आफ्ना बालबालिका वा परिवारका अन्य सदस्य वा प्रेमिका वा साथिभाई वा पाहुनालाई काठमाडौ नजिकको कुनै आकर्षक गन्तव्य घुमाउन चहानुहुन्छ? त्यसो भए तपाइँले झोर जानै पर्छ जहाँ "बौडेश्वर झरना तथा गुफा" ले यी सबैका चाहना पुरा गर्न सक्छन् ।
स्थानीय निकायको पुनर्संरचना हुन अघि काठमाडौ जिल्लाको झोर गाविसमा पर्ने "बौडेश्वर झरना तथा गुफा" क्षेत्र हाल टोखा नगरपालिकामा पर्दछ । काठमाडौ चक्रपथको बसुन्धरा चोकबाट ग्राण्डी हस्पिटल हुँदै टोखा बजार कटेर झोर पुग्न १०.१ कि.मी. को यात्रा तय गर्नु पर्छ (सुबिधा अनुसार सामाखुशी वा नारायणगोपाल चोकबाट गए पनि हुन्छ) ।
मुल सडकबाट करिब ५०० मीटर तल सिंढी झरेपछी झरनाको मुख्य स्थलमा पुगिन्छ । बृद्ध तथा हिड्न समस्या हुनेहरूलाई त्यहाँ पुग्न अर्को कुनै सजिलो साधन नहुने भएकोले हाल नजाने सल्लाह दिन चहान्छु । तर हिड्न सक्नेहरूको लागि भने जङ्गल, पहाड सिंढीको झराई, थकाईअनि गर्मी पश्चातको चिसो झरना - आनन्द नै बेग्लै छ ।
सिंढी उत्रेर झरना पुग्दा काठमाण्डौको चिसोमा पनि पसिना नै पसिना हुने भएकोले जोसुकैलाई पनि चिसो पानीमा झ्वाम्म हामफाल्ने मन हुन्छ । ठ्याक्क त्यही समयमा तपाईं आनन्दको झरनाको फेदमा पुग्नु हुन्छ । अनि सक्किगो नि!
पवित्र विष्णुमति नदीको मुहानको रूपमा रहेको यो झरना तीन खण्ड भएर झरेकोछ । करिब ३० फिटको उचाईबाट दुईठाउं ठोकिदै यात्रा गर्ने पहिलो खण्डको फेदको छांगो यहांको एक प्रमुख आकर्षण हो । कार्तिक देखि फागुनसम्म पानी धेरै चिसो हुने भएकोले र पानी समेत घट्ने भएकोले झोरको पूरा मजा लिन पाईन्न । ११:०० बजे पुग्नु भए उत्तम, त्यो बेला घाम तात्दै हुन्छ । त्यसैले समय र महिना मिलाएर जानु होला ।
पहिलो खण्डको फेदमा करिब १० फिट लामो गुफा रहेकोछ । गुफा त्यति सांघुरो छैन, मज्जाले पसे हुन्छ । गुफाको बिच भागमा बौडेश्वर थान रहेको छ । त्यो भन्दा माथी प्वाल छ जसबाट असाध्यै जोखिम मोलेर मात्र माथिल्लो भागमा निस्किन सकिन्छ । म चैं तपाईलाई गुफाको त्यो प्वालबाट बाहिर निस्कन सल्लाह दिन्न । गुफाबाट बाहिर निस्किए पछि देब्रेतर्फको ओडारमा कृष्णवरुणेश्वर (वनमहादेव) को थान अवस्थित छ भने दाहिने तर्फ झरनास्नानको महत्वपुर्ण स्थल छ । लगाएको लुगासङ्गै भिज्ने, खेल्ने, नुहाउने चलन छ यो छाङ्गोमा । म तपाईंलाई एक सेट भित्रिबाहिरी लुगा अतिरिक्त बोकेर जान सल्लाह दिन्छु ।
दोश्रो खण्डमा पहिलो खण्डबाट बगेर आएको पानी करिब २० फिट जति ढुङ्गाको कापबाट भित्र बाहिर हुँदै बग्छ । यहाँ पुग्न केही अप्ठेरो छ । तर पुग्न सकेमा पानीमा चोभिदै घाम ताप्दै बडेमानका ढुङ्गामा पल्टिन खुब आनन्द आउँछ । यसको अन्त भागबाट तेश्रो खण्ड सुरु हुन्छ । बेगले बगेको पानी भिरालोको ढुङामा जोडले ठोक्किदा आकाशतर्फ उडेको मनमोहक दृष्य बिर्सिनसक्नु छ । त्यो पानी झरनाको रूप लिएर ठूलो आधा चिरिएको ईनार जस्तो आकारको ओडारमा झर्छ । यहाँ भिजेर मज्जा लिन पहिलो खण्डभन्दा रमाईलो छ । त्यसैले पहिलो खण्डमा मज्जा लिई सकेपछी कपडा चेन्ज नगरी दोस्रो खण्ड र तेस्रो खण्ड पुग्नुपर्छ ।तेस्रो खण्ड अलि बढी चिसो हुने र सांघुरो पनि हुने भएकोले यहाँ धेर समय नबिताउन ठिक । यसका आसपासमा रेस्टुरेण्ट र पेयिङ्ग चेन्जिङ्ग रूम पनि छन् । कपडा चेन्ज गरेको १५/- रुपैयाँ अलि धेर हो कि ? यो प्रकृया सबै सेवा र वस्तुमा देखियो ।
चुनौती
=====
प्रसस्त पर्यटकीय सम्भावना रहेको यस क्षेत्रमा उत्ति नै चुनौतीहरू पनि देखिन्छन् । फोहोर नियन्त्रणका कुनै उपायहरू अपनाईएका छैनन् । वृक्षारोपण र जैविक विविधता संरक्षणमा ध्यान दिईएको छैन । दिगो वातावरणीय संरक्षणका भरपर्दो कार्य भएको देखिदैन । हरियाली क्षेत्र नै सांघुरिने गरि धमाधम घरहरू बन्न थलेका छन् । अधिकृत अनाधिकृत निर्माणले निरन्तरता पाएमा पछि फराकिलो ठाउँ नै नरहेर कुरूप स्थान बन्ने पक्का छ । व्यापकरूपमा जग्गा अधिग्रहण गर्न आवश्यक छ, तर स्थानीय निकायले मात्र त्यो गर्नसक्ला नसक्ला ! संघीय सरकारको प्राथमिकतामा यो पर्ने देखिदैन । अहिलेसम्म मास्टर प्लान छैन । के बनाउने, कस्तो बनाउने - भन्ने सोच्ने नै को हो थाहा छैन ।
के गर्नु पर्ला?
========
शीरमा रहेका घरहरूका फोहोर झरनामा मिसिन नदिन मुहान संरक्षण र ढलको व्यवस्था तुरून्त आवश्यक छ । नत्र निर्दोष पर्यटक महामारीको सिकार हुन सक्छन् । मुहानबाट नै पानी धमिलो आउदैछ । माथी तलाउ बनाएर फिसिङ पण्ड पनि हुने र पानी पनि सङ्ग्ल्याउने फिल्टरेसन गर्न सकिन्छ । वरिपरिका जग्गाहरु अधिग्रहण गरि फराकिलो क्षेत्र कायम गरि बारबन्देज समेत हुन जरुरी छ । वच्चाहरू नै आन्तरिक पर्यटनका ड्राइभिङ फोर्स हुन् । त्यसैले त्यहाँ बालउद्यान र एड्वेन्चर प्लेका स्पटहरू निर्माण गर्नु पर्छ । नुहाउने ठाउँलाई प्राकृतिक स्वादमा अलि फराकिलो बनाई छेउमा महिला पुरूषका अलग अलग चेन्जिङ्ग रूम बनाउन सकिन्छ । विशाल विशाल पत्थरहरूको लोभ्याउदो अवस्थितिलाई अविस्मरणीय बनाउन र अन्य ठाउहरूमा समेत कलात्मक सेल्फी स्पट बनाउन पर्छ । काठमाडौमा युवायुवतीका लागि डेटिङ्ग प्लेसहरूको अभाव कम गर्न माथिल्लो भाग र दक्षिणी पाटोमा डेटिङ्ग स्पट बनाउन सकिन्छ । तल्लो समतल क्षेत्रबाट मोनोरेल वा केवलकार चलाउन सकिन्छ । दुईचार वटा फरक फरक स्वादका झोलुङ्गे पुल निर्माण गरेर सानो ठाउँमा थुप्रने भिड बाड्न सकिन्छ । यस्ता स्पटहरूलाई आवश्यकता अनुसार सशुल्क बनाउन पनि सकिन्छ । सशुल्क सेवाले संरचनाको संरक्षणमात्र हैन रोजगारी सिर्जनामा र स्थान विशेषको महत्व बढाउन पनि भूमिका खेल्छ । एकाध हेण्डीक्राफ्ट र गिफ्ट पसल चलाउन सकिन्छ । व्यावसायिक बोटानिक गार्डेन र नर्सरी चलाउन सकिन्छ । छेउमा साउना बाथ र मसाज सेन्टर समेत चलाउन सकिन्छ । मुख्य सडकमा ठुलो पार्किङ क्षेत्रको अहिल्यै आवश्यकता देखिसकिएको छ । सिक्किमको राजधानी ग्यान्टोकको एउटा छाङ्गोलाई त्यहाँको सरकारले "झांक्री गुफा" बनाएर वार्षिक लाखौं पर्यटक तान्ने गरेको छ । म टोखा नगरप्रमुखलाई एकपटक सिक्किम जान पनि आग्रह गर्छु । लगानी त आवश्यक पर्छ, तर त्यो उठ्छ पनि, आंशिक ऋण लिएर पनि गर्न सकिन्छ । बकम्फुसे सर्वज्ञ ज्ञाता महङ्गा कन्सल्टेण्ट(?) सङ्ग होइन, पर्यटन व्यवसायीहरूसङ्ग अझ बढी आईडिया हुन्छन् । अन्तरकृयाबाट शुरू गरौं, यसमा खर्च लाग्दैन, तर अर्बौंको जुक्ती निस्कन्छ ।
नेपाल हाम्रै पालोमा बन्छ ।
२०७६/०६/२६
काठमाडौ ।
#jhor_waterfalls, #jhor, #waterfalls, #visit_nepal_2020, #travel_kathmandu, #hello_tokha, Tokha Nagarpalika Six, @Tokh municipality, टोखा उद्योग बाणिज्य संघ, टोखा नगर बिकाश अभियान, हेल्लो टोखा नगरपालिका
No comments:
Post a Comment