म सानो छँदा आजको दिनलाई कुशे औंशी भन्थे । आमाले कुश काटेर ल्याइदिनु हुन्थ्यो । बिहानै नुहाइधुवाई सकेर खाली पेटमा हामी मिलाएर साना साना मुष्ठी बनाएर बटार्थ्यौँ । मैले चिने जानेकाहरूकोमा बिहानै कुश सिउरिन जान्थेँ । फलफुल र चामलसँग धेरै जसोले ५० पैसा दिनु हुन्थो भने कसै कसैले १ रुपैया दिनुहुन्थ्यो । कति घरमा त मलाई टीका दक्षिणा गरेर फलफुल खुवाएरमात्र खाना खानु हुन्थ्यो ।
म २०/२५ घर जतिमा कुश सिउरी दिन्थेँ होला । धेरै जसो बाहुन क्षेत्री थिए भने केही जनजाती र दलित पनि थिए । जनै पूर्णीमामा जनै र डोरो लिएर अनि नाग पञ्चमीमा तिनै घरमा नाग टाँसेर मैले "बाहुन" को छवि बनाएँको थिएँ । सबैले माया गरेको जस्तो लाग्थ्यो । मद्दत गर्नु हुन्थ्यो । सबैभन्दा बढी पैसा सोह्र नम्बरे तामाङ्ग दाजुले दिनु हुन्थ्यो । यसरी गाउँ डुलेको दिन चाँडै निन्द्रा लाग्थ्यो । सायद गलेर होला ।
नाग पञ्चमीमा फुलिस्केप पेपर किनेर म आफैँ नाग बनाउँथेँ । म ठिकैको पेन्टिङ पनि गर्थेँ । कति पटक त मैले नाग बनाएर अरूलाई बेचेको पनि छु ।
यस्ता एउटा पर्वमा ७/८ रुपैयाँ आम्दानी हुन्थ्यो । पछि त बढेर २५/३० रुपैयाँ पुग्यो । महङ्गी पनि सँगै बड्थ्यो । यो रकमले मलाई वर्षभर कापी, पेन्सिल किन्न र विद्यालयको मासिक शुल्क बुझाउन पुग्थ्यो । कहिले काहीँ दिदीको शुल्क पनि यही कमाईले तिर्नु पर्थ्यो । सरकारी विद्यालय भएपनि मासिक ५० पैसादेखि पछि त ५ रुपैयाँसम्म शुल्क लाग्न थाल्यो । कक्षा ८ पछि म ट्युशन पढाउन थालेँ र नाग कुश छुट्यो ।
कमाएको पैसा आमाले राखिदिनुहुन्थ्यो । आमा पढेलेखेको हुनुहुन्थेन । तर कहिले कति रकम राख्न दिएँ, कति फिर्ता लगेँ कण्ठै हुन्थ्यो ।
बुवा विद्वान पण्डित हुनुहुन्थ्यो । बुवाले नाग कुश गरेको मैले कहिल्यै देखिन । तर मलाई "कुश सिउरिन न जा" भनेर पनि कहिल्यै भन्नु भएन । बरू 'अर्काले दिएको पैसालाई विद्या र ज्ञानमा बाहेक खर्च गर्यो भने पाप लाग्छ' भन्नू हुन्थ्यो । २ कक्षामा पढ्दा म सायद ६ वर्षको थिएँ । बुवाले भनेको सम्झन्छु "तैँले कुश नाग गरेर अर्काको घरबाट कमाएको पैसाले पढेको छस् । धेरै घरको शक्ति र बुद्धि आएको छ । अब सँधै पढाइमा प्रथम हुन्छस् ।" त्यसपछि प्राय: बुवाको त्यो आशिर्वादले काम गर्यो ।
आज भन्दा २१ वर्ष अघि म काठमाडौं छिरेँ । यहाँ आएपछिमात्र थाहा भयो कुशे औँशीलाई "बाबुको मुख हेर्ने" औँशी भन्दा रहेछन् । मलाई मेरो विद्वान बुबाले कहिल्यै यो कुरा बताउनु भएन र मुख हेर्न लाउनु पनि भएन । अहिले थाहा पाएँ, बुबा बितेको ३१ वर्ष भयो ।
हामी उ बेलामा जनैपूर्णीमामा ज्वाइँचेला वा बाहुनबाट जनै र डोरो लाउँथ्यौँ । अहिले दिदी बहिनीले राखी बाँध्छन् । गुन्यू चोलोको रश्म त सुनेकै थिएन । तीजको रात ढकनेको दर खाएर भोलि निराहार बस्थे, अहिले एक महिने रक्सी पार्टी हुन्छ । जन्म दिनमा बिहानै दियो बालेर अष्ट चिरञ्जीवीको पूजा गरेर सेल रोटी खाइन्थ्यो । अहिले साँझमा बत्ती (क्यान्डल) निभाएर "ह्यापी बर्थ डे" गाउँदै केक काटिन्छ ।
सँस्कृती पनि चलायमान हुँदोरहेछ । खासमा, निश्चित भुगोलमा बस्ने मानिसहरूबिच जीवनशैलीको अन्तर्घुलन र समायोजन नै संस्कृती रहेछ ।
मानिसको जाती (होमोसेफियन्स) को अहिलेको स्वरूप बन्नथालेको ५० लाख वर्ष भएको मानिन्छ । ४ करोड वर्षदेखि हिमाल, नदी, समुन्द्र अस्तित्वमा छ्न् । विभिन्न हिमालबाट निस्किएका अनेकौँ स्वच्छ, निर्मल र सफा नदीहरू विभिन्न ठोकर र हण्डर खाँदै, अन्तर्घुलन हुँदै समुन्द्रमा मिसिन्छन् । ती हजरौँ नदी मिसिने संसारभरीको समुन्द्र एउटै हो । त्यस्तो सफा पानी भएको नदीले करोडौँ वर्षमा पनि समुन्द्रलाई सफा र मीठो बनाउन सकेको छैन । समुन्द्रको पानी भने कति बिघ्न फोहोर, नुनिलो र प्रयोगबिहिन हुन्छ भने प्राणीलाई त छोडौँ बोटबिरुवामा हाल्यो भने पनि ठाडै मर्छ । अन्तत: नदीको स्वछ पानीको अस्तित्व समाप्त पारेपछि समुन्द्र पश्चतापले बाफिन थाल्छ, आकाशमा बादाल भएर उड्छ र सफा मीठो पानी बनेर वर्षा हुन्छ । त्यो वर्षा र आर्द्रताले पुन: नदीको जीवन चक्र चलायमान हुन्छ र स्वच्छ मीठो पानीदेखि समुन्द्रसम्मको शृङ्खला कायम रहन्छ ।
नेवार संस्कृतिमा राँगाको मासुले दशैँ र म्ह: पूजालाई जोड्नु पर्छ । राँगो काठमडौँको ठण्डामा पालिने पशु हैन । पुजामा पान चाहिन्छ । पान दक्षिण भारत वा बङ्गालको खुराक हो ।
नेपालको संस्कृती संसारमै अनौठो छ । प्राचीन सिन्धुघाँटीको सभ्यता देखि भोट्बर्मेली सभ्यताका अंश मुछिएको यो नितान्त फरक र सहिष्णु सभ्यता हेर्न हाम्रो पुरानो धार्मिक स्थल स्वयम्भू नियाले पुग्छ । नेपालकै इतिहासमा पनि अहिर, किराँत, गोपाल, लिच्छवी, मल्ल, सेन, खस, थारु, चौधरी, मेचे, सन्थाल, राजवन्शी, डोय, मिथिला कति हो कति वंशहरूको संस्कृतिक अन्तर्घुलन भएर आजको समाज बनेको छ ।
समाजलाई नदी जस्तै अगडि बढ्न दिनु पर्छ, पछाडी फर्काउन ठूलो बाँध चाहिन्छ र त्यो फुटेको दिन केही बाँकी राख्दैन । संस्कृती पनि उसकै बहावमा बग्न दिनु पर्छ । नदी जस्तै समुन्द्रामा मिले पछि फेरि बादल बनेर शुद्धीकरणको चक्र प्राकृतिकरूपमा नै शुरु हुन्छ । अप्राकृतिक प्रयासले विनाश र विध्वंस निम्त्याउँछ ।
रुवान्डा भन्ने देशका हुतु र तुत्सी जातीलाई पश्चिमाले अनेक बहानामा जुधाएर सन् १९९४ को १५ जुलाईदेखी १०० दिनमा करिब ६२२००० को हत्या भयो । जाती बिद्रोह उचालेर हिटलरले सन् १९४१ देखि १९४५ सम्ममा करीब ६० लाख यहुदी मारिए । कङोमा २००२-२००३ का बिचमा पिग्मी जातको ४०% मारिए । सन् १९७५-७९ मा खमेरुज गुरिल्लाले भिएत, चाइनिज, लाओ र थाई गरी करिब ३० लाख मानिस मारेका थिए । अंग्रेजको उक्साहट र स्वार्थका कारण सन् १९४७ मा इन्डिया-पाकिस्तान विभाजनको समयमा भड्किएको हिन्दु मुश्लिम द्वन्द्वमा २० लाख मारिएको र २ करोडले थातथलो छोड्नु परेको थियो ।
कुनै पनि जातीय र धार्मिक द्वन्द्व मानव जातिको लागि घातक हुन्छ ।
साँस्कृतिक समायोजन प्राकृतिक नियम हो । फटाहहरू निजी स्वार्थको कारण झगडा लगाउँछन् । थाहा पाएपछि बुबाको मुख हेर्न नपाए पनि कुशे औँशीले मलाई केही बिगारेको छैन ।
२०८०/५/२८
राधेराधे, भक्तपुर ।