Saturday, February 12, 2022
पढ्नै पर्ने किताब Smash & Grab: Annexation of Sikkim - लेखक सुनन्दा के दत्त (सो पुस्तक पढेपछी मेरो निश्कर्ष)
भगवान राम र बरमझियाकाे पेडा ।
शहर नै उज्यालो भयो ।
लकडाउनकाे साग चाेर
निसन्देह: चोरी अपराध हो, कानून अनुसार सजाय दिनुपर्छ । तर चोर समाजमा जन्मन्छन् , जन्माईन्छन् । चोर मानसिकता जन्मन नदिन राज्य, समाज, व्यक्ति सबै सचेत हुनुपर्छ, चोर जन्मनुमा हामी सबैले जिम्मेवारी पनि लिनु पर्छ । फोटोमा पाता कसेर लडाईएका यी व्यक्तीको यदि २०७६ चैत्र ११ अघि चोरिको कुनै रेकर्ड छैन भने हामीले फरक ढङ्गले सोच्नु पर्दैन र ? सामान्यतया हामीले यस्ता चोरीहरू धेरैजसो पेटमा पुगेर ठोक्किएको देखेका छौँ । यिनको पनि वाध्यता भोक हो भने यो तरिका उपचार होइन, प्रतिसोध हो ।
हामी लाउडा, वाइड्बडी, सिमाना, नदी, बालुवाटार, मेलम्ची, स्वाभिमान र भविष्य चोर्नेहरूको झण्डा बोकेर भजन गाउँछौँ, जसलाई न बारीको डिलमा पाता फर्काएर लडाउन सकिन्छ, न त अबदेखी नचोर्ने गरि सच्याउन सकिन्छ । किनभने उनीहरू पेटकोलागि केही हजारको साग चोर्दैनन् ।
लकडाउनले गर्दा रोजगारी गुमेको, यातायात नभएर गाउँ फर्कन नपाएको, चारचार महिनासम्म पाल्ने कोही ननिस्किएको, घरबेटीले भाडामागेको, मुखमाड लागेको अवस्थाका मानिसहरू भेटेको छु मैले । बुढाबुढी नै आत्माहत्या गर्न तयार भएका पनि भेटियो । (कनूनी र सामाजिक कारणले नाम गोप्य राखिएको) । अहिले श्रमजिवीका लागि सहज परिस्थिति छैन । यी युवकले आत्माहत्या गर्न चाहेनन्, बौलाएर पनि हिडेनन् । बेइज्जत गर्न र सजाय दिनुभन्दा अघि कृपया एकपटक राम्ररी बुझौँ ।
हो, सागधनी किसान चैँ मर्कामा पर्नु हुन्न । हाम्रो कमजोर सुरक्षा प्रणालीले गर्दा कहिले आगलागी, कहिले जङ्गली जनावार, कहिले सलह, कहिले बाढीले पनि किसानहरूलाई डुबाएको छ । यी अपवाद/विपत्ती हुन् । यस्तोमा तीन तहका सरकार मध्ये कसैले जिम्मेवारी लिएको र क्षतिपूर्ति दिएको पनि देखिन्छ । यहाँ पनि किसानलाई बचाइयोस् ।
कृपया यो "चोर बचाउने र क्षतिपूर्ति चैँ सरकारले तिर्ने, गैरजिम्मेवार विचार" नसम्झिदिनु होला । एउटा भोको चोर कुटेर समाज परिवर्तन हुँदैन, चोर जन्माउने समाजलाई बदल्नु छ । हामी रत्नाकार डाकुलाई वाल्मीकि ॠषी बनाएर उनैबाट प्रशिक्षित भएको संस्कृतिमा हुर्किएका छौँ ।
(सानो अनुरोध: यदि कोही यी युवकको सम्पर्कमा हुनुहुन्छ भने कृपया जानकारी पाउँ । हामी यिनलाई गाउँ फर्काउन सहयोग गर्नेछौँ ।)
Thimi, Bhaktapur
Friday, February 11, 2022
मौदृक नीति र उत्तरदायी लघुवित्त
पहिलोपटक विपन्न, गरीब, साना किसान आदि तल्लो तह र तप्काका मानिससमेत अब राष्ट्र बैंकको मौद्रिक नीति कस्तो आउँछ भनेर पर्खेर बसेको पाइयो । यसबाट वित्तीय साक्षरता अभियान र बैंकिङ सेवा विस्तारका प्रयास क्रमशः तल्लो वर्गसम्म पुग्न थालेछ भन्ने देखिन्छ ।वित्तीय प्रणालीमा करीब रू. ३५ खर्ब ८३ अर्बको कर्जा परिचालनमध्ये लघुवित्तको प्राप्त ७ दशमलव ३१ प्रतिशत र सहकारीको प्रतिशत ९ दशमलव ५२ प्रतिशत गरी १६ दशलव ८३ प्रतिशत पुगेको छ । सहकारी र लघुवित्त संस्थाहरू आर्थिक र सामाजिक रूपमा पिछडिएका र निम्न आय भएका वर्गमा सेवा पुर्याउने सहज माध्यम भएकाले माथिका तथ्यहरूबाट वित्तीय सेवाको पहुँच तल्लो तहसम्म क्रमशः सुदृढ हुँदै छ भन्ने पुष्टि हुन्छ । त्यसैले नै यो वर्ष मौद्रिक नीतिमाथि सर्वसाधारणको चासो ह्वात्तै बढेको देखिएको हो ।
लघुवित्त क्षेत्रमा वित्तीय स्रोत उपलब्धता सुनिश्चित गर्न यसपटक नेपाल राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । राष्ट्र बैंकले उपलब्ध गराउने पुनर्कर्जाको १० प्रतिशतसम्म लघुवित्त वित्तीय संस्थामार्पmत एकमुष्ट रूपमा प्रदान हुने भएको छ । यसबाट लघुवित्त क्षेत्रमा रू. ६ अर्ब थप सरल वित्तीय स्रोत भित्रनेछ ।विपन्न वर्ग कर्जाका रूपमा लघुवित्तीय संस्थाहरूलाई प्रवाह गर्ने कर्जामा शून्य दशमलव ५ प्रतिशतभन्दा बढी सेवा शुल्क लिन नपाउने व्यवस्था गरिएको छ । यसबाट लघुवित्त संस्थाको कोषको लागत शून्य दशमलव ५ प्रतिशतसम्म घट्न सक्ने देखिन्छ ।
लघु वित्त वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा आफ्ना ग्राहकलाई सेवा शुल्कबापत अधिकतम १ दशमलव ५० प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरिएको छ । व्यावसायिक परियोजनाका लागि स्वीकारयोग्य धितो लिई तोकिएका कृषि, लघु उद्यम तथा व्यवसाय गर्ने विपन्न तथा न्यून आय भएका व्यक्ति, फर्म वा समूहलाई प्रदान गरिने कर्जासीमा रू. ७ लाखबाट बढाई रू. १५ लाख पुर्याइएकाले अब उद्यम व्यवसायलाई वृद्धि गर्दै लैजान गरीब तथा विपन्नलाई अझै फराकिलो अवसर प्राप्त भएको छ ।लघुवित्त संस्थाले आफ्ना ग्राहकसँग वार्षिक १५ प्रतिशतभन्दा बढी हुने गरी ब्याज लिन नपाइने व्यवस्था भएको छ । लघुवित्त संस्थाका अधिकांश कर्जा १ वर्षका लागि हुने भएकाले अब ऋणीले १५ प्रतिशत ब्याज र १ दशमलव ५ प्रतिशत सेवाशुल्क गरी १६ दशमलव ५ प्रतिशतभन्दा बढी तिर्नु पर्दैन ।
यसअघि १८ प्रतिशत र २ प्रतिशत गरी २० प्रतिशतसम्म लिइँदै आएको ब्याजमा यति ठूलो क्यापिङ गर्दा लघुवित्त संस्था र लगानीकर्ताले नरुचाएको देखिन्छ । आफ्नो अदक्षतालाई छोपी सञ्चालन खर्च देखाएर गरीबलाई महँगो ब्याज लगाउने तर आकर्षक लाभांश वितरण गर्न नछोड्ने भन्ने आरोप खेप्दै आएका लघुवित्त संस्थाहरूलाई आधार दर खुम्च्याएर सच्चिने मौका दिएको छ ।
इजाजतको प्रक्रियामा रहेकासहितका लघुवित्त वित्तीय संस्थाहरूको इजाजत दिने सम्पूर्ण कार्य स्थगन गर्नु, पूँजीको आधार सुदृढ तुल्याउन एकआपसमा गाभ्ने/ गाभिने तथा प्राप्ति प्रक्रियालाई प्रोत्साहित गरिएको छ । प्रदेशस्तरमा कारोबार गर्ने लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो सम्पूर्ण कारोबार एउटै प्रदेशमा सीमित गर्न २०७८ असार मसान्तसम्म समय दिइएको छ । यसले बलियो र थोरै संख्याका लघुवित्त संस्थालाई प्रोत्साहन गरेको छ ।२०७६ पुस मसान्तमा असल वर्गमा रहेको कर्जालाई २०७७ असार मसान्तमा समेत असल वर्गमा नै वर्गीकरण गर्न सकिने छ । तर, गत आवको ५ प्रतिशत कर्जा नोक्सानी व्यवस्था भने कायम गर्नु पर्नेछ । २०७७ असार मसान्तसम्म असुल हुन नसकेको कर्जाको किस्ता बढीमा ६ महीनासम्म भाखा सार्न सकिनेछ ।
लघुवित्त वित्तीय संस्थाले निश्चित प्रयोजनका लागि स्थापित दीर्घकालीन कोषहरूबाहेकका रकम बैंक तथा वित्तीय संस्थामा ३ महीनाभन्दा बढी अवधिको मुद्दती निक्षेपमा राख्न र नवीकरण गर्न नपाउने व्यवस्था गरिएको छ । प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनलाई अस्वाभाविक सुविधाको लालचमा बढी मुनाफा गर्न प्रेरित गर्ने अभ्यासलाई सुधार गर्न उनीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी व्यवस्था पुनरवलोकन गरिने भएको छ ।
मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थालाई समाजप्रति उत्तरदायी बनाउनसमेत ठोस् कदम चालेको छ । समाजप्रति उदासीनता देखाई वैधानिक व्यवस्थाअनुसार छुट्ट्याइएको सामाजिक उत्तरदायित्व कोषको रकम खर्च नगर्ने कृपण संस्थाहरूको आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने भएको छ ।बैंक वित्तीय संस्थामा कर्जा लिने हैसियत भएकाले ५ प्रतिशत ब्याजदरमा ऋण लिँदै गर्दा गरीबले १५ प्रतिशत लिनुपर्ने अवस्था कायमै रहेको छ । थोक लघुवित्त र सहकारीमार्फत पनि निश्चित क्षेत्रहरूमा ब्याजदर सहुलियत सुविधा प्रदान गर्ने व्यवस्था मिलाउन सकिने अवसरप्रति नीति मौन रहेको छ । वैधानिक जगेडा कोषसम्बन्धी २० प्रतिशतको अनिवार्य व्यवस्थालाई लघुवित्त संस्थाहरूको हकमा ३५ प्रतिशत बनाउन सकियो भने कालान्तरमा स्वतन्त्र पूँजी बलियो भई लघुवित्तमा ब्याजदर स्वतः घट्न सक्छ ।
सहकारीहरूमा मुनाफाको १८ प्रतिशतभन्दा बढी लाभांश बाँड्न नपाइने गरी भएको व्यवस्था नै लघुवित्तमा समेत लागू गर्ने भएमा ब्याजदर बढाउने दबाब घट्ने र संस्थागत पूँजी वृद्धि हुन गई संस्था दिगो बन्छ ।
ग्राहक संस्थाको कर्जाको गुणस्तर कमजोर भएमा थोक कर्जाप्रदायक लघुवित्त संस्थाहरूको वासलात जति राम्रो भए पनि ‘कस्मेटिक’ मात्र हुन्छ । ऋणी संस्थाको कर्जाको गुणस्तरको आधारमा थोक कर्जाप्रदायकले अतिरिक्त कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने वैधानिक व्यवस्था गर्न जरुरी भइसकेको छ ।थोक कर्जाप्रदायकहरूबाट सहकारी संस्थाले औपचारिक वित्तीय स्रोतको रकम परिचालन गरिरहेकाले उक्त क्षेत्र पनि राष्ट्र बैंकको नियमन क्षेत्रभित्र राख्न आवश्यक छ । राष्ट्र बैंकका सुपरिवेक्षकीय अधिकार तिनै थोक कर्जाप्रदायकलाई प्रत्यायोजन गरेर चुस्त अनुगमन प्रणाली स्थापना गर्न सकिन्छ ।मौद्रिक नीतिले लघुवित्त क्षेत्रमा स्पष्टता ल्याएको शायद पहिलो अवसर होला । तसर्थ यसको मध्यावधि समीक्षामा माथि उठाइएका विषयउपर चासो देखाउने आशा गर्नु सान्दर्भिक हुन्छ ।
लेखक [झलेन्द्र भट्टराइ] लघुवित्त र सहकारी क्षेत्रसँग सम्बद्ध हुनुहुन्छ ।
Saturday, January 22, 2022
४०० वर्ष अघिको धार्मिक क्रान्ती
Sunday, January 2, 2022
प्राध्यापक माधव भण्डारीप्रति
Wednesday, March 10, 2021
२१ शब्दका कविता
रूप
====
हरियो पहाड कोपिरहेको छु ।
डोजरमा विकास बोकिरहेको छु ।
तिम्रो छाती फोरेर उमारेको कन्कृटे शहरमा
आमा!
देखाउन चैँ 'चाइनिज' दुबो रोपिरहेको छु ।
२०७७/११/०४
*** *** *** *** *** ***
कर्म
======
हावा-पानी उस्तैउस्तै, उस्तै चन्द्र उस्तै घाम ।
उही धर्ती, एकै आकाश, उत्ति मेहनत उस्तै काम ।
मनोवुद्धी, प्रवृतिले बन्छन् रावण, कोही राम ।
२०७७/११/०४
*** *** *** *** *** *** ***
संविधान
======
राम्रो पार्न तास्दातास्दै सिद्दिएको मुर्ती जस्तो,
जुवाखालमा लुटिएको रक्स्याहाको फुर्ती जस्तो,
ढुँडिएको गन्धे-सिरक के छोपिन्थ्यो - नयाँ खोलले !
विश्वोत्कृष्ट भन्यौ तर, कोक्याउने सुर्ती जस्तो ।
२०७७/११/०४
राधेराधे, भक्तपुर ।
आँसु
===
तिम्रो लाम्टा चुसेँ, तिम्लाई अनपढ भनेँ
मान्छेमा गनिँन - तिमी रोइनौ ।
अनि रोयौ -
जब हर्लिक्स बोकेर
जवान नाति तिमीलाई भेट्न
वृद्धाश्राममा आयो ।
२०७७/१२/०४
*** *** **, *** ***
२२औँ शताब्दीको कविता
===============
खै कुन कवितामा पढ्या हो यो सफेद झुट -
त्यत्रो बिजुली खर्चँदा बल्ल बल्ल फृजमा बन्ने हिउँले त
हिमाल पो ढाक्छ रे !
२०७७/१२/०४
*** *** *** ***
Friday, February 12, 2021
कुर्सी भन्दा अग्लो नेता खोइ?
६ वर्षे दोश्रो विश्व युद्ध (सन् १९३९-१९४५) सकिँदा नेपालको जनसंख्या ठूलो संख्यामा घट्यो । विश्वयुद्धसँग नेपाल र नेपालीको कुनै साइनो थिएन, तर भाडाको शैनिकको रूपमा लाखौँ सिद्दिए । २ पैसा कमाउने वाध्यता वा लोभमा मर्न त तयार थिए र छन् नेपाली, अहिले त काठमाडौँ घुम्ने अवसर हो ।
नेताको पछि नारा जुलुसमा लागेर युरोप र अमेरिका विकास भएको हैन, जनताहरू आफैँ उद्यमी भएर हो । एउटा वैज्ञानिक जन्माउन नसक्ने, भएका वैज्ञानिकलाई झोला नबोके मर्न वाध्य पार्ने यिनै नेतृत्वबाट सुदुर भविष्यसम्म पनि मुलुकले अग्रगती नलिने कुरा ठोकुवा गर्न सकिन्छ । हत्या, बलप्रयोग, धम्की, चर्का भाषण बाहेक कुनैले गरेको कुनै ५ वटा गतिला काम कसैले तल कमेन्ट्मा लेख्ने साहास गर्छ?
जनचेतना सन् १९३९ को भन्दा माथी नपुगोस् भनेर नेपालका सबै पुस्ताका नेताले हरेक कालखण्डमा गरेको मेहनत भने सफल भएको छ । विदेशीलाई ईमान बेचेर कुर्लने नेताको चङ्गुलबाट नेतृत्व नखोसेसम्म विदेशीलाई युवा बेचेर बाँच्नुको विकल्प हुँदैन । हामी मध्ये जो विदेशमा बिक्री हुन सक्दैनौँ (उमेर वा अन्य कुनै व्यवहारिक कारणले) तिनीलाई यिनै नेताले किनिरहनेछन् , यो वा त्यो रूपमा । स्वाधिनता, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, प्रतिगमन, अग्रगामी छलाङ, अग्रगमन कोनि के के आउँछ यिनलाई भन्न । यी सब बकवास !
आफ्नो विवेक सकिएपछि, स्व-पौरखमा विश्वाश हराएपछि, "झर्ला र खाउँलावादी" भएपछी वा डकैतिमा बानी परेपछि हामी आफैँ नेताका गुलाम बन्दा रहेछौँ, त्यस्ता नेताको जसको डरलेमात्र हो मुखमा थुक्न नसकेको ।
हैन भने श्रद्धापूर्वक मनबाटै नमस्ते गर्न मन लाग्ने एउटा नेता बताउनुस् ।
सबै नेता पुड्काछन् , कुर्सी भन्दा अग्लो क्षितिज देख्दैनन् ।सारा तागत लगाएर, मेड इन वा मेड आउट भर्याङ लगाएर, बेस्कन उफ्रेर, त्यही कुर्सीसम्म पुग्ने । पुग्न नसकेर लड्ने, फेरि धुलो ट्क्ट्क्याउँदै आफैँ पो उठ्ने र अर्को अघि लागेको रहेछ भने खुट्टा तानेर झार्ने भन्दा परको लक्ष र कार्यक्रम कुनैसँग पनि भएको देखिएन ।
'यति मेलो पनि नसकेको?' भनेर सोध्नुस् , खेता(ला) सँग लाख रेडिमेड बहाना हुन्छ्न् । नेताले बहाना बनाउन पाउँदैन, बहाना खोज्ने भए ऊ खेता(ला) हो कसैको ।
ए हजुर! सक्नु हुन्छ भने कुर्सी भन्दा अग्लो एउटा नेता देखाइदिनुस् ! जो उभिँदा कुर्सी धेरै तल हुन्छ र माथी भने मुलुक निर्माणको गतिलो कार्यक्रम हुन्छ ।
२०७७/१०/२८
Tuesday, January 5, 2021
मुक्तक - राजनीति
नारा लाएँ, धर्ना बसेँ, लाठी खाएँ, जुलुस पसेँ ।
घाँस दिएँ, दाना पोसेँ, तर्क गर्दै घुँडा धसेँ ।।
कति कुदेँ पछिपछि, एक दिन ब्याउला भनी -
बज्या साँढे परेछ हौ! फसेँ नराम्ररी फसेँ ।
Monday, January 4, 2021
आयो नजान्ने दिन
बिहेको जनती र मर्दा मलामी जान नपाउने भए ।
सात्जन्म जोडिने कसम खाएका अछुत-दुर्दुर भए ।
हाड्छाला घोटेर, भोको पेट् बसेर, पाल्या परिजन कता?
आईसोलेसनमा निरस एकलो मृत्यु कुर्दैछु मता ।
छ मेरो आफनो विदेश भनेर धाकधक्कु लाउँथे हिजो ।
बिर्सेर ढिँडोको भरमा बाँचेको खान थालेथे "पिजो" ।
यो जिउ चलदा र पैसा फाल्दा सबैको प्यारो थिएँ।
थलिएंँ अहिले आफन्ती चाहिने ! झन् एक्लो कैदी बनेँ ।
मौकाको ताकमा तर् मार्न ढुकेका चुग्लिखोर चालुहरू !
सङ्कट्मा एकलै लुकेर दुलोमा बसेका ठालुहरू !
विद्वता छाँटेर, दिमाख भुटेर, सकेको लुट्नु किन ?
विश्व नै पढेको, घमण्ड कता गो ? आयो नजान्ने दिन ।
२०७६/१२/१७
राधेराधे, भक्तपुर ।






