Saturday, November 25, 2017

भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो ।
इन्द्रै बिन्ती गरून् झुकेर पदमा, त्यो बिन्ति मान्दैन त्यो 
थुप्रोमा उधिनी मीठो र नमीठो छुट्टयार्इ छान्दैन त्यो ।
खाता जाँचि सबै दुरूस्त नबुझी बिर्सेर हान्दैन त्यो 
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो ।
आयो टप्प टिप्यो, लग्यो मिति पुग्यो, टारेर टर्दैन त्यो ॥
लाखौँ औषाधि, अस्त्र-शस्त्र-महिमा देखेर डर्दैन त्यो ।
व्याधातुल्य लुकेर चल्दछ सदा, मारेर मर्दैन त्यो ॥

आँसुका दहमा नुहाउँछ, चिसो पानी रूचाउन्न त्यो ।
सुख्खा जर्जर अस्थिपञ्जरविना शय्या बनाउन्न त्यो 
मैलो भस्म सिवाय अङ्ग भरमा केहि लगाउन्न त्यो ।
हाहाकारसरी मीठो अरू कुनै संगीत गाउन्न त्यो 
जो जो मिल्छ सुलुक्क लिन्छ, मुखमा हाली चपाउन्न त्यो ।
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो ॥
जत्ती निल्छ उति उकेल्दछ पनी, केही पचाउन्न त्यो ।
यै चालासित कल्प-कल्प कहिल्यै खार्इ अघाउन्न त्यो ॥

भजन लेखन


२०४८ ताका मेरो पिताजी लामो रोगले थलिनु भएको थियो । म उहाँलाई छाडेर टाढा जान सक्दिन थिएँ । उहाँको सामिप्यमा रहँदा भक्तिरस श्रवण र गायन प्रति आकर्षण बढ्यो । मलाई सुर, ताल र छन्दको त ज्ञान थिएन र छैन पनि, तैपनि भजन लेख्ने र त्यसमा लय भर्न थालेँ । करिब ३ दशक पछि पनि नेपाल र भारतका नेपाली भाषी बसोबास–क्षेत्रहरुमा ती मध्ये धेरै भजनहरु गाएको सुन्छु । कसैले त अल्बम पनि निकालेको पाएँ । धेरै पटक बसाँईँ सर्दा धेरै डायरीहरु पनि हराएछन् । त्यसै श्रृङ्खलाको यो एउटा भजन सिक्किमका श्री मणी कुमार काफ्लेले “जाउँ राधा” अल्बममा गाउनु भएको रहेछ । संगित चैं बिल्कुल भिन्न रहेछ । शब्द केही ठाउँमा बदलेको पाएँ । मैले उहाँसँगै त्यो अल्बम किनेर ल्याएँ । मणीजी प्रति आभार व्यक्त गर्दछु । मेरा अरु भजन पनि गाउनु होला । जो कसैले गाए पनि कुनै अनुमति लिनु पर्दैन । मेरो अनुमति बिना मेरो रचना हालेर उहाँले अल्बम निकाल्नु भयो । उहाँको अनुमति बिनानै उहाँको स्वरको त्यो भजन तपाईँहरुको लागि ।
छम्छम् नाच्छिन् राधा घुँघरुको ताल
तिरिरिरि मुरली बजाउ मदनगोपाल
मदनगोपाल दिन दयाल .................
बृन्दा वनमा गाई चराउने लिई सँगमा ग्वाल
नाच्छिन राधा गाउने गोपी मुरली नन्दका लाल
मदन गोपाल दिन दयाल.........................
बन्सी बजाउँदै गोपी नचाउँदै आउ श्याम आज
मटका फुटाउँदै दही लुकाउँदै ल्याउ मखन खाजा
मदन गोपाल दिन दयाल.........................
कृष्ण कन्हैया राश रचैया मुरली बजैया काला
देउ चरण प्रभु पाउँ शरण हे नटखट नन्दका लाला
मदन गोपाल दिन दयाल.........................

१६ बैसाख २०४८
पृथ्वीनगर, झापा

जहाँ ढुङ्गाहरुको साम्राज्य छ ।

निर्दयी र कठोर हृदय भएको चिनाउँन हामी 'कस्तो निष्ठुरी !',  'ढुङ्गा कै मुटु रहेछ !' आदि भन्छौं । 
साँच्चै उसको मुटु ढुङ्गा कै हो त ? साँच्चैको ढुङ्गाको मुटु चैं हुन्छ कि हुँदैन ? हुन्छ भने कस्तो हुन्छ होला ? यदि त्यो ढुङ्गाको मुटुलाई मायाँको पछ्यौरीले बाँधिराख्यो भने के होला ? ढुङ्गे आमाले आफ्ना सन्तानलाई कसरी मायाँ गर्छिन होला ? ती ढुङ्गे आमा बुढी हुँदा कस्तो देखिएला ? नदी पोखरीमा मानिस हामफालेर विलय भए झैं ढुङ्गाको सागरमा विलय हुन सकिन्छ कि सकिदैन ? पाखण्डि र तस्करहरुले पृथ्वीलाई नै बलत्कार गरिरहेको बेलामा ढुङ्गाहरु बैठक बसेर कुनै अप्रिय निर्णय गरे भने ! अहो साँच्चै ढुङ्गैढुङ्गाको संसार हुँदो हो र म पनि एक ढुङ्गे सदस्य भएको भए ! तपाईँलाई यस्तै कुरा खेल्छ, यदि तालतलैयामा पुग्नु भयो भने ।
इजरायलकी ७२ वर्षीया तानिया प्रेमीगंरले ढुंगालाई
खोपेर मानवमुटु बनाएकी छिन् । जीवीत झै देखिने मुटु
संसारका कुनै पनि कुनामा बस्ने मानिसहरुका
लागि उत्तिकै महत्व छ भन्ने सन्देश दिन खोजेकी छिन् ।
रुपन्देहीका मूर्तिकार बुद्ध थारुले
निर्माण गरेको मुर्तिमाआमा र 
बच्चाको माया झल्किएको छ ।
आमा र बच्चाको मायालाई उदाहरणका
 रुपमा दिंदै उनले मायाको महत्व र भाव
 झल्काउने कोशेली मूर्तिमार्फत छाडेका छन् । 
सुनसरी जिल्ला स्थित इटहरी उप–महानगर पालिकाको वडा नं. २ र ३ मा पर्ने तालतलैया ईटहरी चोकबाट करिब ४ कि.मी. उत्तर पर्छ । तपाईँलाई त्यहाँ जान स्थानीय सवारी साधनको सुविधा उपलब्ध हुन्छ । नेपालका कुनै पनि सिमसार क्षेत्रलाई यति अर्थपूर्ण र मनमोहक बनाईएको यो पहिलो होला ! यहाँ पुगेपछि ढुङ्गाको मुटु धड्कन्छ, शिलाहरु बैठक बस्छन्, आमा पत्थर बनी उभिदिन्छिन्, जड् निरवस्त्र युवतिले पाषाण यौनपिपासुलाई गिज्याई रहन्छिन् र पृथ्वीले तपाईँ र उसको अस्तित्व जोडिएको कुरा चिच्याई चिच्याई बताउँछ ।
तालतलैया सिमसार क्षेत्र थियो । यसको संरक्षण गर्न थालियो । वन रोपियो । तलाउलाई व्यवस्थित गरियो । वगैचा लगाईयो । पैदल मार्ग बनाईयो । सुविधाजनक वनभोज स्थल बनाईयो । वालउद्यान एवं पशु उद्धार केन्द्र निर्माण गरियो । त्यति त नेपालका अन्य सिमसार संरक्षण क्षेत्रमा पनि छ । ताल तलैयामा केही फरक छ – त्यो के भने त्यहाँ ढुङ्गा बोल्छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाण्डौ, इटहरी उपमहानगरपालिका र उद्योग वाणिज्य संघ इटहरीको संयुक्त आयोजनामा २०७२ माघ ९ गतेदेखि १८ दिनसम्म पर्यटकीय क्षेत्र तालतलैयामा एकता मूर्तिकला कार्यशाला सम्पन्न भयो । यस कार्यशालामा विभिन्न देशका पाँच र नेपालका तेत्तिस जना शिद्धहस्त मूर्तिकारहरु सहभागी थिए । १८ दिन लगाएर उनीहरुले भिमकाय ढुङ्गाहरुलाई जिवन्त प्रतिकमा रुपान्तरण गरे । यसरी सिर्जना भएका ३५ मूर्तिहरुलाई तालतलैयामा राखिएको छ । त्यहाँ पुगेपछि तपाईँ कल्पनाको त्यो ढुङ्गेसंसारमा पुग्नु हुन्छ जहाँ ढुङ्गा बोल्छ ।
मलेशियाका मूर्तिकार म्याक्सिनले बनाएको
मूर्तिमा महिलाको आकृति देख्न सकिन्छ ।





चितवनका कलाकार दिपक रसाइलीले
 निर्माण गरेको मूर्तिमा  देशको भू–दृश्य
देख्न सकिन्छ । मुलुकको भौगोलिक सुन्दरता 
कल्पना गरेर आम नेपालीलाई जिम्मेवारी 
पनि मूर्तिमार्फत उनले सुम्पिएका छन् । 
कलाकार राजु पिठाकोटेले तीनवटा
मूर्ति तयार गरी तीन पुस्तालाई सहज 
रुपमा चित्रण गरेका छन् । मानवचक्र 
पनि उनको मुर्तिमा पाउन सकिन्छ । 










इलामका विजयकुमार श्रेष्ठले निर्माण
गरेको मूर्ति अमूर्त छ । तर, त्यहाँ अन्तर
 विचारको कारण उब्जने समस्या र 
समाधानका लागि एकताको 
आवश्यकतालाई पनि जोड दिइएको छ ।
मोरंग पथरीका मञ्जुल बराइलीले मृत्यु शैयामा पृथ्वी
भन्ने शीर्षकमा कृति तयार गरेका छन् ।
मूर्तिमा युद्ध, वन विनाश, प्रदुषणको चित्रण गरी त्यसको
कारक तत्व मानिस नै भएको र मानिसले नै जोगाउन पनि
सक्छ भन्ने सन्देश दिइएको छ । 


Add caption


गुल्मीका हरिराम अधिकारीले तयार गरेको
मूर्तिमा आँसु र हाँसोको सहज मिश्रण गरिएको छ । 


कलाकार भगवान हुन् । यदि यिनै ढुङ्गा कुनै अपराधीको हातमा पुगेको भए कतिको ज्यान जान सक्थ्यो, कलाकारको संगत पाएकोले राष्ट्रिय/अन्तर्राष्ट्रिय पर्यटकीय गन्तब्य बनेको छ, तपाईँको मनले अलौकिक र नितान्त फरक अनुभुति गर्ने नयाँ संसार पाएको छ ।
मकवानपुरका लक्ष्मण भूजेलको मूर्तिमा पत्रे बीजलाई
प्रस्तुत गरी त्यहाँ मानव चित्रण गर्न खोजिएको छ ।














अन्य सिर्जनामा के छन् ?
भारतका मूर्तिकार अनुपकुमार गुप्ताले निर्माण गरेको मूर्तिमा ग्रीन पीसको भाव देख्न सकिन्छ । भारतीय भएर पनि उनले नेपालको अहिलेको परिस्थितिलाई चित्रण गर्न सफल देखिएका छन् । इटहरीका प्राज्ञ धनबहादुर याक्खाले तयार गरेको मूर्तिमा प्रकृति र नारीको बारेमा चित्रण गरिएको छ । काठमाण्डौका कलाकार सुदर्शन विक्रम राणाले निर्माण गरेको मूर्तिमा एकता र मित्रताको महत्व झल्किएको छ । 

चितवनका अर्का मूर्तिकार दिनेश्वर महतोले तयार गरेको मूर्तिमा  प्रकृति र संस्कृतिलाई एकैपटक देख्न सकिन्छ । बाग्लुंगका मूर्तिकार ओम खत्रीले जैविक विविधता र एकता अनि तालहरु समेटिएको दुईवटा ढुङ्गाबाट फरक भाव झल्कने मूर्ति तयार गरेका छन् । उनले निर्माण गरेको मूर्ति हेर्दा हिलोमा फुलेको कमलको महत्व सँगै जीवन र मृत्युलाई पनि कलाबाटै तुलना गर्ने प्रयास गरिएको छ । 

झापाका हिम्मत नेम्वाङले पनि एकता र प्रेममूलक मूर्ति तयार गरेका छन् । इलामका विष्णुप्रसाद श्रेष्ठले एउटै मूर्तिमा पोखरी भित्रबाट उम्रदै गरे पालुवा र वृद्धि अनि विकासको बारेमा जियोमेट्रीकल र अर्गानिक कुरालाई समेटेर प्रकृतिको महत्व झल्काउने मूर्ति तयार गरेका छन् । भोजपुरका नारदमणी हार्ताम्छालीे नेपालका अग्रज मुर्तिकार हुन् । उनले निर्माण गरेको मूर्तिमा आदरभाव झल्कन्छ । नमस्कार आकारमा उनले निर्माण गरेको  मूर्तिमा भौगोलिक सुन्दरता, समुदाय, पुस्तान्तर र बाद, प्रतिवाद अनि सम्वादको भावना झल्किएको छ । 

चितवनका प्राज्ञ लालकाजी लामाले भौगोलिक एकतालाई जोड दिँदै हिमाल, पहाड र तराईलाई सूत्रबद्ध गर्ने प्रयास गरेका छन् । काठमाण्डौकी सुनिता राणाले जीवको संरक्षणलाई जोड दिने कलाकृति बनाएकी छिन् । सिंगो ढुंगालाई जीवनसँग कलामार्फत तुलना गरिएको छ । 

कलाकार  राजन काफ्लेको मूर्तिमा मायाप्रेम र सरप्राइजको भाव देख्न सकिन्छ । मूर्तिमा घाम छाया, खस्रो मसिनो, सकारात्मक नकारात्मक भावलाई उतार्ने प्रयास गरिएको छ । गंगाधार सारुले आफ्नो मूर्तिकलामा प्रकृतिको सुन्दर शैलीमा चित्रण गरेका छन् । चितवनका भीमबहादुर श्रेष्ठ जीवन र जगतका बारेमा पनि मूर्तिमार्फत चित्रण गर्न सफल भएका छन् ।

9 Mangsir, 2074
Kathmandu