Monday, May 18, 2015

अधिकारी दाईको खैनी


        बैसाख १२ गते महाभुकम्प पछि क्षणक्षणमा प्रतिकम्पनहरु भई नै रहे । म भुकम्प भन्दा बढी कामेकोले हो कि मेरो महशुस गर्ने शक्ति नै कमजोर भएकोले हो, लगत्तै  १३ गते आएको  ६.९ म्याग्निच्युट बाहेकका धेरै कम्पनहरु मैले थाहै पार्इँन । ती दिनहरुमा बिद्युत बन्द भयो, मोबाईल थाप्न मिल्ने गर्न नमिल्ने भयो, रेडियो सुन्न पाईएन, टेलिभिजन हेर्न पाईएन । झापाबाट भाई बालकृष्ण र अन्य आफन्तहरुले समय समयमा न्यूज अपडेट गर्नु हुन्थ्यो । गोर्खा, धादिंग र सिन्धुपाल्चोकमा सार्है ठूलो विध्वंश भएको सुन्नमा आयो । म अघिल्लो दिनमात्र सिन्धुपाल्चोकको मेलाम्चीमा ४ दिनको तालिम सिध्याएर फर्किएको थिएँ । तालिमका आयोजकहरु मित्रलालजी (भोटेचौर), शिव नेपालजी र भिमसेनजी अनि अन्य सहभागीहरुसँग आत्मियता बढेको थियो । काठमाडौंका करिब ४० लाख मान्छेलाई हालमा दैनिक १७ करोड र भविष्यमा ५१ करोड लिटर पानी उपलब्ध गराउने गरी निर्माणाधिन रहेको मेलम्ची खाने पानी आयोजनाका कन्सल्टेण्ट आदरणीय रामकृष्ण भट्टराई सरले १० गते बिहान २ घण्टा लगाएर २६.५ कि.मी. लामो सुरुंगको निर्माण प्रकृया, मुहान, थिग्य्राउने ठाउँ, ब्याकअप व्यवस्था बारे सविस्तार बताउँदै टनेलको प्रारम्भिक खण्डमा छिराएर मुहानबाट निकाल्नुु भएको थियो । बीचतिर पुगेपछि मलाई डर लागेर आयो- भुकम्प आयो भने के होला ? आफ्नो डर नदेखाई हामीलाई गाईड गर्ने नवलपरासी घर भएका ईञ्जिनियर भाईसँग सोधेँ । 
        उनले भने “यस्तो अशुभ नसोचेको राम्रो, दाई ! तर पनि भुकम्पमा सम्भावित क्षतिको हिसाबले अन्य संरचना भन्दा सुरुङ्ग नै भरपर्दो मानिन्छ ।” म थोरै आश्वस्त भएँ । पर्सिपल्टै सिन्धुपाल्चोकमा मात्र ३ हजार बढी ज्यान जाने गरी यो महाविनाश भयो । उनीहरुको खबर जान्न म आतुर थिएँ । विनासको निशाना भएका सयौं गाउँहरुमा चिनजानका साथीहरु छन् । कसैसँग फोन सम्पर्क हुँदैन । 
        ३ दिन पछि थाहा भयो अधिकांश ग्रामीण क्षेत्रहरुमा मोबाईल चार्ज गर्ने सबै बिकल्पहरु बन्द भएछन् । फेसबुकमा यो आवश्यकता पोष्ट के गरेको थिएँ महेशपुर झापाका मित्र तिर्थ ओझाले भोली नै २० पिकवाटको सोलर सेटहरु लिएर आउछौं  भने । उनी भर्खरै दुई दुईपटक पेटको मेजर अप्रेशन गरेको मान्छे । १० किसिमका औषधी खाई रहनुपर्छ । मैले नआउ भन्न पनि सकिन । बैगुन्धुराका सोमजीसँग उनी त्यही साँझ बस चढेर १९ थान सोलर सेट सहित आई पुगेछन् । एक गाउँ एक सोलर सेट सुरु भए पछि मोबाईल सम्पर्क सहज भयो । पछि कुलायन ईनर्जीका राजेन्द्रजीले १० सेट र वेभ्स ग्रुपका सुमनजीले ३ सेट थपिदिए । गाउँ गाउँमा सम्पर्क सहज भयो ।
        मलाई कता कता मेलाम्ची खाने पानीको सुरुङ्ग पनि क्षति भयो कि भन्ने चिन्ता लागि रह्यो । मित्रलालजीसँग एक पटक सम्पर्क हुँदा मेलाम्ची खाने पानीको टनेलको अवस्था सोधेको थिएँ । उहाँले “मान्छेको ज्यानको नै लेखाजोखा भई सकेको छैन टनेलको कुरा गर्नु हुन्छ” भन्नु भयो । मलाई आफैंसँग सरम लागेर आयो । आफ्नै छेउका छर छिमेकी ४५ जना किचिएर मरेको बेला मैले के सोधेको हुँला भन्ने लाग्यो । फेरी कसैलाई सोध्ने हिम्मत गरिँन तर मलाई त्यो राष्ट्रिय सम्पत्तिमा कुनै क्षति नभएको सुन्न पाए हुन्थ्यो भन्ने लागिरहेको छ ।
        काठामाडौंमा एक मित्रको घर अलि बढी क्षति भएको थियो, तर परिवार सकुशल छन् । उनको दसौं घर बनाउने सामर्थ्य छ । हामी सोलर सेट पुर्याउने क्रममा धादिंगको जीवनपुर जाँदा ती मित्रसँग भेट भयो । आफ्नो सर्वस्व नष्ट भएको भनी उनी बिलौना गाई रहेका थिए । क्षति हुने सबैलाई बराबर नदिएर ठूलो घर भत्किएकोलाई धेरै र सानो घर भत्किएकोलाई थोरै राहत दिनु पर्नेमा सबैलाई बराबर गरेर घोर अन्याय गरिएको भन्ने उनको गुनासो रहेछ ।  
        साथीहरु साना किसान कृषि सहकारी संस्था जीवनपुरमा रहने गरी सोलर सेट जोड्दै थिए । रुद्रसर एक किसानसँग डाँडा तिर लाग्नु भयो । हामी भने आफ्नै तरकारीबारीमा काम गरिरहेका अधिकारी दाईसँग कुरा गर्न तल झर्यौं । “हैन ए दाई ! तपाईँ त काम गरिरहनु भएको छनि, भुकम्पले केही गरेन ?” बोल्ने मेलो यस्तै त हो । 
        “के हुनु बाबु ?” उनी मलाई बाबु भन्छन् । “भुकम्पले होस् कि साहुले, मैले जोडेको त लैजाने हुन् नि ! मलाई लान सकेनन् । कहिले हुरीले लडाउँथ्यो, कहिले पहिरोमा बग्थ्यो, अहिले भुईँचालोले लडायो । केही अनौठो लाग्या छैन । मेरो किस्मत नै त लैजाने होईन नि । ज्यान बँच्यो, ढुङ्गा कहीँ गएको छैन, भेला पार्ने हो, माटोले जोड्ने हो, ढुङ्गाले छाउने हो, भोलि पर्सि बनाए पनि भई हाल्छ नि घर त । तर तरकारी बिग्रन दिनु भएन, पाल्ने यसैले हो ।” 
        सामान केही निकाल्न सकियो भनी सोध्दा “अन्न पानी खासै थिएन, लत्ता कपडा लाएकै छौं । मलाई भैंसी मरेको दुख छैन बाबु ! कमाएर अर्को किनौंला । तर, बिचरा किचिएको डंगुरमा २ दिन सम्म कराई रह्यो । केही गर्न सकिएन । बाँचुञ्जेल मलाई पाल्यो । उ मर्ने बेलामा सजिलै सास जाने पनि बनाउन सकिँन ।” बोल्दै गर्दा अँध्यारो मुख लगाए उनले । कान्लाको डिलमा बसे । खैनी निकालेर माड्दै फेरि थपे, “दुईचार भाँडाकुँडा थिए, पुरिएर त्यो चैं हर्जा नै भएको छ । कृष्ण रेग्मीले टमाटर टनेलको प्लास्टिक दिएर अस्तिको मुसलधारे पानीबाट बचाए, बाबु ! देउतै रहेछन् । कृष्णको पेशा नै तरकारी हो । प्लास्टिक हामीलाई दिए पछि त पानी परेर उनको सर्वस्व नै भयो नि बाबु ! तर अलिकति पनि दुःख मानेन् कृष्णले । माग्नु पनि परेन, आफैंले लैजानु भनेका ।”
        “उनको घर केही भएन होला हैन ?” 
       “सबैको उस्तै हो बाबु । म हेर्न त गएको छैन । तर बाँड्दा बाँड्दै आफैंलाई नपुगेर उनी पो अरुको पालमा बस्याछन् रे ।”
        “गभरमेण्टले केही गरेन त दाई ?” मलाई यो प्रश्न मन परेको त थिएन, तर गुरुजी (नाम परिवर्तन) ले सोधी हाले ।
        दाईले पनि बोली झर्न नपाउँदै फर्काइहाले, “एउटा गाउँ हो र ? धर्ती चकनाचुर भएको छ । देउताले बिगारेको सम्हाल्न मान्छेलाई त टाईम लागिहाल्छ नि ! गर्दै होला, एकै पटक हुन्छ ? यस्तो बेलामा मान्छे जति सबै सरकार हो, बाबु ! सकेकाले सक्ने ठाउँमा गरिरहेका होलान् । हामीले पनि सक्ने त गर्नु परेन र ? अहिले बाँच्नु पर्छ जसरी हुन्छ, सरकार कहाँ जान्छ र ? गरिहाल्छ नि !” 
        “गर्यो सरकारले । सिक्स यियरमा सिक्स पेजको कन्स्टिच्युसन् नलेख्नेले पिपुललाई गर्छ ? तपाईं हाम्रो नाममा आएको फरेन एडमा लिडरहरुले गरेको करप्सन थाहा छ ? बाँडेर खान्छन् । यो डिजास्टर त उनीहरुलाई बुम हो ।” गुरुजीको अपार भण्डारबाट विद्वता पोखियो । अधिकारी दाईले खैनी ओठमा च्यापे र दायाँ तिर प्याच्च थुके । बल्ल बल्ल दाईको मस्तिष्कमा अलिकति बिष घोल्न पाएर होला गुरुजी सन्तुष्ट देखिए । साँझमा पुनरस्थापना योजना सम्बन्धी महत्वपूर्ण बैठकमा जानु पर्ने भएकोले गुरुजीलाई हतार थियो । हामीले बिदा माग्यौ । खै किन हो अधिकारी दाईले भर्खरै च्यापेको खैनी तुरुन्तै थुके, जुरुक्क उठे, त्यही खैनीलाई कुरकुच्चाले किचकाच पारे र काममा लागे ।
        बाटोमा गुरुजीले गर्वको साथ सुनाए – उनको घर परिवामा कुनै क्षति भएनछ । र, खाईदिन्छन् भनेर अहिले सम्म भुकम्पपिडितलाई पाँच पैसा सहयोग पनि गरेका रहेनछन् । उनी प्रोफेसनल भएकोले उनको काम “रिहाविलिटेसन एक्सपर्टीज्” बेच्ने हो रे ! 
        रातभरी आँखामा मेलाम्ची बजार, झापाबाट सामान बोकेर रातारात कुदेका बिरामी साथी र गुरुजीको असली रूप घुमिरह्यो।  तर अधिकारी दाईको खैनीको रहस्य भने अहिलेसम्म बुझ्न सकेको छैन।   

१९ बैसाख, २०७२, काठमाडौं।
‪#‎Nepal_Earthquake‬ ‪#‎The_story_that_makes_you_cry‬

No comments:

Post a Comment