गत बर्ष साना किसान कृषि प्रशिक्षार्थी कार्यक्रम अन्तरगत साना किसान कृषि सहकारी संस्था लि. महाभारा, महाभारा गाविस , झापा जिल्लाबाट इजरायल स्थित किन्नरेट कलेजमा सहभागी भएका एकजना विद्यार्थीले दिनांक ११ मई २०१५ देखि कलेज छोडेर गएको र कुनै पनि सम्पर्क नगरेको भनी उक्त कलेजले १४ जुलाई २०१५ मा पत्र लेखी जानकारी गराएको छ । निज विद्यार्थी तोकिएको समयमा सम्पर्कमा नआएमा वा नेपाल नफर्किएमा झापा जिल्ला यो बर्षका लागि कार्यक्रमबाट बञ्चित हुने कुरा समेत उक्त पत्रबाट पुनः जानकारी गराईएको छ ।
कलेजका प्रतिनिधिले निज विद्यार्थी जुलाई ३० भित्रमा नेपाल फर्किसक्न म्याद दिएकोमा विशेष अनुरोधमा सो म्याद १५ अगष्ट २०१५ सम्मलाई थप गरिदिएको छ । यो थप भएको म्याद भित्र निज विद्यार्थी सम्पर्कमा आउन सक्ने थुप्रै सम्भावनाहरु रहेकोले झापाका विद्यार्थीहरु कार्यक्रमा सहभागी हुन पाउने सम्भावना अझै देखिन्छ । सम्भावनाका आधारहरुः
१. उक्त मिति भित्रमा निज विद्यार्थी कुनै पनि तरिकाले कलेजको सम्पर्कमा आएमा कलेजले अन्य बाँकी विद्यार्थीहरु सरह ससम्मान नेपाल फर्किन पाउने बातावरण बनाउने घोषणा गरेको भिडियो सार्वजनिक गरको छ । यसबाट निज विद्यार्थीलाई समयमा नेपाल फर्कन कलेजले सहयोग गर्ने भएकोले उनलाई अब कुनै पनि समस्या पर्दैन ।
२. निज विद्यार्थीको तालिमको सर्टिफिकेटको लागि प्रयास गर्ने कुरा हामीलाई बताईएको हुँदा नेपाल फर्किए पछि निजलाई नेपाल सरकारले उपलब्ध गराउने सहयोगबाट बञ्चित हुनु पर्ने छैन ।३. निज विद्यार्थी नेपाल रहँदा कुनै पनि किसिमको अपराधिक क्रियाकलापमा संलग्न भएको हाल सम्म जानकारी आएको छैन । अपराधिक मनोवृत्ति नभएको मानिसले सयौं झापालीलाई र मुलुकलाई नै असर पार्ने गरी यस कार्यक्रमको सबै भन्दा संवेदनशिल अनुशासन तोडेर इजरायलमा लुक्ने प्रयास गर्ने छैनन् भन्ने हामीलाई लागेको छ ।
४. आजका मितिबाट झण्डै २० दिनको समय प्राप्त भएकोले निज विद्यार्थीलाई सम्पर्कमा आउन पर्याप्त समय मिलेको छ । उनीसम्म यो पोष्ट पु¥याउन सकेमा वा निजले यो पढ्न पाएमा उनी तुरुन्त नेपाली विद्यार्थीहरुको सम्पर्कमा जानेछन्, कलेज ज्वाईन गर्नेछन् र समयमा नै नेपाल फर्कनेछन् भनी सबैले आशा गरेकाछन् ।
५. निजका बाबुले जमानत स्वरुप लेखि दिएको घरजग्गा लिलामीको प्रकृया अन्तिम चरणमा पुगेको छ । तर अब उनी सम्पर्कमा आउने सम्भावना बढेकोले लिलामी गरिहाल्नु पर्ने अवस्था नआउन सक्छ ।
६. यी सबै कुराहरुको अतिरिक्त उनी साना किसान परिवारका एक असल सदस्य हुन् । एक असल नेपाली नागरिक हुन् । कसरी उनले २० लाख साना किसानहरुलाई लात मार्न सक्छन् र? उनको सचेत, उत्तरदायी र जिम्मेवार मनले कसरी नेपाल भरी बदनामी कमाउन दिन सक्छ र? केही समय बिचलन हुनु अपराध होईन । उनी अपराधी होईनन् , त्यसैले विश्वास गरौं कुनै कडा कदम नचालिकन उनी अवश्य समयमा सम्पर्कमा आउने छन्, आफ्नो र तपाईँ हाम्रो इज्जत बचाउनेछन् ।
No comments:
Post a Comment