Saturday, August 31, 2019

नेपाली भाषी हुनुको पीडा र भारतमा नागरिकता

भारतमा पहिलो पटक नागरिक दर्ता कार्य NRC (National Register of Citizens) आसाम राज्यबाट शुरुवात भएको छ भने सबै राज्यमा नागरिकता लागू गर्न माग हुन थालेको छ । । आज आएको उक्त NRC रेपोर्ट अनुसार १९ लाख भन्दा बढी आसमेहरु गैरभारतीय (विदेशी) ठहर भएका छन् । आसाममा ७ लाखभन्दा ठूलो सङ्ख्यामा रहेका नेपाली भाषीहरूको अवस्था प्रष्ट नभए पनि केही महिना अघि गृहमन्त्री राजनाथ सिङ्घले उनीहरू विदेशी नहुने आश्वासन दिएका थिए । सन् १९५० को नेपाल भारत सन्धिमा "दुबै देशका वासिन्दा एकार्को देशमा स्वतन्त्रतापूर्वक घुम्न, सम्पत्ती राख्न, रोजगारी र व्यवसाय गर्न पाउने" व्यवस्था रहेकोले "जति वर्ष बसे पनि नेपाली भाषीहरू भारतको नागरिक हुन नसक्ने" तर्क चलिरहेको समयमा राजनाथको भनाईले नेपाली भाषी समुदायमा पलाएको आशा वास्तविकतामा परिणत भए नभएको हेर्न भने बांकी छ । विश्व युद्ध लड्दालड्दै उतै बस्न पुगेका हुन् वा अंग्रेज़को राज्य विस्तारले एकै रातमा मुलुक खोसिएर विदेशी हुन पुगेका भारत, भुटान, बर्मा र सिक्किम (अहिले भारत) का आधा करोड बढी नेपाली भाषीहरू लामो अवधीदेखी पहिचानको संघर्षमा रहनु परेकोछ । अहिले "ग्रस ह्यापिनेस इन्डेक्स" र "शान्ती" को दुहाई दिने भुटानले सन १९९० मा १ लाख बढी नेपाली भाषीलाई बिचल्ली बनाई धपाएको थियो । आसाम, मेघालय, मणिपुर आदि भूमिबाट लखेटिएका लाखौ नेपाली भाषीहरू नेपाल लगायतका मुलुकहरूमा विस्थापित छन् । देश हडप्नेहरूले नै त्यहाँका बासिन्दाहरूलाई विदेशी भनेर धपाउने दुर्भाग्य विश्वमा नेपाली बाहेक कमै जातिले बेहोर्नु परेको छ । प्यालेस्टिनी, हुत्सी, यहुदी, रोह्ङिया, सिरियन, मेक्सिकन आदिका लागि आवाज उठाउने विश्व समुदाय नेपाली भाषीका पिडामा मौन बस्ने गरेको छ । अरु मुलुकहरू भने सजातीयको रक्षाको लागि कुट्नितिक प्रयासमा सदैव अगाडि देखिन्छन् । भारतको NRC ले नेपाली भाषीलाई पार्ने असरको सम्बन्धमा हाम्रो मुलुकले सचेत हुन जरुरी छ । यसपटक कुट्नितिक परिप्क्वता देखाउन नसके थामिनसक्नुको दुर्घटनाको बाटो खुल्ला रहनेछ । १४ भदौ, २०७६

No comments:

Post a Comment