Thursday, September 18, 2025

अनि तिमीलाई मैले राम्रो भनिदिनुपर्ने?

विश्वभरि शान्ति फैलाउने गौतम बुद्धको ध्यान बचाउन नसक्ने,
असन्तुष्टि पोख्न सरकारसँग गएका निहत्ता बालबालिकाको ज्यान बचाउन नसक्ने,
विदेशीले दिएका सुन्दर हरिया "साझा" बचाउन नसक्ने,
सेना त छ नि! आफ्नै परमाधिपति "राजा" बचाउन नसक्ने,
ए काठमाडौँ !
अनि तिमीलाई मैले राम्रो भनिदिनुपर्ने?

मकै बेच्ने, ठेलामा टिक्ने, कबाडी बोक्ने ती निसहायहरूको रोजगार खोस्न सक्ने,
अरबौंको ट्याक्स तिरेर हजारौँलाई रोजगारी दिने उद्योग व्यापार झोस्न सक्ने,
स्वर्ग झैँ मानिने कान्तिपुरी नगरीको सुन्दर यौवन चुस्न सक्ने,
सद्दे कोही नरहने गरी सबैलाई काण्डैकाण्डमा मुस्न सक्ने,
ओइ काठमाडौं !
के रे के रे?  मैले फेरि तिमीलाई राम्रो भनिदिनुपर्ने?

मूर्ति चोर्ने, देवल फोर्ने, ध्वस्त पार्ने पुर्खाले आर्जेका सम्पदा अपार,
बचाउन नसक्ने सेना मुख्यालयभन्दा ५०० मिटर परको सिंहदरबार,
शान्ति सुरक्षा गर्छु भन्ने प्रहरीले आफ्नो कमान नै बचाउन नसक्ने,
जनताको हित गर्न कसम (?) खाएका नेताले आफ्नो इमान नै बचाउन नसक्ने,
छि:  काठमाडौँ !
अनि मैले तिमीलाई राम्रो भनिदिनुपर्ने?

विश्वभरि शान्ति फैलाउने गौतम बुद्धको ध्यान बचाउन नसक्ने,
असन्तुष्टि पोख्न सरकारसँग गएका निहत्ता बालबालिकाको ज्यान बचाउन नसक्ने,
ए काठमाडौँ !
अनि तिमीलाई मैले राम्रो पो भनिदिनुपर्ने?


२०८२/५/२४
राधेराधे, भक्तपुर

Friday, September 5, 2025

माइपोखरी, इलाम

आज इलामको माईपोखरी घुम्न जाउँ। नेपालको पूर्वी हिमाली क्षेत्रमा अवस्थित एक स्वर्गीय गन्तव्य! यो ठाउँ प्राकृतिक सौन्दर्य, धार्मिक महत्त्व र जैविक विविधताले भरिपूर्ण छ। पूर्वी नेपालको प्रसिद्ध सन्दकपुर गाउँपालिकामा पर्ने यो ठाउँमा पुग्न इलामबाट ताप्लेजुङतर्फ जाँदा बिब्ल्याटे बजारबाट करिब ९ किलोमिटर दाहिनेतर्फ उकालो लाग्नुपर्छ।

यो हो माईपोखरी – २,१०० मिटर उचाइमा रहेको यो तालको पानी शान्त, हरियो रंगको छ, जुन हलचल गर्दैन। वरपरका सल्लो र अन्य रुखहरूको सुन्दर छायाँ तालमा देखिन्छ, जसले यहाँबाट हिँड्नै मन नलाग्ने बनाउँछ। रु २० को प्रवेश शुल्क लाग्ने यो क्षेत्रमा पोखरीका अलावा बोटनिकल गार्डेन लगायत सौन्दर्यका विभिन्न क्षेत्रहरू छन्। 

तालका नौवटा कुनाहरू नौ फरक देवताहरूलाई समर्पित छन्, र यो हिन्दु र बौद्ध दुवैका लागि पवित्र तीर्थस्थल हो। तालको केही वर डुंगा चढ्ने सुविधा पनि छ, जुन निकै रमाइलो अनुभव हुनेछ।

माईपोखरी वनस्पति उद्यानमा पूर्वी नेपालका दुर्लभ अर्किड, विभिन्न रङ्गका गुराँस र म्याग्नोलिया देख्न सकिन्छ। यो ठाउँ दुर्लभ रेडपाण्डा ट्रायल रुटको सुरुवात बिन्दु पनि हो, जहाँ भाग्यले साथ दिए रेडपाण्डा देख्न सकिन्छ! प्रकृति प्रेमीहरूका लागि यो ठाउँ स्वर्ग हो।

माईपोखरीको हरियाली र हिमालको दृश्यले मन लोभ्याउँछ। यहाँबाट कञ्चनजङ्घा र अन्य हिमशिखरहरूको मनोरम दृश्य देखिन्छ। ठाउँ सानो भए पनि गाडीको लागि पार्किङ सुविधा छ। यहाँ बस्न चाहनेका लागि वरपर रमणीय होटलहरू छन्, जहाँ रात बिताउन सकिन्छ। यो ठाउँमा शान्ति र सुन्दरताको अनुपम संगम छ – फोटो खिच्न, मेडिटेसन गर्न वा प्रकृतिसँग एकाकार हुन यहाँ उत्तम छ।

माईपोखरीको यो भव्यता हामीलाई वि.सं. १९६७ मा जन्मिएका महात्मा नारायण दिलले नासोको रूपमा सुम्पनुभएको हो। उहाँले २००७ सालदेखि यहाँ तपस्या र संरक्षण कार्य गर्नुभयो। यहाँ उहाँको पूर्णकदको सालिक र कुटी पनि छ, जसले यो ठाउँको ऐतिहासिक महत्त्व झल्काउँछ। यो ठाउँको शान्ति र पवित्रता उहाँकै योगदानको देन हो।

इलाम चियाको लागि पनि प्रसिद्ध छ, र माईपोखरी नजिकै माई टी इस्टेट छ, जहाँ १८० स्थानीय किसानहरूले उच्च गुणस्तरको अर्गानिक चिया उत्पादन गर्छन्। यहाँको चिया विश्वभर निर्यात हुन्छ। साथै, यहाँको सामुदायिक होमस्टेमा बसेर स्थानीय संस्कृति, ढिँडो र गुन्द्रुकको स्वाद, र आतिथ्यको अनुभव लिन सकिन्छ।

यहाँका स्थानीय बासिन्दाहरू निकै आतिथ्यशील छन्। मलाई यहाँ डुंगा चढ्ने र माछा मार्ने अनुभव निकै रमाइलो लाग्यो। तपाईंहरूले पनि यो ठाउँमा आएर यी गतिविधिहरूको मजा लिनुपर्छ। साथै, माई भगवती मन्दिर पनि अवश्य भ्रमण गर्नुहोस्, जसले यो ठाउँको धार्मिक महत्त्वलाई झल्काउँछ।

ल, साथीहरू, माईपोखरीको यो छोटो यात्रा यहीँ सकिन्छ। यो ठाउँले मेरो मन जित्यो – यहाँको शान्त वातावरण, प्राकृतिक सौन्दर्य, र स्थानीय संस्कृतिले मलाई फेरि आउन प्रेरित गरेको छ। तपाईंहरू पनि यो स्वर्गीय ठाउँमा अवश्य आउनुहोस्। यो भ्लग कस्तो लाग्यो? कमेन्टमा भन्न नबिर्सनुहोला! लाइक, शेयर र सब्स्क्राइब गर्नुहोस्, अनि अर्को भ्लगमा भेटौंला। नमस्ते!

इलाम

15 May, 2025

टोलुङ्ग

पहाडी भूभागमा दहीबाट मोही निकाल्न र त्यसपछि घिउ झार्न प्रयोग गरिने परम्परागत उपकरणको रुपमा ठेकी मदानिको प्रयोग त प्राय: सबैलाई थाहा हुन्छ । तर त्यही कामामा प्रयोग हुने "टोलुङ्ग" भने नयाँ लाग्न सक्छ । कतैकतै "तोरलुङ" भनिने यसलाई भुटान तिर "तोलुङ", पूर्व २ नम्बर तिर "घ्वाक" वा "घ्वाँग" वा "घ्वाङ", तामाङ्ग शेर्पाले कुनै ठाउँमा "दोङ्ग" वा अन्य थरीथरीका नामले पनि चिनिन्छ । सिक्किम दार्जिलिङ कालेबुङ्गतिर टुलुङ्ग भनिन्छ भने मुस्ताङ्ग, मनाङ, डोल्पा, मुगुका शेर्पाले भोटे चिया बनाउन यस्तै भाँडो प्रयोग गर्छन् जसलाई उनीहरू "जोदुङ्ग" भन्छन्। यो प्रविधि भोटबाट हिमाली पहाडी भेगमा विस्तार भएको देखिन्छ ।

करिब ३ फिट उचाइको बनाइने टोलुङ एउटा अग्लो, माथिदेखि तलसम्म लगभग बराबर गोलाइ भएको, खोक्रो ढुङ्ग्रो (सिलिन्डर) जस्तो हुन्छ। यो सामान्यतया सल्लो, खोटो, देवदार वा अन्य बलियो र टिकाउ स्थानीय काठ वा भालु बाँसको ढुंग्रोबाट बनाइन्छ। यसको भित्री भाग चिल्लो पारिएको हुन्छ। बाहिरी भाग बलियो होस् भनेर ठाउँठाउँमा फलाम वा पित्तलको काम्रोले बेरिएको हुन्छ।

एउटा लामो डण्डाको तल्लो भागमा काठकै गोलाकार चक्का जडान गरिएको हुन्छ। यो चक्का ढुङ्ग्रोको भित्री व्यासभन्दा थोरै सानो हुन्छ ताकि ढुङ्ग्रोभित्र सहजै तल-माथि गर्न सकोस् जसले दहीलाई माथि-तल गर्दा हावा मिसिन र राम्ररी मथिन मद्दत गर्छ । डण्डाको माथिल्लो भाग हातले समात्न मिल्ने गरी बनाइएको हुन्छ।

टोलुङमा दहीबाट मोही र घिउ निकाल्ने प्रक्रिया  यसरी गरिन्छ:

१. दही भर्ने: पहिले जमेको बाक्लो दहीलाई टोलुङको खोक्रो ढुङ्ग्रोभित्र भरिन्छ।

२. डन्ठा घुसाउने: त्यसपछि गोलाकार चक्का जोडिएको डन्ठालाई दहीले भरिएको ढुङ्ग्रोभित्र घुसाइन्छ। चक्का ढुङ्ग्रोको पिँधसम्म पुग्छ।

३. दही मथ्ने (ठेल्ने): डन्ठाको माथिल्लो भाग समातेर त्यसलाई लगातार तल-माथि ठेल्ने गरिन्छ। यसरी डन्ठाको टुप्पोमा रहेको गोलाकार चक्काले दहीलाई ढुङ्ग्रोभित्र तीव्र गतिमा माथि-तल, तल-माथि धक्का दिन्छ।

४. घिउ अलग हुने: डन्ठाको चक्काले दहीलाई यसरी ठेल्दै जाँदा दहीमा भएको चिल्लो पदार्थ (घिउ) विस्तारै एकै ठाउँमा जम्मा भएर बाक्लो ढिक्काको रूपमा माथि तैरिन थाल्छ। दहीको पानी जस्तो पातलो भाग (मोही) भने तलै रहन्छ।

५. घिउ निकाल्ने: जम्मा भएको घिउलाई हात वा चम्चाले सावधानीपूर्वक निकालेर छुट्टै भाँडोमा राखिन्छ। यसरी निकालिएको घिउलाई पछि तताएर शुद्ध घिउ बनाइन्छ।

६. मोही निकाल्ने: घिउ निकालिसकेपछि टोलुङमा बाँकी रहेको तरल पदार्थ नै मोही हो, जुन पिउन वा अन्य खानेकुरा बनाउन प्रयोग गरिन्छ।

दहीबाट घिउ निकाल्ने महि बनाउने आमरुपमा प्रयोग गरिने परम्परागत अर्को तरिका ठेकीमा मदानी डुबाएर नेतिले घुमाई दही मथ्ने विधि हो । आजकल मानिसहरूले टोलुङ र ठेकी मदानी बिर्सिसके झैँ लाग्छ। बिजुलीबाट चलाउन मिल्ने मिक्सर र महि पार्ने मेसिन प्रयोग हुन थालेपछि नयाँ पुस्ताले हाम्रा परम्परागत उपकरणहरू देख्न नपाउने अवस्था सिर्जना भएको छ । यसरी बनाइएको मोही र नाउनीमा मिक्सचर ग्राइन्डरको माइक्रोप्लास्टिक, लिड र मेटल भाँडोहरूमा हुने रियाक्सन र टक्सिसीटीको डर हुँदैन । स्वस्थ्य र विशुद्ध प्राकृतिक प्रक्रियाबाट तयार हुने गर्दछ। यसमा कुनै इन्धन, बिजुली र औद्योगिक उत्पादन प्रयोग नहुने भएकोले वातावरण मैत्री छ । यी विविध कारणले गर्दा कुनै समय फेरि हामी त्यही परम्परागत विधिमा फर्कनु श्रेयसकर हुनेछ ।

अहिलेलाई भने विभिन्न ठाउँमा यस्ता विलुप्त हुँदै गएका हाम्रा परम्परागत पहिचानहरूलाई जोगाउन अभियन्ताहरुले म्युजियम र सङ्कलन केन्द्रहरू बनाउन थालेकाछन् । यो एक सकारात्मक कदम हुनेछ ।

विब्ल्याटे, इलाम

16 May, 2025

महाराजहरू - हारे से हुए जीत ।

 प्रणाम ।

यस्तो लेख्दै गर्दा असाध्य दुःख लागेको छ । भगवानसँग माफी माग्छु ।

जागानी र धर्म विस्तार दिनानुदिन घटदो क्रममा छ । आफ्ना छोरा छोरी बाहेक नयाँ जागनी कतै देखिदैन । जुनसुकै मेला र पारायणमा पुगे पनि उही अनुहार मात्र घुमिरहेका हुन्छन् । कतै त सुन्दरसाथ भन्दा गुरु धेर हुन्छन् । गुरु पनि हैन "महाराज" भन्नु पर्ने रे । 

गुरुजी जुगलदासजी र गुरुजी मंगल दासजीहरुले आफ्नो एक्लो बलबुतामा ५० लाखभन्दा बढीलाई जागनी गराउनु भयो । अहिले प्रणामीका छोराछोरीलाई कण्ठी बाँधेर जागनि गर्ने हैसियतभन्दा माथिका गुरु महाराज(?) भेट्न गार्हो छ ।  

फेरि 'आइरन ' र ' सेन्टवाला' महाराजहरूमा सादगीपना त शून्य ! स्टेजमा बस्दा पनि मोबाइल नखेलाउने गुरुमहाराजको कल्पनै नगरे हुन्छ । चौरासी भोजन नभए ज्युनार गरिसिन्न । महङ्गा घडी र एप्पल फोन पहिचान बनेको छ । यस्तो चैन भएकैले होला आफैले आफैलाई "महाराज" भनाउन मनपराउने को भिड छ । यी कथित महाराजहरू आफैले आशीर्वाद नपाएर बिजोग छ, दुनियालाई आशीर्वाद बाड्दै हिँड्छन् ।

२० वर्ष अघिको र अहिलेको समाजको चेतना, सोचाइ, बुझाइ, अध्ययन र विश्वासमा आकाश पातालको फरक छ । सूचना प्रविधिमा सबैको समान पहुँच छ । यही प्रविधिले गर्दा गुरुले पढाएको भन्दा बढी र गुरुले अनुसन्धान गरेकोभन्दा बढी जानेका बुझेकाहरुको  अहिले कमी छैन । अनि ५ जनालाई पनि मन्त्रमुग्ध पार्न नसक्ने गुरुको प्रवचन कसले सुन्छ ? आफ्नो क्षमता बढाउनु पर्दैन?

तारतम सागरमा सन्दर्भ लिइएका मुलग्रंथहरू (जस्तै : वेद, उपनिषद, स्मृति, भागवत, पुराणहरू, कुरान, बाइबल, गुरुग्रन्थ साहेब आदि) अध्योपान्त नपढीकान त्यसको मर्मज्ञ बनेर प्रवचन गर्ने, अनि तिनै ग्रन्थको अर्को प्रसंगबाट तर्क गर्यो भने भाउन्न हुने कथित विद्वानहरूले आफूलाई सुधार्न जरुरी छ । बरु कता हो कता ठूलो ज्ञान जरुरी छैन, आचरण र स्वभाव आदरणीय भएको मान्छेलाई दुनियाले मानीहाल्छ नी! हे भगवान! एउटा स्वच्छ गृहस्थिले यी स्वनामधन्य महाराजहरूको ५ दिन सङ्गत गर्ने हो भने आत्महत्या गर्छ ।

'ऊ ठूलो हो, उसको कुरा पत्याउनु पर्छ ' भन्दा पत्याइहाल्ने जमातहरू थिए, उनीहरू ६० वर्ष नाघिसके । अहिलेको पुस्ता हामीले बोलिनसक्दै गूगल र च्याट जिपिटिमा हाम्रा कुराको सत्यता रुजु गर्छ । संसारका प्रखर वक्ता र विद्वानहरुलाई सहजै सुनिरहेको हुन्छ । अनि यी रात दिन एउटाले अर्को नंग्याउने क्रममा नाङ्गै भइसकेका गुरुमहाराज र धनको बलमा सबै धर्मको ठेक्का लिएर हिँड्ने समितिले नया पुस्तामा धर्म बचाउँछ भनेर हामीले आशा गरिदिनु पर्ने?

नयाँ पुस्तालाई कसरी जगाउने? कसरी आकर्षित गर्ने? सिर्जनात्मक अभियान के हुन सक्छ? "महाराजिकरण" र "समितिकरण" दुवै खतरा र अतिवादबाट धर्म कसरी बचाउने? यस्तो सोच कसैमा देखिएन ।

एउटै धर्मका गुरुमहाराजाहरूमा पनि अर्कालाई अस्वीकार गर्ने, निचा देखाउने, आफूलाई दादा देखाउने जस्ता नग्नता छताछुल्ल भए । हामी हेरेको हेरेई !

अहिलेको सचेत पुस्ताले कुनै मठ, महन्त, साधु, महाराज, समिति र मन्दिरका लागि धर्म लिदैन । परम ज्ञान, भक्ति र जीवनदर्शनबाट प्रेरित भई धर्म मान्छ । त्यसको लागि कसले के काम गर्यौ? त्यो चर्चा छैन । 'को पावरफुल?' भन्ने पो कम्पिटिसन छ यहाँ त!

कसैले कसैलाई कुनै धर्मबाट निष्काशन गरेर वा निषेध गरेर वा गाली अपमान गरेर उसका अनुयायी बढाउन सक्दैन ।  धर्म मनमा हुन्छ, कसैले हुल्दा र निकाल्दा आस्था मर्ने वा पलाउने हुँदैन । त्यसैले धर्ममा कारबाही र धम्कीको कुनै अर्थ हुँदैन । थाहा छ, यो लेखेकोले मलाई पनि धम्की आउँछ । कति मठ मन्दिरमा निषेध गरिएला । त्यसले खासै फरक पार्दैन । आस्था बचाउन कुनै भौतिक  संरचना चाहिँदैन ।

गुटबन्दी त सत्ताको लागि पो हुन्छ त । तर, आफूलाई महाराजा नै भनिसके पछि आफ्नो सत्ता बचाउन लड्नु स्वभाविक हो ।  सच्चा गुरुहरू भने सत्ताभन्दा माथि हुन्छन् । उनीहरू यो लडाईमा तटस्थ बस्छन् । 

बाणी प्रणेता महामती प्राणनाथजी कहिले पनि प्रणामी धर्मको आद्यपिठ श्री५ नवतानपुरी धाममा पिठाधिशको रुपमा रहनु भएन । के गादी नपाएको कारण उहाँ सानो गुरु हुनुभो र? दोश्रो गादिपती श्री बीहारिजीलाई प्रणामीको भिलेनको रूपमा हेरिँदैन र? आस्थामा कुर्सी र पदको महत्व हुँदैन। सबैलाई स्वीकार्नुहोस्, तपाईंलाई सबैले स्वीकार्ने छन् ।

अहिले धर्ममा यत्रो ठूलो क्षति पुर्याएर आआफ्ना  हनुमानहरू भिडाउने महारजाहरूसंग विवेक छ भने फेरि पनि आग्रह छ, " हारे से होए जीत" ।

प्रणाम ।

१ जून, २०२५ 

ब्यागे, सुटकेशे, डोरी लाहुरे र झोले

मेरो स्कुल चार किलोमिटर टाढा थियो। तराईको गर्मी, कापी किताब हातमा बोकेर हिँड्यो भने त पसिनाले एकै दिनमा सखाप हुन्थ्यो। दिदीहरूले उनको धागो किनेर ल्याएर कुरुसले झोला बुनिदिनुहुन्थ्यो। बच्चादेखि नै त्यही झोला बोक्यौँ हामीले । रुमाल त थाहै थिएन। त्यही झोलामा पसिना पुस्थ्यौं । कहिलेकाहीँ पाईन्ट फाटेपछि हाफ पाइन्ट बनाइन्थ्यो। हाफ पोइन्ट पनि फाटेपछि त्यसैको झोला सिलाइदिनुहुन्थ्यो।

बिदाको दिन झोलामा हालेर गुन्द्रुक सिन्की र फलफुल बेच्न हटियामा जान्थ्यौं। फर्कदा नुन र मसलाहरु लिएर फर्कन्थ्यौ । 

१४ किमी टाढाको कलेज साइकलमा धाउँथ्यौ। एउटा रेनकोट (होम र खड्गले छाता बोक्थे), नोटबुक र किताब झोलामा हालेर हिड्नु पर्थ्यो । फर्कदा कहिलेकाहीँ त्यो झोलामा नुन र केही सौदा पनि किनेर ल्याउनु पर्थ्यो । 

पछि मैले शिक्षक हुने मौका पाएँ। स्कुल टाढा थियो। मुस्किलले थोत्रे साइक किनेँ। अनि आफ्नो नोटबुक, खाजा केही किताबहरू आदि बोक्न झोला नै चाहिन्थ्यो। 

अहिले पनि बिहानै मर्निङ वकमा निस्कँदा गोजीमा सानो झोला हालेको हुन्छ। साग सब्जी किनेर ल्याउनलाई। कतै हिँड्नुपर्दा एउटा झोलासँगै हुन्छ। 

 म आठ कक्षा पढ्दा दार्जिलिङ तिरबाट गाउँमा एकजना दाई आउनुभएको थियो। उहाँले अनौठो खाले झोला बोक्नुभएको थियो। मैले त्यतिखेर थाहा पाएँ। त्यो अनौठो झोलालाई ब्याग भन्दा रहेछन्। 

सायद त्यसै ताका हुनुपर्छ हामीले कुनै हिन्दी फिल्म हेरेका थियौँ। त्यसमा अमिताभ बच्चनले चारपाटे अनौठो झोला बोकेका थिए । त्यसलाई सुटकेस भन्दो रहेछ। त्यतिखेर मलाई लाग्थ्यो म पनि जागिर खाएर ब्याग र सुटकेस किन्छु। पछि किनियो पनि ।

दिदीहरूको विवाह भएपछि घरमा झोला बुन्ने मान्छे भएन। मेरी ठुली छोरीलाई स्कुल हाल्ने समयमा मैले राम्रो झोला सिलाउन लगाएको थिएँ, धाउँदा धाउँदा सूचिकारले एक महिनामा बल्ल दियो। तर मेरी श्रीमतीले ब्याग नै किन्दिनु पर्ने रहर गरिन्। पहिलोपटक ब्यागले हाम्रो घरमा प्रवेश पायो। ब्याग त कति सजिलो ! बजार गयो, किनो, ल्यायो - पर्खनै नपर्ने। वरिपरि फस्नर, केही सामान नहराउने ! सामान्य पानी पर्दा पनि भित्रको सामान नभिजाउने । त्यसपछि मेरा छोराछोरीले ब्यागमै स्कुल कलेज पढे। अहिले उनीहरू मेरो झोलालाई घृणा गर्छन् । त्यो झोला नबोल्नु, ब्याग बोक्नु पर्छ, इज्जत जान्छ भनेझैं गर्छन् । श्रीमतीजी पनि थैली बोक्दिनन्, पर्स बोक्छिन् । मेरो बिहे भएपछि पर्स पनि घरभित्र छिरेको छ। पछि मलाई पनि सजिलो भयो ३० रुपैयाँमा एउटा पर्स किने।

अहिले शहरका कुनै स्कुलमा झोला छैन, ब्याग छ । गाउँका पनि सामुदायिक विद्यालयमा अझै झोला देख्न पाइन्छ। तर बोर्डिङमा सबै ब्याग छ। गाउँमा पनि झोला बोकेर स्कुल पठाउँदा "खिसीट्युरी गर्छन्, त्यसैले ब्याग किनेको" भनिन् आइत मायाले ।

पहाड कुना कन्दारामा अझै पनि हाम्रा आमाबुवा, हजुरबुवा, हजुरआमाहरू झोलामा नै छन्। मेरो जीवन आज पनि झोला कै वरिपरि छ । 

मेरो बुवा कतै जानु भन्दा अगाडि झोला टकटक्याएर सफा पार्नुहुन्थ्यो। बुवाले झोला टकटक्याएपछि हामी उहाँ हिड्न लाग्नुभएको थाहा पाउथ्यौ। कृष्ण धरावासीले झोलामा सती प्रथा पोको पारिदिए । 

केहीपछि मेरो एक आफन्ती भाइ वैदेशिक रोजगारीमा अरब गएर फर्कियो। उसले आफ्नो जिटी गुम्टा डोरीले मज्जाले बाँधेर ल्याएको रहेछ। पछि मैले कतै कसैले लेखेको भेट्टाएँ । वैदेशिक रोजगारीमा गएर परिवार पाल्ने र नेपाल नै फर्किएर आउने हाम्रा नेपाली युवाहरू त "डोरी लाहुरे" रे । 

मेरो समाजको डिएनएमा बसेको झोलालाई आज हेय र अपमानको दृष्टिले हेरिन्छ। अहिलेको नयाँ पुस्ताले झोला शब्द सुन्यो भने हाम्रो जिन्दगी बुझ्दैन, उसले गाली बुझ्छ । रोजगारीको लागि खाडी जानेलाई डोरी लाहुरे भनेर सम्बोधन गर्छ । यस्तो अपमान सिकाउने अधिकार तिमीलाई कसले दियो?

संसारभरिका शक्तिहरू लागेर हाम्रो भाषा, धर्म, संस्कृति, जातीय सद्भाव, सामाजिक प्रेम र सहिष्णुता मास्न कम्मर कसिरहेको समयमा झोला पनि त्यसको प्रहारको केन्द्रमा पुगेको छ। मानिसहरू अमेरिका बसेर नेपालको झोलालाई गाली गर्न थालेका छन्। दाह्री पालेर विष छर्ने स्कुल व्यवसायी कविज्यूहरू झोलामा हुर्किनु पर्दाको बाल्यकाल सम्झेर घृणाले छटपटिएको देखिन्छ।

कसैलाई राजनीति गर्नुहोला, कसैलाई विरोध गरेर राजनीतिमा स्थापित हुनुहोला, कसैलाई विष भरेर हिरो भएर निस्कनुहोला, कसैलाई भ्यू बटुल्नुहोला, कसैलाई फलोअर बढाउनुहोला,  कसैलाई साँच्चै नै वितृष्णाले निराशा बनाएको होला, कोही साँच्चै नै विद्वान भएर आउनुभएको पनि होला। जे भएपनि झोला तपाईहरुको अपमान र प्रहारको केन्द्र बन्नु हुँदैन। झोला एउटा आदर्श औजार हो, झोला हाम्रो जीवन पद्दति हो । झोलाको विरोध गर्नेहरू वा झोलालाई पेवा बनाउनेहरु कसैलाई पनि समयचक्रले माफ गर्ने छैन। 

तपाईँ ब्यागे बन्नुहोस् । तपाईं सुटकेसे बन्नुहोस्। तपाईँ पर्से बन्नुस् । हामीलाई आपत्ति छैन। तपाईँ हामी सबैका पुर्खा झोले नै हुन् । हाम्रो झोलालाई तपाईंको षड्यन्त्रको औजार नबनाउनुस्। हाम्रा पुर्खाको बाध्यतालाई घृणा नगर्नुस्। झोलाको सामाजिक बहिष्करण र अपमानको यो श्रृङ्खला आजै टुङ्ग्याइदिनुस्।

३ जुन, २०२५

राधेराधे, भक्तपुर ।

विदेशीको ऋण तिरौं सरकार।

 संसारका विकसित मुलुकहरूमा ब्याजदर ०.५ देखि ३%को हाराहारीमा छ। ती विकसित देशहरूले हाम्रो जस्तो विकासन्मुख अथवा विकासशील राष्ट्रहरूलाई सस्तो ब्याजदरमा पैसा दिन्छन्। उनीहरूको सस्तो ब्याजदर करिब २% जस्तो पर्न आउँछ। हामीले ऋण तिर्दा डलरमा तिर्नुपर्छ। सन् १९७५ मा एक अमेरिकी डलर किन्न नेपाली आठ रुपैयाँ पर्थ्यो। आज १४० रुपैयाँले मात्र १ डलर आउँछ। अर्थात् औसतमा प्रतिवर्ष ५.९%का दरले हाम्रो मुद्रा सानो हुँदै जान्छ। वा विदेशले ० दशमलवमा दिएको ऋण पनि ५.९% पुग्न जान्छ। त्यसैले वैदेशिक ऋणहरु २% को भनिए पनि ८ देखि माथि कै लागतमा पुग्छन् । त्यसैले उनीहरूलाई आफ्नै देशमा ३ प्रतिशतमा लगानी गर्नुभन्दा हाम्रो जस्तो देशमा ल्याएर शून्य प्रतिशतमा लगानी गर्नु कता हो कता फाइदा हुन्छ ।

यो ८% ब्याजदर दिने हो भने अहिले नेपालीले सरकारलाई प्रशस्त पैसा दिन सक्छन्। आन्तरिक ऋण उठाएर सम्पूर्ण विदेशी ऋण तिर्ने यो सुवर्ण अवसर हो। नेपालीलाई तिरिएको ब्याजले यही नै मनिमल्टिप्लायरको काम गर्छ। तर विदेशीलाई बुझाएको पैसा कहिले फर्कँदैन। नेपालीहरूले लगानी गर्ने ठाउँ नपाइरहेको अवस्थामा सरकारले वैदेशिक ऋणलाई आन्तरिक ऋणमा रूपान्तरण गरोस्। 

ऐतिहासिक विनिमय दरको आधारमा अमेरिकी डलरको बराबरमा नेपाली रुपैयाँको क्षयीकरण तल हेर्नुस्।

१९७५ सालतिर: ~८ रुपैयाँ = १ डलर

१९८५: ~१२ रुपैयाँ = १ डलर

१९९०: ~१६ रुपैयाँ = १ डलर

२०००: ~६८ रुपैयाँ = १ डलर

२०१०: ~७३ रुपैयाँ = १ डलर

२०२०: ~११८ रुपैयाँ = १ डलर

२०२५: ~१४० रुपैयाँ = १ डलर

(स्रोत: नेपाल राष्ट्र बैंक, विश्व बैंक, FRED)

५० वर्षको अवधिमा रुपैयाँ डलरको तुलनामा कति अवमूल्यन भयो भनेर औसत दर निकाल्न CAGR (Compound Annual Growth Rate) सूत्र प्रयोग गरिन्छ:

शुत्र = {(अन्तिम वर्षको दर÷ सुरुवाती वर्षको दर)^(१÷वर्ष सङ्ख्या)}-१

= {(१४०÷८)^(१÷५०)}-१

= ५.९%

यहाँ,

• सुरुवाती वर्षको दर (१९७५ मा ~८ रुपैयाँ/डलर)

• अन्तिम वर्षको दर (२०२५ मा ~१४० रुपैयाँ/डलर)

• वर्ष संख्या (५० वर्ष)

विगत करिब ५० वर्षमा, नेपाली रुपैयाँ अमेरिकी डलरविरुद्ध वार्षिक औसत झण्डै ५.९% ले अवमूल्यन भएको छ।

त्यसैले, हामीलाई सहयोग गरेजस्तो गरेर विदेशीले असाध्यै राम्रो मुनाफा लगेका छन्। अब आफ्नै देशका नागरिकले लगानी गरुन्। विदेशीको ऋण तिरौँ सरकार ।

अपराधी ड्रेस

करिब तीन वर्षअघिको कुरा हो। मैले सञ्चयकोषको ऋण तिरेर धनी पुर्जा फुकुवा ल्याएको दुई वर्ष लागेको थियो। व्यवहार मिलाउन फेरि ऋण आवश्यक पर्यो । एउटा वाणिज्य बैंकमा पुर्जा धितो राखेर श्रीमतीजीले ऋण लिने सम्पूर्ण व्यवस्था मिलाइयो । धितो रोक्का राख्न जिल्ला मालपोत कार्यालय भक्तपुर गयौं। दिनभर के के मा अल्झाएर घुमाइयो । अनि अफिस छुट्टी हुने बेलामा आएर लेखनदास भन्छन् "सरको सन्चयकोषबाट रोक्का राखेको रहेछ । फुकुवा पुर्जा नल्याई हुँदैन भन्छ।"

मेरो धनी पुर्जामा नै कर्मचारी सञ्चय कोषले नै फुकुवाको छाप लगाइदिएको थियो। हामी उपभोक्तालाई त्यो छाप भए पुगिहाल्यो । प्रशासनिक कुरा के थाहा र? कसैले केही भनेको पनि थिएन । कर्मचारी सञ्चय कोषको कर्मचारी आफै आएर मालपोतमा फुकुवाको सबै काम गरिदिनुभएको थियो त्यो बेला । 

मैले पुर्जामा फुकुवाको छाप देखाएँ। नागरिक एपमा कर्मचारी सञ्चय कोषमा ऋण नभएको विवरण देखाएँ, पटक्कै सुनवाई भएन । सञ्चय कोषबाट फुकुवा पत्र नल्याई कुनै हालतमा मेरो जग्गा बैंकको नामबाट रोक्का नहुने बताइयो। मैले दुई वर्ष अगाडि लिएको फुकुवाको कुनै अर्थ छैन, त्यहाँ रेकर्ड छैन ।

मैले त्यो दिन मात्र बिदा लिएको थिएँ। पर्सिपल्टदेखि मेरो एक हप्ता महत्वपूर्ण फिल्ड भ्रमण थियो। यो बीचमा मैले ऋणको सबै व्यवहार मिलाइसक्नुपर्ने थियो। 'कर्मचारीको विवशता कर्मचारीले नै बुझ्छ ' भनेर मैले मालपोतका कर्मचारीलाई यो कुरा सुनाएँ, अनुरोध गरेँ। उनीहरू झन् दृढ हुँदै गए । 

मेरो लेखनदास छटपटीरहेका थिए । उनलाई यस्ता धेरै काम गर्नु थियो । मेरै एउटा काममा अल्झिएर बस्ने फुर्सद सायद थिएन । भित्र पसे, कर्मचारीसँग के सल्लाह भयो, बाहिर आएर मलाई कानमा बिस्तारै भने, "सर मैले पाँचै हजारमा मिलाएँ। यो लफडा नराखौं । सरको नागरिकता नम्बरमा पनि नौ र एक उस्तै देखिँदो रहेछ। त्यो लफडा झिके भने झन् गाह्रो पर्छ । बरु यति पैसा दिएर मिलाइहालुँ ।" 

मेरो अफिसको ड्रेस पनि निलो कोट-पाइन्ट र सेतो सर्ट नै हो। अचेल हरेक दिन अफिस जाने बेलामा यो ड्रेस लगाउँदा आफैंलाई अपराधी झैँ लाग्छ।


राधेराधे, भक्तपुर

१८ भाद्र, २०८२

इजरायल जाने बैठकको सूचना

राति ११ बजे कुनै प्रहरी अधिकृतको फोन आउँछ भने जोसुकैलाई विभिन्न शङ्का आशंका जन्मन्छ नै । ८२ साल भदौ १८ गते राति ११ बजे मलाई प्रहरी वरिष्ठ नायब निरीक्षक श्री बिनोदविक्रम सेनको whatsappबाट फोन आयो। केही वर्षअघि विनोदजी नेपालस्थित इजराइली राजदूतका सेक्युरिटी अफिसर हुनुहुन्थ्यो । हाम्रो राम्रो चिनजान थियो। मैले निन्द्रामै फोन उठाएँ। 

उताबाट एक अङ्ग्रेजी बोल्ने व्यक्ति बोले," शलोम ! म इजरायली हो। विनोद अहिले मसँगै छन् । तपाईँहरूले साना किसान विद्यार्थीहरूलाई इजरायलमा कृषि learn and earn program मा पठाउनुभएको राम्रो काम हामीलाई जानकारी छ। त्यो विषयमा तपाईंसँग केही कुरा गर्न सक्छु?"

वास्तवमा यो एउटा राम्रो कार्यक्रम थियो र केही वर्षदेखि बन्द भएको थियो। इजराइली राजदूतावाससँग एकाध पटक यो विषयमा कुरा पनि भएको छ। मलाई जिज्ञासा लाग्नु स्वाभाविकै थियो। 

मैले कार्यक्रमकै बारेमा थप बुझ्न चाहेँ, उसले "यही विषयमा कुरा गर्न पर्ने भएकोले एउटा बैठक आयोजना गरेको छ। तिमीले समय दिन सक्छौ?" भनी सोध्यो ।

"मैले हुन्छ नि! बरु कहिले बस्ने हो? अफिसमा आउनुस्" भने ।

खासमा मलाई मेसेन्जर वा whatsapp जस्ता साधनहरूमा फोन गर्न त्यति मन लाग्दैन । सेलफोनकै कुरालाई बढी महत्व दिन्छु । त्यसैले मैले भने, "तिमी मेरो सेलफोनमा कुरा गर न! यही नम्बरमा मेरो सेल फोन छ त ।" मलाई लागेको थियो ऊ नेपालमै छ । 

उसले तत्कालै भन्यो, "म इजरायलमा छु। त्यसैले whatsapp मा गरेको । किन केही आपत्ति छ र?"

"अनि मिटिङ कसरी गर्ने त?"

"जुम मिटिङ गर्ने, भर्चुअल्ली।"

मित्र विनोदलाई मैले केही दिन अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी गर्दागर्दै भेटेको थिएँ। उनको इजरायली एम्बेसीबाट सरुवा भएको धेरै भइसकेको थियो। अहिले पनि कसरी इजरायलीसँग कनेक्सन हुन्छ! मलाई अलि चिसो पस्यो । मैले कुरा मिलाएर उसलाई भने,"एकपटक विनोदलाई दिनुस् न।"

उसले एकछिन है त भनेर गयो। र सानो सन्नाटा पछि 'उनी इमिग्रेसनमा बिजी रहेछन्, एकछिनपछि दिन्छु ल !' भन्यो।

फेरि बैठक कै विषयमा कुरा अगाडि बढ्यो । यसभन्दा अघि हुने बैठकमा एम्बेसी आफैंले बैठक आयोजना गरेको हुन्थ्यो। अहिले नचिनेको इजरायलीले बैठक आयोजना गर्दैछ। हामी फेरि इजरायल एम्बेसीको अनुपस्थितिमा यस्ता विषयहरूमा चर्चा गर्दैनौँ। त्यसैले मैले उसलाई सोधेँ, "बैठकमा अरु को को हुन्छ?

उसले भन्यो, "दुईटै देशका परराष्ट्रका कर्मचारीहरू हुन्छन्, अनि अनुभवीको रुपमा तिमीलाई सहभागी गराएको ।" 

"इजरायली राजदूतावासको कोही हुँदैन?" मैले जिज्ञासा राखेँ।

उसले उस्तै भद्र र शालीन तरिकाले भन्यो, "त्यो विषयमा मलाई थाहा भएन, टिमलाई थाहा होला। सोधेर भनौँला नि!" उसले मेरा केही इजरायली मित्रहरूको नाम पनि बतायो। 

भोलि अफिस सकेर ५ बजे जुम मिटिङ बस्ने कुरा भयो। मैले, "हुन्छ, जुमको लिङ्क र पासवर्ड पठाउ" भनें ।  

उसले भन्यो, "सरी तिमीलाई थाहा छँदैछ, इजरायली सेक्युरिटी अलि फरक छ। पहिला तिम्रो सेलफोनमा म एउटा कोड एसएमएस गर्छु । त्यो कोड कपी गरेर यही whatsapp मा मलाई पठाइदेउ । त्यसो गरेपछि मात्र तिम्रो एक्सेस भेरिफाई हुन्छ।" 

इजरायलको सेक्युरिटी सिस्टम अलिक कडा नै हुन्छ। मलाई त्यो राम्ररी थाहा छ। 

तर म के कुरामा सोचमग्न भएँ भने एक महिना अघि राजदूतावास जाँदा पनि विनोदजी सेक्युरिटीमा थिएनन् । शान्ति सेनामा प्रहरीलाई पठाउने ठाउँ पनि इजरायल होइन। विनोद चाहिँ कसरी इजरायल पुगे त ? फेरि यो मान्छेसँग उनको कसरी कनेक्सन भयो? विनोदलाई फोन देउ भन्दा किन दिँदैन? कतै यो फ्रड त होइन? तर, हाम्रो लर्न एन्ड अर्न कार्यक्रम बारेमा यति धेरै जानकारी राख्छ भने यो कसरी फ्रड हुन्छ? फेरि उसले त बैठक बस्ने भन्दै छ। आss! होइन होला। मेरा मनमा यस्तै कुराहरू खेलिरहे ।  

त्यसैबेला मलाई एसएमएस आयो, र whatsapp मा फोन पनि आयो, "तिम्रोमा एसएमएस अझै आएको छैन?"

"भर्खरै आयो । मैले हेरेकै छैन।"

"ल ! तुरुन्त त्यो कपी गरेर whatsapp मा पठाउ त  !"

सायद मैले टाइम लगाए होला । उसले अलिक हतारो गरेर भन्यो, "ल कपी गर्नु परेन। त्यो कोड नम्बर चाहिँ बताउ । "

"मैले एसएमएसमा के लेखेको छ पढ्दै पढिन। नम्बर मात्र हेरें । 6 अङ्कको नम्बर रहेछ। मैले एसएमएस हेर्दै whatsapp मा फोन गर्दै गर्नु थियो। तर बिरामी भएर होला सायद, मलाई त्यो 6 अङ्क हेर्ने बित्तिकै याद भएन। सुरुको तीन वटा अङ्क भनिदिएँ  । बाँकी तीनवटा हेर्नलाई एसएमएस खोल्दै थिएँ, ऊ अलिक झर्किएर बाँकी तीनवटा नम्बर भनिहाल्न मलाई अत्यायो । मैले पनि आतिएर उसलाई नम्बर भनेकी झैँ भयो ।

त्यसबेला म झसङ्ग भए! म को मान्छेलाई नम्बर दिँदैछु? एसएमएसमा के लेखेको थियो? नपढी किन विश्वास गर्दैछु? कतै यो फ्रड त होइन? 

एसएमएस राम्ररी पढेँ, यस्तो लेखेको रहेछ-

Your WhatsApp account is being registered on a new device

Do not share this code with anyone

Your WhatsApp code: 7xx-xxx

मलाई ब्रह्माण्ड नै घुमे जस्तो भयो। यत्रो बेर भलाद्मी कुरा गरेर त्यो मान्छे त मेरो whatsapp ह्याक गरेर फ्रड गर्न खोजिरहेको रहेछ। म त ह्याकरद्वारा डिजिटल एरेस्टमा परिसकेको रहेछु। मैले फोन काटिदिएँ। के गर्ने, कसो गर्ने केही सोच्न सकिन ।

मैले विनोदजीलाई सेलफोनमा कल गरेँ। उहाँको फोन उठेन । रातको सायद साढे १२ बजिसकेको थियो। त्यसैबेला ह्याकरले फेरि फोन गरेर बाँकी तीनवटा नम्बर तुरुन्त भन्न आग्रह गर्यो।

धन्न मैले पुरै अङ्क बताएकै रहेनछ भन्ने कन्फर्म भयो । अझसम्म मेरो फोन सुरक्षित रहेछ । अब मलाई फरक जोश आयो। मैले त्यसलाई थर्काएँ, "मलाई तँ ह्याकर होस् भन्ने थाहा छ । अघिको code नम्बर पनि मैले गल्ती भनेको हो। तँलाई कुरा गरेर अल्झाएर तेरो लोकेसन ट्रेस गर्न खोजेको हो। अब तँ भएकै ठाउँमा एकछिनमा पुलिस आइपुग्छ। तयार भएर बस ।" 

त्यसले मलाई अङ्ग्रेजीमा यति धेरै गाली गर्यो, मैले सुनिरहें। खै मैले काटेँ कि उसले काट्यो फोन, थाहा भएन।

त्यसैबेला विनोदजीको फोन आयो। मैले सबै घटना सुनाएँ। उहाँको दुई दिन अगाडि नै whatsapp ह्याक भएको रहेछ। त्यसबाट विभिन्न मानिससँग पैसा माग्ने र कागजात माग्ने गर्दो रहेछ। त्यो सूचना उहाँले फेसबुकमा राख्नुभएको रहेछ। साइबर ब्युरोमा उजुरी पनि गर्नुभएको रहेछ। 

केही दिन अगाडि मात्र मेरो अति नजिकको नातेदारको ठूलो रकम यसरी नै ओटिपी मागेर चोरी गरेको थियो । म आफै साइबर ब्युरो र बैंकहरूसम्म अपराधी पत्ता लगाउन लागि परेको थिएँ। "ओटपी बताएर कस्तो लापरवाही गरेको" भनेर उहाँहरुसँग रिसाएको पनि थिएँ। त्यस्तो अर्ती उपदेश दिने "म" ! अहिले आफैँ ह्याकरको डिजिटल एरेस्टमा परि सकेको थिएँ !

मैले सुतिरहेको छोरालाई उठाएँ र सबै कुरा बताएँ । उसले मेरो whatsapp, facebook, instagram, viber, google account  सबै कहीँ कतै अन्य डिभाइसबाट login त भएको छैन? भनेर चेक गर्यो । अनि सबैमा 2 स्टेप-भेरिफिकेसन सेट गरिदियो । अब म सुरक्षित छु, भन्ने लागेको छ ।

सावधान हुनुहोस्। तपाईँको मोबाइलमा आएको कुनै पनि कोड कसैलाई सेयर नगर्नुस्। आफू कन्फर्म हुन सकिएन भने पख्नुस्, ढिला गर्नुस्, कोही अर्को जान्नेलाई सोध्नुस्। दुनियामा त्यस्तो हतारै गरिहाल्नुपर्ने गरी कुनै code तपाईंको मोबाइलमा आउँदैन। आए पनि कसैले नदिँदैमा पहाड खस्दैन ।


राधेराधे, भक्तपुर

२०८२/५/१९

Saturday, May 24, 2025

टोलुङ्ग

पहाडी भूभागमा दहीबाट मोही निकाल्न र त्यसपछि घिउ झार्न प्रयोग गरिने परम्परागत उपकरणको रुपमा ठेकी मदानिको प्रयोग त प्राय: सबैलाई थाहा हुन्छ । तर त्यही कामामा प्रयोग हुने "टोलुङ्ग" भने नयाँ लाग्न सक्छ । कतैकतै "तोरलुङ" भनिने यसलाई भुटान तिर "तोलुङ", पूर्व २ नम्बर तिर "घ्वाक" वा "घ्वाँग" वा "घ्वाङ", तामाङ्ग शेर्पाले कुनै ठाउँमा "दोङ्ग" वा अन्य थरीथरीका नामले पनि चिनिन्छ । सिक्किम दार्जिलिङ कालेबुङ्गतिर टुलुङ्ग भनिन्छ भने मुस्ताङ्ग, मनाङ, डोल्पा, मुगुका शेर्पाले भोटे चिया बनाउन यस्तै भाँडो प्रयोग गर्छन् जसलाई उनीहरू "जोदुङ्ग" भन्छन्। यो प्रविधि भोटबाट हिमाली पहाडी भेगमा विस्तार भएको देखिन्छ ।

करिब ३ फिट उचाइको बनाइने टोलुङ एउटा अग्लो, माथिदेखि तलसम्म लगभग बराबर गोलाइ भएको, खोक्रो ढुङ्ग्रो (सिलिन्डर) जस्तो हुन्छ। यो सामान्यतया सल्लो, खोटो, देवदार वा अन्य बलियो र टिकाउ स्थानीय काठ वा भालु बाँसको ढुंग्रोबाट बनाइन्छ। यसको भित्री भाग चिल्लो पारिएको हुन्छ। बाहिरी भाग बलियो होस् भनेर ठाउँठाउँमा फलाम वा पित्तलको काम्रोले बेरिएको हुन्छ।

एउटा लामो डण्डाको तल्लो भागमा काठकै गोलाकार चक्का जडान गरिएको हुन्छ। यो चक्का ढुङ्ग्रोको भित्री व्यासभन्दा थोरै सानो हुन्छ ताकि ढुङ्ग्रोभित्र सहजै तल-माथि गर्न सकोस् जसले दहीलाई माथि-तल गर्दा हावा मिसिन र राम्ररी मथिन मद्दत गर्छ । डण्डाको माथिल्लो भाग हातले समात्न मिल्ने गरी बनाइएको हुन्छ।

टोलुङमा दहीबाट मोही र घिउ निकाल्ने प्रक्रिया  यसरी गरिन्छ:

१. दही भर्ने: पहिले जमेको बाक्लो दहीलाई टोलुङको खोक्रो ढुङ्ग्रोभित्र भरिन्छ।

२. डन्ठा घुसाउने: त्यसपछि गोलाकार चक्का जोडिएको डन्ठालाई दहीले भरिएको ढुङ्ग्रोभित्र घुसाइन्छ। चक्का ढुङ्ग्रोको पिँधसम्म पुग्छ।

३. दही मथ्ने (ठेल्ने): डन्ठाको माथिल्लो भाग समातेर त्यसलाई लगातार तल-माथि ठेल्ने गरिन्छ। यसरी डन्ठाको टुप्पोमा रहेको गोलाकार चक्काले दहीलाई ढुङ्ग्रोभित्र तीव्र गतिमा माथि-तल, तल-माथि धक्का दिन्छ।

४. घिउ अलग हुने: डन्ठाको चक्काले दहीलाई यसरी ठेल्दै जाँदा दहीमा भएको चिल्लो पदार्थ (घिउ) विस्तारै एकै ठाउँमा जम्मा भएर बाक्लो ढिक्काको रूपमा माथि तैरिन थाल्छ। दहीको पानी जस्तो पातलो भाग (मोही) भने तलै रहन्छ।

५. घिउ निकाल्ने: जम्मा भएको घिउलाई हात वा चम्चाले सावधानीपूर्वक निकालेर छुट्टै भाँडोमा राखिन्छ। यसरी निकालिएको घिउलाई पछि तताएर शुद्ध घिउ बनाइन्छ।

६. मोही निकाल्ने: घिउ निकालिसकेपछि टोलुङमा बाँकी रहेको तरल पदार्थ नै मोही हो, जुन पिउन वा अन्य खानेकुरा बनाउन प्रयोग गरिन्छ।

दहीबाट घिउ निकाल्ने महि बनाउने आमरुपमा प्रयोग गरिने परम्परागत अर्को तरिका ठेकीमा मदानी डुबाएर नेतिले घुमाई दही मथ्ने विधि हो । आजकल मानिसहरूले टोलुङ र ठेकी मदानी बिर्सिसके झैँ लाग्छ। बिजुलीबाट चलाउन मिल्ने मिक्सर र महि पार्ने मेसिन प्रयोग हुन थालेपछि नयाँ पुस्ताले हाम्रा परम्परागत उपकरणहरू देख्न नपाउने अवस्था सिर्जना भएको छ । यसरी बनाइएको मोही र नाउनीमा मिक्सचर ग्राइन्डरको माइक्रोप्लास्टिक, लिड र मेटल भाँडोहरूमा हुने रियाक्सन र टक्सिसीटीको डर हुँदैन । स्वस्थ्य र विशुद्ध प्राकृतिक प्रक्रियाबाट तयार हुने गर्दछ। यसमा कुनै इन्धन, बिजुली र औद्योगिक उत्पादन प्रयोग नहुने भएकोले वातावरण मैत्री छ । यी विविध कारणले गर्दा कुनै समय फेरि हामी त्यही परम्परागत विधिमा फर्कनु श्रेयसकर हुनेछ ।

अहिलेलाई भने विभिन्न ठाउँमा यस्ता विलुप्त हुँदै गएका हाम्रा परम्परागत पहिचानहरूलाई जोगाउन अभियन्ताहरुले म्युजियम र सङ्कलन केन्द्रहरू बनाउन थालेकाछन् । यो एक सकारात्मक कदम हो ।

Friday, May 9, 2025

डडेलो बनेको झिल्को

"फलानालाई एड्स लाग्यो।"

"फलानो त ड्रग्समा लागेर बर्बाद भयो।"

हामीले समाजमा सुन्ने गरेका कुरा हुन् यी । अबको पाँच वर्षपछि प्रत्येक घरमा त्योभन्दा डरलाग्दो रोगले ग्रस्त बनाउँदैछ। त्यो रोगको नाम हो- डिजिटल एडिक्सन । यो रोग लागेपछि छुटकारा पाउन हालसम्म कुनै औषधि नभएकोले यसबाट बच्नु नै एक मात्र उपाय हो।

यो डरलाग्दो रोग के हो ? यसबाट कसरी बच्ने ? यसका लागि प्रत्येक अभिभावक, दम्पति, शिक्षक, विद्यार्थी, बालबालिकाले एकपटक "झिल्को" नामक नेपाली फिल्म हेर्नैपर्छ। आफ्नो परिवार तहस नहस भएको, आफ्ना बालबच्चा एडिक्ट भएको, हेर्न र सहन कसलाई मन हुन्छ? यो फिल्मले बेलैमा त्यसबाट बचाउन मद्दत गर्छ। 

त्यति मात्र होइन, यो सिनेमाले facebook र tiktok मा चम्किने लोभमा social influencer हरुले घर र बालबच्चा कसरी बर्बाद बनाउँछन्? युट्युबारहरुले भाइरल न्युज बनाउन कसरी सयौँ परिवार उजाड्छन्? सामाजिक अभियन्ता बन्ने आडम्बरले गर्दा कसरी समाज दूषित र परिवार विखण्डन पार्छन्? अहिले पुरानो पुस्ता सूचना प्रविधिको सङ्क्रमणकालमा छ ।  इन्टरनेटको रङ्गीन भर्चुअल दुनियामा  यो पुस्ता रमाइदिँदा बालबालिकाहरूमा यो रोग सहजै संक्रमण हुन पुगेको छ। यस रोगको प्रभाव वयस्कमा भन्दा बालबालिकाहरूमा असाध्यै तीव्र गति लिएर नराम्रोसँग पर्न पुग्छ। यसैलाई बोलचालको भाषामा डिजिटल एडिक्सन भनिएको हो। अनि यो रोगको उपचार औषधिले नहुने भएको हुनाले मानसिक सामाजिक व्यवहार नै डक्टर र अस्पताल हुने हो। म घरमा रोग बढ्दैछु भन्ने अभिभावकले नै बुझेको छैन भने बच्चाको उपचार कसरी गर्छन्? यो रोग हो भन्ने कुरा थाहा पाउन र स्वीकार गर्न पनि यो सिनेमा हेर्नैपर्छ।

यो रोगलाई मेडिकल ल्याङ्ग्वेजमा विभिन्न नामहरूबाट चिनिन्छ, जस्तै:  internet addiction disorder (IAD) वा Internet Addictive Behavior (IAB) वा  Dysfunctional Internet Behavior (DIB) वा Compulsive Internet Use (CIU) वा Pathological Internet Use (PtIU) वा Maladaptive Internet Use (MIU) । 

यस प्रकारको रोगलाई gaming disorder नाम दिएर WHO ले ICD-11 को खतरनाक रोगको सूचीमा समावेश गरेको छ।

यो "झिल्को" फिल्मको कथा सहज रुपमा बगेको छ, बुझ्नलाई कुनैWHO ले  झन्झट गरिरहनु पर्दैन । दर्शकले सोच्दै नसोचेको अनौठो घटना चमत्कार बनेर कथामा प्रवेश गर्दैन। परिवारका चार पुस्ता सँगै बसेर हेर्दा पनि किन्चित सर्माउनु पर्दैन। टिनएजरहरूले त बाबुआमासँग नै गएर यो फिल्म हेर्ने सल्लाह दिन्छु म। बजारका चलेका कलाकारहरूको स्टारडम खोज्ने रडाकोमा पनि पर्नु पर्दैन । फिल्म हेर्न गएका दर्शकले अप्रासङ्गिक गीत र नाचको झन्झट पनि सहनु पर्दैन ।

नेपाली समाजको कहाली लाग्दो सतीप्रथा को हु-बहु चित्रण गरेको "झोला"  फिल्म र लाखौं युवतीहरूलाई मृत्यु र नारकीय जीवन बाँच्न बाध्य पार्ने दाइजो प्रथालाई "भोर" फिल्मबाट पर्दामा उतारेपछि निर्देशक यादव कुमार भट्टराईले आफ्नो तेस्रो सिर्जनाको रुपमा झिल्कोलाई ल्याएका हुन्। अहिलेका समकालीन निर्देशकहरूमा उनमा जस्तो सामाजिक विषयप्रतिको गहिरो रुचि र उत्तरदायित्व बोध कमै पाइन्छ।

बाल कलाकार आयुषी ढकालको अकल्पनीय अभिनय, विशाल पोखरेल र वर्षा शिवाकोटीले बोकेका युट्युबर र टिकटकरको सजीव भूमिका, आदरणीय गुरु सुनिल पोखरेलको संघर्षरत बाबुको चरित्र अभिनयले बेजोड बनाएको यो फिल्म हेरुन्जेल प्रत्येक दर्शकले कहीँ न कहीँ आफू वा परिवारकै कथा पाउँछ र आफूलाई एउटा पात्र बनाएर फिल्मकै वरिपरि घुमाइरहन्छ।

समाजलाई अस्तव्यस्त बनाएको यो रोग विरुद्ध सामाजिक सचेतनाको लागि यो झिल्को नामक सिनेमालाई सरकारले नै प्राथमिकताका साथ प्रत्येक विद्यालयमा अभिभावकहरुसँग विद्यार्थी राखेर हेर्ने वातावरण बनाउन आवश्यक छ। प्रोत्साहनका लागि सरकारले कर छुट गरिदिने, शैक्षिक सामग्रीको रूपमा वितरण गर्ने, लगानी फिर्ता गरिदिने र निर्माता निर्देशक कलाकारहरूलाई पुरस्कृत गरिदिने गर्नुपर्छ।  

कुनै तरुनीको चोली उधारेको गीत छैन यसमा, कसैले किरा पर्नेगरी सराप्न सिकाएको छैन यसमा । न बिहे नै नगरी कौमार्य तोड्न उक्साएको छ । न फाइट छ न चमत्कार छ। सिधा जिन्दगी उतारेको छ, समाजको एउटा डरलाग्दो पाटोलाई उजागर गरेको छ -  यो फिल्मले। 

विद्यालयहरूसँग पनि अनुरोध गर्नै पर्छ। फिल्म बुझ्ने उमेरका सबै विद्यार्थीलाई आलोपालो गरी हलमा लगेर यो फिल्म हेराइदिनुहोस्। असल विद्यार्थी बनाउने तपाईंको जिम्मेवारीलाई यसले धेरै सजिलो तुल्याइदिनेछ।

स्वास्थ्य मन्त्रालय सञ्चार मन्त्रालय र अर्थमन्त्रालयको पनि ध्यान जाओस्। यो सिनेमा त प्रत्येक नागरिकले हेर्नैपर्छ ।

Friday, February 28, 2025

रास नृत्य

पूर्णिमाको रातभन्दा रास उज्याला
महारास रचाइ देउ गोविन्द काला।

वंशीमाथि औँला नाच्छन् मृग नाचे झैँ
धुन बज्छ ब्रह्माण्डको प्रेम साँचे झैँ
चाहिँदैन धन दौलत दुनियाँको चाला
धनभन्दा महाधन गोविन्द काला ।

मोर पङ्ख सजिएको शीर मुकुट
शान्ति पोख्दै झुमिरहेछ कुण्डल कृकिट
मणि रत्न सजिएको सुनको बाला
सुनभन्दा उज्यालो छन् गोविन्द काला।

घुम्रिएको कपालमा चन्द्रमाको खिप
मुहारकाे ज्याेति बल्याे संसारै धिपिक्क
अर्ध मुस्कान, गुलाबी ती ओठ भरिला
नागबेली चाल मिठाे गाेविन्द काला।

सोह्र श्रृंगार सजिएर राधा आएकी
घुम्टो ओढी नक्कल पारी रास गाएकी
गलामा छ मगमगाउँदो बैजन्ती माला
राधासँग रासमा छन् गोविन्द काला।

ग्वाल-बाल- गोपी नाचे, गाई-बाछा-चरी
फूल नाचे, रुख नाचे, वृन्दावनै भारी
आउ नाचौँ पूर्णेकाे दिन खेर नफाल
महारास रचाइ देउ गोविन्द काला।

२०८१/११/१७
राधेराधे, भक्तपुर।


Friday, December 13, 2024

१४ वर्षे बालकले शुरू गरेकाे गृह युद्ध

पश्चिम एशियाका टर्की, इराक, जोर्डन, इजरायल, लेबनान र भूमध्य सागरसँग सिमाना जोडिएको देश सिरियाको


क्षेत्रफल करिब १ लाख ८५ हजार वर्ग किमि र जनसङ्ख्या करिब २ करोड ५१ लाख छ । शान्त सिरिया कसरी गृह युद्ध र विश्वका शक्ति राष्ट्रहरुको युद्धकृडास्थल बन्न पुग्यो भन्ने कुरा प्रत्येक देशका सचेत नागरिक र नेताहरुले हेक्का राख्न जरुरी छ । 


कुरा सन् १९७० को हो । सिरियाको सुरक्षा निकायका एक उच्च अधिकारी 'हाफेज अल असाद' ले शैनिक विद्रोह गरेर सिरियाको सत्ता आफ्नो हातमा लिए । आफैलाई राष्ट्रपति घोषित गरेपछि क्रमशः संविधान, ऐन र कानुनहरुमा संशोधन गर्दै शक्तिशाली तानाशाह बन्न पुगे । दोस्रो विश्वयुद्ध पश्चातका यी दुई दशकहरु शितयुद्ध र तानाशाही साशनको युगको रुपमा चिनिन्छ । प्रजातान्त्रिक मुलुकहरुमा विपक्षीहरु पनि उत्ति नै शक्तिशाली हुने भएकोले शक्ति राष्ट्रहरुलाई कमजोर देशका शासकलाई हातमा लिएर मनमौजी गराउनु सजिलो हुन्थेन । त्यसैले हाफेजले तानाशाही चलाउँदा शक्ति राष्ट्रहरुलाई आपत्तिको विषय भएन । बरु कसले पहिला आफ्नो कठपुतली बनाउने भन्ने अमेरिका र रूशमा होड चल्नु स्वभाविक थियो ।


हाफेज सिया मुसलमान थिए । सिरियामा सियाको सङ्ख्या १६ प्रतिशतमात्र थियोे । त्यसैले ७४ प्रतिशत सुन्नी मुसलमान रहेको मुलुकमा हाफेज अल असादलाई राष्ट्रपति पद जोगाउनु चानचुने कुरा थिएन । उनी सुन्नीहरूसँग सदैव ससंकित र त्रसित रहन्थे । सुन्नी बहुल्य क्षेत्रहरूमा कठोर जासुसी सञ्जाल फिजाइएको थियो । विद्रोह उठ्न सक्ने सानोभन्दा सानो गल्ति पनि नहोस् भनेर सुरक्षा निकायलाई सजग राखेका थिए । ठूलो सङ्ख्यामा रहेका सुन्नी मुसलमानहरूबाट विद्रोह उठ्न नदिन र उठिहाले पनि तुरुन्तै दबाउन सबै किसिमका औजारहरू प्रयोग गरिएको थियो । प्रतिपक्षी आवाज दबाउन उनले कानुनमा व्यापक परिवर्तन र मिडियामाथि कडा सेन्सर सीप लागू गरे । सियाहरूलाई लाभ हुनेगरी विभिन्न निर्णय गरे । आफन्तलाई सेना र प्रशासनका मुख्य जिम्मेवारीमा राखेर तानाशाही किल्ल सुरक्षामा ढुक्क हुन खोजे । मुलुकका विभिन्न रोजगारी र अवसरहरुमा सियाहरुले मौका पाउँथे । सुन्नी र अन्य अल्पसंख्यकहरुलाई अन्याय गरेको महसुस हुन थाल्यो । यस्ता गतिविधिले शान्त सिरियामा आम जनताहरू विभिन्न गुटहरूमा केन्द्रित हुनु पर्ने वातावरण बन्यो । कुर्द, सुन्नी, क्रिश्चियन र अन्य अल्पसंख्यकहरुबीच जातीय र धार्मिक ध्रुवीकरणको माहोल बन्न थाल्यो । आन्तरिक बैमनस्य र फुट उत्पन्न हुन सुरु भयो । यसलाई बढ्न नदिन विकास र तानाशाहीको सन्तुलन मिलाएर हाफेजले चतुर साशकको रुपमा ३१ वर्ष एकलौटी शासन चलाए ।


सन् २००० मा हाफेजको मृत्यु भयो । बेलायतबाट आँखाको डाक्टरी पढेका छोरा 'बसर अल असद' लाई राष्ट्रपति बनाइयो । बेलायतको प्रजातान्त्रिक र उदार व्यवस्थामा हुर्किएका र पढेलेखेका असद आफूलाई उदार र प्रजातान्त्रिक देखाउन खोज्थे । तर, सत्तामा पुगेपछि विकासको आडमा तानाशाही व्यवस्था टिकाउने बाबुको पदचिन्हमा नै उनको पनि यात्रा मिसियो । 

प्रारम्भिक दिनमा उनको नीतिले लगानीकर्ताहरु आकर्षित भए । शिक्षा र सूचना प्रविधिमा गरेको प्रगतिले देखिन थाल्यो । उनले सत्ता सम्हाल्दा ताका सन् २००० मा १८ अर्ब ९४ करोड डलर रहेको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) सन् २०११ मा प्ुग्दा ६७ अर्ब ५४ करोड पुग्यो । जब कि यसै बीच सन् २००६ देखि सन् २०११ सम्म विशाल खडेरीका कारण अकल्पनीय अनिकालको समाना गर्नु परेको थियो । लामो समयदेखि तानाशाहीबाट आक्रान्त जनतालाई खडेरीले अझ ठूलो सङ्कटमा धकेल्यो । विस्तारै गरिबी, बेरोजगारी र असन्तुष्टिले चरम रुप लिन थाल्यो र युवा पुस्तामा आक्रोश र नैरास्यता बढ्न थाल्यो ।

यसैताका सिरियाका वरिपरिका तानाशाही सत्ताहरू धमाधम ढल्न थाले । जस्तै ः ट्युनिसियाका बेन अलि सत्ता छोडेर भागे, लिबियामा कर्णेल गद्दाफिलाई जनताले मारिदिए, इजिप्टका तानाशाह होस्नी मुबारकलाई जेल हालियो । यमन र जोर्डनमा समेत ठूला आन्दोलनहरू भइरहेका थिए । पश्चिम एसिया अर्थात् मध्यपूर्वमा भएको यस विशाल परिवर्तनलाई अरब स्प्रिङ भनेर चिनिन्छ । रे

डियो पत्रपत्रिका टेलिभिजन र सामाजिक सञ्जालमा सिरियालीहरूको राम्रो पकड थियो । छिमेकमा भएका अरब स्प्रिङ्गका विशाल सङ्घर्ष र परिवर्तनहरूबाट उनीहरु अनभिज्ञ थिएनन् । भित्रभित्रै आन्दोलित बनिरहेका सिरियालीको कुनै राजनीतिक सङ्गठन थिएन, जसले विद्रोहको नेतृत्व गरोस् । सिरियाका तानाशाह बसर अल असदलाई अरब स्प्रिङ्गको भूतले अझ बढी तर्साउँदै लगेको थियो । यो नाजुक समयमा सानो झिल्कोमात्र फैलियो भने विशाल डढेलो लाग्छ भन्ने उनमा डर थियो । मानिसलाई सङ्गठित हुन नदिन, विद्रोह गर्नेलाई सख्त सजाय दिएर अरुलाई तर्साउन असद प्रशासनले सकेका हतकण्डाहरु अपनाउन थाल्यो । जासुसी संयन्त्र र सैन्यसङ्गठनलाई अझ शक्तिशाली र डरलाग्दो बनाउँदै लगे । स्वभावैले यसको तारोको रूपमा सुन्नी समुदायहरू पर्दै गए । भित्रभित्रै गुम्सिएको राष्ट्र बाहिरबाट शान्त देखिन्थ्यो । अरब सबै जलिरहँदा पनि सिरियाको यो शान्तिलाई बाहिरका मानिसहरु उत्साहका साथ हेर्थे ।  

तर यस्तो शान्त देखिन सिरियाले त सन्सार नै हल्लाउने गृहयुद्ध र शक्ति राष्ट्रहरुको ताण्डव पर्खिरहेको रहेछ । यो नरसंहारको अनन्त डढेलोको सुरुवात भने सात कक्षामा पढ्ने एक १४ वर्षे किशोर ‘मुवाविया सियास्ने’ ले भित्तामा लेखेको ५ शब्दको एक वाक्यले गरिदियो । 


सिरियाको दक्षिणी भूभागमा इजरायलसँग सिमाना जोडिने ‘दारा’ भन्ने सहर पर्दछ । सोही सहरको एक विद्यालयमा मुवाविया सियास्ने भन्ने बालक अध्ययन गर्दथे । सन् २०११ फेब्रुअरी २२ तारिखका दिन उनले एउटा अपत्यारिलो तर विश्व इतिहासलाई नै नयाँ बाटो दिने घटनाको बीउ रोपिदिए । जसले गर्दा विश्वका महाशक्ति राष्ट्रहरू रुस, अमेरिका, इरान, टर्की र संसार हल्लाउने आतङ्ककारी संगठनहरू आइएसआईएस आदि आम्नेसाम्ने भएर उभिए । न कसैले विजय प्राप्त गर्न सक्यो, न त ६ लाखभन्दा बढी मानिसहरू मारिसक्दा पनि विगत २३ वर्षदेखि चलेको गृहयुद्ध कसैले रोक्न सक्यो ।


बालक मुवाविया सियास्नेले आफ्ना १४ जना साथीहरूसँग खेल्ने क्रममा विद्यालयको भित्तामा एक लाइन (ग्राफिटी) लेख्न पुगे । त्यो लाइन थियो, “अब तिम्रो पालो हो, डाक्टर” (Next it's your turn, Doctor! ) ।

जनविद्रोहले अरब दन्किरहेको बेला, एक से एक खुङ्खार तानाशाह ढलीरहेको बेला, डाक्टरलाई (बसर अल असद आँखाका डाक्टर भएकोले उनलाई डाक्टरमात्र पनि भन्ने गरिन्थ्यो) नै लक्षित गरि लेखिएको यो नारा देख्नासाथ त्यहाँका सैनिकहरूको माथा तात्ने नै भइहाल्यो । उनीहरूले तत्काल त्यो लेख्ने व्यक्ति पत्ता लगाउन जासुसी संयन्त्र र सेनाहरू प्रयोग गरे । मुवाविया र उसका १४ जना साथीलाई उक्त भित्ते (ग्राफिटि) लेखन को आरोपमा प्रहरीले पक्राउ गरी राजनीतिक सुरक्षा विभागमा बन्दी बनायो । 


पक्राउ परेका बालबच्चाको अवस्था अभिभावकहरुले थाहा पाउन सकेनन् । 

नजिकका प्रहरी चौकी र सुरक्षा निकायहरूमा आफ्ना बालबच्चाको सूचना पाउन धाउँदा सैनिक अधिकारीले भने, “यी केटाकेटीहरूलाई बिर्सिदेउ । घरमा जाउ र अरु बच्चा पाउ । यदि तिमी सक्दैनौ भने तिम्रा श्रीमतीहरूलाई यहाँ पठाउ, हामी बालबच्चा हुने बनाईदिन्छौँ ।” 


सैनिकको यो व्यवहार र भनाई सामाजिक सञ्जालमा भईरल हुन पुग्यो । एउटा सुन्नी समुदायलाई सिया शासकले प्रयोग गरेको यो निकृष्ट वाक्य र नाबालकलाई पक्राउ गरेको घटना कुनै पनि समुदायको लागि पाच्य भएन । मानिसहरूमा आक्रोश फैलियो । दाराका स्थानीय जनता भेला भएर शान्तिपूर्ण विरोध गर्न थाले । सैनिक तानाशाहलाई उग्र विरोध ग¥यो भने अझ बढी अत्याचार गर्छ भन्ने त्यहाँका जनताहरुलाई थाहा थियो । त्यसैले उनीहरूले विरोध प्रदर्शनलाई अत्यन्त शान्तिपूर्ण र संयमित बनाई राखे । उनीहरूको एउटै माग थियो आफ्ना १५ जना बालबालिकालाई सकुशल रिहाई गराउने ।  


तर सैनिक शासकले भने आन्दोलनमा उत्रदा के हालत हुन्छ भन्ने कुरा देखाएर जनता तर्साउनु थियो । अगाडि बढेर विद्रोह गर्ने आँट कसैले नगर्ने बनाउनु थियो । बालबालिकाका अभिभावक र दाराका शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयलाई विभिन्न आरोप लगाएर समाउँदै सेनाले जेलमा हाल्न र यातना दिन थाल्यो । असद प्रशासनको यो ज्यादति सामाजिक सञ्जालमार्फत देश भरि नै फैलिँदै गयो । १८ मार्चमा बच्चाहरूको रिहाइ, भ्रष्टाचारको अन्त्य, र राजनीतिक स्वतन्त्रताको माग गर्दै दारा सहरमा एक भव्य प्रदर्शन गरियो । यो प्रदर्शनमा सुरक्षा बलले गोली चलायो र कम्तिमा २ जनाको मृत्यु सँगै सयौँ घाईते भए । १९ मार्चमा मृतकको शवयात्रा लिएर मलामी निश्किएका २० हजारभन्दा बढी प्रदर्शनकारीमाथि पुनः गोली चलाईयो । ६ जनाभन्दा बढीको मृत्यू र सयौँ घाईते भए । यसको विरोधमा २० मार्चमा निश्किएको विशाल भिडले हिंसात्मक प्रदर्शन ग-यो । प्रदर्शनकारीहरूले स्थानीय अदालत भवन र बाथ पार्टी (सत्तारुढ दल) को मुख्यालयमा आगो लगाए, साथै राष्ट्रपति असदका काकाको स्वामित्वमा रहेको सिरियाटेल भवनमा पनि आगो लगाइयो । केही मरे, सयौँ घाईते भए । अस्पताल पु-याईएका घाइतेलाई सेनाले त्यहीँबाट पक्राउ गर्न थालेपछि आन्दोलनकारीले दाराको ओमारी मस्जिदलाई अस्थायी अस्पताल बनाएर उपचार गर्न थाले । 

रेडियो, पत्रपत्रिका र टिभि सरकारको नियन्त्रणमा भए पनि सोसियल मिडियामार्फत दाराको यो सैनिक ज्यादतिले सिरियाका अन्य सहरहरूमा समेत व्यापक हल्चल मच्चायो । बच्चाहरूलाई सकुशल रिहाई गर्नुपर्ने र अत्याचार बन्द गर्नुपर्ने नाराका साथ देशका प्रमुख सहरहरुमा छिटफुट आवाजहरु उठ्न थाले । देशैभर विद्रोह फैलिने डरले सताएपछि यी बच्चाहरूलाई थुनेर आन्दोलन दबाउन सकिँदैन भन्नेमा असद पुगे । २६ मार्चमा प्रदर्शन शान्त पार्न सरकारले केही माग पुरा गर्ने प्रयास गर्यो । बच्चाहरुलाई रिहा गरियो । २०० भन्दा बढी राजनीतिक बन्दीलाई छोडियो । 

बच्चाहरूलाई सुरक्षाकर्मीले पानीमा करेन्ट जोडेर चोबल्ने, कुखुरा बनाएर उभिण्डो झुण्ड्याउने, नङ भित्र सियो घोचेर रक्तपात गराउने र निर्घात कुट्ने जस्ता क्रियाकलाप गरेर अर्धमृत अवस्थामा पु¥याएका थिए । शरीरमा रगत थिएन । चोट नभएको कुनै ठाउँ थिएन । आफ्नो खुट्टामा उभिन नसक्ने अवस्थामा रहेका ती बालबालिकाको अर्ध मूर्छित अनुहारका तस्विर, भिडियो र यातना–अनुभव सोसियल मिडियामा भाईरल बन्यो । यो हेर्ने जोसुकै पनि विचलित र आन्दोलित हुन्थे । बच्चालाई हिरासतबाट छुट्कारा दिनु त झन् सिरियाली तानाशाहलाई अझ महङ्गो बन्न पुग्यो । यसले जनताको आक्रोशलाई थाम्नै नसक्ने चरमचुलीमा पु-यायो । 


प्रत्येक दिन आन्दोलनकारी बढ्दै गए, मारिनेको सङ्ख्या बढ्दै गयो । २३ मार्चमा सुरक्षा बलहरूले हजारौँ प्रदर्शनकारीमाथि आक्रमण गर्दा कम्तीमा ३७ जनाको मृत्यु भयो । २५ मार्चमा दारामा १ लाखको सङ्ख्यामा प्रदर्शनकारी निश्किए । प्रदर्शनमा कम्तीमा ९७ जनाको हत्या गरियो । २५ अप्रिलदेखि मे ५ सम्म दारालाई शैनिक घेराबन्दी (दारा सिज) गरियो । पानी, बिजुली, औषधि, खाद्यान्न आदि बन्द गरियो । तर प्रदर्शन र दमन रोकिएन यी १० दिनमामात्र करिब २२० जना सिरियाली नागरिकले ज्यान गुमाए ।


दाराको एउटा सानो गाउँको ७ कक्षा पढ्ने बालकले सुरु गरेको विद्रोहले सिरियाको सम्पूर्ण मुख्य शहरहरुलाई लपेटीसकेको थियो । बालक मुवाविया सियास्ने जनआन्दोलनको आदर्श र केन्द्र बनिसकेका थिए । 

तर असंगठित समूहहरुद्वारा सञ्चालन भएको यो द्वन्द्वमा पछि गएर विभिन्न धार्मिक अतिवादि सङ्गठन, विश्व महाशक्ति राष्ट्रहरु, र सिरिया सरकार भिड्न थाले । करिब ६ लाख मानिस मारिए, २० लाख निर्वासित भए । सन् २०२४ नोभेम्बर ८ का दिन तानाशाह राष्ट्रपति बसर अल असद सिरिया छोडेर रसियामा शरण लिन पुगे ।कट्टरपन्थी एचटिएसले अन्तरिम सत्ता सम्हालेको छ । रसियन सेना फर्किए पनि अमेरिका, टर्की, इरान प्रोक्सी, कुर्दिश विद्रोही, इजरायल, एसडीएफ, आईएसआईएस , आफ्नो आफ्नो मोर्चामा लडिरहेका छन् । समग्रमा सिरिया विभिनन खण्डमा बाँडिएको छ । प्रत्येक खण्डमा आफ्नै किसिमका समूहको राज्य छ । बिहान जाँदा एउटाको शासन भएको ठाउँमा बेलुका अर्कै समूहको आधिपत्य हुने अवस्था बनेको छ । दारामा त बस्न लायक एउटै घर बाँकी रहेन । बच्चाहरुसँग खेलौना हैन, हतियार छ । प्रत्येक युवासँग एके ४७ हुने अवस्था छ । 

अहिले मुवाविया सियास्ने २६ वर्षका भएका छन् । युद्धमा उनका बाबु लगायत आफन्तहरु शहिद भए । उनी सिरिया फ्रि आर्मीको अग्रमोर्चामा एके ४७ लिएर लड्छन् । 


उनी भन्छन्, “त्यो एक लाईन नाराले एउटा देश सँधैलाई गृहयुद्धको चपेटामा परी तहसनहस हुन्छ भन्ने थाहा पाएको भए म त्यस्तो कहिल्यै लेख्ने थिईन ।"

त्यति लामो सङ्घर्ष, लाखौंको बलिदानी, करोडौं विस्थापित हुँदा पनि जनताले केही पाएनन् । आज त्यहाँ 90% जनता गरिबीको रेखामुनि पर्छन् । जबकि सन् 2011 मा यो मध्यपूर्वको सम्पन्न राष्ट्रमा पर्थ्यो ।

Thursday, June 13, 2024

मेरो भागमा भगवान

भगवान् आए भाग्य बाँड्न लिई थालैमा,

बाँड्दा बाँड्दै सकिएछ मेरो पालैमा ।

..................................................

कोही लगे धन दौलत, कोही लगे चैन ।

रूप लगे, यौवन लगे, बाँकी केही छैन।।

सबै लगे - भगवान् त खाली परेछन् !

हातमा पीर चिन्ता भको थाली धरेछन् ।।

मैले पाएँ  भगवान - जे होस् थालैमा  ।

भाग्य बाँड्‌दा सकिएछ मेरो पालैमा ।।

..................................................

लुट्न पाउँदा भगवानलाई कोही नगन्ने !

"तिम्लाई केही चाहिन्छ कि ?" भन्दै नभन्ने !!

सुख-चैन लानेहरु कुस्ति खेल्दै पर,

लालचको भुमरीमा जग चराचर ।।

मैले पाएँ छुटकारा स्वार्थी खेलैमा ।

भाग्य बाँड्दा सकिएछ मेरो पालैमा ।


३० जेठ, २०८१

राधेराधे, भक्तपुर

Tuesday, May 28, 2024

बजेट आ.व. २०८१/८२ (भाग २)

१. राजस्व उठाउने लक्ष्य रु. १२ खर्ब ६० अर्ब ३० करोड छ । अर्थात कर, राजश्व, शुल्क आदिको रुपमा एक व्यक्तिबाट सरकारले औषतमा वार्षिक ४२,०१० रुपैयाँ उठाउँछ । 

२. सरकारले विकासमा रु. ३ खर्ब ५२ अर्ब ३५ करोड खर्च गर्छ । अर्थात, एक वर्षमा ४२,०१० रुपैयाँ बुझाएको एक व्यक्तिको भागमा विकासको हिस्सा करिब रु. ११,७४५ मात्र पर्छ ।

३. चालु खर्च भनेको खासमा सरकारी कोषबाट तलब भत्ता सुविधा प्रशासनिक व्यवस्थामा हुने खर्च हो । यो खर्च रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएको छ । अर्थात, सरकारी कोषबाट तलब भत्ता सुविधा खानेहरु र बन्दोबस्ती वापत प्रत्येक जनताले वार्षिक औषत प्रतिव्यक्ति रु. ३८,०२२ बेहोरेको हुन्छ ।

४‍.  आ.व. २०८१/८२ मा खर्च योग्य प्रतिव्यक्ति ग्राहस्थ्य उत्पादन १,४३४ डलर (रु. १,८९,२८८) रहेको सन्दर्भमा एक मानिसले कमाईको सरदर २२.१९ प्रतिशत कर राजस्वमा बुझाउनु पर्छ । तपाई‍ले प्रशस्त तिर्नु भएको छ, त्यसैले अब कहीँ कतै घुस ख्वाउनु पर्दैन ।

५. देश विदेशको ऋण तिर्न सरकारले एउटा नेपालीलाइ वर्षकाे सरदर रू. १२,२४३ रुपैयाँ भाग लगाएकाे छ । याे ऋणा भनेकाे पाेहाेर परारकाे देशकाे नाेक्शान अहिले तिर्ने हाे । त्यसैले देशलाइ जसले नाेक्शान लाए पनि तिर्ने जनताले नै हाे ।

Wednesday, May 22, 2024

झरी पछिकी चरी

झरी घोप्टिएको कालो रात भरि,

हुरीले गुँड लुछेको दीन चरी;

कहाँ जाउँ, समाउँ, सहारा खोजुँ?

म त लुप्त हुने भएँ शुन्य सरी ।


यो अँध्यारो छ निष्पट, काँ'छ घर ?

बल्यो दियो कति कति टाढा पर ।

गुमे सब् , पुगे काँ' ? कसलाई सोधुँ ?

अब एक्लो भएँ, 'म' मा पो के छ र !



कोही अर्काको युद्ध बेसुर लडे,

कोही प्रिति गुमेर कुनामा सडे ।

कोही तृष्णाले खायो अथाह् धनको,

दोष के थियो र म बिलख्मा परेँ ?


बचेँ ब्याधासँग, जुधेँ प्याधा सँग ।

खपेँ भोक कति, भिँडे ज्यादासँग ।

ढल्यो खुशीको सानो संसार अब !

रति छैन सहास् म मक्कारसँग ।


कोही हिँड्दा रहेछन् कमाउँन भनी, 

कोही बाँच्दा रहेछन् रमाउँन भनी ।

न कमाउन सकेँ, न रमाउँन सकेँ।

आयो देश मेरो परदेश बनी ।


सदा लाग्थो आकाश पनि घर हो,

यो गुँड त के र! जगतै मेरो हो ।

प्रकृति आमा हुन् , पिता वायु-जल ।

तर झुटो रहेछ, फगत् एकलो ।


अब छैन चाह - हाँगा पात तोडुँ,

दिन-रात खटुँ, नयाँ बास जोडुँ,

घरजम गरी फेरि सृष्टि नयाँ-

फूलबारी  रची नयाँ बोट गोडुँ


हिजो गुँड थियो, साथी-भाइ थिए ।

साना चल्लाका मिठा आवाज थिए ।

एक झोँकमा सृष्टि उजाड भयो, 

अब ज्यान मेरो नि खुशीले दिएँ ।


२०८१/२/७

वानेश्वर, काठमाडौँ।

Saturday, December 2, 2023

मन्दिर, धर्म र कम्युनिष्ट

सामान्यत: सामूहिक आर्थिक प्रणाली (कम्युन) मा आधारित व्यवस्थालाई 'कम्युनिज्म' भनिन्छ । यसमा निजी सम्पत्ती हुँदैन, सामूहिक आम्दानी/सामूहिक खर्च । त्यसैले निजी सम्पत्तिका पक्षधरहरूले आफुलाई कम्युनिष्ट भन्न सुहाउँछ कि सुहाउँदैन ? नैतिकताको प्रश्न हो यो । क्म्युनिज्म आडम्बर हैन, व्यवहार हो ।
सबै कम्युनिष्ट भौतिकवादी/नास्तिक हुँदैनन् । यहुदीले चलाएको धार्मिक राजनितिक अभियान zionism र Aliyah ले किबुत्ज (कम्युन) को माध्यमबाट "इजरायल" देश निर्माण र समृद्ध बनायो । उनीहरू सबै नास्तिक होइनन् । 
सबै नास्तिक कम्युनिष्ट हुँदैनन् । बीपी कोइरला पूर्ण नास्तिक थिए, उनी कम्युनिष्ट भएनन् ।
धर्मले मानिसलाई नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील बनाउन प्रेरित गर्छ । कर्तब्यबाट चुक भएमा नर्क जानू पर्ने भयले गर्दा पनि उसलाई जिम्मेवार र ईमान्दार बन्न दबाब परेको हुन्छ । त्यसैगरी मार्क्सवादीहरू पनि नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील हुनै पर्ने अनुशासनको नियम छ । अब एउटा धार्मिक/आस्तिक मान्छे मार्क्सवादी भयो भने अनुशासन र ईमान्दारिताको पुञ्ज हुने भयो । तर, एउटा नास्तिक मार्क्स्वादी अनुशासनहिन र भ्रष्ट भयो भने ऊ कुनै पापधर्मसँग नडराउने ब्वाँसो बन्न पुग्छ ।
माओत्सेतुङ्ले साँस्कृतिक क्रान्तिको नामबाट गरेको धर्ममाथिको प्रहारलाई चिनियाँ कम्युनिष्ट पार्टीले पश्चतापसहित फिर्ता लिएको थियो । द्वन्द्वको बेलामा रजश्वला भएकी युवतिले शिवलिङमाथी चढेर खुनसरी हुन्जेल उफ्रिँदा, मन्दिर र देवल भत्काउँदा, विद्वान र पण्डितलाई दिनदहाडै हत्या गर्दा आस्तिकहरू रोएका थिए । अहिले सम्माननीय प्रधानमन्त्री प्रचण्ड (द्वन्द्वका सुप्रीमो) ले तारन्तार मन्दिर धाएर , भैंसी र देउताको पूजा गरेर पश्चताप गरेर ती दुखी आस्तिकहरूलाई मल्हमपट्टी लाउँदा खिसीटिउरी गर्नु पर्ने कारण देख्दिन । 
धर्म पनि कुनै समयको सामाजिक/राजनितिक व्यवस्था हो जसले अहिले पनि आम-जनमानसमा राम्रै प्रभाव पार्छ । विशिष्ट क्षमताका नेता आफ्नो दर्शन, दृष्टिकोण र मान्यता स्थापित गर्न राजनितिक जोखिम मोल्न तयार हुन्छन्, तर जनमत हेरेर बोली फेर्दैनन् । औषत नेतालाई जनमत चाहिन्छ; उनिहरू अवसर अनुकुल दर्शन, सिद्धान्त र आदर्शको व्याख्या गर्छन् ।
मन्दिर, गुम्बा, मस्जिद र चर्च जानु र टिकामाला लाउनु मात्रै धर्म होइन, सार्वजनिक व्यक्तित्वको लागि त यो सामान्य शिष्टाचार हो। 
अर्काको आस्थाको सम्मान गर्नु पवित्र सामाजिक संस्कार हो भने अपमान गर्नु सामाजिक अपराध हो । कसैले कसैको आस्थालाई उछितो काडेको छ भने अहिले मन्दिर धाएर त्यो पाप धुईँदैन । त्यसैगरी आफू भने निष्ठापूर्वक नियमित पुजापाठ गर्ने कम्युनिष्ट व्यक्तिले अर्को चैँ घोर नास्तिक हुनु पर्ने आग्रह राख्नु भनेको पनि कुण्ठा मात्र हो । आस्तिक र नास्तिकले एक अर्काको भावनालाई सम्मान गर्नु सामाजिक सहिष्णुता हो । 'हिन्दु सभ्यता' मा चार्वाक जस्ता नास्तिक, वशिष्ठ जस्ता विद्वान र मनु जस्ता विभेदकारी विचारलाई सँगै राखेर पुजा गर्ने व्यवस्था छ । यहाँ कोही भिलेन हुँदैन ।
सामाजिक सञ्जालमा आफुले पोष्ट गरेका कुराले अरुको होइन ऊ स्वयंको मूल्यांकन गर्छ । आफ्नो औकात  छताछुल्ल हुनेगरी सामाजिक सञ्जालको प्रयोग गर्न हुँदैन जस्तो लाग्छ मलाई । स्वस्थ तर्कसहित गरिने मर्यादित बहसलाई स्वागत गर्ने आँट चाहिन्छ, त्यो आफ्नै आलोचना किन नहोस्  ।
राधेराधे, भक्तपुर
२०८०/२/२९

Saturday, October 14, 2023

के ठिक के गैर कानूनी !

 थाइल्यान्डको एक ग्रामीण किसानको सवारी साधन । उनले एउटा 115 cc को स्कुटरलाई अर्को एउटा पाङ्रा थपेर सामान ढुवानी गर्ने, पारिवारिक यात्रा गर्ने जस्ता आधारभुत कार्य गर्ने गरेको पाइयो । सोध्दा थाहा भयो यहाँका आम किसानको सवारी साधन यही रहेछ । ग्यारेजमा सजिलै मोडिफाइ गरिदिँदो रहेछ । 

"यसरी स्वरूप नै बदल्दा पुलिसले पक्रदैन ?" मैले सोधेँ ।

किसानले जंगिदै जवाफ दिए, "के मैले चोरेको हो? मेरो थोरै  सम्पतीले धेरै काम लिएँ भने कसको किन टाउको दुख्नु पर्ने?"

मैले नेपालमा मोटर साइकिल मोडिफाई गर्ने ठिटालाई ट्रफिकले दिएको सास्ती सम्झेँ ।

२३ सेप्टेम्बर, २०२३

थाइल्यान्ड ।

महानाखोन- थाइल्यान्डको सबैभन्दा अग्लो कण्डोमेनियम

 जति माथी चढे पनि आकास अझै उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । सबैभन्दा उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अर्को अनन्त छ । उचाईमा टिकिरहन सकिदैन, भुईँमा फर्कनै पर्छ । त्यसैले होला 'धरातल बिर्सनु हुँदैन' भन्छन् ।

एउटै घरका विभिन्न फ्ल्याट र कोठा विभिन्न परिवारलाई आवासीय प्रयोजनको लागि भाडामा दिईन्छ भने अपार्ट्मेन्ट भनिन्छ । तर त्यस्ता कोठा र फ्ल्याट विभिन्न अलग अलग परिवारहरूको अलग अलग स्वामित्व हुने गरि बेचिन्छ भने त्यसलाई कण्डोमेनियम भनिन्छ । थाइल्याण्ड, बैंककको सिलोम/साथोन स्थित केन्द्रीय व्यापार जिल्लामा रहेको "महानाखोन" एक  गगनचुम्बी कण्डोमेनियम हो । 

20 जुन 2011 मा निर्माण आरम्भ भै 29 अगस्त 2016 मा उद्घाटन भएको यो महानाखोन काटिएको क्यूबोइड-सर्फेस भएको र हेलिक्स गिलासको पर्खाल रहेको वर्गाकार अपरम्परागत शैलीमा बनेको यश किसिमको भने विश्वकै पहिलो स्काईक्रेपर हो ।

314.2 मिटर (1,031 फीट) उचाई र 77 फ्लोरहरू भएको यो भवनमा होटल, खुद्रा पसल, रेस्टुरेण्ट, स्काई वाक रहेका छन् । विभिन्न ठुला कम्पनीका कर्पोरेट अफिस त छँदैछन्, अमेरिकी डलर $ US1,100,000 देखि $ US17,000,000 बीचको मूल्यमा २०० भन्दा बढी आवासहरू (फ्ल्याट) बिश्वका धनी मानिसहरूले खरिद गरि सकेको यो टावर बैंककको हालसम्मको सबैभन्दा महँगो कन्डोमिनियममा पर्छ । दुवैको यस्तै अग्लो घर "बुर्ज खालिफा" मा भारतीय फिल्मका कालाकार शाहरूख खानको समेत फ्लैट रहेको छ । तर, महानखोनमा दक्षिण एशियाका धनीहरू धाक जमाउन आएनआएको थाहा भएन ।

भुइँको क्षेत्रफल 150,000 वर्ग मिटर रहेको यस भवनको शुरुका ४ तल्लामा विभिन्न विलासी वस्तुका सोरूम छन् । प्रतिव्यक्ती 880 भाट तिरेपछी भने ७४ देखि ७७ सम्मका तल्लाहरू चढ्न र शीसा माथीबाट आकासमा यात्रा गर्न पाइन्छ । 1180 भाट तिरेमा 74 तल्लामा बसेर कफि र नास्ता खान पनि पाईन्छ । 

जति माथी चढे पनि आकास उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अनन्त छ । त्यहाँ टिकिदैन, धरातल बिर्सनु हुँदैन ।

यात्रा भने रोमाञ्चक रह्यो ।

९ असोज, २०८०

रोयल होटल, रतनाकोशिन, बैंकक ।

दाह्री भाइको चिया पसल

सुर्खेत जाने जो कोही पनि कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको ऐतिहासिक काँक्रे बिहार नपुगी आउँछ भने उसले जीवनमा ठुलै मौका गुमायो । काँक्रे बिहार गएर पनि त्यसको मुखैमा रहेको दाह्री भाइको चिया पसलमा एक कप मटका चिया नपिई फर्कियो भने त झन् ठूलो अवसर उम्कायो ।  त्यही पसल चलाउने दाह्री भाइ "सुरज क्षेत्री" जापान जान भाषा सिक्दासिक्दै झसङ भएछन् । 

'हैट! त्यत्रो खर्च गरेर विदेश जाने हैन । घरमा नै बसेर केही गर्ने ।' अनि रू. १० हजारबाट शुरु गरे उनले नयाँ व्यवसाय - 'दाह्री भाईको चिया पसल' । नेपालगञ्जबाट माटोको कप मगाए, स्वादिलो चिया बनाएर बेच्न थाले । अहिले मासिक लाखौँ कमाउँछन् ।

आफ्नै दामले साथिहरूको भनाई टिपेर स्लोगन लेखे - " यो चोटि तँ तिर, अर्को चोटि म तिर्छु ।"

सायद अब अर्को नारा थप्लान्, "चिया नखाएर कोही अजम्बरी हुँदैन" वा "हिजोको जस्तै मीठो ल" ।

माटोको कप पुन: प्रयोग हुँदैन, त्यसलाई के गर्ने ? आइडिया !! चिया खानेले कपमा आफ्नो वा आफ्नो पृयको नाम लेख्ने । अनि दाह्री भाइले त्यो कप सजाएर राखीदिने । वाह: !! ४ "स" वा सम्झना साँच्ने सुन्दर सोच !! 

लोगो त्यस्तै सुन्दर छ - चियाको कपसँग दाह्रीको छायाँ ।

स्कुल र क्याम्पस पढ्ने विद्यार्थीहरू चिया पिउन लाम लाग्छन् , चियाका पारखी र युवा तथा प्रौढहरू दाह्रीका चिया पिउन धाउँछन् ।

कोही उत्साही उद्यमी हुनुहुन्छ भने आउनुस् - दाह्री भाईसँग फ्रेन्चाइजी लिएर साखा खोलुँ । काठमाडौँ त एक राम्रो बजार हुन सक्छ ।

साना किसान कृषि सहकारी संस्था लि लाटिकोइलीका सदस्य परिवारका सुरजलाई सफलताको असीम शुभकामना ।

- लाटीकोइली, सुर्खेत

२०८०/०६/१८

सुर्खेतको काँक्रे बिहार - साम्प्रदायिक सद्भावको प्राचिन धरोहर

भर्खरै सामाजिक सद्भाव बिथोल्न खोजिएको नेपालगञ्जबाट करीब ८५ किलोमिटर उत्तर पर्ने सुर्खेतको वीरेन्द्रनगर चोकबाट करिब ३ किलोमिटर दक्षिण दिशा गएपछी लाटिकोइली पुगिन्छ । त्यहीँ पर्छ, 'काँक्रे बिहार' । 

करिब १८० हेक्टरमा फैलिएको सालको जङ्गलको बिचमा यत्रतत्र छरिएका पुराना ईंटा, काठ एवम् ढुङ्गाका कलात्मक बुट्टाहरू तथा आकर्षक मूर्तिहरूलाई पहिलो पटक गुरु योगी नरहरीनाथले वि. सं. २००७ सालमा 'काँक्रे बिहार' हो भनी पहिचान गरेका थिए ।

वि.सं. २०३० सालमा राजा वीरेन्द्रको पहिलो पटक सुर्खेत भ्रमण भयो । उनले त्यस समय काँक्रे बिहारको महत्व थाहा पाए र उक्त क्षेत्रलाई तारबेरा गरी शुरक्षित गर्न लगाए ।

सोही क्षेत्रलाई वि. सं. २०५९ सालमा पुरातत्व विभागले संरक्षणमा लिई उत्खनन शुरू गर्‍यो । झण्डै १९ वर्षको निरन्तर उत्खनन्, अन्वेषण र पुनर्योजन पश्चात काँक्रे बिहार पुन: पुरानो आकृतीमा खडा भयो।

ज्यासन हव्कसको सन् २०१५ मा प्रकाशित Kingship, Buddhism and the forging of a region नामक शोध-पत्र अनुसार तिब्बतको 'स्पोन कान' गुम्बामा रहेको एक मूल ग्रन्थलाई काँक्रे बिहारको मुलप्रतिबाट सारिएको उल्लेख छ। यसबाट यो बिहारको आयु र महत्व अनुमान गर्न सजिलो भएको छ ।

पुरातत्व विभागको अन्वेषण, प्राप्त आलेख, कला र कालको विश्लेषण एवम् निर्माण शैलीका आधारमा यो बिहारलाई ११ औं र १२औं शताब्दीको बिचमा तत्कालिन खस राजा अशोक चल्ला वा क्राल चल्ला मध्ये एकले निर्माण गर्न लगाएको मान्ने गरिन्छ । यिनै चल्लाहरुलाई पछि 'मल्ल 'भन्न थालियो ।

एकातिर वि.सं. १९५० मा आएको महाभुकम्पले उक्त बिहार धुलिसात् भयो भन्ने भनाई छ भने १४ औँ शताब्दीमा भारतबाट आएका मुसलमानले मन्दिर भत्काएको तर्क समेत गरिन्छ । कसैले त शंकराचार्यका चेलाहरूले भत्काएको सम्म भनेका छन् । स्थानीय थारूहरूको मान्यतामा भने महाभारतको कथासँग यो भग्नावशेष जोडिएको छ । कौरवले पाण्डवलाई लाहाको घरमा डढाउन  खोज्दा पाण्डवहरू यही बिहारबाट सकुशल भागेको मान्यता राख्छन् । 

ईतिहास अनुसार खस राजाहरू हिउँदमा डुल्लु र वर्षामा सिंजामा आफ्नो राजधानी सार्ने गर्दथे । मल्लहरू यो खस राज्यले उत्तरमा तिब्बत र दक्षिणमा मगधहरूसँग राम्रो सम्बन्ध राखेको थियो । त्यसैले तिब्बती र भारतीयसँग समन्वय राख्दै काँक्रे बिहारमा मुलत: भगवान बुद्धको आराधाना केन्द्र भएता पनि हिन्दुहरूका देवीदेवता शिव, पार्वती, सरस्वती, गणेश, तारा आदिका मूर्ति पनि उत्तिनै महत्वकासाथ राखिएको पाईन्छ ।

दक्षिण भारतको तत्कालिन मन्दिरको स्वरूपलाई मिसाएर शिखर शैलीमा यो बिहार निर्माण भएको छ । ६ मिटर अग्लो यस मन्दिरमा गजुर, गर्भगृह र गुम्बजहरू समेत छन् ।

कसैले यो क्षेत्रको भौगोलिक बनौट काँक्रोको आकारमाभएकोले काँक्रे बिहार भनियो भन्छन् त कसैले पत्थर कंकडबाट बिहार बनेकोले 'कंकडे बिहार' भन्दा भन्दै अपभ्रंश भएर काँक्रे बिहार भएको तर्क गर्छन् । जे होस्, मन्दिरको शैलीमा भगवान बुद्ध र हिन्दु‌का देवी देवता समेत राखेर बनाइएको यो बिहार त्यस समयको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको अनुपम नमुना मान्न सकिन्छ।

सुर्खेत आउनु भएको छ भने काँक्रे बिहार जानुस्, फर्कदा मुखैमा दाह्री भाईको चिया पसल छिर्नुस्, एक कप मटका चिया खानुस् । दिपेन्द्र कार्की भाईको बाट गँड्यौले मल लिन नबिर्सनुहोस् । र, धार्मिक सहिष्णुता हाम्रो पुर्खौली स्वभाव भएको बुझ्नुस् । यो बिहारमा एकछिन घोत्लिए पछि "धार्मिक/ साम्प्रदायिक युद्धले विनाशमात्र निम्त्याउँछ, प्रेम र सद्भावले मात्र साँचो अर्थमा धर्म मिल्छ" भन्ने शाश्वत तत्व ज्ञान प्राप्त हुनेछ ।

होटेल शुभ

वीरेन्द्रनगर, सुर्खेत

२०८०/०६/१९