Thursday, June 13, 2024

मेरो भागमा भगवान

भगवान् आए भाग्य बाँड्न लिई थालैमा,

बाँड्दा बाँड्दै सकिएछ मेरो पालैमा ।

..................................................

कोही लगे धन दौलत, कोही लगे चैन ।

रूप लगे, यौवन लगे, बाँकी केही छैन।।

सबै लगे - भगवान् त खाली परेछन् !

हातमा पीर चिन्ता भको थाली धरेछन् ।।

मैले पाएँ  भगवान - जे होस् थालैमा  ।

भाग्य बाँड्‌दा सकिएछ मेरो पालैमा ।।

..................................................

लुट्न पाउँदा भगवानलाई कोही नगन्ने !

"तिम्लाई केही चाहिन्छ कि ?" भन्दै नभन्ने !!

सुख-चैन लानेहरु कुस्ति खेल्दै पर,

लालचको भुमरीमा जग चराचर ।।

मैले पाएँ छुटकारा स्वार्थी खेलैमा ।

भाग्य बाँड्दा सकिएछ मेरो पालैमा ।


३० जेठ, २०८१

राधेराधे, भक्तपुर

Tuesday, May 28, 2024

बजेट आ.व. २०८१/८२ (भाग २)

१. राजस्व उठाउने लक्ष्य रु. १२ खर्ब ६० अर्ब ३० करोड छ । अर्थात कर, राजश्व, शुल्क आदिको रुपमा एक व्यक्तिबाट सरकारले औषतमा वार्षिक ४२,०१० रुपैयाँ उठाउँछ । 

२. सरकारले विकासमा रु. ३ खर्ब ५२ अर्ब ३५ करोड खर्च गर्छ । अर्थात, एक वर्षमा ४२,०१० रुपैयाँ बुझाएको एक व्यक्तिको भागमा विकासको हिस्सा करिब रु. ११,७४५ मात्र पर्छ ।

३. चालु खर्च भनेको खासमा सरकारी कोषबाट तलब भत्ता सुविधा प्रशासनिक व्यवस्थामा हुने खर्च हो । यो खर्च रु. ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरिएको छ । अर्थात, सरकारी कोषबाट तलब भत्ता सुविधा खानेहरु र बन्दोबस्ती वापत प्रत्येक जनताले वार्षिक औषत प्रतिव्यक्ति रु. ३८,०२२ बेहोरेको हुन्छ ।

४‍.  आ.व. २०८१/८२ मा खर्च योग्य प्रतिव्यक्ति ग्राहस्थ्य उत्पादन १,४३४ डलर (रु. १,८९,२८८) रहेको सन्दर्भमा एक मानिसले कमाईको सरदर २२.१९ प्रतिशत कर राजस्वमा बुझाउनु पर्छ । तपाई‍ले प्रशस्त तिर्नु भएको छ, त्यसैले अब कहीँ कतै घुस ख्वाउनु पर्दैन ।

५. देश विदेशको ऋण तिर्न सरकारले एउटा नेपालीलाइ वर्षकाे सरदर रू. १२,२४३ रुपैयाँ भाग लगाएकाे छ । याे ऋणा भनेकाे पाेहाेर परारकाे देशकाे नाेक्शान अहिले तिर्ने हाे । त्यसैले देशलाइ जसले नाेक्शान लाए पनि तिर्ने जनताले नै हाे ।

Wednesday, May 22, 2024

झरी पछिकी चरी

झरी घोप्टिएको कालो रात भरि,

हुरीले गुँड लुछेको दीन चरी;

कहाँ जाउँ, समाउँ, सहारा खोजुँ?

म त लुप्त हुने भएँ शुन्य सरी ।


यो अँध्यारो छ निष्पट, काँ'छ घर ?

बल्यो दियो कति कति टाढा पर ।

गुमे सब् , पुगे काँ' ? कसलाई सोधुँ ?

अब एक्लो भएँ, 'म' मा पो के छ र !



कोही अर्काको युद्ध बेसुर लडे,

कोही प्रिति गुमेर कुनामा सडे ।

कोही तृष्णाले खायो अथाह् धनको,

दोष के थियो र म बिलख्मा परेँ ?


बचेँ ब्याधासँग, जुधेँ प्याधा सँग ।

खपेँ भोक कति, भिँडे ज्यादासँग ।

ढल्यो खुशीको सानो संसार अब !

रति छैन सहास यो निर्धोसँग ।


कोही हिँड्दा रहेछन् कमाउँन भनी, 

कोही बाँच्दा रहेछन् रमाउँन भनी ।

न कमाउन सकेँ, न रमाउँन सकेँ।

आयो देश मेरो परदेश बनी ।


सदा लाग्थो आकाश पनि घर हो,

यो गुँड त के र! जगतै मेरो हो ।

प्रकृति आमा हुन् , पिता वायु-जल ।

तर झुटो रहेछ, फगत् एकलो ।


अब छैन चाह - हाँगा पात तोडुँ,

दिन-रात खटुँ, नयाँ बास जोडुँ,

घरजम गरी फेरि सृष्टि नयाँ-

फूलबारी  रची नयाँ बोट गोडुँ


हिजो गुँड थियो, साथी-भाइ थिए ।

साना चल्लाका मिठा आवाज थिए ।

एक झोँकमा सृष्टि उजाड भयो, 

अब ज्यान मेरो नि खुशीले दिएँ ।


२०८१/२/७

वानेश्वर, काठमाडौँ।