Thursday, September 18, 2025

अब के गर्ने?

१. आगलागि र क्षतिमा परेका कुनै पनि सार्वजनिक संस्थाहरूलाई सफा गर्ने निहुँमा वा हेर्ने निहुँमा कोही पनि अनाधिकारिक व्यक्ति पस्नु हुँदैन । त्यहाँ अझै कतिपय दस्तावेज कागजात महत्वपूर्ण अभिलेखहरू बाचेका हुनसक्छन् । सम्बन्धित व्यक्तिहरु वा सुरक्षा निकायले मात्र संरक्षण गर्न सक्छ । त्यो अभिलेखहरू भोलिको लागि अत्यन्त महत्वपूर्ण हुन सक्छ  । नत्र जनताले धेरै दुःख पाउनुपर्ने हुन्छ। 

२. संसार नै अचम्म पर्ने गरीको इतिहास बनेको छ । सधैँ अशान्ति र विग्रहमा मुलुकलाई राख्नु हुँदैन। सबै जनता जिम्मेवार हुन सकिएन भने यस्तो मुभमेन्टबाट धेरै मुलुकहरू गृहयुद्धमा धकेलिएका छन्। तर हामी जिम्मेवार छौँ, जिम्मेवार हुनुपर्छ। तसर्थ, लोकतान्त्रिक व्यवस्थामा आवाजहरू खुल्ला हुन्छन् । आफूलाई लागेको कुरा आमा बाउ र छोराछोरीलाई सुनाउन मिल्ने भाषामा पोख्न पाउनुपर्छ । तर social media मा व्यक्तिगत आक्षेप, गालीगलौज, फोहोरी शब्दको प्रयोग र फेरि समाजलाई बाँड्ने किसिमका षड्यन्त्र वा कुण्ठा वा आवेग पोख्नबाट बच्नुपर्छ ।

३. हिजो, आज वा भोलि जहिले पनि शासकहरू हामीबीचबाटै छानिने हुन्, अर्को लोकको मान्छे आउँदैन । हामी जस्तो छौँ, शासक त्यस्तै बन्ने हो। हामी असल बनौँ, शासक असल बन्छ । 

४. २४ गतेको क्रुर आगजानीमा अपवाद बाहेक कतै पनि Generation Z (जेन्जी) को हात देखिँदैन। बरु उनीहरू त संरक्षणमा लागेको समेत देखियो। तर त्यो अपराधीहरूलाई "सबैको हातमा मोबाइल छ, फोटो खिचिरहेका छन् " भन्ने समेत हेक्का देखिएन। त्यसैले लुटपाट र आगजनीमा संलग्नलाई कुनै हालतमा छुट दिनु हुँदैन । अहिले सुरक्षा निकायले ती फोटो क्लिप र फुटेजहरू मागिरहेको छ। र तपाईँ जस्ता जिम्मेवार नेपालीहरूले उपलब्ध गराइ रहेका छन्। 

५. यो आवाज-स्वतन्त्रताको युग हो। अब राजनैतिक बहस त चल्छ नै, चल्नु पनि पर्छ । यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने बहस चल्छ। यसको समर्थन र विरोधमा समाज बाँडिन्छ । यो अस्थिर समयको फाइदा उठाउनलाई विभिन्न तत्वहरुले खेल्छन् । फेरि पनि समाजलाई व्यवस्थित बनाउन कुनै न कुनै किसिमको कुनै न कुनै जिम्मेवार राजनीतिक दल र आदर्श राजनेताहरु नै चाहिन्छ। ती नेताहरू अहिले आन्दोलनले जन्माएका पनि हुन सक्छन् । हिजोका असल पनि हुनसक्छन् । यदि फेरि निषेधको राजनीति पढाउन थालियो भने समाज पुरानै स्वरूपमा फर्किने डर हुन्छ। हामी ठूलो छाती लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। 

६. यो खरानीबाट उठेर समाजमा देखिने गरी परिवर्तन ल्याउनको लागि तत्काल ठूलो धनराशि चाहिन्छ, जो हामीसँग छैन । संसारले सहयोग गर्दा पनि भूकम्पपछिको पुनर्निर्माण अझै पूरा भइसकेको थिएन। भूकम्पभन्दा ठूलो क्षति र नोक्सानीहरू भएको छ। अहिले तत्कालै देखिने अनुभव हुनेगरी भौतिक विकास र परिवर्तनहरू पाउन गाह्रो छ। अनि चाँडै परिवर्तन खोज्ने हाम्रो मनस्थितिले चाँडै वितृष्णा महसुस गर्न थाल्नेछ। करिब १३ खर्बको नोक्सान भएको अनुमानहरू आउन थालेका छन्। करिब ३ खर्बको विकास बजेट हुने मुलुकले अहिलेको नोक्सान पुरा गर्न झन्डै पाँच वर्ष खर्चनुपर्नेछ। अनि पाँच वर्षसम्ममा संसार धेरै अगाडि बढिसकेको हुन्छ। हामी बल्ल पाँच वर्ष पुरानो अवस्थामा पुगेका हुन्छौं। यदि यो खाडल पुरेर विकासको गतिलाई अहिलेको रुपमा मात्रै लैजाने हो भने पनि सालमा ६ खर्बको विकास खर्च जुटाउनु पर्ने हुन्छ। यसले हामीलाई अहिलेको अवस्थामा मात्रै चल्न सक्ने बनाउँछ। 

७. यदि सोचे जस्तो विकास अगाडि बढाउने हो भने सालमा हामीले १२ खर्बका दरले विकास बजेट जुटाउनुपर्छ । त्यो भनेको झन्डै ४०० प्रतिशतले राजस्व कर) बढाउनु हो। जुन अहिले सम्भव देखिँदैन। त्यसैले जनताहरूलाई धेरै ठूलो, असम्भव हुने महत्वकांक्षा र सपना देखाउनु हुँदैन । नत्र भोलि योभन्दा ठूलो फ्रस्ट्रेसन बढ्छ।

८. राजनीति आफ्नो ठाउँमा चल्दै गर्छ। हामी देश बनाउन छोड्नु हुँदैन । देश बनाउने कार्य आफ्नै समाजबाट सुरु हुन्छ। र त्यो समाजको महत्वपूर्ण अंश भनेको तपाईं हाम्रो आफ्नै परिवार र घर हो। हाम्रो आफ्नै घर र परिवारलाई अनुशासित, उद्यमशील र जिम्मेवार बनाउनु नै मुलुक बनाउनु हो।


प्रण गरौं "हे आमा नेपाल तिमीलाई संसारकै राम्री बनाउँला।"


२०८२/५/२७

भक्तपुर

#zenz

No comments:

Post a Comment