Wednesday, September 6, 2023

लुते सिंहहरूको दरबारमा आगो ।

काठमाडौँका मेयर बालेन्द्र शाहले दिनुभएको "सिंहदरबार जलाउने" किसिमको अभिव्यक्तिलाई कानुनत: समर्थन गर्न मिल्दैन । 

श्रीलंकामा सन् २०२२ को मार्चदेखि नोभेम्बरसम्म चलेको स्वस्फुर्त युवा आन्दोलन त कानूनको भाढामा झन् आतंक, अराजक र गैरकानुनी नै थियो । त्यो आन्दोलनको नेतृत्वमा कुनै चिनिएका र उमेर पुगेका मानिस थिएनन् , बरू बालेन्द्रजी जस्ता युवाहरु थिए । उनीहरूको पार्टी थिएन, चुनाव चिन्ह र दर्शनशास्त्रीय नारा पनि थिएन । तर पनि लाखौँको सङ्ख्यामा देशभरबाट एउटै आह्वानमा एकैपटक भेला भएका थिए । इन्टरनेट र सामाजिक सञ्जाल उनीहरूको संगठन थियो । "रालेसिङ्गाने, भ्रष्ट, परिवारवादी, कुर्सीकालागी अदलिबदली गरिरहने, जहिल्यै झुट्टा कुरा गर्ने र ललिपप बाँड्ने कुशासकलाई देशैबाट लखेट्ने" एउटै लक्ष थियो त्यो आन्दोलनको । युवाको स्व:स्फुर्त आन्दोलन चर्केपछि कुन सत्तापक्ष, कुन बिपक्ष - सबै एकजुट भएर यो युवाहरूको 'अराजकता लोकतन्त्रको लागि खतरा' भएको भन्दै अभिव्यक्ती दिन थाले । पुराना पार्टी र नेताको स्वर एउटै भयो । देशमा एकातिर पुराना राजनीतिवालाहरू र अर्को तिर युवाहरू बाँडिएको स्पष्ट देखियो । त्यो आन्दोलनका पक्षमा देशभरका युवा देखिए भने राजनीतिको रस वा चोक्टा वा गन्धसम्म भेटेकाहरू लोकतन्त्र र अराजकताका कुरागरेर आन्दोलन तुहाउन लागिरहे । स्वार्थमा चोट परेपछि भ्रस्टहरू कसरी एक ठाउँमा उभिन्छ्न् भन्ने त्यहाँ देखियो । लंका बल्यो । अन्तत:  श्रीलंकाको तत्कालिन 'राजापक्षे मन्त्री परिषद' देशै छोडेर भाग्नु पर्‍यो, सत्ता परिवर्तन भयो । 

करीब ८०% श्रीलंकालीहरू 'सिंहाली' समुदायका हुन्  । त्यसैले उनीहरूको राष्ट्रिय झण्डामा नै सिंह हुन्छ । ती सिंहालीहरूको सिंहदरबारबाट त नेताहरू धपाए त युवाले । 

द्वापरयुगमा अत्यचारी रावण सिध्याउन भगवान रामले लंकाको दरबारमा आगो लगाएको पुराण छ । ईतिहासले रामको त्यो कदमलाई कहिल्यै गलत भनेन । कलियुगमा युवाले लंकाको अत्यचारीहरूको सिंहदरबारमा आगो लागाए । त्यहाँ बालेन्द्र थिएनन् । अति भएपछी चाहे राम वा श्रीलंकाली युवा वा बालेन्द्र जोसुकै पनि रावण प्रवृतिकालागि चुनौती नै बन्नु पर्ने रहेछ । पञ्चायत कालमा त्यो व्यवस्था बिरुद्ध बोल्ने जोकोहीलाई अराष्ट्रिय तत्व भनिन्थ्यो । ४६ सालमा तिनै अराष्ट्रिय तत्वले सत्ता कब्जा गरे । अनि त पञ्चायती व्यवस्था पो प्रतिगामी, जहानीय र तानाशाही भयो । जित्ने सँधै ठिक हुँदारहेछन् । लंका जलाउने युवा पनि राजापाक्षे सरकार खेदाएपछी ठिक भए ।

'सिंहदरबार' व्यवस्थाको प्रतीक होइन, शासकको बिम्ब हो । नेपालमा सात साअघि सिंहदरबारमा राणा थिए, १३ सम्म राणा काँग्रेस मिलिजुली बसे, १७ सालसम्म काँङ्रेस एक्लै बस्यो । १७ देखि ४६ चैत्रसम्म पञ्चायत एक्लै बस्यो, ४७ देखि  ६३ सम्म राप्रपा, एमाले र काङ्रेसले आलोपालो गरे, ६३ यता त्यो भिडमा माओवादी पनि थपियो र सिंहदरबारमा नै सबै झुम्मिए । त्यसैले सिंहदरबार बिरुद्धको आवाजले लोकतन्त्रको होइन शासक विशेषको मात्र बिरोध गरेको हुन्छ ।

यी लोकतन्त्र, नियम कानून आदि भनेको 'शासक शक्तिशाली' र 'जनता निम्छरो' हुँदासम्म मात्र रहेछ । असह्य भएर जनता जागेपछी विकृत लोकतन्त्र फ्याँकेर नयाँ लोकतन्त्र फेरि शुरू हुने रहेछ । श्रीलंकाको त्यो आन्दोलन त नेताले भनेजस्तो लोकतन्त्र बिरोधि होइन रहेछ, बरू अझ सफा र जनउत्तरदायी लोकतान्त्रिक व्यवस्था ल्याउनकालागि रहेछ । 

अहिले हाम्रा रजनीतिज्ञहरूलाई हामीले एकले अर्काको कपडा खोलाखोल गर्दै बिल्कुल नाङ्गो भैसकेका पाएका छौँ। विलासिताको स्वादले यिनीहरू वैचारिक र व्यवहारिकरूपमा धेरै दुब्लो भैसकेको पाएका छौँ । नेतृत्वको विचार एवम् दर्शनशुन्य व्यवहार, भोट केन्दृत भ्रष्ट राजनीति, त्यसले सिर्जना गरेको बेरोजगारी एवम् महङ्गी कहाली लाग्दो छ ।

जनताका छोरालाई खाडीमा खेदाएर नेताका छोराले एकलौटी तस्करीको साम्राज्य विस्तार गरेको अवस्थामा युवाहरूलाई सानो झिल्को चाहिएको छ । हुँदा हुँदा गाउँमा समेत नेता चुनिने बित्तिकै उसैले डोजर किन्ने र ठेक्कापट्टा लिने काॠ सामान्य भएको छ । यो अव्यवस्थाले जनता खासगरी युवा वाक्क दिक्क र विरक्त भएका छन् । यस्तो विस्फोटक समयमा बालेन्द्र शाहजस्ता युवाबिच लोकप्रिय र बिद्रोही अनुहारहरूले आगो ओकले भने - आदरणीय नेताज्यूहरू तपाइँको लोकतन्त्रको नाराले थाम्दैन । बालेन्द्र विरुद्ध बोल्ने र लेख्ने विद्वान(?)हरूको अरण्ड्री भक्तिआर्चनाले नेताको कुर्सी बचाउन सक्छ जस्तो लाग्दैन ।

अझै पनि केही समय बाँकी छ, जनभावना बुझौँ, जनमर्ममा पुगौँ, कुर्सी मोह छोडौँ, देश बचाउँ । सुध्रिनु भयो भने नेताज्यूहरू! तपाइँहरू टिक्न सक्नु होला । नत्र, तपाइँहरू हट्यो भने युवापुस्ता आउँछ, देश सम्हाल्छ, देशलाई त फाइदै फाइदा हुन्छ । घाटा त तपाइँहरूलाई नै हुने हो । तपाइँको अमनचैन खोसिन्छ, छोराछोरी र श्रीमतिको सत्ता उम्किन्छ, तपाइँका सन्तानलाई खडा गरिदिनु भएको विशाल तस्करीको विरासत खोसिन्छ र हुन सक्छ यी अपराधको हिसाब किताब अनुसार "काँशी जाने उमेरमा जेल जानू पर्ने" हुन सक्छ ।

श्रीलंकाको घटना तपाइँलाई तर्साउने भूत होइन, विश्वभरी भ्रष्ट र अकर्मण्ड्य नेताहरूप्रती युवाहरूले सिकाउन थालेको हकिकतको 'सवक' हो । 

नेपालका युवाहरूलाई श्रीलंकाली भन्दा कमजोर, लुते, आँट नभएका, झोले, मासुको टुक्रामा बिक्री हुने, दलाल ठान्नु भयो भने त्यो गम्भीर भुल हुन सक्छ । 

एउटा जिम्मेवार नेताले सिंहदरवार जलाउँछु भन्नू हुन्छ कि हुँदैन? वा ५ हजार हत्याको जिम्मा लिन्छु भन्नू हुन्छ कि हुँदैन? वा राजा फर्काउँछु भन्नू हुन्छ कि हुँदैन? वा सम्विधान जलाउनु हुन्छ कि हुँदैन? वा तराई स्वायत्त प्रदेश बनाउँछु भन्नू हुन्छ कि हुँदैन ? वा ४ हजार लडाकुलाई ३५ हजार देखाएर २० हजारको भरपोषण खर्च झ्वाम्म पार्नु हुन्छ कि हुँदैन? मतपत्र मात्र होइन सीसीटीभी फुटेजै चपाउनु हुन्छ कि हुँदैन? भुटानी बनाएर नेपाली बेच्न पाइन्छ कि नाईँ? प्रधान्मन्त्री बस्ने ललिता निवासै बेच्न पाईन्छ कि नाईँ? बात लागिसकेपछि लाउडा, वाइड बडी, ओम्नी, सेक्युरिटी प्रेस, गिरीबन्धु टी स्टेट, सुन, रक्त चन्दन आदीको अनुसन्धान हुनु पर्छ कि पर्दैन? तर यस्ता कुन बोली वा काण्डलाई जनताले खुला समर्थन गरे त ?

अहिले बालेन्द्र शाहले बोलेको ठिक हो कि होइन भन्ने प्रश्न महत्वपूर्ण होइन, त्यस्तो अराजक अभिव्यक्तिलाई आम-युवाले खुला समर्थन गर्न बाध्य हुनु पर्ने अवस्था कसले ल्यायो भन्ने हो ।


राधेराधे, भक्तपुर

२०८०/५/२१

No comments:

Post a Comment