महाभारत कथा अनुसार कर्णको पराक्रम, युद्धकला र युद्धविद्या बराबरी गर्न सक्ने अर्जुन बाहेक कोही थिएन । भिष्मपितामह, गुरु द्रोणाचार्य अदिका युद्धगुरु पर्शुरामबाट शिक्षित कर्ण बल, बुद्धि, विद्या र आचरण सबै कुरामा अव्वल मानिन्थे । सूर्य र कुन्तिका पुत्र भएकोले ओजस्वी, रुपवान र जाजल्व थिए । अझ उनका अनन्य मित्र दुर्योधनले अंग भन्ने देशका राजा बनाई दिए पछि कर्णमा धनको पनि अभाव हुने कुरै भएन । मानिसमा शक्ति आउने चार मुख्य स्रोतहरु हुन्छन् – बलबाट, विद्वताबाट, पदबाट र धनबाट । यी सबै कुरा कर्णमा पूर्ण थिए । यसका अतिरिक्त उनी मृदु भाषी थिए, मित्रताका लागि ज्यान अर्पण गर्न पछि पर्दैन थिए । अलि ऐयासी भए पनि कर्तव्यपरायण थिए । महाभारत युद्धमा दुर्योधनको मित्रका नाताले कौरबको तर्फबाट लडेका कर्ण सबै भन्दा शक्तिशाली योद्धा थिए । कर्ण जिवित रहेसम्म पाण्डवहरुले युद्ध जित्न सक्दैनन् भन्ने कुरा भगवान कृष्णलाई थाहा थियो । कर्णलाई हराउन सक्ने योद्धा पाण्डव सेनामा थिएनन् । अर्जुनमात्र एक्ला योद्धा थिए जो बराबरी गर्न सक्थे, जित्ने निश्चित थिएन । फेरि संसारभरका धेरै जसो राजा महाराजाहरुलाई झुक्याएर, फकाएर वा थर्काएर दुर्योधनले सेना सहित आफ्नो फौजमा मिसाएका थिए । आफ्ना साखै भाञ्जा पाण्डवहरुलाई सघाउन सेना सहित आएका माद्र देशका राजा शल्य पनि दुर्योधनको जालमा फसेर उसकै सेनामा आवद्ध भएका थिए । दुर्योधनको पक्षबाट लडे पनि उनलाई पाण्डवहरुले नै जितुन् भन्ने लागि रहन्थ्यो । तर प्रशस्त राजाहरु, धेरै देशका सेनाहरु र त्यो भन्दा पनि महाशक्तिशाली कर्ण रहेकोले कौरबहरुको सेनाको पलडा भारि थियो ।
भगवान कृष्णले कौरबलाई हराउन कर्ण मुख्य काँडा भएको निश्कर्ष निकालको थिए । कृष्णले कर्णको स्वट एनालाईसिस गरे । कर्णमाथि विजय प्राप्त गर्न उनको शक्तिस्रोत र कमजोरीको राम्रो अध्ययन गरे । कर्ण पनि आखिर मानिस नै थिए । मानिसमा हुने केही कमजोरी उनमा पनि थियो । सुतपुत्र भए पनि उनलाई राजाको ठाँटबाँट बढी मन पथ्र्यो, वा भनौं उनी अन्य समकालिन राजा सरह वा सो भन्दा श्रेष्ठ देखिन चहान्थे । माहाभारतमा उनी गरीब दुःखी प्रति दयालु भएको कहीँ प्रष्ट भेटिदैन । तर उनलाई ढोगेर कोही माग्न आयो भने राज्यको ढिकुटीबाट सर्वस्व दिने गर्थे । उनलाई भेटेर चाकरी नगर्ने ईमान्दार र वास्तविक हकदार जनताहरु कर्णको आर्शिवाद पाउनबाट वञ्चित हुन्थे । अघिपछि घुमिरहने चम्चाहरुको सानो झुण्डले रातदिन कर्णको सामुन्ने उनको स्तुतीगान गरेर मक्ख पार्ने गथ्र्यो र त्यसको व्याज समेत असुल हुने गरी अवसर र लाभहरु लिने गर्दथ्यो । रातदिन स्तुतीभाटहरुको संगतले कर्णमा नकारात्मक कुरा, अलोचना र टिप्पणी सुन्ने ग्रन्थी बन्द हुँदै गयो । चौबिसै घण्टा स्तुतीबाज र प्रशंसकको बीचमा विद्वता छाँट्ने, गुणगान सुन्नेगर्न शुरु भयो । बढ्दै गएर आफैंले आफ्नो बीरताको बयान गर्ने बानी उनमा विकास भयो । सुझाव दिने शुभेच्छुकलाई शंका गर्न थाले । नयाँ सोच ल्याउनेहरुलाई प्रतिस्पर्धी झैं झम्टन थाले । आफुले भनेको कुरा आँखा चिम्लेर नपत्याउनेहरुलाई टाढा राख्न थाले । प्रचार प्रसार पाईने कार्यक्रमहरुमा जसरी भए पनि उपस्थित हुने र आफुलाई सम्मान नदिनेहरुको उछित्तो काट्नथाले । म त संसार कै ब्रह्मज्ञानी पो त, मेरो अघि सबै निहुरिएर उभिनु पर्छ भन्ने अभिमान उनमा पलाउन लाग्यो । दुर्योधनको राज्यमा पनि आफ्ना अनुनायीहरुको गुट निर्माण गरेर आफुलाई अलग्गै एवं विशिष्ट देखिने सबै प्रयत्नहरु कर्णले शुरु गरे । “आलोचना वा सल्लाहा सुन्न तयार नहुने मानिसको सबै शक्ति अन्त्य हुने निश्चित छ” भन्ने नीति शास्त्रको ब्रह्म ज्ञान कर्णले पूर्णतः बिर्सिसकेका थिए । अनुसन्धान प्रतिवेदन राम्रो अध्ययन गरेपछि कृष्णले कर्णका यिनै कमजोरीलाई क्यास गर्ने निश्कर्षमा पुगे । कृष्णले कर्णको अनुसन्धान रिपोर्ट पाण्डवलाई बुझाए । युधिष्ठिरले मामा शल्यलाई सुनाए । शल्यले कर्णको शक्ति क्षिण गर्न मद्दत गर्ने आश्वसन युधिष्ठिरलाई दिए ।
युद्धमा कौरब सेनापतिहरु भिष्म र गुरु द्रोणको नोक्सानी पछि दुर्योधनले कर्णलाई सेनापति बनाए । राजालाई पनि सारथी राख्ने महाराजा भएको देखाउन कर्णले शल्यलाई सारथी रोजेका थिए । राजा शल्यलाई अपमानित गरेर आफ्नो अहं तुष्टि गर्ने लालसा समेत उनमा थियो । युद्धमा त योद्धा र सारथीमात्र रथमा हुन्छन् । कर्णका भक्तिगान गर्ने चम्चापाटी कोही थिएनन् । बरु अपमानको बदला लिन र भाञ्जाहरुलाई जिताउन उत्सुक शल्यमात्र कर्णका सहयोगी थिए । उतातिरबाट अर्जुन बाण बसाईरहेको थिए । यता शल्य भने शत्रुपक्षका अर्जुनको शक्ति र बुद्धिको तारिफ गर्दै कर्णको आलोचना गरिरहन्थे । कर्णका हरेक प्रहार र दाउ पेचमा खोट देखाउँथे । जे गर्दा कर्णको मनोबल गिथ्र्यो ती सबै तिकडम् गर्न शल्यले बाँकी राखेनन् । जति कर्ण रिशले आगो हुन्थे, शल्य झन् कर्णको बद्ख्वाईँ गर्न थाल्थे । कर्णलाई चम्चाहरुले प्रशस्तीमात्र सुन्ने बानी लगाएकोले आलोचना केही सुन्यो कि उनको शक्ति क्षण हुँदै जान्थ्यो, बुद्धि शुन्य हुँदै जान्थ्यो । आखिर आलोचनाले थलिएर कर्ण यति कमजोर भए कि बालुवामा धसिएको रथको पाङ्ग्रा पनि उठाउन सकेनन्, अलि पर खसेको धनुष र बाण पनि उठाउन सकेनन्, र ब्रह्मअस्त्र प्रयोग गर्ने विद्या पनि बिर्से । अर्जुनले त्यसै समयमा बाण हानेर कर्णलाई मारे ।
महाभारतको यो प्रसंगले सफलताको लागि २ महत्वपूर्ण शुत्रहरु दिएको छ ।
- आफैं महान हुन खोज्ने मनोरोगबाट छुट्कारा पाउने हो भने गुट बनाउने र मतैक्य नहुनेहरुको उछितो काट्ने दुबै कार्य नगर । त्यसो गरेमा आफुलाई हर्दम तयार राख्न सक्दैनौ, तर निरन्तर तिम्रो शक्तिमात्र क्षय हुन्छ ।
- शत्रुले त हमला गर्ने निश्चित छ, तिमी जोगिन सक्छौ । मित्र जस्तो देखिएर टिममा बसेर कमजोर पार्ने शल्य र अन्धो बनाउने चम्चाबाट जोगिन धेरै कठिन छ, किन भने तिनीहरुको नियत बुझि सक्दा तिम्रो विनाश भई सकेको हुन्छ ।
२९ माघ, २०७३
काठमाडौं ।
Saturday, February 11, 2017
कर्णको पराजय – सफलताको पाठ
Labels:
gutbandi,
jhalendra bhattarai,
karna,
key,
mahabharat,
nepali,
pauranik,
shalya,
story,
success,
team
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment