मैले आफ्नो अल्प बुद्धिले भ्याएसम्म थोरै थोरै मार्क्स, लेनिन, माओ त्से तुङ्ग, क्यास्ट्रो आदि जस्ता साम्यवादीका विचार; लि क्वान यु, हिट्लर, रुजबेल्ट्का बिकासे कर्म; विशेश्वर प्र. कोइराला, जे.पी. नारायण, बेंगुरियन, नेहेरु, मण्डेलाका समाजवादी अभियान बुझ्न मनन गर्न पाएको छु । यी र यस्ता राजनीतिज्ञहरूको सोच र कर्मले नै हो, राजनीती किन जरुरी छ भन्ने छाप छोडेको ।
अलिअली आदम स्मिथ, मिल, मिल्टन, रबिन, रिकार्डो, अमर्त्यसेन, किन्स र मार्शल आदि पनि प्रसङ्ग्बस पढ्न पाइयो । तसर्थ मलाई राजनीती र अर्थशास्त्र प्रति अपार सम्मान र आशा छ । मुलुकको समृद्धी र प्रगतिकालागी राजनीतिभन्दा प्रभावशाली अर्को कुनै चिज छैन । राजनीतिक पदमा पुग्नु भनेको विकास गर्ने त्यो अभुतपूर्व अवसर प्राप्त गर्नु हो ।
अहिले चुनाव लागेको छ । परिवर्तनका बाहक चुन्ने जिम्मा तपाईं हाम्रो टाउकोमा आएको छ । तर, चर्चामा आएका अनुहार र तिनका बिगतका कृयाकलाप सम्झदा मलाई ताज्जुब लाग्छ - मानिसहरू किन राजनीती गर्छन्? के यिनीहरु माथी उल्लेख गरिएका राजनीतिज्ञ नपढी यता लागेका हुन् ?
यो प्रश्नको जवाफ मलाई हैन "हे प्रस्तावित उम्मेदवारहरू हो - एक्लै बसेर ईमानसाथ आमाको कसम खाएर आफैँलाई सोध्नुहोस् - म किन उम्मेदवार बन्दैछु? म किन राजनीती गर्दैछु ? के राजनीतिको लागि म योग्य छु त?" कामै गर्ने हो भने ५ वर्ष काफी छ । विकास गर्न परिकल्पना (भिजन), टिम चयन क्षमता, कठोर लगनशीलता, स्वच्छ अनुशासन र स्वार्थरहित दृढ इच्छाशक्ति आवश्यक पर्छ । के तपाइँसँग त्यो कुरा छ? तपाईं आमाको कसम खाएर पनि झुठ बोल्नु हुन्छ भने तपाईं राजनीतिज्ञ होइन, एक कुटिल बलत्कारी हो, जो आमा प्रती पनि ईमान्दार हुन सकेन ।
कुनै पनि नेताको बिगत १०-२० वर्षका बेहोरा नियाल्यो भने उसको नियत थाहा हुन्छ । चोर गोरूलाई थाङ्ग्राको बारले छारो मात्र हाल्न सक्छ, थुन्न सक्दैन । त्यसैले भोट हाल्ने निर्णयमा पुग्नअघि उनीहरूका कुरा नसुनौँ, हिजोको बेहोरा सम्झौँ । पल्केका चोरहरूबाट जुनसुकैबेला लुटिने डर हुन्छ । र, भिजन नभएका स्वाँठ छन् भने झन् तपाईं र तपाईँका सन्ततिको अरु ५ वर्ष सत्यानाश हुन्छ । याद गर्नुस्, आगामी ५ वर्ष उनीहरूले गर्ने एकएक पैसाको खर्च तपाईं हामीले तिरेको प्रत्यक्ष र अप्रत्यक्ष करबाट असुलेको हुन्छ । त्पाइँले पैसा तिरेर राख्ने त्यो गोठालो कस्तो हुनुपर्छ भन्ने कुरा तपाइँले नै राम्ररी विचार पुर्याउनु पर्छ ।
हामीले चाखिसकेका कुनै पनि नेता नहुँदैमा देश डुब्छ जस्तो लाग्दैन । भएका कुनैले चमत्कारै गर्लान जस्तो पनि लाग्दैन । बरु स्थानीय नेतृत्व छान्दा एकपटक त्यस्ता युवायुवतीहरूलाई अघि बढाउँ जसले अहिले सम्म भ्रष्टचार गर्ने मेसो पाएका छैनन् ।
पार्टी कुनै जात वा धर्म हैन, जो बदल्न कठिन हुन्छ । तपाईं हामीले देउता ठानेका कति 'महान' नेताहरू कतिवटा पार्टीमा पोइला गइसके? हामीले चैँ के समातेर बसिरहनु पर्ने?
तैपनि मैले त पार्टी त्याग्नुस् भनेकै हैन । केवल स्थानीय तहको निर्वाचनलाई पार्टीगत राजनीती नबनाउँ । यो तपाईँको घर अघिको बाटो, वच्चा पढ्ने स्कुल, वर्षा काट्ने पुल, खेती पाल्ने कुलो, पीउने पानी, बीउबिजन, रोजगारी, कर, अस्पताल र भनौँ सिङ्गो जीवनसँग सम्बन्धित छ । त्यसैले राम्रो उम्मेदवार छान्नु भयो भने तपाइँलाई कुनै पाप र श्राप लाग्दैन । बरु नराम्रो नेता छान्नु भयो भने तपाइँको जीवन तपाइँको समाज नर्क बन्छ ।
स्थानीय निर्वाचन जीवनसँग सम्बन्धित भएकोले दर्शन छाँट्ने गफाडी हैन, काँध थाप्ने जोशिलो युवा चाहिन्छ । यस्ता युवाहरू अन्तर्पर्टी सहकार्यमा पनि फराकिलो मन बनाएर समन्वय गर्ने क्षमता राख्छन् । २४ घण्टा खट्न सक्छन् । अदम्य र अकल्पनीय साहास राख्छ्न् । त्यसैले अहिले पार्टी रोज्नु पर्दैन, व्यक्ति रोजौँ । भारतमा ग्राम पञ्चायतको चुनाव निर्दलीय हुन्छ, पार्टीगत हुँदैन ।
राजा हुँदा पृथ्वीनारायण २० वर्षका र महेन्द्र ३५ वर्षका थिए । बीपी ३७ वर्षमा गृहमन्त्री भए । भिमसेन थापा र जंगबहादुर ३१ वर्षमा प्रधान्मन्त्री बने । ३९ वर्षमा मदन भण्डारी माले पार्टीको मुखिया बने । जोसुकैले जेसुकै भने पनि आम नेपालीहरूले सँधै सम्झने नाम यिनै हुन् । युवामा विश्वास गर्न सकिन्छ, युवामा क्षमता हुन्छ भन्ने देखियो त ! हामी चैँ किन बुढापाका भन्दा बाहिर निस्कन नसकेको होला ? आफू नेतृत्व चयनमा गल्ती गर्ने, अनि राजनीतिलाई गाली गर्ने ?
स्थानीय तहमा युवालाई मौका दियो भने सानो भुगोलमा उसको कार्यक्षमताको परीक्षण हुने भएकोले उसले राम्रो गर्न नसक्दा पनि थोरै क्षतिमा नै ठूलो दुर्घटनाबाट मुलुक बच्यो । कार्यसम्पादन राम्रो देखायो भने उसले माथिल्ला तहहरूका लागि आवश्यक परिपक्वता आर्जन गर्ने मौका पायो । बढुवा हुने प्रशस्त तहहरू र पर्याप्त उमेरले उसलाई अझ बढी मेहनत गर्न उत्प्रेरित गर्ने भयो । यसो भएमा ग्रासरूटको घनिभुत अनुभवको धरातलबाट राष्ट्रिय राजनीतिमा पुगेका परिपक्व नेताहरूको ठूलो रोस्टरबाट मुलुकले राम्रै नेतृत्व पाउने ग्यारेण्टी बढ्छ ।
यो एक पटकमात्र भए पनि युवामा विश्वास गरौँ । स्मरण रहोस् - नेपालमा युवा भनेको १६ देखि ४० वर्षको उमेर समूह हो ।
No comments:
Post a Comment