झरी घोप्टिएको कालो रात भरि,
हुरीले गुँड लुछेको दीन चरी;
कहाँ जाउँ, समाउँ, सहारा खोजुँ?
म त लुप्त हुने भएँ शुन्य सरी ।
यो अँध्यारो छ निष्पट, काँ'छ घर ?
बल्यो दियो कति कति टाढा पर ।
गुमे सब् , पुगे काँ' ? कसलाई सोधुँ ?
अब एक्लो भएँ, 'म' मा पो के छ र !
कोही अर्काको युद्ध बेसुर लडे,
कोही प्रिति गुमेर कुनामा सडे ।
कोही तृष्णाले खायो अथाह् धनको,
दोष के थियो र म बिलख्मा परेँ ?
बचेँ ब्याधासँग, जुधेँ प्याधा सँग ।
खपेँ भोक कति, भिँडे ज्यादासँग ।
ढल्यो खुशीको सानो संसार अब !
रति छैन सहास यो निर्धोसँग ।
कोही हिँड्दा रहेछन् कमाउँन भनी,
कोही बाँच्दा रहेछन् रमाउँन भनी ।
न कमाउन सकेँ, न रमाउँन सकेँ।
आयो देश मेरो परदेश बनी ।
सदा लाग्थो आकाश पनि घर हो,
यो गुँड त के र! जगतै मेरो हो ।
प्रकृति आमा हुन् , पिता वायु-जल ।
तर झुटो रहेछ, फगत् एकलो ।
अब छैन चाह - हाँगा पात तोडुँ,
दिन-रात खटुँ, नयाँ बास जोडुँ,
घरजम गरी फेरि सृष्टि नयाँ-
फूलबारी रची नयाँ बोट गोडुँ
हिजो गुँड थियो, साथी-भाइ थिए ।
साना चल्लाका मिठा आवाज थिए ।
एक झोँकमा सृष्टि उजाड भयो,
अब ज्यान मेरो नि खुशीले दिएँ ।
२०८१/२/७
वानेश्वर, काठमाडौँ।
No comments:
Post a Comment