किशोर अवस्थामा हामी जिउँदा सर्प समातेर मानिस तर्साउँथ्यौं, भुतलाई जिउँदै समाउन रातभर भुत्याहा भनिएका स्थानहरुमा ढुक्ने गर्दथ्यौं, सिमाना परिबाट आउने चोर डाँका लखेट्न रातभर एउटा बाँसको डण्डाको भरमा गस्ति गर्दथ्यौं । उर्लँदो भेलमा पौडी खेल्ने भएर कति पटक मरेर बाँचियो होला, जनआन्दोलनका समयमा आर्मी र पुलिसका राईफलको सिधा अघि पर्दा एकछिन सातो गए पनि अर्को कुनाबाट नारा लगाउन छाडेको थिएन । दुई तल्ले घरमाथिबाट उत्तानो परि पछारिएको छु । आफ्नो मनको ईश्वरले ठीक ठाने पछि कति नै ठूला भनिन चहाने मानिसहरुसँग पनि झगडा गर्न कहिल्यै डर लागेको थाहा छैन । तर, यो महाभुकम्पले कस्तरी हल्लाएछ !अहिले म आफुलाई ज्यादै कमजोर, निस्सहाय र कायर महशुस गरिरहेको छु । आज भन्दा ठिक सात दिन अघिको शनिबार, हो त्यही दिनले मेरो हिम्मत गलाएको हो । उसै समय तिर आज पनि भुकम्प आएछ, गोर्खामा ३० जनाको थप मृत्यू भएछ, मैले थाहै पाईन । अब ज्ञानेन्द्रीयबाट मृत्यु शुरु भएछ क्यार ! भगवान, संवेदना चैं त्यसरी नमरोस् ।
मेरो प्रिय मित्रको घर टेका लगाएर अड्याउनु पर्ने भएछ । यसै महिनाको छेउछाउमा बच्चा हुने उसकी श्रीमती त्यो भुकम्प भरी त्यही घर भित्र रहिछन् । उनलाई त्यो घर एकछिन बस्न मन छैन, घरको भर पनि छैन । जाउँ कहाँ जाउँ, सबै तिर उस्तै छ, परिवार ठूलो छ । गारे घरलाई टेका लगाएर कति दिन टिकाउन सकिन्छ होला । मेरो सल्लाह मान्ने भए दुःख सःख गरी अटाएर मसँगै बस्नु पर्छ उनले । पछि देखा जाएगा ।
दिन भर राहत आव्हान र व्यवस्थापन मै बित्यो । गाउँ भित्र भित्रबाट खबर आईरहेका छन् । खुल्ला आकाश, मुसल्धारे बर्षा, ग्याज ग्याज हिलो, भोको पेट, बिचरा तीन दिनकी सुत्केरी मृत्यूसँग जुध्दै केवल पानी पिएर आफ्ना रित्ता लाम्टामा नवजात शिशुलाई जिन्दगी झुक्याई रहेछिन् । नौलो मानिस देखेर सयौं पिडितसँगै निस्तेज शरीरबाट भारी आँखा उघारी उनी पनि आशाको दृष्टि दौडाउँछिन् । त्यो मानिस छेउमा आउँछ कुन्नी के के सोध्छ, टिप्छ एक सेल्फी खिच्छ र तपाईँहरुको दुःखमा म हरदम साथ छु भनेर बिलाउँछ । अब त कोही नआए हुन्थ्यो जस्तो हुन लागेको छ । सहानुभुतिले पनि ठाउँ अनुसार फरक व्यवहार खोज्दो रहेछ । त्यहाँ अहिले त्रिपाल सहानुभुति हो, आँशु होईन । १ बर्ष देखि अशक्त भएर कौशी मै पल्टिरहने ८० बर्षे सासु आफ्नो ३ बर्षे नातिलाई आहारा खोज्न यो मुसल्धारे बर्षामा खण्डहर गाउँ चहारिरहेकी छन् । कतैबाट जुरेको एक मुठि चिउरा नातिलाई दिँदै उसको जिवन मागि रहेकी छन् । भुकम्पमा ससुरा नमरेको भए पनि यति कठिन हुने थिएन कि ! कतार जेलमा रहेको लोग्नेलाई अहिले सम्झन उनी बेकार ठान्छिन् । शिशुको भोटो खोल्छिन्, शिथिल शरीरको सारा शक्ति निकालेर निचोर्छिन्, चिसो लाग्ला भनेर हतार हतार फेरी त्यही भोटो लगाई दिन्छिन् । लामो स्वास फेरेर मुखबाट बाफ निकाल्छिन् सायद त्यही बाफबाट बच्चाको सेक ताप गरेकी होलिन् ।
हामी भण्डै ३ करोड नेपाली छौं । यो हालतमा अहिले करिब ५ लाख मानिसहरु छन् । भाग लगायो भने ६० जनालाई एउटा पिडित पर्छ । हाम्रो पनि त ज्यान जान सक्थ्यो, घर ढल्न सक्थ्यो, ठूलो क्षति हुन सक्थ्यो । तर, हामीले नयाँ जीवन पाएकै हो । शनिवार सम्म त हामी कसैलाई यो बिपत्तिको आभासै थिएन नि ! भोलि नहोला भन्ने के छ ? हामी भोलि बाँकी रहन्छौं भन्ने पनि के छ ? अहिले मात्र हाम्रो समय हो । भोलि हाम्रो बसमा छैन । नयाँ जीवनलाई आजै सदुपयोग गरौं । भुकम्प पिडितलाई दिल खोलेर सहयोग गरौं ।
काठमाडौं । २० बैसाख, २०७२
No comments:
Post a Comment