Thursday, March 26, 2020

बालविलाप


घ्वार्रर्घ्वार सुत्न छोडी एकाबिहान उठ्न
के पो ठान्यौ मलाई ! म अलार्म घडी हो र ?
स्विचसङ्गै चल्नु पर्ने, रिमोट बोक्ने अरु -
भित्ताभरी सजाईएको के म टिभी हो र ?

कुम्लो कसी, नाम्लो भिरी, कापी-किताब बोक्न
किन पेल्छौ यति सारो ! के म भरिया हो र ?
गिलीडण्डा, चट्टी, चङ्गा खेल्न भ्याई नभ्याई
पचास् थरी होम्वर्क गर्न के म नोकर हो र ?

पिरो नखा, अमिलो छ, खा खा लिटो धेरै
सधैँभरी कुडोखोले - के म पशु हो र ?
पौडी नखेल् ! साइकिल नचढ् ! बाहिर नजा, लड्न !
घरै भित्र कस्तो दण्ड ! के म कैदी हो र ?

स्कुल जाऊँ गुरू कडा, घरमा बाबू आमा !
छिमेकी झन् पोल्याहा परे, पोखुंँ ब्यथा कहाँ ?
चराभई जन्मेको भए उडि सक्थेंँ पर !
जाबो वच्चा परे हजुर ! मेरो के दम् छ र?
13 March, 2018
Bhaktapur

3 comments: