‘गोर्खा’ शब्दलाई भुगोलसँगमात्र जोडेर हेर्नु हुँदैन । यो त शताब्दियौं देखि उत्तर हिमवर्त क्षेत्रमा विकास भएको पहाडी संस्कृति हो र यसले विविधतापूर्ण भाषिक/जातीय/परम्परागत समूहहरुलाई साझा पहिचान दिएको छ । विविधता भित्र सम्पर्क भाषाको रुपमा नेपाली भाषाको विकास भयो र गोर्खाहरु नेपाली भाषी भए, यद्धपी उनीहरुका सयौं मातृभाषाहरु छँदैछन् । विभिन्न धर्म मान्छन् तर आफ्नै साझा पर्वहरु विका
स गरेकाछन् । ढिँडो, गुन्द्रक, सारांगी, फेरि, टोपीमात्र होईन गोर्खालीहरुको साझा पहिचान अरु पनि छ जस्तैः सोझा, बहादुर, ईमान्दार, वफादार, अनुशासित र कर्तव्यपरायण । सुरबीर गोर्खाको सम्बन्धमा सिङ्गापुरका निर्माता लि क्वान युले मुक्त कण्ठले प्रशंसा गरेकाछन् । हिटलरले आफुसँग गोर्खा नभएकोले हार्नु परेको बताएका थिए । भारतीय सेनाका फिल्ड मार्शल साम मानेक्ष्यले भनेको प्रशिद्ध भनाई छ, “यदि कसैले मलाई मर्न डर लाग्दैन भन्छ भने कि उसले ढाँटिरहेको छ, कि भने ऊ गोर्खा हो ।”
जेठो गोर्खाली – पहिचान संकटमा
डेभीड अक्टरलोनी |
जसरी दक्षिण एशियाली खण्डमा पञ्जाबी, गुजराती, आसामी, मराठी, बंगाली आदिको बसोबास आदिकाल देखि भई आएको छ त्यसै गरी बर्मादेखि देहरादुनसम्म हिमाली खण्डमा गोर्खा जातिको शदियौंदेखिको बसोबास रहिआएको छ । साँच्चै भनौं भने मानव वस्ति नै न्यून भएका यी दुर्गम पहाडी क्षेत्रमा गोर्खाहरुले आफ्नो पौरख र बहादुरीले आवदी गरे । यो ईतिहास २०० वर्ष भन्दा पनि अघि देखिको हो । आज हामी जसलाई ईण्डिया भन्छौं त्यहाँ ईष्ट ईण्डिया कम्पनी (ब्रिटिश सरकार) ले कब्जा जमाउनु अघि हजारौं राज्य थिए ।
ईण्डिया भन्ने देश त सन् १९४७ मा जन्मियो, तर गोर्खाहरुको अदम्य सहास र विरताबाट कायल भएका सर डेभिड अक्टरलोनीले गोर्खा पल्टन बनाउन सन् १८१६ देखि नै सुरु गरेका थिए । यस अर्थमा यस भुखण्डमा गोर्खाको विरतापूर्ण ईतिहास कमसेकम सिङ्गो राष्ट्र ईण्डिया भन्दा कम्तिमा पनि १३१ वर्ष पुरानो त पक्का छ । ईण्डिया भन्दा जेठो गोर्खा आज ईण्डिया मै पहिचान विहिन भई एक बंगाली स्टेटको अधिनायकत्वको आगोमा जलिरहेको छ ।
वफादारीको बदला अपमान
ममता बैनर्जी |
सन् १८१४ मा गोर्खालीराज्य नेपालको सिमाना पूर्वमा टिष्टा देखि पश्चिममा कांगडा र दक्षिणमा लखनउ छेउसम्म २ लाख ५२ हजार वर्ग किलोमिटरमा फैलिएको थियो । ब्रिटिशसँगको पराजय पश्चात सन् १८१६ मा सुगौली सन्धी भयो । यो सन्धीले नेपालको सिमाना १ लाख ४७ हजार वर्ग किलोमिटरमा सिमित गरिदियो । यो सन्धीले गोर्खाली भुभाग ४२ प्रतिसत ब्रिटिशको हातमा र ५८ प्रतिसत नेपालको रुपमा रहन पुग्यो । राति आ
फ्नै प्यारो गोर्खा भुमिमा सुतेका गोर्खालीहरु बिहान उठ्दा कुनै अपराध बिना नै ब्रिटिश ईण्डियन भई सकेका थिए । काका नेपालमा थियो भतिजोको घर ईण्डियन खण्डमा परिसकेको थियो । माईती मावली बाँडिका थिए । मुलुक नै अलग भईसकेको थियो । गोर्खालीहरु नै दुईभागमा बाँडिए– नेपाली गोर्खाली र भारतीय गोर्खाली । त्यसरी विल्लिबाठ भई भारत तर्फ परेका गोर्खाले फेरि पनि आफ्नो वफादारिता कायम राखे, ईण्डियालाई नै आफ्नो मातृभुमि बनाए । त्यो वफादारितामा ब्रिटिशलाई कुनै शंका थिएन । ईष्ट ईण्डिया कम्पनीको समयमा नै गोर्खा रेजिमेण्टको संख्या १० पुगेको थियो । स्वतन्त्रताका समयमा अर्को एक थपिएर ११ वटा रेजिमेण्ट बनाईए जसमध्ये ७ (जी.आर.१,३,४,५,८,९ र केही पछि जी.आर. ११) वटा भारतीय सेनाका हिस्सा भए । अधिकांश भारतीय गोर्खालीहरु तिनै सेना वा सेनाका सन्तान हुन् । यदि अहिले भारतीय गोर्खाको कुनै परिवारबाट सेनामा छैनन् भने पनि उसका बाबु बाजेले थापेका बहादुरी र वफादारीका मेडलहरु गर्वका साथ भित्तामा टाँगेको देख्न पाउनु हुनेछ ।बाबा रामदेवको समर्थन |
अंग्रेज विरुद्ध स्वराजको लडाईँमा ज्यान गुमाउने हजारौं गोर्खाहरुको सूची भारत सरकारसँग अहिले पनि सुरक्षित छ । आतंकावाद विरुद्धका हरेक मोर्चा, सीमा शुरक्षाका विभिन्न जिम्मेवारी, युद्ध आदिमा भारतको सान भएर उभिएको गोर्खा रेजिमेण्टले २०१५ मा २०० वर्ष पुरा गर्यो । १९४७–४८ को उरी युद्ध, लद्दाखको १९६२ को लडाईँ, जम्मु–कश्मिरको १९६५ र १९७१ को लडाईं, कारगिलको युद्ध कुन भारतीय युद्धमा गोर्खालीले मुलुकको शीर ठाडो पारेर आफुलाई शहिद बनाएनन् ? भारतीय सेनाको सर्वोच्च सम्मान परमबीर चक्र ३/३ पटक पाउने रेकर्ड गोर्खा सेनाले प्राप्त गरेको छ । ३३ वटा महाबीर चक्र र ८४ वटा बीर चक्र पाउने भारतीय गोर्खाहरुले देशभक्तिको अर्को के उदाहरण दिनु पर्ने ? मुलुकको लागि आफ्नो ज्यानलाई कुनै महत्व नदिई शहिद हुन तयार हुने गोर्खा जातिको कुन समर्पणमा ममता बेनरजीलाई शंका भयो र आतंककारी भनियो ? यो बीर र वफादार जातिलाई आतंककारीको बिल्ला लगाउने ममता बेनर्जी राष्ट्रद्रोही हुन् कि होईनन् ? घर भित्र बेघर भएका गोर्खाहरुलाई तोड्न र टुक्राउन ममताले गरेका असंख्य असफल प्रयासबाट हतास भएपछि अन्तिम अस्त्रको रुपमा उनले भारतीय गोर्खालाई ‘आतंककारी’ जस्तो संवेदनशील मुद्दामा फसाउने प्रयास गरिन् । मुलुकको लागि आफ्नो ज्यानलाई कुनै महत्व नदिई शहिद हुन तयार हुने गोर्खा जातिलाई आतंककारी भनेर ममताले गरेको घोर पापको प्रायश्चित अब बंगालबाट स्वतन्त्र गोर्खाल्याण्ड भन्दा अर्को हुनै सक्दैन ।
सन् १९४७ मा भारत स्वतन्त्र हुँदा पञ्जाब, बंगाल, कश्मिर आदि दुई देशमा बाँडिए । पाकिस्तान र भारतमा परेको पञ्जब र कश्मिरले दुबै देशमा प्रदेशको हैसियत प्राप्त गरेकाछन् । बंगालीहरुको भारतीय खण्डमा पश्चिम बंगाल छ भने अर्को खण्ड त स्वतन्त्र बंगलादेश नै भई हाल्यो । मुलुकको सिमाना सुरक्षा गरिदिने भारतीय हिस्सामा परेको खण्डका गोर्खाले भने आफ्नो पहिचान स्थापित गर्न २०० वर्ष देखि संघर्ष जारी राख्नु परेको छ । बंगाली, आसामी, पञ्जाबी, कश्मिरी आदिको पहिचान र जातीय सुरक्षामा ज्यान समर्पण गर्ने गोर्खाहरुले आफ्नो पहिचानको लागि शान्तिपूर्ण माग राख्दा बंगाली मुख्यमन्त्रीले आतंककारी पदबाट विभुषित गरेकिछन् ।
षडयन्त्रको मारमा गोर्खा
भारतमा जसले आफुलाई गोर्खा भन्छ उनीहरुका भाषा फरक छन्, भेषभुषा फरक छ, धर्म फरक छन्, स्वरुप फरक (आर्य र मंगोल दुबै) छ, कतिपय संस्कार र संस्कृति पनि फरक छन् । यिनीहरु कसरी एउटै ‘गोर्खा’ समुदाय भयो त भन्ने प्रश्न उठ्न सक्छ । भुगोल त छँदैछ, साझा एकताको अर्को महत्वपूर्ण सुत्र भाषा रहेछ । सबै गोर्खाको साझा सम्पर्क भाषा नेपाली हो । भारतीय गोर्खाहरु पनि नेपालमा जस्तै विभिन्न जातजातिमा विभक्त छन्, तर उनीहरु आफुलाई गोर्खा जाति मान्छन् र त्यस पछिका उपजातिहरु विभिन्न थर/जातहरुलाई लिन्छन् । भारतीय गोर्खाको जस्तो यो जातीय एकता विश्वमा नै ज्यादै कम देख्न पाईन्छ । यो एकता तोड्न विभिन्न कालखण्डमा विभिन्न षडयन्त्रहरु नभएका होईनन् । उदाहरण स्वरुप सन् १९५१ को जनगणनालाई लिन सकिन्छ । तत्कालिन जिल्ला जनगणना अधिकृत ए. मित्राले दार्जिलिङ्गमा नेपाली भाषीको संख्या १९.९६% भएको तथ्यांक सार्वजनिक गरे । उनले बाहुन, क्षेत्री, कामी, दमाई र सार्कीलाई मात्र नेपाली भाषीको वर्गमा राखेर दार्जिलिङ्गमा नेपाली भाषी अल्पसंख्यक रहेको हुनाले कुनै खास महत्व दिनु नपर्ने सोच बनाउन आधार खडा गरिदिए । पहिलो सम्पर्क भाषा नेपाली नै हुने लिम्बु, राई, मगर, तामाङ्ग, शेर्पा, नेवार, लेप्चा आदिलाई छुट्टाछट्टै श्रेणीमा राखेर झिनो जनसंख्यामा प्रस्तुत गरियो । जसले गर्दा तथ्याङ्कबाट गोर्खाप्रदेशको मागको कुनै औचित्य देखिएन । जबकि सिङ्गो दार्जिलिङ्ग जिल्लामा गोर्खाहरुको कुल संख्या ६६% रहेको थियो । खर्साङ्ग निवासी गुरुङ्ग थर भएकी एक वृद्ध रिटायर्ड शिक्षिकाबाट यस पंक्तिकारले सुनेको कुरा “उक्त जनगणनाका समयमा गोर्खा समुदायमा जातीय विद्वेश फैलाईएको र नेपाली भाषालाई नभएर आफ्नो मातृभाषालाई जनगणनामा दर्ता गराउने अभियान चलाईएको थियो ।” पछि गोर्खाले यो चाल थाहा पाए, एक ढिक्का भए, तर ढिला भई सकेको थियो ।
भनिन्छ सिलिगुडी घाँटीको संवेदनशिलता देखाएर अन्त्यमा भारत सरकार हरेक पटक गोर्खालीको मागको विपक्षमा उत्रन्छ । कहिले काहीँ त यसमा नेपाल फ्याक्टर पनि जोड्ने गरिन्छ । भारतीय खुफिया निकायहरुलाई संकेत गर्दै यस किसिमका हल्लाहरु चलाईने गरिएकोछ, सत्यता उनैले जानुन् । आफ्नो देशको शुरक्षा जिम्मा लिएका गोर्खालाई दुई टुक्रा जमिन माग्दा भने सँधै शंकामात्र गर्ने भारत सरकारको व्यवहारले दुरगामीरुपमा जनस्तरमा विष घोल्दै जाने निश्चित छ ।
ममतालाई गोर्खाको एकता तोड्न सजिलो पक्कै थिएन । नेपालमा जातीय संवेदनशीलता भड्किएर आन्तरिक एकता कमजोर भएको देखेको बंगाल सरकारले दार्जिलिङ्ग क्षेत्रमा पनि जातीय विभाजनलाई एक औजारको रुपमा प्रयोग ग¥यो । लिम्बु, राई, तमाङ्ग, मगर, गुरुङ्ग आदि जस्ता जातीय विकास बोर्डहरु गठन गरी करोडौं बजेटको सप्कोमा लटपटाउने चाल चल्यो । दर्जनौं पार्टी खोल्न अप्रत्यक्ष भुमिका खेलेर गोर्खाहरुलाई राजनीतिक रुपमा कमजोर बनाउने खेल खेल्यो । यी पार्टीहरुबीचमा पानीबाराबरको स्थिति निर्माण गर्नमा अप्रत्यक्ष तत्वहरुको बलियो भुमिका रहेको चर्चाबारम्बार आउने गर्छ ।
गोर्खाहरु कहिले आत्मदम्भ र कहिले विभिन्न षडयन्त्रका कारण आफैं कमजोर हुने गरेको तितो यथार्थ पनि छुपाउन आवश्यक छैन । तर जब फेरी गोर्खा जाति माथि बंगाल सरकारले अर्को अत्याचार थोपर्छ, उनीहरु एक जुट भएका धेरै ईतिहासहरु छन् । सोझा गोर्खाहरुको बहादुरी, ईमान्दारिता, वफादारिता, अनुशासन र कर्तव्यपरायणताको सबै भन्दा बढी उपयोग गर्ने भारत र ब्रिटिश नै हुन । ब्रिटेन एउटा पुरानो प्रजातान्त्रिक मुलुकमा त नागरिक हैसियत पाउन गोर्खालीले लामो कानूनी लडाईँ लड्नु पर्यो भने भारतमा त्यो हदको जिम्मेवारी बोध हुन कहाँ सजिलो होला र ? फुटाउ र राज गरको ब्रिटिश मन्त्रणाबाट दिक्षित देशमा भारतीय गोर्खालीहरुको चेत नखुले अझै थुप्रै टुक्रामा विभाजन हुन बाँकी नै छ र अझै धेरै दुःख पाउन पनि बाँकी नै छ ।
गोर्खालाई पूर्ण बेवास्ता
डम्बर सिंह गुरुङ्ग |
२००० को नोभेम्बरमा मात्र ईण्डियाले २६औं, २७औं र २८औं प्रदेशको रुपमा छत्तिसगढ, उत्तराखण्ड र झारखण्डलाई मान्यता दिईयो भने २९औं राज्यको रुपमा तेलङ्गनालाई २०१४ को जुनमा गठन गरियो । यी मध्ये कति राज्यको माग उठ्न थालेको ५ वर्ष पनि भएको थिएन । तर सन् १९०७ मा नै हिल्समेन एसोसिएसन अफ दार्जिलिङ्गले नेपाली भाषी बाहुल्य क्षेत्रमा अलग्गै गोर्खा प्रशासन चाहिने भनी मिन्टो मोर्ले सुधार समक्ष मागपत्र पेश गरेको गोर्खाप्रदेशको आवाजलाई ११० वर्ष सम्म पनि बलपूर्वक दबाएर राखिएको छ ।
सुवास घिसिंग |
उक्त एसोसिएसनले सन् १९१७ मा पुनः ईण्डियाका तत्कालिन भाईसरायलाई बिन्तीपत्र चढाई गोरखा राज्य दिन माग गरे । १९२९ को सिमोन कमिशनमा पनि यो माग जोडदार पेश भयो । बंगालबाट छुट्याई गोर्खा प्रदेश चिफ कमिशन अन्तरगत राख्न सन् १९४१ मा रुपनारायण सिंहको नेतृत्वमा गएको टोलीले लर्ड पेथिक लव्रेन्स समक्ष मागपत्र पेश गर्यो । सन् १९४७ मा कम्युनिष्ट पार्टी अफ ईण्डियाले भारतको संविधान सभामा “गोर्खास्थान” का लागि जोडदार माग राख्यो ।
बिमल गुरुङ्ग |
भारतको स्वतन्त्रता पश्चात अखिल भारतीय गोर्खा लिग पहिलो गोर्खाली पार्टीको रुपमा स्थापित भयो । लिगका नेताको हैसियतबाट डम्बर सिंह गुरुङ्गले सन् १९५२ मा तत्कालिन प्रधानमन्त्री जवाहर लाल नेहेरुलाई भेटी गोर्खाको समस्या र बंगालबाट छुट्टिनु पर्नाको कारण स्पष्ट पारे । सन् १९८० मा दार्जिलिङ्ग प्रान्त परिषदका सभापति ईन्द्र बहादुर राईले प्रधानमन्त्री ईन्दिरा गान्धीलाई भेटी गोर्खाराज्यको माग सशक्त रुपमा उठाए । यस्ता सयौं शान्तिपूर्ण संघर्ष र मागहरुलाई भारतीय सरकारले बेवास्ता गर्दै आए पछि गोर्खालीहरुको धैर्यताको बाँध टुट्यो । सन् १९८६ मा साहित्यकार एवं राजनीतिज्ञ सुवाष घिसिङ्गको नेतृत्वमा गोर्खा नेसनल लिवरेसन फ्रन्ट नामक पार्टी गठन भई “गोर्खाल्याण्ड” का लागि सशक्त एवं शान्तिपूण आन्दोलन सुरु ग-यो । गोर्खाको यो आन्दोलनबाट आत्तिएको बंगाल सरकारले सेना प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनायो । यस आन्दोलनमा सन् १९८८ सम्ममा १२०० भन्दा बढी मानिसको ज्यान गयो । सायद रक्तपात बन्द गरी निहत्था गोर्खालीको ज्यान बचाउनु त्यस समयको आवश्यकता थियो होला, दार्जिलिङ्ग गोर्खा हिल काउन्सिल पाउने सर्तमा फ्रन्टद्वारा आन्दोलन बिसर्जन गरियो । तर जनस्तरमा आन्दोलनको राप सेलाउने कुरै थिएन ।
सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चाको गठन पश्चात फरक स्वरुपमा गोर्खाल्याण्डको आन्दोलन अघि बढी रहेको छ । बिमल गुरुङ्गको सुझबुझपूर्ण नेतृत्वले सबै राजनीतिक चिराहरुलाई एक ठाउँमा ल्याई शक्ति निर्माण गर्ने कुरामा गोर्खालीहरु आशावादी देखिन्छन् ।
सफलताको नजिक गोर्खा
कुनै पनि आन्दोलनमा आन्दोलकारी बाहिरबाट समेत ठूलो समर्थन आर्जन गर्न सक्नु पर्छ । हिंसात्मक गतिविधि चलाउने सरकार होस् वा पार्टी, तिनीहरुले आम समर्थन पाउँदैनन् । तर गोर्खाले पछिल्ला दिनमा देखाएको सुझबुझले ज्यादै राम्रो काम गरेको देखिन्छ । गोर्खाल्याण्डको मुद्दाले कुटनीतिक, प्राज्ञिक, न्यायिक र राजनीतिक सबै क्षेत्रमा गतिलो प्रवेश पाउन थालेको छ । २०१५ को चुनाव ताका सिलिगुडीमा दिएको भाषणमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खालाई आजै राज्य दिईहाल्ने गरी गरेको भाषणका भिडियोहरु करोडौं भ्यु भई सेकेकाछन् । बाबा रामदेव त गोर्खाहरुलाई अधिकार दिलाउन खुलेर लागेको देखिन्छ । यही अप्रिल १४ मा राष्ट्रिय अधिकार मञ्चले क्षेत्रीय न्यायका लागि गोर्खाहरुको साथमा रहेको प्रतिवद्धता जाहेर गर्दै एक राष्ट्रिय सम्मेलन आयोजन गरेको छ । जसमा देहात मोर्चा, शिवसेना, अखिल भारत हिन्दु महासभा, अल ईण्डिया लयर्स एसोसिएसन, दिल्ली बार एसोसिएसन लगायतका सयौं संघसंस्थाले समर्थन जनाई सकेकाछन् । भारत र विश्वस्तरबाट गोर्खाहरुको पक्षमा आवाज उठ्न सुरु भएको छ ।
भर्खरै ममता बेनर्जीले सुतेको सिंहलाई मरेको ठानेर जिस्काउने काम गरिन् । गोर्खाहरुको पहाडी खण्डलाई नै लक्षित गरी बंगाल भर बंगाली भाषालाई अनिवार्य शिक्षाको रुपमा लादेर गरिएको निर्णयलाई गोर्खालीहरुले साँस्कृतिक हमलाको रुपमा लिए । शान्तिपूर्ण आन्दोलनमा भएको दमनले ३ भन्दा बढीको ज्यान गईसकेको छ भने सयौं घाईते भईसकेका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंघले वार्ताबाट हल खोज्न गरेको आव्हानलाई ममताले वास्ता गरेको देखिदैन । शान्तिपूर्ण आन्दोलनमा हिंसाभड्काएर फेरी गोर्खालीहरुलाई बदनाम गराउने षडयन्त्र हुन सक्छ । आन्दोलनका अगुवाहरुले सडक आन्दोलन र शान्तिपूर्ण, कुटनीतिक प्रयाशलाई तीब्र, प्राज्ञिक बहस एवं समर्थनलाई भाईरल र राजनीतिक सम्बादलाई प्रभावकारी बनाई लक्ष प्राप्त गर्न यो नै अनुकुल अवसर रहेको देखिन्छ ।
१९ जुन, २०१७
काठमाडौं ।
No comments:
Post a Comment