Thursday, October 1, 2020

दुई करोडको आँशु ।


म के कुराले असाध्यै खुसी हुन्छु भन्ने कुरा पत्ता लगाउन धेरै प्रयोग कुर्नु पर्यो । मेरो चरम खुसीको कुरा भन्न अब मलाई कुनै शंका छैन ।


वि.सं.२०५२ देखि नै चिया खेतीको आतंकबाट झापा पृथ्वीनगरका साना किसानहरु धमाधम सुकुम्बासी हुन थाले । त्यसै विरुद्ध साना किसान स्तरबाट चिया खेती आरम्भ गर्ने आन्दोलन शुरु गरियो, त्यो सफल भयो, करिब २१० परिवारले चिया रोपे । तर, उद्योगपतिहरुले साना किसानको हरियो चिया पत्ति खरिदमा शोषण गर्ने र दुःख दिने क्रम रोकिएन । त्यसै समयमा साना किसान कै फ्याक्ट्रीको पहल शुरु गरियो र १२ वर्ष पछिमात्र तिनै चिया रोप्ने साना किसानको स्वामित्वमा सहकारी चिया कारखाना स्थापना गर्न सफल भईयो । त्यस बखतमा अनायसै आँखा रसाएको थियो, किन.... किन.. । 

ईलाम जिल्लाका श्रीअन्तु र समाल्बुङ्ग गाविस साना किसानहरुको चिया बगानले झण्डै भरिएको छ । त्यो चिया पत्ति ताकेर विभिन्न उद्योगपतिले चिया प्रशोधन कारखाना खोलेका छन् । पत्ति बिक्री गर्ने समयमा सँधै उद्योगपति र साना किसानबिच मनमुटाव हुन्छ । किसानले राम्रो पत्ति दिएनन् भन्ने कारखानाको आपत्ति हुन्छ भने उद्योगपतिले चिया किसानलाई चरम शोषण गरेको गुनासो किसानले गर्छन् ।

पशुपतिनगरका चियाविज्ञ सोनम लामाले एक रिपोर्टमा उल्लेख गरे अनुसार चियाको कुलमूल्यको ४२ देखि ५८ प्रतिशत मूल्य निर्यातकर्ता वा खुद्रा ब्यापारीले, १० देखि २० प्रतिशत मूल्य दलाल वा बिचौलियाले र २५ देखि ३० प्रतिशत मूल्य कारखानाले पाउने रहेछ । बाँकी ६.२५ देखि ७.४५ प्रतिशत रकममात्र हरियो चिया उत्पादन गर्ने किसानले पाउने रहेछ । खुन र पसिना बगाउने किसानको भागमा ६ प्रतिशत ? योभन्दा दुखद अरु के हुन सक्छ ? 


विगत ५ वर्षदेखि हामी श्रीअन्तु र समाल्बुङ्गका साना किसानको पनि आफ्नै फ्याक्ट्री बनाएर कुल ३५ देखि ४० प्रतिशत मूल्य नै किसानले पाउने बनाउने उपायको खोजीमा थियौँ । राज्यबाट केही पुँजीगत अनुदान प्राप्त भए साना किसानहरुलाई ठूलो अज्ञात जोखिम बिरुद्ध संरक्षण हुने थियो भन्ने हाम्रो धारणा थियो । राज्यसँग त्यही लबिङ्ग गर्दागर्दै लामो समय बित्यो । अन्तमा त्यहाँका किसानहरुले अनुदान नभए पनि सजिलो ऋण पाए हामी कारखाना खोल्छौँ भनेर कम्मर कस्नु भयो । 



हामीले सूर्योदय नगरपालिकाका मेयर श्री आर. बी.राईसँग बार्ता गर्यौँ । नगरपालिकाले २ प्रतिशत ब्याज अनुदान दिने भयो । साना किसान बैंकले सहुलियत ऋण व्यवस्था गरयो । युवालाई परिचालन गरियो । साना किसान सहकारी श्रीअन्तु अन्तर्गत एकवटा र समाल्बुङ्ग अन्तरगत एकवटा गरी २ कारखाना बन्न शुरु भयो । 

श्रीअन्तुको कारखानाले अबको २ महिना भित्रमा पत्ति पेल्न शुरु गर्छ भने समाल्बुङ्गको कारखाना चलेको छ महिना भयो । किसानहरु आफ्नै परिवार खट्छन्, करिब २० जनालाई कारखानामा पूर्णकालिन रोजगारी सिर्जना भएको छ । कोभिड १९ का कारण सरकारले लकडाउन घोषणा गर्दा सबै चिया कारखाना बन्द भए । करोडौंको हरियो पत्ति खेर गयो । समाल्बुङ्गका ती साना किसान परिवारले लकडाउन भएको पत्तै पाएनन् । कारखाना चलिरह्यो । 

करिब सवा करोड रुपैयाँ लगानी भएको करखानाले रु. २० लाखको चिया बेचिसकेको छ । रु. २ सय देखी रु. २२ हजार प्रति किलोसम्म मूल्यको चिया उत्पादन गर्छ । सामान्य रुपमा भन्न पर्दा ती किसानले १ लाख के.जी पत्ति बेच्दा वार्षिक रु. ३० लाख कमाउँदथे भने अब कारखाना भएपछि रु. २ करोड रकम गाउँमा भित्र्याउने छन् । यो खुसी त राज्यले पनि मनाउनु पर्ने होईन र ? 

२०७७ साल असोज ११ गते उक्त कारखानाहरु भ्रमण गर्ने अवसर प्राप्त भयो । कारखानाको ढोकामा चढ्दा फेरी आँखा रसायो । म ती मेहनती युवा साना किसानहरुका पौरखी हातमा ईश्वर देख्छु र ढोग्न मन लाग्छ ।

यसै गरी धादिङ्गका विद्यार्थी युद्ध न्यौपानेले वर्षको २५ लाख रुपैयाँ कमाएँ भन्दा, रुपन्देहीकी सिर्जना थारुले माछा बेचेर घर बनाएँ भन्दा, तनहुँका शिव आलेले बोअर बाख्रा बेचेर गाउँमा वार्षिक सवाकरोड रुपैयाँ भित्र्याएको सुनाउँदा पनि मन भक्कानिएको थियो ।

अब म पक्का भएको छु साना किसानहरुले दासताबाट मुक्ति पाएर आकर्षक रकम आर्जन गर्ने स्थायी बाटो भेटाए भने मेरो सबै भन्दा ठूलो खुसी त्यही रहेछ । हे भगवान ! मलाई त्यो खुसीबाट कहिल्यै टाढा नबनाउ ।







3 comments:

  1. 1.Urban Family Farming - https://m.facebook.com/story.php?story_fbid=330632525035601&id=107212824044240

    2. Mr.& Ms.Kishan {Mr.& Ms.Agriculture } Nepal - https://www.facebook.com/groups/IABSN/permalink/319963329083178/

    ReplyDelete
  2. आउँदा दिनहरुमा चिया कारखानालाई दिर्घकालसम्म पूर्ण क्षमतामा सञ्चालन गर्न पर्याप्त उत्पादनको लागि चिया किसान लक्षीत अझै ज्ञान, सिप, प्रविधी समयमै उपलब्ध गराउन संस्थाहरुले कार्य गर्नुपर्ने देखिन्छ । चिया खेती गर्न किसानलाई सहज बनाउने उपायहरुको खोजी गरी लागु गर्न सकीयो भने कारखानालाई आवश्यक पर्ने हरियो पत्ति पर्याप्त मात्रामा उपलब्ध हुनुका साथै किसानहरु पनि व्यवसायमुखी चिया किसान भएर काम गर्न उत्प्रेरीत हुने थिए की ।

    ReplyDelete