Tuesday, January 5, 2021

मुक्तक - राजनीति

नारा लाएँ, धर्ना बसेँ, लाठी खाएँ, जुलुस पसेँ ।

घाँस दिएँ, दाना पोसेँ, तर्क गर्दै घुँडा धसेँ ।।

कति कुदेँ पछिपछि, एक दिन ब्याउला भनी -

बज्या साँढे परेछ हौ! फसेँ नराम्ररी फसेँ ।

Monday, January 4, 2021

आयो नजान्ने दिन

बिहेको जनती र मर्दा मलामी जान नपाउने भए । 

सात्जन्म जोडिने कसम खाएका अछुत-दुर्दुर भए ।

हाड्छाला घोटेर, भोको पेट् बसेर, पाल्या परिजन कता?

आईसोलेसनमा निरस एकलो मृत्यु कुर्दैछु मता ।


छ मेरो आफनो विदेश भनेर धाकधक्कु लाउँथे हिजो ।

बिर्सेर ढिँडोको भरमा बाँचेको खान थालेथे "पिजो" ।

यो जिउ चलदा र पैसा फाल्दा सबैको प्यारो थिएँ।

थलिएंँ अहिले आफन्ती चाहिने ! झन् एक्लो कैदी बनेँ ।


मौकाको ताकमा तर् मार्न ढुकेका चुग्लिखोर चालुहरू !

सङ्कट्मा एकलै लुकेर दुलोमा बसेका ठालुहरू ! 

विद्वता छाँटेर, दिमाख भुटेर, सकेको लुट्नु किन ?

विश्व नै पढेको, घमण्ड कता गो ? आयो नजान्ने दिन ।


२०७६/१२/१७

राधेराधे, भक्तपुर ।