Wednesday, May 6, 2015

ऐजन शुभकामना !


खै केले कुत्कुत्याएर हो,
वा हो छोड्न नसकेको अर्को रुढी,
कसैलाई कति सम्झेको छु देखाउन हो कि
या त खोक्रो विद्वता पिटाउन हो,
मेरो शुभकामनाले लछारपाटो लाउँदैन भन्ने थाहा हुँदाहुँदै
सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको
यन्त्रवत शुभकामना
अर्को साल यस्तै हुने थाहा छ -
१८ घण्टा सम्म लोड सेडिंग,
सम्बिधानसभा ३ को पूर्वाभ्यास,
नेपाल बन्द,चक्का जाम,
गोबिन्द केसी जिन्दाबाद,
लिलामणी पौडेल सेवानिवृत्त,
वाग्मती ट्वाँ ..........
एक शीर्ष नेता सिकिस्त, अर्कोलाई भावपूर्ण श्रद्धाञ्जली
वार्षिक ५ लाख युवा विदेश पलायन,
दैनिक ३ नेपाली लाशको आगमन,
लोकमान सिं कडा भयो, माहाभियोग लगाउँ,
नागरिक कि कान्तिपुर ?
२०० घर खरानी, पहाडै पहिरोमा बग्यो !!
बोर्डिंगको १०० सरकारीको २० प्रतिसत नतिजा
अंग्रेजी नजान्नेको हुल विकासको अवरोध,
प्लाष्टिक माथिको प्रतिवन्ध खुल्ला,
२४ नयाँ मदिरा उद्योग खुले,
कर्णाली विकास गुरु योजना तर्जुमा गरिने,
हुलाकी र मध्य पहाडी मार्गको आवश्यकता माथि बिमर्श,
पाँचतारे होटलमा गरिबी निवारण सम्मेलन सफल,
लि क्वान यु , हिलारी, केजरीवाल वा नयाँ आशाराम !
यस्तै यस्तै...........
समाचार नसुने हुन्छ, अखबार नकिने हुन्छ,
बचाउनु होस् पैसा ३ खर्बको कृषि पैदावार आयात गर्नुछ ।
बितरागबाट पो मुक्ति मिल्दो रहेछ !
खोजेकै त होला, निष्पट अँध्यारोमा -
रेटिना अझ खुल्दो रहेछ ।
मेरो शुभकामनाले लछारपाटो लाउँदैन भन्ने थाहा हुँदाहुँदै
आशा मार्न कहाँ सकिदो रहेछ र !
हेरी राख्नु होला
सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिको
अर्को साल फेरी यस्तै शुभकामना आउनेछ ।
(१ बैसाख, २०७२, काठमाडौं )

No comments:

Post a Comment