Thursday, May 7, 2020

नाक बचाउँ


 (कृपया पुरै पढेर प्रतिक्रिया दिनु हाेला )
             एका देशमा 'नानेकपा' 'नानेका' नाम गरेका गरीबहरू बस्दथे । उनीहरू भगवान शिवका अनन्य भक्त थिए । कहिलेकाहीँ उनीहरू खान नपाएर हप्तौँसम्म भोकभोकै हुन्थे । यस्तो बेलामा पनि भगवान शिवको प्रर्थना गर्न छोड्दैन थिए । पतिदेवका यस्ता परम् भक्तको दुर्दशा देखेर पार्वतीलाई असाध्यै दु:ख लागेछ ।
पार्वतीले भगवान शिवलाई भनिन्, "प्रभु! तपाईँका परम् भक्त नानेकपाक र नानेकाकको यो दुर्दशा म हेर्न सक्दिन । हजुर त अन्तर्यामी हुनुहुन्छ, सबै कुरा थाहा नै होला । यिनीहरूलाई बरदान दिएर सुखी बनाउनु पर्‍यो ।"
पार्वतीले धेरै कर गरेपछि भगवानले म्याकबुक खोले, अनि यिनीहरूको रेकर्ड अध्ययन गर्नथाले । भगवानले के पत्ता लगए भने यिनीहरू एक नम्बरका ठग रहेछन् । रक्सी खाएर अनमत्त र निर्लज्ज भएर हिँड्दा रहेछन् । सयौँपटक ठोकर खाएर चोटै चोट रहेछ । आदर्शको ढ्वाङ्ग गर्दा रहेछन्,  तर पटक्कै अनुशासन रहेनछ ।  अर्काको देख्यो कि चोर्न मन लाग्ने, अनि चोर्न नपाए फोर्न मन लाग्ने बानी रहेछ । अरुबाट केही कुरा फुत्काउनु परेमा लम्पसार हुँदा रहेछन् र फुत्काएपछि उसैलाइ भिरबाट खँदार्दा रहेछन् । पुलिस आयो भने एकजुट भएर भिड्दा रहेछन्,  तर आफुआफुमात्र भएमा काटाकाट मारामर गर्दा रहेछन् ।  परिश्रम पटक्कै गर्दैन रहेछन् । तर प्रभुलाई खुशी पार्याे भने आफुलाई चाहिने कुरा त्यति कै पाइन्छ भन्ने ठान्दा रहेछन् ।
उनीहरुको रेकर्ड हेरेपछि शिवजीलाई भयङ्कर रिश उठेछ । ठूलो स्वरले पार्वतीलाई भने, “पारु रानी ! तिमी यस्ता धत्तुरेको सिफारिस गर्ने ? लौ हेर त यिनीहरुको रेकर्ड ! जिन्दगीमा एउटा पनि राम्रो काम गरेको छैन । मान्छेले आफ्नो कर्मले गर्दा राम्रो नराम्रो फल पाउने हो । यिनीहरुले नराम्रो कर्ममात्र गरेको हुँदा जिन्दगी भरी सुख पाउँने गुञ्जायसै छैन । अबदेखि यो लिँडे ढिपी नगर ।”
शिवजीका कुरा सुनेर पार्वतीलाई ज्यादै रिश उठ्यो । उनी पनि गन्गनाउन थालिन्, “आफु पनि कुन गतिलो हो र ! घरमा दुइै पैसाको काम गर्नु छैन । खरानी घस्याछ, गाँजा भाङ्ग घिचेको छ, लखरलखर हिँड्या छ, लकडाउनको पनि वास्ता छैन । अर्काको अनुशासन खोज्ने ? आफु दरिद्र भएर पनि तपाईँ जस्तो बेसोमतलाई रात दिन पुजा गर्ने ती भक्तहरुको तपाईँलाई कुनै चिन्ता छैन ? भक्तलाई दुःख पर्दा मद्दत नगर्ने भए भगवान किन पुज्ने ?”
पार्वती तातेको देखेर शिवजीले एक चिलिम ताने, लामो गरी धुवाँ फ्याले र एकटकले अनन्तमा हेर्न थाले । पार्वतीको रिश मरेको थिएन । उनी एकोहोरो फलाकि रहेकी थिईन् । शिवजी रिशले आगो भईसकेका थिए । तर कुनै प्र्रतिकृया नजनाई धुम्धुम्ती बसिरहेका थिए । केही गर्दा पनि शिवजी टसकामस नभएपछि उनले अन्तिम तुरुपको रुपमा नारीअस्त्र प्रयोग गरिन् । पार्वतीको रुवाई शुरु भएपछि शिवजी के गर्नु न के गर्नु भए । उनले सोचे, ‘म त यिनको गार्जियन हुँ नि । रिश देखाउनु हुँदैन । दक्ष प्रजापतिको राजमहलको सुखसयल त्यागेर म जास्तो आबारासँग आएकी छ । माईत जाउँ भने ठाउँ छैन । म बाहेक अरु को सहारा छ र यसको । होस्, जे भए पनि एक पटकलाई यसको जिद्दी मानिदिनु पर्यो ।’
न रोउन पारु !” शिवजीले फकाउन पार्वतीलाई गालामा म्वाई खाईदिए ।
पार्वतीले पनि ठुस्केकै भावमा शिवजीको मुण्टो झट्कार्दै भनिन्, “छिः छिः कस्तो गनाएको ! आज बुरुस (ब्रस) पनि गरेको रहेन छ । पर जानु ।”
पार्वती ! म भगवान हुँ । मलाई भिसाको दुःख थिएन, अमेरिका युरोप जस्ता जुनसुकै धनी देशमा गएर पनि आनन्दले बस्न सक्थेँ । बाराक ओबामा त मेरो लकेट नै बोकेर हिँड्थे । तर, तिमी पर्वतकी छोरी पार्वती ! पर्वत छोडेर अन्त बस्न नसक्ने भएकोेले तिम्रैलागि यही नेपालमा थन्किएर बसेको छु । तिमी पनि रिशायौ भने मेरो के बाँकी रह्यो र ! ल हिँड । ती नानेकपाक र नानेकाकलाई बरदान दिएर धनी बनाएर आउँ ।”
पार्वती खुसी भईन् । हतार हतार निलडेभिडको ब्युटी पार्लरमा गाएर थ्रेडिङ्ग गरिन्, अनुहारमा ओले क्रिम घसिन्, लेकमीको लिपस्टिक दलिन् । निलले पैसा लिन मानेन्, “भगवानको बुढीसँग कल्ले पैसा लिन्छ ? बरु मलाई त ढेउवावाला ग्राहक धेरै आउने बरदान दिनु न !”
पार्वतीलाई कुर्दाकुर्दा शिवजीलाई झ्वाँक चलिसकेको थियो, “पार्टी भतेरमा हिँडेको हो र सिङ्गारिनु पर्यो ? यी आईमाईलाई मेकअप नगरी हिँड्दा के हुने हँ ? कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।” पार्वतीले शिवजी बोलेको पटक्कै सुनिनन् । उनलाई आफ्नै धुन थियो, “स्वामी ! मेरो ‘काल्की फेसन’को पर्पल लेहेङ्गा कता परेछ ?”
शिवजीले बाहिरैबाट कराए, “अस्ति धोएर त्यही गोदरेज दराज भित्र राखिदिएको छु ।”
गुगल म्यापमा खोज्दै खोज्दै शिव पार्वती नानेकपानानेकाभए नजिक पुगेर झाडीमा लुके । त्यती दामी लेहेङ्गा र मेकअपमा सजिएर पनि झाडीमा लुक्नुपर्दा पार्वतीको मन खिन्न भएको थियो ।
नानेकपाक र नानेकाक सायद कतैबाट भिख मागेर फर्किएका होलान् । आज मागेको चामलले खिर खाने कुरा नानेकपाले गर्यो । नानेकाले भनी, “दिनभर माग्दा बल्ल एकमाना चामल पाईएको छ । तिमीलाई खिर ! म त पुलाउ खाने हो ।” पोकाको चामलको के पकाएर खाने भन्ने विषयमा चर्काचर्की बढ्दै गायो । यतिकैमा नानेकाकले चामलको पोकोले नानेकपाकको मुखैमा बजाई । नानेकपाकले पनि चामलकाे पाेकाे नै ढलमा लगेर फालिदियो । अब खान केही बचेन, आज पनि भोकै सुत्नु पर्ने भयो । झगडा शान्त भयो ।
यो चर्तिकला हेरिरहेका शिवजीले फेरी पनि पार्वतीलाई सम्झाउँदै भने, “हेर हिमावत पुत्री ! यी दिशाहिन र कर्मविमुख मनुवालाई जे दिए पनि अडिँदैन । मैले विधिको नियम पालना गर्नु पर्छ । विधि  बिपरित गएर मनलाग्दि गर्याे भनेर भाेलि फेसबुक र ट्युटर मेरा मिमले रङ्गिन्छन् । जाेखिम माेलेर यस्ता पातकीलाई सुख दिने कुरा छोडि देउ ।” पार्वतीले घ्याक पसार्न छोडिनन् । महादेवको केही लागेन । पार्वती त पार्टी ड्रेसमा नै थिईन् । शिवजीले पनि कोट टाई ढाल्काएर नचिनिने बने । दुबै जना नानेकपाक र नानेकाकका अघि गए । शिवजीले भने, “हे नानेकपाक र नानेकाक ! तिमीहरु शिवभक्त रहेछौ । हामी पनि शिव भक्त हौँ । शिवभक्तले दुःख पाएको हामी हेर्नै सक्दैनौँ । त्यसैले तिमीहरुलाई  म तीनवटा मनचिन्ते क्वाईन (सिक्का) दिन्छु । यी सिक्काहरुको आफ्नै नाम छ – पहिलो प्रजातन्त्रे, दोस्रो लोकतन्त्रे र तेस्रोको नाम चैँ गणतन्त्रे हो । साँझ परेपछि तिमीलाई चाहिएको एउटा कुरा मनमा सम्झ, एउटा सिक्काको नाम लेउ र सिक्का फ्याँक,  त्यो कुरा तुरुन्त तिमी पाउँछौँ । याद गर एउटा सिक्काले जम्मा एक पटकमात्र काम गर्छ । त्यसैले जिन्दगीभर पुग्ने सुखसयलका सारा कुरालाई मिलाएर तीन पटकमा मागि सक्नुपर्छ, नत्र पछुताउनु पर्ला । अहिले हामी जान्छौँ ।” 
यिनीहरुले के माग्छन् भनेर पार्वतीलाई खुल्दुली भएछ । उनले  शिवजीसँग अनुराेध गरिन् , “हे प्रभु ! यिनीहरुले के माग्दा रहेछन् भन्ने मलाई खुल्दुली भयाे । यति टाढा आईहालियाे, नन्दीकाे हेडलाईट पनि अस्ति हाई भाेल्टेज लेड चिम हालेकाे छ । राती जान सकिहालिन्छ । प्रभु यहीँ लुकेर हेराैँन ।
दुनियाँ हल्लाउने शिवजीकाे पनि पार्वतीकाे जिद्दीसँग केही लाग्दैन थियाे । उनिहरु त्यहीँ कहीँ लुकेर उनीहरुको क्रियाकलाप नियाल्न थाले । साँझ पर्यो । नानेकपाक र नानेकाक के माग्ने भनेर सल्लाह गर्न थाले । नानेकपाकले बालुवाटारमा ८ आना घडेरी, चितवनमा कट्ठा जग्गा र २ वटा मोबाईल मागौँ भन्यो । नानेकाक मानिन, “त्यस्तो जाबो जग्गा र मोबाईलले के गर्नु ? घरको छाना चुहिने छ, पानी पर्दा रातभरी सुत्न पाईँदैन । भिख माग्न पैदलै हिँडेर चारगाउँ डुल्नु पर्छ । अघिकी आईमाईले कति राम्रो लुगा लगाएकी थिई । आफ्नो त यही जडाउरी पनि १० ठाउँ टालेको छ । म त घर छाउने बण्डलकाबण्डल जस्ता, भिख माग्नजाने पजेरो र महङ्गो लेहेङ्गा माग्छु ।” यति भनेर नानेकाकले नानेकपाकको हातबाट सिक्का खोसी ।
माग्ने कुरालाई लिएर नानेकाक र नानेकपाकबीच घमासान पर्यो । सिक्का खाेसाखाेस् चल्याे । पार्वतीले लुकेको ठाउँबाट प्रार्थना गरिन्, “हे भगवान ! यिनीहरुलाई बुद्धि देऊ । बरु सत्तरी असी करोड मागुन, लाउडा र वाईडबडी मागुन, बुढीगण्डकी डिल मागुन, मेलम्ची लम्ब्याउन मागुन् । खर्बपति बनुन । यो के लडाईँ गर्या होला । अहिले मादेवलाई रिश उठ्यो भने सबै खरानी हुन्छ ।”
नानेकपाक र नानेकाकको झगडा अझ बढ्दै गयो । “तँ रण्डोलाई केही माग्न दिन्न, म आफैँ माग्छु ।” भन्दै नानेकाकले फेरी सिक्का छिनी । छिनाछम्टीमा नानेपाकले नानेकाकलाई दुई लात कस्यो, “बोक्सी ! तँलाईमात्र माग्न आउँछ । लु खा ।” रिशको झोँकमा नानेकपाकले पहिलो सिक्का फाल्दै, “ओई प्रजातन्त्रे सिक्का ! त्यसका बाबुकाे नाकै नाक दे” भन्नमात्र के पाएको थियो – उसको कोठा, आँगन, बाटो, घरको छाना देखि ओछ्यानसम्म नाकै नाकको खात लाग्यो । टेक्ने ठाउँ छैन, हिँड्ने ठाउँ छैन सबै तिर नाक ....। उसले नानेकाकलाई खोज्यो अलि पर नाकको डंगुरभित्र पुरिरहेकी रहिछ । उसलाई तानेर निकाल्यो । यसो मुखमा हेरेको मुखभरी ५० वटा भन्दा बढी नाकै नाक पलाएकाे पाे रहेछ । उ काहालियो, “ए नानेकाक ! तेरो यो के हाल भयो ? अनुहारभरी नाकै नाक छ त !”
अत्तालिएर नानेकाकले नानेकपाकको अनुहारमा हेरी । नानेकपाकको अनुहारमा त झन् १०० वटाभन्दा बढी नाक उम्रिसकेकाे रहेछ । एकअर्काकाे अनुहार हेरेर दुबै भक्कानिए । “अब के गरेर अनुहार देखाउनु, कसरी बाँच्नु ? हे शिव यो के आपत आईपर्यो । हामी जस्तो असल भक्तलाई मात्र किन दुःख दिन्छौ प्रभु ? तिमी त असाध्यै पापी रहेछौ । तिम्रो सात सन्तानले दुःख पाओस् । तिम्रो परिवारमा कोरोना लागोस् । औषधी किन्ने पैसा पनि अरुले नै भ्रष्टचार गरेर खाईदियोस् ।” आफ्नो पोईलाई गाली गरेको सुनेर पार्वतीलाई मरुञ्जेल रिश उठ्यो । शिव भने मुसुमुसु हाँसी रहे । उनीहरुले भगवानलाई गाली गर्न छाडेनन्, “हुन त त्यस्तो ट्यापेलाई भगवान र कुलङ्घरा पार्वतीलाई देबी मानेपछि दुःख पाईँदैन त ?”
केही बेर रोएपछि नानेकपाकले बिचार गर्यो, “अर्को सिक्का फ्याँकेर यो नाक चैं हटाउनु पर्यो ।” नाक हटाउने कुरामा दुबैको चाेचाेमाेचाे मिल्याे । नानेकाकले एउटा सिक्का फ्याँकेर मागी, “हे लोकतन्त्रे सिक्का ! यी सबै नाकहरु हटाई देऊ ।” उसले भनेर सकेकी पनि थिईन नाकहरु त क्रमशः उड्दै जान थाले । हेर्दा हेर्दै सबै नाकहरु हराए, कोठा सफा भयो । दुबैले ढुक्कको सास फेरेर गुन्द्रीमाथि थ्याच्च बसे ।
खुईय गर्दै नानेकाकले भनी, “कस्तो विपत आईपरेको होला ! अनुहारभरी नाक पलाउँदा त कस्तो बिरुप देखिँदो रहेछ ।” यति भनेर नानेकपाकको अनुहारमा सुम्सुम्याउन थाली । जब उसको हात नाक हुने ठाउँमा पुग्यो ऊ चिच्याएर कराई, “खै त तिम्रो आफ्नो नाक ? यहाँ त ओडारमात्र छ त ?” नानेकपाकले नानेकाकलाई हेर्यो, उसको त नाक हुने ठाउँमा झन् ठूलो भ्वाङ्ग परेको रहेछ । नाकबिनाका दुबैले एक अर्कालाई हेर्दै छाति पिटीपिटी रुन थाले, “हामीलाई शिवभक्त भनेर जालमा फँसाए । ती डाकाहरुले हाम्रो सुख चयन देख्न नसकेका । कति हँसिलो खुसिलो जिन्दगी थियो हाम्रो । बिनापत्तमा खर्बपति हुने लोभ देखाईदिए । हामीलाई घडेरी, मोबाईल, गाडी किन चाहिएको थियो र?  भिख मागेर आरामले खान पुगेको नै थियो । हे भगवान ! अब के गरुँ ? कसरी मुख देखाउनु !”
नानेकपाकले भन्यो, “तैँले माग्ने बेलामा ध्यान दिनु पर्दैन ? ‘सबै नाक जा’ भनिस्, अनि आफ्नो नाक पनि गयो । माग्न पनि ढङ्ग चाहिन्छ । बुद्धि नहुनेले माग्यो भने दुनियाले दुःख पाउँछ भनेको यही हो ।” आफुलाई इन्सल्ट गरेकोमा नानेकाकलाई साह्रै रिश उठ्यो, “को हो पहिला नाक माग्ने? मैले त तिमीले बिगारेको सपार्न खोजेको पो हो त । तिमी जस्तो भँडुवालाई बनाउन र सच्याउन त के आउँछ र ! जे छोयो त्यही खत्तम । तिमीलाई त दुईतिहाई नै दियो भने दुईकौडीको काम गर्न सक्दैनौ । के फुर्ती लाउँछौ ?” यसै कुरालाई लिएर दुबैको घमासान भयो । नानेकपाकको गालामा कोतरेर रक्त्याम्य बनाईदिई भने नानेकाकको जगल्टा भुत्ल्याएर भुईँभरी छरपस्ट भयो । लडाईँ गरेर थाके पछि दुबै भुईँमा टक्र्याकटुक्रुक्क बसे । नाक हुने टोड्काबाट पानी बगिरहेको थियो ।
खै लेऊ त्यो अन्तिम सिक्का । आफ्नाे आफ्नाे पुरानै नाक मागौँ ।” नानेकपाकले आज्ञाकारी भएर अन्तिम सिक्का पनि नानेकाकलाई दिँदै भन्याे, “अब माग्दा चैँ हामी दुईजनाको अनुहारमा भएको एकएकवटा नाक पहिलाको जस्तै भएर आईदियोस् भनेर माग नि !” उसले नानेकपाकको टोड्के अनुहारमा बतासे नजरले हेरी । 
नानेकाकले तेस्रो सिक्का फाल्दै भनी, “हे गणतन्त्रे सिक्के प्रभु ! अब हामीलाई धेरै दुःख नदेऊ । हामी दुईजनाको अनुहारमा भएको एकएकवटा नाक पहिलाको जस्तै भएर आईदियोस् ।”
बरदान माग्नमात्र के पाएको थियो नानेकपाक र नानेकाकको ओडार पुरिन थाल्यो र बिस्तारै नाक पलाएर पहिलाको जस्तै भयो । दुबैले एक अर्काको अनुहार हेरे । सबै प्रतिगमन सच्चिसकेको रहेछ । ढुक्कको सास फेरे । अनुहार उज्यालो भएर आयो । ताकत सकिएका प्रजातन्त्रे, लोकतन्त्रे र गणतन्त्रे सिक्काहरु उद्धारकाे याचना गर्दै भुईँमा लडिरेको थिए । उनीहरुले त्यता हेर्न पनि चाहेनन् र त्यसलाई फेरि सम्हाल्न पनि चाहेनन् ।
शिवजीले पार्वतीलाई भने, “देख्यौ सतीदेवी ! मैले तिमीलाई अघि नै भनेको होईन – यिनले जिन्दगीमा एउटा पनि राम्रो काम गरेका छैनन् । मान्छेले आफ्नो कर्मले गर्दा राम्रो नराम्रो फल पाउने हो । नराम्रो कर्ममात्र गरेको हुँदा यिनलाई जिन्दगी भर सुख पाउँने हक छैन । मैले गरेर केही हुनेवाला छैन । हिँड जाउँ, गणेश उठ्यो भने खाटबाट लड्छ ।”
पार्वतीको मन मानेन छ । जाने बेलामा एक पटक बोलाएर जानु पर्यो भन्ने ठानिछन् । मानिस नचिन्ने अँध्यारो भईसकेको थियो । पार्वतीले बोलाईन्, “ए नानेकपाक !” कसैले जवाफ दिएन । फेरि उनले नानेकाकलाई पनि कराईन, ऊ पनि बोलिन । “हे प्रभु ! के भयो ? यिनीहरु त मरे कि क्या हो?”
शिवजीले भने, “उनीहरुको नाम लिएर बोलाउन पार्वती !”
प्रभु उनीहरुको नाम नै नानेकपाक र नानेकाक हो ।”
हे ऊमा ! अघि उनीहरुले नाक जाओस् भनेर माग्दा हाम्रो नामको नाक चैँ रहोस् भनेर भनेन् । अब उनीहरुको नाममा रहेको ‘ना’ र ‘क’ हटिसक्यो । ना र क हटाएर बोलाउ त ।”
पार्वतीले बोलाईन, “ए नेकपा र नेका ! हामी गयौँ है !”


२५ बैसाख २०७७
भक्तपुर ।

Thursday, March 26, 2020

मेरो सुख
======
आफ्नै दुई आखाबाट त सन्सार फरक फरक देखिन्छ, सन्सारका ७ अर्ब मान्छेका १४ अर्ब आखाले एउटै दृश्य देख्नु पर्छ भनेर आग्रह राख्नु नै दु:ख हो । अर्थात; अपेक्षा दु:ख हो ।
शुन्यमा सुख हुन्छ । आफू मिटाउनु शून्य हो । मैले आफुलाई मिटाउन सकिन त्यसैले सुखी हुन सकिन । तर, दु:खी छैन, किन भने कसैसङ्ग कुनै अपेक्षा छैन ।
सम्झौता त सुख र दु:खबीचको सिमानामात्र हो ।
हरेक मान्छे बुद्ध वा गान्धी हुन सक्दैन । आम मानिससग २ वटा मात्र विकल्प छन: १. सुखी हुन नसक्नु वा २. दु:खी हुनु ।  तपाईं कहाँ पर्नु हुन्छ?  त्यो अरुले थाहा पाउने कुरा नै होइन ।
हरेक पल आफ्नो पोजिसन सोच्नु र  तेश्रो विकल्प खोज्नुलाई साधना भनिएको हो । ध्यान चै आत्मा निरीक्षण हो । साधना र ध्यान पनि सुख प्राप्त गर्ने साधन मात्र हुन । फेरि पनि साध्य त सुख हो । तर सुखको आग्रह झन ठूलो दु:ख हो । त्यसैले शुन्य बाहेक कतै सुख छैन ।
कुण्ठा दु:ख हो । कुण्ठा दबाउन मुस्कुराउनुले पनि सुख सिर्जना गर्दैन । त्यो मुस्कान अझ ठूलो दु:ख हो । बिजय झन बिकराल दु:ख हो, किनभने बिजय जहिले पनि सुरुवात मात्र हुन्छ । बिजयको अन्त्य खोज्दै जादा दु:खबाट कहिल्यै बाहिर आउन सकिदैन । त्यसैले हरेक आग्रह भन्दा टाढा.... शुन्य जस्तो सुख कतै छैन ।

बालविलाप


घ्वार्रर्घ्वार सुत्न छोडी एकाबिहान उठ्न
के पो ठान्यौ मलाई ! म अलार्म घडी हो र ?
स्विचसङ्गै चल्नु पर्ने, रिमोट बोक्ने अरु -
भित्ताभरी सजाईएको के म टिभी हो र ?

कुम्लो कसी, नाम्लो भिरी, कापी-किताब बोक्न
किन पेल्छौ यति सारो ! के म भरिया हो र ?
गिलीडण्डा, चट्टी, चङ्गा खेल्न भ्याई नभ्याई
पचास् थरी होम्वर्क गर्न के म नोकर हो र ?

पिरो नखा, अमिलो छ, खा खा लिटो धेरै
सधैँभरी कुडोखोले - के म पशु हो र ?
पौडी नखेल् ! साइकिल नचढ् ! बाहिर नजा, लड्न !
घरै भित्र कस्तो दण्ड ! के म कैदी हो र ?

स्कुल जाऊँ गुरू कडा, घरमा बाबू आमा !
छिमेकी झन् पोल्याहा परे, पोखुंँ ब्यथा कहाँ ?
चराभई जन्मेको भए उडि सक्थेंँ पर !
जाबो वच्चा परे हजुर ! मेरो के दम् छ र?
13 March, 2018
Bhaktapur

Tuesday, March 10, 2020

श्रीकृष्ण अनादि अक्षरातित प्रभु

हो.................
श्रीकृष्ण अनादि अक्षरातीत प्रभु ! 
चरणमा माँगु कसोरी म ठाऊँ ।
डुबेको छ जीवन पाप पोखरीमा, 
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो.................

मेरो मेरो भन्दै जीवन यो बित्यो !  
हित कसैको गर्दै गरिन ।
भोग, विलास र लोभले जित्यो; 
निर्धा भोकाको पेट भरिन ।
कुकर्मले पोतिएको कालो मन यो, 
लिएर म मन्दिर कसोरी धाऊँ ?
डुबेको छ जीवन पाप पोखरीमा, 
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो.................

अर्थ र अस्त्रले दुनियाँ जलाँए 
भगवत ज्ञान र शास्त्र पढिनँ,
छोडेर वेद म टुप्पोमा पलाँए !
सुमतिको बाटोमा कहिल्यै बढिनँ ।
भक्ति भजनमा फुरसत् नहुने म
तिम्रो समय कसोरी मिलाउँ ?
डुबेको छ जीवन पाप पोखरीमा, 
कलुषित मुख यो कसोरी देखाऊँ ?
हो ..........…........


१४ फागुन, २०८१
राधेराधे, भक्तपुर ।

Saturday, March 7, 2020

म आवारा !

म  मर्दा  रूने  को छ र!
म हाँस्दा को रमाउँछ र?
पिएर  आँशुका  धारा,
हँसाई हिड्दछु सारा ...
म आवारा हुँ आवारा म आवारा ।

रोई  हिड्नेहरूको -
ताँती  भित्र  पस्दछु,
दु:ख खान्छु पीर् पीउँछु,
आकाश मुनि बस्दछु ।
साथी टिम्टिमे तारा....
म आवारा हुँ आवारा म आवारा ।

न फूल्न सक्यो सपनी,
ससग्लो उभ्भी हाँगोमा ।
न बग्न सक्यो जिन्दगी,
निर्बाध खस्ने छाँगोमा ।
काँ बन्न सक्छु साहारा !
म आवारा हुँ आवारा म आवारा ।

२४ फागुन, २०७६
ठिमी, भक्तपुर ।

#Jhalendra Bhattarai

Friday, March 6, 2020

सेयर बजार नलेज : यति बुझेपछि प्रसस्तै (२७ बुँदामा)


बैंकिङ खबर । धितोपत्र बजारमा प्रवेश गरेकाहरु सबैले धितोपत्र बजारबारे सम्पूर्ण कुराहरु जानेका हुन्छन् भन्ने हैन । कतिपय मानिसहरु साथीभाईको लहलहैमा लागेर पनि शेयर कारोबारमा हात हाल्छन् । तर, बजारसम्बन्धि सामान्य कुराहरु नबुझ्दा आफूलाई निकै पछाडि परेको महशूस गर्छन् । त्यस्तै, कतिपय मानिसहरु धितोपत्र बजारबारे आवश्यक जानकारी नहुँदा बजारमा छिर्ने रहर मनमै पालेर बसेका हुन्छन् । तपाईँको यस्तै समस्या र आवश्यकतालाई मध्यनजर गर्दै बैँकिङ खबर डट कमले धितोपत्र बजारसम्बन्धि केही महत्वपूर्ण शब्दावलीहरुबारे प्रकाश पार्ने जमर्को गरेको छ । प्रस्तुत छ, सहकर्मी रुपा कोइरालाद्धारा तयार पारिएको सामग्री :
लाभांश र बोनश शेयर
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर ९बोनश शेयर० प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।
मर्चेण्ट बैंक
धितोपत्रको प्राथमिक निष्काशन कार्य प्रवन्धको जिम्मा लिने, प्रत्याभूति गर्ने तथा धितोपत्र कारोबारका लागि दरखास्त संकलन तथा विवरण जस्ता कार्यहरु गर्ने संस्थालाई मर्चेन्ट बैंक भनिन्छ ।
धितोपत्र दलाल
ग्राहकको तर्फबाट धितोपत्र खरीद बिक्री गरिदिने धितोपत्र ब्यवसायीलाई धितोपत्र दलाल भनिन्छ ।
धितोपत्र ब्यापारी
प्राथमिक बजामा निष्काशन भएका धितोपत्रहरु सवै वा केही खरीद गरी धितोपत्र बजार मार्फत बिक्री गर्ने र ग्राहकसँग लगानी करार गरी लगानी प्रवन्ध गर्ने जस्ता कार्यहरु गर्ने धितोपत्र ब्यवसायीलाई धितोपत्र ब्यापारी भनिन्छ । धितोपत्र ब्यापारीले ग्राहक वा आफ्नो नामबाट धितोपत्र दलाल मार्फत धितोपत्र खरीद बिक्री कारोबार गर्दछ ।
बजार निर्माता
नेपाल सरकारको जमानतमा जारी भएको डिवेञ्चर वा सामूहिक लगानी योजना वा सूचीकृत धितोपत्रहरुमा तरलता प्रदान गर्ने उद्देश्यले धितोपत्र आफ्नो नामबाट खरीद बिक्री कारोबार गर्ने संस्थालाई बजार निर्माता भनिन्छ ।
शेयर रजिष्ट्रार
संगठित संस्थाहरुको धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिल खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न जिम्मा लिने संस्थालाई शेयर रजिष्ट्रार भनिन्छ ।
डिवेञ्चर
तोकिएको दर र समयमा साँवा तथा ब्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मूल्य साधारणतः १ हजार रुपैँया हुन्छ । डिवेञ्चरवालाहरुले आफूले गरेको लगानी रकममा तोकिएको दरमा वार्षिक वा अर्धवार्षिक रुपमा ब्याज प्राप्त गर्दछन् । साधारण शेयर र अग्राधिकार शेयरमा लाभांश दिनु अघि नै डिवेञ्चरवालाहरुले ब्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवालाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन । डिवेञ्चरवाला र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि। कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चालाउन सक्छन् । प्रायः जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन । डिवेञ्चरहरु सुरक्षित ९कम्पनीको सम्पत्ति जमानत वा बन्धक राखी निष्काशन हुने० वा असुरक्षित, विमोच्य ९निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने० वा अविमोच्य र परिवर्तनशिल ९निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने० वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।
वारेन्ट
कुनै निश्चित समयमा तोकिएको संख्या र मूल्यमा साधारण शेयर खरीद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण शेयर खरीद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकारनै वारेन्ट हो । सामान्यतः बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ । भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण शेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण शेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको तस्तै रहन्छ । वारेन्ट निष्काशन गर्दा भविष्यमा साधारण शेयर खरीद गर्नका लागि भुक्तानी गर्नुपर्ने मूल्य, वारेन्ट प्रयोग गरी साधारण शेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरिसक्नुपर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।
ब्लू चिप शेयर
संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउँदै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको शेयरलाई ब्लू चिप शेयर भनिन्छ । यस प्रकारका शेयरहरुको प्रायः बढी मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।
धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली
सम्पूर्ण धितोपत्रवालाहरुको धितोपत्रहरुको जिम्मा लिई खरीद बिक्रीको रेकर्ड, नमासारी, हस्तान्तरण जस्ता कार्यहरु सरल र छिटो छरितोरुपमा सम्पन्न गर्न सघाउ पुयाउने प्रणालीलाई धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली भनिन्छ । निक्षेपकर्ताहरुले बैंकमा रकम राखे जस्तो धितोपत्रवालाहरुले यस प्रणाली अन्तर्गत आफ्ना धितोपत्रहरु निक्षेप राखी खाता खोल्न सक्छन् । यस प्रणालीले धितोपत्र नासिने, हराउने, चोरी हुने, नक्कली शेयर निस्कने जस्ता समस्याहरु हटाउँदछ । साथै यस प्रणालीले कारोबार लागत घटाउन समेत मद्दत गर्दछ ।
प्रत्याभूति
प्राथमिक बजारमा निष्काशन हुने धितोपत्रहरुको बिक्री नभएमा त्यस्तो धितोपत्रहरु खरीद गर्ने कवुलियत गर्नुलाई धितोपत्रको प्रत्याभूति भनिन्छ ।प्रत्याभूतिकर्ताले धितोपत्रको प्रत्याभूति गरे वापत सम्बन्धित निष्काशनकर्ता कम्पनीबाट सम्झौता बमोजिमको शूल्क प्राप्त गर्दछन् ।
विवरणपत्र
सार्वजनिकरुपमा धितोपत्र निष्काशन गर्नु अघि सम्बन्धित संगठित संस्थाले विवरणपत्र प्रकाशन गर्नुपर्दछ । विवरणपत्रमा धितोपत्र निष्काशन गर्न चाहने संगठित संस्थासँग सम्बन्धित विस्तृत विवरणहरु खुलाइएको हुन्छ र लगानीकर्ताहरुलाई उक्त विवरणहरुको आधारमा सम्बन्धित संगठित संस्थाको धितोपत्रमा लगानी गर्ने वा नगर्ने भनी निर्णय गर्न सघाउ पुग्दछ ।
धितोपत्रको अधिक र न्यून माग
सर्वसाधारणमा निष्काशन खुल्ला गरिएका धितोपत्र खरीदका लागि धेरै दरखास्त परी निष्काशन गरिएको भन्दा बढी धितोपत्रहरुको माग स्थितिलाई धितोपत्रको अधिक माग र कम धितोपत्रको माग भएको स्थितिलाई धितोपत्रको न्यून माग भनिन्छ । धितोपत्रको अधिक माग भएको स्थितिमा कम कम परिमाणमा माग गर्ने समूहलाई बढी र क्रमशः बढ्दो परिमाणमा धितोपत्रको माग गर्ने समूहलाई क्रमशः कम भार दिई धितोपत्र बाँडफाँट गर्नुपर्ने ब्यवस्था रहेको छ ।
थप मूल्य
धितोपत्र निष्काशन गरिने मूल्य र अंकित मूल्य विचको फरकलाई एचझष्गm भनिन्छ । धितोपत्रको अंकित मूल्य भन्दा बढी मूल्यमा धितोपत्र निष्काशन गरिएको अवस्थालाई एचझष्गm मा धितोपत्र निष्काशन गरिएको भनिन्छ ।
खरीद प्रस्ताव तथा बिक्री प्रस्ताव मूल्य
कुनै सम्भावित खरीदकर्ताले तिर्न चाहेको धितोपत्रको मूल्यलाई इााभच एचष्अभ भनिन्छ । धितोपत्र बजारको कारोबार पाटीमा धितोपत्र दलालहरुद्वारा अंकित गराइएको द्यष्म एचष्अभर इााभच एचष्अभ मिलेपछि धितोपत्र खरीद बिक्री कारोबार सम्पन्न हुन्छ ।
सूचीकृत धितोपत्रको चुक्ता मूल्य
सम्पूर्ण धितोपत्रवालाहरुद्वारा चुक्ता गरिएको सूचीकृत धितोपत्रको मूल्यको कूल जोडलाई धितोपत्रको चुक्ता मूल्य भनिन्छ ।
बजार पुँजीकरण
धितोपत्र विनिमय बजारमा सूचीकृत सम्पूर्ण धितोपत्रहरुको बजार मूल्यको कूल जोडलाई बजार पूँजीकरण भनिन्छ । बजारमा सूचीकृत धितोपत्रहरुको संख्या र तिनको आ९आफ्नो बजार मूल्य गुणन गरी जोड्दा बजार पूँजीकरण प्राप्त हुन्छ ।
बजार परीसूचक
सूचीकृत धितोपत्रहरुको आजको कूल बजार मूल्य र कुनै आधार वर्षको कूल बजार मूल्य बीचको अनुपात नै बजार परीसूचक हो । सूचीकृत धितोपत्रहरुको मूल्य बढेमा यो परीसूचक बढ्दछ भने घटेमा घट्दछ । नेपालमा नेपाल धितोपत्र विनिमय बजार लि। ले प्रत्येक दिन यस प्रकारको परीसूचक तयार गर्दछ, जसलाई ल्भ्एक्भ् क्ष्लमभह भनिन्छ ।
प्रतिशेयर बजार मूल्य
कुनै शेयरको धितोपत्र बजारमा कायम भएको मूल्यलाई प्रतिशेयर बजार मूल्य भनिन्छ ।
प्रतिशेयर आम्दानी
कम्पनीले आर्जन गरेको खुद नाफालाई कम्पनीको कूल शेयर संख्याले भाग गर्दा प्रतिशेयर आम्दानी प्राप्त हुन्छ । प्रतिशेयर आम्दानीले शेयरवालाहरु तथा कम्पनी भन्दा बाहिरका ब्यक्तिहरुका लागि नाफाको महत्वपूर्ण माप प्रदान गर्दछ । प्रतिशेयर आम्दानी बढ्दै गएको कम्पनीलाई कार्य सम्पादनमा सफल कम्पनी मानिन्छ भने प्रतिशेयर आम्दानी घट्दै गएमा समस्याको लक्षण मानिन्छ ।
नेट वर्थ
कम्पनीको चुक्ता पूँजी र सम्पूर्ण जगेडाहरुको कूल जोड नै कम्पनीको नेट वर्थ हो । नेट वर्थलाई कम्पनीको कूल शेयर संख्याले भाग गरेमा कम्पनीको प्रतिशेयर नेट वर्थ वा शेयरको किताबी मूल्य प्राप्त हुन्छ ।
मूल्य सम्वेदनशील सूचना
कम्पनीद्वारा गरिएको लाभांश वितरण वा बोनश शेयर निष्काशन सम्बन्धी घोषणा, ब्यवस्थापन परिवर्तन, विस्तार योजना, वित्तीय परिमाणहरु, अन्य पक्षहरुसँग हुने महत्वपूर्ण सम्झौताहरु तथा धितोपत्रको मूल्यमा प्रत्यक्ष असर पुयाउने घट्ना तथा अन्य सूचना र जानकारीहरुलाई मूल्य सम्वेदनशील सूचना भनिन्छ ।
भित्री कारोबार
नियमानुसार कम्पनीका लगानीकर्ताहरु समक्ष सार्वजनिक गराउनुपर्ने तर सार्वजनिक भै नसकेका कम्पनीको सूचनाहरुको आधारमा कम्पनीसँग प्रत्यक्ष सम्बन्धित ब्यक्ति वा निजको नजिकको ब्यक्तिले धितोपत्र कारोबार गरेमा यस प्रकारको कारोबारलाई धितोपत्रको भित्री कारोबार भनिन्छ । यस प्रकारको कारोबार गर्न प्रचलित ब्यवस्थाले बन्देज लगाएको छ ।
अधोन्मुख र उन्नतोन्मुख धितोपत्र बजार
धितोपत्रको उन्नतोन्मुख बजार भन्नाले बजारको क्रमिकरुपमा उभो लाग्दै गरेको स्थितिलाई जनाउँछ । यस प्रकारको बजारमा उद्योग, बैकिङ्ग, बीमा लगायत अर्थतन्त्रका हरेक क्षेत्रको सुधार सँगसँगै कम्पनीमा कुशल ब्यवस्थापनका कारण नाफामा क्रमशः वृद्धि भएको हुन्छ । यस वेला सूचीकृत कम्पनीहरुको शेयरको मूल्य बढी रहेको हुन्छ । अर्को तर्फ धितोपत्रको अधोन्मुख बजार भन्नाले बजारको गिर्दो अवस्थालाई जनाउँछ । यस स्थितिमा सूचीकृत धितोपत्रहरुको बजार मूल्य र बजार परीसूचक घट्दो प्रवृत्तिमा रहेको हुन्छ र लगानीकर्ताहरुमा निराशाको वातावरण रहन्छ ।
सञ्चालकहरु र सञ्चालक समिति
कुनै पनि कम्पनीको सम्पूर्ण कारोबारको प्रवन्ध, अधिकारको प्रयोग तथा कर्तब्यको पालना गर्ने जिम्मेवारी बोकेका ब्यक्तिहरु नै कम्पनीको सञ्चालक हुन । कम्पनीका सञ्चालकहरुको नियुक्ती प्रथम वार्षिक साधारण सभा नभएसम्म संस्थापकहरुद्वारा र तत्पश्चात साधारण सभाद्वारा हुने गर्दछ । कुनै पनि कम्पनीको सञ्चालक हुनका लागि सो कम्पनीको नियमावलीमा तोकिए बमोजिमको शेयर लिएको हुनु पर्दछ ।
वार्षिक साधारण सभा
कम्पनीले वर्ष भरीमा गरेको काम कारवाही, उपलब्धी, समस्या तथा भावी योजनाहरुको सम्बन्धमा शेयरवालाहरुलाई जानकारी गराउनुका साथै कम्पनीको वार्षिक हिसाब पारित गर्ने, लेखापरीक्षकको नियुक्ती गर्ने र अन्य महत्वपूर्ण विषयवस्तुहरु अनुमोदन गर्ने सम्बन्धमा नियमानुसार कम्पनीद्वारा प्रत्येक वर्ष बोलाउनुपर्ने शेयरधनीहरुको सभालाई वार्षिक साधारण सभा भनिन्छ । नेपालमा प्रचलित नियम अनुसार प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६ महिनाभित्र यस प्रकारको सभा बोलाउनुपर्ने ब्यवस्था रहेको छ ।
प्रतिनिधि
कम्पनीको वार्षिक साधारण सभामा कुनै शेयरवाला स्वयं उपस्थित हुन नसक्ने भएका निजले तोकिए बमोजिमको ढाँचामा निवेदन लेखी सहीछाप गरेर आफ्नो मतदान गर्ने अधिकार दिएको अन्य कुनै ब्यक्तिलाई प्रतिनिधि भनिन्छ । कुनै पनि कम्पनीको शेयरवालाले सोही कम्पनीको अर्को शेयरवालालाई मात्र यस प्रकार प्रतिनिधि मनोनित गर्न सक्छ ।

Thursday, December 19, 2019

विश्वमा वलत्कार

डाटा प्राप्त 121 देशहरुको सन् 2010 को Rape Statistic अनुसार सन्सारको सबै भन्दा बढी बलत्कार घटना भएका देशहरू (बलत्कार दर प्रती 1 लाखमा):
1.अमेरिका  84767 जना (27.3, दसौं)
2.दक्षिण अफ्रिका 48259 जना (92.9, पहिलो)
3.मेक्सिको 14993 जना (13.2, बिसौं)
4.जर्मनि 7724 जना (9.4, छ्ब्बिसौं)
5. अस्ट्रेलिया 6378 जना (28.6, सातौं)
6. स्विडेन 5937 जना (63.5, तेस्रो)
7. रुस 5398 जना (3.4, चालिसौं)
8. थाइलेण्ड 4676 जना (6.7,एक्तिसौं)
9. कोलम्बिया 3540 जना (6.8, उन्तिसौं)
10. बेल्जियम 2991 जना (27.9, नवौं)
11. बोलिविया 2587 जना (261, एघारौं)
12. इण्डिया 2172 जना (1.8, पचासौं)

Sunday, October 13, 2019

झोर - एक स्वर्गीय अनुभव (Jhor waterfalls, jhor_waterfalls)

आफ्ना बालबालिका वा परिवारका अन्य सदस्य वा प्रेमिका वा साथिभाई वा पाहुनालाई काठमाडौ नजिकको कुनै आकर्षक गन्तव्य घुमाउन चहानुहुन्छ? त्यसो भए तपाइँले झोर जानै पर्छ जहाँ "बौडेश्वर झरना तथा गुफा" ले यी सबैका चाहना पुरा गर्न सक्छन् । 
स्थानीय निकायको पुनर्संरचना हुन अघि काठमाडौ जिल्लाको झोर गाविसमा पर्ने "बौडेश्वर झरना तथा गुफा" क्षेत्र हाल टोखा नगरपालिकामा पर्दछ । काठमाडौ चक्रपथको बसुन्धरा चोकबाट ग्राण्डी हस्पिटल हुँदै टोखा बजार कटेर झोर पुग्न १०.१ कि.मी. को यात्रा तय गर्नु पर्छ (सुबिधा अनुसार सामाखुशी वा नारायणगोपाल चोकबाट गए पनि हुन्छ) । 
मुल सडकबाट करिब ५०० मीटर तल सिंढी झरेपछी झरनाको मुख्य स्थलमा पुगिन्छ । बृद्ध तथा हिड्न समस्या हुनेहरूलाई त्यहाँ पुग्न अर्को कुनै सजिलो साधन नहुने भएकोले हाल नजाने सल्लाह दिन चहान्छु । तर हिड्न सक्नेहरूको लागि भने जङ्गल, पहाड सिंढीको झराई, थकाईअनि गर्मी पश्चातको चिसो झरना - आनन्द नै बेग्लै छ । 
सिंढी उत्रेर झरना पुग्दा काठमाण्डौको चिसोमा पनि पसिना नै पसिना हुने भएकोले जोसुकैलाई पनि चिसो पानीमा झ्वाम्म हामफाल्ने मन हुन्छ । ठ्याक्क त्यही समयमा तपाईं आनन्दको झरनाको फेदमा पुग्नु हुन्छ । अनि सक्किगो नि! 
पवित्र विष्णुमति नदीको मुहानको रूपमा रहेको यो झरना तीन खण्ड भएर झरेकोछ । करिब ३० फिटको उचाईबाट दुईठाउं ठोकिदै यात्रा गर्ने पहिलो खण्डको फेदको छांगो यहांको एक प्रमुख आकर्षण हो । कार्तिक देखि फागुनसम्म पानी धेरै चिसो हुने भएकोले र पानी समेत घट्ने भएकोले झोरको पूरा मजा लिन पाईन्न । ११:०० बजे पुग्नु भए उत्तम, त्यो बेला घाम तात्दै हुन्छ । त्यसैले समय र महिना मिलाएर जानु होला । 
पहिलो खण्डको फेदमा करिब १० फिट लामो गुफा रहेकोछ । गुफा त्यति सांघुरो छैन, मज्जाले पसे हुन्छ । गुफाको बिच भागमा बौडेश्वर थान रहेको छ । त्यो भन्दा माथी प्वाल छ जसबाट असाध्यै जोखिम मोलेर मात्र माथिल्लो भागमा निस्किन सकिन्छ । म चैं तपाईलाई गुफाको त्यो प्वालबाट बाहिर निस्कन सल्लाह दिन्न । गुफाबाट बाहिर निस्किए पछि देब्रेतर्फको ओडारमा कृष्णवरुणेश्वर (वनमहादेव) को थान अवस्थित छ भने दाहिने तर्फ झरनास्नानको महत्वपुर्ण स्थल छ । लगाएको लुगासङ्गै भिज्ने, खेल्ने, नुहाउने चलन छ यो छाङ्गोमा । म तपाईंलाई एक सेट भित्रिबाहिरी लुगा अतिरिक्त बोकेर जान सल्लाह दिन्छु । 
दोश्रो खण्डमा पहिलो खण्डबाट बगेर आएको पानी करिब २० फिट जति ढुङ्गाको कापबाट भित्र बाहिर हुँदै बग्छ । यहाँ पुग्न केही अप्ठेरो छ । तर पुग्न सकेमा पानीमा चोभिदै घाम ताप्दै बडेमानका ढुङ्गामा पल्टिन खुब आनन्द आउँछ । यसको अन्त भागबाट तेश्रो खण्ड सुरु हुन्छ । बेगले बगेको पानी भिरालोको ढुङामा जोडले ठोक्किदा आकाशतर्फ उडेको मनमोहक दृष्य बिर्सिनसक्नु छ । त्यो पानी झरनाको रूप लिएर ठूलो आधा चिरिएको ईनार जस्तो आकारको ओडारमा झर्छ । यहाँ भिजेर मज्जा लिन पहिलो खण्डभन्दा रमाईलो छ । त्यसैले पहिलो खण्डमा मज्जा लिई सकेपछी कपडा चेन्ज नगरी दोस्रो खण्ड र तेस्रो खण्ड पुग्नुपर्छ ।तेस्रो खण्ड अलि बढी चिसो हुने र सांघुरो पनि हुने भएकोले यहाँ धेर समय नबिताउन ठिक । यसका आसपासमा रेस्टुरेण्ट र पेयिङ्ग चेन्जिङ्ग रूम पनि छन् । कपडा चेन्ज गरेको १५/- रुपैयाँ अलि धेर हो कि ? यो प्रकृया सबै सेवा र वस्तुमा देखियो । 
चुनौती 
===== 
प्रसस्त पर्यटकीय सम्भावना रहेको यस क्षेत्रमा उत्ति नै चुनौतीहरू पनि देखिन्छन् । फोहोर नियन्त्रणका कुनै उपायहरू अपनाईएका छैनन् । वृक्षारोपण र जैविक विविधता संरक्षणमा ध्यान दिईएको छैन । दिगो वातावरणीय संरक्षणका भरपर्दो कार्य भएको देखिदैन । हरियाली क्षेत्र नै सांघुरिने गरि धमाधम घरहरू बन्न थलेका छन् । अधिकृत अनाधिकृत निर्माणले निरन्तरता पाएमा पछि फराकिलो ठाउँ नै नरहेर कुरूप स्थान बन्ने पक्का छ । व्यापकरूपमा जग्गा अधिग्रहण गर्न आवश्यक छ, तर स्थानीय निकायले मात्र त्यो गर्नसक्ला नसक्ला ! संघीय सरकारको प्राथमिकतामा यो पर्ने देखिदैन । अहिलेसम्म मास्टर प्लान छैन । के बनाउने, कस्तो बनाउने - भन्ने सोच्ने नै को हो थाहा छैन ।  
के गर्नु पर्ला? 
========
शीरमा रहेका घरहरूका फोहोर झरनामा मिसिन नदिन मुहान संरक्षण र ढलको व्यवस्था तुरून्त आवश्यक छ । नत्र निर्दोष पर्यटक महामारीको सिकार हुन सक्छन् । मुहानबाट नै पानी धमिलो आउदैछ । माथी तलाउ बनाएर फिसिङ पण्ड पनि हुने र पानी पनि सङ्ग्ल्याउने फिल्टरेसन गर्न सकिन्छ । वरिपरिका जग्गाहरु अधिग्रहण गरि फराकिलो क्षेत्र कायम गरि बारबन्देज समेत हुन जरुरी छ । वच्चाहरू नै आन्तरिक पर्यटनका ड्राइभिङ फोर्स हुन् । त्यसैले त्यहाँ बालउद्यान र एड्वेन्चर प्लेका स्पटहरू निर्माण गर्नु पर्छ । नुहाउने ठाउँलाई प्राकृतिक स्वादमा अलि फराकिलो बनाई छेउमा महिला पुरूषका अलग अलग चेन्जिङ्ग रूम बनाउन सकिन्छ । विशाल विशाल पत्थरहरूको लोभ्याउदो अवस्थितिलाई अविस्मरणीय बनाउन र अन्य ठाउहरूमा समेत कलात्मक सेल्फी स्पट बनाउन पर्छ । काठमाडौमा युवायुवतीका लागि डेटिङ्ग प्लेसहरूको अभाव कम गर्न माथिल्लो भाग र दक्षिणी पाटोमा डेटिङ्ग स्पट बनाउन सकिन्छ । तल्लो समतल क्षेत्रबाट मोनोरेल वा केवलकार चलाउन सकिन्छ । दुईचार वटा फरक फरक स्वादका झोलुङ्गे पुल निर्माण गरेर सानो ठाउँमा थुप्रने भिड बाड्न सकिन्छ । यस्ता स्पटहरूलाई आवश्यकता अनुसार सशुल्क बनाउन पनि सकिन्छ । सशुल्क सेवाले संरचनाको संरक्षणमात्र हैन रोजगारी सिर्जनामा र स्थान विशेषको महत्व बढाउन पनि भूमिका खेल्छ । एकाध हेण्डीक्राफ्ट र गिफ्ट पसल चलाउन सकिन्छ । व्यावसायिक बोटानिक गार्डेन र नर्सरी चलाउन सकिन्छ । छेउमा साउना बाथ र मसाज सेन्टर समेत चलाउन सकिन्छ । मुख्य सडकमा ठुलो पार्किङ क्षेत्रको अहिल्यै आवश्यकता देखिसकिएको छ । सिक्किमको राजधानी ग्यान्टोकको एउटा छाङ्गोलाई त्यहाँको सरकारले "झांक्री गुफा" बनाएर वार्षिक लाखौं पर्यटक तान्ने गरेको छ । म टोखा नगरप्रमुखलाई एकपटक सिक्किम जान पनि आग्रह गर्छु । लगानी त आवश्यक पर्छ, तर त्यो उठ्छ पनि, आंशिक ऋण लिएर पनि गर्न सकिन्छ । बकम्फुसे सर्वज्ञ ज्ञाता महङ्गा कन्सल्टेण्ट(?) सङ्ग होइन, पर्यटन व्यवसायीहरूसङ्ग अझ बढी आईडिया हुन्छन् । अन्तरकृयाबाट शुरू गरौं, यसमा खर्च लाग्दैन, तर अर्बौंको जुक्ती निस्कन्छ । 
नेपाल हाम्रै पालोमा बन्छ । 
२०७६/०६/२६
काठमाडौ ।
#jhor_waterfalls, #jhor, #waterfalls, #visit_nepal_2020, #travel_kathmandu, #hello_tokha, Tokha Nagarpalika Six, @Tokh municipality, टोखा उद्योग बाणिज्य संघ, टोखा नगर बिकाश अभियान, हेल्लो टोखा नगरपालिका