नामले पनि चिनिन्छ । सिक्किम दार्जिलिङ कालेबुङ्गतिर टुलुङ्ग भनिन्छ भने मुस्ताङ्ग, मनाङ, डोल्पा, मुगुका शेर्पाले भोटे चिया बनाउन यस्तै भाँडो प्रयोग गर्छन् जसलाई उनीहरू "जोदुङ्ग" भन्छन्। यो प्रविधि भोटबाट हिमाली पहाडी भेगमा विस्तार भएको देखिन्छ ।

करिब ३ फिट उचाइको बनाइने टोलुङ एउटा अग्लो, माथिदेखि तलसम्म लगभग बराबर गोलाइ भएको, खोक्रो ढुङ्ग्रो (सिलिन्डर) जस्तो हुन्छ। यो सामान्यतया सल्लो, खोटो, देवदार वा अन्य बलियो र टिकाउ स्थानीय काठ वा भालु बाँसको ढुंग्रोबाट बनाइन्छ। यसको भित्री भाग चिल्लो पारिएको हुन्छ। बाहिरी भाग बलियो होस् भनेर ठाउँठाउँमा फलाम वा पित्तलको काम्रोले बेरिएको हुन्छ।

एउटा लामो डण्डाको तल्लो भागमा काठकै गोलाकार चक्का जडान गरिएको हुन्छ। यो चक्का ढुङ्ग्रोको भित्री व्यासभन्दा थोरै सानो हुन्छ ताकि ढुङ्ग्रोभित्र सहजै तल-माथि गर्न सकोस् जसले दहीलाई माथि-तल गर्दा हावा मिसिन र राम्ररी मथिन मद्दत गर्छ । डण्डाको माथिल्लो भाग हातले समात्न मिल्ने गरी बनाइएको हुन्छ।

टोलुङमा दहीबाट मोही र घिउ निकाल्ने प्रक्रिया  यसरी गरिन्छ:

१. दही भर्ने: पहिले जमेको बाक्लो दहीलाई टोलुङको खोक्रो ढुङ्ग्रोभित्र भरिन्छ।

२. डन्ठा घुसाउने: त्यसपछि गोलाकार चक्का जोडिएको डन्ठालाई दहीले भरिएको ढुङ्ग्रोभित्र घुसाइन्छ। चक्का ढुङ्ग्रोको पिँधसम्म पुग्छ।

३. दही मथ्ने (ठेल्ने): डन्ठाको माथिल्लो भाग समातेर त्यसलाई लगातार तल-माथि ठेल्ने गरिन्छ। यसरी डन्ठाको टुप्पोमा रहेको गोलाकार चक्काले दहीलाई ढुङ्ग्रोभित्र तीव्र गतिमा माथि-तल, तल-माथि धक्का दिन्छ।

४. घिउ अलग हुने: डन्ठाको चक्काले दहीलाई यसरी ठेल्दै जाँदा दहीमा भएको चिल्लो पदार्थ (घिउ) विस्तारै एकै ठाउँमा जम्मा भएर बाक्लो ढिक्काको रूपमा माथि तैरिन थाल्छ। दहीको पानी जस्तो पातलो भाग (मोही) भने तलै रहन्छ।

५. घिउ निकाल्ने: जम्मा भएको घिउलाई हात वा चम्चाले सावधानीपूर्वक निकालेर छुट्टै भाँडोमा राखिन्छ। यसरी निकालिएको घिउलाई पछि तताएर शुद्ध घिउ बनाइन्छ।

६. मोही निकाल्ने: घिउ निकालिसकेपछि टोलुङमा बाँकी रहेको तरल पदार्थ नै मोही हो, जुन पिउन वा अन्य खानेकुरा बनाउन प्रयोग गरिन्छ।

दहीबाट घिउ निकाल्ने महि बनाउने आमरुपमा प्रयोग गरिने परम्परागत अर्को तरिका ठेकीमा मदानी डुबाएर नेतिले घुमाई दही मथ्ने विधि हो । आजकल मानिसहरूले टोलुङ र ठेकी मदानी बिर्सिसके झैँ लाग्छ। बिजुलीबाट चलाउन मिल्ने मिक्सर र महि पार्ने मेसिन प्रयोग हुन थालेपछि नयाँ पुस्ताले हाम्रा परम्परागत उपकरणहरू देख्न नपाउने अवस्था सिर्जना भएको छ । यसरी बनाइएको मोही र नाउनीमा मिक्सचर ग्राइन्डरको माइक्रोप्लास्टिक, लिड र मेटल भाँडोहरूमा हुने रियाक्सन र टक्सिसीटीको डर हुँदैन । स्वस्थ्य र विशुद्ध प्राकृतिक प्रक्रियाबाट तयार हुने गर्दछ। यसमा कुनै इन्धन, बिजुली र औद्योगिक उत्पादन प्रयोग नहुने भएकोले वातावरण मैत्री छ । यी विविध कारणले गर्दा कुनै समय फेरि हामी त्यही परम्परागत विधिमा फर्कनु श्रेयसकर हुनेछ ।

अहिलेलाई भने विभिन्न ठाउँमा यस्ता विलुप्त हुँदै गएका हाम्रा परम्परागत पहिचानहरूलाई जोगाउन अभियन्ताहरुले म्युजियम र सङ्कलन केन्द्रहरू बनाउन थालेकाछन् । यो एक सकारात्मक कदम हो ।

Friday, May 9, 2025

डडेलो बनेको झिल्को

"फलानालाई एड्स लाग्यो।"

"फलानो त ड्रग्समा लागेर बर्बाद भयो।"

हामीले समाजमा सुन्ने गरेका कुरा हुन् यी । अबको पाँच वर्षपछि प्रत्येक घरमा त्योभन्दा डरलाग्दो रोगले ग्रस्त बनाउँदैछ। त्यो रोगको नाम हो- डिजिटल एडिक्सन । यो रोग लागेपछि छुटकारा पाउन हालसम्म कुनै औषधि नभएकोले यसबाट बच्नु नै एक मात्र उपाय हो।

यो डरलाग्दो रोग के हो ? यसबाट कसरी बच्ने ? यसका लागि प्रत्येक अभिभावक, दम्पति, शिक्षक, विद्यार्थी, बालबालिकाले एकपटक "झिल्को" नामक नेपाली फिल्म हेर्नैपर्छ। आफ्नो परिवार तहस नहस भएको, आफ्ना बालबच्चा एडिक्ट भएको, हेर्न र सहन कसलाई मन हुन्छ? यो फिल्मले बेलैमा त्यसबाट बचाउन मद्दत गर्छ। 

त्यति मात्र होइन, यो सिनेमाले facebook र tiktok मा चम्किने लोभमा social influencer हरुले घर र बालबच्चा कसरी बर्बाद बनाउँछन्? युट्युबारहरुले भाइरल न्युज बनाउन कसरी सयौँ परिवार उजाड्छन्? सामाजिक अभियन्ता बन्ने आडम्बरले गर्दा कसरी समाज दूषित र परिवार विखण्डन पार्छन्? अहिले पुरानो पुस्ता सूचना प्रविधिको सङ्क्रमणकालमा छ ।  इन्टरनेटको रङ्गीन भर्चुअल दुनियामा  यो पुस्ता रमाइदिँदा बालबालिकाहरूमा यो रोग सहजै संक्रमण हुन पुगेको छ। यस रोगको प्रभाव वयस्कमा भन्दा बालबालिकाहरूमा असाध्यै तीव्र गति लिएर नराम्रोसँग पर्न पुग्छ। यसैलाई बोलचालको भाषामा डिजिटल एडिक्सन भनिएको हो। अनि यो रोगको उपचार औषधिले नहुने भएको हुनाले मानसिक सामाजिक व्यवहार नै डक्टर र अस्पताल हुने हो। म घरमा रोग बढ्दैछु भन्ने अभिभावकले नै बुझेको छैन भने बच्चाको उपचार कसरी गर्छन्? यो रोग हो भन्ने कुरा थाहा पाउन र स्वीकार गर्न पनि यो सिनेमा हेर्नैपर्छ।

यो रोगलाई मेडिकल ल्याङ्ग्वेजमा विभिन्न नामहरूबाट चिनिन्छ, जस्तै:  internet addiction disorder (IAD) वा Internet Addictive Behavior (IAB) वा  Dysfunctional Internet Behavior (DIB) वा Compulsive Internet Use (CIU) वा Pathological Internet Use (PtIU) वा Maladaptive Internet Use (MIU) । 

यस प्रकारको रोगलाई gaming disorder नाम दिएर WHO ले ICD-11 को खतरनाक रोगको सूचीमा समावेश गरेको छ।

यो "झिल्को" फिल्मको कथा सहज रुपमा बगेको छ, बुझ्नलाई कुनैWHO ले  झन्झट गरिरहनु पर्दैन । दर्शकले सोच्दै नसोचेको अनौठो घटना चमत्कार बनेर कथामा प्रवेश गर्दैन। परिवारका चार पुस्ता सँगै बसेर हेर्दा पनि किन्चित सर्माउनु पर्दैन। टिनएजरहरूले त बाबुआमासँग नै गएर यो फिल्म हेर्ने सल्लाह दिन्छु म। बजारका चलेका कलाकारहरूको स्टारडम खोज्ने रडाकोमा पनि पर्नु पर्दैन । फिल्म हेर्न गएका दर्शकले अप्रासङ्गिक गीत र नाचको झन्झट पनि सहनु पर्दैन ।

नेपाली समाजको कहाली लाग्दो सतीप्रथा को हु-बहु चित्रण गरेको "झोला"  फिल्म र लाखौं युवतीहरूलाई मृत्यु र नारकीय जीवन बाँच्न बाध्य पार्ने दाइजो प्रथालाई "भोर" फिल्मबाट पर्दामा उतारेपछि निर्देशक यादव कुमार भट्टराईले आफ्नो तेस्रो सिर्जनाको रुपमा झिल्कोलाई ल्याएका हुन्। अहिलेका समकालीन निर्देशकहरूमा उनमा जस्तो सामाजिक विषयप्रतिको गहिरो रुचि र उत्तरदायित्व बोध कमै पाइन्छ।

बाल कलाकार आयुषी ढकालको अकल्पनीय अभिनय, विशाल पोखरेल र वर्षा शिवाकोटीले बोकेका युट्युबर र टिकटकरको सजीव भूमिका, आदरणीय गुरु सुनिल पोखरेलको संघर्षरत बाबुको चरित्र अभिनयले बेजोड बनाएको यो फिल्म हेरुन्जेल प्रत्येक दर्शकले कहीँ न कहीँ आफू वा परिवारकै कथा पाउँछ र आफूलाई एउटा पात्र बनाएर फिल्मकै वरिपरि घुमाइरहन्छ।

समाजलाई अस्तव्यस्त बनाएको यो रोग विरुद्ध सामाजिक सचेतनाको लागि यो झिल्को नामक सिनेमालाई सरकारले नै प्राथमिकताका साथ प्रत्येक विद्यालयमा अभिभावकहरुसँग विद्यार्थी राखेर हेर्ने वातावरण बनाउन आवश्यक छ। प्रोत्साहनका लागि सरकारले कर छुट गरिदिने, शैक्षिक सामग्रीको रूपमा वितरण गर्ने, लगानी फिर्ता गरिदिने र निर्माता निर्देशक कलाकारहरूलाई पुरस्कृत गरिदिने गर्नुपर्छ।  

कुनै तरुनीको चोली उधारेको गीत छैन यसमा, कसैले किरा पर्नेगरी सराप्न सिकाएको छैन यसमा । न बिहे नै नगरी कौमार्य तोड्न उक्साएको छ । न फाइट छ न चमत्कार छ। सिधा जिन्दगी उतारेको छ, समाजको एउटा डरलाग्दो पाटोलाई उजागर गरेको छ -  यो फिल्मले। 

विद्यालयहरूसँग पनि अनुरोध गर्नै पर्छ। फिल्म बुझ्ने उमेरका सबै विद्यार्थीलाई आलोपालो गरी हलमा लगेर यो फिल्म हेराइदिनुहोस्। असल विद्यार्थी बनाउने तपाईंको जिम्मेवारीलाई यसले धेरै सजिलो तुल्याइदिनेछ।

स्वास्थ्य मन्त्रालय सञ्चार मन्त्रालय र अर्थमन्त्रालयको पनि ध्यान जाओस्। यो सिनेमा त प्रत्येक नागरिकले हेर्नैपर्छ ।

Friday, February 28, 2025

रास नृत्य

पूर्णिमाको रातभन्दा रास उज्याला
महारास रचाइ देउ गोविन्द काला।

वंशीमाथि औँला नाच्छन् मृग नाचे झैँ
धुन बज्छ ब्रह्माण्डको प्रेम साँचे झैँ
चाहिँदैन धन दौलत दुनियाँको चाला
धनभन्दा महाधन गोविन्द काला ।

मोर पङ्ख सजिएको शीर मुकुट
शान्ति पोख्दै झुमिरहेछ कुण्डल कृकिट
मणि रत्न सजिएको सुनको बाला
सुनभन्दा उज्यालो छन् गोविन्द काला।

घुम्रिएको कपालमा चन्द्रमाको खिप
मुहारकाे ज्याेति बल्याे संसारै धिपिक्क
अर्ध मुस्कान, गुलाबी ती ओठ भरिला
नागबेली चाल मिठाे गाेविन्द काला।

सोह्र श्रृंगार सजिएर राधा आएकी
घुम्टो ओढी नक्कल पारी रास गाएकी
गलामा छ मगमगाउँदो बैजन्ती माला
राधासँग रासमा छन् गोविन्द काला।

ग्वाल-बाल- गोपी नाचे, गाई-बाछा-चरी
फूल नाचे, रुख नाचे, वृन्दावनै भारी
आउ नाचौँ पूर्णेकाे दिन खेर नफाल
महारास रचाइ देउ गोविन्द काला।

२०८१/११/१७
राधेराधे, भक्तपुर।