Saturday, May 16, 2015

साना किसानहरुको अभुतपूर्व ऐक्यवद्धता




२०७२ साल बैसाख १२ को महाभुकम्पबाट पिडित साना किसानहरुको मद्दतका लागि मुलुकभर रहेका साना किसान कृषि सहकारी संस्थाहरुले अद्वैत ऐक्यवद्धता जनाएकाछन् । यी संस्थाहरुको संलग्नता र सहभागितामा स्थापित साना किसान विकास बैंक तथा नेपाल कृषि सहकारी केन्द्रीय संघद्वारा सम्पूर्ण संस्थाहरुको सेवाभाव तथा आत्मीय सहयोगलाई समन्वय गर्दै साना किसान राहत कार्यक्रम सञ्चालन गरिएको छ । साना किसान विकास बैंकले रु. ५ लाख जम्मा गरेको साना किसान राहत कोषमा छोटो अवधिमा नै २७२ वटा संस्थाहरुले रु.१,२०,०५,४९९।०० रुपैंयाँ जम्मा गरिसकेका छन् । उक्त कोषमा झापा पृथ्वीनगर घर भई हाल साउदी अरबमा रहेका साना किसान परिवारका उमेश पौडेलले रु. १३,३५७।०० र रामात नेगेभ, ईजरायलमा अध्ययनरत साना किसान विद्यार्थीले रु. १,४२,४६२।०० रकम जम्मा गरेपछि कुल जम्मा रु. १,२६,६१,३१८।०० को धनराशी जम्मा भएको थियो । यसकोषमा सहयोग प्राप्त हुने क्रम अझै जारी रहेको छ ।


केन्द्रीय स्तरमा रहेको राहत व्यवस्थापन समितिले अत्याधिक प्रभावित र क्षतिग्रस्त जिल्लाका साना किसान सहकारी संस्था रहेका गाविसहरुमा चामल, टेन्ट तथा अन्य आवश्यकीय वस्तुहरु उपलब्ध गराउन विभिन्न उपसमितिहरु गठन गरी परिचालन गरेको थियो । झापा जिल्लाका साना किसान सहकारी संस्थाहरुको पहलमा प्राप्त १९ थान, कुलायन इनर्जी काठमाडौंबाट प्राप्त १० थान र वेभ्सग्रुप प्रा.लि. काठमाडौंबाट प्राप्त ३ थान गरी जम्मा ३२ थान सोलर सेटलाई मोबाईल फोन सम्पर्कका लागि विभिन्न साना किसान कृषि सहकारी संस्थाहरुमा पठाएर टेलिफोन सम्पर्क स्थापित भए पछि उपलब्ध साधन स्रोत र स्थानीय आवश्यकता बमोजिम राहत सामाग्रीहरु सम्बन्धित संस्थाका प्रतिनिधि मार्फत अति प्रभावित क्षेत्रहरुमा पठाईँदै आएको छ । हाल सम्ममा ६२ संस्थाहरु मार्फत १ लाख ७४ हजार किलो चामल, १४६४ थान पाल, २५० थान टर्चलाईट र २९ थान सोलरसेट उपलब्ध गराई लगभग ३० हजार परिवारमा पुग्ने प्रयास गरिएको छ ।


कोषको पारदर्शिताको लागि सहयोगीहरुको नामावली, सामाग्री प्राप्त गर्ने संस्थाहरुको विवरण, खरिद गरिएका सामाग्रीहरुको विवरण तथा वस्तुगत सहयोगदाताहरुको विवरण सहितको वेभसाईट http://earthquake.skbbl.com.np तयार गरी प्रकाशित गरिएको छ । यस वेभसाईटलाई कार्यप्रगति र स्थलगत रुपमा प्राप्त विवरणहरुको आधारमा नियमित रुपले अद्यावधिक गर्ने गरिएको छ ।


यस महाभुकम्पले मुगु, हुम्ला, अछाम, बझांग, दार्चुला र बैतडी बाहेकका ६९ जिल्लाहरुमा कुनै न कुनै रुपमा असर पारेको छ । यस विनासले आजका मिति सम्ममा ८,४८५ जनाको ज्यान लिएको मध्ये सिन्धुपाल्चोक, काठमाडौं, नुवाकोट, धादिंग, रसुवा, गोरखा, भक्तपुर, काभ्रेपलाञ्चोक, ललितपुर र दोलखा गरी १० जिल्लामा मात्र ८,२९९ जनाको ज्यान गएको, १५,७३३ मानिस घाईते भएको र ५,२२,५०६ घरहरु नोक्सान भएकोले (स्रोतःNepal Disaster Risk Reduction Portal) यिनै जिल्लामा रहेका र अति प्रभावित गाविसहरुको आधारमा कोषले राहत प्रदान गर्ने प्राथमिकता निर्धारण गरिएको छ ।

यस कोषमा संकलित रकमबाट कुनै पनि किसिमको प्रशासनिक खर्च गरिदैन । चामल खरिदका लागि उपलब्ध भए सम्म साना किसान कृषि सहकारी संस्थाहरुको स्वामित्व रहेका सहकारी खाद्य मिलहरुको सहयोग प्राप्त रहेको छ । 

क्षति असाध्यै ठूलो छ । साना किसानहरुको भावना र मन झन् ठूलो र उदार भए पनि यो क्षतिको तुलनामा जुटाउन सकेको साधन पर्याप्त छैन । सबै ठाउँमा पुग्न र पुर्याउन नसकिए पनि यति छोटो अवधिमा सवाकरोड जति रकम जुटाएर साना किसानहरुले भाईचारा र सद्भावको जुन अभुतपूर्व एकता प्रदर्शन गरेकाछन् वास्तवमा यो मुलुक कै लागि एक उदाहरण बनेको छ । 


शनिबार, २ जेष्ठ, २०७२ ।

No comments:

Post a Comment