Saturday, December 2, 2023

मन्दिर, धर्म र कम्युनिष्ट

सामान्यत: सामूहिक आर्थिक प्रणाली (कम्युन) मा आधारित व्यवस्थालाई 'कम्युनिज्म' भनिन्छ । यसमा निजी सम्पत्ती हुँदैन, सामूहिक आम्दानी/सामूहिक खर्च । त्यसैले निजी सम्पत्तिका पक्षधरहरूले आफुलाई कम्युनिष्ट भन्न सुहाउँछ कि सुहाउँदैन ? नैतिकताको प्रश्न हो यो । क्म्युनिज्म आडम्बर हैन, व्यवहार हो ।
सबै कम्युनिष्ट भौतिकवादी/नास्तिक हुँदैनन् । यहुदीले चलाएको धार्मिक राजनितिक अभियान zionism र Aliyah ले किबुत्ज (कम्युन) को माध्यमबाट "इजरायल" देश निर्माण र समृद्ध बनायो । उनीहरू सबै नास्तिक होइनन् । 
सबै नास्तिक कम्युनिष्ट हुँदैनन् । बीपी कोइरला पूर्ण नास्तिक थिए, उनी कम्युनिष्ट भएनन् ।
धर्मले मानिसलाई नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील बनाउन प्रेरित गर्छ । कर्तब्यबाट चुक भएमा नर्क जानू पर्ने भयले गर्दा पनि उसलाई जिम्मेवार र ईमान्दार बन्न दबाब परेको हुन्छ । त्यसैगरी मार्क्सवादीहरू पनि नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील हुनै पर्ने अनुशासनको नियम छ । अब एउटा धार्मिक/आस्तिक मान्छे मार्क्सवादी भयो भने अनुशासन र ईमान्दारिताको पुञ्ज हुने भयो । तर, एउटा नास्तिक मार्क्स्वादी अनुशासनहिन र भ्रष्ट भयो भने ऊ कुनै पापधर्मसँग नडराउने ब्वाँसो बन्न पुग्छ ।
माओत्सेतुङ्ले साँस्कृतिक क्रान्तिको नामबाट गरेको धर्ममाथिको प्रहारलाई चिनियाँ कम्युनिष्ट पार्टीले पश्चतापसहित फिर्ता लिएको थियो । द्वन्द्वको बेलामा रजश्वला भएकी युवतिले शिवलिङमाथी चढेर खुनसरी हुन्जेल उफ्रिँदा, मन्दिर र देवल भत्काउँदा, विद्वान र पण्डितलाई दिनदहाडै हत्या गर्दा आस्तिकहरू रोएका थिए । अहिले सम्माननीय प्रधानमन्त्री प्रचण्ड (द्वन्द्वका सुप्रीमो) ले तारन्तार मन्दिर धाएर , भैंसी र देउताको पूजा गरेर पश्चताप गरेर ती दुखी आस्तिकहरूलाई मल्हमपट्टी लाउँदा खिसीटिउरी गर्नु पर्ने कारण देख्दिन । 
धर्म पनि कुनै समयको सामाजिक/राजनितिक व्यवस्था हो जसले अहिले पनि आम-जनमानसमा राम्रै प्रभाव पार्छ । विशिष्ट क्षमताका नेता आफ्नो दर्शन, दृष्टिकोण र मान्यता स्थापित गर्न राजनितिक जोखिम मोल्न तयार हुन्छन्, तर जनमत हेरेर बोली फेर्दैनन् । औषत नेतालाई जनमत चाहिन्छ; उनिहरू अवसर अनुकुल दर्शन, सिद्धान्त र आदर्शको व्याख्या गर्छन् ।
मन्दिर, गुम्बा, मस्जिद र चर्च जानु र टिकामाला लाउनु मात्रै धर्म होइन, सार्वजनिक व्यक्तित्वको लागि त यो सामान्य शिष्टाचार हो। 
अर्काको आस्थाको सम्मान गर्नु पवित्र सामाजिक संस्कार हो भने अपमान गर्नु सामाजिक अपराध हो । कसैले कसैको आस्थालाई उछितो काडेको छ भने अहिले मन्दिर धाएर त्यो पाप धुईँदैन । त्यसैगरी आफू भने निष्ठापूर्वक नियमित पुजापाठ गर्ने कम्युनिष्ट व्यक्तिले अर्को चैँ घोर नास्तिक हुनु पर्ने आग्रह राख्नु भनेको पनि कुण्ठा मात्र हो । आस्तिक र नास्तिकले एक अर्काको भावनालाई सम्मान गर्नु सामाजिक सहिष्णुता हो । 'हिन्दु सभ्यता' मा चार्वाक जस्ता नास्तिक, वशिष्ठ जस्ता विद्वान र मनु जस्ता विभेदकारी विचारलाई सँगै राखेर पुजा गर्ने व्यवस्था छ । यहाँ कोही भिलेन हुँदैन ।
सामाजिक सञ्जालमा आफुले पोष्ट गरेका कुराले अरुको होइन ऊ स्वयंको मूल्यांकन गर्छ । आफ्नो औकात  छताछुल्ल हुनेगरी सामाजिक सञ्जालको प्रयोग गर्न हुँदैन जस्तो लाग्छ मलाई । स्वस्थ तर्कसहित गरिने मर्यादित बहसलाई स्वागत गर्ने आँट चाहिन्छ, त्यो आफ्नै आलोचना किन नहोस्  ।
राधेराधे, भक्तपुर
२०८०/२/२९

Saturday, October 14, 2023

के ठिक के गैर कानूनी !

 थाइल्यान्डको एक ग्रामीण किसानको सवारी साधन । उनले एउटा 115 cc को स्कुटरलाई अर्को एउटा पाङ्रा थपेर सामान ढुवानी गर्ने, पारिवारिक यात्रा गर्ने जस्ता आधारभुत कार्य गर्ने गरेको पाइयो । सोध्दा थाहा भयो यहाँका आम किसानको सवारी साधन यही रहेछ । ग्यारेजमा सजिलै मोडिफाइ गरिदिँदो रहेछ । 

"यसरी स्वरूप नै बदल्दा पुलिसले पक्रदैन ?" मैले सोधेँ ।

किसानले जंगिदै जवाफ दिए, "के मैले चोरेको हो? मेरो थोरै  सम्पतीले धेरै काम लिएँ भने कसको किन टाउको दुख्नु पर्ने?"

मैले नेपालमा मोटर साइकिल मोडिफाई गर्ने ठिटालाई ट्रफिकले दिएको सास्ती सम्झेँ ।

२३ सेप्टेम्बर, २०२३

थाइल्यान्ड ।

महानाखोन- थाइल्यान्डको सबैभन्दा अग्लो कण्डोमेनियम

 जति माथी चढे पनि आकास अझै उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । सबैभन्दा उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अर्को अनन्त छ । उचाईमा टिकिरहन सकिदैन, भुईँमा फर्कनै पर्छ । त्यसैले होला 'धरातल बिर्सनु हुँदैन' भन्छन् ।

एउटै घरका विभिन्न फ्ल्याट र कोठा विभिन्न परिवारलाई आवासीय प्रयोजनको लागि भाडामा दिईन्छ भने अपार्ट्मेन्ट भनिन्छ । तर त्यस्ता कोठा र फ्ल्याट विभिन्न अलग अलग परिवारहरूको अलग अलग स्वामित्व हुने गरि बेचिन्छ भने त्यसलाई कण्डोमेनियम भनिन्छ । थाइल्याण्ड, बैंककको सिलोम/साथोन स्थित केन्द्रीय व्यापार जिल्लामा रहेको "महानाखोन" एक  गगनचुम्बी कण्डोमेनियम हो । 

20 जुन 2011 मा निर्माण आरम्भ भै 29 अगस्त 2016 मा उद्घाटन भएको यो महानाखोन काटिएको क्यूबोइड-सर्फेस भएको र हेलिक्स गिलासको पर्खाल रहेको वर्गाकार अपरम्परागत शैलीमा बनेको यश किसिमको भने विश्वकै पहिलो स्काईक्रेपर हो ।

314.2 मिटर (1,031 फीट) उचाई र 77 फ्लोरहरू भएको यो भवनमा होटल, खुद्रा पसल, रेस्टुरेण्ट, स्काई वाक रहेका छन् । विभिन्न ठुला कम्पनीका कर्पोरेट अफिस त छँदैछन्, अमेरिकी डलर $ US1,100,000 देखि $ US17,000,000 बीचको मूल्यमा २०० भन्दा बढी आवासहरू (फ्ल्याट) बिश्वका धनी मानिसहरूले खरिद गरि सकेको यो टावर बैंककको हालसम्मको सबैभन्दा महँगो कन्डोमिनियममा पर्छ । दुवैको यस्तै अग्लो घर "बुर्ज खालिफा" मा भारतीय फिल्मका कालाकार शाहरूख खानको समेत फ्लैट रहेको छ । तर, महानखोनमा दक्षिण एशियाका धनीहरू धाक जमाउन आएनआएको थाहा भएन ।

भुइँको क्षेत्रफल 150,000 वर्ग मिटर रहेको यस भवनको शुरुका ४ तल्लामा विभिन्न विलासी वस्तुका सोरूम छन् । प्रतिव्यक्ती 880 भाट तिरेपछी भने ७४ देखि ७७ सम्मका तल्लाहरू चढ्न र शीसा माथीबाट आकासमा यात्रा गर्न पाइन्छ । 1180 भाट तिरेमा 74 तल्लामा बसेर कफि र नास्ता खान पनि पाईन्छ । 

जति माथी चढे पनि आकास उति नै माथी हुने रहेछ, र आखिर धर्तीमा न उत्रिकन नहुने रहेछ - जीवन जस्तै । उचाईमा कहिल्यै पुँगिदैन, त्यो माथी अझै अनन्त छ । त्यहाँ टिकिदैन, धरातल बिर्सनु हुँदैन ।

यात्रा भने रोमाञ्चक रह्यो ।

९ असोज, २०८०

रोयल होटल, रतनाकोशिन, बैंकक ।

दाह्री भाइको चिया पसल

सुर्खेत जाने जो कोही पनि कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थलको रूपमा रहेको ऐतिहासिक काँक्रे बिहार नपुगी आउँछ भने उसले जीवनमा ठुलै मौका गुमायो । काँक्रे बिहार गएर पनि त्यसको मुखैमा रहेको दाह्री भाइको चिया पसलमा एक कप मटका चिया नपिई फर्कियो भने त झन् ठूलो अवसर उम्कायो ।  त्यही पसल चलाउने दाह्री भाइ "सुरज क्षेत्री" जापान जान भाषा सिक्दासिक्दै झसङ भएछन् । 

'हैट! त्यत्रो खर्च गरेर विदेश जाने हैन । घरमा नै बसेर केही गर्ने ।' अनि रू. १० हजारबाट शुरु गरे उनले नयाँ व्यवसाय - 'दाह्री भाईको चिया पसल' । नेपालगञ्जबाट माटोको कप मगाए, स्वादिलो चिया बनाएर बेच्न थाले । अहिले मासिक लाखौँ कमाउँछन् ।

आफ्नै दामले साथिहरूको भनाई टिपेर स्लोगन लेखे - " यो चोटि तँ तिर, अर्को चोटि म तिर्छु ।"

सायद अब अर्को नारा थप्लान्, "चिया नखाएर कोही अजम्बरी हुँदैन" वा "हिजोको जस्तै मीठो ल" ।

माटोको कप पुन: प्रयोग हुँदैन, त्यसलाई के गर्ने ? आइडिया !! चिया खानेले कपमा आफ्नो वा आफ्नो पृयको नाम लेख्ने । अनि दाह्री भाइले त्यो कप सजाएर राखीदिने । वाह: !! ४ "स" वा सम्झना साँच्ने सुन्दर सोच !! 

लोगो त्यस्तै सुन्दर छ - चियाको कपसँग दाह्रीको छायाँ ।

स्कुल र क्याम्पस पढ्ने विद्यार्थीहरू चिया पिउन लाम लाग्छन् , चियाका पारखी र युवा तथा प्रौढहरू दाह्रीका चिया पिउन धाउँछन् ।

कोही उत्साही उद्यमी हुनुहुन्छ भने आउनुस् - दाह्री भाईसँग फ्रेन्चाइजी लिएर साखा खोलुँ । काठमाडौँ त एक राम्रो बजार हुन सक्छ ।

साना किसान कृषि सहकारी संस्था लि लाटिकोइलीका सदस्य परिवारका सुरजलाई सफलताको असीम शुभकामना ।

- लाटीकोइली, सुर्खेत

२०८०/०६/१८

सुर्खेतको काँक्रे बिहार - साम्प्रदायिक सद्भावको प्राचिन धरोहर

भर्खरै सामाजिक सद्भाव बिथोल्न खोजिएको नेपालगञ्जबाट करीब ८५ किलोमिटर उत्तर पर्ने सुर्खेतको वीरेन्द्रनगर चोकबाट करिब ३ किलोमिटर दक्षिण दिशा गएपछी लाटिकोइली पुगिन्छ । त्यहीँ पर्छ, 'काँक्रे बिहार' । 

करिब १८० हेक्टरमा फैलिएको सालको जङ्गलको बिचमा यत्रतत्र छरिएका पुराना ईंटा, काठ एवम् ढुङ्गाका कलात्मक बुट्टाहरू तथा आकर्षक मूर्तिहरूलाई पहिलो पटक गुरु योगी नरहरीनाथले वि. सं. २००७ सालमा 'काँक्रे बिहार' हो भनी पहिचान गरेका थिए ।

वि.सं. २०३० सालमा राजा वीरेन्द्रको पहिलो पटक

सुर्खेत भ्रमण भयो । उनले त्यस समय काँक्रे बिहारको महत्व थाहा पाए र उक्त क्षेत्रलाई तारबेरा गरी शुरक्षित गर्न लगाए ।

सोही क्षेत्रलाई वि. सं. २०५९ सालमा पुरातत्व विभागले संरक्षणमा लिई उत्खनन शुरू गर्‍यो । झण्डै १९ वर्षको निरन्तर उत्खनन्, अन्वेषण र पुनर्योजन पश्चात काँक्रे बिहार पुन: पुरानो आकृतीमा खडा भयो।

ज्यासन हव्कसको सन् २०१५ मा प्रकाशित Kingship, Buddhism and the forging of a region नामक शोध-पत्र अनुसार तिब्बतको 'स्पोन कान' गुम्बामा रहेको एक मूल ग्रन्थलाई काँक्रे बिहारको मुलप्रतिबाट सारिएको उल्लेख छ। यसबाट यो बिहारको आयु र महत्व अनुमान गर्न सजिलो भएको छ ।

पुरातत्व विभागको अन्वेषण, प्राप्त आलेख, कला र कालको विश्लेषण एवम् निर्माण शैलीका आधारमा यो बिहारलाई ११ औं र १२औं शताब्दीको बिचमा तत्कालिन खस राजा अशोक चल्ला वा क्राल चल्ला मध्ये एकले निर्माण गर्न लगाएको मान्ने गरिन्छ । यिनै चल्लाहरुलाई पछि 'मल्ल 'भन्न थालियो ।

एकातिर वि.सं. १९५० मा आएको महाभुकम्पले उक्त बिहार धुलिसात् भयो भन्ने भनाई छ भने १४ औँ शताब्दीमा भारतबाट आएका मुसलमानले मन्दिर भत्काएको तर्क समेत गरिन्छ । कसैले त शंकराचार्यका चेलाहरूले भत्काएको सम्म भनेका छन् । स्थानीय थारूहरूको मान्यतामा भने महाभारतको कथासँग यो भग्नावशेष जोडिएको छ । कौरवले पाण्डवलाई लाहाको घरमा डढाउन  खोज्दा पाण्डवहरू यही बिहारबाट सकुशल भागेको मान्यता राख्छन् । 

ईतिहास अनुसार खस राजाहरू हिउँदमा डुल्लु र वर्षामा सिंजामा आफ्नो राजधानी सार्ने गर्दथे । मल्लहरू यो खस राज्यले उत्तरमा तिब्बत र दक्षिणमा मगधहरूसँग राम्रो सम्बन्ध राखेको थियो । त्यसैले तिब्बती र भारतीयसँग समन्वय राख्दै काँक्रे बिहारमा मुलत: भगवान बुद्धको आराधाना केन्द्र भएता पनि हिन्दुहरूका देवीदेवता शिव, पार्वती, सरस्वती, गणेश, तारा आदिका मूर्ति पनि उत्तिनै महत्वकासाथ राखिएको पाईन्छ ।

दक्षिण भारतको तत्कालिन मन्दिरको स्वरूपलाई मिसाएर शिखर शैलीमा यो बिहार निर्माण भएको छ । ६ मिटर अग्लो यस मन्दिरमा गजुर, गर्भगृह र गुम्बजहरू समेत छन् ।


कसैले यो क्षेत्रको भौगोलिक बनौट काँक्रोको आकारमा

भएकोले काँक्रे बिहार भनियो भन्छन् त कसैले पत्थर कंकडबाट बिहार बनेकोले 'कंकडे बिहार' भन्दा भन्दै अपभ्रंश भएर काँक्रे बिहार भएको तर्क गर्छन् । जे होस्, मन्दिरको शैलीमा भगवान बुद्ध र हिन्दु‌का देवी देवता समेत राखेर बनाइएको यो बिहार त्यस समयको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको अनुपम नमुना मान्न सकिन्छ।

सुर्खेत आउनु भएको छ भने काँक्रे बिहार जानुस्, फर्कदा मुखैमा दाह्री भाईको चिया पसल छिर्नुस्, एक कप मटका चिया खानुस् । दिपेन्द्र कार्की भाईको बाट गँड्यौले मल लिन नबिर्सनुहोस् । र, धार्मिक सहिष्णुता हाम्रो पुर्खौली स्वभाव भएको बुझ्नुस् । यो बिहारमा एकछिन घोत्लिए पछि "धार्मिक/ साम्प्रदायिक युद्धले विनाशमात्र निम्त्याउँछ, प्रेम र सद्भावले मात्र साँचो अर्थमा धर्म मिल्छ" भन्ने शाश्वत तत्व ज्ञान प्राप्त हुनेछ ।

होटेल शुभ

वीरेन्द्रनगर, सुर्खेत

२०८०/०६/१९

Thursday, September 14, 2023

बाबुको मुख हेर्न नपाउँदा

म सानो छँदा आजको दिनलाई कुशे औंशी भन्थे । आमाले कुश काटेर ल्याइदिनु हुन्थ्यो । बिहानै नुहाइधुवाई सकेर खाली पेटमा हामी मिलाएर साना साना मुष्ठी बनाएर बटार्थ्यौँ । मैले चिने जानेकाहरूकोमा बिहानै कुश सिउरिन जान्थेँ । फलफुल र चामलसँग धेरै जसोले ५० पैसा दिनु हुन्थो भने कसै कसैले १ रुपैया दिनुहुन्थ्यो । कति घरमा त मलाई टीका दक्षिणा गरेर फलफुल खुवाएरमात्र खाना खानु हुन्थ्यो ।

म २०/२५ घर जतिमा कुश सिउरी दिन्थेँ होला । धेरै जसो बाहुन क्षेत्री थिए भने केही जनजाती र दलित पनि थिए । जनै पूर्णीमामा जनै र डोरो लिएर अनि नाग पञ्चमीमा तिनै घरमा नाग टाँसेर मैले "बाहुन" को छवि बनाएँको थिएँ । सबैले माया गरेको जस्तो लाग्थ्यो । मद्दत गर्नु हुन्थ्यो । सबैभन्दा बढी पैसा सोह्र नम्बरे तामाङ्ग दाजुले दिनु हुन्थ्यो । यसरी गाउँ डुलेको दिन चाँडै निन्द्रा लाग्थ्यो । सायद गलेर होला ।

नाग पञ्चमीमा फुलिस्केप पेपर किनेर म आफैँ नाग बनाउँथेँ । म ठिकैको पेन्टिङ पनि गर्थेँ । कति पटक त मैले नाग बनाएर अरूलाई बेचेको पनि छु । 

यस्ता एउटा पर्वमा ७/८ रुपैयाँ आम्दानी हुन्थ्यो । पछि त बढेर २५/३० रुपैयाँ पुग्यो । महङ्गी पनि सँगै बड्थ्यो । यो रकमले मलाई वर्षभर कापी, पेन्सिल किन्न र विद्यालयको मासिक शुल्क बुझाउन पुग्थ्यो । कहिले काहीँ दिदीको शुल्क पनि यही कमाईले तिर्नु पर्थ्यो । सरकारी विद्यालय भएपनि मासिक ५० पैसादेखि पछि त ५ रुपैयाँसम्म शुल्क लाग्न थाल्यो । कक्षा ८ पछि म ट्युशन पढाउन थालेँ र नाग कुश छुट्यो ।

कमाएको पैसा आमाले राखिदिनुहुन्थ्यो । आमा पढेलेखेको हुनुहुन्थेन । तर कहिले कति रकम राख्न दिएँ, कति फिर्ता लगेँ कण्ठै हुन्थ्यो ।

बुवा विद्वान पण्डित हुनुहुन्थ्यो । बुवाले नाग कुश गरेको मैले कहिल्यै देखिन । तर मलाई "कुश सिउरिन न जा" भनेर पनि कहिल्यै भन्नु भएन । बरू 'अर्काले दिएको पैसालाई विद्या र ज्ञानमा बाहेक खर्च गर्यो भने पाप लाग्छ' भन्नू हुन्थ्यो । २ कक्षामा पढ्दा म सायद ६ वर्षको थिएँ  । बुवाले भनेको सम्झन्छु "तैँले कुश नाग गरेर अर्काको घरबाट कमाएको पैसाले पढेको छस् । धेरै घरको शक्ति र बुद्धि आएको छ । अब सँधै पढाइमा प्रथम हुन्छस् ।" त्यसपछि प्राय: बुवाको त्यो आशिर्वादले काम गर्‍यो ।

आज भन्दा २१ वर्ष अघि म काठमाडौं छिरेँ । यहाँ आएपछिमात्र थाहा भयो कुशे औँशीलाई "बाबुको मुख हेर्ने"  औँशी भन्दा रहेछन् । मलाई मेरो विद्वान बुबाले कहिल्यै यो कुरा बताउनु भएन र मुख हेर्न लाउनु पनि भएन । अहिले थाहा पाएँ, बुबा बितेको ३१ वर्ष भयो ।

हामी उ बेलामा जनैपूर्णीमामा ज्वाइँचेला वा बाहुनबाट  जनै र डोरो लाउँथ्यौँ । अहिले दिदी बहिनीले राखी बाँध्छन् । गुन्यू चोलोको रश्म त सुनेकै थिएन । तीजको रात ढकनेको दर खाएर भोलि निराहार बस्थे, अहिले एक महिने रक्सी पार्टी हुन्छ ।  जन्म दिनमा बिहानै दियो बालेर अष्ट चिरञ्जीवीको पूजा गरेर सेल रोटी खाइन्थ्यो । अहिले साँझमा बत्ती (क्यान्डल) निभाएर "ह्यापी बर्थ डे" गाउँदै केक काटिन्छ । 

सँस्कृती पनि चलायमान हुँदोरहेछ । खासमा, निश्चित भुगोलमा बस्ने मानिसहरूबिच जीवनशैलीको अन्तर्घुलन र समायोजन नै संस्कृती रहेछ । 

मानिसको जाती (होमोसेफियन्स) को अहिलेको स्वरूप बन्नथालेको ५० लाख वर्ष भएको मानिन्छ । ४ करोड वर्षदेखि हिमाल, नदी, समुन्द्र अस्तित्वमा छ्न् । विभिन्न हिमालबाट निस्किएका अनेकौँ स्वच्छ, निर्मल र सफा नदीहरू विभिन्न ठोकर र हण्डर खाँदै, अन्तर्घुलन हुँदै समुन्द्रमा मिसिन्छन् । ती हजरौँ नदी मिसिने संसारभरीको समुन्द्र एउटै हो । त्यस्तो सफा पानी भएको नदीले करोडौँ वर्षमा पनि समुन्द्रलाई सफा र मीठो बनाउन सकेको छैन । समुन्द्रको पानी भने कति बिघ्न फोहोर, नुनिलो र प्रयोगबिहिन हुन्छ भने प्राणीलाई त छोडौँ बोटबिरुवामा हाल्यो भने पनि ठाडै मर्छ । अन्तत: नदीको स्वछ पानीको अस्तित्व समाप्त पारेपछि समुन्द्र पश्चतापले बाफिन थाल्छ, आकाशमा बादाल भएर उड्छ र सफा मीठो पानी बनेर वर्षा हुन्छ । त्यो वर्षा र आर्द्रताले पुन: नदीको जीवन चक्र चलायमान हुन्छ र स्वच्छ मीठो पानीदेखि समुन्द्रसम्मको शृङ्खला कायम रहन्छ ।

नेवार संस्कृतिमा राँगाको मासुले दशैँ र म्ह: पूजालाई जोड्नु पर्छ । राँगो काठमडौँको ठण्डामा पालिने पशु हैन । पुजामा पान चाहिन्छ । पान दक्षिण भारत वा बङ्गालको खुराक हो । 

नेपालको संस्कृती संसारमै अनौठो छ । प्राचीन सिन्धुघाँटीको सभ्यता देखि भोट्बर्मेली सभ्यताका अंश मुछिएको यो नितान्त फरक र सहिष्णु सभ्यता हेर्न हाम्रो पुरानो धार्मिक स्थल स्वयम्भू नियाले पुग्छ । नेपालकै इतिहासमा पनि अहिर, किराँत, गोपाल, लिच्छवी, मल्ल, सेन, खस, थारु, चौधरी, मेचे, सन्थाल, राजवन्शी, डोय, मिथिला कति हो कति वंशहरूको संस्कृतिक अन्तर्घुलन भएर आजको समाज बनेको छ । 

समाजलाई नदी जस्तै अगडि बढ्न दिनु पर्छ, पछाडी फर्काउन ठूलो बाँध चाहिन्छ र त्यो फुटेको दिन केही बाँकी राख्दैन । संस्कृती पनि उसकै बहावमा बग्न दिनु पर्छ । नदी जस्तै समुन्द्रामा मिले पछि फेरि बादल बनेर शुद्धीकरणको चक्र प्राकृतिकरूपमा नै शुरु हुन्छ । अप्राकृतिक प्रयासले विनाश र विध्वंस निम्त्याउँछ । 

रुवान्डा भन्ने देशका हुतु र तुत्सी जातीलाई पश्चिमाले  अनेक बहानामा जुधाएर सन् १९९४ को १५ जुलाईदेखी १०० दिनमा करिब ६२२००० को हत्या भयो । जाती बिद्रोह उचालेर हिटलरले सन् १९४१ देखि १९४५ सम्ममा करीब ६० लाख यहुदी मारिए । कङोमा २००२-२००३ का बिचमा पिग्मी जातको ४०% मारिए । सन् १९७५-७९ मा खमेरुज गुरिल्लाले भिएत, चाइनिज, लाओ र थाई गरी करिब ३० लाख मानिस मारेका थिए । अंग्रेजको उक्साहट र स्वार्थका कारण सन् १९४७ मा इन्डिया-पाकिस्तान विभाजनको समयमा भड्किएको हिन्दु मुश्लिम द्वन्द्वमा २० लाख मारिएको र २ करोडले थातथलो छोड्नु परेको थियो ।

कुनै पनि जातीय र धार्मिक द्वन्द्व मानव जातिको लागि घातक हुन्छ । 

साँस्कृतिक समायोजन प्राकृतिक नियम हो । फटाहहरू निजी स्वार्थको कारण झगडा लगाउँछन् । थाहा पाएपछि बुबाको मुख हेर्न नपाए पनि कुशे औँशीले मलाई केही बिगारेको छैन ।

२०८०/५/२८

राधेराधे, भक्तपुर ।

Wednesday, September 6, 2023

लुते सिंहहरूको दरबारमा आगो ।

काठमाडौँका मेयर बालेन्द्र शाहले दिनुभएको "सिंहदरबार जलाउने" किसिमको अभिव्यक्तिलाई कानुनत: समर्थन गर्न मिल्दैन । 

श्रीलंकामा सन् २०२२ को मार्चदेखि नोभेम्बरसम्म चलेको स्वस्फुर्त युवा आन्दोलन त कानूनको भाढामा झन् आतंक, अराजक र गैरकानुनी नै थियो । त्यो आन्दोलनको नेतृत्वमा कुनै चिनिएका र उमेर पुगेका मानिस थिएनन् , बरू बालेन्द्रजी जस्ता युवाहरु थिए । उनीहरूको पार्टी थिएन, चुनाव चिन्ह र दर्शनशास्त्रीय नारा पनि थिएन । तर पनि लाखौँको सङ्ख्यामा देशभरबाट एउटै आह्वानमा एकैपटक भेला भएका थिए । इन्टरनेट र सामाजिक सञ्जाल उनीहरूको संगठन थियो । "रालेसिङ्गाने, भ्रष्ट, परिवारवादी, कुर्सीकालागी अदलिबदली गरिरहने, जहिल्यै झुट्टा कुरा गर्ने र ललिपप बाँड्ने कुशासकलाई देशैबाट लखेट्ने" एउटै लक्ष थियो त्यो आन्दोलनको । युवाको स्व:स्फुर्त आन्दोलन चर्केपछि कुन सत्तापक्ष, कुन बिपक्ष - सबै एकजुट भएर यो युवाहरूको 'अराजकता लोकतन्त्रको लागि खतरा' भएको भन्दै अभिव्यक्ती दिन थाले । पुराना पार्टी र नेताको स्वर एउटै भयो । देशमा एकातिर पुराना राजनीतिवालाहरू र अर्को तिर युवाहरू बाँडिएको स्पष्ट देखियो । त्यो आन्दोलनका पक्षमा देशभरका युवा देखिए भने राजनीतिको रस वा चोक्टा वा गन्धसम्म भेटेकाहरू लोकतन्त्र र अराजकताका कुरागरेर आन्दोलन तुहाउन लागिरहे । स्वार्थमा चोट परेपछि भ्रस्टहरू कसरी एक ठाउँमा उभिन्छ्न् भन्ने त्यहाँ देखियो । लंका बल्यो । अन्तत:  श्रीलंकाको तत्कालिन 'राजापक्षे मन्त्री परिषद' देशै छोडेर भाग्नु पर्‍यो, सत्ता परिवर्तन भयो । 

करीब ८०% श्रीलंकालीहरू 'सिंहाली' समुदायका हुन्  । त्यसैले उनीहरूको राष्ट्रिय झण्डामा नै सिंह हुन्छ । ती सिंहालीहरूको सिंहदरबारबाट त नेताहरू धपाए त युवाले । 

द्वापरयुगमा अत्यचारी रावण सिध्याउन भगवान रामले लंकाको दरबारमा आगो लगाएको पुराण छ । ईतिहासले रामको त्यो कदमलाई कहिल्यै गलत भनेन । कलियुगमा युवाले लंकाको अत्यचारीहरूको सिंहदरबारमा आगो लागाए । त्यहाँ बालेन्द्र थिएनन् । अति भएपछी चाहे राम वा श्रीलंकाली युवा वा बालेन्द्र जोसुकै पनि रावण प्रवृतिकालागि चुनौती नै बन्नु पर्ने रहेछ । पञ्चायत कालमा त्यो व्यवस्था बिरुद्ध बोल्ने जोकोहीलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । ४६ सालमा तिनै अराष्ट्रिय तत्वले सत्ता कब्जा गरे । अनि त पञ्चायती व्यवस्था पो प्रतिगामी, जहानीय र तानाशाही भयो । जित्ने सँधै ठिक हुँदारहेछन् । लंका जलाउने युवा पनि राजापाक्षे सरकार खेदाएपछी ठिक भए ।

'सिंहदरबार' व्यवस्थाको प्रतीक होइन, शासकको बिम्ब हो । नेपालमा सात साअघि सिंहदरबारमा राणा थिए, १३ सम्म राणा काँग्रेस मिलिजुली बसे, १७ सालसम्म काँङ्रेस एक्लै बस्यो । १७ देखि ४६ चैत्रसम्म पञ्चायत एक्लै बस्यो, ४७ देखि  ६३ सम्म राप्रपा, एमाले र काङ्रेसले आलोपालो गरे, ६३ यता त्यो भिडमा माओवादी पनि थपियो र सिंहदरबारमा नै सबै झुम्मिए । त्यसैले सिंहदरबार बिरुद्धको आवाजले लोकतन्त्रको होइन शासक विशेषको मात्र बिरोध गरेको हुन्छ ।

यी लोकतन्त्र, नियम कानून आदि भनेको 'शासक शक्तिशाली' र 'जनता निम्छरो' हुँदासम्म मात्र रहेछ । असह्य भएर जनता जागेपछी विकृत लोकतन्त्र फ्याँकेर नयाँ लोकतन्त्र फेरि शुरू हुने रहेछ । श्रीलंकाको त्यो आन्दोलन त नेताले भनेजस्तो लोकतन्त्र बिरोधि होइन रहेछ, बरू अझ सफा र जनउत्तरदायी लोकतान्त्रिक व्यवस्था ल्याउनकालागि रहेछ । 

अहिले हाम्रा रजनीतिज्ञहरूलाई हामीले एकले अर्काको कपडा खोलाखोल गर्दै बिल्कुल नाङ्गो भैसकेका पाएका छौँ। विलासिताको स्वादले यिनीहरू वैचारिक र व्यवहारिकरूपमा धेरै दुब्लो भैसकेको पाएका छौँ । नेतृत्वको विचार एवम् दर्शनशुन्य व्यवहार, भोट केन्दृत भ्रष्ट राजनीति, त्यसले सिर्जना गरेको बेरोजगारी एवम् महङ्गी कहाली लाग्दो छ ।

जनताका छोरालाई खाडीमा खेदाएर नेताका छोराले एकलौटी तस्करीको साम्राज्य विस्तार गरेको अवस्थामा युवाहरूलाई सानो झिल्को चाहिएको छ । हुँदा हुँदा गाउँमा समेत नेता चुनिने बित्तिकै उसैले डोजर किन्ने र ठेक्कापट्टा लिने काॠ सामान्य भएको छ । यो अव्यवस्थाले जनता खासगरी युवा वाक्क दिक्क र विरक्त भएका छन् । यस्तो विस्फोटक समयमा बालेन्द्र शाहजस्ता युवाबिच लोकप्रिय र बिद्रोही अनुहारहरूले आगो ओकले भने - आदरणीय नेताज्यूहरू तपाइँको लोकतन्त्रको नाराले थाम्दैन । बालेन्द्र विरुद्ध बोल्ने र लेख्ने विद्वान(?)हरूको अरण्ड्री भक्तिआर्चनाले नेताको कुर्सी बचाउन सक्छ जस्तो लाग्दैन ।

अझै पनि केही समय बाँकी छ, जनभावना बुझौँ, जनमर्ममा पुगौँ, कुर्सी मोह छोडौँ, देश बचाउँ । सुध्रिनु भयो भने नेताज्यूहरू! तपाइँहरू टिक्न सक्नु होला । नत्र, तपाइँहरू हट्यो भने युवापुस्ता आउँछ, देश सम्हाल्छ, देशलाई त फाइदै फाइदा हुन्छ । घाटा त तपाइँहरूलाई नै हुने हो । तपाइँको अमनचैन खोसिन्छ, छोराछोरी र श्रीमतिको सत्ता उम्किन्छ, तपाइँका सन्तानलाई खडा गरिदिनु भएको विशाल तस्करीको विरासत खोसिन्छ र हुन सक्छ यी अपराधको हिसाब किताब अनुसार "काँशी जाने उमेरमा जेल जानू पर्ने" हुन सक्छ ।

श्रीलंकाको घटना तपाइँलाई तर्साउने भूत होइन, विश्वभरी भ्रष्ट र अकर्मण्ड्य नेताहरूप्रती युवाहरूले सिकाउन थालेको हकिकतको 'सवक' हो । 

नेपालका युवाहरूलाई श्रीलंकाली भन्दा कमजोर, लुते, आँट नभएका, झोले, मासुको टुक्रामा बिक्री हुने, दलाल ठान्नु भयो भने त्यो गम्भीर भुल हुन सक्छ । 

एउटा जिम्मेवार नेताले सिंहदरवार जलाउँछु भन्नू हुन्छ कि हुँदैन? वा ५ हजार हत्याको जिम्मा लिन्छु भन्नू हुन्छ कि हुँदैन? वा राजा फर्काउँछु भन्नू हुन्छ कि हुँदैन? वा सम्विधान जलाउनु हुन्छ कि हुँदैन? वा तराई स्वायत्त प्रदेश बनाउँछु भन्नू हुन्छ कि हुँदैन ? वा ४ हजार लडाकुलाई ३५ हजार देखाएर २० हजारको भरपोषण खर्च झ्वाम्म पार्नु हुन्छ कि हुँदैन? मतपत्र मात्र होइन सीसीटीभी फुटेजै चपाउनु हुन्छ कि हुँदैन? भुटानी बनाएर नेपाली बेच्न पाइन्छ कि नाईँ? प्रधान्मन्त्री बस्ने ललिता निवासै बेच्न पाईन्छ कि नाईँ? बात लागिसकेपछि लाउडा, वाइड बडी, ओम्नी, सेक्युरिटी प्रेस, गिरीबन्धु टी स्टेट, सुन, रक्त चन्दन आदीको अनुसन्धान हुनु पर्छ कि पर्दैन? तर यस्ता कुन बोली वा काण्डलाई जनताले खुला समर्थन गरे त ?

अहिले बालेन्द्र शाहले बोलेको ठिक हो कि होइन भन्ने प्रश्न महत्वपूर्ण होइन, त्यस्तो अराजक अभिव्यक्तिलाई आम-युवाले खुला समर्थन गर्न बाध्य हुनु पर्ने अवस्था कसले ल्यायो भन्ने हो ।


राधेराधे, भक्तपुर

२०८०/५/२१

Monday, June 12, 2023

मन्दिर, धर्म र कम्युनिष्ट

सामान्यत: सामूहिक आर्थिक प्रणाली (कम्युन) मा आधारित व्यवस्थालाई 'कम्युनिज्म' भनिन्छ । यसमा निजी सम्पत्ती हुँदैन, सामूहिक आम्दानी/सामूहिक खर्च । त्यसैले निजी सम्पत्तिका पक्षधरहरूले आफुलाई कम्युनिष्ट भन्न सुहाउँछ कि सुहाउँदैन ? नैतिकताको प्रश्न हो यो । क्म्युनिज्म आडम्बर हैन, व्यवहार हो ।

सबै कम्युनिष्ट भौतिकवादी/नास्तिक हुँदैनन् । यहुदीले चलाएको धार्मिक राजनितिक अभियान zionism र Aliyah ले किबुत्ज (कम्युन) को माध्यमबाट "इजरायल" देश निर्माण र समृद्ध बनायो । उनीहरू सबै नास्तिक होइनन् । 

सबै नास्तिक कम्युनिष्ट हुँदैनन् । बीपी कोइरला पूर्ण नास्तिक थिए, उनी कम्युनिष्ट भएनन् ।

धर्मले मानिसलाई नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील बनाउन प्रेरित गर्छ । कर्तब्यबाट चुक भएमा नर्क जानू पर्ने भयले गर्दा पनि उसलाई जिम्मेवार र ईमान्दार बन्न दबब परेको हुन्छ । त्यसैगरी मार्क्सवादीहरू पनि नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील हुनै पर्ने अनुशासनको नियम छ । अब एउटा धार्मिक/आस्तिक मान्छे मार्क्सवादी भयो भने अनुशासन र ईमान्दारिताको पुञ्ज हुने भयो । तर, एउटा नास्तिक मार्क्स्वादी अनुशासनहिन र भ्रष्ट भयो भने ऊ कुनै पापधर्मसँग नडराउने ब्वाँसो बन्न पुग्छ ।

माओत्सेतुङ्ले साँस्कृतिक क्रान्तिको नामबाट गरेको धर्ममाथिको प्रहारलाई चिनियाँ कम्युनिष्ट पार्टीले पश्चतापसहित फिर्ता लिएको थियो । द्वन्द्वको बेलामा रजश्वला भएकी युवतिले शिवलिङमाथी चढेर खुनसरी हुन्जेल उफ्रिँदा, मन्दिर र देवल भत्काउँदा, विद्वान र पण्डितलाई दिनदहाडै हत्या गर्दा आस्तिकहरू रोएका थिए । अहिले सम्माननीय प्रधानमन्त्री प्रचण्ड (द्वन्द्वका सुप्रीमो) ले तारन्तार मन्दिर धाएर , भैंसी र देउताको पूजा गरेर पश्चताप गरेर ती दुखी आस्तिकहरूलाई मल्हमपट्टी लाउँदा खिसीटिउरी गर्नु पर्ने कारण देख्दिन । 

धर्म पनि कुनै समयको सामाजिक/राजनितिक व्यवस्था हो जसले अहिले पनि आम-जनमानसमा राम्रै प्रभाव पार्छ । विशिष्ट क्षमताका नेता आफ्नो दर्शन, दृष्टिकोण र मान्यता स्थापित गर्न राजनितिक जोखिम मोल्न तयार हुन्छन्, तर जनमत हेरेर बोली फेर्दैनन् । औषत नेतालाई जनमत चाहिन्छ; उनिहरू अवसर अनुकुल दर्शन, सिद्धान्त र आदर्शको व्याख्या गर्छन् ।

मन्दिर, गुम्बा, मस्जिद र चर्च जानु र टिकामाला लाउनु मात्रै धर्म होइन, सार्वजनिक व्यक्तित्वको लागि त यो सामान्य सिष्टाचार हो। 

अर्काको आस्थाको सम्मान गर्नु पवित्र सामाजिक संस्कार हो भने अपमान गर्नु सामाजिक अपराध हो । कसैले कसैको आस्थालाई उछितो काडेको छ भने अहिले मन्दिर धाएर त्यो पाप धुईँदैन । त्यसैगरी आफू भने निष्ठापूर्वक नियमित पुजापाठ गर्ने कम्युनिष्ट व्यक्तिले अर्को चैँ घोर नास्तिक हुनु पर्ने आग्रह राख्नु भनेको पनि कुण्ठा मात्र हो । आस्तिक र नास्तिकले एक अर्काको भावनालाई सम्मान गर्नु सामाजिक सहिष्णुता हो । 'हिन्दु सभ्यता' मा चार्वाक जस्ता नास्तिक, वशिष्ठ जस्ता विद्वान र मनु जस्ता विभेदकारी विचारलाई सँगै राखेर पुजा गर्ने व्यवस्था छ । यहाँ कोही भिलेन हुँदैन ।

सामाजिक सञ्जालमा आफुले पोष्ट गरेका कुराले अरुको होइन ऊ स्वयंको मूल्यांकन गर्छ । आफ्नो औकात  छताछुल्ल हुनेगरी सामाजिक सञ्जालको प्रयोग गर्न हुँदैन जस्तो लाग्छ मलाई । स्वस्थ तर्कसहित गरिने मर्यादित बहसलाई स्वागत गर्ने आँट चाहिन्छ, त्यो आफ्नै आलोचना किन नहोस्  ।

राधेराधे, भक्तपुर

२०८०/२/२९

Thursday, March 16, 2023

साथी


छ सुख - चुन्नेकाे ताँति हुन्छ, दुःखमा थेग्ने त साथी हुन्छ,

एकछिन छेउमा उभिदिए - पिडा र दुःख सब् जाति हुन्छ ।


संसार नजाति र घाती हुन्छ,  दिउँसै  जीवन घाेर् राती हुन्छ,

ज्वाला बाेकी कालो तिमिरमा, दगुर्दै आउने त साथी हुन्छ ।


उसकाे चाेट नि न्यारो हुन्छ, उसकाे खाेट नि प्याराे हुन्छ,

देख्नेले जुझेकाे देख्छन् हाेला, ऊ बिना जुनी अँध्याराे हुन्छ ।


उसकाे माया न आधि हुन्छ, नाप्ने न माना न पाथी हुन्छ,

सगरमाथा हाे धुरी भने - साथी त त्याेभन्दा माथी हुन्छ ।

३ मार्च, २०२३

राधेराधे, भक्तपुर ।