Wednesday, May 6, 2015

My student, my teacher.




प्रिय उमेश पौडेल भाई !
तिमीले कतारबाट मेरो नाममा रेमिट गरेर ने.रु. १३,३५७/— रुपियाँ पठाएको सूचना पाएँ । साँच्चै भन्छौ भने यो पैसाले मलाई अझ पिडा दिएको छ । तिमीले कतारका अन्य साथीहरुसँग मिलेर अर्को कुनै संस्था मार्फत अस्ति पनि भुकम्प पिडितलाई ठूलो रकम सहयोग पठाएको सुनेको छु । आज फेरी पनि पठाउँदैछौ । मुलुकको यो महाप्रलयमा चित्कार छोडीरहेका लाखौं असहायहरुसम्म मेरो सहयोग पुग्छ कि पुग्दैन ? दुई ठाउँबाट पठाएँ भने एउटा त पक्का पुग्ला ! तिम्रो पवित्र सेवा मनले यस्तो सोचेको हुन सक्छ ।
जुन विश्वासमा संसार अडेको छ हामीले त्यो विश्वासै गुमाई सकेका छौं । चटकीले झैं आम मानिसलाई लट्याएर जब जिम्मेवारीमा पुग्छौं वा कुनै तरिकाले डाडु पुन्यौं आफ्नो हातमा पर्छ हाम्रो विवेक हराएर गएको छ । देखाईएका सुनाईएका आदर्श र प्रतिज्ञाहरुलाई ठूलो चोरीका लागि पर्खाल नाघ्ने अस्थायी भर्यांगको रुपमा हामीले प्रयोग गर्ने गरेका छौं । तर पनि तिमी कतारको उम्लदो गर्मीमा खुन पसिना रोपेर बढो मुश्किलले फलेको आफ्नो सपना आज दोहोर्याई तेहेर्याई ती मानिसहरुको सहयोगका लागि पठाई रहेका छौ जसलाई तिमीले कहिल्यै भेटेको देखेको छैन र तिनीहरुबाट तिमीले सुदुर भविष्यसम्म कुनै लाभको अपेक्षा पनि लिएका छैनौ ।
तिमीले बाबुलाई बचन दिएका थियौ होला यो महिनाको कमाईले मुखिया बाको व्याज तिर्न पठाउँला । बहिनी कलेजको फि तिर्न यही रकम कुरेर बसेकी होलिन् । आमाले पक्कै यस पालि छोराले पठाएको रकमले स्वास्ती शान्ति र शनी जाप लगाउने योजना बुनेकी होलिन् । बुबाको दमको उपचारको लागि भने अर्को महिनाको कमाई पठाउने योजना थियो होला तिम्रो । तर त्यति बेलै मध्यपहाड तहसनहस भयो । यस पाली पनि आफ्ना प्रियजनहरुको माग पुरा गर्न नसक्ने भयौ । सायद घरमा सम्झाउँछौ होला म त फेरि कमाई हाल्छु नि आमा ! अहिले बिपतमा परेकाको अलिकति दुखाई हटाउँ । त्यति टाढा तिमीलाई पोल्यो । गोबिन्द के.सी. झैं तिमीलाई सिन्धुपाल्चोक हानिने मन थियो होला, सात समुन्द्र पारीबाट आउन सक्दैनथ्यौ । मैले कमाएको अहिले पनि काम नलागे कहिले लाग्ने । जे जति थियो सबै पठायौ ।
म त त्यति बेला भावुक भएँ — सानो कट्टु लाएर लुरुलुरु स्कुल आउने अनुशासित र मेधावी मेरो फुच्चे बिद्यार्थी आज मलाई नै मानवताको सही पाठ सिकाउँदै छ । हामी गरीब साना किसानको हैसियत हुँदो हो त तिम्रो बाबुले तिमीलाई डाक्टर पढाउने थिए होला । अनि आज तिमी कुनै निर्देशनको पखाई नै नगरी दिनरात यी पिडितको सेवामा अर्पित हुने थियौ होला । ईञ्जिनियर नै पढाउन सकेको भए पनि तिम्रो ईमान्दार र जिम्मेवार मनले बनाएका बलिया संरचनाको आडमा कति भुकम्पमृत्यूको हार हुने थियो होला । यो मुलुकको द्रव्यशिक्षाले तिमीलाई किनारा लगायो र कतार पुर्यायो । अनि त्यहाँ पनि तिमीलाई देश नै दुखि रह्यो । तर उमेश धन्न तिमीलाई तिम्रो बाबुले अंग्रेजीमा रिहाबिलिटेसन प्रोजेक्ट लेखेर डलर व्यवसाय गर्न सामथ्र्य बनाउने गरी बिदेश पढाउन सकेनछन् । त्यसैले तिमी यो विभत्सता बेचेर डलर खेति गर्नुको सट्टा परिवारजनको अभाव भन्दा मुलुकको पिडामा रोईरहेका छौ । एउटा असल विद्यार्थी पाउँदा पनि कत्रो हिम्मत बढ्ने रहेछ । तिमीले मलाई अझ बलियो बनाएका छौ । तिम्रो केही समयको शिक्षक हुन पाएकोमा म वास्तव मै गौरवान्वित भएको छु ।
नेपालीको यो कहाली लाग्दो त्रासादीमा तिमी परदेशमा विव्हल छौ, हामी यही नजिकै बस्नेलाई पटक्कै दुखेन । अझ हामी कति त यो त्रासादीलाई परियोजना बनाउन थाल्यौं ५० हजार डलर १ करोड डलर आदि आदि । विभत्सताका कहाली लाग्दा फोटोहरु संकलन गर्न थाल्यौं । कति अंग्रेजीबाजहरु त ईन्नोभेटिभ रिहाविलिटेसन प्रोजेक्ट बनाउने नयाँ जागिरमा व्यस्त हुन पायौं । तिमी त्यहाँ जति सहयोग गर्यो चित्तै नबुझ्ने, अझ बढी गर्न पाए हुने थियो भन्ने लाग्ने, अलिकति पोकेट गरम हुनासाथ फेरी सहयोग गरिहाल्ने । हामी यहाँ महान भुगर्भविद र भविष्यवेत्ता बन्दै चियाचोके गफमा मग्न हुने र सरकार र खै कोनि ककस्को बद्ख्वाईँमा व्यस्त रहने । सहयोग गर्न भुमिका चाहिने, फोटो र समाचार बन्नु पर्ने ।
उमेश तिमीले त मलाई त्यस बेला साँच्चै रुवायौ जतिबेला भन्यौ सर ३ जना अनाथ बच्चा मेरो जिम्मा, जहिलेसम्म सक्छु, जस्तो सक्छु ठूलो होईन असल मानिस बन्ने गरी पाल्छु । महाकवि देवकोटाको मुनामदन दर्शन आज बुझेँ — मानिस ठूलो दिलले हुन्छ ।

काठमाडौं । २१ बैसाख, २०७२

No comments:

Post a Comment