भर्खरै सामाजिक सद्भाव बिथोल्न खोजिएको नेपालगञ्जबाट करीब ८५ किलोमिटर उत्तर पर्ने सुर्खेतको वीरेन्द्रनगर चोकबाट करिब ३ किलोमिटर दक्षिण दिशा गएपछी लाटिकोइली पुगिन्छ । त्यहीँ पर्छ, 'काँक्रे बिहार' ।
करिब १८० हेक्टरमा फैलिएको सालको जङ्गलको बिचमा यत्रतत्र छरिएका पुराना ईंटा, काठ एवम् ढुङ्गाका कलात्मक बुट्टाहरू तथा आकर्षक मूर्तिहरूलाई पहिलो पटक गुरु योगी नरहरीनाथले वि. सं. २००७ सालमा 'काँक्रे बिहार' हो भनी पहिचान गरेका थिए ।
वि.सं. २०३० सालमा राजा वीरेन्द्रको पहिलो पटक
सुर्खेत भ्रमण भयो । उनले त्यस समय काँक्रे बिहारको महत्व थाहा पाए र उक्त क्षेत्रलाई तारबेरा गरी शुरक्षित गर्न लगाए ।
सोही क्षेत्रलाई वि. सं. २०५९ सालमा पुरातत्व विभागले संरक्षणमा लिई उत्खनन शुरू गर्यो । झण्डै १९ वर्षको निरन्तर उत्खनन्, अन्वेषण र पुनर्योजन पश्चात काँक्रे बिहार पुन: पुरानो आकृतीमा खडा भयो।
ज्यासन हव्कसको सन् २०१५ मा प्रकाशित Kingship, Buddhism and the forging of a region नामक शोध-पत्र अनुसार तिब्बतको 'स्पोन कान' गुम्बामा रहेको एक मूल ग्रन्थलाई काँक्रे बिहारको मुलप्रतिबाट सारिएको उल्लेख छ। यसबाट यो बिहारको आयु र महत्व अनुमान गर्न सजिलो भएको छ ।
पुरातत्व विभागको अन्वेषण, प्राप्त आलेख, कला र कालको विश्लेषण एवम् निर्माण शैलीका आधारमा यो बिहारलाई ११ औं र १२औं शताब्दीको बिचमा तत्कालिन खस राजा अशोक चल्ला वा क्राल चल्ला मध्ये एकले निर्माण गर्न लगाएको मान्ने गरिन्छ । यिनै चल्लाहरुलाई पछि 'मल्ल 'भन्न थालियो ।
एकातिर वि.सं. १९५० मा आएको महाभुकम्पले उक्त बिहार धुलिसात् भयो भन्ने भनाई छ भने १४ औँ शताब्दीमा भारतबाट आएका मुसलमानले मन्दिर भत्काएको तर्क समेत गरिन्छ । कसैले त शंकराचार्यका चेलाहरूले भत्काएको सम्म भनेका छन् । स्थानीय थारूहरूको मान्यतामा भने महाभारतको कथासँग यो भग्नावशेष जोडिएको छ । कौरवले पाण्डवलाई लाहाको घरमा डढाउन खोज्दा पाण्डवहरू यही बिहारबाट सकुशल भागेको मान्यता राख्छन् ।
ईतिहास अनुसार खस राजाहरू हिउँदमा डुल्लु र वर्षामा सिंजामा आफ्नो राजधानी सार्ने गर्दथे । मल्लहरू यो खस राज्यले उत्तरमा तिब्बत र दक्षिणमा मगधहरूसँग राम्रो सम्बन्ध राखेको थियो । त्यसैले तिब्बती र भारतीयसँग समन्वय राख्दै काँक्रे बिहारमा मुलत: भगवान बुद्धको आराधाना केन्द्र भएता पनि हिन्दुहरूका देवीदेवता शिव, पार्वती, सरस्वती, गणेश, तारा आदिका मूर्ति पनि उत्तिनै महत्वकासाथ राखिएको पाईन्छ ।
दक्षिण भारतको तत्कालिन मन्दिरको स्वरूपलाई मिसाएर शिखर शैलीमा यो बिहार निर्माण भएको छ । ६ मिटर अग्लो यस मन्दिरमा गजुर, गर्भगृह र गुम्बजहरू समेत छन् ।
कसैले यो क्षेत्रको भौगोलिक बनौट काँक्रोको आकारमा
भएकोले काँक्रे बिहार भनियो भन्छन् त कसैले पत्थर कंकडबाट बिहार बनेकोले 'कंकडे बिहार' भन्दा भन्दै अपभ्रंश भएर काँक्रे बिहार भएको तर्क गर्छन् । जे होस्, मन्दिरको शैलीमा भगवान बुद्ध र हिन्दुका देवी देवता समेत राखेर बनाइएको यो बिहार त्यस समयको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको अनुपम नमुना मान्न सकिन्छ।
सुर्खेत आउनु भएको छ भने काँक्रे बिहार जानुस्, फर्कदा मुखैमा दाह्री भाईको चिया पसल छिर्नुस्, एक कप मटका चिया खानुस् । दिपेन्द्र कार्की भाईको बाट गँड्यौले मल लिन नबिर्सनुहोस् । र, धार्मिक सहिष्णुता हाम्रो पुर्खौली स्वभाव भएको बुझ्नुस् । यो बिहारमा एकछिन घोत्लिए पछि "धार्मिक/ साम्प्रदायिक युद्धले विनाशमात्र निम्त्याउँछ, प्रेम र सद्भावले मात्र साँचो अर्थमा धर्म मिल्छ" भन्ने शाश्वत तत्व ज्ञान प्राप्त हुनेछ ।
होटेल शुभ
वीरेन्द्रनगर, सुर्खेत
२०८०/०६/१९