Friday, September 5, 2025

माइपोखरी, इलाम

आज इलामको माईपोखरी घुम्न जाउँ। नेपालको पूर्वी हिमाली क्षेत्रमा अवस्थित एक स्वर्गीय गन्तव्य! यो ठाउँ प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताले भरिपूर्ण छ। पूर्वी नेपालको प्रसिद्ध सन्दकपुर गाउँपालिकामा पर्ने यो ठाउँमा पुग्न इलामबाट ताप्लेजुङतर्फ जाँदा बिब्ल्याटे बजारबाट करिब ९ किलोमिटर दाहिनेतर्फ उकालो लाग्नुपर्छ।

यो हो माईपोखरी – २,१०० मिटर उचाइमा रहेको यो तालको पानी शान्त, हरियो रंगको छ, जुन हलचल गर्दैन। वरपरका सल्लो र अन्य रुखहरूको सुन्दर छायाँ तालमा देखिन्छ, जसले यहाँबाट हिँड्नै मन नलाग्ने बनाउँछ। रु २० को प्रवेश शुल्क लाग्ने यो क्षेत्रमा पोखरीका अलावा बोटनिकल गार्डेन लगायत सौन्दर्यका विभिन्न क्षेत्रहरू छन्। 

तालका नौवटा कुनाहरू नौ फरक देवताहरूलाई समर्पित छन्, र यो हिन्दु र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो। तालको केही वर डुंगा चढ्ने सुविधा पनि छ, जुन निकै रमाइलो अनुभव हुनेछ।

माईपोखरी वनस्पति उद्यानमा पूर्वी नेपालका दुर्लभ अर्किड, विभिन्न रङ्गका गुराँस र म्याग्नोलिया देख्न सकिन्छ। यो ठाउँ दुर्लभ रेडपाण्डा ट्रायल रुटको सुरुवात बिन्दु पनि हो, जहाँ भाग्यले साथ दिए रेडपाण्डा देख्न सकिन्छ! प्रकृति प्रेमीहरूका लागि यो ठाउँ स्वर्ग हो।

माईपोखरीको हरियाली र हिमालको दृश्यले मन लोभ्याउँछ। यहाँबाट कञ्चनजङ्घा र अन्य हिमशिखरहरूको मनोरम दृश्य देखिन्छ। ठाउँ सानो भए पनि गाडीको लागि पार्किङ सुविधा छ। यहाँ बस्न चाहनेका लागि वरपर रमणीय होटलहरू छन्, जहाँ रात बिताउन सकिन्छ। यो ठाउँमा शान्ति र सुन्दरताको अनुपम संगम छ – फोटो खिच्न, मेडिटेसन गर्न वा प्रकृतिसँग एकाकार हुन यहाँ उत्तम छ।

माईपोखरीको यो भव्यता हामीलाई वि.सं. १९६७ मा जन्मिएका महात्मा नारायण दिलले नासोको रूपमा सुम्पनुभएको हो। उहाँले २००७ सालदेखि यहाँ तपस्या र संरक्षण कार्य गर्नुभयो। यहाँ उहाँको पूर्णकदको सालिक र कुटी पनि छ, जसले यो ठाउँको ऐतिहासिक महत्त्व झल्काउँछ। यो ठाउँको शान्ति र पवित्रता उहाँकै योगदानको देन हो।

इलाम चियाको लागि पनि प्रसिद्ध छ, र माईपोखरी नजिकै माई टी इस्टेट छ, जहाँ १८० स्थानीय किसानहरूले उच्च गुणस्तरको अर्गानिक चिया उत्पादन गर्छन्। यहाँको चिया विश्वभर निर्यात हुन्छ। साथै, यहाँको सामुदायिक होमस्टेमा बसेर स्थानीय संस्कृति, ढिँडो र गुन्द्रुकको स्वाद, र आतिथ्यको अनुभव लिन सकिन्छ।

यहाँका स्थानीय बासिन्दाहरू निकै आतिथ्यशील छन्। मलाई यहाँ डुंगा चढ्ने र माछा मार्ने अनुभव निकै रमाइलो लाग्यो। तपाईंहरूले पनि यो ठाउँमा आएर यी गतिविधिहरूको मजा लिनुपर्छ। साथै, माई भगवती मन्दिर पनि अवश्य भ्रमण गर्नुहोस्, जसले यो ठाउँको धार्मिक महत्त्वलाई झल्काउँछ।

ल, साथीहरू, माईपोखरीको यो छोटो यात्रा यहीँ सकिन्छ। यो ठाउँले मेरो मन जित्यो – यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य, र स्थानीय संस्कृतिले मलाई फेरि आउन प्रेरित गरेको छ। तपाईंहरू पनि यो स्वर्गीय ठाउँमा अवश्य आउनुहोस्। यो भ्लग कस्तो लाग्यो? कमेन्टमा भन्न नबिर्सनुहोला! लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्, अनि अर्को भ्लगमा भेटौंला। नमस्ते!

इलाम

15 May, 2025

टोलुङ्ग

पहाडी भूभागमा दहीबाट मोही निकाल्न र त्यसपछि घिउ झार्न प्रयोग गरिने परम्परागत उपकरणको रुपमा ठेकी मदानिको प्रयोग त प्राय: सबैलाई थाहा हुन्छ । तर त्यही कामामा प्रयोग हुने "टोलुङ्ग" भने नयाँ लाग्न सक्छ । कतैकतै "तोरलुङ" भनिने यसलाई भुटान तिर "तोलुङ", पूर्व २ नम्बर तिर "घ्वाक" वा "घ्वाँग" वा "घ्वाङ", तामाङ्ग शेर्पाले कुनै ठाउँमा "दोङ्ग" वा अन्य थरीथरीका नामले पनि चिनिन्छ । सिक्किम दार्जिलिङ कालेबुङ्गतिर टुलुङ्ग भनिन्छ भने मुस्ताङ्ग, मनाङ, डोल्पा, मुगुका शेर्पाले भोटे चिया बनाउन यस्तै भाँडो प्रयोग गर्छन् जसलाई उनीहरू "जोदुङ्ग" भन्छन्। यो प्रविधि भोटबाट हिमाली पहाडी भेगमा विस्तार भएको देखिन्छ ।

करिब ३ फिट उचाइको बनाइने टोलुङ एउटा अग्लो, माथिदेखि तलसम्म लगभग बराबर गोलाइ भएको, खोक्रो ढुङ्ग्रो (सिलिन्डर) जस्तो हुन्छ। यो सामान्यतया सल्लो, खोटो, देवदार वा अन्य बलियो र टिकाउ स्थानीय काठ वा भालु बाँसको ढुंग्रोबाट बनाइन्छ। यसको भित्री भाग चिल्लो पारिएको हुन्छ। बाहिरी भाग बलियो होस् भनेर ठाउँठाउँमा फलाम वा पित्तलको काम्रोले बेरिएको हुन्छ।

एउटा लामो डण्डाको तल्लो भागमा काठकै गोलाकार चक्का जडान गरिएको हुन्छ। यो चक्का ढुङ्ग्रोको भित्री व्यासभन्दा थोरै सानो हुन्छ ताकि ढुङ्ग्रोभित्र सहजै तल-माथि गर्न सकोस् जसले दहीलाई माथि-तल गर्दा हावा मिसिन र राम्ररी मथिन मद्दत गर्छ । डण्डाको माथिल्लो भाग हातले समात्न मिल्ने गरी बनाइएको हुन्छ।

टोलुङमा दहीबाट मोही र घिउ निकाल्ने प्रक्रिया  यसरी गरिन्छ:

१. दही भर्ने: पहिले जमेको बाक्लो दहीलाई टोलुङको खोक्रो ढुङ्ग्रोभित्र भरिन्छ।

२. डन्ठा घुसाउने: त्यसपछि गोलाकार चक्का जोडिएको डन्ठालाई दहीले भरिएको ढुङ्ग्रोभित्र घुसाइन्छ। चक्का ढुङ्ग्रोको पिँधसम्म पुग्छ।

३. दही मथ्ने (ठेल्ने): डन्ठाको माथिल्लो भाग समातेर त्यसलाई लगातार तल-माथि ठेल्ने गरिन्छ। यसरी डन्ठाको टुप्पोमा रहेको गोलाकार चक्काले दहीलाई ढुङ्ग्रोभित्र तीव्र गतिमा माथि-तल, तल-माथि धक्का दिन्छ।

४. घिउ अलग हुने: डन्ठाको चक्काले दहीलाई यसरी ठेल्दै जाँदा दहीमा भएको चिल्लो पदार्थ (घिउ) विस्तारै एकै ठाउँमा जम्मा भएर बाक्लो ढिक्काको रूपमा माथि तैरिन थाल्छ। दहीको पानी जस्तो पातलो भाग (मोही) भने तलै रहन्छ।

५. घिउ निकाल्ने: जम्मा भएको घिउलाई हात वा चम्चाले सावधानीपूर्वक निकालेर छुट्टै भाँडोमा राखिन्छ। यसरी निकालिएको घिउलाई पछि तताएर शुद्ध घिउ बनाइन्छ।

६. मोही निकाल्ने: घिउ निकालिसकेपछि टोलुङमा बाँकी रहेको तरल पदार्थ नै मोही हो, जुन पिउन वा अन्य खानेकुरा बनाउन प्रयोग गरिन्छ।

दहीबाट घिउ निकाल्ने महि बनाउने आमरुपमा प्रयोग गरिने परम्परागत अर्को तरिका ठेकीमा मदानी डुबाएर नेतिले घुमाई दही मथ्ने विधि हो । आजकल मानिसहरूले टोलुङ र ठेकी मदानी बिर्सिसके झैँ लाग्छ। बिजुलीबाट चलाउन मिल्ने मिक्सर र महि पार्ने मेसिन प्रयोग हुन थालेपछि नयाँ पुस्ताले हाम्रा परम्परागत उपकरणहरू देख्न नपाउने अवस्था सिर्जना भएको छ । यसरी बनाइएको मोही र नाउनीमा मिक्सचर ग्राइन्डरको माइक्रोप्लास्टिक, लिड र मेटल भाँडोहरूमा हुने रियाक्सन र टक्सिसीटीको डर हुँदैन । स्वस्थ्य र विशुद्ध प्राकृतिक प्रक्रियाबाट तयार हुने गर्दछ। यसमा कुनै इन्धन, बिजुली र औद्योगिक उत्पादन प्रयोग नहुने भएकोले वातावरण मैत्री छ । यी विविध कारणले गर्दा कुनै समय फेरि हामी त्यही परम्परागत विधिमा फर्कनु श्रेयसकर हुनेछ ।

अहिलेलाई भने विभिन्न ठाउँमा यस्ता विलुप्त हुँदै गएका हाम्रा परम्परागत पहिचानहरूलाई जोगाउन अभियन्ताहरुले म्युजियम र सङ्कलन केन्द्रहरू बनाउन थालेकाछन् । यो एक सकारात्मक कदम हुनेछ ।

विब्ल्याटे, इलाम

16 May, 2025

महाराजहरू - हारे से हुए जीत ।

 प्रणाम ।

यस्तो लेख्दै गर्दा असाध्य दुःख लागेको छ । भगवानसँग माफी माग्छु ।

जागानी र धर्म विस्तार दिनानुदिन घटदो क्रममा छ । आफ्ना छोरा छोरी बाहेक नयाँ जागनी कतै देखिदैन । जुनसुकै मेला र पारायणमा पुगे पनि उही अनुहार मात्र घुमिरहेका हुन्छन् । कतै त सुन्दरसाथ भन्दा गुरु धेर हुन्छन् । गुरु पनि हैन "महाराज" भन्नु पर्ने रे । 

गुरुजी जुगलदासजी र गुरुजी मंगल दासजीहरुले आफ्नो एक्लो बलबुतामा ५० लाखभन्दा बढीलाई जागनी गराउनु भयो । अहिले प्रणामीका छोराछोरीलाई कण्ठी बाँधेर जागनि गर्ने हैसियतभन्दा माथिका गुरु महाराज(?) भेट्न गार्हो छ ।  

फेरि 'आइरन ' र ' सेन्टवाला' महाराजहरूमा सादगीपना त शून्य ! स्टेजमा बस्दा पनि मोबाइल नखेलाउने गुरुमहाराजको कल्पनै नगरे हुन्छ । चौरासी भोजन नभए ज्युनार गरिसिन्न । महङ्गा घडी र एप्पल फोन पहिचान बनेको छ । यस्तो चैन भएकैले होला आफैले आफैलाई "महाराज" भनाउन मनपराउने को भिड छ । यी कथित महाराजहरू आफैले आशीर्वाद नपाएर बिजोग छ, दुनियालाई आशीर्वाद बाड्दै हिँड्छन् ।

२० वर्ष अघिको र अहिलेको समाजको चेतना, सोचाइ, बुझाइ, अध्ययन र विश्वासमा आकाश पातालको फरक छ । सूचना प्रविधिमा सबैको समान पहुँच छ । यही प्रविधिले गर्दा गुरुले पढाएको भन्दा बढी र गुरुले अनुसन्धान गरेकोभन्दा बढी जानेका बुझेकाहरुको  अहिले कमी छैन । अनि ५ जनालाई पनि मन्त्रमुग्ध पार्न नसक्ने गुरुको प्रवचन कसले सुन्छ ? आफ्नो क्षमता बढाउनु पर्दैन?

तारतम सागरमा सन्दर्भ लिइएका मुलग्रंथहरू (जस्तै : वेद, उपनिषद, स्मृति, भागवत, पुराणहरू, कुरान, बाइबल, गुरुग्रन्थ साहेब आदि) अध्योपान्त नपढीकान त्यसको मर्मज्ञ बनेर प्रवचन गर्ने, अनि तिनै ग्रन्थको अर्को प्रसंगबाट तर्क गर्यो भने भाउन्न हुने कथित विद्वानहरूले आफूलाई सुधार्न जरुरी छ । बरु कता हो कता ठूलो ज्ञान जरुरी छैन, आचरण र स्वभाव आदरणीय भएको मान्छेलाई दुनियाले मानीहाल्छ नी! हे भगवान! एउटा स्वच्छ गृहस्थिले यी स्वनामधन्य महाराजहरूको ५ दिन सङ्गत गर्ने हो भने आत्महत्या गर्छ ।

'ऊ ठूलो हो, उसको कुरा पत्याउनु पर्छ ' भन्दा पत्याइहाल्ने जमातहरू थिए, उनीहरू ६० वर्ष नाघिसके । अहिलेको पुस्ता हामीले बोलिनसक्दै गूगल र च्याट जिपिटिमा हाम्रा कुराको सत्यता रुजु गर्छ । संसारका प्रखर वक्ता र विद्वानहरुलाई सहजै सुनिरहेको हुन्छ । अनि यी रात दिन एउटाले अर्को नंग्याउने क्रममा नाङ्गै भइसकेका गुरुमहाराज र धनको बलमा सबै धर्मको ठेक्का लिएर हिँड्ने समितिले नया पुस्तामा धर्म बचाउँछ भनेर हामीले आशा गरिदिनु पर्ने?

नयाँ पुस्तालाई कसरी जगाउने? कसरी आकर्षित गर्ने? सिर्जनात्मक अभियान के हुन सक्छ? "महाराजिकरण" र "समितिकरण" दुवै खतरा र अतिवादबाट धर्म कसरी बचाउने? यस्तो सोच कसैमा देखिएन ।

एउटै धर्मका गुरुमहाराजाहरूमा पनि अर्कालाई अस्वीकार गर्ने, निचा देखाउने, आफूलाई दादा देखाउने जस्ता नग्नता छताछुल्ल भए । हामी हेरेको हेरेई !

अहिलेको सचेत पुस्ताले कुनै मठ, महन्त, साधु, महाराज, समिति र मन्दिरका लागि धर्म लिदैन । परम ज्ञान, भक्ति र जीवनदर्शनबाट प्रेरित भई धर्म मान्छ । त्यसको लागि कसले के काम गर्यौ? त्यो चर्चा छैन । 'को पावरफुल?' भन्ने पो कम्पिटिसन छ यहाँ त!

कसैले कसैलाई कुनै धर्मबाट निष्काशन गरेर वा निषेध गरेर वा गाली अपमान गरेर उसका अनुयायी बढाउन सक्दैन ।  धर्म मनमा हुन्छ, कसैले हुल्दा र निकाल्दा आस्था मर्ने वा पलाउने हुँदैन । त्यसैले धर्ममा कारबाही र धम्कीको कुनै अर्थ हुँदैन । थाहा छ, यो लेखेकोले मलाई पनि धम्की आउँछ । कति मठ मन्दिरमा निषेध गरिएला । त्यसले खासै फरक पार्दैन । आस्था बचाउन कुनै भौतिक  संरचना चाहिँदैन ।

गुटबन्दी त सत्ताको लागि पो हुन्छ त । तर, आफूलाई महाराजा नै भनिसके पछि आफ्नो सत्ता बचाउन लड्नु स्वभाविक हो ।  सच्चा गुरुहरू भने सत्ताभन्दा माथि हुन्छन् । उनीहरू यो लडाईमा तटस्थ बस्छन् । 

बाणी प्रणेता महामती प्राणनाथजी कहिले पनि प्रणामी धर्मको आद्यपिठ श्री५ नवतानपुरी धाममा पिठाधिशको रुपमा रहनु भएन । के गादी नपाएको कारण उहाँ सानो गुरु हुनुभो र? दोश्रो गादिपती श्री बीहारिजीलाई प्रणामीको भिलेनको रूपमा हेरिँदैन र? आस्थामा कुर्सी र पदको महत्व हुँदैन। सबैलाई स्वीकार्नुहोस्, तपाईंलाई सबैले स्वीकार्ने छन् ।

अहिले धर्ममा यत्रो ठूलो क्षति पुर्याएर आआफ्ना  हनुमानहरू भिडाउने महारजाहरूसंग विवेक छ भने फेरि पनि आग्रह छ, " हारे से होए जीत" ।

प्रणाम ।

१ जून, २०२५ 

ब्यागे, सुटकेशे, डोरी लाहुरे र झोले

मेरो स्कुल चार किलोमिटर टाढा थियो। तराईको गर्मी, कापी किताब हातमा बोकेर हिँड्यो भने त पसिनाले एकै दिनमा सखाप हुन्थ्यो। दिदीहरूले उनको धागो किनेर ल्याएर कुरुसले झोला बुनिदिनुहुन्थ्यो। बच्चादेखि नै त्यही झोला बोक्यौँ हामीले । रुमाल त थाहै थिएन। त्यही झोलामा पसिना पुस्थ्यौं । कहिलेकाहीँ पाईन्ट फाटेपछि हाफ पाइन्ट बनाइन्थ्यो। हाफ पोइन्ट पनि फाटेपछि त्यसैको झोला सिलाइदिनुहुन्थ्यो।

बिदाको दिन झोलामा हालेर गुन्द्रुक सिन्की र फलफुल बेच्न हटियामा जान्थ्यौं। फर्कदा नुन र मसलाहरु लिएर फर्कन्थ्यौ । 

१४ किमी टाढाको कलेज साइकलमा धाउँथ्यौ। एउटा रेनकोट (होम र खड्गले छाता बोक्थे), नोटबुक र किताब झोलामा हालेर हिड्नु पर्थ्यो । फर्कदा कहिलेकाहीँ त्यो झोलामा नुन र केही सौदा पनि किनेर ल्याउनु पर्थ्यो । 

पछि मैले शिक्षक हुने मौका पाएँ। स्कुल टाढा थियो। मुस्किलले थोत्रे साइक किनेँ। अनि आफ्नो नोटबुक, खाजा केही किताबहरू आदि बोक्न झोला नै चाहिन्थ्यो। 

अहिले पनि बिहानै मर्निङ वकमा निस्कँदा गोजीमा सानो झोला हालेको हुन्छ। साग सब्जी किनेर ल्याउनलाई। कतै हिँड्नुपर्दा एउटा झोलासँगै हुन्छ। 

 म आठ कक्षा पढ्दा दार्जिलिङ तिरबाट गाउँमा एकजना दाई आउनुभएको थियो। उहाँले अनौठो खाले झोला बोक्नुभएको थियो। मैले त्यतिखेर थाहा पाएँ। त्यो अनौठो झोलालाई ब्याग भन्दा रहेछन्। 

सायद त्यसै ताका हुनुपर्छ हामीले कुनै हिन्दी फिल्म हेरेका थियौँ। त्यसमा अमिताभ बच्चनले चारपाटे अनौठो झोला बोकेका थिए । त्यसलाई सुटकेस भन्दो रहेछ। त्यतिखेर मलाई लाग्थ्यो म पनि जागिर खाएर ब्याग र सुटकेस किन्छु। पछि किनियो पनि ।

दिदीहरूको विवाह भएपछि घरमा झोला बुन्ने मान्छे भएन। मेरी ठुली छोरीलाई स्कुल हाल्ने समयमा मैले राम्रो झोला सिलाउन लगाएको थिएँ, धाउँदा धाउँदा सूचिकारले एक महिनामा बल्ल दियो। तर मेरी श्रीमतीले ब्याग नै किन्दिनु पर्ने रहर गरिन्। पहिलोपटक ब्यागले हाम्रो घरमा प्रवेश पायो। ब्याग त कति सजिलो ! बजार गयो, किनो, ल्यायो - पर्खनै नपर्ने। वरिपरि फस्नर, केही सामान नहराउने ! सामान्य पानी पर्दा पनि भित्रको सामान नभिजाउने । त्यसपछि मेरा छोराछोरीले ब्यागमै स्कुल कलेज पढे। अहिले उनीहरू मेरो झोलालाई घृणा गर्छन् । त्यो झोला नबोल्नु, ब्याग बोक्नु पर्छ, इज्जत जान्छ भनेझैं गर्छन् । श्रीमतीजी पनि थैली बोक्दिनन्, पर्स बोक्छिन् । मेरो बिहे भएपछि पर्स पनि घरभित्र छिरेको छ। पछि मलाई पनि सजिलो भयो ३० रुपैयाँमा एउटा पर्स किने।

अहिले शहरका कुनै स्कुलमा झोला छैन, ब्याग छ । गाउँका पनि सामुदायिक विद्यालयमा अझै झोला देख्न पाइन्छ। तर बोर्डिङमा सबै ब्याग छ। गाउँमा पनि झोला बोकेर स्कुल पठाउँदा "खिसीट्युरी गर्छन्, त्यसैले ब्याग किनेको" भनिन् आइत मायाले ।

पहाड कुना कन्दारामा अझै पनि हाम्रा आमाबुवा, हजुरबुवा, हजुरआमाहरू झोलामा नै छन्। मेरो जीवन आज पनि झोला कै वरिपरि छ । 

मेरो बुवा कतै जानु भन्दा अगाडि झोला टकटक्याएर सफा पार्नुहुन्थ्यो। बुवाले झोला टकटक्याएपछि हामी उहाँ हिड्न लाग्नुभएको थाहा पाउथ्यौ। कृष्ण धरावासीले झोलामा सती प्रथा पोको पारिदिए । 

केहीपछि मेरो एक आफन्ती भाइ वैदेशिक रोजगारीमा अरब गएर फर्कियो। उसले आफ्नो जिटी गुम्टा डोरीले मज्जाले बाँधेर ल्याएको रहेछ। पछि मैले कतै कसैले लेखेको भेट्टाएँ । वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने र नेपाल नै फर्किएर आउने हाम्रा नेपाली युवाहरू त "डोरी लाहुरे" रे । 

मेरो समाजको डिएनएमा बसेको झोलालाई आज हेय र अपमानको दृष्टिले हेरिन्छ। अहिलेको नयाँ पुस्ताले झोला शब्द सुन्यो भने हाम्रो जिन्दगी बुझ्दैन, उसले गाली बुझ्छ । रोजगारीको लागि खाडी जानेलाई डोरी लाहुरे भनेर सम्बोधन गर्छ । यस्तो अपमान सिकाउने अधिकार तिमीलाई कसले दियो?

संसारभरिका शक्तिहरू लागेर हाम्रो भाषा, धर्म, संस्कृति, जातीय सद्भाव, सामाजिक प्रेम र सहिष्णुता मास्न कम्मर कसिरहेको समयमा झोला पनि त्यसको प्रहारको केन्द्रमा पुगेको छ। मानिसहरू अमेरिका बसेर नेपालको झोलालाई गाली गर्न थालेका छन्। दाह्री पालेर विष छर्ने स्कुल व्यवसायी कविज्यूहरू झोलामा हुर्किनु पर्दाको बाल्यकाल सम्झेर घृणाले छटपटिएको देखिन्छ।

कसैलाई राजनीति गर्नुहोला, कसैलाई विरोध गरेर राजनीतिमा स्थापित हुनुहोला, कसैलाई विष भरेर हिरो भएर निस्कनुहोला, कसैलाई भ्यू बटुल्नुहोला, कसैलाई फलोअर बढाउनुहोला,  कसैलाई साँच्चै नै वितृष्णाले निराशा बनाएको होला, कोही साँच्चै नै विद्वान भएर आउनुभएको पनि होला। जे भएपनि झोला तपाईहरुको अपमान र प्रहारको केन्द्र बन्नु हुँदैन। झोला एउटा आदर्श औजार हो, झोला हाम्रो जीवन पद्दति हो । झोलाको विरोध गर्नेहरू वा झोलालाई पेवा बनाउनेहरु कसैलाई पनि समयचक्रले माफ गर्ने छैन। 

तपाईँ ब्यागे बन्नुहोस् । तपाईं सुटकेसे बन्नुहोस्। तपाईँ पर्से बन्नुस् । हामीलाई आपत्ति छैन। तपाईँ हामी सबैका पुर्खा झोले नै हुन् । हाम्रो झोलालाई तपाईंको षड्यन्त्रको औजार नबनाउनुस्। हाम्रा पुर्खाको बाध्यतालाई घृणा नगर्नुस्। झोलाको सामाजिक बहिष्करण र अपमानको यो श्रृङ्खला आजै टुङ्ग्याइदिनुस्।

३ जुन, २०२५

राधेराधे, भक्तपुर ।

विदेशीको ऋण तिरौं सरकार।

 संसारका विकसित मुलुकहरूमा ब्याजदर ०.५ देखि ३%को हाराहारीमा छ। ती विकसित देशहरूले हाम्रो जस्तो विकासन्मुख अथवा विकासशील राष्ट्रहरूलाई सस्तो ब्याजदरमा पैसा दिन्छन्। उनीहरूको सस्तो ब्याजदर करिब २% जस्तो पर्न आउँछ। हामीले ऋण तिर्दा डलरमा तिर्नुपर्छ। सन् १९७५ मा एक अमेरिकी डलर किन्न नेपाली आठ रुपैयाँ पर्थ्यो। आज १४० रुपैयाँले मात्र १ डलर आउँछ। अर्थात् औसतमा प्रतिवर्ष ५.९%का दरले हाम्रो मुद्रा सानो हुँदै जान्छ। वा विदेशले ० दशमलवमा दिएको ऋण पनि ५.९% पुग्न जान्छ। त्यसैले वैदेशिक ऋणहरु २% को भनिए पनि ८ देखि माथि कै लागतमा पुग्छन् । त्यसैले उनीहरूलाई आफ्नै देशमा ३ प्रतिशतमा लगानी गर्नुभन्दा हाम्रो जस्तो देशमा ल्याएर शून्य प्रतिशतमा लगानी गर्नु कता हो कता फाइदा हुन्छ ।

यो ८% ब्याजदर दिने हो भने अहिले नेपालीले सरकारलाई प्रशस्त पैसा दिन सक्छन्। आन्तरिक ऋण उठाएर सम्पूर्ण विदेशी ऋण तिर्ने यो सुवर्ण अवसर हो। नेपालीलाई तिरिएको ब्याजले यही नै मनिमल्टिप्लायरको काम गर्छ। तर विदेशीलाई बुझाएको पैसा कहिले फर्कँदैन। नेपालीहरूले लगानी गर्ने ठाउँ नपाइरहेको अवस्थामा सरकारले वैदेशिक ऋणलाई आन्तरिक ऋणमा रूपान्तरण गरोस्। 

ऐतिहासिक विनिमय दरको आधारमा अमेरिकी डलरको बराबरमा नेपाली रुपैयाँको क्षयीकरण तल हेर्नुस्।

१९७५ सालतिर: ~८ रुपैयाँ = १ डलर

१९८५: ~१२ रुपैयाँ = १ डलर

१९९०: ~१६ रुपैयाँ = १ डलर

२०००: ~६८ रुपैयाँ = १ डलर

२०१०: ~७३ रुपैयाँ = १ डलर

२०२०: ~११८ रुपैयाँ = १ डलर

२०२५: ~१४० रुपैयाँ = १ डलर

(स्रोत: नेपाल राष्ट्र बैंक, विश्व बैंक, FRED)

५० वर्षको अवधिमा रुपैयाँ डलरको तुलनामा कति अवमूल्यन भयो भनेर औसत दर निकाल्न CAGR (Compound Annual Growth Rate) सूत्र प्रयोग गरिन्छ:

शुत्र = {(अन्तिम वर्षको दर÷ सुरुवाती वर्षको दर)^(१÷वर्ष सङ्ख्या)}-१

= {(१४०÷८)^(१÷५०)}-१

= ५.९%

यहाँ,

• सुरुवाती वर्षको दर (१९७५ मा ~८ रुपैयाँ/डलर)

• अन्तिम वर्षको दर (२०२५ मा ~१४० रुपैयाँ/डलर)

• वर्ष संख्या (५० वर्ष)

विगत करिब ५० वर्षमा, नेपाली रुपैयाँ अमेरिकी डलरविरुद्ध वार्षिक औसत झण्डै ५.९% ले अवमूल्यन भएको छ।

त्यसैले, हामीलाई सहयोग गरेजस्तो गरेर विदेशीले असाध्यै राम्रो मुनाफा लगेका छन्। अब आफ्नै देशका नागरिकले लगानी गरुन्। विदेशीको ऋण तिरौँ सरकार ।

अपराधी ड्रेस

करिब तीन वर्षअघिको कुरा हो। मैले सञ्चयकोषको ऋण तिरेर धनी पुर्जा फुकुवा ल्याएको दुई वर्ष लागेको थियो। व्यवहार मिलाउन फेरि ऋण आवश्यक पर्यो । एउटा वाणिज्य बैंकमा पुर्जा धितो राखेर श्रीमतीजीले ऋण लिने सम्पूर्ण व्यवस्था मिलाइयो । धितो रोक्का राख्न जिल्ला मालपोत कार्यालय भक्तपुर गयौं। दिनभर के के मा अल्झाएर घुमाइयो । अनि अफिस छुट्टी हुने बेलामा आएर लेखनदास भन्छन् "सरको सन्चयकोषबाट रोक्का राखेको रहेछ । फुकुवा पुर्जा नल्याई हुँदैन भन्छ।"

मेरो धनी पुर्जामा नै कर्मचारी सञ्चय कोषले नै फुकुवाको छाप लगाइदिएको थियो। हामी उपभोक्तालाई त्यो छाप भए पुगिहाल्यो । प्रशासनिक कुरा के थाहा र? कसैले केही भनेको पनि थिएन । कर्मचारी सञ्चय कोषको कर्मचारी आफै आएर मालपोतमा फुकुवाको सबै काम गरिदिनुभएको थियो त्यो बेला । 

मैले पुर्जामा फुकुवाको छाप देखाएँ। नागरिक एपमा कर्मचारी सञ्चय कोषमा ऋण नभएको विवरण देखाएँ, पटक्कै सुनवाई भएन । सञ्चय कोषबाट फुकुवा पत्र नल्याई कुनै हालतमा मेरो जग्गा बैंकको नामबाट रोक्का नहुने बताइयो। मैले दुई वर्ष अगाडि लिएको फुकुवाको कुनै अर्थ छैन, त्यहाँ रेकर्ड छैन ।

मैले त्यो दिन मात्र बिदा लिएको थिएँ। पर्सिपल्टदेखि मेरो एक हप्ता महत्वपूर्ण फिल्ड भ्रमण थियो। यो बीचमा मैले ऋणको सबै व्यवहार मिलाइसक्नुपर्ने थियो। 'कर्मचारीको विवशता कर्मचारीले नै बुझ्छ ' भनेर मैले मालपोतका कर्मचारीलाई यो कुरा सुनाएँ, अनुरोध गरेँ। उनीहरू झन् दृढ हुँदै गए । 

मेरो लेखनदास छटपटीरहेका थिए । उनलाई यस्ता धेरै काम गर्नु थियो । मेरै एउटा काममा अल्झिएर बस्ने फुर्सद सायद थिएन । भित्र पसे, कर्मचारीसँग के सल्लाह भयो, बाहिर आएर मलाई कानमा बिस्तारै भने, "सर मैले पाँचै हजारमा मिलाएँ। यो लफडा नराखौं । सरको नागरिकता नम्बरमा पनि नौ र एक उस्तै देखिँदो रहेछ। त्यो लफडा झिके भने झन् गाह्रो पर्छ । बरु यति पैसा दिएर मिलाइहालुँ ।" 

मेरो अफिसको ड्रेस पनि निलो कोट-पाइन्ट र सेतो सर्ट नै हो। अचेल हरेक दिन अफिस जाने बेलामा यो ड्रेस लगाउँदा आफैंलाई अपराधी झैँ लाग्छ।


राधेराधे, भक्तपुर

१८ भाद्र, २०८२

इजरायल जाने बैठकको सूचना

राति ११ बजे कुनै प्रहरी अधिकृतको फोन आउँछ भने जोसुकैलाई विभिन्न शङ्का आशंका जन्मन्छ नै । ८२ साल भदौ १८ गते राति ११ बजे मलाई प्रहरी वरिष्ठ नायब निरीक्षक श्री बिनोदविक्रम सेनको whatsappबाट फोन आयो। केही वर्षअघि विनोदजी नेपालस्थित इजराइली राजदूतका सेक्युरिटी अफिसर हुनुहुन्थ्यो । हाम्रो राम्रो चिनजान थियो। मैले निन्द्रामै फोन उठाएँ। 

उताबाट एक अङ्ग्रेजी बोल्ने व्यक्ति बोले," शलोम ! म इजरायली हो। विनोद अहिले मसँगै छन् । तपाईँहरूले साना किसान विद्यार्थीहरूलाई इजरायलमा कृषि learn and earn program मा पठाउनुभएको राम्रो काम हामीलाई जानकारी छ। त्यो विषयमा तपाईंसँग केही कुरा गर्न सक्छु?"

वास्तवमा यो एउटा राम्रो कार्यक्रम थियो र केही वर्षदेखि बन्द भएको थियो। इजराइली राजदूतावाससँग एकाध पटक यो विषयमा कुरा पनि भएको छ। मलाई जिज्ञासा लाग्नु स्वाभाविकै थियो। 

मैले कार्यक्रमकै बारेमा थप बुझ्न चाहेँ, उसले "यही विषयमा कुरा गर्न पर्ने भएकोले एउटा बैठक आयोजना गरेको छ। तिमीले समय दिन सक्छौ?" भनी सोध्यो ।

"मैले हुन्छ नि! बरु कहिले बस्ने हो? अफिसमा आउनुस्" भने ।

खासमा मलाई मेसेन्जर वा whatsapp जस्ता साधनहरूमा फोन गर्न त्यति मन लाग्दैन । सेलफोनकै कुरालाई बढी महत्व दिन्छु । त्यसैले मैले भने, "तिमी मेरो सेलफोनमा कुरा गर न! यही नम्बरमा मेरो सेल फोन छ त ।" मलाई लागेको थियो ऊ नेपालमै छ । 

उसले तत्कालै भन्यो, "म इजरायलमा छु। त्यसैले whatsapp मा गरेको । किन केही आपत्ति छ र?"

"अनि मिटिङ कसरी गर्ने त?"

"जुम मिटिङ गर्ने, भर्चुअल्ली।"

मित्र विनोदलाई मैले केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी गर्दागर्दै भेटेको थिएँ। उनको इजरायली एम्बेसीबाट सरुवा भएको धेरै भइसकेको थियो। अहिले पनि कसरी इजरायलीसँग कनेक्सन हुन्छ! मलाई अलि चिसो पस्यो । मैले कुरा मिलाएर उसलाई भने,"एकपटक विनोदलाई दिनुस् न।"

उसले एकछिन है त भनेर गयो। र सानो सन्नाटा पछि 'उनी इमिग्रेसनमा बिजी रहेछन्, एकछिनपछि दिन्छु ल !' भन्यो।

फेरि बैठक कै विषयमा कुरा अगाडि बढ्यो । यसभन्दा अघि हुने बैठकमा एम्बेसी आफैंले बैठक आयोजना गरेको हुन्थ्यो। अहिले नचिनेको इजरायलीले बैठक आयोजना गर्दैछ। हामी फेरि इजरायल एम्बेसीको अनुपस्थितिमा यस्ता विषयहरूमा चर्चा गर्दैनौँ। त्यसैले मैले उसलाई सोधेँ, "बैठकमा अरु को को हुन्छ?

उसले भन्यो, "दुईटै देशका परराष्ट्रका कर्मचारीहरू हुन्छन्, अनि अनुभवीको रुपमा तिमीलाई सहभागी गराएको ।" 

"इजरायली राजदूतावासको कोही हुँदैन?" मैले जिज्ञासा राखेँ।

उसले उस्तै भद्र र शालीन तरिकाले भन्यो, "त्यो विषयमा मलाई थाहा भएन, टिमलाई थाहा होला। सोधेर भनौँला नि!" उसले मेरा केही इजरायली मित्रहरूको नाम पनि बतायो। 

भोलि अफिस सकेर ५ बजे जुम मिटिङ बस्ने कुरा भयो। मैले, "हुन्छ, जुमको लिङ्क र पासवर्ड पठाउ" भनें ।  

उसले भन्यो, "सरी तिमीलाई थाहा छँदैछ, इजरायली सेक्युरिटी अलि फरक छ। पहिला तिम्रो सेलफोनमा म एउटा कोड एसएमएस गर्छु । त्यो कोड कपी गरेर यही whatsapp मा मलाई पठाइदेउ । त्यसो गरेपछि मात्र तिम्रो एक्सेस भेरिफाई हुन्छ।" 

इजरायलको सेक्युरिटी सिस्टम अलिक कडा नै हुन्छ। मलाई त्यो राम्ररी थाहा छ। 

तर म के कुरामा सोचमग्न भएँ भने एक महिना अघि राजदूतावास जाँदा पनि विनोदजी सेक्युरिटीमा थिएनन् । शान्ति सेनामा प्रहरीलाई पठाउने ठाउँ पनि इजरायल होइन। विनोद चाहिँ कसरी इजरायल पुगे त ? फेरि यो मान्छेसँग उनको कसरी कनेक्सन भयो? विनोदलाई फोन देउ भन्दा किन दिँदैन? कतै यो फ्रड त होइन? तर, हाम्रो लर्न एन्ड अर्न कार्यक्रम बारेमा यति धेरै जानकारी राख्छ भने यो कसरी फ्रड हुन्छ? फेरि उसले त बैठक बस्ने भन्दै छ। आss! होइन होला। मेरा मनमा यस्तै कुराहरू खेलिरहे ।  

त्यसैबेला मलाई एसएमएस आयो, र whatsapp मा फोन पनि आयो, "तिम्रोमा एसएमएस अझै आएको छैन?"

"भर्खरै आयो । मैले हेरेकै छैन।"

"ल ! तुरुन्त त्यो कपी गरेर whatsapp मा पठाउ त  !"

सायद मैले टाइम लगाए होला । उसले अलिक हतारो गरेर भन्यो, "ल कपी गर्नु परेन। त्यो कोड नम्बर चाहिँ बताउ । "

"मैले एसएमएसमा के लेखेको छ पढ्दै पढिन। नम्बर मात्र हेरें । 6 अङ्कको नम्बर रहेछ। मैले एसएमएस हेर्दै whatsapp मा फोन गर्दै गर्नु थियो। तर बिरामी भएर होला सायद, मलाई त्यो 6 अङ्क हेर्ने बित्तिकै याद भएन। सुरुको तीन वटा अङ्क भनिदिएँ  । बाँकी तीनवटा हेर्नलाई एसएमएस खोल्दै थिएँ, ऊ अलिक झर्किएर बाँकी तीनवटा नम्बर भनिहाल्न मलाई अत्यायो । मैले पनि आतिएर उसलाई नम्बर भनेकी झैँ भयो ।

त्यसबेला म झसङ्ग भए! म को मान्छेलाई नम्बर दिँदैछु? एसएमएसमा के लेखेको थियो? नपढी किन विश्वास गर्दैछु? कतै यो फ्रड त होइन? 

एसएमएस राम्ररी पढेँ, यस्तो लेखेको रहेछ-

Your WhatsApp account is being registered on a new device

Do not share this code with anyone

Your WhatsApp code: 7xx-xxx

मलाई ब्रह्माण्ड नै घुमे जस्तो भयो। यत्रो बेर भलाद्मी कुरा गरेर त्यो मान्छे त मेरो whatsapp ह्याक गरेर फ्रड गर्न खोजिरहेको रहेछ। म त ह्याकरद्वारा डिजिटल एरेस्टमा परिसकेको रहेछु। मैले फोन काटिदिएँ। के गर्ने, कसो गर्ने केही सोच्न सकिन ।

मैले विनोदजीलाई सेलफोनमा कल गरेँ। उहाँको फोन उठेन । रातको सायद साढे १२ बजिसकेको थियो। त्यसैबेला ह्याकरले फेरि फोन गरेर बाँकी तीनवटा नम्बर तुरुन्त भन्न आग्रह गर्यो।

धन्न मैले पुरै अङ्क बताएकै रहेनछ भन्ने कन्फर्म भयो । अझसम्म मेरो फोन सुरक्षित रहेछ । अब मलाई फरक जोश आयो। मैले त्यसलाई थर्काएँ, "मलाई तँ ह्याकर होस् भन्ने थाहा छ । अघिको code नम्बर पनि मैले गल्ती भनेको हो। तँलाई कुरा गरेर अल्झाएर तेरो लोकेसन ट्रेस गर्न खोजेको हो। अब तँ भएकै ठाउँमा एकछिनमा पुलिस आइपुग्छ। तयार भएर बस ।" 

त्यसले मलाई अङ्ग्रेजीमा यति धेरै गाली गर्यो, मैले सुनिरहें। खै मैले काटेँ कि उसले काट्यो फोन, थाहा भएन।

त्यसैबेला विनोदजीको फोन आयो। मैले सबै घटना सुनाएँ। उहाँको दुई दिन अगाडि नै whatsapp ह्याक भएको रहेछ। त्यसबाट विभिन्न मानिससँग पैसा माग्ने र कागजात माग्ने गर्दो रहेछ। त्यो सूचना उहाँले फेसबुकमा राख्नुभएको रहेछ। साइबर ब्युरोमा उजुरी पनि गर्नुभएको रहेछ। 

केही दिन अगाडि मात्र मेरो अति नजिकको नातेदारको ठूलो रकम यसरी नै ओटिपी मागेर चोरी गरेको थियो । म आफै साइबर ब्युरो र बैंकहरूसम्म अपराधी पत्ता लगाउन लागि परेको थिएँ। "ओटपी बताएर कस्तो लापरवाही गरेको" भनेर उहाँहरुसँग रिसाएको पनि थिएँ। त्यस्तो अर्ती उपदेश दिने "म" ! अहिले आफैँ ह्याकरको डिजिटल एरेस्टमा परि सकेको थिएँ !

मैले सुतिरहेको छोरालाई उठाएँ र सबै कुरा बताएँ । उसले मेरो whatsapp, facebook, instagram, viber, google account  सबै कहीँ कतै अन्य डिभाइसबाट login त भएको छैन? भनेर चेक गर्यो । अनि सबैमा 2 स्टेप-भेरिफिकेसन सेट गरिदियो । अब म सुरक्षित छु, भन्ने लागेको छ ।

सावधान हुनुहोस्। तपाईँको मोबाइलमा आएको कुनै पनि कोड कसैलाई सेयर नगर्नुस्। आफू कन्फर्म हुन सकिएन भने पख्नुस्, ढिला गर्नुस्, कोही अर्को जान्नेलाई सोध्नुस्। दुनियामा त्यस्तो हतारै गरिहाल्नुपर्ने गरी कुनै code तपाईंको मोबाइलमा आउँदैन। आए पनि कसैले नदिँदैमा पहाड खस्दैन ।


राधेराधे, भक्तपुर

२०८२/५/१९