२०७७ साल माघमा प्रकाशित आफ्नो कृति ‘इतिवृत्त र सृजना’ मा प्रा. माधव भँडारीले प्राक्कथनमा नै लेख्नु भएको थियो, “मैले यस पुस्तकलाई आफ्नो अन्तिम लेखन ठानेर प्रबुद्ध पाठकहरुसमक्ष सादर प्रस्तुत गरेको छु ।” त्यस बेला पनि उहाँको हातहरु कामीरहेका थिए, जिब्रो घरिघरि लर्बराए जस्तो हुन्थ्यो । सजिलो गरी हिँड्न सकेको जस्तो पनि लाग्दैन थियो । तर ९ वर्षदेखि मुटुमा पेश मेकर बोकेकाे र रोगले थलिएको ८५ वर्षको असक्त शरीरका बाबजुद सन्सारबाट जाँदा जाँदै पनि नेपाली भाषा र साहित्यको एक नविनतम प्रयोगको रुपमा ‘इतिवृत्त र सृजना’ कृति सम्पूर्ण नेपालीलाई छाडेर जानु भयो ।
वि.सं. १९९३ साल माघ १६ गते इलाममा जन्मनु भएका प्राध्यापक माधव भँडारीले इलामको करफोक हाईस्कुलमा वि.सं. २०१५ देखि २०१६ सम्म अध्यापन गर्नु भएको थियो । वि.सं. २०१७ सालमा दार्जिलिंगको टर्नबुल हाईस्कुलमा १ वर्ष पढाएपछि वि.सं. २०१८ सालदेखि त्रिभुवन विश्वविद्यालयको सेवामा प्रवेश गरी महेन्द्ररत्न कलेज इलाममा सहायक प्राध्यापक बन्नु भएको थियो । २०३० मा उपप्राध्यापक, २०४३ मा सहप्राध्यापक र २०५४ मा प्राध्यापक हुनु भएका श्री भँडारी वि.सं. २०५४ सालमा सेवा निवृत्त नभएसम्म त्रिभुवन विश्वविद्यालय किर्तिपुरको नेपाली केन्दीय विभागमा रही सेवा गर्नु भएको थियो । मेची क्याम्पस, भद्रपुर र महेन्द्ररत्न कलेज इलामका क्याम्पस प्रमुख समेत रही सक्नु भएका श्री भण्डारी मुलतः कथा विधाका प्रखर साहित्यकार मानिनु हुन्छ ।
नेपाली कथा साहित्य (२०१५ सह), गाउँघर (२०२५), माधव भँडारीका कथा (२०४०), पार्वती परिणय (२०५८), क्यालेण्डरका घुम्तीहरु (२०५९), नबिर्सिने कोसेली (२०६१), इतिवृत्त र सृजना (२०७७) जस्ता प्रख्यात कथा संग्रहका सर्जक प्रा. भण्डारीको पूर्णीमा (२०३०) उपन्यास समेत प्रकाशित भएको छ ।
वि.सं. २०३७ मा आमाको आकांक्षा र २०५९ मा घरजम गरी दुई नाटकका कृतिहरुका लेखक प्राध्यापक भँडारीका हाम्रो साहित्य र साहित्यकारहरु (२०१८ सह) र छन्द र अलंकार (२०१८ सह) समालोचनाका पुस्तकहरु पनि प्रकाशित छन् ।
नेपाली सहित्य पत्रिकाको सम्पादनमा पूर्वका एक अग्रणी व्यक्तित्वको रुपमा चिनिनु हुने प्रा. भँडारीले छात्रवाणी (२०१३), जुनेली (२०१५), सौगात (२०२२), सूर्योदय (२०३०) र केही किरण अस्ताएको जून (२०४४) आदि पत्रिकाको सम्पादन गर्नु भएको थियो ।
यस बाहेक उहाँका सयौँको संख्यामा फुटकर कथाहरु प्रकाशन भएका छन् ।
वि.सं. २०१५ देखि २०७७ सम्मका जम्मा ६२ वर्ष उहाँले निरन्तर नेपाली भाषाको सेवामा लगाउनु भयो । प्रबल गोर्खा दक्षिणबाहु (२०२९), मैनली कथा पुरस्कार (२०५८), महानन्द पुरस्कार (२०५९), गंगाराम भद्रशीला स्मृति पुरस्कार (२०६०), शमी साहित्य पुरस्कार (२०७६), सुरभि बाजुराम आख्यान साधना पुरस्कार (२०७७) अदि जस्ता दर्जनौँ पुरस्कार र सम्मानहरुबाट प्रतिष्ठित प्राध्यापक भँडारी चर्चाभन्दा टाढा, एकान्त र साँच्चै भनौँ भने गुमनाम जीवन मन पराउनु हुन्थ्यो । सम्बन्धको भुमिका निभाउन अत्यन्त संवेदनशील र असाध्यै सरल व्यक्तित्वका धनी एवम् नेपाली साहित्यमा कहिल्यै नमर्ने नाम बन्नु भएका प्राध्यापक माधव भण्डारीको आज २०७८ पौष १८ गते आईतबार पार्थिव शरीरमा अन्तिम श्रद्धासुमन अर्पण गर्न पशुपति आर्यघाट जान समेत पाईएन ।
कुनै सम्बन्ध आफैँ गाढा हुन्छन्, अलौकिक हुन्छन्, अविष्मरणीय हुन्छन् । श्रद्धा र प्रेमको सम्बन्ध आफैँ प्रिय हुन्छ, श्रद्धाञ्जलीका शब्दले सम्बन्धको उक्त उचाई घटाउने डर छ शायद ममा । मिस यु हजुरबुवा ।
No comments:
Post a Comment