सामान्यत: सामूहिक आर्थिक प्रणाली (कम्युन) मा आधारित व्यवस्थालाई 'कम्युनिज्म' भनिन्छ । यसमा निजी सम्पत्ती हुँदैन, सामूहिक आम्दानी/सामूहिक खर्च । त्यसैले निजी सम्पत्तिका पक्षधरहरूले आफुलाई कम्युनिष्ट भन्न सुहाउँछ कि सुहाउँदैन ? नैतिकताको प्रश्न हो यो । क्म्युनिज्म आडम्बर हैन, व्यवहार हो ।
सबै कम्युनिष्ट भौतिकवादी/नास्तिक हुँदैनन् । यहुदीले चलाएको धार्मिक राजनितिक अभियान zionism र Aliyah ले किबुत्ज (कम्युन) को माध्यमबाट "इजरायल" देश निर्माण र समृद्ध बनायो । उनीहरू सबै नास्तिक होइनन् ।
सबै नास्तिक कम्युनिष्ट हुँदैनन् । बीपी कोइरला पूर्ण नास्तिक थिए, उनी कम्युनिष्ट भएनन् ।
धर्मले मानिसलाई नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील बनाउन प्रेरित गर्छ । कर्तब्यबाट चुक भएमा नर्क जानू पर्ने भयले गर्दा पनि उसलाई जिम्मेवार र ईमान्दार बन्न दबब परेको हुन्छ । त्यसैगरी मार्क्सवादीहरू पनि नैतिकवान, ईमान्दार, परोपकारी र कर्मशील हुनै पर्ने अनुशासनको नियम छ । अब एउटा धार्मिक/आस्तिक मान्छे मार्क्सवादी भयो भने अनुशासन र ईमान्दारिताको पुञ्ज हुने भयो । तर, एउटा नास्तिक मार्क्स्वादी अनुशासनहिन र भ्रष्ट भयो भने ऊ कुनै पापधर्मसँग नडराउने ब्वाँसो बन्न पुग्छ ।
माओत्सेतुङ्ले साँस्कृतिक क्रान्तिको नामबाट गरेको धर्ममाथिको प्रहारलाई चिनियाँ कम्युनिष्ट पार्टीले पश्चतापसहित फिर्ता लिएको थियो । द्वन्द्वको बेलामा रजश्वला भएकी युवतिले शिवलिङमाथी चढेर खुनसरी हुन्जेल उफ्रिँदा, मन्दिर र देवल भत्काउँदा, विद्वान र पण्डितलाई दिनदहाडै हत्या गर्दा आस्तिकहरू रोएका थिए । अहिले सम्माननीय प्रधानमन्त्री प्रचण्ड (द्वन्द्वका सुप्रीमो) ले तारन्तार मन्दिर धाएर , भैंसी र देउताको पूजा गरेर पश्चताप गरेर ती दुखी आस्तिकहरूलाई मल्हमपट्टी लाउँदा खिसीटिउरी गर्नु पर्ने कारण देख्दिन ।
धर्म पनि कुनै समयको सामाजिक/राजनितिक व्यवस्था हो जसले अहिले पनि आम-जनमानसमा राम्रै प्रभाव पार्छ । विशिष्ट क्षमताका नेता आफ्नो दर्शन, दृष्टिकोण र मान्यता स्थापित गर्न राजनितिक जोखिम मोल्न तयार हुन्छन्, तर जनमत हेरेर बोली फेर्दैनन् । औषत नेतालाई जनमत चाहिन्छ; उनिहरू अवसर अनुकुल दर्शन, सिद्धान्त र आदर्शको व्याख्या गर्छन् ।
मन्दिर, गुम्बा, मस्जिद र चर्च जानु र टिकामाला लाउनु मात्रै धर्म होइन, सार्वजनिक व्यक्तित्वको लागि त यो सामान्य सिष्टाचार हो।
अर्काको आस्थाको सम्मान गर्नु पवित्र सामाजिक संस्कार हो भने अपमान गर्नु सामाजिक अपराध हो । कसैले कसैको आस्थालाई उछितो काडेको छ भने अहिले मन्दिर धाएर त्यो पाप धुईँदैन । त्यसैगरी आफू भने निष्ठापूर्वक नियमित पुजापाठ गर्ने कम्युनिष्ट व्यक्तिले अर्को चैँ घोर नास्तिक हुनु पर्ने आग्रह राख्नु भनेको पनि कुण्ठा मात्र हो । आस्तिक र नास्तिकले एक अर्काको भावनालाई सम्मान गर्नु सामाजिक सहिष्णुता हो । 'हिन्दु सभ्यता' मा चार्वाक जस्ता नास्तिक, वशिष्ठ जस्ता विद्वान र मनु जस्ता विभेदकारी विचारलाई सँगै राखेर पुजा गर्ने व्यवस्था छ । यहाँ कोही भिलेन हुँदैन ।
सामाजिक सञ्जालमा आफुले पोष्ट गरेका कुराले अरुको होइन ऊ स्वयंको मूल्यांकन गर्छ । आफ्नो औकात छताछुल्ल हुनेगरी सामाजिक सञ्जालको प्रयोग गर्न हुँदैन जस्तो लाग्छ मलाई । स्वस्थ तर्कसहित गरिने मर्यादित बहसलाई स्वागत गर्ने आँट चाहिन्छ, त्यो आफ्नै आलोचना किन नहोस् ।
राधेराधे, भक्तपुर
२०८०/२/२९
No comments:
Post a Comment