Saturday, October 14, 2023

महानाखोन- थाइल्यान्डको सबैभन्दा अग्लो कण्डोमेनियम

 जति माथी चढे पनि आकास अझै उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । सबैभन्दा उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अर्को अनन्त छ । उचाईमा टिकिरहन सकिदैन, भुईँमा फर्कनै पर्छ । त्यसैले होला 'धरातल बिर्सनु हुँदैन' भन्छन् ।

एउटै घरका विभिन्न फ्ल्याट र कोठा विभिन्न परिवारलाई आवासीय प्रयोजनको लागि भाडामा दिईन्छ भने अपार्ट्मेन्ट भनिन्छ । तर त्यस्ता कोठा र फ्ल्याट विभिन्न अलग अलग परिवारहरूको अलग अलग स्वामित्व हुने गरि बेचिन्छ भने त्यसलाई कण्डोमेनियम भनिन्छ । थाइल्याण्ड, बैंककको सिलोम/साथोन स्थित केन्द्रीय व्यापार जिल्लामा रहेको "महानाखोन" एक  गगनचुम्बी कण्डोमेनियम हो । 

20 जुन 2011 मा निर्माण आरम्भ भै 29 अगस्त 2016 मा उद्घाटन भएको यो महानाखोन काटिएको क्यूबोइड-सर्फेस भएको र हेलिक्स गिलासको पर्खाल रहेको वर्गाकार अपरम्परागत शैलीमा बनेको यश किसिमको भने विश्वकै पहिलो स्काईक्रेपर हो ।

314.2 मिटर (1,031 फीट) उचाई र 77 फ्लोरहरू भएको यो भवनमा होटल, खुद्रा पसल, रेस्टुरेण्ट, स्काई वाक रहेका छन् । विभिन्न ठुला कम्पनीका कर्पोरेट अफिस त छँदैछन्, अमेरिकी डलर $ US1,100,000 देखि $ US17,000,000 बीचको मूल्यमा २०० भन्दा बढी आवासहरू (फ्ल्याट) बिश्वका धनी मानिसहरूले खरिद गरि सकेको यो टावर बैंककको हालसम्मको सबैभन्दा महँगो कन्डोमिनियममा पर्छ । दुवैको यस्तै अग्लो घर "बुर्ज खालिफा" मा भारतीय फिल्मका कालाकार शाहरूख खानको समेत फ्लैट रहेको छ । तर, महानखोनमा दक्षिण एशियाका धनीहरू धाक जमाउन आएनआएको थाहा भएन ।

भुइँको क्षेत्रफल 150,000 वर्ग मिटर रहेको यस भवनको शुरुका ४ तल्लामा विभिन्न विलासी वस्तुका सोरूम छन् । प्रतिव्यक्ती 880 भाट तिरेपछी भने ७४ देखि ७७ सम्मका तल्लाहरू चढ्न र शीसा माथीबाट आकासमा यात्रा गर्न पाइन्छ । 1180 भाट तिरेमा 74 तल्लामा बसेर कफि र नास्ता खान पनि पाईन्छ । 

जति माथी चढे पनि आकास उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अनन्त छ । त्यहाँ टिकिदैन, धरातल बिर्सनु हुँदैन ।

यात्रा भने रोमाञ्चक रह्यो ।

९ असोज, २०८०

रोयल होटल, रतनाकोशिन, बैंकक ।

No comments:

Post a Comment