Friday, December 13, 2024

१४ वर्षे बालकले शुरू गरेकाे गृह युद्ध

पश्चिम एशियाका टर्की, इराक, जोर्डन, इजरायल, लेबनान र भूमध्य सागरसँग सिमाना जोडिएको देश सिरियाको


क्षेत्रफल करिब १ लाख ८५ हजार वर्ग किमि र जनसङ्ख्या करिब २ करोड ५१ लाख छ । शान्त सिरिया कसरी गृह युद्ध र विश्वका शक्ति राष्ट्रहरुको युद्धकृडास्थल बन्न पुग्यो भन्ने कुरा प्रत्येक देशका सचेत नागरिक र नेताहरुले हेक्का राख्न जरुरी छ । 


कुरा सन् १९७० को हो । सिरियाको सुरक्षा निकायका एक उच्च अधिकारी 'हाफेज अल असाद' ले शैनिक विद्रोह गरेर सिरियाको सत्ता आफ्नो हातमा लिए । आफैलाई राष्ट्रपति घोषित गरेपछि क्रमशः संविधान, ऐन र कानुनहरुमा संशोधन गर्दै शक्तिशाली तानाशाह बन्न पुगे । दोस्रो विश्वयुद्ध पश्चातका यी दुई दशकहरु शितयुद्ध र तानाशाही साशनको युगको रुपमा चिनिन्छ । प्रजातान्त्रिक मुलुकहरुमा विपक्षीहरु पनि उत्ति नै शक्तिशाली हुने भएकोले शक्ति राष्ट्रहरुलाई कमजोर देशका शासकलाई हातमा लिएर मनमौजी गराउनु सजिलो हुन्थेन । त्यसैले हाफेजले तानाशाही चलाउँदा शक्ति राष्ट्रहरुलाई आपत्तिको विषय भएन । बरु कसले पहिला आफ्नो कठपुतली बनाउने भन्ने अमेरिका र रूशमा होड चल्नु स्वभाविक थियो ।


हाफेज सिया मुसलमान थिए । सिरियामा सियाको सङ्ख्या १६ प्रतिशतमात्र थियोे । त्यसैले ७४ प्रतिशत सुन्नी मुसलमान रहेको मुलुकमा हाफेज अल असादलाई राष्ट्रपति पद जोगाउनु चानचुने कुरा थिएन । उनी सुन्नीहरूसँग सदैव ससंकित र त्रसित रहन्थे । सुन्नी बहुल्य क्षेत्रहरूमा कठोर जासुसी सञ्जाल फिजाइएको थियो । विद्रोह उठ्न सक्ने सानोभन्दा सानो गल्ति पनि नहोस् भनेर सुरक्षा निकायलाई सजग राखेका थिए । ठूलो सङ्ख्यामा रहेका सुन्नी मुसलमानहरूबाट विद्रोह उठ्न नदिन र उठिहाले पनि तुरुन्तै दबाउन सबै किसिमका औजारहरू प्रयोग गरिएको थियो । प्रतिपक्षी आवाज दबाउन उनले कानुनमा व्यापक परिवर्तन र मिडियामाथि कडा सेन्सर सीप लागू गरे । सियाहरूलाई लाभ हुनेगरी विभिन्न निर्णय गरे । आफन्तलाई सेना र प्रशासनका मुख्य जिम्मेवारीमा राखेर तानाशाही किल्ल सुरक्षामा ढुक्क हुन खोजे । मुलुकका विभिन्न रोजगारी र अवसरहरुमा सियाहरुले मौका पाउँथे । सुन्नी र अन्य अल्पसंख्यकहरुलाई अन्याय गरेको महसुस हुन थाल्यो । यस्ता गतिविधिले शान्त सिरियामा आम जनताहरू विभिन्न गुटहरूमा केन्द्रित हुनु पर्ने वातावरण बन्यो । कुर्द, सुन्नी, क्रिश्चियन र अन्य अल्पसंख्यकहरुबीच जातीय र धार्मिक ध्रुवीकरणको माहोल बन्न थाल्यो । आन्तरिक बैमनस्य र फुट उत्पन्न हुन सुरु भयो । यसलाई बढ्न नदिन विकास र तानाशाहीको सन्तुलन मिलाएर हाफेजले चतुर साशकको रुपमा ३१ वर्ष एकलौटी शासन चलाए ।


सन् २००० मा हाफेजको मृत्यु भयो । बेलायतबाट आँखाको डाक्टरी पढेका छोरा 'बसर अल असद' लाई राष्ट्रपति बनाइयो । बेलायतको प्रजातान्त्रिक र उदार व्यवस्थामा हुर्किएका र पढेलेखेका असद आफूलाई उदार र प्रजातान्त्रिक देखाउन खोज्थे । तर, सत्तामा पुगेपछि विकासको आडमा तानाशाही व्यवस्था टिकाउने बाबुको पदचिन्हमा नै उनको पनि यात्रा मिसियो । 

प्रारम्भिक दिनमा उनको नीतिले लगानीकर्ताहरु आकर्षित भए । शिक्षा र सूचना प्रविधिमा गरेको प्रगतिले देखिन थाल्यो । उनले सत्ता सम्हाल्दा ताका सन् २००० मा १८ अर्ब ९४ करोड डलर रहेको कुल ग्राहस्थ्य उत्पादन (जिडिपी) सन् २०११ मा प्ुग्दा ६७ अर्ब ५४ करोड पुग्यो । जब कि यसै बीच सन् २००६ देखि सन् २०११ सम्म विशाल खडेरीका कारण अकल्पनीय अनिकालको समाना गर्नु परेको थियो । लामो समयदेखि तानाशाहीबाट आक्रान्त जनतालाई खडेरीले अझ ठूलो सङ्कटमा धकेल्यो । विस्तारै गरिबी, बेरोजगारी र असन्तुष्टिले चरम रुप लिन थाल्यो र युवा पुस्तामा आक्रोश र नैरास्यता बढ्न थाल्यो ।

यसैताका सिरियाका वरिपरिका तानाशाही सत्ताहरू धमाधम ढल्न थाले । जस्तै ः ट्युनिसियाका बेन अलि सत्ता छोडेर भागे, लिबियामा कर्णेल गद्दाफिलाई जनताले मारिदिए, इजिप्टका तानाशाह होस्नी मुबारकलाई जेल हालियो । यमन र जोर्डनमा समेत ठूला आन्दोलनहरू भइरहेका थिए । पश्चिम एसिया अर्थात् मध्यपूर्वमा भएको यस विशाल परिवर्तनलाई अरब स्प्रिङ भनेर चिनिन्छ । रे

डियो पत्रपत्रिका टेलिभिजन र सामाजिक सञ्जालमा सिरियालीहरूको राम्रो पकड थियो । छिमेकमा भएका अरब स्प्रिङ्गका विशाल सङ्घर्ष र परिवर्तनहरूबाट उनीहरु अनभिज्ञ थिएनन् । भित्रभित्रै आन्दोलित बनिरहेका सिरियालीको कुनै राजनीतिक सङ्गठन थिएन, जसले विद्रोहको नेतृत्व गरोस् । सिरियाका तानाशाह बसर अल असदलाई अरब स्प्रिङ्गको भूतले अझ बढी तर्साउँदै लगेको थियो । यो नाजुक समयमा सानो झिल्कोमात्र फैलियो भने विशाल डढेलो लाग्छ भन्ने उनमा डर थियो । मानिसलाई सङ्गठित हुन नदिन, विद्रोह गर्नेलाई सख्त सजाय दिएर अरुलाई तर्साउन असद प्रशासनले सकेका हतकण्डाहरु अपनाउन थाल्यो । जासुसी संयन्त्र र सैन्यसङ्गठनलाई अझ शक्तिशाली र डरलाग्दो बनाउँदै लगे । स्वभावैले यसको तारोको रूपमा सुन्नी समुदायहरू पर्दै गए । भित्रभित्रै गुम्सिएको राष्ट्र बाहिरबाट शान्त देखिन्थ्यो । अरब सबै जलिरहँदा पनि सिरियाको यो शान्तिलाई बाहिरका मानिसहरु उत्साहका साथ हेर्थे ।  

तर यस्तो शान्त देखिन सिरियाले त सन्सार नै हल्लाउने गृहयुद्ध र शक्ति राष्ट्रहरुको ताण्डव पर्खिरहेको रहेछ । यो नरसंहारको अनन्त डढेलोको सुरुवात भने सात कक्षामा पढ्ने एक १४ वर्षे किशोर ‘मुवाविया सियास्ने’ ले भित्तामा लेखेको ५ शब्दको एक वाक्यले गरिदियो । 


सिरियाको दक्षिणी भूभागमा इजरायलसँग सिमाना जोडिने ‘दारा’ भन्ने सहर पर्दछ । सोही सहरको एक विद्यालयमा मुवाविया सियास्ने भन्ने बालक अध्ययन गर्दथे । सन् २०११ फेब्रुअरी २२ तारिखका दिन उनले एउटा अपत्यारिलो तर विश्व इतिहासलाई नै नयाँ बाटो दिने घटनाको बीउ रोपिदिए । जसले गर्दा विश्वका महाशक्ति राष्ट्रहरू रुस, अमेरिका, इरान, टर्की र संसार हल्लाउने आतङ्ककारी संगठनहरू आइएसआईएस आदि आम्नेसाम्ने भएर उभिए । न कसैले विजय प्राप्त गर्न सक्यो, न त ६ लाखभन्दा बढी मानिसहरू मारिसक्दा पनि विगत २३ वर्षदेखि चलेको गृहयुद्ध कसैले रोक्न सक्यो ।


बालक मुवाविया सियास्नेले आफ्ना १४ जना साथीहरूसँग खेल्ने क्रममा विद्यालयको भित्तामा एक लाइन (ग्राफिटी) लेख्न पुगे । त्यो लाइन थियो, “अब तिम्रो पालो हो, डाक्टर” (Next it's your turn, Doctor! ) ।

जनविद्रोहले अरब दन्किरहेको बेला, एक से एक खुङ्खार तानाशाह ढलीरहेको बेला, डाक्टरलाई (बसर अल असद आँखाका डाक्टर भएकोले उनलाई डाक्टरमात्र पनि भन्ने गरिन्थ्यो) नै लक्षित गरि लेखिएको यो नारा देख्नासाथ त्यहाँका सैनिकहरूको माथा तात्ने नै भइहाल्यो । उनीहरूले तत्काल त्यो लेख्ने व्यक्ति पत्ता लगाउन जासुसी संयन्त्र र सेनाहरू प्रयोग गरे । मुवाविया र उसका १४ जना साथीलाई उक्त भित्ते (ग्राफिटि) लेखन को आरोपमा प्रहरीले पक्राउ गरी राजनीतिक सुरक्षा विभागमा बन्दी बनायो । 


पक्राउ परेका बालबच्चाको अवस्था अभिभावकहरुले थाहा पाउन सकेनन् । 

नजिकका प्रहरी चौकी र सुरक्षा निकायहरूमा आफ्ना बालबच्चाको सूचना पाउन धाउँदा सैनिक अधिकारीले भने, “यी केटाकेटीहरूलाई बिर्सिदेउ । घरमा जाउ र अरु बच्चा पाउ । यदि तिमी सक्दैनौ भने तिम्रा श्रीमतीहरूलाई यहाँ पठाउ, हामी बालबच्चा हुने बनाईदिन्छौँ ।” 


सैनिकको यो व्यवहार र भनाई सामाजिक सञ्जालमा भईरल हुन पुग्यो । एउटा सुन्नी समुदायलाई सिया शासकले प्रयोग गरेको यो निकृष्ट वाक्य र नाबालकलाई पक्राउ गरेको घटना कुनै पनि समुदायको लागि पाच्य भएन । मानिसहरूमा आक्रोश फैलियो । दाराका स्थानीय जनता भेला भएर शान्तिपूर्ण विरोध गर्न थाले । सैनिक तानाशाहलाई उग्र विरोध ग¥यो भने अझ बढी अत्याचार गर्छ भन्ने त्यहाँका जनताहरुलाई थाहा थियो । त्यसैले उनीहरूले विरोध प्रदर्शनलाई अत्यन्त शान्तिपूर्ण र संयमित बनाई राखे । उनीहरूको एउटै माग थियो आफ्ना १५ जना बालबालिकालाई सकुशल रिहाई गराउने ।  


तर सैनिक शासकले भने आन्दोलनमा उत्रदा के हालत हुन्छ भन्ने कुरा देखाएर जनता तर्साउनु थियो । अगाडि बढेर विद्रोह गर्ने आँट कसैले नगर्ने बनाउनु थियो । बालबालिकाका अभिभावक र दाराका शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयलाई विभिन्न आरोप लगाएर समाउँदै सेनाले जेलमा हाल्न र यातना दिन थाल्यो । असद प्रशासनको यो ज्यादति सामाजिक सञ्जालमार्फत देश भरि नै फैलिँदै गयो । १८ मार्चमा बच्चाहरूको रिहाइ, भ्रष्टाचारको अन्त्य, र राजनीतिक स्वतन्त्रताको माग गर्दै दारा सहरमा एक भव्य प्रदर्शन गरियो । यो प्रदर्शनमा सुरक्षा बलले गोली चलायो र कम्तिमा २ जनाको मृत्यु सँगै सयौँ घाईते भए । १९ मार्चमा मृतकको शवयात्रा लिएर मलामी निश्किएका २० हजारभन्दा बढी प्रदर्शनकारीमाथि पुनः गोली चलाईयो । ६ जनाभन्दा बढीको मृत्यू र सयौँ घाईते भए । यसको विरोधमा २० मार्चमा निश्किएको विशाल भिडले हिंसात्मक प्रदर्शन ग-यो । प्रदर्शनकारीहरूले स्थानीय अदालत भवन र बाथ पार्टी (सत्तारुढ दल) को मुख्यालयमा आगो लगाए, साथै राष्ट्रपति असदका काकाको स्वामित्वमा रहेको सिरियाटेल भवनमा पनि आगो लगाइयो । केही मरे, सयौँ घाईते भए । अस्पताल पु-याईएका घाइतेलाई सेनाले त्यहीँबाट पक्राउ गर्न थालेपछि आन्दोलनकारीले दाराको ओमारी मस्जिदलाई अस्थायी अस्पताल बनाएर उपचार गर्न थाले । 

रेडियो, पत्रपत्रिका र टिभि सरकारको नियन्त्रणमा भए पनि सोसियल मिडियामार्फत दाराको यो सैनिक ज्यादतिले सिरियाका अन्य सहरहरूमा समेत व्यापक हल्चल मच्चायो । बच्चाहरूलाई सकुशल रिहाई गर्नुपर्ने र अत्याचार बन्द गर्नुपर्ने नाराका साथ देशका प्रमुख सहरहरुमा छिटफुट आवाजहरु उठ्न थाले । देशैभर विद्रोह फैलिने डरले सताएपछि यी बच्चाहरूलाई थुनेर आन्दोलन दबाउन सकिँदैन भन्नेमा असद पुगे । २६ मार्चमा प्रदर्शन शान्त पार्न सरकारले केही माग पुरा गर्ने प्रयास गर्यो । बच्चाहरुलाई रिहा गरियो । २०० भन्दा बढी राजनीतिक बन्दीलाई छोडियो । 

बच्चाहरूलाई सुरक्षाकर्मीले पानीमा करेन्ट जोडेर चोबल्ने, कुखुरा बनाएर उभिण्डो झुण्ड्याउने, नङ भित्र सियो घोचेर रक्तपात गराउने र निर्घात कुट्ने जस्ता क्रियाकलाप गरेर अर्धमृत अवस्थामा पु¥याएका थिए । शरीरमा रगत थिएन । चोट नभएको कुनै ठाउँ थिएन । आफ्नो खुट्टामा उभिन नसक्ने अवस्थामा रहेका ती बालबालिकाको अर्ध मूर्छित अनुहारका तस्विर, भिडियो र यातना–अनुभव सोसियल मिडियामा भाईरल बन्यो । यो हेर्ने जोसुकै पनि विचलित र आन्दोलित हुन्थे । बच्चालाई हिरासतबाट छुट्कारा दिनु त झन् सिरियाली तानाशाहलाई अझ महङ्गो बन्न पुग्यो । यसले जनताको आक्रोशलाई थाम्नै नसक्ने चरमचुलीमा पु-यायो । 


प्रत्येक दिन आन्दोलनकारी बढ्दै गए, मारिनेको सङ्ख्या बढ्दै गयो । २३ मार्चमा सुरक्षा बलहरूले हजारौँ प्रदर्शनकारीमाथि आक्रमण गर्दा कम्तीमा ३७ जनाको मृत्यु भयो । २५ मार्चमा दारामा १ लाखको सङ्ख्यामा प्रदर्शनकारी निश्किए । प्रदर्शनमा कम्तीमा ९७ जनाको हत्या गरियो । २५ अप्रिलदेखि मे ५ सम्म दारालाई शैनिक घेराबन्दी (दारा सिज) गरियो । पानी, बिजुली, औषधि, खाद्यान्न आदि बन्द गरियो । तर प्रदर्शन र दमन रोकिएन यी १० दिनमामात्र करिब २२० जना सिरियाली नागरिकले ज्यान गुमाए ।


दाराको एउटा सानो गाउँको ७ कक्षा पढ्ने बालकले सुरु गरेको विद्रोहले सिरियाको सम्पूर्ण मुख्य शहरहरुलाई लपेटीसकेको थियो । बालक मुवाविया सियास्ने जनआन्दोलनको आदर्श र केन्द्र बनिसकेका थिए । 

तर असंगठित समूहहरुद्वारा सञ्चालन भएको यो द्वन्द्वमा पछि गएर विभिन्न धार्मिक अतिवादि सङ्गठन, विश्व महाशक्ति राष्ट्रहरु, र सिरिया सरकार भिड्न थाले । करिब ६ लाख मानिस मारिए, २० लाख निर्वासित भए । सन् २०२४ नोभेम्बर ८ का दिन तानाशाह राष्ट्रपति बसर अल असद सिरिया छोडेर रसियामा शरण लिन पुगे ।कट्टरपन्थी एचटिएसले अन्तरिम सत्ता सम्हालेको छ । रसियन सेना फर्किए पनि अमेरिका, टर्की, इरान प्रोक्सी, कुर्दिश विद्रोही, इजरायल, एसडीएफ, आईएसआईएस , आफ्नो आफ्नो मोर्चामा लडिरहेका छन् । समग्रमा सिरिया विभिनन खण्डमा बाँडिएको छ । प्रत्येक खण्डमा आफ्नै किसिमका समूहको राज्य छ । बिहान जाँदा एउटाको शासन भएको ठाउँमा बेलुका अर्कै समूहको आधिपत्य हुने अवस्था बनेको छ । दारामा त बस्न लायक एउटै घर बाँकी रहेन । बच्चाहरुसँग खेलौना हैन, हतियार छ । प्रत्येक युवासँग एके ४७ हुने अवस्था छ । 

अहिले मुवाविया सियास्ने २६ वर्षका भएका छन् । युद्धमा उनका बाबु लगायत आफन्तहरु शहिद भए । उनी सिरिया फ्रि आर्मीको अग्रमोर्चामा एके ४७ लिएर लड्छन् । 


उनी भन्छन्, “त्यो एक लाईन नाराले एउटा देश सँधैलाई गृहयुद्धको चपेटामा परी तहसनहस हुन्छ भन्ने थाहा पाएको भए म त्यस्तो कहिल्यै लेख्ने थिईन ।"

त्यति लामो सङ्घर्ष, लाखौंको बलिदानी, करोडौं विस्थापित हुँदा पनि जनताले केही पाएनन् । आज त्यहाँ 90% जनता गरिबीको रेखामुनि पर्छन् । जबकि सन् 2011 मा यो मध्यपूर्वको सम्पन्न राष्ट्रमा पर्थ्यो ।