(कृपया पुरै पढेर प्रतिक्रिया दिनु हाेला )
एका देशमा 'नानेकपाक' र 'नानेकाक'
नाम गरेका गरीबहरू बस्दथे । उनीहरू भगवान शिवका अनन्य भक्त थिए । कहिलेकाहीँ उनीहरू खान
नपाएर हप्तौँसम्म भोकभोकै हुन्थे । यस्तो बेलामा पनि भगवान शिवको प्रर्थना गर्न
छोड्दैन थिए । पतिदेवका यस्ता परम् भक्तको दुर्दशा देखेर पार्वतीलाई असाध्यै दु:ख
लागेछ ।
पार्वतीले भगवान शिवलाई भनिन्, "प्रभु! तपाईँका
परम् भक्त नानेकपाक र नानेकाकको यो दुर्दशा म हेर्न सक्दिन । हजुर त अन्तर्यामी
हुनुहुन्छ, सबै कुरा थाहा नै होला । यिनीहरूलाई बरदान दिएर
सुखी बनाउनु पर्यो ।"
पार्वतीले धेरै कर गरेपछि भगवानले म्याकबुक खोले, अनि यिनीहरूको रेकर्ड अध्ययन
गर्नथाले । भगवानले के पत्ता लगए भने यिनीहरू एक नम्बरका ठग रहेछन् । रक्सी खाएर
अनमत्त र निर्लज्ज भएर हिँड्दा रहेछन् । सयौँपटक ठोकर खाएर चोटै चोट रहेछ । आदर्शको ढ्वाङ्ग गर्दा रहेछन्, तर पटक्कै
अनुशासन रहेनछ । अर्काको देख्यो
कि चोर्न मन लाग्ने, अनि चोर्न नपाए फोर्न मन लाग्ने बानी रहेछ ।
अरुबाट केही कुरा फुत्काउनु परेमा लम्पसार हुँदा रहेछन् र फुत्काएपछि उसैलाइ भिरबाट खँदार्दा रहेछन्
। पुलिस आयो भने एकजुट भएर भिड्दा रहेछन्, तर आफुआफुमात्र भएमा काटाकाट मारामर गर्दा रहेछन् । परिश्रम पटक्कै गर्दैन रहेछन् । तर प्रभुलाई खुशी पार्याे भने आफुलाई चाहिने कुरा त्यति कै पाइन्छ भन्ने ठान्दा रहेछन् ।
उनीहरुको रेकर्ड हेरेपछि
शिवजीलाई भयङ्कर रिश उठेछ । ठूलो स्वरले पार्वतीलाई भने,
“पारु रानी ! तिमी यस्ता
धत्तुरेको सिफारिस गर्ने ? लौ हेर त यिनीहरुको रेकर्ड ! जिन्दगीमा एउटा पनि राम्रो काम
गरेको छैन । मान्छेले आफ्नो कर्मले गर्दा राम्रो नराम्रो फल पाउने हो । यिनीहरुले
नराम्रो कर्ममात्र गरेको हुँदा जिन्दगी भरी सुख पाउँने गुञ्जायसै छैन । अबदेखि यो
लिँडे ढिपी नगर ।”
शिवजीका कुरा सुनेर
पार्वतीलाई ज्यादै रिश उठ्यो । उनी पनि गन्गनाउन थालिन्,
“आफु पनि कुन गतिलो हो र !
घरमा दुइै पैसाको काम गर्नु छैन । खरानी घस्याछ, गाँजा भाङ्ग घिचेको छ,
लखरलखर हिँड्या छ, लकडाउनको पनि वास्ता छैन
। अर्काको अनुशासन खोज्ने ? आफु दरिद्र भएर पनि तपाईँ जस्तो बेसोमतलाई रात दिन पुजा
गर्ने ती भक्तहरुको तपाईँलाई कुनै चिन्ता छैन ? भक्तलाई दुःख पर्दा मद्दत नगर्ने भए भगवान किन
पुज्ने ?”
पार्वती तातेको देखेर
शिवजीले एक चिलिम ताने, लामो गरी धुवाँ फ्याले र एकटकले अनन्तमा हेर्न थाले ।
पार्वतीको रिश मरेको थिएन । उनी एकोहोरो फलाकि रहेकी थिईन् । शिवजी रिशले आगो
भईसकेका थिए । तर कुनै प्र्रतिकृया नजनाई धुम्धुम्ती बसिरहेका थिए । केही गर्दा
पनि शिवजी टसकामस नभएपछि उनले अन्तिम तुरुपको रुपमा नारीअस्त्र प्रयोग गरिन् ।
पार्वतीको रुवाई शुरु भएपछि शिवजी के गर्नु न के गर्नु भए । उनले सोचे, ‘म त यिनको
गार्जियन हुँ नि । रिश देखाउनु हुँदैन । दक्ष प्रजापतिको राजमहलको सुखसयल त्यागेर
म जास्तो आबारासँग आएकी छ । माईत जाउँ भने ठाउँ छैन । म बाहेक अरु को सहारा छ र
यसको । होस्, जे भए पनि एक पटकलाई यसको जिद्दी मानिदिनु पर्यो ।’
“न रोउन पारु !” शिवजीले फकाउन पार्वतीलाई गालामा म्वाई खाईदिए ।
पार्वतीले पनि ठुस्केकै
भावमा शिवजीको मुण्टो झट्कार्दै भनिन्, “छिः छिः कस्तो गनाएको ! आज बुरुस (ब्रस) पनि
गरेको रहेन छ । पर जानु ।”
“पार्वती ! म भगवान हुँ । मलाई भिसाको दुःख थिएन, अमेरिका युरोप जस्ता जुनसुकै धनी देशमा गएर पनि
आनन्दले बस्न सक्थेँ । बाराक ओबामा त मेरो लकेट नै बोकेर हिँड्थे । तर, तिमी पर्वतकी छोरी
पार्वती ! पर्वत छोडेर अन्त बस्न नसक्ने भएकोेले तिम्रैलागि यही नेपालमा थन्किएर
बसेको छु । तिमी पनि रिशायौ भने मेरो के बाँकी रह्यो र ! ल हिँड । ती नानेकपाक र
नानेकाकलाई बरदान दिएर धनी बनाएर आउँ ।”
पार्वती खुसी भईन् । हतार
हतार निलडेभिडको ब्युटी पार्लरमा गाएर थ्रेडिङ्ग गरिन्, अनुहारमा ओले क्रिम घसिन्, लेकमीको लिपस्टिक दलिन् ।
निलले पैसा लिन मानेन्, “भगवानको बुढीसँग
कल्ले पैसा लिन्छ ? बरु मलाई त ढेउवावाला ग्राहक धेरै आउने बरदान दिनु न !”
पार्वतीलाई कुर्दाकुर्दा
शिवजीलाई झ्वाँक चलिसकेको थियो, “पार्टी भतेरमा हिँडेको हो र सिङ्गारिनु पर्यो ? यी आईमाईलाई मेकअप नगरी
हिँड्दा के हुने हँ ? कामकुरो एकातिर, कुम्लो बोकी ठिमीतिर ।” पार्वतीले शिवजी बोलेको
पटक्कै सुनिनन् । उनलाई आफ्नै धुन थियो, “स्वामी ! मेरो ‘काल्की फेसन’को पर्पल लेहेङ्गा कता
परेछ ?”
शिवजीले बाहिरैबाट कराए, “अस्ति धोएर त्यही
गोदरेज दराज भित्र राखिदिएको छु ।”
गुगल म्यापमा खोज्दै खोज्दै शिव
पार्वती नानेकपाक र नानेकाकभए नजिक पुगेर झाडीमा लुके । त्यती दामी लेहेङ्गा र मेकअपमा सजिएर पनि झाडीमा
लुक्नुपर्दा पार्वतीको मन खिन्न भएको थियो ।
नानेकपाक र नानेकाक सायद
कतैबाट भिख मागेर फर्किएका होलान् । आज मागेको चामलले खिर खाने कुरा नानेकपाकले गर्यो । नानेकाकले भनी, “दिनभर माग्दा
बल्ल एकमाना चामल पाईएको छ । तिमीलाई खिर ! म त पुलाउ खाने हो ।” पोकाको चामलको के
पकाएर खाने भन्ने विषयमा चर्काचर्की बढ्दै गायो । यतिकैमा नानेकाकले चामलको पोकोले
नानेकपाकको मुखैमा बजाई । नानेकपाकले पनि चामलकाे पाेकाे नै ढलमा लगेर
फालिदियो । अब खान केही बचेन, आज पनि भोकै सुत्नु पर्ने भयो । झगडा शान्त भयो ।
यो चर्तिकला हेरिरहेका शिवजीले
फेरी पनि पार्वतीलाई सम्झाउँदै भने, “हेर हिमावत पुत्री ! यी दिशाहिन र कर्मविमुख
मनुवालाई जे दिए पनि अडिँदैन । मैले विधिको नियम पालना गर्नु पर्छ । विधि बिपरित गएर मनलाग्दि गर्याे भनेर भाेलि फेसबुक र ट्युटर मेरा मिमले रङ्गिन्छन् । जाेखिम माेलेर यस्ता पातकीलाई
सुख दिने कुरा छोडि देउ ।” पार्वतीले घ्याक पसार्न छोडिनन् । महादेवको केही लागेन ।
पार्वती त पार्टी ड्रेसमा नै थिईन् । शिवजीले पनि कोट टाई ढाल्काएर नचिनिने बने ।
दुबै जना नानेकपाक र नानेकाकका अघि गए । शिवजीले भने, “हे नानेकपाक र नानेकाक ! तिमीहरु शिवभक्त रहेछौ
। हामी पनि शिव भक्त हौँ । शिवभक्तले दुःख पाएको हामी हेर्नै सक्दैनौँ । त्यसैले
तिमीहरुलाई म तीनवटा मनचिन्ते क्वाईन
(सिक्का) दिन्छु । यी सिक्काहरुको आफ्नै नाम छ – पहिलो प्रजातन्त्रे, दोस्रो लोकतन्त्रे र
तेस्रोको नाम चैँ गणतन्त्रे हो । साँझ परेपछि तिमीलाई चाहिएको एउटा कुरा मनमा सम्झ, एउटा सिक्काको नाम लेउ र
सिक्का फ्याँक, त्यो कुरा तुरुन्त तिमी पाउँछौँ । याद गर एउटा सिक्काले जम्मा एक
पटकमात्र काम गर्छ । त्यसैले जिन्दगीभर पुग्ने सुखसयलका सारा कुरालाई मिलाएर तीन
पटकमा मागि सक्नुपर्छ, नत्र पछुताउनु पर्ला । अहिले हामी जान्छौँ ।”
यिनीहरुले के माग्छन् भनेर पार्वतीलाई खुल्दुली भएछ । उनले शिवजीसँग अनुराेध गरिन् , “हे प्रभु ! यिनीहरुले के माग्दा रहेछन् भन्ने मलाई खुल्दुली भयाे । यति टाढा आईहालियाे, नन्दीकाे हेडलाईट पनि अस्ति हाई भाेल्टेज लेड चिम हालेकाे छ । राती जान सकिहालिन्छ । प्रभु यहीँ लुकेर हेराैँन ।”
दुनियाँ हल्लाउने शिवजीकाे पनि पार्वतीकाे जिद्दीसँग केही लाग्दैन थियाे । उनिहरु त्यहीँ कहीँ लुकेर उनीहरुको क्रियाकलाप नियाल्न थाले । साँझ पर्यो । नानेकपाक र नानेकाक के माग्ने भनेर सल्लाह
गर्न थाले । नानेकपाकले बालुवाटारमा ८ आना घडेरी, चितवनमा २ कट्ठा जग्गा र २
वटा मोबाईल मागौँ भन्यो । नानेकाक मानिन, “त्यस्तो जाबो जग्गा र मोबाईलले के गर्नु ? घरको छाना चुहिने छ, पानी पर्दा रातभरी सुत्न
पाईँदैन । भिख माग्न पैदलै हिँडेर चारगाउँ डुल्नु पर्छ । अघिकी आईमाईले कति राम्रो लुगा लगाएकी थिई ।
आफ्नो त यही जडाउरी पनि १० ठाउँ टालेको छ । म त घर छाउने बण्डलकाबण्डल जस्ता, भिख माग्नजाने पजेरो र
महङ्गो लेहेङ्गा माग्छु ।” यति भनेर नानेकाकले नानेकपाकको हातबाट सिक्का खोसी ।
माग्ने कुरालाई लिएर नानेकाक र नानेकपाकबीच घमासान पर्यो । सिक्का खाेसाखाेस् चल्याे । पार्वतीले लुकेको ठाउँबाट प्रार्थना गरिन्, “हे भगवान !
यिनीहरुलाई बुद्धि देऊ । बरु सत्तरी असी करोड मागुन, लाउडा र वाईडबडी मागुन,
बुढीगण्डकी डिल मागुन, मेलम्ची लम्ब्याउन मागुन् ।
खर्बपति बनुन । यो के लडाईँ गर्या होला । अहिले मादेवलाई रिश उठ्यो भने सबै खरानी हुन्छ ।”
नानेकपाक र नानेकाकको
झगडा अझ बढ्दै गयो । “तँ रण्डोलाई केही माग्न दिन्न, म आफैँ माग्छु ।” भन्दै नानेकाकले फेरी सिक्का छिनी । छिनाछम्टीमा नानेपाकले नानेकाकलाई दुई लात कस्यो, “बोक्सी ! तँलाईमात्र माग्न आउँछ । लु खा ।” रिशको झोँकमा नानेकपाकले पहिलो सिक्का फाल्दै,
“ओई प्रजातन्त्रे सिक्का ! त्यसका बाबुकाे नाकै नाक दे” भन्नमात्र के पाएको थियो – उसको कोठा, आँगन, बाटो, घरको छाना देखि ओछ्यानसम्म नाकै नाकको खात
लाग्यो । टेक्ने ठाउँ छैन, हिँड्ने ठाउँ छैन सबै तिर नाक ....। उसले नानेकाकलाई खोज्यो
अलि पर नाकको डंगुरभित्र पुरिरहेकी रहिछ । उसलाई तानेर निकाल्यो । यसो मुखमा हेरेको
मुखभरी ५० वटा भन्दा बढी नाकै नाक पलाएकाे पाे रहेछ । उ
काहालियो, “ए नानेकाक ! तेरो यो के हाल भयो ? अनुहारभरी नाकै नाक छ त !”
अत्तालिएर नानेकाकले नानेकपाकको
अनुहारमा हेरी । नानेकपाकको अनुहारमा त झन् १०० वटाभन्दा बढी नाक उम्रिसकेकाे रहेछ । एकअर्काकाे अनुहार हेरेर दुबै भक्कानिए । “अब के
गरेर अनुहार देखाउनु, कसरी बाँच्नु ? हे शिव यो के आपत आईपर्यो । हामी जस्तो असल भक्तलाई मात्र किन दुःख
दिन्छौ प्रभु ? तिमी त असाध्यै पापी रहेछौ । तिम्रो सात सन्तानले दुःख पाओस् । तिम्रो
परिवारमा कोरोना लागोस् । औषधी किन्ने पैसा पनि अरुले नै भ्रष्टचार गरेर खाईदियोस्
।” आफ्नो पोईलाई गाली गरेको सुनेर पार्वतीलाई मरुञ्जेल रिश उठ्यो । शिव भने मुसुमुसु
हाँसी रहे । उनीहरुले भगवानलाई गाली गर्न छाडेनन्, “हुन त त्यस्तो ट्यापेलाई भगवान र कुलङ्घरा
पार्वतीलाई देबी मानेपछि दुःख पाईँदैन त ?”
केही बेर रोएपछि
नानेकपाकले बिचार गर्यो, “अर्को सिक्का फ्याँकेर यो नाक चैं हटाउनु पर्यो ।” नाक हटाउने कुरामा
दुबैको चाेचाेमाेचाे मिल्याे । नानेकाकले एउटा सिक्का फ्याँकेर मागी, “हे लोकतन्त्रे
सिक्का ! यी सबै नाकहरु हटाई देऊ ।” उसले भनेर सकेकी पनि थिईन नाकहरु त क्रमशः
उड्दै जान थाले । हेर्दा हेर्दै सबै नाकहरु हराए, कोठा सफा भयो । दुबैले ढुक्कको सास फेरेर
गुन्द्रीमाथि थ्याच्च बसे ।
खुईय गर्दै नानेकाकले भनी, “कस्तो विपत
आईपरेको होला ! अनुहारभरी नाक पलाउँदा त कस्तो बिरुप देखिँदो रहेछ ।” यति भनेर
नानेकपाकको अनुहारमा सुम्सुम्याउन थाली । जब उसको हात नाक हुने ठाउँमा पुग्यो ऊ
चिच्याएर कराई, “खै त तिम्रो आफ्नो नाक ? यहाँ त ओडारमात्र छ त ?” नानेकपाकले नानेकाकलाई हेर्यो, उसको त नाक हुने ठाउँमा
झन् ठूलो भ्वाङ्ग परेको रहेछ । नाकबिनाका दुबैले एक अर्कालाई हेर्दै छाति पिटीपिटी
रुन थाले, “हामीलाई शिवभक्त भनेर जालमा फँसाए । ती डाकाहरुले हाम्रो सुख चयन देख्न नसकेका
। कति हँसिलो खुसिलो जिन्दगी थियो हाम्रो । बिनापत्तमा खर्बपति हुने लोभ देखाईदिए ।
हामीलाई घडेरी, मोबाईल, गाडी किन चाहिएको थियो र? भिख मागेर आरामले खान पुगेको नै थियो । हे भगवान
! अब के गरुँ ? कसरी मुख देखाउनु !”
नानेकपाकले भन्यो, “तैँले माग्ने बेलामा
ध्यान दिनु पर्दैन ? ‘सबै नाक जा’ भनिस्, अनि आफ्नो नाक पनि गयो । माग्न पनि ढङ्ग
चाहिन्छ । बुद्धि नहुनेले माग्यो भने दुनियाले दुःख पाउँछ भनेको यही हो ।” आफुलाई
इन्सल्ट गरेकोमा नानेकाकलाई साह्रै रिश उठ्यो, “को हो पहिला नाक माग्ने? मैले त तिमीले बिगारेको सपार्न
खोजेको पो हो त । तिमी जस्तो भँडुवालाई बनाउन र सच्याउन त के आउँछ र ! जे छोयो त्यही खत्तम ।
तिमीलाई त दुईतिहाई नै दियो भने दुईकौडीको काम गर्न सक्दैनौ । के फुर्ती लाउँछौ ?” यसै कुरालाई लिएर
दुबैको घमासान भयो । नानेकपाकको गालामा कोतरेर रक्त्याम्य बनाईदिई भने नानेकाकको जगल्टा
भुत्ल्याएर भुईँभरी छरपस्ट भयो । लडाईँ गरेर थाके पछि दुबै भुईँमा टक्र्याकटुक्रुक्क बसे
। नाक हुने टोड्काबाट पानी बगिरहेको थियो ।
“खै लेऊ त्यो अन्तिम सिक्का । आफ्नाे आफ्नाे पुरानै नाक मागौँ ।” नानेकपाकले आज्ञाकारी भएर अन्तिम सिक्का पनि नानेकाकलाई दिँदै भन्याे, “अब माग्दा चैँ
हामी दुईजनाको अनुहारमा भएको एकएकवटा नाक पहिलाको जस्तै भएर आईदियोस् भनेर माग नि
!” उसले नानेकपाकको टोड्के अनुहारमा बतासे नजरले हेरी ।
नानेकाकले तेस्रो सिक्का
फाल्दै भनी, “हे गणतन्त्रे सिक्के प्रभु ! अब हामीलाई धेरै दुःख नदेऊ । हामी दुईजनाको
अनुहारमा भएको एकएकवटा नाक पहिलाको जस्तै भएर आईदियोस् ।”
बरदान माग्नमात्र के
पाएको थियो नानेकपाक र नानेकाकको ओडार पुरिन थाल्यो र बिस्तारै नाक पलाएर पहिलाको
जस्तै भयो । दुबैले एक अर्काको अनुहार हेरे । सबै प्रतिगमन सच्चिसकेको रहेछ ।
ढुक्कको सास फेरे । अनुहार उज्यालो भएर आयो । ताकत सकिएका प्रजातन्त्रे, लोकतन्त्रे र गणतन्त्रे
सिक्काहरु उद्धारकाे याचना गर्दै भुईँमा लडिरेको थिए । उनीहरुले त्यता हेर्न पनि चाहेनन् र त्यसलाई फेरि
सम्हाल्न पनि चाहेनन् ।
शिवजीले पार्वतीलाई भने, “देख्यौ सतीदेवी ! मैले तिमीलाई अघि नै भनेको होईन – यिनले जिन्दगीमा एउटा पनि राम्रो काम गरेका
छैनन् । मान्छेले आफ्नो कर्मले गर्दा राम्रो नराम्रो फल पाउने हो । नराम्रो
कर्ममात्र गरेको हुँदा यिनलाई जिन्दगी भर सुख पाउँने हक छैन । मैले गरेर केही हुनेवाला छैन । हिँड जाउँ, गणेश उठ्यो भने खाटबाट
लड्छ ।”
पार्वतीको मन मानेन छ ।
जाने बेलामा एक पटक बोलाएर जानु पर्यो भन्ने ठानिछन् । मानिस नचिन्ने अँध्यारो भईसकेको थियो ।
पार्वतीले बोलाईन्, “ए नानेकपाक !” कसैले जवाफ दिएन । फेरि उनले नानेकाकलाई पनि
कराईन, ऊ पनि बोलिन ।
“हे प्रभु ! के भयो ? यिनीहरु त मरे कि क्या हो?”
शिवजीले भने, “उनीहरुको नाम
लिएर बोलाउन पार्वती !”
“प्रभु उनीहरुको नाम नै नानेकपाक र नानेकाक हो ।”
“हे ऊमा ! अघि उनीहरुले नाक जाओस् भनेर माग्दा हाम्रो नामको नाक चैँ रहोस् भनेर
भनेन् । अब उनीहरुको नाममा रहेको ‘ना’ र ‘क’ हटिसक्यो । ना र क हटाएर बोलाउ त ।”
पार्वतीले बोलाईन, “ए नेकपा र नेका !
हामी गयौँ है !”
२५ बैसाख २०७७
भक्तपुर ।