प्रिय मित्र सम्झना !
हामी यहाँ समाचार बाँचेका छौं,
तिमी त्यहाँ राहत नाचेकै होलाउ ।
यहाँ पशुपतिनाथले आफ्नो कल्याण गरेकाछन्,
तिमीलाई भने कुशलताको कामना ।
कति आशाहरु निमेष मै पुरिए,
तंग्राउँदै छौं जिउँदै खोदिएका सपना ।
बिखरिएका विश्वासका ढुंगाहरु पर्गेल्दै छौं,
निर्माणको बलियो गाह्रो लगाउनु छ ।
पुरिएका सिर्जनाबिज खोतल्दै छौं,
अब फेरि भरपेट जीवन फलाउनु छ ।
धरहरा लड्ला, देवल भत्किएला,
इतिहास यसरी नै बन्ने हो ।
भावी पुस्तालाई हाम्रो इतिहास दिन
अझ सुन्दर धरोहर जुरुक्क उठाउनु छ ।
कत्ति पनि फुर्सद छैन मित्र,
कर्मी बनेर दिनरात-
रसिला घारहरु बनाउँला ।
खेति छोड्दिन बिमाखको डरले
अग्ला बारहरु लगाउँला ।
फेरि आउँदा देख्नेछौ हरियो सहर,
अनि बाग्मती मग्मगाउने छ ।
खण्डहरबाट धुलो टक्टकाउँदै उठेको विश्वास
अब हिँड्दा भुकम्प नै डग्मगाउने छ ।
सोमबार, ४ जेठ, २०७२
काठमाडौं ।
No comments:
Post a Comment