Wednesday, March 2, 2022

नेपालले रुशलाई धुलो चटाईदिने

अफिसियल कामकाे सिलसिलामा हामी सातआठ जना एक पटक बंगलादेशको कुनै होटलमा बास बसेका थियौँ । खानपिन हुँदै थियो । हाम्रो टिममा जाँडरक्शी खाने त कोही थिएन, तरपनि गफ गर्दा गर्रदै धेरै हल्ला भएछ । पल्लो कोठाको एक अमेरिकीलाई सुत्न डिस्टर्ब भएछ । आएर खुब गाली गर्यो र पुलिसलाई खबर गर्ने धम्की दियो । 


हामी केही बाेलेनाैँ, सरी भन्याैँ । मलाइ भने हाम्रो मानव अधिकार हनन् भएको लागिरह्यो । अर्कालाई डिस्टर्ब गर्नु अपराध हो भन्ने थाहै थिएन । हामी चुपचाप सुत्यौँ । मेरो पहिलो बिदेश भ्रमण थियो । कति नाचगान रमाईलो गर्ने रहर थियो । सबै सपना चकनाचुर भयो । रातभर त्यो अमेरिकनलाई सराप्दै हामी सुत्यौँ ।

बीर गोर्खाली भएर पनि लुत्रुक्क परेर हिँडेकोमा धेरै ग्लानी भयो । हामी त्यो एक्लो 

बिदेशीलाई त्यहीँ  ठीक लगाएर रमाईलो जारी राख्न पनि सक्थ्यौँ । भोलीपल्ट नास्ता गर्दैगर्दा हिजोको लाचारीको समीक्षा गरियो । शिवराम सरले छिमेकीको कर्तब्य, सम्झौता र कुटनीतिको बारेमा बताउनु भयो । केही बेर थप हल्ला गरेको भए पुलिस कार्बाहीमा परिने रहेछ । छिमेकी भनेको सम्झौता र समझदारी पनि रहेछ । अर्काको मर्म र भावनाको कदर गर्नु पर्ने रहेछ ।

अमेरिका र युरोपले बाँकी विश्वलाई दाश र दोस्रो दर्जाको मान्छे ठान्छन् । यिनीहरु चिन, इण्डिया, रुश जस्ता एशियायी देशको बढ्दो शक्तिदेखी आत्तिनु स्वभाविक हो । अफगानस्तान, इराक, भियतनाम वा संसारमा जति पनि अशान्ति हुन्छ, त्यसको पछि यिनीहरु कै हात हुन्छ । हाम्रो देशको परम्परागत आर्थिक संरचना, जातीय सद्भाव, साम्प्रदायिक सहिष्णुता, राष्ट्रिय एकता र समृद्ध संस्कृति सिद्धयाउन विभिन्न नामका आई एन जी ओ, अन्तर्राष्ट्रिय सहयोग नियोग, विश्व बैंक र एशियाली विकास बैंक जस्ता संस्था, युएनका नामबाट छिरेका अनमिन लगायतका संस्था, युरोपियन युनियन आदि कसरी लागेका छन् र विगत ३० वर्षमा हाम्रो देश कुन अवस्थामा पुग्यो ? छर्लंग छ । संसारमा कुनै ठूलाे महत्व नराख्ने हाम्राे जस्ताे कंगाल मुलुक ध्वस्त बनाउन त उनीहरू यसरी जाल फिँजाउँछन् भने उदयमान शक्ति राष्ट्रलाइ सिध्याउन के मात्र गर्दैनन् हाेला । 

गरेकाे अत्याचार लुकाउन उनीहरुसँग सार्वभौमसत्ता, मानव अधिकार, आतंककारी गतिविधि आदि के के हो के के आकर्षक औजार छन् । त्यसले भएन भने हतियार त छँदैछ ।

एक्लो शक्तिशाली राष्ट्र बन्न सन् १९४९ मा अमेरिकाले केही दम्भी पश्चिमा पुँजीवादी राष्ट्रहरु समेटेर उत्तर एटलांटिक सैनिक गठबन्धन (नाटो) बनायो । यिनीहरुको दादागिरी खुब बढेपछि सन् १९५५ मा सोभियत रुशको अगुवाईमा पूर्वेली र समाजवादी राष्ट्रहरु मिलेर वार्सा प्याक्ट सैनिक गठबन्धन खडा गरियो । वार्सा गठनपछि विश्व प्रष्टरुपमा दुई ध्रुबमा बाँडियो । यसपिछकाे समयलाई शितयुद्धकाल भनिन्छ । विश्व शक्ति सन्तुलन भएकोले सन् १९९१ सम्म विश्वमा नै तुलनात्मक रुपमा शान्ति छायो । यसबाट पश्चिमाहरुको साम्राज्यवादी र मालिकाना स्वार्थमा धक्का पुग्यो । सारा पुँजीवादी शक्ति मिलेर सन् १९९१ मा सोभियत संघ विघटनको षडयन्त्रमा धकेलियो, वार्सा संगठन ध्वस्त पारियो र विश्वमा अमेरिका एकमात्र शक्तिशाली दादा बन्न पुग्यो । सन् २०२२ सम्ममा आईपुग्दा अमेरिकाको उक्साहट र दादागिरीमा भएका नरसंहार र अशान्तिका काण्डहरुको दर्दानाक सूची सबैलाई थाहै छ ।

छिन्नभिन्न भएको रुशमा सन् २००० मा पुटिनको उदय पश्चात पुनः आर्थिक सबलीकरण, शक्ति सञ्चय र सशक्तीकरणका कामहरु भए । अमेरिकालाई साइजमा ल्याउन आणविक हतियार बाहेक अरु कुनै उपाय नै  थिएन । रुशले आणविक हतियारमा खुब विकास गर्यो र संसारको सबैभन्दा ठूलो आणविक शक्ति बन्यो । बिस्तारै अमेरिकालाई आफ्नो दादागिरी नचल्ने भयले छोप्न थाल्यो । इण्डिया, चाईना र रुश नयाँ शक्तिको रुपमा उदाउन थालेको देखेर यी तीनै देशमा अमेरिकाले विभिन्न कार्ड फ्याँक्न थाल्यो । इण्डिया स्वभावतः केही लोभियो । चाईना र रुश मुकाबिला गर्न तम्सिए । चाईनालाई घेर्न अमेरिकाको अगुवाईमा हुवावे काण्डदेखि हंगकंग बिद्रोह, ताईवान उक्साहट, कोरोना आरोप, व्यापार युद्ध आदि चालियो भने चुपचाप बसेको रुशलाई घेर्न पूर्व सोभियत राष्ट्रहरुलाई धमाधम नाटो र युरोपेली युनियनमा सामेल गराएर रुशलाई घेर्न थालियो । सोभियत रुशले बनाईदिएको पूर्वाधार लिएर, पश्चिमाको उक्साहटमा सोभियत रुशबाट छुटिएको युक्रेनले अमेरिका र नाटोको गुलामी गर्न थालेपछि रुशलाई सुरक्षा खतरा बढ्नु स्वभाविक थियो । रुशले त्यसो नगर्न युक्रेन र नाटोलाई बारबार अनुरोध गर्यो । युक्रेन ध्वस्त हुँदा पश्चिमालाई कुनै नोक्शान नै थिएन, तर रुशलाई त्यहाँ नराम्ररी फसाउँन सकिने उनीहरुको ठहर भयो । 

पश्चिमाहरुलाई रुशको सामरिक शक्तिको आँकलन गर्न नजिकको कुनै राष्ट्रलाई रुश विरुद्ध उकासेर युद्ध गर्न लगाउनु पर्ने भयो । यसबाट अमेरिकालाई २ वटा फाईदा हुने थियो । एक रुशसँग डराउनु पर्ने हो होईन ? यसको शक्ति र हातहतियार कति प्रभावकारी छन्, सेना कतिको दक्ष छ? प्रविधि कति विकसित छ ? आदि थाहा पाउन सकिन्थ्यो । दोस्रो, रुशलाई युद्धमा होमिदिन पाएमा उसलाई बदनाम गराउन, नाकाबन्दी लगाउन, उसका सैन्य शक्ति र हतियार सिध्याएर कमजोर बनाउन सकिने थियो । युरोपसँग भौगोलिक निकटता र तुलनात्मकरुपमा रुशको केही शक्तिशाली छिमेकी भएको हुनाले अमेरिकाकोलागि यो षडयन्त्र पुरा गर्न युक्रेनभन्दा राम्रो अर्को देश हुनै सक्दैन थियो । 

तर, युक्रेनका राष्ट्रपति पेट्रो पोरोसेन्कोले छिमेकी रुशको भावना र सुरक्षा संवेदनामा खेल्न चाहेनन् । यसैले अमेरिकाले युक्रेनको राष्ट्रपतिमा एउटा स्वाँठ गिनी पिगको खोजी तीब्र बनायो । 

सन् २०१९ मा युक्रेनमा हिट भएको टिभि सिरियल 'सर्भेन्ट अफ द पिपुल' का हाँस्य कलाकार भोलोदिमिर जिलेन्स्कीलाई अमेरिकाले योग्य पात्र हुने अनुमान गर्यो र कमेडियन पेशा छोडेर एकै पटक युक्रेनको राष्ट्रपतिको उम्मेदवार बनाईयो । फेसबुक, ट्वीटर, ईन्साटाग्राम, व्हाट्स एप, भाईबर आदिजस्ता हजारौँ सामाजिक सञ्जालको अकल्पनीय उपयोग गरि प्रचार प्रसार गरियो । विवादस्पद चुनाव गरेर एकलौटी रुपमा जिलेन्स्कीले राष्ट्रपति पद जिते । जित लगत्तै शर्त अनुरुप उनले अमेरिकाको लागि काम गर्न शुरु गरे । रशियालाई घेर्न नाटो र युरोपियन युनियनसँग साँठगाँठ बढाए, रुशको अनुरोध मानेनन् । यो अवस्थामा रुश लाचार भएर बस्न सक्ने कुरै भएन । 

आज यिनै जिलेन्स्कीको जिद्दीका कारण युक्रेनमा तबाही मच्चिएको छ । रशियन र युक्रेनी एकै जात र भाषा बोल्ने मानिसहरु हुन् । रुशले अक्रमणमा पश्चिमा 'नवनाजिवादी' र जिलेन्स्की शक्तिलाइ मात्र टार्गेट गरेको थियो । त्यत्रो विध्वंश हुँदा पनि सर्वसाधारणलाई बचाएको थियो । तर जनता नमारेकोमा हाँस्य कालाकार जिलेन्स्कीलाई चित्त बुझेन । अहिले उनी सर्वसाधारणलाई युद्धमा होमिन आह्वान गरिरहेका छन्, बम बनाउन सिकाईरहेका छन्, घातक हतियार घरघरमा बाँड्दै हिँडिरहेका छन् । अब ती मानिसहरु रशियन सेनासँग भिड्ने छन्, मारिने छन् र पश्चिमाहरुले रुशलाई आम संहार गरेको भनेर अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाउने बाटो पाउने छन् । जिलेन्स्कीलाई राष्ट्रवादी, सहासी र जिम्मेवार नेता भनेर पश्चिमाहरु झ बढी ध्वंश मच्चाउन उक्साई रहेका छन् । 

यसैबिचमा युक्रेनलाइ युरोपेली युनियनको सदस्यता दिईयो र चाँडै नाटोको सदस्यता दिईने छ । संयुक्त राष्ट्र संघ नामक एलिट क्लबबाट रुशलाई आतंककारी घोषणा गरिने छ । पश्चिमा ठेक्कामा रहेका विश्वका सर्वोच्च मानिने संस्था, ब्यापारिक गतिविधि र संगठनबाट रुशलाई अलग्याईने छ । जित्ने छ अमेरिकाले, हतियार बेचेर कमाउने छ अमेरिकाले, दुख पाउनेछन् पूर्वी सोभियत देशका जनताहरुले र आखिरमा हार्ने छ युक्रेनले । जिलेन्स्कीले समातेको बाटोको परिणाम हो यो । एउटा खराब शासक भयो भने देश र जनताले कसरी बर्बादी भोग्नु पर्छ भन्ने ज्वलन्त उदाहरण बनेको छ युक्रेन ।

तरपनि रशियाले युक्रेनमाथि गरेको आक्रमण गलत हो । 

सामान्य अवस्थामा बिरालोले मानिसलाई चिर्थोदैन । कोठा थुनेर बिरालो चुट्नेहरुले बिरालोले नंग्राउँदा सहन र बिरालाेले छेरेर फोहोर गरेकाे कोठा सफा गर्न पनि तयार हुनु पर्छ । अहिले रुशको अवस्था त्यही हो । यसको सम्पूर्ण दोषअअमेरिका र पश्चिमा राष्ट्रलाई जान्छ । 

विश्वमा यस्ता धेरै विवादहरु छन् । छिमेकमा नै तिब्बत काण्ड छ, कश्मिर रोग छ, सिक्किम कहाँ गयो ? आफ्नै कालापानी र लिपुलेकको सन्दर्भमा यो सरकारले केही बोल्न सकेको छैन । देश दुखेकाे छैन । तर हाल नबाेल्दा पनि हुने युक्रेनकाे विषयले नेपाली शासकलाइ खुब घाेच्याे ।

एम सी सी काण्डमा अपार अमेरिकी भक्ती प्रदर्शन गरेको नेपालले रुशको विरुद्धमा उभिएर गुलामीको अनौठो मिसाल पेश गरेको छ । असंलग्न पराराष्ट्र नीतिको धज्जी उडाउँदै र छिमेकी चाईना र इण्डियामात्र होईन दक्षिण एशियाका कुनै राष्ट्र नबोलेको अवस्थामा नेपाल सरकारले अमेरिकी भाषामा रुशलाई हतार हतार चेतावनी दिएको छ । मानौँ रुशले युक्रेन माथिको आक्रमण रोकेन भने नेपालले रुशलाई धुलो चटाईदिनेछ ।

यो वक्तव्यलाइ गुलामीको पराकाष्ठ मान्ने कि जिलेन्स्की जस्तै कठपुतलीहरुको बाध्यताको बर्बराहट सम्झने ?

No comments:

Post a Comment