Sunday, January 2, 2022

प्राध्यापक माधव भण्डारीप्रति

२०७७ साल माघमा प्रकाशित आफ्नो कृति ‘इतिवृत्त र सृजना’ मा प्रा. माधव भँडारीले प्राक्कथनमा नै लेख्नु भएको थियो, “मैले यस पुस्तकलाई आफ्नो अन्तिम लेखन ठानेर प्रबुद्ध पाठकहरुसमक्ष सादर प्रस्तुत गरेको छु ।” त्यस बेला पनि उहाँको हातहरु कामीरहेका थिए, जिब्रो घरिघरि लर्बराए जस्तो हुन्थ्यो । सजिलो गरी हिँड्न सकेको जस्तो पनि लाग्दैन थियो । तर ९ वर्षदेखि मुटुमा पेश मेकर बोकेकाे र रोगले थलिएको ८५ वर्षको असक्त शरीरका बाबजुद सन्सारबाट जाँदा जाँदै पनि नेपाली भाषा र साहित्यको एक नविनतम प्रयोगको रुपमा ‘इतिवृत्त र सृजना’ कृति सम्पूर्ण नेपालीलाई छाडेर जानु भयो ।
वि.सं. १९९३ साल माघ १६ गते इलाममा जन्मनु भएका प्राध्यापक माधव भँडारीले इलामको करफोक हाईस्कुलमा वि.सं. २०१५ देखि २०१६ सम्म अध्यापन गर्नु भएको थियो । वि.सं. २०१७ सालमा दार्जिलिंगको टर्नबुल हाईस्कुलमा १ वर्ष पढाएपछि वि.सं. २०१८ सालदेखि त्रिभुवन विश्वविद्यालयको सेवामा प्रवेश गरी महेन्द्ररत्न कलेज इलाममा सहायक प्राध्यापक बन्नु भएको थियो । २०३० मा उपप्राध्यापक, २०४३ मा सहप्राध्यापक र २०५४ मा प्राध्यापक हुनु भएका श्री भँडारी वि.सं. २०५४ सालमा सेवा निवृत्त नभएसम्म त्रिभुवन विश्वविद्यालय किर्तिपुरको नेपाली केन्दीय विभागमा रही सेवा गर्नु भएको थियो । मेची क्याम्पस, भद्रपुर र महेन्द्ररत्न कलेज इलामका क्याम्पस प्रमुख समेत रही सक्नु भएका श्री भण्डारी मुलतः कथा विधाका प्रखर साहित्यकार मानिनु हुन्छ ।
नेपाली कथा साहित्य (२०१५ सह), गाउँघर (२०२५), माधव भँडारीका कथा (२०४०), पार्वती परिणय (२०५८), क्यालेण्डरका घुम्तीहरु (२०५९), नबिर्सिने कोसेली (२०६१), इतिवृत्त र सृजना (२०७७) जस्ता प्रख्यात कथा संग्रहका सर्जक प्रा. भण्डारीको पूर्णीमा (२०३०) उपन्यास समेत प्रकाशित भएको छ ।
वि.सं. २०३७ मा आमाको आकांक्षा र २०५९ मा घरजम गरी दुई नाटकका कृतिहरुका लेखक प्राध्यापक भँडारीका हाम्रो साहित्य र साहित्यकारहरु (२०१८ सह) र छन्द र अलंकार (२०१८ सह) समालोचनाका पुस्तकहरु पनि प्रकाशित छन् ।
नेपाली सहित्य पत्रिकाको सम्पादनमा पूर्वका एक अग्रणी व्यक्तित्वको रुपमा चिनिनु हुने प्रा. भँडारीले छात्रवाणी (२०१३), जुनेली (२०१५), सौगात (२०२२), सूर्योदय (२०३०) र केही किरण अस्ताएको जून (२०४४) आदि पत्रिकाको सम्पादन गर्नु भएको थियो ।
यस बाहेक उहाँका सयौँको संख्यामा फुटकर कथाहरु प्रकाशन भएका छन् ।
वि.सं. २०१५ देखि २०७७ सम्मका जम्मा ६२ वर्ष उहाँले निरन्तर नेपाली भाषाको सेवामा लगाउनु भयो । प्रबल गोर्खा दक्षिणबाहु (२०२९), मैनली कथा पुरस्कार (२०५८), महानन्द पुरस्कार (२०५९), गंगाराम भद्रशीला स्मृति पुरस्कार (२०६०), शमी साहित्य पुरस्कार (२०७६), सुरभि बाजुराम आख्यान साधना पुरस्कार (२०७७) अदि जस्ता दर्जनौँ पुरस्कार र सम्मानहरुबाट प्रतिष्ठित प्राध्यापक भँडारी चर्चाभन्दा टाढा, एकान्त र साँच्चै भनौँ भने गुमनाम जीवन मन पराउनु हुन्थ्यो । सम्बन्धको भुमिका निभाउन अत्यन्त संवेदनशील र असाध्यै सरल व्यक्तित्वका धनी एवम् नेपाली साहित्यमा कहिल्यै नमर्ने नाम बन्नु भएका प्राध्यापक माधव भण्डारीको आज २०७८ पौष १८ गते आईतबार पार्थिव शरीरमा अन्तिम श्रद्धासुमन अर्पण गर्न पशुपति आर्यघाट जान समेत पाईएन ।
कुनै सम्बन्ध आफैँ गाढा हुन्छन्, अलौकिक हुन्छन्, अविष्मरणीय हुन्छन् । श्रद्धा र प्रेमको सम्बन्ध आफैँ प्रिय हुन्छ, श्रद्धाञ्जलीका शब्दले सम्बन्धको उक्त उचाई घटाउने डर छ शायद ममा । मिस यु हजुरबुवा ।
१८ पौष, २०७८
राधेराधे, भक्तपुर ।

Wednesday, March 10, 2021

२१ शब्दका कविता

 रूप

====

हरियो पहाड कोपिरहेको छु ।

डोजरमा विकास बोकिरहेको छु ।

तिम्रो छाती फोरेर उमारेको कन्कृटे शहरमा

आमा!

देखाउन चैँ 'चाइनिज' दुबो रोपिरहेको छु ।

२०७७/११/०४

***   ***   ***   ***   ***   ***


कर्म

======

हावा-पानी उस्तैउस्तै, उस्तै चन्द्र उस्तै घाम ।

उही धर्ती, एकै आकाश, उत्ति मेहनत उस्तै काम ।

मनोवुद्धी, प्रवृतिले बन्छन् रावण, कोही राम ।

२०७७/११/०४

*** *** ***   ***   ***   ***   ***  


संविधान 

======

राम्रो पार्न तास्दातास्दै सिद्दिएको मुर्ती जस्तो,

जुवाखालमा लुटिएको रक्स्याहाको फुर्ती जस्तो, 

ढुँडिएको गन्धे-सिरक के छोपिन्थ्यो - नयाँ खोलले !

विश्वोत्कृष्ट भन्यौ तर, कोक्याउने सुर्ती जस्तो ।


२०७७/११/०४

राधेराधे, भक्तपुर ।


आँसु 

===

तिम्रो लाम्टा चुसेँ, तिम्लाई अनपढ भनेँ

मान्छेमा गनिँन - तिमी रोइनौ ।

अनि रोयौ - 

जब हर्लिक्स बोकेर 

जवान नाति तिमीलाई भेट्न

वृद्धाश्राममा आयो ।

२०७७/१२/०४

Mom !
======

Sucked your breasts,
You had no tears.
Ashamed you calling ignorant, inhuman,
No guilt you expressed.

Finally you wept !
When the grand son visited you with Horlicks
In an cheap 'age-care',
When you could not offer a chair.



Kathmandu,
17th March 2021

*** *** **, *** ***


२२औँ शताब्दीको कविता

===============

खै कुन कवितामा पढ्या हो यो सफेद झुट -

त्यत्रो बिजुली खर्चँदा बल्ल बल्ल फृजमा बन्ने हिउँले त

हिमाल पो ढाक्छ रे ! 

२०७७/१२/०४

*** *** *** ***













Friday, February 12, 2021

कुर्सी भन्दा अग्लो नेता खोइ?

६ वर्षे दोश्रो विश्व युद्ध (सन् १९३९-१९४५) सकिँदा नेपालको जनसंख्या ठूलो संख्यामा  घट्यो । विश्वयुद्धसँग नेपाल र नेपालीको कुनै साइनो थिएन, तर भाडाको शैनिकको रूपमा लाखौँ सिद्दिए । २ पैसा कमाउने वाध्यता वा लोभमा मर्न त तयार थिए र छन् नेपाली, अहिले त काठमाडौँ घुम्ने अवसर हो । 

नेताको पछि नारा जुलुसमा लागेर युरोप र अमेरिका विकास भएको हैन, जनताहरू आफैँ उद्यमी भएर हो । एउटा वैज्ञानिक  जन्माउन नसक्ने, भएका वैज्ञानिकलाई झोला नबोके मर्न वाध्य पार्ने यिनै नेतृत्वबाट सुदुर भविष्यसम्म पनि मुलुकले अग्रगती नलिने कुरा ठोकुवा गर्न सकिन्छ । हत्या, बलप्रयोग, धम्की, चर्का भाषण बाहेक कुनैले गरेको कुनै ५ वटा गतिला काम कसैले तल कमेन्ट्मा लेख्ने साहास गर्छ?

जनचेतना सन् १९३९ को भन्दा माथी नपुगोस् भनेर नेपालका सबै पुस्ताका नेताले हरेक कालखण्डमा गरेको मेहनत भने सफल भएको छ । विदेशीलाई ईमान बेचेर कुर्लने नेताको चङ्गुलबाट नेतृत्व नखोसेसम्म विदेशीलाई युवा बेचेर बाँच्नुको विकल्प हुँदैन । हामी मध्ये जो विदेशमा बिक्री हुन सक्दैनौँ (उमेर वा अन्य कुनै व्यवहारिक कारणले) तिनीलाई यिनै नेताले किनिरहनेछन् , यो वा त्यो रूपमा । स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, प्रतिगमन, अग्रगामी छलाङ, अग्रगमन कोनि के के आउँछ यिनलाई भन्न । यी सब बकवास ! 

आफ्नो विवेक सकिएपछि, स्व-पौरखमा विश्वाश हराएपछि, "झर्ला र खाउँलावादी" भएपछी वा डकैतिमा बानी परेपछि हामी आफैँ नेताका गुलाम बन्दा रहेछौँ,  त्यस्ता नेताको जसको डरलेमात्र हो मुखमा थुक्न नसकेको ।

हैन भने श्रद्धापूर्वक मनबाटै नमस्ते गर्न मन लाग्ने एउटा नेता बताउनुस् ।

सबै नेता पुड्काछन् , कुर्सी भन्दा अग्लो क्षितिज देख्दैनन् ।सारा तागत लगाएर, मेड इन वा मेड आउट भर्‍याङ लगाएर, बेस्कन उफ्रेर, त्यही कुर्सीसम्म पुग्ने । पुग्न नसकेर लड्ने, फेरि धुलो ट्क्ट्क्याउँदै आफैँ पो उठ्ने र अर्को अघि लागेको रहेछ भने खुट्टा तानेर झार्ने भन्दा परको लक्ष र कार्यक्रम कुनैसँग पनि भएको देखिएन । 

'यति मेलो पनि नसकेको?' भनेर सोध्नुस् , खेता(ला) सँग लाख रेडिमेड बहाना हुन्छ्न् । नेताले बहाना बनाउन पाउँदैन, बहाना खोज्ने भए ऊ खेता(ला) हो कसैको ।

ए हजुर! सक्नु हुन्छ भने कुर्सी भन्दा अग्लो एउटा नेता देखाइदिनुस् ! जो उभिँदा कुर्सी धेरै तल हुन्छ र माथी भने मुलुक निर्माणको गतिलो कार्यक्रम हुन्छ ।

२०७७/१०/२८

Tuesday, January 5, 2021

मुक्तक - राजनीति

नारा लाएँ, धर्ना बसेँ, लाठी खाएँ, जुलुस पसेँ ।

घाँस दिएँ, दाना पोसेँ, तर्क गर्दै घुँडा धसेँ ।।

कति कुदेँ पछिपछि, एक दिन ब्याउला भनी -

बज्या साँढे परेछ हौ! फसेँ नराम्ररी फसेँ ।

Monday, January 4, 2021

आयो नजान्ने दिन

बिहेको जनती र मर्दा मलामी जान नपाउने भए । 

सात्जन्म जोडिने कसम खाएका अछुत-दुर्दुर भए ।

हाड्छाला घोटेर, भोको पेट् बसेर, पाल्या परिजन कता?

आईसोलेसनमा निरस एकलो मृत्यु कुर्दैछु मता ।


छ मेरो आफनो विदेश भनेर धाकधक्कु लाउँथे हिजो ।

बिर्सेर ढिँडोको भरमा बाँचेको खान थालेथे "पिजो" ।

यो जिउ चलदा र पैसा फाल्दा सबैको प्यारो थिएँ।

थलिएंँ अहिले आफन्ती चाहिने ! झन् एक्लो कैदी बनेँ ।


मौकाको ताकमा तर् मार्न ढुकेका चुग्लिखोर चालुहरू !

सङ्कट्मा एकलै लुकेर दुलोमा बसेका ठालुहरू ! 

विद्वता छाँटेर, दिमाख भुटेर, सकेको लुट्नु किन ?

विश्व नै पढेको, घमण्ड कता गो ? आयो नजान्ने दिन ।


२०७६/१२/१७

राधेराधे, भक्तपुर ।

Monday, October 5, 2020

बुटवल-दाङ्ग मुद्दा, संघीयतामाथिको प्रश्न ।

हामी नेपालीहरू पाकिस्तानी जस्ता गोबर होइनौँ, सन् १९५९ मा राजधानी कराँचीबाट रावलपिण्डी र १९६७ मा ईस्लामावाद सार्दा कोही चुइँक्क बोलेनन् । हामी इण्डियन जस्तो काँतर पनि होइनौँ, जो १९११ मा कोलकोत्ताबाट दिल्ली र १९३१ मा नयाँ दिल्ली सार्दा आवाज उठाउन सकेनन् । चाइनिज जस्तो बुद्धि नभएको त बिल्कुलै होइनौँ, १९३७ मा नान्झिङ्गबाट चोङ्गकिङ्ग, १९४५ मा नान्झिङ, १९४९ मा बेजिङ्ग राजधानी सार्दा बिरोध नै भएन । इजरायलको त झन् के कुरा गर्नु र ! सन् १९४८ मा तेलअभिभबाट जेरुसलेम राजधानी सार्दा देशैभर उत्सव मनाए । हामी उनीहरूभन्दा खास हौँ त्यसैले स्कुटी जलाउनु पर्छ, सदनमा कुर्सी भाँच्नु पर्छ । यही हो ? 

कि कमेडियन सुमन कोइरालाले भने झैँ प्रदेश राजधानी मेरै टोइलेटसँग जोडेर बनाउनु पर्छ भन्ने आग्रह हो ? मैले भनेको हुनु पर्छ नत्र आगजानी गर्ने हो, हद्दै भए गोली चल्ने हो । आन्दोलन चर्कदै गए एकाध ज्यान त जान्छ नै, अनि घडेरीको दाम बढाउने मुद्दामा शहिद बन्ने हो । अनि मुद्दा ‘राजधानी’ बाट शहिद घोषणा र क्षतिपूर्तिमा सर्छ । हार्ने (?) क्षेत्रमा पुराना नेताको ठाउँ नयाँले लिन्छ, जित्ने ठाउँकाले अर्को एक पटक मुद्दा पाउँछ । 

हैट ! लाभ पाउनेहरू हावाले पनि नछुने बङ्करमा लुकेर डढेलो सल्काउँछन् र निमुखाहरु त्यो उक्साहाटमा सर्वस्व गुमाउँछन् । ‘आउ ! आन्दोलनमा ढुक्कले मर, हामी ५० लाख रुपैयाँ दिन्छौँ’ भनेर आह्वान गरेको मधेश आन्दोलनमा एउटा पनि नेताको ज्यान गएन र मृतकका परिवारहरुले ५० लाख पनि पाएनन् ।

भियतनामको राजधानी २८ पटक सरेको छ । ईटलीको ३४ र बेलायतको पनि १८ पटक सरेछ । राजधानी सार्दा नयाँ ठाउँ विकास हुने, बजार बिस्तार हुने, जनसंख्या बितरण संतुलित हुने, पुराना राजधानी ब्यापारिक केन्द्र बन्दै जाने, नयाँ ठाउँका मानिसको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्दै जाने, पुरानो ठाउँले अस्तित्वको लागि नयाँ अवसर खोज्ने र मुख्य प्रशासनिक एकाईहरू विभिन्न भूगोलमा बाँडिनाले अन्तरशहर अन्तरनिर्भरता बढ्ने जस्ता फाइदा हुनेरहेछन् । 

प्रदेश ५ को नक्सा हेर्दा प्रदेशको बिच भुभागमा दाङको भालुवाङ क्षेत्र देखिन्छ । नक्सा त हिजो पनि यही नै हो । किन त्यो समयमा बिच भूभागलाई छोडेर पूर्वी किनारालाई राजधानी बनाइयो ? वा किनारालाई राजधानी बनाउँदा पनि असन्तुष्ट पक्षले आन्दोलन किन गरेन ? यसका पछाडी दुई मनोविज्ञान होलान् । एक ः नेपालमा ‘पहिला जसले हान्यो उसले जान्यो’ को बहुलट्ठी रणनीतिले काम गर्छ । त्यसैले यही समयमा मेरो क्षणिक लाभ हुने काम गरिहाल्छु भनेर गरिएको अत्यन्त निकृष्ट ध्वंश । दुई ः समय समयमा राजधानी सारेर समग्र प्रदेशको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने दीर्घकालिन सोच । यी दुईमध्ये जुनसुकै कारणले राजधानी सम्बन्धी झगडा जन्माईदिएको भए पनि त्यसको अझैसम्म त निकास छ ।

नेता वा दलले स्वेच्छाचारी निर्णय गर्न पाउने गरी हाम्रो सम्बिधानमा असंख्य प्वालहरु छोडिएकाछन् । त्यहीँबाट छिरेर नेताहरुले देखाउने गरेकोे नग्नताको कारण जनताहरुको संघीयता प्रति मोहभङ्ग हुँदै गएको छ । यदि प्रदेश वा संघीयता आवश्यक नै हो भन्ने मान्यता अझै पनि राख्ने हो भने राजधानी सम्बन्धी त्रुटी सच्याउन बुटवल-दाङ्ग विवाद एक सुनौलो मौका हुन सक्छ । त्यो कसरी ? कसरी भने सबै प्रदेशका राजधानी प्रत्येक १० वर्षमा अलग स्थानमा सार्ने, ५० वर्ष नपुगी पूर्वस्थान दोहोर्याउन नपाउने, संघीय राजधानीलाई केन्द्र शासित राज्य बनाउने र प्रत्येक २५ वर्षमा नयाँ स्थानमा सार्नै पर्ने कानून जारी गर्ने । यसो भएमा शक्तिको आडमा व्यक्तिगत लाभ लिन राजधानीको नाममा चलखेल हुने प्वालहरू सँधैका लागि बन्द गर्न सकिन्छ ।


Thursday, October 1, 2020

दुई करोडको आँशु ।


म के कुराले असाध्यै खुसी हुन्छु भन्ने कुरा पत्ता लगाउन धेरै प्रयोग कुर्नु पर्यो । मेरो चरम खुसीको कुरा भन्न अब मलाई कुनै शंका छैन ।


वि.सं.२०५२ देखि नै चिया खेतीको आतंकबाट झापा पृथ्वीनगरका साना किसानहरु धमाधम सुकुम्बासी हुन थाले । त्यसै विरुद्ध साना किसान स्तरबाट चिया खेती आरम्भ गर्ने आन्दोलन शुरु गरियो, त्यो सफल भयो, करिब २१० परिवारले चिया रोपे । तर, उद्योगपतिहरुले साना किसानको हरियो चिया पत्ति खरिदमा शोषण गर्ने र दुःख दिने क्रम रोकिएन । त्यसै समयमा साना किसान कै फ्याक्ट्रीको पहल शुरु गरियो र १२ वर्ष पछिमात्र तिनै चिया रोप्ने साना किसानको स्वामित्वमा सहकारी चिया कारखाना स्थापना गर्न सफल भईयो । त्यस बखतमा अनायसै आँखा रसाएको थियो, किन.... किन.. । 

ईलाम जिल्लाका श्रीअन्तु र समाल्बुङ्ग गाविस साना किसानहरुको चिया बगानले झण्डै भरिएको छ । त्यो चिया पत्ति ताकेर विभिन्न उद्योगपतिले चिया प्रशोधन कारखाना खोलेका छन् । पत्ति बिक्री गर्ने समयमा सँधै उद्योगपति र साना किसानबिच मनमुटाव हुन्छ । किसानले राम्रो पत्ति दिएनन् भन्ने कारखानाको आपत्ति हुन्छ भने उद्योगपतिले चिया किसानलाई चरम शोषण गरेको गुनासो किसानले गर्छन् ।

पशुपतिनगरका चियाविज्ञ सोनम लामाले एक रिपोर्टमा उल्लेख गरे अनुसार चियाको कुलमूल्यको ४२ देखि ५८ प्रतिशत मूल्य निर्यातकर्ता वा खुद्रा ब्यापारीले, १० देखि २० प्रतिशत मूल्य दलाल वा बिचौलियाले र २५ देखि ३० प्रतिशत मूल्य कारखानाले पाउने रहेछ । बाँकी ६.२५ देखि ७.४५ प्रतिशत रकममात्र हरियो चिया उत्पादन गर्ने किसानले पाउने रहेछ । खुन र पसिना बगाउने किसानको भागमा ६ प्रतिशत ? योभन्दा दुखद अरु के हुन सक्छ ? 


विगत ५ वर्षदेखि हामी श्रीअन्तु र समाल्बुङ्गका साना किसानको पनि आफ्नै फ्याक्ट्री बनाएर कुल ३५ देखि ४० प्रतिशत मूल्य नै किसानले पाउने बनाउने उपायको खोजीमा थियौँ । राज्यबाट केही पुँजीगत अनुदान प्राप्त भए साना किसानहरुलाई ठूलो अज्ञात जोखिम बिरुद्ध संरक्षण हुने थियो भन्ने हाम्रो धारणा थियो । राज्यसँग त्यही लबिङ्ग गर्दागर्दै लामो समय बित्यो । अन्तमा त्यहाँका किसानहरुले अनुदान नभए पनि सजिलो ऋण पाए हामी कारखाना खोल्छौँ भनेर कम्मर कस्नु भयो । 



हामीले सूर्योदय नगरपालिकाका मेयर श्री आर. बी.राईसँग बार्ता गर्यौँ । नगरपालिकाले २ प्रतिशत ब्याज अनुदान दिने भयो । साना किसान बैंकले सहुलियत ऋण व्यवस्था गरयो । युवालाई परिचालन गरियो । साना किसान सहकारी श्रीअन्तु अन्तर्गत एकवटा र समाल्बुङ्ग अन्तरगत एकवटा गरी २ कारखाना बन्न शुरु भयो । 

श्रीअन्तुको कारखानाले अबको २ महिना भित्रमा पत्ति पेल्न शुरु गर्छ भने समाल्बुङ्गको कारखाना चलेको छ महिना भयो । किसानहरु आफ्नै परिवार खट्छन्, करिब २० जनालाई कारखानामा पूर्णकालिन रोजगारी सिर्जना भएको छ । कोभिड १९ का कारण सरकारले लकडाउन घोषणा गर्दा सबै चिया कारखाना बन्द भए । करोडौंको हरियो पत्ति खेर गयो । समाल्बुङ्गका ती साना किसान परिवारले लकडाउन भएको पत्तै पाएनन् । कारखाना चलिरह्यो । 

करिब सवा करोड रुपैयाँ लगानी भएको करखानाले रु. २० लाखको चिया बेचिसकेको छ । रु. २ सय देखी रु. २२ हजार प्रति किलोसम्म मूल्यको चिया उत्पादन गर्छ । सामान्य रुपमा भन्न पर्दा ती किसानले १ लाख के.जी पत्ति बेच्दा वार्षिक रु. ३० लाख कमाउँदथे भने अब कारखाना भएपछि रु. २ करोड रकम गाउँमा भित्र्याउने छन् । यो खुसी त राज्यले पनि मनाउनु पर्ने होईन र ? 

२०७७ साल असोज ११ गते उक्त कारखानाहरु भ्रमण गर्ने अवसर प्राप्त भयो । कारखानाको ढोकामा चढ्दा फेरी आँखा रसायो । म ती मेहनती युवा साना किसानहरुका पौरखी हातमा ईश्वर देख्छु र ढोग्न मन लाग्छ ।

यसै गरी धादिङ्गका विद्यार्थी युद्ध न्यौपानेले वर्षको २५ लाख रुपैयाँ कमाएँ भन्दा, रुपन्देहीकी सिर्जना थारुले माछा बेचेर घर बनाएँ भन्दा, तनहुँका शिव आलेले बोअर बाख्रा बेचेर गाउँमा वार्षिक सवाकरोड रुपैयाँ भित्र्याएको सुनाउँदा पनि मन भक्कानिएको थियो ।

अब म पक्का भएको छु साना किसानहरुले दासताबाट मुक्ति पाएर आकर्षक रकम आर्जन गर्ने स्थायी बाटो भेटाए भने मेरो सबै भन्दा ठूलो खुसी त्यही रहेछ । हे भगवान ! मलाई त्यो खुसीबाट कहिल्यै टाढा नबनाउ ।







Thursday, May 7, 2020

नाक बचाउँ


 (कृपया पुरै पढेर प्रतिक्रिया दिनु हाेला )
             एका देशमा 'नानेकपा' 'नानेका' नाम गरेका गरीबहरू बस्दथे । उनीहरू भगवान शिवका अनन्य भक्त थिए । कहिलेकाहीँ उनीहरू खान नपाएर हप्तौँसम्म भोकभोकै हुन्थे । यस्तो बेलामा पनि भगवान शिवको प्रर्थना गर्न छोड्दैन थिए । पतिदेवका यस्ता परम् भक्तको दुर्दशा देखेर पार्वतीलाई असाध्यै दु:ख लागेछ ।
पार्वतीले भगवान शिवलाई भनिन्, "प्रभु! तपाईँका परम् भक्त नानेकपाक र नानेकाकको यो दुर्दशा म हेर्न सक्दिन । हजुर त अन्तर्यामी हुनुहुन्छ, सबै कुरा थाहा नै होला । यिनीहरूलाई बरदान दिएर सुखी बनाउनु पर्‍यो ।"
पार्वतीले धेरै कर गरेपछि भगवानले म्याकबुक खोले, अनि यिनीहरूको रेकर्ड अध्ययन गर्नथाले । भगवानले के पत्ता लगए भने यिनीहरू एक नम्बरका ठग रहेछन् । रक्सी खाएर अनमत्त र निर्लज्ज भएर हिँड्दा रहेछन् । सयौँपटक ठोकर खाएर चोटै चोट रहेछ । आदर्शको ढ्वाङ्ग गर्दा रहेछन्,  तर पटक्कै अनुशासन रहेनछ ।  अर्काको देख्यो कि चोर्न मन लाग्ने, अनि चोर्न नपाए फोर्न मन लाग्ने बानी रहेछ । अरुबाट केही कुरा फुत्काउनु परेमा लम्पसार हुँदा रहेछन् र फुत्काएपछि उसैलाइ भिरबाट खँदार्दा रहेछन् । पुलिस आयो भने एकजुट भएर भिड्दा रहेछन्,  तर आफुआफुमात्र भएमा काटाकाट मारामर गर्दा रहेछन् ।  परिश्रम पटक्कै गर्दैन रहेछन् । तर प्रभुलाई खुशी पार्याे भने आफुलाई चाहिने कुरा त्यति कै पाइन्छ भन्ने ठान्दा रहेछन् ।
उनीहरुको रेकर्ड हेरेपछि शिवजीलाई भयङ्कर रिश उठेछ । ठूलो स्वरले पार्वतीलाई भने, “पारु रानी ! तिमी यस्ता धत्तुरेको सिफारिस गर्ने ? लौ हेर त यिनीहरुको रेकर्ड ! जिन्दगीमा एउटा पनि राम्रो काम गरेको छैन । मान्छेले आफ्नो कर्मले गर्दा राम्रो नराम्रो फल पाउने हो । यिनीहरुले नराम्रो कर्ममात्र गरेको हुँदा जिन्दगी भरी सुख पाउँने गुञ्जायसै छैन । अबदेखि यो लिँडे ढिपी नगर ।”
शिवजीका कुरा सुनेर पार्वतीलाई ज्यादै रिश उठ्यो । उनी पनि गन्गनाउन थालिन्, “आफु पनि कुन गतिलो हो र ! घरमा दुइै पैसाको काम गर्नु छैन । खरानी घस्याछ, गाँजा भाङ्ग घिचेको छ, लखरलखर हिँड्या छ, लकडाउनको पनि वास्ता छैन । अर्काको अनुशासन खोज्ने ? आफु दरिद्र भएर पनि तपाईँ जस्तो बेसोमतलाई रात दिन पुजा गर्ने ती भक्तहरुको तपाईँलाई कुनै चिन्ता छैन ? भक्तलाई दुःख पर्दा मद्दत नगर्ने भए भगवान किन पुज्ने ?”
पार्वती तातेको देखेर शिवजीले एक चिलिम ताने, लामो गरी धुवाँ फ्याले र एकटकले अनन्तमा हेर्न थाले । पार्वतीको रिश मरेको थिएन । उनी एकोहोरो फलाकि रहेकी थिईन् । शिवजी रिशले आगो भईसकेका थिए । तर कुनै प्र्रतिकृया नजनाई धुम्धुम्ती बसिरहेका थिए । केही गर्दा पनि शिवजी टसकामस नभएपछि उनले अन्तिम तुरुपको रुपमा नारीअस्त्र प्रयोग गरिन् । पार्वतीको रुवाई शुरु भएपछि शिवजी के गर्नु न के गर्नु भए । उनले सोचे, ‘म त यिनको गार्जियन हुँ नि । रिश देखाउनु हुँदैन । दक्ष प्रजापतिको राजमहलको सुखसयल त्यागेर म जास्तो आबारासँग आएकी छ । माईत जाउँ भने ठाउँ छैन । म बाहेक अरु को सहारा छ र यसको । होस्, जे भए पनि एक पटकलाई यसको जिद्दी मानिदिनु पर्यो ।’
न रोउन पारु !” शिवजीले फकाउन पार्वतीलाई गालामा म्वाई खाईदिए ।
पार्वतीले पनि ठुस्केकै भावमा शिवजीको मुण्टो झट्कार्दै भनिन्, “छिः छिः कस्तो गनाएको ! आज बुरुस (ब्रस) पनि गरेको रहेन छ । पर जानु ।”
पार्वती ! म भगवान हुँ । मलाई भिसाको दुःख थिएन, अमेरिका युरोप जस्ता जुनसुकै धनी देशमा गएर पनि आनन्दले बस्न सक्थेँ । बाराक ओबामा त मेरो लकेट नै बोकेर हिँड्थे । तर, तिमी पर्वतकी छोरी पार्वती ! पर्वत छोडेर अन्त बस्न नसक्ने भएकोेले तिम्रैलागि यही नेपालमा थन्किएर बसेको छु । तिमी पनि रिशायौ भने मेरो के बाँकी रह्यो र ! ल हिँड । ती नानेकपाक र नानेकाकलाई बरदान दिएर धनी बनाएर आउँ ।”
पार्वती खुसी भईन् । हतार हतार निलडेभिडको ब्युटी पार्लरमा गाएर थ्रेडिङ्ग गरिन्, अनुहारमा ओले क्रिम घसिन्, लेकमीको लिपस्टिक दलिन् । निलले पैसा लिन मानेन्, “भगवानको बुढीसँग कल्ले पैसा लिन्छ ? बरु मलाई त ढेउवावाला ग्राहक धेरै आउने बरदान दिनु न !”
पार्वतीलाई कुर्दाकुर्दा शिवजीलाई झ्वाँक चलिसकेको थियो, “पार्टी भतेरमा हिँडेको हो र सिङ्गारिनु पर्यो ? यी आईमाईलाई मेकअप नगरी हिँड्दा के हुने हँ ? कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।” पार्वतीले शिवजी बोलेको पटक्कै सुनिनन् । उनलाई आफ्नै धुन थियो, “स्वामी ! मेरो ‘काल्की फेसन’को पर्पल लेहेङ्गा कता परेछ ?”
शिवजीले बाहिरैबाट कराए, “अस्ति धोएर त्यही गोदरेज दराज भित्र राखिदिएको छु ।”
गुगल म्यापमा खोज्दै खोज्दै शिव पार्वती नानेकपानानेकाभए नजिक पुगेर झाडीमा लुके । त्यती दामी लेहेङ्गा र मेकअपमा सजिएर पनि झाडीमा लुक्नुपर्दा पार्वतीको मन खिन्न भएको थियो ।
नानेकपाक र नानेकाक सायद कतैबाट भिख मागेर फर्किएका होलान् । आज मागेको चामलले खिर खाने कुरा नानेकपाले गर्यो । नानेकाले भनी, “दिनभर माग्दा बल्ल एकमाना चामल पाईएको छ । तिमीलाई खिर ! म त पुलाउ खाने हो ।” पोकाको चामलको के पकाएर खाने भन्ने विषयमा चर्काचर्की बढ्दै गायो । यतिकैमा नानेकाकले चामलको पोकोले नानेकपाकको मुखैमा बजाई । नानेकपाकले पनि चामलकाे पाेकाे नै ढलमा लगेर फालिदियो । अब खान केही बचेन, आज पनि भोकै सुत्नु पर्ने भयो । झगडा शान्त भयो ।
यो चर्तिकला हेरिरहेका शिवजीले फेरी पनि पार्वतीलाई सम्झाउँदै भने, “हेर हिमावत पुत्री ! यी दिशाहिन र कर्मविमुख मनुवालाई जे दिए पनि अडिँदैन । मैले विधिको नियम पालना गर्नु पर्छ । विधि  बिपरित गएर मनलाग्दि गर्याे भनेर भाेलि फेसबुक र ट्युटर मेरा मिमले रङ्गिन्छन् । जाेखिम माेलेर यस्ता पातकीलाई सुख दिने कुरा छोडि देउ ।” पार्वतीले घ्याक पसार्न छोडिनन् । महादेवको केही लागेन । पार्वती त पार्टी ड्रेसमा नै थिईन् । शिवजीले पनि कोट टाई ढाल्काएर नचिनिने बने । दुबै जना नानेकपाक र नानेकाकका अघि गए । शिवजीले भने, “हे नानेकपाक र नानेकाक ! तिमीहरु शिवभक्त रहेछौ । हामी पनि शिव भक्त हौँ । शिवभक्तले दुःख पाएको हामी हेर्नै सक्दैनौँ । त्यसैले तिमीहरुलाई  म तीनवटा मनचिन्ते क्वाईन (सिक्का) दिन्छु । यी सिक्काहरुको आफ्नै नाम छ – पहिलो प्रजातन्त्रे, दोस्रो लोकतन्त्रे र तेस्रोको नाम चैँ गणतन्त्रे हो । साँझ परेपछि तिमीलाई चाहिएको एउटा कुरा मनमा सम्झ, एउटा सिक्काको नाम लेउ र सिक्का फ्याँक,  त्यो कुरा तुरुन्त तिमी पाउँछौँ । याद गर एउटा सिक्काले जम्मा एक पटकमात्र काम गर्छ । त्यसैले जिन्दगीभर पुग्ने सुखसयलका सारा कुरालाई मिलाएर तीन पटकमा मागि सक्नुपर्छ, नत्र पछुताउनु पर्ला । अहिले हामी जान्छौँ ।” 
यिनीहरुले के माग्छन् भनेर पार्वतीलाई खुल्दुली भएछ । उनले  शिवजीसँग अनुराेध गरिन् , “हे प्रभु ! यिनीहरुले के माग्दा रहेछन् भन्ने मलाई खुल्दुली भयाे । यति टाढा आईहालियाे, नन्दीकाे हेडलाईट पनि अस्ति हाई भाेल्टेज लेड चिम हालेकाे छ । राती जान सकिहालिन्छ । प्रभु यहीँ लुकेर हेराैँन ।
दुनियाँ हल्लाउने शिवजीकाे पनि पार्वतीकाे जिद्दीसँग केही लाग्दैन थियाे । उनिहरु त्यहीँ कहीँ लुकेर उनीहरुको क्रियाकलाप नियाल्न थाले । साँझ पर्यो । नानेकपाक र नानेकाक के माग्ने भनेर सल्लाह गर्न थाले । नानेकपाकले बालुवाटारमा ८ आना घडेरी, चितवनमा कट्ठा जग्गा र २ वटा मोबाईल मागौँ भन्यो । नानेकाक मानिन, “त्यस्तो जाबो जग्गा र मोबाईलले के गर्नु ? घरको छाना चुहिने छ, पानी पर्दा रातभरी सुत्न पाईँदैन । भिख माग्न पैदलै हिँडेर चारगाउँ डुल्नु पर्छ । अघिकी आईमाईले कति राम्रो लुगा लगाएकी थिई । आफ्नो त यही जडाउरी पनि १० ठाउँ टालेको छ । म त घर छाउने बण्डलकाबण्डल जस्ता, भिख माग्नजाने पजेरो र महङ्गो लेहेङ्गा माग्छु ।” यति भनेर नानेकाकले नानेकपाकको हातबाट सिक्का खोसी ।
माग्ने कुरालाई लिएर नानेकाक र नानेकपाकबीच घमासान पर्यो । सिक्का खाेसाखाेस् चल्याे । पार्वतीले लुकेको ठाउँबाट प्रार्थना गरिन्, “हे भगवान ! यिनीहरुलाई बुद्धि देऊ । बरु सत्तरी असी करोड मागुन, लाउडा र वाईडबडी मागुन, बुढीगण्डकी डिल मागुन, मेलम्ची लम्ब्याउन मागुन् । खर्बपति बनुन । यो के लडाईँ गर्या होला । अहिले मादेवलाई रिश उठ्यो भने सबै खरानी हुन्छ ।”
नानेकपाक र नानेकाकको झगडा अझ बढ्दै गयो । “तँ रण्डोलाई केही माग्न दिन्न, म आफैँ माग्छु ।” भन्दै नानेकाकले फेरी सिक्का छिनी । छिनाछम्टीमा नानेपाकले नानेकाकलाई दुई लात कस्यो, “बोक्सी ! तँलाईमात्र माग्न आउँछ । लु खा ।” रिशको झोँकमा नानेकपाकले पहिलो सिक्का फाल्दै, “ओई प्रजातन्त्रे सिक्का ! त्यसका बाबुकाे नाकै नाक दे” भन्नमात्र के पाएको थियो – उसको कोठा, आँगन, बाटो, घरको छाना देखि ओछ्यानसम्म नाकै नाकको खात लाग्यो । टेक्ने ठाउँ छैन, हिँड्ने ठाउँ छैन सबै तिर नाक ....। उसले नानेकाकलाई खोज्यो अलि पर नाकको डंगुरभित्र पुरिरहेकी रहिछ । उसलाई तानेर निकाल्यो । यसो मुखमा हेरेको मुखभरी ५० वटा भन्दा बढी नाकै नाक पलाएकाे पाे रहेछ । उ काहालियो, “ए नानेकाक ! तेरो यो के हाल भयो ? अनुहारभरी नाकै नाक छ त !”
अत्तालिएर नानेकाकले नानेकपाकको अनुहारमा हेरी । नानेकपाकको अनुहारमा त झन् १०० वटाभन्दा बढी नाक उम्रिसकेकाे रहेछ । एकअर्काकाे अनुहार हेरेर दुबै भक्कानिए । “अब के गरेर अनुहार देखाउनु, कसरी बाँच्नु ? हे शिव यो के आपत आईपर्यो । हामी जस्तो असल भक्तलाई मात्र किन दुःख दिन्छौ प्रभु ? तिमी त असाध्यै पापी रहेछौ । तिम्रो सात सन्तानले दुःख पाओस् । तिम्रो परिवारमा कोरोना लागोस् । औषधी किन्ने पैसा पनि अरुले नै भ्रष्टचार गरेर खाईदियोस् ।” आफ्नो पोईलाई गाली गरेको सुनेर पार्वतीलाई मरुञ्जेल रिश उठ्यो । शिव भने मुसुमुसु हाँसी रहे । उनीहरुले भगवानलाई गाली गर्न छाडेनन्, “हुन त त्यस्तो ट्यापेलाई भगवान र कुलङ्घरा पार्वतीलाई देबी मानेपछि दुःख पाईँदैन त ?”
केही बेर रोएपछि नानेकपाकले बिचार गर्यो, “अर्को सिक्का फ्याँकेर यो नाक चैं हटाउनु पर्यो ।” नाक हटाउने कुरामा दुबैको चाेचाेमाेचाे मिल्याे । नानेकाकले एउटा सिक्का फ्याँकेर मागी, “हे लोकतन्त्रे सिक्का ! यी सबै नाकहरु हटाई देऊ ।” उसले भनेर सकेकी पनि थिईन नाकहरु त क्रमशः उड्दै जान थाले । हेर्दा हेर्दै सबै नाकहरु हराए, कोठा सफा भयो । दुबैले ढुक्कको सास फेरेर गुन्द्रीमाथि थ्याच्च बसे ।
खुईय गर्दै नानेकाकले भनी, “कस्तो विपत आईपरेको होला ! अनुहारभरी नाक पलाउँदा त कस्तो बिरुप देखिँदो रहेछ ।” यति भनेर नानेकपाकको अनुहारमा सुम्सुम्याउन थाली । जब उसको हात नाक हुने ठाउँमा पुग्यो ऊ चिच्याएर कराई, “खै त तिम्रो आफ्नो नाक ? यहाँ त ओडारमात्र छ त ?” नानेकपाकले नानेकाकलाई हेर्यो, उसको त नाक हुने ठाउँमा झन् ठूलो भ्वाङ्ग परेको रहेछ । नाकबिनाका दुबैले एक अर्कालाई हेर्दै छाति पिटीपिटी रुन थाले, “हामीलाई शिवभक्त भनेर जालमा फँसाए । ती डाकाहरुले हाम्रो सुख चयन देख्न नसकेका । कति हँसिलो खुसिलो जिन्दगी थियो हाम्रो । बिनापत्तमा खर्बपति हुने लोभ देखाईदिए । हामीलाई घडेरी, मोबाईल, गाडी किन चाहिएको थियो र?  भिख मागेर आरामले खान पुगेको नै थियो । हे भगवान ! अब के गरुँ ? कसरी मुख देखाउनु !”
नानेकपाकले भन्यो, “तैँले माग्ने बेलामा ध्यान दिनु पर्दैन ? ‘सबै नाक जा’ भनिस्, अनि आफ्नो नाक पनि गयो । माग्न पनि ढङ्ग चाहिन्छ । बुद्धि नहुनेले माग्यो भने दुनियाले दुःख पाउँछ भनेको यही हो ।” आफुलाई इन्सल्ट गरेकोमा नानेकाकलाई साह्रै रिश उठ्यो, “को हो पहिला नाक माग्ने? मैले त तिमीले बिगारेको सपार्न खोजेको पो हो त । तिमी जस्तो भँडुवालाई बनाउन र सच्याउन त के आउँछ र ! जे छोयो त्यही खत्तम । तिमीलाई त दुईतिहाई नै दियो भने दुईकौडीको काम गर्न सक्दैनौ । के फुर्ती लाउँछौ ?” यसै कुरालाई लिएर दुबैको घमासान भयो । नानेकपाकको गालामा कोतरेर रक्त्याम्य बनाईदिई भने नानेकाकको जगल्टा भुत्ल्याएर भुईँभरी छरपस्ट भयो । लडाईँ गरेर थाके पछि दुबै भुईँमा टक्र्याकटुक्रुक्क बसे । नाक हुने टोड्काबाट पानी बगिरहेको थियो ।
खै लेऊ त्यो अन्तिम सिक्का । आफ्नाे आफ्नाे पुरानै नाक मागौँ ।” नानेकपाकले आज्ञाकारी भएर अन्तिम सिक्का पनि नानेकाकलाई दिँदै भन्याे, “अब माग्दा चैँ हामी दुईजनाको अनुहारमा भएको एकएकवटा नाक पहिलाको जस्तै भएर आईदियोस् भनेर माग नि !” उसले नानेकपाकको टोड्के अनुहारमा बतासे नजरले हेरी । 
नानेकाकले तेस्रो सिक्का फाल्दै भनी, “हे गणतन्त्रे सिक्के प्रभु ! अब हामीलाई धेरै दुःख नदेऊ । हामी दुईजनाको अनुहारमा भएको एकएकवटा नाक पहिलाको जस्तै भएर आईदियोस् ।”
बरदान माग्नमात्र के पाएको थियो नानेकपाक र नानेकाकको ओडार पुरिन थाल्यो र बिस्तारै नाक पलाएर पहिलाको जस्तै भयो । दुबैले एक अर्काको अनुहार हेरे । सबै प्रतिगमन सच्चिसकेको रहेछ । ढुक्कको सास फेरे । अनुहार उज्यालो भएर आयो । ताकत सकिएका प्रजातन्त्रे, लोकतन्त्रे र गणतन्त्रे सिक्काहरु उद्धारकाे याचना गर्दै भुईँमा लडिरेको थिए । उनीहरुले त्यता हेर्न पनि चाहेनन् र त्यसलाई फेरि सम्हाल्न पनि चाहेनन् ।
शिवजीले पार्वतीलाई भने, “देख्यौ सतीदेवी ! मैले तिमीलाई अघि नै भनेको होईन – यिनले जिन्दगीमा एउटा पनि राम्रो काम गरेका छैनन् । मान्छेले आफ्नो कर्मले गर्दा राम्रो नराम्रो फल पाउने हो । नराम्रो कर्ममात्र गरेको हुँदा यिनलाई जिन्दगी भर सुख पाउँने हक छैन । मैले गरेर केही हुनेवाला छैन । हिँड जाउँ, गणेश उठ्यो भने खाटबाट लड्छ ।”
पार्वतीको मन मानेन छ । जाने बेलामा एक पटक बोलाएर जानु पर्यो भन्ने ठानिछन् । मानिस नचिन्ने अँध्यारो भईसकेको थियो । पार्वतीले बोलाईन्, “ए नानेकपाक !” कसैले जवाफ दिएन । फेरि उनले नानेकाकलाई पनि कराईन, ऊ पनि बोलिन । “हे प्रभु ! के भयो ? यिनीहरु त मरे कि क्या हो?”
शिवजीले भने, “उनीहरुको नाम लिएर बोलाउन पार्वती !”
प्रभु उनीहरुको नाम नै नानेकपाक र नानेकाक हो ।”
हे ऊमा ! अघि उनीहरुले नाक जाओस् भनेर माग्दा हाम्रो नामको नाक चैँ रहोस् भनेर भनेन् । अब उनीहरुको नाममा रहेको ‘ना’ र ‘क’ हटिसक्यो । ना र क हटाएर बोलाउ त ।”
पार्वतीले बोलाईन, “ए नेकपा र नेका ! हामी गयौँ है !”


२५ बैसाख २०७७
भक्तपुर ।

Thursday, March 26, 2020

मेरो सुख
======
आफ्नै दुई आखाबाट त सन्सार फरक फरक देखिन्छ, सन्सारका ७ अर्ब मान्छेका १४ अर्ब आखाले एउटै दृश्य देख्नु पर्छ भनेर आग्रह राख्नु नै दु:ख हो । अर्थात; अपेक्षा दु:ख हो ।
शुन्यमा सुख हुन्छ । आफू मिटाउनु शून्य हो । मैले आफुलाई मिटाउन सकिन त्यसैले सुखी हुन सकिन । तर, दु:खी छैन, किन भने कसैसङ्ग कुनै अपेक्षा छैन ।
सम्झौता त सुख र दु:खबीचको सिमानामात्र हो ।
हरेक मान्छे बुद्ध वा गान्धी हुन सक्दैन । आम मानिससग २ वटा मात्र विकल्प छन: १. सुखी हुन नसक्नु वा २. दु:खी हुनु ।  तपाईं कहाँ पर्नु हुन्छ?  त्यो अरुले थाहा पाउने कुरा नै होइन ।
हरेक पल आफ्नो पोजिसन सोच्नु र  तेश्रो विकल्प खोज्नुलाई साधना भनिएको हो । ध्यान चै आत्मा निरीक्षण हो । साधना र ध्यान पनि सुख प्राप्त गर्ने साधन मात्र हुन । फेरि पनि साध्य त सुख हो । तर सुखको आग्रह झन ठूलो दु:ख हो । त्यसैले शुन्य बाहेक कतै सुख छैन ।
कुण्ठा दु:ख हो । कुण्ठा दबाउन मुस्कुराउनुले पनि सुख सिर्जना गर्दैन । त्यो मुस्कान अझ ठूलो दु:ख हो । बिजय झन बिकराल दु:ख हो, किनभने बिजय जहिले पनि सुरुवात मात्र हुन्छ । बिजयको अन्त्य खोज्दै जादा दु:खबाट कहिल्यै बाहिर आउन सकिदैन । त्यसैले हरेक आग्रह भन्दा टाढा.... शुन्य जस्तो सुख कतै छैन ।

बालविलाप


घ्वार्रर्घ्वार सुत्न छोडी एकाबिहान उठ्न
के पो ठान्यौ मलाई ! म अलार्म घडी हो र ?
स्विचसङ्गै चल्नु पर्ने, रिमोट बोक्ने अरु -
भित्ताभरी सजाईएको के म टिभी हो र ?

कुम्लो कसी, नाम्लो भिरी, कापी-किताब बोक्न
किन पेल्छौ यति सारो ! के म भरिया हो र ?
गिलीडण्डा, चट्टी, चङ्गा खेल्न भ्याई नभ्याई
पचास् थरी होम्वर्क गर्न के म नोकर हो र ?

पिरो नखा, अमिलो छ, खा खा लिटो धेरै
सधैँभरी कुडोखोले - के म पशु हो र ?
पौडी नखेल् ! साइकिल नचढ् ! बाहिर नजा, लड्न !
घरै भित्र कस्तो दण्ड ! के म कैदी हो र ?

स्कुल जाऊँ गुरू कडा, घरमा बाबू आमा !
छिमेकी झन् पोल्याहा परे, पोखुंँ ब्यथा कहाँ ?
चराभई जन्मेको भए उडि सक्थेंँ पर !
जाबो वच्चा परे हजुर ! मेरो के दम् छ र?
13 March, 2018
Bhaktapur