Sunday, June 14, 2015

साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रमका विविध पक्षहरुको बहसमा भागलिने सबै साथीहरु र भाईबहिनीहरुलाई धेरैधेरै धन्यवाद ।


बहसले विचार, अनुभव र कहिले काहीँ भावनाहरु समेतलाई संगठित गरी उक्तम विकल्पको छनौट एवं ज्ञानको परिपक्व प्रयोगलाई टेवा पुर्याउँछ  । सहभागितात्मक निर्णय प्रकृयाद्वारा  निर्माण भएको निश्कर्षले सबैको सबै प्रकारका आग्रहहरुलाई समेट्दैन तर धेरैलाई समेट्ने प्रयास गरेको हुन्छ । बहसका पात्रहरु र तह फरक फरक हुन सक्छन् तर साना किसान अभियानमा हामी सँधै नयाँ नितीको तर्जुमा होस् कि पुराना क्रियाकलापहरुको समीक्षा होस् व्यापक बहस र छलफलबाट नै टुंगोमा पुग्ने गरेकाछौं । तसर्थ हाम्रा प्रत्येक नीति र कार्यक्रमहरु तह तहमा धेरै बहस र छलफल पछि निर्माण भएका हुन्छन्, प्रत्येक नीति नियम र कार्यक्रमहरुको पछि स्पष्ट कारण र आधारहरु हुन्छन् ।
बहसलाई स्वस्थ बनाऔं, व्यक्तिगत तहमा र व्यक्तिगतरुपमा नलिऔं, शिष्ट भाषाको प्रयोग गरौं, बौद्धिक दरिद्रता प्रदर्शन नगरौं, अरुको सुन्ने बानी गरौं, अरुको बिचारको पनि आदर गरौं, बहुजन हितायको निर्णय गरौं, तथ्यपरक अध्ययन र खोजलाई जीवनको अंग बनाऔं । बहस झगडा होईन यो त मस्तिष्क मन्थनबाट अजम्बरी ओखती प्राप्त गर्ने एक उक्तम विधि हो ।
साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रमका विविध पक्षहरुको बहसमा भागलिने सबै साथीहरु र भाईबहिनीहरुलाई धेरैधेरै धन्यवाद । 

Saturday, June 13, 2015

इजरायलमा कृषि प्रशिक्षार्थीका रुपमा रहेका पृय प्रशिक्षार्थी भाई बहिनीहरु !


 
इजरायलको प्रशंग शुरु हुनु भन्दा अघि तपाईँहरुसँग हाम्रो कुनै चिनजान थिएन । तपाईँहरु हाम्रो नातागोता र आफन्त पनि होईन । तर तपाईँहरुले यो तालिममा भागलिने अवसर पाउनु भयो । किन थाहा छ ? किनभने हामी नेपाल भरका साना किसान परिवारलाई आफ्नो परिवार र नाताकुटुम्ब मान्छौं । तपाईँहरु सबैसँग हाम्रो उत्तिकै प्यार र विश्वास छ । हाम्रा पनि रगतका नाताकुटुम्ब थिए होला, छनौटमा नपरेकोले हामीसँग रिसाए होलान् । तर, साना किसानको नातालाई हामी सदैव पवित्र र उच्च मान्छौं । हाम्रा रगतका नाताका मानिस र आम साना किसान परिवारमा कुनै फरक देख्दैनौ र त्यस्तो व्यवहार पनि गर्दैनौं । यही मूल्यका कारण आज तपाईँ इजरायलमा हुनुहुन्छ । 

तपाईँ र हामीलाई यस कार्यक्रममा जोड्ने स्थानीय साना किसान सहकारी संस्था हो । संस्थाले तपाईँलाई पठाउने निर्णय गर्यो र तपाईँ यो तालिममा छानिनु भयो । तपाईँलाई पठाउने संस्थाको निर्णय ठिक कि बेठिक ? यदि त्यो निर्णय ठिक हो भने संस्थाले ठिक निर्णय गर्छ भन्ने कुरामा तपाईँले विश्वास गर्नु पर्छ कि पर्दैन ? 

संस्थाको लागि तपाईँका गाउँका सबै साना किसान परिवार समान हुन् । तपाईँले अवसर पाउनु भयो अब अरु कसैलाई वा तपाईँ कै परिवारलाई कसलाई यो बर्षको तालिममा पठाउने भनेर संस्थाले सोच्न पाउने कि नपाउने । तपाईँले यो बर्षको लागि एकजना कसलाई सिफारिस गर्दा राम्रो होला भनेर संस्थालाइ सोध्नु भयो ? नातागोता मात्र समातेर बस्ने हो भने साना किसानको यो एकता एवं भाईचारा आज कहाँ पुगिसक्थ्यो होला ! म त छक्क परेको छु - हामीले नेपाल निर्माण गर्ने अभियानका लागि असल र योग्य भनेर छानेका साना किसान युवाहरुको नातावाद प्रतिको मोह देख्दा । के तपाईँको नाताको मान्छे छनौट भएन भने त्यो ठाउँमा साना किसान बाहिरको मान्छे छनौट हुन्छ भन्ने लागेको छ ? यदि साना किसान नै छनौट हुन्छ भने जो छनौट भए पनि तपाईँ त खुसी हुनुपर्ने होईन ? 

साना किसान विकास अभियान र साना किसान एकतालाइ प्रभावकारी र व्यापक बनाउन तपाईँको भूमिका छैन ?
ठूलो हृदय बनाउनुहोस् । संस्थासँग सल्लाह गर्नु होस् । पोहोर मलाई सिफारिस गरिदिनु भयो तपाईँहरुलाइ धन्यबाद । अब यो साल म कसलाई सिफारिस गरुँ भनेर सल्लाह गर्नु होस् । यसबाट गाउँमा तपाईँ माथिको विश्वास बढ्नेछ । 

अर्कालाई स्वार्थी, लोभी, पापी, पदलोलुप, नातावाद कृपावाद भनेर हामीले धेरै गाली गरिसक्यौं । आफुले उचित निर्णय लिने पालो आउँदा पारिवारिक झिनो स्वार्थको घेराबाट माथि उठ्न हामी सक्दैनौं भने ती स्वार्थी, लोभी, पापी, पदलोलुप, नातावाद कृपावादका पुजारी भन्दा के फरक भयौं ? एक पटक आफैंसंग सोध्नुहोस  आफ्नो निर्णयमा पुनरबिचार गर्न आवश्यक ठान्नु भयो भने अझै समय छ, उचित कदम चाल्नुहोस् ।

Thursday, June 11, 2015

लेखेको रैछ मलाई।


ऊ काँध चढेर आयो, काँ काँ चोचो मिलायो,
चाका चुसेर रसहिन् खोस्टा मलाई दिलायो। 
खै कोनि के के पिलायो,  खै कोनि के के खिलायो -
कन्टेनर सरिको जीवन लेखेको रैछ मलाई। 

परिवार आफ्नो भरमा, भोको पेट्,  ठुलो सहरमा -
मेहनत चारै प्रहरमा, कहिलेइ नमर्ने  रहरमा-
ससानो आशाको भरमा, पाइलै पिच्छेको डरमा-
यो किस्ताबन्दीमा मर्न लेखेको रैछ मलाई। 

ठड्याउ महल गगनमा, दिवार - मिचेर बाटो,
लौ खाउ मेरो आयु, बाँचिदेउ सबैको साटो,
यै धर्तीमा उदाएँ , बुझाएँ तिम्लाई यो माटो -
आखिर दानी बन्न लेखेको रैछ मलाई। 

२८ जेठ, २०७२ 
काठमाडौँ। 



Monday, June 8, 2015

क्षतिपुर्ति र तितो सत्य !




मुलुकको वित्तीय स्रोतको अन्दाजै नगरी क्षणिक लोकप्रियताकोलागि क्षतिपूर्ति घोषणा गर्नु हानिकारक हुनसक्छ । क्षतिपूर्तिका लागि गफ होईन, ठूलो रकम चाहिन्छ । यो रकम कि त वैदेशिक सहयोगबाट आउनु पर्छ कि भने आन्तरिकरुपमा (आम नेपालीबाट प्रत्यक्ष वा अप्रत्यक्ष कर लगाएर वा आन्तरिक ऋण उठाएर) संकलन गर्नु पर्छ । वैदेशिक सहयोग अहिले सम्म त आएन, अब पनि सम्भावना खै के छ ! आन्तरिक रुपमा संकलन गर्नु भनेको धेरै बर्षसम्म तपाईँ हाम्रै खल्ति टक्टक्याउनु हो । त्यसकालागि आम नेपाली तयार हुनुपर्छ ।
सामान्यतयाः कसूरदारले पिडितलाई प्रदान गरेको क्षतिको भरपाईलाई क्षतिपूर्ति भनिन्छ । महाभूकम्पमा मूल्यको हिसाबले धनीको धेरै क्षति भएको होला गरिबको थोरै । क्षतिपूीर्त शब्दले कताकता बिगोको मूल्यांकन गर्न बाध्य बनाउँछ । अनि यही शब्द चयन गर्ने हो भने यो महाविपतमा पनि गरीब र धनीको अलग अलग मूल्य स्थापित भईरहोस् भन्ने चहानु हुन्छ कि समानरुपमा न्यूनतम मानवीय शुरक्षाको अपेक्षा गर्नु हुन्छ ?
त्यसैले मेरो बिचारमा क्षतिपूर्ति होईन सहयोगको कुरा गरौं र सहयोगको लागि प्रस्ताव गर्नेले वित्तीय स्रोतको ठोस् उपाय पनि सुझाव गरौं, भोलि फेरी आफैं पछुताउनु नपरोस् । मेरो बिचारमा अहिले सहयोग चाहिएको हो क्षतिपूर्ति होईन । यसको स्वरुप भने मानवीय शु्रक्षा कायम राख्दै पिडितहरुको आत्मविश्वास र उत्पादकत्व धेरैगुणा बढाउन सक्ने प्रवृत्तिको हुनुपर्छ । पिडितको आर्तनाद सुनौं, उनीहरु मगन्ते होईन चाँडै आत्मनिर्भर बन्न उत्साहित छन् ।

२५ जेष्ठ, २०७२ 
काठमाडौँ