Thursday, January 5, 2017

निरिह बाबुको निर्दोष प्रश्न........


तीन दिन भएको थियो भेट नभएको । फोनबाट नै हालखबर बुझिरहेको थिएँ । एशियाली विकास बैंकको मिशनसँग जानै पर्ने भएकोले मात्र मैले काठमाडौं छोडेको थिएँ । नत्र किन हो किन अहिले बाहिर जान नपरे हुन्थ्यो भै रहेको छ । विशेष कामले गर्दा आज काठमाडौं आएको भएता पनि भोलि फेरि फस्र्ट प्लाईटबाटै बाहिर हानिनु छ । काम सक्दा साँझ चार बजिहाल्यो । हतार हतार गेष्ट हाउस तिर हानिएँ । बिहान देखि खाना खाएकै थिएन । साँझ एकै पटक खाँदा पनि हुन्छ तर उसलाई भेटिहाल्छु भन्ने भयो ।
आज त अनुहारै उज्यालो, रातो पिरो ..... कस्तो आनन्द लाग्यो । “कस्तो छ फुच्चिलाई ?”

एक छिन औपचारिक कुराकानी पछि उनको बाबुले आजका ल्याब र रेडियोलोजी रिपोर्टहरु देखाए ।  एच.बी. १३ पुगेछ, अस्ति ७ थियो, खुसी लाग्यो । स्वास्थ्य मान्छेमा कम्तिमा ४००० हुनु पर्ने डब्लु.बी.सी. १७०० पुगेछ, अस्ति ७०० थियो, धेरै सुधार भएछ । प्लेटिलेटस ० रहेछ, तुरुन्तै प्याकसेल चढाएकोले केही बढ्यो होला अहिले त । ४८ केजी थिईन् रे पहिला, अहिले वजन ३५ के.जी. मात्र रहेछ । सी.टी.स्कायन रिपोर्टमा पनि नर्मल ईम्प्रेसन देखाएको हुनाले धेरै आशा जगाएकोछ ।

“लौ सुजता तिमी त जाति भइ सकेछ्यौ ।”

मुसुक्क हाँसी । आनन्द लाग्यो । भोक थकाई त्यसै हरायो ।

“सर त्यसो भन्नु हुन्छ । अस्ति आउने मान्छेले के के भन्यो । कति बेर रुन मनलाग्यो ।”

“कसले के भन्यो र ?” कसैले सहानुभुति देखाउँदै “बिचरा यो उमेर मै जानु पर्ने ? कस्तो भाग्य लिएर आएछौ । भगवान पनि कस्तो ?” आदि ईत्यादि भन्दिएछ । आँशु झार्दै सुनाई । मलाई तत्काल के भनेर बुझाउनु भन्ने सुझ नै फुरेन, अवाक भएँ ।

बाबुले सम्झाउँदै भने, “नराम्रो नराम्रो मात्रै सुन्छे । अघि प्रमोद खरेल सरले केही हुँदैन जाति हुन्छेस भनेको होईन । ठुला मान्छेले नबुझि बोल्छन् ?”

मैले प्रमोद भाईलाई फोन गरेर धन्यवाद दिएँ । उनी सेलिब्रेटी गायक हुन् । उनको बोलीमा कत्रो शक्ति छ । त्यति भनाईले उसमा हजारौं न्युटनको आत्माबल बढाएछ ।

“सर ललितपुरमा बुढी बजु छिन् रे । फुकेरै पेटबाट गोमन साँप निकालिन रे ।” उसैले सन्नाटा तोडी । मन झन् भक्कानिएर आयो । अनुहारमा कुनै भाव नल्याई उसैलाई उल्याउँदै मैले भने – “खुब डाक्टर हुने सपना देख्ने मान्छे अब झारफुकको पछि लाग्छ्यौ । लौ तिमी डाक्टर भयौ भने म चैं कसैलाई पनि जँचाउन नजाउ भन्दिन्छु है ।”

डाक्टर बन्ने प्रशंग झिक्दा त उसका आँखा एक्कासी खुलेर आए । अनुहार नै धपक्कै बल्यो । क्यानुला लगाएको हात टेक्दै खाटमा टुक्रुक्क बसी । र जोश निकाल्दै भन्न थाली– “थाहा छ सर भरतपुरको स्कुल अफ हेल्थ साईन्सबाट हेल्थ असिस्टेन्ट पास गर्र्नेलाई पाटन अस्पतालमा एम.बी.बी.एस. पढ्न २ वटा सीट स्कोलारसीपमा हुन्छ नि । मैले एच.ए.मा त १० वटा कोटामा नाम निकालेको । पाटनमा पनि नाम निकालेरै छोड्छु । तीन जना धेरै जान्ने छन् । तर अब त म यस्तरी पढ्छु कि तिनलाई जित्नै दिन्न । साला थर्ड यियरको फाईनल टर्मकै बेला बिमारी परें । अलिक जाँच बिग्रियो र पो त ।” उसको मुख एक्कासी निराश जस्तो भयो । के भन्ने भन्ने म यसै अलमल परिरहेको थिएँ ।

“तर नि सर त्यो रिजल्टले धेरै त फरक पार्दैन । ईन्ट्रान्समा टप गर्दा  राम्रो ग¥यो भने स्कलरसीप पाई हालिन्छ नि । यस्तो पढ्छु नाम ननिकालि त कहाँ छाड्छु र ” उसको आँखामा सल्बलाएको खुसी..... मानौ उसले अहिले नै एम.बी.बी.एस.को छात्रावृत्ति जिती सकी । एक छिन के सोची कुन्नी ? फेरी लामो स्वास तानेर थपी “तर खै जाति हुने हो कि हैन ।”

मेरो छाति भरिएर आँखाबाट बग्नै लागि सकेको थियो । उसको आँट, उसको आकांक्षा । बाबुले १ करोड खर्च गरेर डाक्टर पढाउन् भन्ने त न उसको कल्पना थियो न आग्रह । तर दृढ निश्चय थियो बाँचे भने छात्रावृत्तिमा नाम निकाल्छु भन्ने । स्वास्थ्यको विद्यार्थी भएकोले उसलाई थाहा छ संसारकै खतरनाक मध्येको एक रोग बोनम्यारो फेलर हो र २२ वर्ष कै उमेरमा उसलाई यो रोग लाग्यो भन्ने । अनि थाहा छ पैसा भएको भए बाच्ने थिएँ भन्ने पनि ।

पुलुक्क उसको बाबु तिर हेरि । अनि मलाई हेरी । केही जवाफ खोजे जस्तो । उसका आँखाले सायद भनिरहेका थिए – सर मलाई बचाउनु प¥यो ।

ट्वाईलेट जाने बहानाले म बाहिर निश्किएँ । उसका बाबु पनि सँग सँगै बाहिर आए । मैले बाबुलाई निराश न हुन आग्रह गरेँ । हामी सबै भएर बचाउँछौं सुजतालाई भनी ढाढस दिएँ ।

बाबुले सोधे, “यो ईन्टरास कि के हो त्यो पास गर्छु भन्छे । त्यो भन्या के हो सर ? त्यो पढेर जागिर पाईन्छ ?”

अब भने मैले आँशु रोक्न सकिन ।

त्यो निरिह बाबुको निर्दोष प्रश्न, अनि त्यो मेधावी विद्यार्थी सुजता सुवेदीको अवस्था ।
“हे भगवान २५ लाख जुटाउन मद्दत गर । एक होनहार जीवनलाई रक्षा गर्न मद्दत गर । सबैको सहयोगी मनलाई एक पटक सुजताको मद्दतको लागि जुटाई देउ ।”

मिति २०७३/०८/१४, काठमाडौं ।

Please share it. Join the "Save Sujata Campaign"

No comments:

Post a Comment