Monday, June 26, 2017

युवाको धन्यवाद खाउ सरकार !

२०७४ असार ११ गते ३ वटा कृषि फारम अवलोकन गरियो । पहिलो २ फारम साना किसान बैंकको पहलमा इजरायलमा  कृषि तालिम लिएर फर्किएका २ युवाको र अर्को फारम चै १०औं वर्ष इजरायलमा श्रम बगाएर फर्किएका कृषि उद्यमी खोजराजजीको । कृषिमा युवाहरुको स्वस्फुर्त प्रयासहरु हेर्दा युवाहरु एकातर्फ र सरकार चै अर्कै तर्फ दौडिरहेको हो कि जस्तो पनि लाग्यो । मैले यसो भन्नुमा केही तथ्यहरु छन । पहिला म ती उत्साही कर्मशील युवाका पौरखलाई सम्मान गर्दै उनीहरुको परियोजनालाई संक्षिप्त प्रस्तुत गर्छु ।

१. श्रीकृष्ण सिलवाल, वर्ष २४, सलाङ्ग, धादिङ ।
साना किसान विकास बैंकको कार्यक्रम अन्तरगत ईजरायलको आराभा स्थित कृषि तालिम केन्द्रमा तालिम लिई फर्किएका श्री सिल्वालले सितापाइलामा २० रोपनी जग्गा ५ वर्षको लागि प्रतिरोपनी प्रतिवर्ष रु. २० हजारको दरमा लिजमा लिए । बाँस र प्लास्टिक प्रयोग गरी २० वटा टनेल तयार गरे । गोल्भेडा र अन्य तरकारी  लगाई सक्दा रु. १५ लाख लगानी पुग्यो । तीन महिनामा नै करिब रु. ४ लाखको आम्दानी लिई सकेकाछन् । यो बर्ष रु. १६ लाख बढी कमाउने र सम्पूर्ण लगानी उठाउने उनको योजना छ । उनले आफुमात्र हैन, ५ जनालाई रोजगारी पनि दिएका छन । उनको परिश्रम, योजना र उनको दृढ निश्चय हेर्दा कुनै पनि नेपाली युवाले विदेस जान आवश्यक रहेनछ भन्ने नै देखिन्छ ।
श्रीकृष्ण सिल्वाल 
बिहान ४ः३० बजे उनी फारममा पुगिसक्छन् । ९ः०० बजे सम्ममा सबै व्यवस्थापन र अति आवश्यक कार्य सकेर १०ः०० बजे शंकरदेव कलेज पुग्छन् । कमर्सबाट मास्टर्स गर्दैछन् । उनका ५ जना सहयोगी कामदार छन् । उनको अनुपस्थितिमा कामदारहरुले नै सबै काम गर्छन् । दिउँसो ३ः०० बजे श्रीकृष्ण फारममा आई पुग्छन् र कहिले काहीँत ९ः०० बजे रात सम्म त्यहीँ नै काम गरिरहेका हुन्छन् । उनका उत्पादन बिक्री गर्न कहीँ जानु परेको छैन व्यापारीहरु फारम मै आएर सबै लैजान्छन् । उधारो हुँदैन । अविवाहित श्रीकृष्णले घरबार परिवार छोडेर १०० किमि टाढा जीवनको नयाँ अध्याय शुरु गरेका छन्, दुःख गरेकाछन्, प्रफुल्ल रहेकाछन् ।
कृषि व्यापार जस्तो होईन, यो त शुद्ध विज्ञान हो । विज्ञानमा गहन अध्ययन र अनुसन्धान आवश्यक हुन्छ । उनले कृषि पढेका छैनन् । साना किसान विकास बैंकले ईजरायलमा दिलाएको छोटो तालिमको भरमा कृषि गर्न ताम्सिएका छन् र आफ्नो सारा सम्पत्ति नै दाउमा लगाएर लगानी समेत गरेका छन् ।

२. लेखमान तामाङ्ग, २९ वर्ष, मैदी, धादिङ
आफ्नी श्रीमती र वच्चाहरु सहित सानो गोठ जस्तो छाप्रो बनाएर काठमाडौंको उत्तरी पाखा जितपुरफेदीमा ५ रोपनी जग्गा भाडामा लिई तरकारी खेति गर्दै आएका लेखमानले व्यावसायिक तरकारी खेति शुरु गरेको १ बर्ष नाघ्यो । साना किसान विकास बैंकको सहयोगमा ईजरायलमा कृषि तालिम लिई फर्किए पछि उनले यो पेशा अपनाएका छन् । रु. ४ लाख लगानी गरी तरकारी व्यवसाय गरेका तामाङले गत वर्ष टनेल बनाउँदाको लगानी उठाईसकेका छन् । वार्षिक रु. ५ लाखको कमाई हुने आशा राखेका लेखमानको सिङ्गो परिवार रातदिन यही खेतिमा लागेको छ र कहिले काहीँ कामदार पनि लगाउनु पर्ने कुरा उनी बताउँछन् ।
लेखमान तामांग 
यहाँ टमाटर नै लाउनु पर्छ भनेर कसरी थाहापाउनु भयो भन्दा लेखमानले अरुले पनि त्यही गरेकोले हुन्छ होला भनेर आफुले पनि गरेको बताए । अथवा, फसल छनौटको वैज्ञानिक विधि माटो परीक्षण आदि केही भएको रहेनछ । माछापोखरीमा बीउ पाईने पसल रहेछ । उसले राम्रो बीउ हो भने पछि ल्याउने गरेको बताए लेखमानले । अनि कुनै बालीमा कुनै समस्या आयो भने त्यही पसलेले औषधी पनि दिने रहेछ । कृषि प्राविधिकहरुको बारेमा धेरै ज्ञान नभएको स्वकारे ।
“इजरायलमा तालिम लिन नपाएको भए म सायद अरबमा भेडा चराउँदै हुने थिएँ होला” भन्ने लेखमान अरु जग्गा लिजमा लिएर २० रोपनी पुर्याउने सोचमा छन् । तर, २० रोपनीलाई आवश्यक पर्ने लगानी गर्ने उनको सामर्थ्य छैन र बैंकबाट त्यो मात्रामा कर्जा पाउन उनको धितो छैन, भन्छन्– “गर्नु त कति हो कति आँट छ नि ! भगवानले पो गरीब बनाएर ल्यायो त । कुनै दिन त होला नि !” अहिले जति भएको छ त्यसैमा पनि उनी दंग छन् ।

३. खोजराज कटुवाल, हाल काठमाडौं ।
खोजराज कटुवाल आवद्ध मह एग्रीकल्चर 
हामीले धेरै वर्ष अघि देखि “मह एग्रिकल्चर प्रा.लि.” को नाम सुनेका थियौं । नेपालका मुर्धन्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यको नाम जोडिएको उक्त आधुनिक कृषि फारम करिब २० रोपनी जग्गामा फैलिएको रहेछ । खोजराजजीसँग भेट हुन नसकेकोले त्यसको लगानी र प्रतिफल वा अन्य विस्तृत जानकारी पाउन सकिएन । तर उहाँले धेरै वर्ष ईजरायलको कृषिमा बगाएको परिश्रम र सिकेको प्राविधिक सीपलाई प्रयोग गरेको प्रष्ट देखिन्छ । पछिल्ला समयमा उहाँले कृषि सामाग्रीको व्यापारमा बढी समय दिनु परेकोले पनि हुन सक्छ, फारम व्यवस्थापनमा त्यति ध्यान पुगेको देखिएन । तर उहाँले जुन साहासका साथ लगानी गर्नु भयो, त्यो श्रद्धा योग्य छ ।


हामीले अवलोकनका क्रममा केही साझा समस्याहरु देख्यौं, थाहा छैन या हामीले देखेको समस्या मात्र हो कि सबैलाई यस्तै लाग्छ ।
१. श्रीकृष्णले सारा सम्पत्ति खन्याएर कृषि पेशा सुरु गरे,
तर समय निकालेर आफू भने कमर्समा मास्टर गर्दै छन । उनले अपनाएको पेशा कृषि, तर पढाइ कमर्स । कृषि किन पढेनन उनले ? आफ्नो कृषि पेशा सम्हाल्दै कृषि पढ्न पाउने भएको भए के उनले कमर्स पढ्ने थिए होला ? के सरकारलाई पनि कृषि पेशा विज्ञान नभएर अनपढले समेत सजिलै गर्न सक्ने कर्म हो भन्ने लाग्छ ? यदि कृषि विज्ञान हो भन्ने लाग्छ भने कृषि पढाईने शिक्षालय किन १ प्रतिसत भन्दा कम संख्यामा ? श्रीकृष्ण जस्ता युवाले खेति गर्दै कृषि कहिले पढ्न पाउने ?
२. लेखमानले सामान्य तालिम त लिएर आए । तर, यहाँ त्यसले निरन्तरता पाएन । पसलेले दिएको बीउ र प्राविधिक सल्लाह बाहेक उनले कृषि प्राविधिकको सहयोग सोचेका पनि छैनन् । सरकारले झण्डै रु. १० अर्ब कृषि क्षेत्रमा कर्मचारी र प्रशासनिक खर्च गर्छ । ती प्राविधिकले लेखमान जस्तालाई सहयोग कहिले पु-याउने?
३.  भर्खरै काठमाडौंको एक गाई फारममा आगो लागेर सयौं गाई जलेर मरेको हृृदय विदारक घटना आलै छ । बाँस र सामान्य प्लाष्टिकको टनलेमा बीसौंलाखको लगानी गरेका छन् युवाले । प्राकृतिक प्रकोप र भवितव्य केही परेमा बीमाको व्यवस्था छैन । केही घटिहालेमा उनीहरुका ३ पुस्ताले यो पेशा अपनाउने छैनन् ।
४. खोजराजजीको थाहा हुन सकेन । अन्य दुईलाई सरकारबाट अहिलेसम्म कुनै किसिमको अनुदान प्राप्त भएको रहेनछ । रु. ३० अर्ब भन्दा बढीको बजेट सरकारले कृषिमा विनियोजन गरेको छ भन्ने कुरासँग उनीहरुलाई कुनै जानकारी र मतलब पनि रहेनछ । निव्र्याजी कृषि ऋण, निःशुल्क सिंचाई, सरकारको तर्फबाट कृषि बीमा र बजार सम्मको ढुवानी, तुरुन्त कृषि प्राविधिक सेवा र विभिन्न अनुदान पाएको भारतीय कृषि उत्पादनसँग प्रतिस्पर्धा गर्न अघिबढेका यी बिचरा निरिह युवाहरुको उत्साह कायम राख्न कसले चासो देखाउला !
५. कृषिलाई प्रविधि युक्त बनाउन आफैं उदाहरणीय किसान भई अगुवाई गर्ने खोजराज कटुवाललाई म एक जुझारु व्यक्तित्व ठान्दछु । कृषिको रुपन्तरणमा उहाँको योगदान छ । तर, उहाँको फारम हेर्दा उति ध्यान दिएको जस्तो लागेन । बरु भरपर्दो कृषि सामाग्रीहरुको व्यापारमा उहाँ लागेको बताईयो । २० रोपनीमा आधुनिक टनेल निर्माण गरी ड्रिप ईरिगेशन र उन्नत प्रविधि सहितको कृषि कर्म गर्ने खोजराजजीलाई कुन तत्वले व्यापार तर्फ तान्यो वा उहाँलाई किन कृषिमा लगाव घट्न गयो ? के कृषि पेशा लामो समयसम्म टिक्न नसक्ने नै हो ? किन कृषिमा युवाहरु लामो समय अडिन सकेनन् ? अध्ययन हुन आवश्यक छ कि छैन ?
नेपाल कुखुराको मासुमा आत्मा निर्भरताको आवस्थमा आईपुगेको मानिन्छ । १५ अर्व रुपैयाँको वार्षिक रुपमा मासुजन्य पदार्थ आयात हुने मुलुकमा साना किसान विकास बैंकले विगत ५ वर्ष  देखि मासुजन्य पदार्थको उत्पादन वृद्धिमा गरेको प्रयासले ठुलो सफलता दिलाएको छ । फलफुल त अहिले ९५ प्रतिसत नै आयात हुन्छ भने खाने तेलमात्र पनि २०औं अर्बको आयात हुन्छ । प्रत्येक सिजनमा आलु फलाउन सक्ने भुगोल भएको यो मुलुकमा आलु नै मात्र पनि अर्बौको आयात गरिन्छ । सरकारको कुनै लगानी नै नभई ईजरायलको सानो अवसर खोलेको भरमा हजारौं युवाहरु कृषिमा समर्पित भएर लागेका छन् । साना किसानका छोराछोरीका लागि सहज कृषि उच्चशिक्षा, कृषि अनुदान वितरण र पुँजीको व्यवस्था गरी सरकारले साना किसान विकास बैंकलाई परिचालन गर्ने हो भने निश्ति अवधिमा निश्चित कृषि उत्पादनमा आत्मानिर्भर बनाउन सकिने सम्भावना देखिन्छ ।
हिजोको सम्झन्छु, गफ गरुञ्जेल लेखमान तामाङ्गले सरकारलाई बारम्बार धन्यवाद दिई रहे । सरकारलाई यसरी किन धन्यवाद दिएको भनी मैले सोधेँ । सरकारबाट हालसम्म कुनै किसिमको सहयोग नपाएका उनको निश्चल जवाफले भावुक बनायो ।
“सरकारले त हो नि साना किसान सहकारी बनायो, साना किसान बैंक बनायो । अनि साना किसान बैंकले इजरायल पठायो । नसोचेको पैसा पनि कमाएँ । जिन्दगी भरलाई पुग्ने कृषिको ज्ञान र सीप पनि कमाएर ल्याएँ । सरकारले नगरेको भए कहाँ हुन्थ्यो ?” साँच्चै सरकारले यस्तो केही गरेको भए ?

१२ असार, २०७४ 
काठमाण्डू। 

Monday, June 19, 2017

अब गोर्खाली आतंककारी पनि भए !

‘गोर्खा’ शब्दलाई भुगोलसँगमात्र जोडेर हेर्नु हुँदैन । यो त शताब्दियौं देखि उत्तर हिमवर्त क्षेत्रमा विकास भएको पहाडी संस्कृति हो र यसले विविधतापूर्ण भाषिक/जातीय/परम्परागत समूहहरुलाई साझा पहिचान दिएको छ । विविधता भित्र सम्पर्क भाषाको रुपमा नेपाली भाषाको विकास भयो र गोर्खाहरु नेपाली भाषी भए, यद्धपी उनीहरुका सयौं मातृभाषाहरु छँदैछन् । विभिन्न धर्म मान्छन् तर आफ्नै साझा पर्वहरु विका
स गरेकाछन् । ढिँडो, गुन्द्रक, सारांगी, फेरि, टोपीमात्र होईन गोर्खालीहरुको साझा पहिचान अरु पनि छ जस्तैः सोझा, बहादुर, ईमान्दार, वफादार, अनुशासित र कर्तव्यपरायण । सुरबीर गोर्खाको सम्बन्धमा सिङ्गापुरका निर्माता लि क्वान युले मुक्त कण्ठले प्रशंसा गरेकाछन् । हिटलरले आफुसँग गोर्खा नभएकोले हार्नु परेको बताएका थिए । भारतीय सेनाका फिल्ड मार्शल साम मानेक्ष्यले भनेको प्रशिद्ध भनाई छ, “यदि कसैले मलाई मर्न डर लाग्दैन भन्छ भने कि उसले ढाँटिरहेको छ, कि भने ऊ गोर्खा हो ।”

जेठो गोर्खाली – पहिचान संकटमा


डेभीड अक्टरलोनी 
जसरी दक्षिण एशियाली खण्डमा पञ्जाबी, गुजराती, आसामी, मराठी, बंगाली आदिको बसोबास आदिकाल देखि भई आएको छ त्यसै गरी बर्मादेखि देहरादुनसम्म हिमाली खण्डमा गोर्खा जातिको शदियौंदेखिको बसोबास रहिआएको छ । साँच्चै भनौं भने मानव वस्ति नै न्यून भएका यी दुर्गम पहाडी क्षेत्रमा गोर्खाहरुले आफ्नो पौरख र बहादुरीले आवदी गरे । यो ईतिहास २०० वर्ष भन्दा पनि अघि देखिको हो । आज हामी जसलाई ईण्डिया भन्छौं त्यहाँ ईष्ट ईण्डिया कम्पनी (ब्रिटिश सरकार) ले कब्जा जमाउनु अघि हजारौं राज्य थिए ।
ईण्डिया भन्ने देश त सन् १९४७ मा जन्मियो, तर गोर्खाहरुको अदम्य सहास र विरताबाट कायल भएका सर डेभिड अक्टरलोनीले गोर्खा पल्टन बनाउन सन् १८१६ देखि नै सुरु गरेका थिए । यस अर्थमा यस भुखण्डमा गोर्खाको विरतापूर्ण ईतिहास कमसेकम सिङ्गो राष्ट्र ईण्डिया भन्दा कम्तिमा पनि १३१ वर्ष पुरानो त पक्का छ । ईण्डिया भन्दा जेठो गोर्खा आज ईण्डिया मै पहिचान विहिन भई एक बंगाली स्टेटको अधिनायकत्वको आगोमा जलिरहेको छ ।

वफादारीको बदला अपमान 

ममता बैनर्जी 
सन् १८१४ मा गोर्खालीराज्य नेपालको सिमाना पूर्वमा टिष्टा देखि पश्चिममा कांगडा र दक्षिणमा लखनउ छेउसम्म २ लाख ५२ हजार वर्ग किलोमिटरमा फैलिएको थियो । ब्रिटिशसँगको पराजय पश्चात सन् १८१६ मा सुगौली सन्धी भयो । यो सन्धीले नेपालको सिमाना १ लाख ४७ हजार वर्ग किलोमिटरमा सिमित गरिदियो । यो सन्धीले गोर्खाली भुभाग ४२ प्रतिसत ब्रिटिशको हातमा र ५८ प्रतिसत नेपालको रुपमा रहन पुग्यो । राति आ
फ्नै प्यारो गोर्खा भुमिमा सुतेका गोर्खालीहरु बिहान उठ्दा कुनै अपराध बिना नै ब्रिटिश ईण्डियन भई सकेका थिए । काका नेपालमा थियो भतिजोको घर ईण्डियन खण्डमा परिसकेको थियो । माईती मावली बाँडिका थिए । मुलुक नै अलग भईसकेको थियो । गोर्खालीहरु नै दुईभागमा बाँडिए– नेपाली गोर्खाली र भारतीय गोर्खाली । त्यसरी विल्लिबाठ भई भारत तर्फ परेका गोर्खाले फेरि पनि आफ्नो वफादारिता कायम राखे, ईण्डियालाई नै आफ्नो मातृभुमि बनाए । त्यो वफादारितामा ब्रिटिशलाई कुनै शंका थिएन । ईष्ट ईण्डिया कम्पनीको समयमा नै गोर्खा रेजिमेण्टको संख्या १० पुगेको थियो । स्वतन्त्रताका समयमा अर्को एक थपिएर ११ वटा रेजिमेण्ट बनाईए जसमध्ये ७ (जी.आर.१,३,४,५,८,९ र केही पछि जी.आर. ११) वटा भारतीय सेनाका हिस्सा भए । अधिकांश भारतीय गोर्खालीहरु तिनै सेना वा सेनाका सन्तान हुन् । यदि अहिले भारतीय गोर्खाको कुनै परिवारबाट सेनामा छैनन् भने पनि उसका बाबु बाजेले थापेका बहादुरी र वफादारीका मेडलहरु गर्वका साथ भित्तामा टाँगेको देख्न पाउनु हुनेछ ।
बाबा रामदेवको समर्थन 
अंग्रेज विरुद्ध स्वराजको लडाईँमा ज्यान गुमाउने हजारौं गोर्खाहरुको सूची भारत सरकारसँग अहिले पनि सुरक्षित छ । आतंकावाद विरुद्धका हरेक मोर्चा, सीमा शुरक्षाका विभिन्न जिम्मेवारी, युद्ध आदिमा भारतको सान भएर उभिएको गोर्खा रेजिमेण्टले २०१५ मा २०० वर्ष पुरा गर्यो  । १९४७–४८ को उरी युद्ध, लद्दाखको १९६२ को लडाईँ, जम्मु–कश्मिरको १९६५ र १९७१ को लडाईं, कारगिलको युद्ध कुन भारतीय युद्धमा गोर्खालीले मुलुकको शीर ठाडो पारेर आफुलाई शहिद बनाएनन् ? भारतीय सेनाको सर्वोच्च सम्मान परमबीर चक्र ३/३ पटक पाउने रेकर्ड गोर्खा सेनाले प्राप्त गरेको छ । ३३ वटा महाबीर चक्र र ८४ वटा बीर चक्र पाउने भारतीय गोर्खाहरुले देशभक्तिको अर्को के उदाहरण दिनु पर्ने ? मुलुकको लागि आफ्नो ज्यानलाई कुनै महत्व नदिई शहिद हुन तयार हुने गोर्खा जातिको कुन समर्पणमा ममता बेनरजीलाई शंका भयो र आतंककारी भनियो ? यो बीर र वफादार जातिलाई आतंककारीको बिल्ला लगाउने ममता बेनर्जी राष्ट्रद्रोही हुन् कि होईनन् ? घर भित्र बेघर भएका गोर्खाहरुलाई तोड्न र टुक्राउन ममताले गरेका असंख्य असफल प्रयासबाट हतास भएपछि अन्तिम अस्त्रको रुपमा उनले भारतीय गोर्खालाई ‘आतंककारी’ जस्तो संवेदनशील मुद्दामा फसाउने प्रयास गरिन् । मुलुकको लागि आफ्नो ज्यानलाई कुनै महत्व नदिई शहिद हुन तयार हुने गोर्खा जातिलाई आतंककारी भनेर ममताले गरेको घोर पापको प्रायश्चित अब बंगालबाट स्वतन्त्र गोर्खाल्याण्ड भन्दा अर्को हुनै सक्दैन । 
सन् १९४७ मा भारत स्वतन्त्र हुँदा पञ्जाब, बंगाल, कश्मिर आदि दुई देशमा बाँडिए । पाकिस्तान र भारतमा परेको पञ्जब र कश्मिरले दुबै देशमा प्रदेशको हैसियत प्राप्त गरेकाछन् । बंगालीहरुको भारतीय खण्डमा पश्चिम बंगाल छ भने अर्को खण्ड त स्वतन्त्र बंगलादेश नै भई हाल्यो । मुलुकको सिमाना सुरक्षा गरिदिने भारतीय हिस्सामा परेको खण्डका गोर्खाले भने आफ्नो पहिचान स्थापित गर्न २०० वर्ष देखि संघर्ष जारी राख्नु परेको छ । बंगाली, आसामी, पञ्जाबी, कश्मिरी आदिको पहिचान र जातीय सुरक्षामा ज्यान समर्पण गर्ने गोर्खाहरुले आफ्नो पहिचानको लागि शान्तिपूर्ण माग राख्दा बंगाली मुख्यमन्त्रीले आतंककारी पदबाट विभुषित गरेकिछन् ।

षडयन्त्रको मारमा गोर्खा

भारतमा जसले आफुलाई गोर्खा भन्छ उनीहरुका भाषा फरक छन्, भेषभुषा फरक छ, धर्म फरक छन्, स्वरुप फरक (आर्य र मंगोल दुबै) छ, कतिपय संस्कार र संस्कृति पनि फरक छन् । यिनीहरु कसरी एउटै ‘गोर्खा’ समुदाय भयो त भन्ने प्रश्न उठ्न सक्छ । भुगोल त छँदैछ, साझा एकताको अर्को महत्वपूर्ण सुत्र भाषा रहेछ । सबै गोर्खाको साझा सम्पर्क भाषा नेपाली हो । भारतीय गोर्खाहरु पनि नेपालमा जस्तै विभिन्न जातजातिमा विभक्त छन्, तर उनीहरु आफुलाई गोर्खा जाति मान्छन् र त्यस पछिका उपजातिहरु विभिन्न थर/जातहरुलाई लिन्छन् । भारतीय गोर्खाको जस्तो यो जातीय एकता विश्वमा नै ज्यादै कम देख्न पाईन्छ । यो एकता तोड्न विभिन्न कालखण्डमा विभिन्न षडयन्त्रहरु नभएका होईनन् । उदाहरण स्वरुप सन् १९५१ को जनगणनालाई लिन सकिन्छ । तत्कालिन जिल्ला जनगणना अधिकृत ए. मित्राले दार्जिलिङ्गमा नेपाली भाषीको संख्या १९.९६% भएको तथ्यांक सार्वजनिक गरे । उनले बाहुन, क्षेत्री, कामी, दमाई र सार्कीलाई मात्र नेपाली भाषीको वर्गमा राखेर दार्जिलिङ्गमा नेपाली भाषी अल्पसंख्यक रहेको हुनाले कुनै खास महत्व दिनु नपर्ने सोच बनाउन आधार खडा गरिदिए । पहिलो सम्पर्क भाषा नेपाली नै हुने लिम्बु, राई, मगर, तामाङ्ग, शेर्पा, नेवार, लेप्चा आदिलाई छुट्टाछट्टै श्रेणीमा राखेर झिनो जनसंख्यामा प्रस्तुत गरियो । जसले गर्दा तथ्याङ्कबाट गोर्खाप्रदेशको मागको कुनै औचित्य देखिएन । जबकि सिङ्गो दार्जिलिङ्ग जिल्लामा गोर्खाहरुको कुल संख्या ६६% रहेको थियो । खर्साङ्ग निवासी गुरुङ्ग थर भएकी एक वृद्ध रिटायर्ड शिक्षिकाबाट यस पंक्तिकारले सुनेको कुरा “उक्त जनगणनाका समयमा गोर्खा समुदायमा जातीय विद्वेश फैलाईएको र नेपाली भाषालाई नभएर आफ्नो मातृभाषालाई जनगणनामा दर्ता गराउने अभियान चलाईएको थियो ।” पछि गोर्खाले यो चाल थाहा पाए, एक ढिक्का भए, तर ढिला भई सकेको थियो ।
भनिन्छ सिलिगुडी घाँटीको संवेदनशिलता देखाएर अन्त्यमा भारत सरकार हरेक पटक गोर्खालीको मागको विपक्षमा उत्रन्छ । कहिले काहीँ त यसमा नेपाल फ्याक्टर पनि जोड्ने गरिन्छ । भारतीय खुफिया निकायहरुलाई संकेत गर्दै यस किसिमका हल्लाहरु चलाईने गरिएकोछ, सत्यता उनैले जानुन् । आफ्नो देशको शुरक्षा जिम्मा लिएका गोर्खालाई दुई टुक्रा जमिन माग्दा भने सँधै शंकामात्र गर्ने भारत सरकारको व्यवहारले दुरगामीरुपमा जनस्तरमा विष घोल्दै जाने निश्चित छ ।
ममतालाई गोर्खाको एकता तोड्न सजिलो पक्कै थिएन । नेपालमा जातीय संवेदनशीलता भड्किएर आन्तरिक एकता कमजोर भएको देखेको बंगाल सरकारले दार्जिलिङ्ग क्षेत्रमा पनि जातीय विभाजनलाई एक औजारको रुपमा प्रयोग ग¥यो । लिम्बु, राई, तमाङ्ग, मगर, गुरुङ्ग आदि जस्ता जातीय विकास बोर्डहरु गठन गरी करोडौं बजेटको सप्कोमा लटपटाउने चाल चल्यो । दर्जनौं पार्टी खोल्न अप्रत्यक्ष भुमिका खेलेर गोर्खाहरुलाई राजनीतिक रुपमा कमजोर बनाउने खेल खेल्यो । यी पार्टीहरुबीचमा पानीबाराबरको स्थिति निर्माण गर्नमा अप्रत्यक्ष तत्वहरुको बलियो भुमिका रहेको चर्चाबारम्बार आउने गर्छ ।
गोर्खाहरु कहिले आत्मदम्भ र कहिले विभिन्न षडयन्त्रका कारण आफैं कमजोर हुने गरेको तितो यथार्थ पनि छुपाउन आवश्यक छैन । तर जब फेरी गोर्खा जाति माथि बंगाल सरकारले अर्को अत्याचार थोपर्छ, उनीहरु एक जुट भएका धेरै ईतिहासहरु छन् । सोझा गोर्खाहरुको बहादुरी, ईमान्दारिता, वफादारिता, अनुशासन र कर्तव्यपरायणताको सबै भन्दा बढी उपयोग गर्ने भारत र ब्रिटिश नै हुन । ब्रिटेन एउटा पुरानो प्रजातान्त्रिक मुलुकमा त नागरिक हैसियत पाउन गोर्खालीले लामो कानूनी लडाईँ लड्नु पर्यो भने भारतमा त्यो हदको जिम्मेवारी बोध हुन कहाँ सजिलो होला र ? फुटाउ र राज गरको ब्रिटिश मन्त्रणाबाट दिक्षित देशमा भारतीय गोर्खालीहरुको चेत नखुले अझै थुप्रै टुक्रामा विभाजन हुन बाँकी नै छ र अझै धेरै दुःख पाउन पनि बाँकी नै छ ।

गोर्खालाई पूर्ण बेवास्ता

डम्बर सिंह गुरुङ्ग 
२००० को नोभेम्बरमा मात्र ईण्डियाले २६औं, २७औं र २८औं प्रदेशको रुपमा छत्तिसगढ, उत्तराखण्ड र झारखण्डलाई मान्यता दिईयो भने २९औं राज्यको रुपमा तेलङ्गनालाई २०१४ को जुनमा गठन गरियो । यी मध्ये कति राज्यको माग  उठ्न थालेको ५ वर्ष पनि भएको थिएन । तर सन् १९०७ मा नै हिल्समेन एसोसिएसन अफ दार्जिलिङ्गले नेपाली भाषी बाहुल्य क्षेत्रमा अलग्गै गोर्खा प्रशासन चाहिने भनी मिन्टो मोर्ले सुधार समक्ष मागपत्र पेश गरेको गोर्खाप्रदेशको आवाजलाई ११० वर्ष सम्म पनि बलपूर्वक दबाएर राखिएको छ । 
सुवास घिसिंग 
उक्त एसोसिएसनले सन् १९१७ मा पुनः ईण्डियाका तत्कालिन भाईसरायलाई बिन्तीपत्र चढाई गोरखा राज्य दिन माग गरे । १९२९ को सिमोन कमिशनमा पनि यो माग जोडदार पेश भयो । बंगालबाट छुट्याई गोर्खा प्रदेश चिफ कमिशन अन्तरगत राख्न सन् १९४१ मा रुपनारायण सिंहको नेतृत्वमा गएको टोलीले लर्ड पेथिक लव्रेन्स समक्ष मागपत्र पेश गर्यो  । सन् १९४७ मा कम्युनिष्ट पार्टी अफ ईण्डियाले भारतको संविधान सभामा “गोर्खास्थान” का लागि जोडदार माग राख्यो ।
बिमल गुरुङ्ग 
भारतको स्वतन्त्रता पश्चात अखिल भारतीय गोर्खा लिग पहिलो गोर्खाली पार्टीको रुपमा स्थापित भयो । लिगका नेताको हैसियतबाट डम्बर सिंह गुरुङ्गले सन् १९५२ मा तत्कालिन प्रधानमन्त्री जवाहर लाल नेहेरुलाई भेटी गोर्खाको समस्या र बंगालबाट छुट्टिनु पर्नाको कारण स्पष्ट पारे । सन् १९८० मा दार्जिलिङ्ग प्रान्त परिषदका सभापति ईन्द्र बहादुर राईले प्रधानमन्त्री ईन्दिरा गान्धीलाई भेटी गोर्खाराज्यको माग सशक्त रुपमा उठाए । यस्ता सयौं शान्तिपूर्ण संघर्ष र मागहरुलाई भारतीय सरकारले बेवास्ता गर्दै आए पछि गोर्खालीहरुको धैर्यताको बाँध टुट्यो । सन् १९८६ मा साहित्यकार एवं राजनीतिज्ञ सुवाष घिसिङ्गको नेतृत्वमा गोर्खा नेसनल लिवरेसन फ्रन्ट नामक पार्टी गठन भई “गोर्खाल्याण्ड” का लागि सशक्त एवं शान्तिपूण आन्दोलन सुरु ग-यो । गोर्खाको यो आन्दोलनबाट आत्तिएको बंगाल सरकारले सेना प्रयोग गरी आन्दोलनलाई हिंसात्मक बनायो । यस आन्दोलनमा सन् १९८८ सम्ममा १२०० भन्दा बढी मानिसको ज्यान गयो । सायद रक्तपात बन्द गरी निहत्था गोर्खालीको ज्यान बचाउनु त्यस समयको आवश्यकता थियो होला, दार्जिलिङ्ग गोर्खा हिल काउन्सिल पाउने सर्तमा फ्रन्टद्वारा आन्दोलन बिसर्जन गरियो । तर जनस्तरमा आन्दोलनको राप सेलाउने कुरै थिएन । 
सन् २००७ मा गोर्खा जनमुक्ति मोर्चाको गठन पश्चात फरक स्वरुपमा गोर्खाल्याण्डको आन्दोलन अघि बढी रहेको छ । बिमल गुरुङ्गको सुझबुझपूर्ण नेतृत्वले सबै राजनीतिक चिराहरुलाई एक ठाउँमा ल्याई शक्ति निर्माण गर्ने कुरामा गोर्खालीहरु आशावादी देखिन्छन् ।

सफलताको नजिक गोर्खा

कुनै पनि आन्दोलनमा आन्दोलकारी बाहिरबाट समेत ठूलो समर्थन आर्जन गर्न सक्नु पर्छ । हिंसात्मक गतिविधि चलाउने सरकार होस् वा पार्टी, तिनीहरुले आम समर्थन पाउँदैनन् । तर गोर्खाले पछिल्ला दिनमा देखाएको सुझबुझले ज्यादै राम्रो काम गरेको देखिन्छ । गोर्खाल्याण्डको मुद्दाले कुटनीतिक, प्राज्ञिक, न्यायिक र राजनीतिक सबै क्षेत्रमा गतिलो प्रवेश पाउन थालेको छ ।  २०१५ को चुनाव ताका सिलिगुडीमा दिएको भाषणमा अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खालाई आजै राज्य दिईहाल्ने गरी गरेको भाषणका भिडियोहरु करोडौं भ्यु भई सेकेकाछन् । बाबा रामदेव त गोर्खाहरुलाई अधिकार दिलाउन खुलेर लागेको देखिन्छ । यही अप्रिल १४ मा राष्ट्रिय अधिकार मञ्चले क्षेत्रीय न्यायका लागि गोर्खाहरुको साथमा रहेको प्रतिवद्धता जाहेर गर्दै एक राष्ट्रिय सम्मेलन आयोजन गरेको छ । जसमा देहात मोर्चा, शिवसेना, अखिल भारत हिन्दु महासभा, अल ईण्डिया लयर्स एसोसिएसन, दिल्ली बार एसोसिएसन लगायतका सयौं संघसंस्थाले समर्थन जनाई सकेकाछन् । भारत र विश्वस्तरबाट गोर्खाहरुको पक्षमा आवाज उठ्न सुरु भएको छ । 
भर्खरै ममता बेनर्जीले सुतेको सिंहलाई मरेको ठानेर जिस्काउने काम गरिन् । गोर्खाहरुको पहाडी खण्डलाई नै लक्षित गरी बंगाल भर बंगाली भाषालाई अनिवार्य शिक्षाको रुपमा लादेर गरिएको निर्णयलाई गोर्खालीहरुले साँस्कृतिक हमलाको रुपमा लिए । शान्तिपूर्ण आन्दोलनमा भएको दमनले ३ भन्दा बढीको ज्यान गईसकेको छ भने सयौं घाईते भईसकेका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंघले वार्ताबाट हल खोज्न गरेको आव्हानलाई ममताले वास्ता गरेको देखिदैन । शान्तिपूर्ण आन्दोलनमा हिंसाभड्काएर फेरी गोर्खालीहरुलाई बदनाम गराउने षडयन्त्र हुन सक्छ । आन्दोलनका अगुवाहरुले सडक आन्दोलन र शान्तिपूर्ण, कुटनीतिक प्रयाशलाई तीब्र, प्राज्ञिक बहस एवं समर्थनलाई भाईरल र राजनीतिक सम्बादलाई प्रभावकारी बनाई लक्ष प्राप्त गर्न यो नै अनुकुल अवसर रहेको देखिन्छ । 

१९ जुन, २०१७
काठमाडौं ।