Tuesday, October 17, 2017

फाटेको मन


मनै धमिलिए पछि दिलको आखा छेक्ने रैछ
जति जति नजिक भो खोटमात्रै देख्ने रैछ ।
भत्किएको विश्वासलाई किन अब सङ्गालु म !
रङ्गमञ्च सजाएर चोटमाथी टेक्ने रैछ ।
यात्रा ठानी जिन्दगि यो डोर्‍याएँ र थाकिसके
पिरतिको सिरेटोले नराम्ररी सेक्ने रैछ ।
लिलामी छ बजारमा मोलमोलाई चलेको छ
मुटु, मन, हृदय त हातहातै बिक्ने रैछ !

जति चोट खेपे पनि जति खोट मेटे पनि
चुनी चुनी खुसीहरु आफन्तीले झिक्ने रैछ ।
कुन कलेज पढ्यो भने कुन पाठ घोक्यो भने-
भनिदेउ कसैले त-  माया थेग्न सिक्ने रैछ !

३० असोज, २०७४
काठमाडौ ।

जाने बात नगर


यो काखको कुरा गर यो साथको कुरा गर
अबेर भो त के भयो लौ जाने बात नगर ।

मुहार शान्त छ कति त्यो भाव बुझ्न बाँकी छ
ती चल्मलाउने औंलाले कहानी लेख्न बाकी छ
छिपाएका यी मनका कुराहरु कति हुनन्
नसुनि छुट्न गाह्रो भो लौ जाने बात नगर ।।

नजानेर वा जानेर सर्वस्व तिमी ठानेर
घुम्ति र भञ्ज्याङ्ममा कसम खान बाँकी छ ।
जनम् जनम् यो साथको करार पत्र छापेर
मुटुको सही बाँकी छ लौ जाने बात नगर ।।

यो काखको कुरा गर यो साथको कुरा गर
अबेर भो त के भयो लौ जाने बात नगर ।।

१ कार्तिक, २०७४
काठमाण्डु ।