Friday, May 15, 2015

गाउँमा बाँचेको नेपाल

बैसाख २९ गते हामी मेलम्ची बजार भन्दा ९ कि.मी. उत्तर ईचोक गाविसमा थियौं । १२ गतेको महाभुकम्पले यसै गाउँबाट ११५ जनाको ज्यान लिएको थियो । सानो बजारमा मुस्किलले ६० वटा घरहरु थिए होलान् सबै नष्ट भएका थिए । केही घरहरु उभिएको देखिए पनि थचक्क बस्न सक्ने गरी थलिएको देखिन्थे । मानिसको विल्कुल चहलपहल थिएन । अलिक पर साना किसान सहकारी संस्थालाई गाविसको राहत वितरण एवं सूचना केन्द्रको रुपमा विकास गरिएको रहेछ । राहत थाप्ने लाईनमा आलो बर्खान्ते कपडामा एक नवयुवति थोत्रो कम्बल बोकेर अनुशासितरुपमा लाईन लागेकि थिईन् । उनको पछि एउटा नौ दस बर्षको बालख पुरानो झोला बोकेर पालो पर्खदै थियो । सिमित राशन थियो । आवश्यकता धेरैलाई थियो । उनले कम्बलमा राहत थापे पछि स्वयंसेवकले स्टक सकिएको जानकारी गराए । बाँकी मानिसहरु भोलि आउने गरी चुपचाप चितरबितर भए । उनले भर्खरै थापेको चामललाई कम्बलको पोका बाहिरबाटै एक पटक हेरिन् । दुईथोपा आँशु झारिन् । निरास भई रित्तै फर्कन लागेको त्यो फुच्चेलाई तानिन् । आफुले थापेको चामल कम्बलैसँग जिम्मा लगाईन् । कतै नहेरी आँशु पुच्छदै ओझेल भईन् । सबैको कथा उस्तै छ, सबैलाई आफ्नो व्यथा नै पर्लय हुँदो रहेछ । एउटा पाल नपाएर सरकारलाई सत्तोसराप गरेको पनि देखिएको छ । सारा गुमाएर पनि अझै गुमाउन तयार दाताहरु पनि भेटिए ।  

सासु पिँढीमा बसेर च्याँख्लाको लागि जाँतो घुमाउँदै थिईन् । काखे शिशुलाई कम्बलको कोक्रोमा सुताई ती युवती भर्खरै मेलाबाट फर्किएका लोग्नेलाई भात पस्किदिएर घाँस काट्न निस्केकी थिईन् । चाँडै काम सिध्याएर आज बच्चाको भोटो सिलाउन बजार जाने सल्लाह थियो । बिहे भएकोे दुई बर्ष हुन लाग्दा पनि लोग्ने स्वास्नीको फोटो थिएन । आज खिच्ने बिचार थियो । दुई तिर बुढाबुढी उभिने, बीचमा फुच्चेलाई बेतको कुर्सीमा नयाँ भोटो लगाएर राख्ने । अचानक भुईँचालो आयो । सबै किचिए । लड्दै पड्दै घर पुगिन्, हारगुहार गरिन्, कराईन् । कति समयसम्म त्यो एकान्तमा सकिनसकी गाह्रोका ढुंगा पन्छाउन खोजिन् । निदाल र डाँडाभाटा हटाउन खोजिन् । भोलि पल्ट अन्य गाउँलेहरु खोजि गर्न आउँदा बेहोस् अवस्थामा उनलाई भेटियो, पुरिएको बच्चाको दहिने हातमात्र कोट्याउन सकेकी रहेछिन् । केही गाउँले उनलाई बोकेर स्वास्थ्य चौकि तिर हानिए र कोही लाश निकालेर घाट तिर । होस् आउँदा बोली नबुझिने बिदेशी स्वस्थ्यकर्मीहरुमात्र छेउमा थिए । गाउँलेहरु सायद सयौं लासहरु थोकमा जलाउँदै थिए । केही अघि जुन कम्बलमा आफ्नो श्रृष्टि झुल्थ्यो, त्यही कम्बलमा उनी लपेटिएकी थिईन् । आफ्नो मुटुको टुक्रा, पति र सासुको दाहसंस्कार पनि भई सकेको रहेछ । त्यस पछि उनलाई रोएको कसैले देखेको थिएन । 

उनी हिँडेको केहीछिन्मा एक बुढीआमा उनलाई नै खोज्दै आई पुगिन् । 'म बुढीलाई कति न बाँचेर के पो गर्नु छ । त्यसको बिजोग थियो । यो पाल दिउँ भनेर आएको त हिँडि पो हालिछ । ए माईला ! यो पुर्याई दिन्छस् ?'

एकै छिनमा ठूलो आवाजका साथ भुकम्प आई हाल्यो । अगाडीको पहाड बगेर झर्न थाल्योे । भागाभाग भयो । हामी पनि राहत र सूचना सम्बन्धी काम हतार हतार सिध्याएर फर्कियौं । भोलि पल्ट सभासद्हरु  राहतको पाल च्यापेर ठूलो बिजयानुभुतिका साथ हिँडेका तस्विरहरु देखिए । अब केही दिनमा चामलको लाईनमा देखियो भने पनि म अचम्म पर्नेछैन, किनभने नेपाल त गाउँमा बाँचेको छ ।



- झलेन्द्र भट्टराई
३१ बैसाख, २०७२
काठमाडौं ।

No comments:

Post a Comment