Sunday, January 2, 2022
प्राध्यापक माधव भण्डारीप्रति
Wednesday, March 10, 2021
२१ शब्दका कविता
रूप
====
हरियो पहाड कोपिरहेको छु ।
डोजरमा विकास बोकिरहेको छु ।
तिम्रो छाती फोरेर उमारेको कन्कृटे शहरमा
आमा!
देखाउन चैँ 'चाइनिज' दुबो रोपिरहेको छु ।
२०७७/११/०४
*** *** *** *** *** ***
कर्म
======
हावा-पानी उस्तैउस्तै, उस्तै चन्द्र उस्तै घाम ।
उही धर्ती, एकै आकाश, उत्ति मेहनत उस्तै काम ।
मनोवुद्धी, प्रवृतिले बन्छन् रावण, कोही राम ।
२०७७/११/०४
*** *** *** *** *** *** ***
संविधान
======
राम्रो पार्न तास्दातास्दै सिद्दिएको मुर्ती जस्तो,
जुवाखालमा लुटिएको रक्स्याहाको फुर्ती जस्तो,
ढुँडिएको गन्धे-सिरक के छोपिन्थ्यो - नयाँ खोलले !
विश्वोत्कृष्ट भन्यौ तर, कोक्याउने सुर्ती जस्तो ।
२०७७/११/०४
राधेराधे, भक्तपुर ।
आँसु
===
तिम्रो लाम्टा चुसेँ, तिम्लाई अनपढ भनेँ
मान्छेमा गनिँन - तिमी रोइनौ ।
अनि रोयौ -
जब हर्लिक्स बोकेर
जवान नाति तिमीलाई भेट्न
वृद्धाश्राममा आयो ।
२०७७/१२/०४
*** *** **, *** ***
२२औँ शताब्दीको कविता
===============
खै कुन कवितामा पढ्या हो यो सफेद झुट -
त्यत्रो बिजुली खर्चँदा बल्ल बल्ल फृजमा बन्ने हिउँले त
हिमाल पो ढाक्छ रे !
२०७७/१२/०४
*** *** *** ***
Friday, February 12, 2021
कुर्सी भन्दा अग्लो नेता खोइ?
६ वर्षे दोश्रो विश्व युद्ध (सन् १९३९-१९४५) सकिँदा नेपालको जनसंख्या ठूलो संख्यामा घट्यो । विश्वयुद्धसँग नेपाल र नेपालीको कुनै साइनो थिएन, तर भाडाको शैनिकको रूपमा लाखौँ सिद्दिए । २ पैसा कमाउने वाध्यता वा लोभमा मर्न त तयार थिए र छन् नेपाली, अहिले त काठमाडौँ घुम्ने अवसर हो ।
नेताको पछि नारा जुलुसमा लागेर युरोप र अमेरिका विकास भएको हैन, जनताहरू आफैँ उद्यमी भएर हो । एउटा वैज्ञानिक जन्माउन नसक्ने, भएका वैज्ञानिकलाई झोला नबोके मर्न वाध्य पार्ने यिनै नेतृत्वबाट सुदुर भविष्यसम्म पनि मुलुकले अग्रगती नलिने कुरा ठोकुवा गर्न सकिन्छ । हत्या, बलप्रयोग, धम्की, चर्का भाषण बाहेक कुनैले गरेको कुनै ५ वटा गतिला काम कसैले तल कमेन्ट्मा लेख्ने साहास गर्छ?
जनचेतना सन् १९३९ को भन्दा माथी नपुगोस् भनेर नेपालका सबै पुस्ताका नेताले हरेक कालखण्डमा गरेको मेहनत भने सफल भएको छ । विदेशीलाई ईमान बेचेर कुर्लने नेताको चङ्गुलबाट नेतृत्व नखोसेसम्म विदेशीलाई युवा बेचेर बाँच्नुको विकल्प हुँदैन । हामी मध्ये जो विदेशमा बिक्री हुन सक्दैनौँ (उमेर वा अन्य कुनै व्यवहारिक कारणले) तिनीलाई यिनै नेताले किनिरहनेछन् , यो वा त्यो रूपमा । स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, प्रतिगमन, अग्रगामी छलाङ, अग्रगमन कोनि के के आउँछ यिनलाई भन्न । यी सब बकवास !
आफ्नो विवेक सकिएपछि, स्व-पौरखमा विश्वाश हराएपछि, "झर्ला र खाउँलावादी" भएपछी वा डकैतिमा बानी परेपछि हामी आफैँ नेताका गुलाम बन्दा रहेछौँ, त्यस्ता नेताको जसको डरलेमात्र हो मुखमा थुक्न नसकेको ।
हैन भने श्रद्धापूर्वक मनबाटै नमस्ते गर्न मन लाग्ने एउटा नेता बताउनुस् ।
सबै नेता पुड्काछन् , कुर्सी भन्दा अग्लो क्षितिज देख्दैनन् ।सारा तागत लगाएर, मेड इन वा मेड आउट भर्याङ लगाएर, बेस्कन उफ्रेर, त्यही कुर्सीसम्म पुग्ने । पुग्न नसकेर लड्ने, फेरि धुलो ट्क्ट्क्याउँदै आफैँ पो उठ्ने र अर्को अघि लागेको रहेछ भने खुट्टा तानेर झार्ने भन्दा परको लक्ष र कार्यक्रम कुनैसँग पनि भएको देखिएन ।
'यति मेलो पनि नसकेको?' भनेर सोध्नुस् , खेता(ला) सँग लाख रेडिमेड बहाना हुन्छ्न् । नेताले बहाना बनाउन पाउँदैन, बहाना खोज्ने भए ऊ खेता(ला) हो कसैको ।
ए हजुर! सक्नु हुन्छ भने कुर्सी भन्दा अग्लो एउटा नेता देखाइदिनुस् ! जो उभिँदा कुर्सी धेरै तल हुन्छ र माथी भने मुलुक निर्माणको गतिलो कार्यक्रम हुन्छ ।
२०७७/१०/२८
Tuesday, January 5, 2021
मुक्तक - राजनीति
नारा लाएँ, धर्ना बसेँ, लाठी खाएँ, जुलुस पसेँ ।
घाँस दिएँ, दाना पोसेँ, तर्क गर्दै घुँडा धसेँ ।।
कति कुदेँ पछिपछि, एक दिन ब्याउला भनी -
बज्या साँढे परेछ हौ! फसेँ नराम्ररी फसेँ ।
Monday, January 4, 2021
आयो नजान्ने दिन
बिहेको जनती र मर्दा मलामी जान नपाउने भए ।
सात्जन्म जोडिने कसम खाएका अछुत-दुर्दुर भए ।
हाड्छाला घोटेर, भोको पेट् बसेर, पाल्या परिजन कता?
आईसोलेसनमा निरस एकलो मृत्यु कुर्दैछु मता ।
छ मेरो आफनो विदेश भनेर धाकधक्कु लाउँथे हिजो ।
बिर्सेर ढिँडोको भरमा बाँचेको खान थालेथे "पिजो" ।
यो जिउ चलदा र पैसा फाल्दा सबैको प्यारो थिएँ।
थलिएंँ अहिले आफन्ती चाहिने ! झन् एक्लो कैदी बनेँ ।
मौकाको ताकमा तर् मार्न ढुकेका चुग्लिखोर चालुहरू !
सङ्कट्मा एकलै लुकेर दुलोमा बसेका ठालुहरू !
विद्वता छाँटेर, दिमाख भुटेर, सकेको लुट्नु किन ?
विश्व नै पढेको, घमण्ड कता गो ? आयो नजान्ने दिन ।
२०७६/१२/१७
राधेराधे, भक्तपुर ।
Monday, October 5, 2020
बुटवल-दाङ्ग मुद्दा, संघीयतामाथिको प्रश्न ।
हामी नेपालीहरू पाकिस्तानी जस्ता गोबर होइनौँ, सन् १९५९ मा राजधानी कराँचीबाट रावलपिण्डी र १९६७ मा ईस्लामावाद सार्दा कोही चुइँक्क बोलेनन् । हामी इण्डियन जस्तो काँतर पनि होइनौँ, जो १९११ मा कोलकोत्ताबाट दिल्ली र १९३१ मा नयाँ दिल्ली सार्दा आवाज उठाउन सकेनन् । चाइनिज जस्तो बुद्धि नभएको त बिल्कुलै होइनौँ, १९३७ मा नान्झिङ्गबाट चोङ्गकिङ्ग, १९४५ मा नान्झिङ, १९४९ मा बेजिङ्ग राजधानी सार्दा बिरोध नै भएन । इजरायलको त झन् के कुरा गर्नु र ! सन् १९४८ मा तेलअभिभबाट जेरुसलेम राजधानी सार्दा देशैभर उत्सव मनाए । हामी उनीहरूभन्दा खास हौँ त्यसैले स्कुटी जलाउनु पर्छ, सदनमा कुर्सी भाँच्नु पर्छ । यही हो ?
कि कमेडियन सुमन कोइरालाले भने झैँ प्रदेश राजधानी मेरै टोइलेटसँग जोडेर बनाउनु पर्छ भन्ने आग्रह हो ? मैले भनेको हुनु पर्छ नत्र आगजानी गर्ने हो, हद्दै भए गोली चल्ने हो । आन्दोलन चर्कदै गए एकाध ज्यान त जान्छ नै, अनि घडेरीको दाम बढाउने मुद्दामा शहिद बन्ने हो । अनि मुद्दा ‘राजधानी’ बाट शहिद घोषणा र क्षतिपूर्तिमा सर्छ । हार्ने (?) क्षेत्रमा पुराना नेताको ठाउँ नयाँले लिन्छ, जित्ने ठाउँकाले अर्को एक पटक मुद्दा पाउँछ ।
हैट ! लाभ पाउनेहरू हावाले पनि नछुने बङ्करमा लुकेर डढेलो सल्काउँछन् र निमुखाहरु त्यो उक्साहाटमा सर्वस्व गुमाउँछन् । ‘आउ ! आन्दोलनमा ढुक्कले मर, हामी ५० लाख रुपैयाँ दिन्छौँ’ भनेर आह्वान गरेको मधेश आन्दोलनमा एउटा पनि नेताको ज्यान गएन र मृतकका परिवारहरुले ५० लाख पनि पाएनन् ।
भियतनामको राजधानी २८ पटक सरेको छ । ईटलीको ३४ र बेलायतको पनि १८ पटक सरेछ । राजधानी सार्दा नयाँ ठाउँ विकास हुने, बजार बिस्तार हुने, जनसंख्या बितरण संतुलित हुने, पुराना राजधानी ब्यापारिक केन्द्र बन्दै जाने, नयाँ ठाउँका मानिसको समेत प्रतिस्पर्धात्मक क्षमता बढ्दै जाने, पुरानो ठाउँले अस्तित्वको लागि नयाँ अवसर खोज्ने र मुख्य प्रशासनिक एकाईहरू विभिन्न भूगोलमा बाँडिनाले अन्तरशहर अन्तरनिर्भरता बढ्ने जस्ता फाइदा हुनेरहेछन् ।
प्रदेश ५ को नक्सा हेर्दा प्रदेशको बिच भुभागमा दाङको भालुवाङ क्षेत्र देखिन्छ । नक्सा त हिजो पनि यही नै हो । किन त्यो समयमा बिच भूभागलाई छोडेर पूर्वी किनारालाई राजधानी बनाइयो ? वा किनारालाई राजधानी बनाउँदा पनि असन्तुष्ट पक्षले आन्दोलन किन गरेन ? यसका पछाडी दुई मनोविज्ञान होलान् । एक ः नेपालमा ‘पहिला जसले हान्यो उसले जान्यो’ को बहुलट्ठी रणनीतिले काम गर्छ । त्यसैले यही समयमा मेरो क्षणिक लाभ हुने काम गरिहाल्छु भनेर गरिएको अत्यन्त निकृष्ट ध्वंश । दुई ः समय समयमा राजधानी सारेर समग्र प्रदेशको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने दीर्घकालिन सोच । यी दुईमध्ये जुनसुकै कारणले राजधानी सम्बन्धी झगडा जन्माईदिएको भए पनि त्यसको अझैसम्म त निकास छ ।
नेता वा दलले स्वेच्छाचारी निर्णय गर्न पाउने गरी हाम्रो सम्बिधानमा असंख्य प्वालहरु छोडिएकाछन् । त्यहीँबाट छिरेर नेताहरुले देखाउने गरेकोे नग्नताको कारण जनताहरुको संघीयता प्रति मोहभङ्ग हुँदै गएको छ । यदि प्रदेश वा संघीयता आवश्यक नै हो भन्ने मान्यता अझै पनि राख्ने हो भने राजधानी सम्बन्धी त्रुटी सच्याउन बुटवल-दाङ्ग विवाद एक सुनौलो मौका हुन सक्छ । त्यो कसरी ? कसरी भने सबै प्रदेशका राजधानी प्रत्येक १० वर्षमा अलग स्थानमा सार्ने, ५० वर्ष नपुगी पूर्वस्थान दोहोर्याउन नपाउने, संघीय राजधानीलाई केन्द्र शासित राज्य बनाउने र प्रत्येक २५ वर्षमा नयाँ स्थानमा सार्नै पर्ने कानून जारी गर्ने । यसो भएमा शक्तिको आडमा व्यक्तिगत लाभ लिन राजधानीको नाममा चलखेल हुने प्वालहरू सँधैका लागि बन्द गर्न सकिन्छ ।
Thursday, October 1, 2020
दुई करोडको आँशु ।
म के कुराले असाध्यै खुसी हुन्छु भन्ने कुरा पत्ता लगाउन धेरै प्रयोग कुर्नु पर्यो । मेरो चरम खुसीको कुरा भन्न अब मलाई कुनै शंका छैन ।
वि.सं.२०५२ देखि नै चिया खेतीको आतंकबाट झापा पृथ्वीनगरका साना किसानहरु धमाधम सुकुम्बासी हुन थाले । त्यसै विरुद्ध साना किसान स्तरबाट चिया खेती आरम्भ गर्ने आन्दोलन शुरु गरियो, त्यो सफल भयो, करिब २१० परिवारले चिया रोपे । तर, उद्योगपतिहरुले साना किसानको हरियो चिया पत्ति खरिदमा शोषण गर्ने र दुःख दिने क्रम रोकिएन । त्यसै समयमा साना किसान कै फ्याक्ट्रीको पहल शुरु गरियो र १२ वर्ष पछिमात्र तिनै चिया रोप्ने साना किसानको स्वामित्वमा सहकारी चिया कारखाना स्थापना गर्न सफल भईयो । त्यस बखतमा अनायसै आँखा रसाएको थियो, किन.... किन.. ।
ईलाम जिल्लाका श्रीअन्तु र समाल्बुङ्ग गाविस साना किसानहरुको चिया बगानले झण्डै भरिएको छ । त्यो चिया पत्ति ताकेर विभिन्न उद्योगपतिले चिया प्रशोधन कारखाना खोलेका छन् । पत्ति बिक्री गर्ने समयमा सँधै उद्योगपति र साना किसानबिच मनमुटाव हुन्छ । किसानले राम्रो पत्ति दिएनन् भन्ने कारखानाको आपत्ति हुन्छ भने उद्योगपतिले चिया किसानलाई चरम शोषण गरेको गुनासो किसानले गर्छन् ।
पशुपतिनगरका चियाविज्ञ सोनम लामाले एक रिपोर्टमा उल्लेख गरे अनुसार चियाको कुलमूल्यको ४२ देखि ५८ प्रतिशत मूल्य निर्यातकर्ता वा खुद्रा ब्यापारीले, १० देखि २० प्रतिशत मूल्य दलाल वा बिचौलियाले र २५ देखि ३० प्रतिशत मूल्य कारखानाले पाउने रहेछ । बाँकी ६.२५ देखि ७.४५ प्रतिशत रकममात्र हरियो चिया उत्पादन गर्ने किसानले पाउने रहेछ । खुन र पसिना बगाउने किसानको भागमा ६ प्रतिशत ? योभन्दा दुखद अरु के हुन सक्छ ?
विगत ५ वर्षदेखि हामी श्रीअन्तु र समाल्बुङ्गका साना किसानको पनि आफ्नै फ्याक्ट्री बनाएर कुल ३५ देखि ४० प्रतिशत मूल्य नै किसानले पाउने बनाउने उपायको खोजीमा थियौँ । राज्यबाट केही पुँजीगत अनुदान प्राप्त भए साना किसानहरुलाई ठूलो अज्ञात जोखिम बिरुद्ध संरक्षण हुने थियो भन्ने हाम्रो धारणा थियो । राज्यसँग त्यही लबिङ्ग गर्दागर्दै लामो समय बित्यो । अन्तमा त्यहाँका किसानहरुले अनुदान नभए पनि सजिलो ऋण पाए हामी कारखाना खोल्छौँ भनेर कम्मर कस्नु भयो ।
हामीले सूर्योदय नगरपालिकाका मेयर श्री आर. बी.राईसँग बार्ता गर्यौँ । नगरपालिकाले २ प्रतिशत ब्याज अनुदान दिने भयो । साना किसान बैंकले सहुलियत ऋण व्यवस्था गरयो । युवालाई परिचालन गरियो । साना किसान सहकारी श्रीअन्तु अन्तर्गत एकवटा र समाल्बुङ्ग अन्तरगत एकवटा गरी २ कारखाना बन्न शुरु भयो ।
श्रीअन्तुको कारखानाले अबको २ महिना भित्रमा पत्ति पेल्न शुरु गर्छ भने समाल्बुङ्गको कारखाना चलेको छ महिना भयो । किसानहरु आफ्नै परिवार खट्छन्, करिब २० जनालाई कारखानामा पूर्णकालिन रोजगारी सिर्जना भएको छ । कोभिड १९ का कारण सरकारले लकडाउन घोषणा गर्दा सबै चिया कारखाना बन्द भए । करोडौंको हरियो पत्ति खेर गयो । समाल्बुङ्गका ती साना किसान परिवारले लकडाउन भएको पत्तै पाएनन् । कारखाना चलिरह्यो । 
करिब सवा करोड रुपैयाँ लगानी भएको करखानाले रु. २० लाखको चिया बेचिसकेको छ । रु. २ सय देखी रु. २२ हजार प्रति किलोसम्म मूल्यको चिया उत्पादन गर्छ । सामान्य रुपमा भन्न पर्दा ती किसानले १ लाख के.जी पत्ति बेच्दा वार्षिक रु. ३० लाख कमाउँदथे भने अब कारखाना भएपछि रु. २ करोड रकम गाउँमा भित्र्याउने छन् । यो खुसी त राज्यले पनि मनाउनु पर्ने होईन र ?
२०७७ साल असोज ११ गते उक्त कारखानाहरु भ्रमण गर्ने अवसर प्राप्त भयो । कारखानाको ढोकामा चढ्दा फेरी आँखा रसायो । म ती मेहनती युवा साना किसानहरुका पौरखी हातमा ईश्वर देख्छु र ढोग्न मन लाग्छ ।
यसै गरी धादिङ्गका विद्यार्थी युद्ध न्यौपानेले वर्षको २५ लाख रुपैयाँ कमाएँ भन्दा, रुपन्देहीकी सिर्जना थारुले माछा बेचेर घर बनाएँ भन्दा, तनहुँका शिव आलेले बोअर बाख्रा बेचेर गाउँमा वार्षिक सवाकरोड रुपैयाँ भित्र्याएको सुनाउँदा पनि मन भक्कानिएको थियो ।
अब म पक्का भएको छु साना किसानहरुले दासताबाट मुक्ति पाएर आकर्षक रकम आर्जन गर्ने स्थायी बाटो भेटाए भने मेरो सबै भन्दा ठूलो खुसी त्यही रहेछ । हे भगवान ! मलाई त्यो खुसीबाट कहिल्यै टाढा नबनाउ ।
Thursday, May 7, 2020
नाक बचाउँ
(कृपया पुरै पढेर प्रतिक्रिया दिनु हाेला )
केही बेर रोएपछि
नानेकपाकले बिचार गर्यो, “अर्को सिक्का फ्याँकेर यो नाक चैं हटाउनु पर्यो ।” नाक हटाउने कुरामा
दुबैको चाेचाेमाेचाे मिल्याे । नानेकाकले एउटा सिक्का फ्याँकेर मागी, “हे लोकतन्त्रे
सिक्का ! यी सबै नाकहरु हटाई देऊ ।” उसले भनेर सकेकी पनि थिईन नाकहरु त क्रमशः
उड्दै जान थाले । हेर्दा हेर्दै सबै नाकहरु हराए, कोठा सफा भयो । दुबैले ढुक्कको सास फेरेर
गुन्द्रीमाथि थ्याच्च बसे । Thursday, March 26, 2020
======
आफ्नै दुई आखाबाट त सन्सार फरक फरक देखिन्छ, सन्सारका ७ अर्ब मान्छेका १४ अर्ब आखाले एउटै दृश्य देख्नु पर्छ भनेर आग्रह राख्नु नै दु:ख हो । अर्थात; अपेक्षा दु:ख हो ।
शुन्यमा सुख हुन्छ । आफू मिटाउनु शून्य हो । मैले आफुलाई मिटाउन सकिन त्यसैले सुखी हुन सकिन । तर, दु:खी छैन, किन भने कसैसङ्ग कुनै अपेक्षा छैन ।
सम्झौता त सुख र दु:खबीचको सिमानामात्र हो ।
हरेक मान्छे बुद्ध वा गान्धी हुन सक्दैन । आम मानिससग २ वटा मात्र विकल्प छन: १. सुखी हुन नसक्नु वा २. दु:खी हुनु । तपाईं कहाँ पर्नु हुन्छ? त्यो अरुले थाहा पाउने कुरा नै होइन ।
हरेक पल आफ्नो पोजिसन सोच्नु र तेश्रो विकल्प खोज्नुलाई साधना भनिएको हो । ध्यान चै आत्मा निरीक्षण हो । साधना र ध्यान पनि सुख प्राप्त गर्ने साधन मात्र हुन । फेरि पनि साध्य त सुख हो । तर सुखको आग्रह झन ठूलो दु:ख हो । त्यसैले शुन्य बाहेक कतै सुख छैन ।
कुण्ठा दु:ख हो । कुण्ठा दबाउन मुस्कुराउनुले पनि सुख सिर्जना गर्दैन । त्यो मुस्कान अझ ठूलो दु:ख हो । बिजय झन बिकराल दु:ख हो, किनभने बिजय जहिले पनि सुरुवात मात्र हुन्छ । बिजयको अन्त्य खोज्दै जादा दु:खबाट कहिल्यै बाहिर आउन सकिदैन । त्यसैले हरेक आग्रह भन्दा टाढा.... शुन्य जस्तो सुख कतै छैन ।
बालविलाप
घ्वार्रर्घ्वार सुत्न छोडी एकाबिहान उठ्न
के पो ठान्यौ मलाई ! म अलार्म घडी हो र ?
स्विचसङ्गै चल्नु पर्ने, रिमोट बोक्ने अरु -
भित्ताभरी सजाईएको के म टिभी हो र ?
कुम्लो कसी, नाम्लो भिरी, कापी-किताब बोक्न
किन पेल्छौ यति सारो ! के म भरिया हो र ?
गिलीडण्डा, चट्टी, चङ्गा खेल्न भ्याई नभ्याई
पचास् थरी होम्वर्क गर्न के म नोकर हो र ?
पिरो नखा, अमिलो छ, खा खा लिटो धेरै
सधैँभरी कुडोखोले - के म पशु हो र ?
पौडी नखेल् ! साइकिल नचढ् ! बाहिर नजा, लड्न !
घरै भित्र कस्तो दण्ड ! के म कैदी हो र ?
स्कुल जाऊँ गुरू कडा, घरमा बाबू आमा !
छिमेकी झन् पोल्याहा परे, पोखुंँ ब्यथा कहाँ ?
चराभई जन्मेको भए उडि सक्थेंँ पर !
जाबो वच्चा परे हजुर ! मेरो के दम् छ र?
13 March, 2018
Bhaktapur

